पाकिस्तानको अमेरिकी कन्सुलेट बाहिर हिंसात्मक प्रदर्शन, कम्तीमा नौं जनाको मृत्यु
पाकिस्तान- पाकिस्तानको कराची शहरमा अमेरिकी कन्सुलेट बाहिर आयतुल्लाह अली खामेनेईको मृत्युपछि हिंसात्मक प्रदर्शन भएको छ । उक्त घटनामा कम्तीमा नौं जनाको मृत्यु भएको बीबीसी उर्दूले जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल भिडियोहरूमा केही प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासको गेट तोडेको र रिसेप्शन नजिक रहेको सुरक्षा कक्षको झ्याल फुटाएको देखिन्छ । मजलिस–ए–वहादत मुस्लिमीनका प्रवक्ताले यो आयतुल्लाह अली खामेनेईको मृत्यु पश्चात् गरिएको सार्वजनिक प्रदर्शन भएको बताएका छन् । उनले कन्सुलेट भित्रबाट समेत प्रदर्शनकारीमाथि गोली चलाइएको दाबी गरेका छन् ।
कराची प्रहरीका अधिकारी डा. समी सैयदका अनुसार प्रदर्शनका क्रममा छ जनाको मृत्यु भएको र आठ जना घाइते भएका छन् । पाकिस्तानको सिन्ध प्रान्तका गृहमन्त्री जियाउल हसन लांजरले घटनाबारे कराचीका अतिरिक्त आईजीसँग प्रतिवेदन मागेका छन् । उनले कानुन हातमा लिन नदिने र कानुन व्यवस्था बिगार्नेहरूविरुद्ध कडा कारबाही गरिने बताएका छन् । संवेदनशील स्थानहरूको सुरक्षा अझ कडा बनाउन प्रहरीलाई निर्देशन दिइएको छ ।
समाचार संस्था एएफपीका एक पत्रकारका अनुसार आइतबार सयौं इरान समर्थक प्रदर्शनकारीहरूले कराचीस्थित अमेरिकी कन्सुलेटमा प्रवेश गर्ने प्रयास गरेका थिए । केही युवा मुख्य गेट चढेर भित्रको ड्राइभवे क्षेत्रमा प्रवेश गरेका थिए, जसका कारण केही झ्यालहरू फुटेका थिए । प्रहरीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न आँसु ग्यास प्रहार गरेका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा कन्सुलेट भवनको झ्याल फुटाउँदै गरेका युवाहरू देखिन्छन्, जहाँ कम्पाउन्डमाथि अमेरिकी झण्डा फहराइरहेको थियो र वरिपरि काँडेदार तार लगाइएको थियो । इरानमाथि अमेरिका र इसराइलले संयुक्त रूपमा गरेको आक्रमणमा शनिबार आयतुल्लाह अली खामेनेईको मृत्यु भएको बताइएको छ, जसको पुष्टि इरानको सरकारी टेलिभिजनले आइतबार बिहान गरेको थियो ।
यसअघि कराचीस्थित अमेरिकी कन्सुलेटले आफ्ना नागरिकहरूका लागि सुरक्षा सतर्कता सूचना पनि जारी गरेको थियो । सूचनामा भनिएको छ कि क्षेत्रको वर्तमान तनावलाई मध्यनजर गर्दै अमेरिकी सरकारी कर्मचारीहरूको आवागमन सोमबार, २ मार्च २०२६, स्थानीय समय अनुसार साँझ ५ बजेसम्मका लागि रोकिएको छ । अमेरिकी नागरिकहरूलाई आफ्नो सुरक्षाका लागि थप सावधानी अपनाउन आग्रह गरिएको छ ।
