निर्वाचनको सुरक्षा तयारी पूरा

द एभरेष्ट पोष्ट
२० फागुन २०८२ ७:२४
निर्वाचनको सुरक्षा तयारी पूरा

काठमाडाैं ।   सरकारले निर्वाचन सुरक्षाका सबै प्रबन्ध तयार भएको जनाएको छ । मुलुकभरका सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेको र उनीहरूले तोकिएको जिम्मेवारी सम्हालेको गृह मन्त्रालयले जनाएको हो ।

गृहप्रवक्ता आनन्द काफ्लेका अनुसार सुरक्षाकर्मीहरू आफू खटिएको मतदानस्थलमा बुथ निर्माणमा जुटिरहेका छन् । ‘मुलुकभरका सम्पूर्ण निर्वाचनस्थलमा सुरक्षाकर्मी पुगेका छन् । उनीहरू सम्बन्धित निर्वाचनस्थलका बुथ निर्माणदेखि सुरक्षाका आवश्यक प्रबन्ध मिलाउने काम गरिरहेका छन् । समग्रमा भन्नुपर्दा अब मतदाताले मत हाल्न मात्रै बाँकी छ, निर्वाचनका लागि आवश्यक सुरक्षाका सबै प्रबन्ध पूरा भएको छ,’ उनले भने । निर्वाचन सुरक्षामा सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी तीन लाख ३८ हजार ८९० सुरक्षाकर्मी खटिएका छन् ।

सरकारले सुरक्षालाई थप प्रभावकारी बनाउन केन्द्रसहित प्रदेश, जिल्ला र स्थानीय तहलाई समेत सक्रिय पार्ने रणनीति लिएको छ । त्यसका लागि प्रदेशदेखि वडा तहसम्म सर्वदलीय बैठक गरेको छ । गृहप्रवक्ता काफ्लेले मंगलबार साँझसम्म प्रदेश, जिल्ला, पालिका र वडासम्म सबै तहमा सर्वदलीय बैठक बसिसकेको बताए ।

‘यसपटकको निर्वाचनमा हामीले प्रदेश, जिल्ला र स्थानीय तह मात्रै होइन, वडा तहलाई पनि सक्रिय बनायौँ । सबैलाई आ–आफ्नो तहमा सर्वदलीय बैठक राख्न भन्यौँ । सोहीअनुसार सबैले बैठक राखेका छन्,’ उनले भने, ‘प्रदेशदेखि वडासम्मको सर्वदलीय बैठकका कारण राजनीतिक सौहार्दता बढाएको छ । यसले समग्र सुरक्षा प्रबन्ध थप मजबुत भएको छ । अब मतदानका लागि मैदान तयार भएको छ ।’ गृहले प्रदेशस्तरका नेताबिच सर्वदलीय बैठक राख्न प्रदेश सरकारलाई र जिल्लास्तरका नेताबिच सर्वदलीय बैठक राख्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिएको थियो ।

२४ स्थानमा हेलिकोप्टरमार्फत मतदान सामग्री ढुवानी 
सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगेका छन् । हिमाली जिल्ला डोल्पाका २० र हुम्लाका चार गरी २४ दुर्गम मतदानस्थलमा हेलिकोप्टरबाट ढुवानी गरिएको छ । १० हजार ९६७ मतदानस्थलमै कर्मचारी र सुरक्षाकर्मी खटिएर मतदानको तयारी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस