३ बजेसम्म देशभर ७६ लाख मत खस्यो

काठमाडौं- बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।

देशभरिका  १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।

डोटीमा ३ बजेसम्म ३२ प्रतिशत मात्रै मत खस्यो

काठमाडौं- एक मात्र निर्वाचन क्षेत्र रहेको डोटी जिल्लामा दिउँसो ३ बजेसम्म ३२ प्रतिशत मात्रै मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ बजेसम्म ४१ हजार २२२ मत मात्रै खसेको छ ।

जसमा १६ हजार ८१४ पुरुष र २४ हजार ४०८ महिला मतदाताले मतदान गरेका छन् । यो कुल मतदाताको ३२.१ प्रतिशत मात्रै हुन आउँछ ।

डोटीको कुल मतदाता संख्या एक लाख २८ हजार ३९९ छ ।

कैलालीका १०७ वर्षीय जनकलालले गरे मतदान

कैलाली- प्रतिनिधिसभा सदस्य चयन गर्न जारी निर्वाचनमा १०७ वर्षीय जेष्ठ नागरिकले पनि मतदान गरेका छन् ।

कैलालीको धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र पुगेर १०७ वर्षका जनकलाल दाहालले मतदान गरेका हुन् ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा भंग भएकाले प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान हुँदैछ ।

यसअघि, आजै उदयपुरका १०२ वर्षीय जेष्ठ नागरिकले मतदान गरेका थिए । उदयपुरगढी नगरपालिका–६ जगरेटारका १०२ वर्षीय अमृतबहादुर कार्कीले नेपालटार माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (क) मा पुगेर मतदान गरेका थिए ।

कञ्चनपुरमा ४२ प्रतिशत मत खस्यो

काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानका क्रममा कञ्चनपुरमा ४२ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालयले सामाजिक सञ्जाल फेसबुकमा सूचना शेयर गर्दै दिउँसो २ बजेसम्म कञ्चनपुरमा ४२ प्रतिशत मत खसेको जनाएको हो ।

कञ्चनपुरमा जम्मा मतदाता संख्या तीन लाख १४ हजार ३८५ छ । जसमध्ये एक लाख ३१ हजार ५७७ मत खसेको छ । जुन ४२ प्रतिशत हुन आउँछ ।

स्थानीय प्रशासनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा ४२ हजार ९१२ मत खसेको छ । जसमध्ये महिला २२ हजार ५२७ र पुरूष २० हजार ३८५ छन् । यहाँ कुल मतदाता संख्या एक लाख एक हजार ७२४ छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा ४७ हजार ४५ मत खसेको छ । जसमध्ये २४ हजार ९४५ महिला र २२ हजार १०० पुरूष रहेका छन् । कञ्चनपुर–२ मा एक लाख ९ हजार ५७४ मतदाता छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ मा जम्मा मतदाताको संख्या एक लाख ३ हजार ८७ मतदाता छन् । जसमध्ये अहिलेसम्म ४१ हजार ६२० मत खसेका छन् । जसमा महिला २२ हजार ३२१ र पुरुष १९ हजार २९९ छन् ।

२ बजेसम्म देशभरि खस्यो ६२ लाख मत, कुन प्रदेशमा कति ?

काठमाडौं । बिहीबार दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको छ ।

देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो । बिहान ७ बजेदेखि मतदान भइरहको छ ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।

देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म जम्मा ३३ प्रतिशत मत खसेको छ ।

कैलाली कारागारका २६ कैदीबन्दीले गरे मतदान

कैलाली । कैलाली कारागारमा रहेका २६ जना कैदीबन्दीले मतदान गरेका छन् ।

मतदान अधिकृत शिवराज जोशीले कारागारमा रहेका ३० जना कैदीबन्दी मध्ये २६ जनाले समानुपातिक मत खसालेका हुन् ।

कारागारमा आश्रीत मध्ये ३० जना कैदीबन्दीको मतदाता नामावलीमा नाम समावेश थियो । उनीहरू मध्ये तीन जना यो बीचमै छुटिसकेका र एक जना कञ्चनपुर सरूवा भएकाले चार मत नखसेको जोशीले बताए ।

कैलाली कारागारमा कुल ५१२ कैदीबन्दी आश्रीत छन् । कैदीबन्दीलाई मतदान गर्न कारागारमै अस्थायी मतदान केन्द्र स्थापना गरेको थियो ।

दार्चुलामा ३० दशमलव ४० प्रतिशत मतदान

दार्चुला- प्रतिनिधिसभा सदस्य निर्वाचनम दार्चुला जिल्लामा बिहीबार दिउँसो १ बजेसम्म कुल २८ हजार २१४ मत खसेको छ । कुल मतदाताको ३० दशमलव ४० प्रतिशत  मत खसेको हो।

दार्चुलामा हालसम्म पुरुष मतदाताको संख्या १५ हजार १८७ र महिला मतदाताको संख्या १३ हजार ०२७ रहेको छ। मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको र मतदाताको उत्साहजनक सहभागिता देखिएको  छ।

बैतडीमा दिउँसो २ बजेसम्म ४८ हजारभन्दा बढी मत खस्यो

बैतडी । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा ४८ हजारभन्दा बढी मत खसेको छ । जिल्लाका २ सय १५ मतदान केन्द्रबाट दिउँसो २ बजेसम्म बजेसम्म ४८ हजार ५१४ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।

जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्। यसअनुसार, दिउँसो २ बजेसम्म लगभग ३१ प्रतिशत मतदान भएको अनुमान गरिएको छ। मतदान बिहान ७ बजेदेखि सुरु भई दिउँसो ५ बजेसम्म जारी रहनेछ।

हालसम्म कुनै पनि मतदान केन्द्रमा उल्लेखनीय घटना नभएको र मतदान सामान्य तथा शान्तिपूर्ण रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदाताहरू ठूलो संख्यामा मतदान केन्द्रमा पुगिरहेका छन्।

मतदानको प्रगति निरन्तर अनुगमन भइरहेको छ। थप विवरण तथा अद्यावधिक तथ्यांक क्रमशः सार्वजनिक गरिने बताइएको छ ।

छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण मतदान चल्दै

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ ।

केही जिल्लाहरूमा सामान्य विवाद र प्राविधिक कारणले मतदान प्रक्रिया केही समयका लागि प्रभावित भए पनि अहिले ती ठाउँमा मतदान चलिरहेकाे छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा थोरै समयका लागि मतदान रोकिएको थियो । तर स्थानीय प्रशासनको सक्रियता र आयोगको तत्काल सहजीकरणका कारण ती ठाउँहरूमा मतदान भइरहेकाे छ ।

यसैगरी ओखलढुङ्गा र दाङ लगायतका केही जिल्लाहरूमा मतदाताहरूले स्थानीयस्तरका केही मागहरू राखेको विषय पनि आयोगको जानकारीमा आएको उनले बताए । ती ठाउँहरूमा स्थानीय प्रशासनले मतदाताहरूसँग समन्वय र सहजीकरण गरिरहेको र ती विषयहरू छिट्टै समाधान हुने आयोगले जनाएको छ ।

कुनै पनि ठूला अप्रिय घटना नभएको र सानातिना समस्यालाई स्थानीयस्तरमै समाधान गरी मतदान प्रक्रियालाई निरन्तरता दिइएको आयोगको भनाइ छ ।

देशभरका सबै २३ हजार ११२ मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता भइरहेको हुनाले देशभरको शान्ति सुरक्षा र मतदानको वातावरण निकै आशालाग्दो रहेको आयोगले निष्कर्ष निकालेको छ ।

– न्युज एजेन्सी नेपाल

राष्ट्रपति र उपराष्ट्रपति मतदानमा भएनन् सहभागी

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आजको मतदानमा सहभागी भएका छैनन् । संविधानका संरक्षकका रुपमा तटस्थता कायम गर्दै उनीहरुले मतदान नगर्ने बताइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले यसअघिका गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नभएको प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए । उनले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए ।

सुदूरपश्चिम प्रदेशमा दिउँसो १ः३० बजेसम्म झण्डै ३० प्रतिशत मत खस्यो

सुदूरपश्चिम प्रदेशमा बिहीबार दिउँसो १ः३० बजे सम्म झण्डै ३० प्रतिशत मत खसेको छ । अहिलेसम्म २९‍.६६ प्रतिशत मतदान भएको हो ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार दुई लाख ६० हजार ४७८ महिला, दुई लाख ४८ हजार ७२१ पुरूष र एक अन्य गरी पाँच लाख नौ हजार २०० मतदाताले मतदान गरेका छन् ।

प्रदेशमा १६ प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भइरहेकोमा १७ लाख १६ हजार ६६० मतदाता छन् ।

एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमालेको बहुमतको सरकार बन्ने दाबी गरेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले एमालेले स्पष्ट बहुमत ल्याउने र यदि कथम् कदाचित बहुमत नआए पनि सबैभन्दा ठूलो दल बन्ने जिकिर गरे। उनले भने, ‘एमालेले भर्षक बहुमत ल्याउँछ। कथम् कदाचित ल्याएन भने पनि प्रमुख पार्टीका रूपमा आउँछ।’

उनले एमालेको नेतृत्वमा सरकार बन्ने कुरामा आफू विश्वस्त रहेको प्रस्ट पारे।

भावी प्रधानमन्त्री को भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले आफू नै प्रधानमन्त्री बन्ने बताए। ‘मलाई मेरो पार्टीले प्रधानमन्त्री बन्न भनेको छ,’ उनले थपे, ‘मेरो पार्टीले भनेपछि देशले बनाउँछ। यसमा कुनै शंका नै छैन।’

अध्यक्ष ओलीले पछिल्लो समय चर्चामा रहेको नयाँ र पुराना दल भन्ने बहस देशको हितविपरीत भएको टिप्पणी गरे। उनले योगदान नभएका तत्त्वहरूले घृणा र प्रतिशोधको राजनीति गरिरहेको आरोप लगाए।

‘अनावश्यक हल्ला र मतदातालाई दिग्भ्रमित पार्ने दुष्प्रयास भइरहेको छ,’ उनले भने, ‘कुनै योगदान नभएका स्वार्थी तत्त्वहरूले घृणा र प्रतिशोधको राजनीति गरेर देशलाई अन्योलमा पार्न खोजेका छन्।’

बैतडीमा दिउँसो १ बजेसम्म खस्यो ३७ हजार मत

बैतडी । बैतडीमा दिउँसो १ बजेसम्म  ३७ हजार मत खसेको छ ।

जिल्लाका २ सय १५ मतदान केन्द्रबाट १ बजेसम्म बजेसम्म ३७ हजार २४७  मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।

जिल्लामा १,५६,३७२ मतदाता रहेका छन् । जिल्लामा साम्तिपूर्ण तवरले मतदान भइरहेको छ ।

बैतडीमा साढे १२ बजेसम्म २८ हजार मत खस्यो

बैतडी : बैतडीमा साढे १२ बजेसम्म  २८ हजार मत खसेको छ । जिल्लाका २ सय १५ मतदान केन्द्रबाट १२ः३० बजेसम्म २८,१४१  मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । जिल्लामा एक लाख ५६ हजार ३७२ मतदाता रहेका छन् । जिल्लामा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ ।

सुदूरपश्चिममा २० प्रतिशत मतदान

कैलाली । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतदान चलिरहेको छ ।

मध्याह्न १२ बजेसम्ममा सुदूरपश्चिम प्रदेशका जिल्लामा २० प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कूल तीन लाख ३८ हजार ४३२ मत खसेको छ ।

एक लाख ६८ हजार ७४५ महिला, एक लाख ६७ हजार ६७७ पुरुष र एक अन्य मतदाताले मतदान गरेका छन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा, डोटी, दार्चुला र बैतडीमा मतदान चलिरहेको छ ।

बाजुरामा शान्तिपूर्ण रुपमा मतदान जारी, २४ हजार मत खस्यो

बाजुरा -बाजुरामा अहिलेसम्म २७ प्रतिशत बढी मत खसेको छ । मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलकाअनुसार १२ बजेसम्म जिल्लाभर २४ हजार बढी अर्थात २७ प्रतिशत मत खसेको हो ।

एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा जिल्लाभरका एक सय १८ वटै मतदान केन्द्रमा मतदान जारी छ ।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लाका सबै मतदान केन्द्रमा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको र सुरक्षा व्यवस्था समेत कडा पारिएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा कूल ८७ हजार ८६१ मतदाता रहेका छन् ।

बैतडीमा ९८ वर्षीया वृद्धाद्वारा मतदान

बैतडी- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा आज मतदान सुरु भएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–७ की ९८ वर्षीया रमा वडुले केदार आधारशिला मतदान केन्द्रबाट मतदान गरेकी छन् ।

जिल्लामा आज २१५ मतदान केन्द्रबाट मतदान भइरहेको छ । निर्वाचनमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्यसहित दुई हजार ७० जना अस्थायी मतदाता सहभागी हुँदैछन् ।

जिल्लाबाट एक प्रतिनिधिसभा सदस्य पदका लागि १० वटा राजनीतिक दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

अहिले सम्म  १२ हजार ९८२ मत खसको छ । जसमा छ हजार २४१ महिला र ६ हजार ७४० पुरूष र एक जना अन्यले मत खसाली सकेका छन् ।

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

काठमाडौं । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।

सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।

केपी ओलीले गरे मतदान

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।

ओलीले बिहीबार भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गरेका हुन् । ओली आफू भने झापा–५ का उमेदवार हुन् ।

निर्वाचन आयोगका अनुसार, बिहान ११ बजेसम्म देशभर १९ लाख २३ हजार २४ मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

यो १०.१ प्रतिशत रहेको भट्टराईले बताए ।

देशभर कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् ।

कैलाली क्षेत्र नं. ४ अन्तर्गत गोदावरी–१० मा वडाध्यक्ष गुड्डु लाई टाउकोमा ढुङ्गा प्रहार

कैलाली- कैलाली क्षेत्र नं. ४ अन्तर्गत गोदावरी नगरपालिका–१० स्थित शंकर आधारभूत विद्यालय नजिकै मतदान केन्द्र बाहिर विवाद हुँदा वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) माथि कु!टपिट भएको छ। विवाद चर्किने क्रममा उनको टाउकोमा ढुङ्गा प्रहार भएको बताइएको छ।

घटनापछि घाइते शाहीलाई उपचारका लागि अत्तरिया स्थित पद्मा अस्पतालमा लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ। स्थानीयका अनुसार एमाले निकट केही नेता तथा कार्यकर्ताले ढुङ्गा प्रहार गरेको आरोप लगाइएको छ। घटनापछि मतदान केन्द्र आसपासको क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने संलग्न व्यक्तिहरूको पहिचान गर्ने काम जारी रहेको बताएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निर्वाचनको समयमा भएको यस घटनाले स्थानीय क्षेत्रमा चासो र चिन्ता बढाएको छ।

महेश बस्नेतले गरे मतदान

एमाले सचिव महेश बस्नेतले मतदान गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

भक्तपुर क्षेत्र नं २ मा एमालेका तर्फबाट उम्मेदवारसमेत रहेका बस्नेतले मतदानपछि सञ्चारकर्मीलाई सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे ।

उनले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न आग्रह गरे ।

कैलालीमा साढे १० बजेसम्म १४ प्रतिशत मतदान

धनगढी : कैलाली जिल्लामा जारी मतदानमा बिहान १०:३० बजेसम्म कुल १४ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका पाँचवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतदान जारी रहेको छ। प्राप्त विवरण अनुसार कैलाली–१ मा ६.५१ प्रतिशत मतदान भएको छ।

उक्त क्षेत्रमा १०:३० बजेसम्म ७०६५ मत खसेको छ। यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख ७८ हजार ४९१ रहेको छ। मतदानका लागि ४५ मतदान स्थल र १२६ मतदान केन्द्र तोकिएका छन्।

कैलाली–२ मा बिहान १०:३० बजेसम्म ७.५७ प्रतिशत मतदान भएको छ। यहाँ १०:३० बजेसम्म ७९६१ मत खसेको छ। यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख ७ हजार ७५७ रहेको छ। मतदानका लागि ५१ मतदान स्थल र १२४ मतदान केन्द्र व्यवस्था गरिएको छ।

त्यस्तै कैलाली–३ मा सबैभन्दा बढी १०.०९ प्रतिशत मतदान भएको छ। यहाँ १०:३० बजेसम्म ११ हजार ७ मत पुगेको छ। यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख ९ हजार १२२ रहेको छ। मतदानका लागि ४५ मतदान स्थल र १२७ मतदान केन्द्र रहेका छन्।

कैलाली–४ मा बिहान १०:३० बजेसम्म ५.२७ प्रतिशत मतदान भएको छ। १०:३० बजेसम्म ६०१९ मत पुगेको छ। यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख १५ हजार १४३ रहेको छ। मतदानका लागि ५७ मतदान स्थल र १३६ मतदान केन्द्र छन्।

कैलाली–५ मा बिहान १०:३० बजेसम्म ५.६४ प्रतिशत मतदान भएको छ। यहाँ  १०:३० बजेसम्म ६२३८ मत खसेको छ। यस क्षेत्रमा कुल मतदाता संख्या १ लाख १० हजार ५३९ रहेको छ। मतदानका लागि ३९ मतदान स्थल र १२८ मतदान केन्द्र रहेका छन्।

जिल्लाभर कुल ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन्। मतदानका लागि २३७ मतदान स्थल र ६४१ मतदान केन्द्र तोकिएका छन्। हालसम्म जिल्लाभर १०:०० बजेसम्म २९ हजार ८०८ मत खसेकोमा १०:३० बजेसम्म ३८ हजार ४९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ।

नेपाली काँग्रेसका नेता खड्काले गरे मतदान

सुर्खेत, २१ फागुन ।
नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतमा मतदान गरेका छन् ।

काँग्रेस नेता खड्काले सुर्खेतको -१ को सूर्यज्योति मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

बैतडीमा १२ हजार ९८२ मत खस्यो

बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको हो।

जिल्लामा एक अस्थायी सहित कुल २१५ मतदान केन्द्र रहेका छन्। प्रमुख जिल्ला अधिकारी थापाले सबै केन्द्रमा मतदान प्रक्रिया सुचारु रहेको र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार, बिहान १० बजेसम्म १२,९८२ मत खसेको छ। जसमध्ये ६,२४१ पुरुष, ६,७४० महिला र १ अन्य मतदाता रहेका छन्।

बैतडीमा प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको छ। यहाँ १० जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् र कुल मतदाता संख्या १,५६,३७२ रहेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रमुख जिल्ला अधिकारी थापाले मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरे।

जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीका अनुसार सबै मतदान केन्द्रमा मतदाताको सहजताका लागि आवश्यक व्यवस्था मिलाइएको छ। अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा महिलालाई विशेष व्यवस्था प्रदान गरिएको छ।

निर्धारित कार्यतालिका अनुसार मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने छ। जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातासँग अनुरोध गरेको छ।

हेलिकोप्टर चढेर रुकुम पुगे प्रचण्ड

काठमाडौं,२१ फागुन ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टर चढेर रुकुम पूर्व पुगेका छन् ।

विहान गृह जिल्ला चितवनमा भोट हालेर प्रचण्ड हेलिकोप्टर मार्फत रुकुमपूर्वको सिस्ने – ५ कमलदह पुगेका हुन् ।

यस पटक उनी रुकुम पूर्वमा उम्मेदवार बनेका छन् । चितवनमा मत खसालेपछि उनी हेलिकोप्टरमार्फत आफ्नो निर्वाचन क्षेत्र पुगेका हुन् ।

गृहमन्त्री अर्यालले गरे मतदान

काठमाडौं,२१ फागुन।

गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् ।

गृहमन्त्री अर्यालले ललितपुर क्षेत्र नम्बर ३ अन्तर्गत रहेको ललितपुर महानगरपालिकाको सानेपास्थित टीका विद्याश्रम मावि मतदान केन्द्रमा मतदान गरेका हुन्।

बाजुरामा तीन घण्टामा १४ हजार मत खस्यो

बाजुरा, फागुन २१ गते । बाजुरामा तीन घण्टामा १४ हजार मत खसेको छ। यहाँ बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो र अहिलेसम्म करिब १४ हजार मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृत संजिव पोखरेलले भन्नुभयो, “हालसम्म कुल मतको करिब १५ प्रतिशत मतदान भएको छ।”

उनका अनुसार, “निर्वाचन आयोगको समय अनुसार बिहान ७ बजेबाट यहाँका ७७ स्थल, ११८ स्थायी र १ अस्थायी गरी कुल ११९ मतदान केन्द्रमा शान्तिपूर्वक मतदान सुरु भएको थियो।”

विगतका निर्वाचनमा धादली हुने बाजुरामा यसपटक भने निर्वाचन एकदमै शान्तिपूर्वक सञ्चालन भइरहेको छ। बाजुरामा कुल मतदाता सङ्ख्या ८७ हजार ८६१ रहेको छ, जसमा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र दुई जना अन्य रहेका छन्।

एमाले उपमहासचिव भट्टद्वारा कैलाली–४ मा मतदान

धनगढी-  नेकपा ९एमाले० का उपमहासचिव लेखराज भट्टले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–४ को गोदावरी नगरपालिका–१ स्थित घण्टेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

पूर्वमन्त्री भट्टले  कैलाली क्षेत्र नम्बर–४ बाटै प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका छन् । उनी २०६४ सालदेखि सोही क्षेत्रबाट लगातार उम्मेदवार बनेका छन् । भने २०६४ र २०७४ मा सो क्षेत्रबाट जित हासिल गरेका थिए।

मतदान केन्द्रमा बिहीबार बिहानैदेखि मतदाताको उल्लेख्य उपस्थितिसँगै शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सञ्चालन भइरहेको छ ।

खोज्नुहोस