काठमाडौं–८ मा रास्वपाका विराजभक्तको फराकिलो अग्रता

काठमाडौं,२१ फागुन ।
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले शुरुवाती मत गणनामा फराकिलो अग्रता कायम गरेका छन् । ।

बिराजभक्तले १७२४ मत प्राप्त गर्दा उनलाई पछ्याएकी कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७ मत पाएकी छन् ।

नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।

काठमाडौं–१० मा रास्वपाको अग्रता

काठमाडौं २२ फागुन, । काठमाडौं क्षेत्र नम्बर १० मा शुरुवाती मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो अग्रता कायम गरेको छ ।

दक्षिणकाली नगरपालिका वडा नम्बर १ को मतगणना गर्दा रास्वपाका प्रदीप विष्टले १२४६ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन् । रास्वपालाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले २४६ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार विनोद श्रेष्ठले १६७ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीकी रुपा महर्जनले २८ मत पाएकी छन् ।

रूपन्देही–२ को मतगणना सुरु

बुटवल,२२ फागुन ।
रूपन्देही निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु हुने भएको छ ।

निर्वाचन आयोगले सर्वदलीय बैठकपछि रूपन्देही निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको जनाएको छ ।

क्षेत्र नं २ एमालेबाट विष्णु पौडेल, नेपाली कांग्रेसबाट चुन्नप्रसाद पौडेल, रास्वपाबाट सुलभ खरेल, नेकपाबाट विश्वदीप पाण्डेसहित ३९ जना उमेदवार प्रतिस्पर्धामा छन् ।

रूपन्देही निर्वाचन क्षेत्र नं २ मा १ लाख ३५ हजार ५० मतदाता रहेकामा ८६ हजार ७ सय १५ जनाले मतदान गरेका छन् ।

 

काठमाडौं ३ मा कुलमान अगाडि, दोस्रोमा पाण्डे

काठमाडौं, २२ फागुन।

काठमाडौं क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुवाती अग्रता लिएका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ बाट सुरु भएको मतगणनामा उनले १ हजार ४१ मत प्राप्त गरेका छन् ।

कुलमानलाई रास्वपाका राजु पाण्डेले पछ्याएका छन् । काँग्रेस तेस्रोमा छ । एमाले चौथोमा ।  रास्वपाका राजुनाथ पाण्डेले ७४८ मत, नेपाली कांग्रेसका रमेश अर्यालले २९८ र नेकपा एमालेका रामेश्वर फुयालले भने २७९ मत प्राप्त गरेका छन् ।

काठमाडौं १० को मत गणना शुरु

काठमाण्डौं, २१ फागुन ।
काठमाडौं क्षेत्र नम्बर १० मा मत गणना शुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार दक्षिणकाली १० बाट यो क्षेत्रको मतगणना सुरु भएको हो ।

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका हिमाल कार्की, नेकपा एमालेका विनोद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट रुपा महर्जन लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।

काठमाडौं ४ को मत गणना शुरु

काठमाण्डौं, २१ फागुन ।
काठमाडौं क्षेत्र नम्बर ४ मा मत गणना शुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट काठमाण्डौं ४ को मतगणना सुरु भएको हो ।

सर्वदलीय बैठकको निर्णयपछि काठमाडौं ४ मा मतगणना सुरु भएको हो ।

 

काठमाडौं १ मा मतगणना शुरु

काठमाडौं २१ फागुन।
काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना शुरु भएको छ ।

काठमाडौंको बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा मतगणना सुरु भएको हो । निर्वाचन आयोगले मत गणना दुई स्थानबाट शुरु भएको जनाएको छ ।

बिहीबार राति १० बजेदेखि सुरु हुने भनिए पनि केहीबेर ढिलागरी मतगणना भएको हो ।

काठमाडौं निर्वाचन क्षेत्र १ मा कांग्रेसका प्रबल थापा क्षेत्री, एमालेका मोहनराज रेग्मी, नेपाली कम्युनिष्ट पार्टीका मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका रञ्जु न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र लगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।

कञ्चनपुरमा ५८ प्रतिशत मतदान, आजै गणनाको तयारी

कञ्चनपुर- कञ्चनपुरमा ५८.६७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख हरिशचन्द्र जोशीले प्रतिनिधीसभाका तीनवटै क्षेत्रमा गरेर ५८.६७ प्रतिशत मत खसेको जानकारी दिए। उनका अनुसार कूल तीन लाख १४ हजार २९२ मतदाता रहेको कञ्चनपुरमा एक लाख ८४ हजार ३१६ मत खसेको हो।

कञ्चनपुर क्षेत्र नम्बर १ मा  कुल १ लाख १ हजार ७२४ मतदाता मध्ये ६१ हजार ७४ ले मतदान गरेका छन्। जसमा ३३ हजार ४०३ महिला र २७ हजार ६७१ पुरुष छन्। त्यसैगरी क्षेत्र नम्बर २ मा एक लाख ९ हजार ५७४ कुल मतदातामध्ये ३६ हजार ३८६ महिला र २८ हजार ४९५ पुरुष गरी ६४ हजार ८८१ मत खसेको छ।

१ लाख ३ हजार ८७ मतदाता रहेको ५८ हजार ३६१ मत खसेको छ। जसमा ३२ हजार ७३० महिला र २५ हजार ६३१ पुरुष ले मतदान गरेका छन्। यसपटक पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी छ। अहिले जिल्लाका १३२ मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका संकलनको काम भइरहेको छ। लगत्तै सर्वदलीय बैठक बसेर आजैदेखि मतगणना सुरु गर्ने आयोगको तयारी छ।

सुदूरपश्चिममा आधा मतदाताले निर्वाचनमा भाग लिएनन्

धनगढी- सुदूरपश्चिम प्रदेशमा रहेका आधा मतदाताले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएका छैनन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभरी जम्मा ५०.९ प्रतिशत मत खसेको छ । जम्मा १७ लाख १६ हजार ६६० मतदातामध्ये आठ लाख ७४ हजार १७७ मतदाताले मतदानमा भाग लिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार आठ लाख ४२ हजार ४८३ (४९.०७ प्रतिशत) मतदाताले भोट हालेनन् ।

कैलालीमा तीन लाख पाँच हजार १२२ (५५.४ प्रतिशत), कञ्चनपुरमा एक लाख ८४ हजार ३१६ (५८.६ प्रतिशत), अछाममा ६४ हजार ७८० (३९.२ प्रतिशत) मत खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । यसैगरी, डोटीमा ५२ हजार ४८५ (४०.९ प्रतिशत), बाजुरामा ४६ हजार २३२ (५२.६ प्रतिशत), बझाङमा ५२ हजार २१७ (४१.१ प्रतिशत, बैतडीमा ७३ हजार १४८ (४६.८ प्रतिशत) मत खसेको छ ।

यसैगरी, एक पुरै गाउँले निर्वाचन बहिस्कार गरेको दार्चुलामा ४९ हजार ९६८ (५३.८ प्रतिशत) र डडेल्धुरामा ४५ हजार ९०९ (४९.२ प्रतिशत) मत खसेको छ ।

सुदूरपश्चिममा ५१ प्रतिशत मत खस्यो

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ ।

प्रदेश निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशभर कुल ५० दशमलव ९ प्रतिशत मत खसेको छ । प्रदेशका ९ वटा जिल्लामा रहेका कुल १७ लाख १६ हजार ६ सय ६० मतदाता मध्ये ८ लाख ७४ हजार १ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

तथ्यांकअनुसार कञ्चनपुरमा सबैभन्दा बढी मतदान भएको छ । त्यहाँ ५८.६ प्रतिशत मत खसेको छ । ३ लाख १४ हजार ३ सय ८५ मतदातामध्ये १ लाख ८४ हजार ३ सय १६ जनाले मतदान गरेका छन् । त्यसैगरी सबैभन्दा कम मतदान अछाम जिल्लामा ३९.२ प्रतिशत भएको छ । त्यहाँ १ लाख ६५ हजार ३ सय ३७ मतदाता रहेकोमा ६४ हजार ७ सय ८० जनाले मतदान गरेका छन् ।

सबैभन्दा धेरै मतदाता सङ्ख्या रहेको कैलाली जिल्लामा ५५.४ प्रतिशत मतदान भएको छ । यहाँ ५ लाख ५१ हजार ५२ जना मतदाता रहेकोमा ३ लाख ५ हजार १ सय २२ जनाले मत दिएका छन् । यस्तै दार्चुलामा ९२ हजार ९ सय ४८ मतदाता रहेकोमा ४९ हजार ९ सय ६८ जनाले मतदान गरेका छन् । यहाँ कुल मतदाताको ५३.८ प्रतिशत मत खसेको छ ।

यस्तै बाजुरामा ८७ हजार ८ सय ६१ मतदाता रहेकोमा ४६ हजार २ सय ३२ जनाले भोट दिएका छन् । यहाँ ५२ ।६ प्रतिशत मत खसेको तथ्यांक छ । डडेलधुरामा ४९.२ प्रतिशत मत खसेको छ । यहाँ कुल मतदाता संख्या ९३ लाख ४ सय ३ रहेकोमा ४५ हजार ९ सय ९ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

यस्तै तथ्यांकअनुसार बैतडीमा ४६.८ प्रतिशत मत खसेको छ । यहाँ कुलमतदाता संख्या १ लाख ५६ हजार ३ सय ७२ मतदाता रहेकोमा ७३ हजार १ सय ४८ जनाले भोट दिएका छन् । बझाङमा ४१.१ प्रतिशत मत खसेको छ । यहाँ १ लाख २६ हजार ९ सय ३ मतदाता रहेकोमा ५२ हजार २ सय १७ जनाले मतदान गरेका छन् ।

र डोटीमा ४०.९ प्रतिशत मत खसेको विवरणमा उल्लेख छ । डोटी जिल्लामा १ लाख २८ हजार ३ सय ९९ मतदाता रहेकोमा ५२ हजार ४ सय ८५ जनाले मतदान गरेको जनाइएको छ ।

प्रदेशमा तराईका जिल्लाहरूमा पहाडी जिल्लाको तुलनामा मतदान प्रतिशत केही बढी देखिएको छ ।

बाजुरामा मतपेटिका सङ्कलन गरिँदै

बाजुरा। आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको ५१ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार ११८ मतदान केन्द्रमा भएको मतदानमा ४४ हजार ७७३ मत खसेको छ । जम्मा ५१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले राससलाई जानकारी दिए ।

यो निर्वाचन तुलनात्मक रुपमा विगतका निर्वाचनभन्न्दा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । हाल मतपेटिका सङ्कलन भइरहेको छ । दुर्गम तथा विकट मतदान केन्द्र रहेको हिमाली गाउँपालिका–३ मा रहेको हिमालभक्ति आधारभूत विद्यालय गुम्बाको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत आजै जिल्ला सदरमुकाम मार्तडी पुर्‍याइएको छ।

अन्य तीन मतदान केन्द्र बौडी, बाम र विच्छ्याको मतपेटिका विच्छ्या प्रहरीचौकीमा सङ्कलन गरिने र शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइने मुख्य निर्वाचन अधिकारी पोखरेलले बताए ।

जिल्ला सदरमुकाम मार्तडी आसपासका मतपेटिका मतगणनास्थल रहेको जिल्ला समन्वय समिति बाजुरामा ल्याइसकिएको र अन्य क्षेत्रको मतपेटिका सुरक्षाकर्मीले ल्याउने तयारी सकिरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।

सडक क्षेत्र पुगेका मतदान केन्द्रहरुमा सवारीसाधनमा आज राति नै नेपाली सेनासहितको सुरक्षामा मतपेटिका ल्याउने गरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । यहाँ कूल ८७ हजार ८६१ मतदाता कायम छन् । तीमध्ये ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र दुई अन्य मतदाता छन् ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दलसहित एक जना स्वतन्त्र गरी आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस

दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै

काठमाडौं– नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग र समन्वयमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षित रुपमा सम्पन्न भएको जनाएको छ ।

निर्वाचन सम्पन्न भएपछि नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसारका तयारीले निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सहयोग पुगेको बताए। ‘निर्वाचन सुरक्षाका लागि धनगढी, सुर्खेत, बुटवल, पोखरा, काठमाडौँ, हेटौँडा, बर्दिवास, इटहरी र विराटनगरमा १६ वटा जहाज तयारी अवस्थामा राखिएको थियो’, सैनिक प्रवक्ता बस्नेतले भने। आमनागरिकको सूचना र अन्य सुरक्षा निकायको सहयोगमा निर्वाचनलाई लक्षित गरी भएका शंकास्पद गतिविधिलाई समयमै सुरक्षित तवरमा निस्तेज तुल्याइएको उनको भनाइ छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले गत माघ २१ गतेदेखि निर्वाचनका लागि सेना परिचालित भएको थियो । निर्वाचन अवधिमा शंकास्पद वस्तु तथा विस्फोटक पदार्थलगायत ७१ वटा फेला परेका थिए । ती विस्फोटक पदार्थ प्रतिकार्यका लागि ८१६ वटा टोली परिचालित भएको थियो ।

निर्वाचनपूर्व र मतदानका दिन सुरक्षाका लागि तैनाथ गरिएको हेलिकोप्टर अब मतपेटिका ओसार्न प्रयोग गरिनेछ । निर्वाचन आयोगको योजनाका आधारमा दुर्गम क्षेत्रका मतदान केन्द्रबाट ती मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हेलिकोप्टरमार्फत ल्याउने तयारी गरिएको छ ।

कैलालीमा ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, अझै बढ्न सक्ने

यशोदा शर्मा,

कैलाली । कैलालीमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रारम्भिक अनुमान अनुसार ५७ प्रतिशतसम्म मत खसेको छ। जिल्लाका मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।
उनका अनुसार अहिले विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम भइरहेको छ। सुरक्षाकर्मीको निगरानीमा मतपेटिका सम्बन्धित स्थानमा ल्याउने प्रक्रिया जारी रहेको उनले बताए।
कैलालीमा प्रतिनिधिसभातर्फ ५ वटा निर्वाचन क्षेत्र रहेका छन्। जिल्लाभर ६४५ मतदान केन्द्र तोकिएका थिए। ती केन्द्रमा  कुल ५ लाख ५१ हजार मतदाता रहेका छन्।
निर्वाचन कार्यालयका अनुसार  अहिले  जिल्लाभरबाट मतपेटिका संकलन गर्ने कामलाई प्राथमिकता दिइएको जनाइएको छ।

कैलाली १ मा ५० दशमलव ५५ प्रतिशत मत खस्यो

टीकापुर । कैलाली क्षेत्र नम्बर १ मा ५० दशमलव ५५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत देवराज भारतीका अनुसार यस क्षेत्रमा ५४ हजार ८४४ मत खसेको हो ।

यस निर्वाचन क्षेत्रमा २३ वटा वडाका एक लाख आठ हजार ४९१ मतदाता छन् । अधिकृत भारतीका अनुसार २३ वटै वडाका सबै मतदान केन्द्रमा गाडी पुगिसकेको र राति ८ः०० बजेसम्म मतपेटिका सङ्कलन भइसक्ने बताए ।

मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक गरी मतगणना सुरु गरिनेछ । मतगणनाका लागि टीकापुरस्थित सीटी हलमा बत्ती, माइक, तारजाली, सीसी क्यामेरा लगायतको व्यवस्था भैसकेको भारतीले बताए ।

यस क्षेत्रमा नेकपा (एमाले) बाट द्वारिकाप्रसाद न्यौपाने, नेपाली काँग्रेसबाट जनकराज चौधरी, नेपाली कम्युनिस्ट पार्टीबाट रामलाल डगौरा थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोमल ज्ञवाली, राप्रपाबाट लोकेन्द्र कुँवर लगायतका १५ जना उम्मेदवार छन्।

टीकापुर–१ मा ४६ दशमलव ४३ प्रतिशत मत खस्यो

मतदाताको हिसावले नेपालमा सबैभन्दा बढी मतदाता भएको टीकापुर नगरपालिका –१ मा ४६ दशमलव ४३ प्रतिशत मत खसेको छ । २२ हजार ९०९ मतदाता रहेको यस वडामा दश हजार ६३८ मत खसेको हो ।

तीनवटा मतदानस्थल भएको यस वडाका खड्ग स्मृति माविमा चार हजार २३१ मत, वीरेन्द्र विद्या मन्दिर मावि केन्द्रमा तीन हजार ६३७ र टीकापुर बुहुमखी क्याम्पस केन्द्रमा दुई हजार २ हजार ७७० मत खसेको छ ।

अघिल्ला निर्वाचनको तुलनामा कम मत खसे पनि यस वडाको मतलाई यहाँको निर्वाचनमा निर्णायक मान्ने गरिएको छ । निर्वाचन आयोगको विवरणअनुसार टीकापुर नगरपालिका –१ पछि २० हजार ८४७ मतदाता रहेका छन् ।

मध्यपूर्वमा युद्ध थप भयावह बन्दै

मध्यपूर्वमा युद्ध थप भयावह बन्दै गएको छ । अमेरिका र इजरायलसँग चलिरहेकाे युद्धबीच इरानले आज इराकमा रहेका कुर्दिश समूहमाथि आक्रमण गरेको छ । इरानका राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले पृथकतावादी समूहले यो अवसर ठानेर कुनै कदम चाल्ने भूल नगर्न कडा चेतावनी दिएका छन् ।

युद्धको प्रभाव फैलिँदै गएको छ । इरानको एलिट रिभोलुसनरी गार्ड्सले होर्मुज मार्ग बन्द गरेको दाबी गरेको छ । यहाँबाट कच्चा तेल आपूर्ति हुने गर्दछ । बजार विश्लेषण संस्था केप्लरका अनुसार तेल ट्याङ्करको आवागमन झन्डै ९० प्रतिशतले घटेको छ ।

इरानको राजधानी तेहरानमा आज बिहान धेरै विस्फोटका आवाज सुनिएका छन् । इजरायलले तेहरानमा ठूलो आक्रमण अभियान जारी रहेको दाबी गरेको छ । लेबनानमा पनि दक्षिण बेरुतमा आक्रमण भएका छन् भने सडकमा गुडिरहेको गाडीमा ड्रोन प्रहार हुँदा तीन जनाको ज्यान गएको छ ।

समुद्री मोर्चामा पनि युद्ध विस्तार भएको छ । अमेरिकाले श्रीलङ्काको तट नजिक इरानी युद्धपोत डुबाएको बताएको छ जसमा ८७ वटा शव बरामद भएका छन् ।

खाडी क्षेत्रमा कुवेत, साउदी अरेबिया र कतारसम्म तनाव फैलिएको छ । कतारले राजधानी दोहामा नागरिकलाई घरभित्रै बस्न सतर्क गरेको छ ।

आर्थिक मोर्चामा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जर्जिवाले यो सङ्कटले विश्व अर्थतन्त्रलाई दीर्घकालीन क्षति पुर्‍याउन सक्ने गम्भीर चेतावनी  दिएका छन्। दक्षिण कोरियाले ६८ अर्ब अमेरिकी डलरको बजार स्थिरीकरण कोष सक्रिय गरेको छ भने चीनले इन्धन निर्यातमा रोक लगाएको छ ।

इरान सरकारले युद्ध शुरू भएयता १ हजार ४५ जनाको ज्यान गएको दाबी गरेको छ, तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । -एजेन्सी

 

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग

काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६० प्रतिशत मत खसेको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी पत्रकारसम्मेलनमार्फत सो जानकारी गराएका हुन् ।

उनले देशैभरी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको पनि बताए ।

साथै, उनले आजबाटै मतगणना सुरु गरिने बताए ।

महाविर पुनले मत मागे, आफैँले खसालेनन् मत

पोखरा। पूर्व शिक्षामन्त्री तथा म्याग्दीका प्रतिनिधि सभा सदस्य उम्मेदवार महाविर पुनले मत दिएनन् । एक महिनासम्म म्याग्दिका मतदातासँग मत मागेका उनले आफैले चाहिँ मत नदिएका हुन् ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक समेत रहेका उनले केही समयअघि मात्रै मतदाता नामावलीमा नाम लेखाएका थिए । उनले हालसम्म मतदान नै गरेका छैनन्।

मतदाता नामावली चितवनमा भएका कारण आफूले मत नदिएको पुनले बताए । ‘नागरिकता चितवनको छ । मतदाता नामावली पनि चितवनबाटै बनाइयो,’ उनले भने, ‘म्याग्दीमा अरु केही काम छैन । बसाई सराई यता ल्याइएन । अहिले पो समस्या पर्‍यो ।’ उनले शिक्षा मन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।
प्रत्यक्ष नपाएपनि समानुपातिकमा मत दिन पाउने भ्रमले आफू अल्झिएको पुनको भनाई छ ।

‘मलाई समानुपातिकमा चाहिँ म्याग्दीबाटै मत हाल्न पाइन्छ भनेका थिए, त्यसैले म ढुक्क भएर बसेको थिएँ,’ उनले थपे, ‘अघि ४ बजे भोट हाल्न जान्छु भनेर तयारी गर्दा पो थाहा भयो, समानुपातिकमा पनि सम्बन्धित मतदान केन्द्रमै जानुपर्ने रहेछ ।’ उनको नागरिकता राप्ती नगरपालिकामा छ ।

ठट्यौली पारामा उनले भने, ‘अब हेलिकप्टरमा जाने कुरा आएन, नत्र गाडीमा गएर आउजाउ गर्न त अहिले सम्भव छैन ।’ मतदान गर्न नपाएकोमा आफूलाई खल्लो लागेको उनले बताएका छन्।

प्रधानमन्त्री कार्कीको फोटो राखेर बालेनले लेखे- हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको फोटो फेसबुकमा राख्दै ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’ लेखेका छन्।

प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले आज प्रतिनिधि सभा निर्वाचन गराएको छ।

नेता बालेनले त्यसप्रति लक्ष्य गर्दै ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ’ लेखेका छन्।

देशभर शान्तिपूर्ण र उत्साहपूर्वक मतदान सम्पन्न

काठमाडौं- छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ।

निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो। आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले मत दिने समय साँझ ५ बजेसम्म भए पनि मतदानस्थलको लाइनमा रहेर मत दिन बाँकी मतदाताले त्यसपछि पनि मतदान गर्नसक्ने बताइन्।

आयोगका अनुसार अहिलेसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रूपमा स्थगनको घोषणा भएको छैन। दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद समाधान भएको थियो। केहीबेर मतदान स्थगनपछि दोलखाको तामाकोशी-४ स्थित मालु मतदानस्थलमा अहिले पनि मतदान जारी छ। मतदानको विस्तृत विवरणबारे आज साँझ ६:१५ बजे आयोगले पत्रकार सम्मेलन गरेर जानकारी गराउने जनाएको छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो।

यस निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। निर्वाचनमा एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम छन्।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो। १४३ अस्थायी मतदानस्थल तय भएका थिए। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका थिए।

झापा ५ मा ६५ प्रतिशत मत खस्यो, सर्वदलीय बैठक आजै बस्ने

झापा । झापा ५ मा ६५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको छ ।

५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको जानकारीअनुसार ६५ प्रतिशत मतदान भएको छ । यो क्षेत्रमा एक लाख ६३ हजार ३७९ मतदाता थिए । झापा ५ यस निर्वाचनको ‘चुनावी इपिसेन्टर’ बनेको छ । उनका अनुसार आज नै सर्वदलीय बैठक बस्ने तयारी छ । सर्वदलीय बैठकपछि मात्रै मतगणनाको समय टुंगो लाग्नेछ ।

कैलालीमा साढे ३८ हजार मत खस्यो

धनगढी  । कैलालीमा मतदान सुरु भएको साढे तीन घण्टामा ३८ हजार ४९० मत खसेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार १०ः३० बजेसम्म ६.९८ प्रतिशत खसेको हो ।

निर्वाचन क्षेत्र नम्बर १ मा सात हजार ६५, क्षेत्र नम्बर २ मा आठ हजार १६१, क्षेत्र नम्बर ३ मा ११ हजार सात मत खसेको छ । यसैगरी, क्षेत्र नम्बर ४ मा छ हजार १९ र क्षेत्र नम्बर ५ मा छ हजार २३८ मत खसेको छ ।

कैलालीको पाँच वटै निर्वाचन क्षेत्रमा सौहार्द्रपूर्ण वातावरणमा शान्तिपूर्वक मतदान भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए । कैलालीमा जम्मा पाँच लाख ५१ हजार ५२ मतदाता रहेका छन् ।

प्रधानमन्त्री कार्कीद्वारा कतारका समकक्षीसँग टेलिफोन संवाद : नेपालीको सुरक्षा र रेखरेदबारे कुराकानी

काठमाण्ड- प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग आज टेलिफोन वार्ता गरी पश्चिम एशिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन् ।

कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपालीलाई सुरक्षा तथा संरक्षण उपलब्ध गराएकामा नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट कतारी प्रधानमन्त्री थानीलाई धन्यवाद दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले पश्चिम एशिया क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालको धारणा रहेको बताएकी थिइन् ।

उनले नेपालले सबै राष्ट्रले संयुक्तराष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानून, जेनेभा अभिसन्धि र मानवीय कानूनको उचित सम्मान र पालना गर्नुपर्ने कुरामा जोड दिइएको बताएकी थिइन् ।

कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताउँदै प्रधानमन्त्री कार्कीले वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने बताइन ।

उनले दुई देशबीचको सम्बन्ध आउँदा दिनमा उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरे ।

टेलिफोन संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारको परिस्थितिप्रति ऐक्यबद्धता व्यक्त गर्दै कतारको सार्वभौम भूमिमा खासगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गरिन् । साथै उनले कतारले रचनात्मक भूमिकासहित वर्तमान परिस्थितिको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरिन् ।

कतारका प्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री थानीले नेपाल र कतारबीचको सुमधुर, प्रगाढ र मित्रवत् सम्बन्धको उच्च प्रशंसा गरेकी थिइन् ।

 

दिउँसो ४ बजेसम्म झापामा करिब ६० प्रतिशत मत खस्यो, मोरङ ५२ प्रतिशत

विराटनगर । झापामा ४ बजेसम्ममा ५९ दशमलव ६७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार सबै भन्दै बढी झापा ५ मा मत खसेको छ । झापा ५ मा ६१ प्रतिशत भन्दा बढिले मतदान गरेका छन् ।

झापामा ७ लाख १३ हजार ५३७ मतादाता रहेका छन् । ४ बजे सम्ममा ४ लाख २५ हजार ७३७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अहिले पनि मतदान स्थलमा मतदाताहरू लाइनमा रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा मोरङ ४ बजे सम्ममा ५२ प्रतिशत मत खसेको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार दिउँसो ४ बजेसम्म जम्मा ५१ं।९४ प्रतिशत मत खसेको हो ।

मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म ४ लाख ६ हजार ७१५ जनाले मतदान गरेका हुन् । जिल्लाभरका कुल ८८८ मतदान केन्द्रहरू छन् । मतदानको साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।

सुनसरीमा भने अहिलेसम्म ५५ प्रतिशत मत खसेको छ प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री शाहद्वारा मतदान

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले वाकरको सहारामा आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नु भएको छ । उनले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कैलाली क्षेत्र नम्बर २, लम्किचुहा नगरपालिका–१ को कालिका माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर दिउँसो ३ बजेर  २५ मिनेटमा मतदान गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने क्रममा रहेको भन्दै खुसी व्यक्त गरे । उनले निर्वाचनलाई सफल बनाउन खटिनुभएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय तथा आम मतदाताहरूलाई शुभकामना तथा धन्यवाद व्यक्त गरे ।

त्यसैगरी, भ्रष्टाचार न्यूनीकरण र सुशासनको माग गर्दै भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदप्रति उनले श्रद्धाञ्जली अर्पण गरे ।

मुख्यमन्त्री शाहले शहिदहरूको रगत र बलिदानअनुसार देशमा लोकतन्त्रको स्थायित्व कायम हुने, संविधानको प्रभावकारी कार्यान्वयन हुने तथा लोकतान्त्रिक प्रणाली अझ सुदृढ बन्ने विश्वास व्यक्त गरे ।

दिउँसो ४ बजेसम्म करिब ८५ लाख मतदान

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज जारी  मतदानमा करिब ८५ लाख मत खसेको छ । बिहीबार दिउँसो ३ः४५ बजेसम्म ८४ लाख ६० हजार ६७७ मत खसेको हो ।

यो तथ्याङ्कअनुसार देशभर हाल्लसम्म ४५ प्रतिशत मत खसेको हो । सुरक्षा निकायको तथ्याङ्कअनुसार सबैभन्दा कम मधेश प्रदेशमा मत खसेको छ । मधेशमा ३७ प्रतिशत मात्रै मत खसेको छ ।

मधेशमा १३ लाख ५२ हजार ५०४ मत खसेको तथ्याङ्कमा उल्लेख छ । यस्तै सबैभन्दा धेरै मत भने उपत्यकामा खसेको छ । तथ्याङ्कअनुसार यहाँ ५४ प्रतिशत मत खसेको हो । उपत्यकामा ६ लाख ३५ हजार ४२८ मत हालसम्म खसेको हो । यस्तै गण्डकी र कर्णालीमा समान ४८ प्रतिशत मत खसेको छ । बागमती र लुम्बिनीमा समान ४७, कोशीमा ४६ तथा सुदूरपश्चिममा ३९ प्रतिशत मत खसेको छ ।

null

डडेल्धुरामा ४४ प्रतिशत मत खस्यो

 

डडेल्धुरा- एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा मतदान जारी छ । ४ बजेसम्म ४४.२ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

२२ हजार ४८५ महिला र १८ हजार ८८३ पुरुषले मतदान गरेका छन् । जिल्लामा ९३ हजार ४०३ मतदाता छन् ।

दार्चुलामा खस्यो ३५.१५ प्रतिशत मत, मतदान जारी

दार्चुला- दार्चुलामा ३५.१५ प्रतिशत मत खसेको छ। प्रतिनिधिसभाको एउटामात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ३५.१५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

जिल्लाका मतदान केन्द्रमा बिहानैदेखि मतदान प्रक्रिया अहिले पनि शान्तिपूर्ण रूपमा भइरहेको छ। दार्चुलामा दिउँसो २ बजेसम्म १५ हजार ४१४ महिला र १७ हजार २५९ जना पुरुष गरी जम्मा ३२ हजार ६७३ जना मतदाताले मतदान गरेका छन्।

जिल्लामा दुईवटा अस्थायीसहित ११२ वटा मतदानस्थल र १३४ वटा मतदान केन्द्रबाट मतदान जारी रहेको छ। मतदान साँझ ५ बजेसम्म हुनेछ। जिल्लाको कुल मतदातासंख्या ९२ हजार ९४८ जना रहेको छ ।

मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि अर्घाखाँचीमा विवाद

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-४ मा रहेको मतदान केन्द्रमा मतदान रोकिएको छ।

मतदानका लागि प्रयोग भएका केही मतपत्रहरूमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि विवाद सिर्जना भएको हो।

खोज्नुहोस