मध्यपूर्वमा युद्ध थप भयावह बन्दै
मध्यपूर्वमा युद्ध थप भयावह बन्दै गएको छ । अमेरिका र इजरायलसँग चलिरहेकाे युद्धबीच इरानले आज इराकमा रहेका कुर्दिश समूहमाथि आक्रमण गरेको छ । इरानका राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले पृथकतावादी समूहले यो अवसर ठानेर कुनै कदम चाल्ने भूल नगर्न कडा चेतावनी दिएका छन् ।
युद्धको प्रभाव फैलिँदै गएको छ । इरानको एलिट रिभोलुसनरी गार्ड्सले होर्मुज मार्ग बन्द गरेको दाबी गरेको छ । यहाँबाट कच्चा तेल आपूर्ति हुने गर्दछ । बजार विश्लेषण संस्था केप्लरका अनुसार तेल ट्याङ्करको आवागमन झन्डै ९० प्रतिशतले घटेको छ ।
इरानको राजधानी तेहरानमा आज बिहान धेरै विस्फोटका आवाज सुनिएका छन् । इजरायलले तेहरानमा ठूलो आक्रमण अभियान जारी रहेको दाबी गरेको छ । लेबनानमा पनि दक्षिण बेरुतमा आक्रमण भएका छन् भने सडकमा गुडिरहेको गाडीमा ड्रोन प्रहार हुँदा तीन जनाको ज्यान गएको छ ।
समुद्री मोर्चामा पनि युद्ध विस्तार भएको छ । अमेरिकाले श्रीलङ्काको तट नजिक इरानी युद्धपोत डुबाएको बताएको छ जसमा ८७ वटा शव बरामद भएका छन् ।
खाडी क्षेत्रमा कुवेत, साउदी अरेबिया र कतारसम्म तनाव फैलिएको छ । कतारले राजधानी दोहामा नागरिकलाई घरभित्रै बस्न सतर्क गरेको छ ।
आर्थिक मोर्चामा अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जर्जिवाले यो सङ्कटले विश्व अर्थतन्त्रलाई दीर्घकालीन क्षति पुर्याउन सक्ने गम्भीर चेतावनी दिएका छन्। दक्षिण कोरियाले ६८ अर्ब अमेरिकी डलरको बजार स्थिरीकरण कोष सक्रिय गरेको छ भने चीनले इन्धन निर्यातमा रोक लगाएको छ ।
इरान सरकारले युद्ध शुरू भएयता १ हजार ४५ जनाको ज्यान गएको दाबी गरेको छ, तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । -एजेन्सी
