बैतडीमा १२ हजार ९८२ मत खस्यो

द एभरेष्ट पोष्ट
२१ फागुन २०८२ ११:४८
बैतडीमा १२ हजार ९८२ मत खस्यो

बैतडी । बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको हो।

जिल्लामा एक अस्थायी सहित कुल २१५ मतदान केन्द्र रहेका छन्। प्रमुख जिल्ला अधिकारी थापाले सबै केन्द्रमा मतदान प्रक्रिया सुचारु रहेको र अहिलेसम्म कुनै अप्रिय घटना नघटेको जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार, बिहान १० बजेसम्म १२,९८२ मत खसेको छ। जसमध्ये ६,२४१ पुरुष, ६,७४० महिला र १ अन्य मतदाता रहेका छन्।

बैतडीमा प्रतिनिधि सभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको छ। यहाँ १० जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् र कुल मतदाता संख्या १,५६,३७२ रहेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रमुख जिल्ला अधिकारी थापाले मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गरे।

जिल्ला निर्वाचन अधिकारी खगेन्द्र भारतीका अनुसार सबै मतदान केन्द्रमा मतदाताको सहजताका लागि आवश्यक व्यवस्था मिलाइएको छ। अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा महिलालाई विशेष व्यवस्था प्रदान गरिएको छ।

निर्धारित कार्यतालिका अनुसार मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने छ। जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातासँग अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस