संसारका सबै मान्छे दौडमा छन् । कोही नामका लागि । कोही पैसाका लागि । कसैलाई अरुको अरुको किर्तिमान भंग गर्नुछ । कायम गर्नुछ, नयाँ किर्तिमान ।
विरलै मान्छे छन्, जो अरुका लागि दौडिन्छन् । जसलाई उछिन्नु छैन्, कसैलाई । थुपार्नु छैन्, धन । चाहिएको छैन्, चर्चा । तिनै अपवाद हुन्, बाल जोशी ।
दुई दशकअघि अमेरिकालाई स्थायी मुकाम बनाएका बालको कथा शुरु हुन्छ, सुर्खेतको कुईनेबाट ।
कुईनेमा बसोबास । वीरेन्द्रनगरमा पसल । प्रजातान्त्रिक आन्दोलनमा संलग्न बुवा आकलझुक्कल घर आउँथे । बुवा भन्दा पहिले खोजीमा प्रहरी आईपुग्थ्यो । प्रजातन्त्रका लागि लड्दा पञ्चायती शासकबाट लखेटिए । माओवादी युद्ध शुरु भयो । त्यसपछि खोजी गर्दै माओवादी आउन थाले । बुवा सधै बनवासी । आमाको काँधमा परिवारको जिम्मेवारी ।
२०४० सालमा उनी वीरेन्द्रनगरमा जन्मिए । तीन वर्षपछि भाई । पसल डुब्यो । आमा कुईने फर्किईन् । संगै उनी ।
गाँउको विद्यालयमा प्राथमिक तहको पढाई सके । नजिकमा विद्यालय थिएन् । निमावि तहको पढाईका लागि जामुको विद्यालयमा भर्ना भए । ओहोरदोहोरमा दैनिक चार घण्टा लाग्थ्यो ।
गर्मीमा विद्यालय विहान ६ बजे लाग्थ्यो । उनी राति चार बजे घरबाट निस्किन्थे । कुद्नु आदत बन्यो । यसरी ८ कक्षा पास गरे ।
माध्यमिक तहको पढाईका लागि घाटगाउँको हाईस्कुल जानु पर्ने भयो । बाटोमा भेरी नदी पथ्र्यो । हरेक दिन भेरी तर्नुपर्ने । अर्को स्कुल विद्यापुरमा थियो । त्यो टाढा थियो ।
आमाको धोको थियो, उनलाई धेरै पढाउने । संगै थियो, सुरक्षाको चिन्ता । आमाले उनलाई अछामको बिनायकमा पठाईन् । त्यहाँ सानी आमाको घर थियो । नजिकै विद्यामन्दिर माध्यमिक विद्यालय । उनी सानैदेखि हक्की थिए । भर्ना हुन एक्लै स्कुल गए । शिक्षकले सोधे, तिमी एक्लै आएको ? जवाफमा भने, पढ्ने म । पढाउने तपाई । अरु किन चाहियो ? ९ कक्षामा भर्ना भए । त्यहीबाट एसएलसी दिए ।
एसएलसीको नतिजा आउदा उनी कुईने थिए । समाचार सुने । पैदल कैलालीको लम्की हानिए । पुस्तक पसलमा लाईनमा मिसिए । पैसा तिरेर गोरखा पत्रमा नतिजा हेर्न लगाए । पसलेले भन्यो, तिमी फेल भयौ ।
उनले बुझे, पसलेले प्रथम श्रेणीमा हेर्दै हेरेनन् । भने, प्रथम श्रेणीमा हेर्नु । नभन्दै उनको नम्बर प्रथम श्रेणीमा थियो । उनको आत्मविश्वास देखेर पसले दंग भए ।
उच्च शिक्षा पढ्न नेपालगञ्ज झरे । त्यहाँ पनि मामाको घर थियो । ११ कक्षाको परीक्षा मामाकै घरबाट दिए । १२ कक्षामा मामाको घर छोडे । डेरामा बसेर पढ्न थाले ।
त्यतिबेलासम्म आमासंग सहयोग लिन छोडिसकेका थिए । आमालाई कति दुःख दिने ? अभावमा बाँचिरहेकी आमालाई उनी तनाव दिन चाहदैनथे । उनी बरु आमा र भाईलाई सहयोग गर्न चाहन्थे । घर भाडा । खाना । पढाईको खर्च । यो सबैका लागि उनीसंग काम खोज्नु बाहेक बिकल्प रहेन् ।
काम खोजे । पाएनन् । मट्टितेल किन्ने पैसा थिएन् । उनी आईएस्सीमा बायोलोजी पढ्दै थिए । उनीसंग ३०० रुपैया पर्ने एउटा क्यालकुलेटर थियो । त्यसलाई ८० रुपैयामा बेचे । १६ रुपैयाका दरले पाँच किलो चना किने । एक महिना त्यही काँचो चना खाएर बिताए ।
हिडेर नथाक्ने उनी त्यसपछि भोक झेल्न सक्ने भए । विज्ञानका विद्यार्थी । उनी बाँच्नका लागि पत्रिकामा काम गर्न थाले । पत्रिकाको प्रुफ हेर्थे । विस्तारै समाचार लेख्न सिके । र, पत्रकार भए । भोकमा साथ दिने चना अहिले पनि उनका लागि उत्तिकै प्रिय छ ।
उनी १४ वर्षका थिए । मेलामा हराउने त्यो उमेर । बुवासंग खेलौनाका लागि जिद्दी गर्ने बालापन । उनी भने हराएका बुवा खोजी गर्न मामासंग गुजरात पुगे । बिरामी बुवालाई ल्याएर नेपालगञ्ज आए । र, त्यहाँबाट आमासंग सुर्खेत पठाए ।
एक महिनापछि बुवा सिकिस्त बिरामी भए । सुर्खेतबाट फोन गर्न कैलालीको चिसापानी झर्नुपथ्र्यो । चिसापानी एक जना आफन्त पठाएर आमाले फोन गर्न लगाईन् । आमाको सन्देश थियो, तुरुन्त घर आउनु । घरजान डेराबाट निस्केका उनी बागेश्वर मन्दिर गए । गुरुलाई भेटे । र भने, मेरो ब्रतबन्ध गरिदिनुस । गुरुले मन्दिरको फन्को मार्न लगाए । जनै दिए । र, कानमा मन्त्र फुके । बस्, पाँच मिनेटमा ब्रतबन्ध सकियो । उनी २० रुपैया दक्षिणा दिएर सुर्खेत लागे ।
घर पुगेको १५ मिनेट भएको थियो । बुवाले बाथरुम लैजान भने । उनले डो¥याएर बाथरुम लगे । बुवाको पाईन्ट खुस्कियो । उनी हाँसे । संगै गएकी आमा चिच्याउन थालिन् । निमेषमै बुवाको घाटी बांगो भईसकेको थियो । र, जिव्रो मुखबाट बाहिर निस्किएको थियो ।
उनको हातमा अडिएका बुवा भारी भए । न सास रह्यो । न आस । जिन्दगी बुझ्ने नहुदै उनले मृत्यु देखे । त्यो पनि यति नजिकबाट । त्यसैले होला, उनलाई मृत्यसंग भय लाग्दैन् ।
के कारणले म मन्दिर गए ? किन ब्रतबन्ध गरे ? ब्रतबन्ध नगरेको भए बुवाको किरिया गर्न बञ्चित हुन्थे । फर्केर सम्झिन्छन्, ब्रतबन्ध र बुवाको मृत्युका पछाडि केही न केही कनेक्सन त पक्कै थियो ।
बुवाको हात समातेर हिड्ने त्यो बाल्यकाल उनले पाएनन् । उनका हातले त्यो उमेरमा बुवालाई मुखाग्नी दिनुप¥यो । उनले बुवालाई परबाट सुने । देख्न पाएनन् । जतिबेला नजिकबाट छुन पाए । त्यतिबेला बुवा रहेनन् । सोच्छन्, सायद मेरो भाग्यमा बुवाको भरोसा, माया र प्रोत्साहन थिएन् । फेरि सोच्छन्, आमाको ओतमा हुर्किन पाएको म त्यो भाग्यमानी ।

धन्यछन्, उनी प्रति । जसले उनलाई टुट्न दिईनन् । आफू अभावमा बाँचिन्, तर सिकाईन्, जिउँने मन्त्रहरु । उनीभित्र जो स्वाभिमान छ, त्यो आमाबाट उनमा स्वतः ट्रान्सफर भएको हो । भोकलाई पटुकाले बाँधेर जसले सन्तानलाई भरीपेट खान दिन्छिन्, आमा तिनै हुन् । उनकी आमा त्यस्तै थिईन् ।
उनी १९ वर्षका थिए । राष्ट्रिय समाचार समितिमा काम गर्थे । पत्रकारितासंगै सहारा समूहमा सक्रिय थिए । सहाराले मुठिदानबाट बाल गृह सञ्चालन गरेको थियो । जो, सयभन्दा बढि द्वन्द्व पीडित बालबालिकाको आश्रयस्थल थियो । उनी बाल गृहभित्रै बस्थे । बालबालिकाले उनलाई कुमार पिता भन्थे । च्यारिटी उनको जीनमा थियो । आमाले भन्थिन्, तिमीले जे दिन्छौ । त्यो फिर्ता आउछ ।
बझाङमा सेनाले माओवादी भनेर श्रीमानलाई मारेपछि श्रीमतीले सेतीमा हाम फालेर आत्महत्या गरिन् । ती दम्पत्तीका दुई जना बच्चा सेनाको हिरासतमा थिए । ती बच्चाको उद्दारका क्रममा आईसीसीमा काम गर्ने सुनैना अधिकारीसंग उनको भेट भयो । चिनजान भयो । त्यो चिनजान विस्तारै प्रेममा परिणत भयो ।
सुनैना महेन्द्र बहुमुखी क्याम्पसमा पढथिन् । उनीहरुले विवाह गर्ने निधो गरे । मिति र विवाहस्थल तय गरे । कार्ड छापे ।
दुस्साहसी उनी । कार्ड लिएर सुनैनाको घर गए । बुवालाई भेटेर भने, हामी विवाह गर्दैछौ । आशिर्वाद दिन आउनुहोला ।
उनको घर थिएन् । सुनैना बर्दियाको हुनेखाने परिवारकी छोरी । सुनैना, उपाध्याय । उनी, जैसी । बुवाआमाले स्वीकार्दैनन् होला भन्ने उनीहरुको बुझाई थियो । तर उनीहरुको खुशीको सीमा रहेन्, जब बुवाआमा कन्यादान गर्न मण्डपमै आईपुगे ।
उनी आमालाई सुर्खेत छोड्न आग्रह गर्थे । डेरामा आउदिन्, आमाको अड्डी थियो–घर नबनाएसम्म नेपालगञ्ज झर्दिन् ।
विहा गर्नुअघि सुनैना र उनी बैंक गए । सुनैनाको कमाई राम्रो थियो । १० लाख रुपैया ऋण लिए । ८ लाखमा घर किने । दुई लाख बिहाका लागि छुट्याए । र, विहा अघि आमालाई नेपालगञ्ज बोलाए । स्वाभिमानी आमाका जिद्दी छोरा । कहाँ मान्थे ? जे ठाने । ठाने । साथ दिने सुनैना छदैथिन् ।
उनले एकदिन सिनियर दाईलाई सुनैनाका बारेमा सोधे । ती दाईले सोझै भनिदिए, ‘भाई तुमसे बहुत उची है । मत देखो ।’
ती दाई त्यतिबेला झस्किए । जतिबेला उनीहरु बिहा गर्दै थिए । रोक्न खोजे । सकेनन् । सुनैना सम्झिन्छिन्, त्यतिबेला दाई भिलेन लागे । तर दाईले मेरो चिन्ता गर्नु स्वाभाविक थियो । किनकी हामी परिपक्व थिएनौ ।
बालको न घर । न ठेगाना । फेरि पनि उनीमाथि सुनैनाको औँधी विश्वास । हो, विश्वासले ठेगाना खोज्दैन् । बस्, भरोसा खोज्छ । बालमाथि भरोसा थियो ।

अमेरिकाको यात्रा र बैंकको जागीर
जुलाई २००५ मा उनी बिजनस भीसामा अमेरिका उडे । मेरिल्याण्ड उनको नयाँ मुकाम बन्यो । बंगालीको सव वेमा काम पाए । दिनभरी उभिरहनु पर्ने । उनलाई ‘ह्युमिलेसन फील’ भयो । छैठौ दिन काममा फर्किएनन् । पैसा पनि पाएनन् ।
त्यसपछि ज्वैलरी सपमा काम थाले । संगै पढाई अघि बढाए । २००८ मा फाईनान्समा स्नातक गरे । के ज्वैलर्समा सेल्सम्यान हुदै म्यानेजर भए । २००८ मा सुनैना अमेरिका आईन् । उनी टेक्सास सरे ।
त्यहीवर्ष ह्यांकक व्हिट्नी बैंकमा जागीरे भए । १२५ वर्ष पुरानो बैंकको पूँजी ४० बिलियन डलर छ । पर्सनल बैंकर्सबाट शुरु भएको बैंकिङ यात्रामा छलाङ मारे । केही वर्षमै उनी सिनियर भाईस प्रेसिडेण्ट भए ।
उनी जे गर्छन् । मनबाटै गर्छन् । र, ईमान्दारीपूर्वक गर्छन् । उनी कार्यरत बैंकमा ४ हजार कर्मचारी छन् । चार वर्षदेखि उनी उत्कृष्ट बैंकर्स अवार्ड थापिरहेका छन् । पाँचौ वर्षको अवार्ड पनि पाउनेमा ढुक्क छन् । यो उनको ईमान्दारिता र उत्कृष्ट कार्यको प्रतिफल हो ।
वान स्टेप फाउण्डेसनको जन्म
उनीसंगै काम गर्थे, जोन फेरिस । फेरिस दगुर्थे । फेरिसले उनलाई प्रेरित गरे । र, उनी दगुर्न थाले । शुरुमा स्वास्थ्यका लागि दगुरे । पछि उनले त्यसलाई परोपकारसंग जोडे ।
उनी दगुर्न थालेको चार वर्ष भयो । र, त्यसयता उनको दैनिकी फेरियो । विहान ४ बजे उठ्छन् । कम्तिमा १० माईल कुद्छन् । फर्केर स्वीमिङ गर्छन् । विदाको दिन दुगुना कुद्छन् । नित्यकर्म सकेर ८ बजे बैंक पुग्छन् । पाँच बजे फर्किन्छन् । राति ८ बजे निदाउँछन् ।
उनले दुई वर्षअघि गैर मुनाफामुखी संस्था वान स्टेप फाउण्डेसन स्थापना गरे । २४ महिनाको अवधिमा फाउण्डेसन मार्फत उनले विभिन्न संघसंस्थालाई दुई लाख डलरभन्दा बढि सहयोग गरिसकेका छन् । यो सबै रकम उनले दौडेर संकलन गरेका हुन् ।
थ्यांक्स गिभिङ । क्रिसमस र नयाँ वर्ष । दशैं होस वा दीपावली । उत्सवको त्यो समय परिवारसंगै सदपुयोग गर्छन् । र, बनाउछन्, अर्थपूर्ण ।
पछिल्लो दीपावली उनले घरमा मनाएनन् । २० देखि २४ अक्टोबर २०२५ का चार दिन उनले नेभादाको रेड क्याननमा बिताए । संसारमा एक करोड ७० लाखभन्दा बढि व्यक्ति दृष्टि विहीन छन् । सोचे, अध्याँरोमा बाँचिरहेका उनीहरुमध्ये केहीको मात्र ज्योति फर्काउन सके हुन्थ्यो । र निधो गरे, २२० किमी दगुर्ने । एक किमी दगुरे वाफत एक जनाको आँखाको क्याट्रयाक्टको अप्रेशनका लागि सहयोग जुटाउने । लक्ष्य थियो, २२० जनाको आँखाको अप्रेशनका लागि सहयोग जुटाउने । जुट्यो, २५ हजार डलर । रुईत फाउण्डेसनसंग त्यही रकमले ५०० जनाको अप्रेशन गर्ने सहमती गरे ।
२०२४ मा उनी एभरेष्ट म्याराथनमा सहभागी भए । संसारकै सबैभन्दा उचाईमा दौडेर उनले ४० हजार डलर संकलन गरे । जुन रकम बिभिन्न सामाजिक संघसंस्थाले सहयोग गरे । त्यसमध्ये २९ हजार डलर टेक्सस नेप्लिज मेडिकल एशोसियसनलाई प्रदान गरे । उनले त्यो रकम हिमालयन हेल्थ क्लिनिक सञ्चालनमा सहयोग पुगोस भनेर सहयोग गरेका थिए ।
चार वर्षयता दुई दर्जनभन्दा बढि म्याराथनमा दौडिए । एक दर्जन भन्दा बढि ५० किमीको दौडमा सहभागी भए । ५ र १० किमीका थुप्रै दौडमा सहभागी भए ।
त्यसपछि उनले एभरेष्ट म्याराथन दौड्ने निर्णय गरे । र, गतवर्ष एभरेष्ट बेस क्याम्पबाट सुरु भएको म्याराथनमा सहभागी भए । समुद्र सतहदेखि १७,५९८ फिट उचाइको चुनौतीपूर्ण दौड मार्फत उनले संकलन गरेको ४२ हजार डलर वान स्टेप फाउण्डेसन मार्फत नेपालका स्वास्थ्य, बालकल्याण र सांस्कृतिक संरक्षणका लागि सहयोग गरे ।

२०२५ को जुनमा, उनी सपरिवार ताञ्जिनियाको किलिमञ्जारो (१९,००० फिट) आरोहणमा गए । आरोहणका क्रममा संकलन गरेको १९ हजार डलर तान्जानियाका ८० एचआईभी प्रभावित अनाथ बालबालिकालाई सहयोग गरे ।

सेप्टेम्बर २०२५ मा बर्लिन म्याराथनमा दौडिए । र, संकलन गरे ४२०० डलर । त्यो रकम जेष्ठ नागरिकहरुका लागि मिल्स अन द वील्सलाई सहयोग गरे ।
अप्रिल २०२५ मा बोष्टन म्याराथनमा दौडिए । त्यहाँ दौडेर प्राप्त भएको १० हजार डलर अमेरिकन लिभर फाउण्डेसनलाई प्रदान गरे ।
नोभेम्बर २०२४ मा न्यूयोर्क म्याराथनमा दौडिएर पाएको ४००० डलर क्यान्सरका विरामीलाई सहयोग गरे । अक्टोवर २०२४ देखि उनी टेक्सासमा ५ र १० किमी दौड आयोजना गर्दै आएका छन् ।
नोभेम्बर २०२३ मा उनी सय किमी दौडे । उनले त्यसक्रममा संकलन भएको १० हजार डलर चितवनमा बन्दै गरेको अपांग मैत्री पुस्तकालयलाई पठाए ।
पछिल्लो थ्यांक्स गिभिङमा टेक्सासमा उनले आयोजना गरेको टर्की ट्रटमा १००० मान्छे दौडिए । ५ किमी लामो दौडबाट पाँच हजार डलर संकलन भयो । त्यो रकम बालबालिकारुका लागि मिराकल लिग अफ आर्लिङटनलाई सहयोग गरे ।
नयाँ वर्षको अवसरमा ३ जनवरीमा ‘प्रोमिस ५ के’ दौड आयोजना गर्दैछन् । जसको नारा छ, वार फर अटिजम । यो दौडमा २५० भन्दा बढि सहभागी हुने अनुमान छ । यो निशुल्क ईभेण्ट । सम्पूर्ण खर्च बेहोर्न स्पोन्सर भेटाईसके ।
उनका सबै स्पोन्सर विदेशी हुन् । नेपालीसंग उनी पैसा उठाउदैनन् । स्पोन्सरबाट प्राप्त हुने रकम परोपकारी संघसंस्थालाई सहयोग गर्छन् । नेपाली र विदेशी हेर्दैनन् । तिनले गर्ने सेवा हेर्छन् ।
फाउण्डेसनले प्रोजेक्ट २६=२ सञ्चालन गर्दै आएको छ । जसको उद्देश्य दगुर्न प्रेरित गर्ने हो । त्यसका लागि तालिम र जानकारी दिने हो ।
उनको आफ्नै थ्योरी छ । ‘माई रेस, माई पेस’ अर्थात ‘मेरो दौड, मेरो गति’ । यो उनको मन्त्र हो । कसैलाई उछिन्नु छैन् । न त कसैसंग प्रतिस्पर्धा । न भंग गर्नु छ, कसैको किर्तिमान । दौड्को उद्देश्य एउटै छ, सेवा ।
त्यसैले त उनी भन्छन्, दौडमा गति होईन् । लय जरुरी छ ।
दिमागमा सकारात्मक सोच, हृदयमा सेवा
उनको बाल्यकाल चप्पलमा कट्यो । ११ कक्षा पढ्दैथिए । मामाले आफ्नो जुत्ता दिए । उनले जीवनमा पहिलो पटक जुत्ता लगाउन पाए ।
पहाडको बाटो । चट्टानको यात्रा । तिखा काँडा । धुपमा पोल्ने कर्णालीको रेत । हिउँदमा पट्पटी फुट्ने पैताला । दुखाईलाई तिनै पैतालामुनी कुल्चिएर उनी हिडिरहे । र बनाए, आफ्नो मुकाम आफै ।
उनले बाँचेको जीवन र उनले हिडेको बाटो । त्यसका हरेक पल महाभारतका पर्वहरु हुन् । जसका अनगिन्ति कथाहरु छन् ।
उनी आरनमा चोट खेपेर बनेको फलामको त्यो आकार हुन्, जसलाई न आँगोले पोल्छ । न हथौडाको प्रहारले असर गर्छ । कसैले गर्ने टिप्पणीले उनलाई असर के गर्थ्यो ? न फलको आशा । न प्रचारको लोभ । न नामको भोक । न प्रशंसाले फुर्किन्छन् । न आलोचकबाट तर्सिन्छन् । बस्, हिडिरहन्छन् ।
कर्णाली उधो बग्थ्यो । उनी त्यसलाई छेउ पारेर उभो हिड्थे । दुःखको अजंग पहाडलाई कुल्चिएर अघि बढ्न उनले आमाबाट सिके । भेरी र कर्णालीबाट अनवरत बगिरहने गुण उनमा सरे । न थाक्छन् । नरोकिन्छन् । उनको जीवनकी सहयात्री सुनैना पनि छन्, त्यस्तै । आफ्ना ईच्छा, आकांक्षा र रहरलाई भेरीले कर्णालीमा मिसाए झै मिसाउछिन् । जसलाई छुट्टै परिचय र अस्तित्वको मोह छैन् । बस्, कर्णाली भए पुग्यो । उनी कर्णाली हुन् । अनि सुनैना उनमा मिसिएकी भेरी । सायद यही हो, प्रेम ।
जसका लागि सुनैनाले जन्मदिने बुवाआमासंग बिद्रोह गरिन् । र, अंगालिन्, उनलाई । त्याग, र समर्पण कोही उनीबाट सिकोस ।
उनको सेवामा सुनैनाले आफ्ना रहर मिसाईन् । बनिन्, उनको छाया । यद्यपि उनी त्यो छाया होईनन्, अध्याँरोमा साथ छोड्ने । उनी धमनीमा बग्ने रगत झै छिन् ।
.jpg)
उनी फर्केर पुग्छन्, कुईने । अनि बालापनमा । जहाँ उनको खुट्टामा जुत्ता थिएन् । अनि त्यो डेराका यादहरुमा हराउछन्, जहाँ अभावमा एक महिना चना खाएर बिताए ।
भोक के हो ? दुःख के हो ? अभावको पीडा कस्तो हुन्छ ? उनी गलेको भए, हरेक दिन कैयौं पटक आत्महत्या गर्थे ।
आमा बलियो हुनेका सन्तान कहिल्यै कमजोर हुदैनन् । उनले त आमा झै पाए, पत्नी पनि । उनी त त्यो भाग्यमानी । आमाको संघर्ष । त्यस्तो अवस्थामा पनि आमाले अरुलाई सहयोग गर्नुपर्छ भन्ने । त्यही उर्जा हो, उनलाई ।
म जे छु । मेरो सफलतामा सबैभन्दा ठूलो योगदान आमाको छ । त्यसपछि सुनैनाको । यो सबै सुनैनाको अटुट विश्वास र साथले संभव भएको हो । यो पनि सत्य हो कि, श्रीमतीको बलियो साथ हुने श्रीमान कहिल्यै कमजोर हुदैनन् । भाग्यमानी बाल । सुनैनाको बलियो साथ र आड । आफूलाई भन्दा बढि विश्वास गरिन्, बाललाई । जब सुनैनाले बालसंग विहा गर्ने निर्णय घरमा सुनाईन् । परिवारजनले भने, बालसंग विहा नगर । दुःख पाउछौ । दरो विश्वास सहित सुनैनाले भनिन्, तपाईहरु चिन्नुहुन्न । बाल न तरासिएको हिरा हो ।
त्यतिबेला कसले पत्यावस ? अहिले सबैले भन्छन्, तिम्रो विश्वास सही थियो । सुनैनाले यो सुनाईरहदा बाल मुस्काईरहेका थिए ।
दुनियाले के भन्छ ? उनलाई छु मतलव । देउतामा खोट देख्ने दुनियामा उनी को हुन् ? तारिफ गरुन । कि आलोचना । फर्केर हेर्दैनन् । घोत्लेर सोच्दैनन् ।
यो जरुरी छैन्, सबैले राम्रो भनुन । मान्छेका आफ्नै सोच्ने तरिका छन् । जस्तो दृष्टि । त्यस्तै सोच । भन्छन्, ‘आई डण्ट केयर ।’
यस्तो कुरा सुन्दा उनी ‘एरोगेण्ट’ लाग्छन् । तर उनी त्यस्ता छैनन् । जस्तो टाढाबाट हेर्दा लाग्छन् ।
उनी भित्र पनि हृदय छ । त्यो हृदयमा बरु अरुभन्दा बढि छ, दया, माया र करुणा । परोपकार त उनको धमनीमा छ । जो उनले आमाबाट विरासतमा पाएका हुन् ।
घाम, पानी, हावा र माटो–हामी सबै ‘शेयर’ गरिरहेका छौ । उनको बुझाईमा निजी त केही छैन् । जीवनको प्रकृति नै त्यही हो ।
अनि त्यही जीवन किन मानव हीतमा सदुपयोग नगर्ने ? यो कुरा गरिरहदा, उनी सन्त लाग्छन् ।
मान्छेहरु भन्छन्, आफूसंग भए दिने हो । उनको यसमा फरक मत छ, कोसिस त आफूसंग नभए दिने हो । भएपछि त सबै दिन्छन् ।
जनावर पनि बाँचेकै छ । किरा फट्यांग्रा पनि बाँचेकै छन् । उनी भन्छन्, मान्छे त अरुका लागि बाँच्नुपर्छ ।
मान्छे सुनाउछन्, उसले करोडौ डलर कमायो । त्यो ठिक छ, ‘गुड फर हीम’ । तर समाजले के पायो ? प्रश्न यो हो । एक दिन उनीभित्र यस्तै प्रश्न जन्मियो ।
उनले अरुलाई प्रश्न गर्न जरुरी ठानेनन् । आफूले के गर्ने त्यो जरुरी सम्झे । त्यसैदिनदेखि उनी निस्किए, एउटा दौडमा । पाईला उनका हुन् । ती पाईलाले पार गर्ने दूरी उनको हो । तर त्यो दूरी तय गर्दा स्पोन्सरबाट मिल्ने हरेक पैसा, तिनको हो, जसको कोही छैन् । जोसंगै केही छैन् ।
दूरी फरक फरक हुन् सक्छ, हरेक दौडको । तर उद्देश्य एउटै छ, दीनदुःखीको सेवा गर्ने ।
नारा होईन त्यो, आन्दोलन गर्ने । मन्त्र हो त्यो, एउटा अभियानको । कहिल्यै नाम दिन्छन्, वाक फर अटिजम । कहिल्यै नाम दिन्छन्, वाक फर चिल्डे«न्स । त कहिले, वाक फर लाईब्रेरी ।
जहाँ उनको प्रतिस्पर्धा कसैसंग छैन् । उछिन्नु छैन्, कसैलाई । यो दौडमा उनी एक्लो छैनन्, उनकी पत्नी सुनैना र छोराछोरी, उनीसंगै उभिएका छन् । हिम्मत, आँट र भरोसा तिनै हातहरु हुन्, जो दुःखमा पनि उनको साथमा छन् । सुखमा पनि ।
धेरैका लागि जीवन भनेकै पैसा भयो । जब अभावमा थिए, उनका लागि त्यो आवश्यकता त भयो । सबै थोक कहिल्यै भएन् । भन्नेको के जान्छ, पैसाको चाङमा उभिएर बनावटी कुरा ग¥यो भन्लान ।
उनी दुःखको कारण ठान्छन्, पैसालाई । जो खुशीको खोजीमा पैसाका पछि दगुरीरहन्छ । उनको बुझाईमा मुस्कुराउने बाटा तमाम छन् । मान्छे दुःखी हुने बाटो खोज्छन् ।
पैसाका पछि कुदिरहेका मान्छेहरुका दुःख उनले नजिकबाट देखेका छन् । जति कमाएपनि नअघाउने । बस्, कमाउने भोक बढेको बढ्यै । अनि सुन्छन्, देख्छन् । पढ्छन् । तिनकै आत्महत्याको समाचार । उनलाई त्यहाँ पुग्नु छैन् । जहाँ कमाएर मान्छे आत्महत्याको बाटो रोजोस । भिक्षु जस्तै उनी । धन थुपार्ने लालसा कहिल्यै पालेनन् ।
उनी जुन परिवेशमा हुर्किए । त्यहाँ सपना कसले देखोस ? हो, बाल्यकालमा उनका कुनै सपना थिएनन् । उनी गरीवीमा हुर्किए । अभावमा बाँचे । आमा, सतिशाल झै थिईन, जसले दुःखका पहाड उनलाई बोकेर हिडिन् । सबै बोझ र पीडा आफूले सहिन । सन्तानलाई सुखद जिन्दगी दिईन् । उनी धन्य छन्, आमाप्रति ।
उनको छोरो श्रेयास १५ पुगे । छोरी श्रीयम १९ लागिन् ।
आफ्नो बिगत नबिर्सिनु । नबिर्सिनु कहाँबाट आएको हुँ । छोराछोरीलाई भनिरहन्छन्, जरा नबिर्सिनु । सेवा गर । प्रचार नगर । भन्छन्, ‘डु ईट ।’

अब के ?
उनी योजना बनाउदैनन् । पुरा गर्छन् । हो, उनी जे सोच्छन्, त्यो पुरा गरि छाड्छन् । एउटा म्याराथन नसकिदै उनी सोच्छन्, अब के ?
संसारका साना ठूला सबै दौडमा सहभागी भईसकेपछि उनको मनले प्रश्न ग¥यो, अब के ? उत्तर दिए, द वल्र्ड म्याराथन च्यालेञ्जमा दौडिने ।
हो, उनी संसारकै सबैभन्दा चुनौतीपूर्ण मानिने वर्ल्ड म्याराथन च्यालेञ्जमा सहभागी हुदैछन् । २०१५ देखि हरेक वर्ष आयोजना हुदै आएको यो म्याराथन यस वर्ष ३१ जनवरी २०२६ मा शुरु हुदैछ ।
अन्टार्टिकाबाट शुरु हुने सातदिने यो म्याराथन सात वटै महाद्धिपको परिक्रमापछि समापन हुनेछ ।
अन्टार्टिकामा विहान ३ बजे शुरु हुनेछ, म्याराथन । त्यहाँको माईनस २० डिग्री सेल्सियस तापक्रममा उनले ४२.१९५ किमी दूरी तय गर्नेछन् ।
दोस्रोमा, साउथ अफ्रिकाको केप टाउन । तेस्रो, अष्टे«लियाको पर्थ । चौथौ, दुबई । पाँचौ स्पेनको म्याड्रिड । छैठौ, ब्राजिल । र, अन्तिम म्याराथन अमेरिकाको मायामीमा हुनेछ ।
उनी यसमा सहभागी हुनुको अर्थ, संसारका सात वटै महाद्धीपमा म्याराथनमा दौडिनु मात्र होईन् । उनले यसलाई नेपाली सम्पदाको विश्वभरी प्रचार गर्ने अवसरका रुपमा लिएका छन् । उनी सातै महाद्धीपको म्याराथनमा नेपाली पोशाक -दौरा सुरुवाल_ मा दगुर्नेछन् ।
र, उनी यो म्याराथनमा परोपकारी सात वटा उद्देश्य लिएर दगुर्दैछन् । अन्टार्टिकामा ग्लोबल वार्मिङका लागि उनको काम गर्ने सोच छ । एसियामा बालबालिकाको शिक्षा र आँखाको शल्यक्रियामा काम गर्ने योजना छ ।
यो म्याराथनमा १८ देशका २६ जना सहभागी हुनेछन् । उनी त्यसमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली हुनेछन् । खानाका रुपमा प्याकेट फुड । तातो पानी संगै बोक्नुपर्नेछ । सुत्ने । आराम गर्ने । यो दौडमा, त्यो सुविधा छैन् । न दिन । न रात । सात दिन । सात महाद्धिप । हरेक दिन ४२ किमीका दरले सात दिनमा २९४ किमी दौडिनु पर्नेछ । एउटा दौड सकेपछि अर्को दौडका लागि तयार भईसक्नु पर्नेछ । रिकभरीका लागि टाईम छैन् ।
उनी यो सबै चुनौती झेल्न तयार भए । न मृत्युको भय । न कुनै चुनौतीको डर । परोपकार जसको उद्देश्य छ, डर के को ?
उनी रोकिनेवाला छैनन् । उनको दौडको आफ्नै थ्योरी छ, ‘माई रेस, माई पेस’।