गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड तीन जनालाई प्रदान 

काठमाडौं, २ माघ ।
त्रिभुवन विश्वविद्यालय र पुर्वाञ्चल विश्वबिद्यालयका  खाद्य प्रविधिका उत्कृष्ट बिद्यार्थीलाई वार्षिक रुपमा प्रदान गरिने गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड तीन जनालाई प्रदान गरिएको छ ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि पुर्वाञ्चल विश्वविद्यालयका पुर्व उपकुलपति प्राध्यापक जगतबहादुर केसीले उत्कृष्ट विद्यार्थीहरुलाई प्रमाणपत्र तथा विशिष्ट अतिथि डा. देवभक्त शाक्यले नगद पुरस्कार हस्तान्तरण   गरे ।

नेपाल खाद्य प्रविधि बिद्यार्थी संघ (नेफ्सा) का दोश्रो कार्यकालका अध्यक्ष स्वर्गीय गोबिन्द बल्लभ पन्तको स्मृतिमा स्थापित नगद राशी सहितको यो अवार्ड त्रिभुवन विश्वविद्यालयबाट सन २०२३ का लागि  श्रेया क्षेत्री महतारा  र सन  २०२४ का लागि मोनिका श्रेष्ठले  प्राप्त गरेकी छन् । त्यसैगरी पुर्वान्चल विश्वविद्यालयबाट सन २०२३ का लागि विरता मैनालीले प्राप्त गरेकी छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले बि.सं.। २०३० मा धरानको हात्तिसारबाट प्रारम्भ भएको खाद्य प्रविधिको उच्च शिक्षा अहिले देशका विभिन्न कलेजहरुमा अध्यापन हुँदै गरेको  स्मरण गर्दै यी शिक्षण संस्थाबाट शिक्षा लिएका विद्यार्थीहरु देश र बिदेशका औद्योगिक प्रतिष्ठानहरु, शैक्षिक र अनुसन्धान निकाय र सरकारका गुणस्तर र खाद्य प्रविधि निकायमा कार्यरत रहेकोमा गर्व गरे ।

कार्यक्रममा पुरस्कृत बिद्यार्थीहरुलाई वरिष्ठ खाध बैज्ञानिक डा. देवभक्त शाक्य, स्वर्गीय पन्तका भाइ महासेनानी शिवराज पन्त  (अप्रा) ले बधाई ज्ञापन गरे ।

नेपाल सरकारका पुर्वसचिव जीवनप्रभा लामा , खाद्य प्रविधि बिभागका महानिर्देशक मतिना जोशी बैद्य लगायत खाध प्रविधिका विज्ञहरु र विद्यार्थीहरु उपस्थित कार्यक्रमको संचालन नवराज दाहालले गरेका थिए । कार्यक्रम गोबिन्दबल्लभ पन्त स्मृति ट्रस्टका अध्यक्ष हिक्मत थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

निर्वाचन आयोगद्धारा नेपाली कांग्रेसको गगन–विश्व समूहलाई मान्यता

काठमाडौं २ माघ, । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई मान्यता दिएको छ ।

निर्वाचन आयोगले काँग्रेसको विशेष महाधिवेशनलाई लाई मान्यता दिएको हो ।

आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको हो ।

अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तको मुद्दा चुलिएको थियो। त्यसै क्रममा विशेष महाधिवेशन गर्ने कि चुनावअगाडि नियमित महाधिवेशन गर्ने भन्ने विवाद सुरू भयो। त्यही विवादबीच ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाए। पार्टी विधान अनुसार कम्तिमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन डाक्नुपर्ने व्यवस्था छ।

तर पार्टी सभापति शेरबहादुर देउवा लगायत संस्थापन पक्षका नेता विशेष महाधिवेशन डाक्न तयार भएनन्। उनीहरूले पुस २६ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका ल्याए। तर त्यो कार्यतालिका अनुसार नियमित महाधिवेशन गर्न तदारूकता देखाएनन्।

त्यसै क्रममा फागुन २१ को आमनिर्वाचनपछि वैशाखमा मात्र नियमित महाधिवेशन गर्ने गरी अर्को कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकले पास गर्‍यो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उक्त निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर विशेष महाधिवेशनको पक्षमा उभिए। अनि, विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन अघि बढायो।

त्यसबीच महामन्त्रीद्वय र संस्थापन पक्षबीच सहमतिको निम्ति पटक पटक छलफल चल्यो। आखिरमा सभापति शेरबहादुर देउवासँग उनकै निवासमा भएको अन्तिम वार्ता निष्कर्षविहीन टुंगिएपछि विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया अघि बढायो।

त्यही विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

 

देउवा पक्षले आयोगमा बुझायो ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको प्रमाण

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनका सन्दर्भमा ८ सय भन्दा बढि महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारी निर्वाचन आयोगलाई गराएको छ ।

शुक्रबार आयोग पुगेर देउवा समूहले ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको विवरण कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाएका हुन् । आफ्नो दावीसहितको बिबरण बुझाउँदै कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरेका थिए । खड्काले दल विभाजनका सन्दर्भमा आयोगका विगतका निर्णय र नजिर विपरीत कांग्रेस आधिकारिकताको टुङ्गो लगाएमा त्यो मान्य नहुने स्पष्ट पारे।

त्यस्तै कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक पद्धतिअनुसार पार्टी आधिकारिकताको निर्णय हुने विश्वास व्यक्त गर्दै सिङ्गो केन्द्रीय समिति उपस्थित भएर अनुरोध गरेको जानकारी गराए।  उनले कांग्रेसको विवादबारे आधिकारिकता निर्णय पनि सोही आधारमा हुने बताए।

देउवा समूहको दस्ताबेज बुझ्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भण्डारीले विधि र पद्धतिमा रहेर आयोगले निर्णय गर्ने भन्दै निर्वाचनका सबै कार्यक्रममा सक्रिय सहभागिताका लागि पनि आग्रह गरे।

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित देउवा समूह निर्वाचन आयोग पुगेको हो । यसअघि गगन समूहले विशेष महाविधेशनबाट भएका निर्णयसहितको दस्तावेज आयोगमा बुझाएको थियो । आयोगले अब दुवै पक्षको निर्णयसहितको दस्तावेजमाथि अनुसन्धान थाल्नेछन्। -अन्नपुर्ण

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं – नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ। संघले एक सूचना जारी गर्दै पूर्व निर्धारित तालिका अनुसार तय गरिएको निर्वाचन स्थगित भएको जनाएको हो।

संघले पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्व निर्धारित निर्वाचन कार्यक्रम स्थगित गरिएको सूचनामा उल्लेख छ।

निर्वाचन समितिबाट अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रम सम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने संघले जनाएको छ। यसअघि पहिलो चरणमा उपत्यका बाहिर माघ २ र ३ र उपत्यका भित्र १५, १६ र १७ माघमा निर्वाचन हुने तालिका थियो।

अभ्यास खेलमा नेपालविरुद्ध बलिङ गर्दै अमेरिका

काठ्माण्डौ- आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारी स्वरूप आज नेपाल र अमेरिकाले अभ्यास खेल खेल्दैछन्। अमेरिकाले टस जितेर बलिङ रोजेको छ।

शुक्रवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ। यसअघि पनि नेपाल र अमेरिकाले अभ्यास खेल खेलेका थिए, सो खेलमा नेपालले अमेरिकामाथि ४ विकेटको जित हासिल गरेको थियो।

आइतबारदेखि घरेलु मैदानमा आइसिसी टी-२० महिला विश्वकपको ग्लोबल छनोट खेलहरू हुँदैछन्। जहाँ आयोजक राष्ट्र नेपालसहित कूल १० टोली प्रतिस्पर्धा गर्दैछन्।

सुदूरपश्चिममा म्यादी प्रहरी भर्ना: ५ जिल्लामा दरखास्त कम

बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा निर्वाचन सुरक्षाका लागि आवश्यक प्रहरी जनशक्तिमा मागभन्दा कम दरखास्त परेका छन् । बिहिबार प्रहरीले सार्वजनिक गरेको तालिका अनुसार बझाङ, डोटी, अछाम, डडेलधुरा र बैतडी जिल्लामा माग भन्दा कम दरखास्त परेका हुन् ।

बझाङ जिल्लामा १ हजार ४ सय ८४ जनाका लागि दरखास्त आह्वान गरिएकोमा हालसम्म १ हजार ४ सय ४६ जनाले आवेदन दिएका छन् । यहाँ ३८ जना कम परेका छन् । यस्तै, डोटी जिल्लामा १ हजार ४० जनाका लागि दरखास्त आह्वान गरिएकोमा ९ सय ५० जनाले मात्रै आवेदन दिएका छन् । मागभन्दा ९० जना कम आवेदन परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

अछाम जिल्लामा १ हजार ४ सय ६३ जनाका लागि दरखास्त खुलाइएकोमा १ हजार २ सय ८७ जनाले आवेदन दिएका छन् । यहाँ १ सय ७६ जना कम छन् । डडेलधुरा जिल्लामा ९ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएकोमा ८ सय ७ जनाले मात्र दरखास्त पेस गरेका छन्, जसमा १ सय ८७ जना कम परेका छन् ।

यस्तै, बैतडी जिल्लामा १ हजार २ सय ७९ जनाका लागि दरखास्त आह्वान गरिएकोमा १ हजार २० जनाको आवेदन परेको छ । मागभन्दा २ सय ५९ जना कम आवेदन परेको हो । मागभन्दा कम दरखास्त परेका जिल्लाहरूमा आज र भोलि पनि आवेदन दिने समय थप गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलाले जानकारी दिए ।

सुदूरपश्चिमका चार जिल्लामा भने मागभन्दा बढी दरखास्त परेका छन् । कैलाली, कञ्चनपुर, बाजुरा र दार्चुला जिल्लामा आह्वान गरिएको संख्याभन्दा बढी आवेदन परेको हो । कैलाली जिल्लामा ३ हजार ५ सय ७६ जनाका लागि दरखास्त आह्वान गरिएकोमा ५ हजार १ सय ५१ जनाले आवेदन दिएका छन् ।

यहाँ १ हजार ५ सय ७५ आवेदन बढी परेका छन् । कञ्चनपुर जिल्लामा २ हजार ३५ जनाका लागि दरखास्त खोलिएकोमा २ हजार ९ सय ६ जनाले आवेदन दिएका छन्, जसमा ८ सय ७१ बढी छन् ।

बाजुरा जिल्लामा ९ सय ६४ जनाका लागि दरखास्त आह्वान गरिएकोमा १ हजार ८५ जनाले आवेदन दिएका छन् । यहाँ १ सय २१ दरखास्त बढी परेका छन् । यस्तै, दार्चुला जिल्लामा ८ सय ८४ जनाका लागि दरखास्त खोलिएकोमा १ हजार ५ सय ४१ जनाले आवेदन दिएका छन्, जसमा ६ सय ५७ बढी छन् ।

सुदूरपश्चिम प्रदेशभर १३ हजार ६ सय ६९ जनाका लागि दरखास्त आह्वान गरिएकोमा हालसम्म १६ हजार १ सय ९३ जनाले आवेदन दिएका छन् । दरखास्त दिने म्याद पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको थियो ।

निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल

काठमाडौं- निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगले छलफल थालेको छ । आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेको हो ।

शुक्रबार (माघ २) मध्याह्नदेखि आयोगमा छलफल जारी छ । आयोगले दलहरूलाई आचारसंहिता पालनामा प्रतिबद्धता व्यक्त गराउन लागेको हो ।

छलफलमा आयोग पदाधिकारीसहित विभिन्न दलका प्रतिनिधि उपस्थित छन् । छलफलबारे आयोगले यसअघि नै दलहरूलाई जानकारी गराएको थियो । नेपाली कांग्रेसका तर्फबाट मीन विश्वकर्मा छलफलमा सहभागी छन् ।

निर्वाचन प्रहरीमा आवेदन दिने म्याद भोलिसम्मको लागि थप

काठमाण्डौ – फागुन २१ गते हुने चुनावमा निर्वाचन प्रहरी भर्नाका लागि मागअनुसार आवेदन नपरेपछि केही जिल्लामा भोलिसम्मको लागि म्याद थपिएको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा कम आवेदन परेकाले दुई दिन म्याद थपिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रहरीमा आवेदनका लागि हिजोसम्मको समय तोकेकोमा यसबीचमा झन्डै २ लाखको आवेदन परेको छ ।

धेरै जिल्लामा मागभन्दा धेरै आवेदन परे पनि भर्नासम्बन्धी मापदण्डमा नपरेर कतिपय आवेदक छनोट चरणबाटै बाहिरिन्छन् । नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्ने तयारी छ ।

आवेदनको लागि १८ वर्ष उमेर पूरा भई ५४ वर्ष उमेर ननाघेको, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै दलको सदस्यता नपाएको, शारीरिक र मानसिक रूपमा स्वस्थ, आतंककारी तथा विध्वंसात्मक संगठनको सदस्य नभएको, नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ ।

पुरुषको हकमा कम्तीमा ५ फिट उचाइ, छातीको चौडा ३१ देखि ३३ इन्च, ५० किलो तौल तथा महिलाको हकमा कम्तीमा ४ फिट १० इन्च उचाइ, ४२ किलो तौल र गर्भवती नभएको, नरहेको हुनुपर्ने मापदण्ड छ । छनोट भएका निर्वाचन प्रहरीलाई १० दिन तालिम र ३० दिन काममा खटाउने गरी भर्ना गर्न लागिएको हो ।

निर्वाचन प्रहरीमा भर्ना हुनेले प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान र लत्ताकपडा तथा जवानसरहको रासन भत्ता पाउनेछन् । यसअनुसार निर्वाचन प्रहरीले ४० दिनको ३४ हजार रुपैयाँ तलब र सुरक्षाकर्मीले पाएसरह ४० दिनको रासन भत्ता पाउँछन् ।

प्रतिनिधिसभा निर्वाचन : आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् ।

जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

जिल्ला सदरमुकाममा ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र त्यस बाहिरका ८८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्नेगरी व्यवस्था गरिएको छभने ७७ जना मुख्य जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका ८८ जना द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ । -रासस 

रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

युवराज पौडेल (सफल) ले बुधबार महान्यायाधिवक्ताको कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय तथा रवि लामिछानेलाई विपक्षी बनाउँदै रिट पेस गरेका हुन्। रिटमा पुस ३० गते गरिएको निर्णय र सोसम्बन्धी पत्राचार उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ।

निवेदकले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दालाई कमजोर बनाउने उद्देश्यले स्वेच्छाचारी र बदनियतपूर्ण निर्णय गरिएको दाबी गरेका छन्। साथै कानुनी प्रक्रियामा अवरोध नगर्न परमादेश जारी गर्न माग गरिएको छ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाण्डौ- ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
१९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु हो । १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा हरेक वर्ष यही दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइने गरिन्छ ।

संघ, प्रदेश र पालिका गरी तीनै तहका सरकारले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन लागेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आज काठमाण्डौमा प्रधानमन्त्री शुशिला कार्कीको उपस्थितिमा भूकम्प सुरक्षा सम्बन्धी विशेष कार्यक्रम आयोजना हुँदैछ । जसमा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरूको सहभागिता रहनेछ ।

देशभर गोष्ठी, छलफल, र्याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक, अडियो–भिडियो कार्यक्रमलगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् । भूकम्पपछिको सम्भावित अवस्थाको पूर्वआँकलन गर्दै प्रभावकारी तथा दू्रत खोज तथा उद्धार, तालिमप्राप्त उद्धारकर्मीको व्यवस्थापन र तत्काल राहत सामग्रीको तयारी अहिलेको आवश्यकता रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

 

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं- अघिल्लो दिन घटेको सुनचाँदी भाउ शुक्रबार फेरि बढेको छ । सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी तोलामा १६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ६४५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ गत बुधबार हालसम्मकै उच्च प्रतितोला ६ हजार ६५५ रुपैयाँ पुगेको थियो ।

नेपाली सेनाद्वारा दार्चुला–तिङ्कर सडकको स्थलगत निरीक्षण

धनगढी: नेपाली सेनाका जर्नेल पवन खत्री नेतृत्वको टोलीले दार्चुलामा निर्माणाधीन दार्चुला–तिङ्कर सडक आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। अनुगमनका क्रममा टोलीले सडक निर्माणको प्रगति, चुनौती र समग्र अवस्थाबारे जानकारी लिएको हो।

अनुगमनमा सहभागी सुदूरपश्चिम पृतनाका पृतनापति (उपरथी–जर्नेल) खत्रीले दार्चुला–तिङ्कर सडक आयोजनाले दुर्गम क्षेत्रको जनजीवन सहज बनाउने मात्र नभई राष्ट्रिय सुरक्षा र सीमावर्ती क्षेत्रको सुदृढीकरणका लागि समेत महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद निरन्तर खटिएका नेपाली सेनाका जवानहरूको प्रशंसा गर्दै स्थानीय तहको सहयोगले निर्माण कार्य प्रभावकारी रूपमा अघि बढिरहेको उल्लेख गरे।

सुदूरपश्चिम प्रदेशको अति दुर्गम तथा उच्च हिमाली भूभाग, जटिल भौगोलिक बनावट, सीमित स्रोतसाधन र प्रतिकूल मौसमका बीच नेपाली सेनाले दार्चुला–तिङ्कर सडक निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाइरहेको छ। दशकौँदेखि सडक सञ्जालको पहुँचबाट टाढा रहेको ब्याँस क्षेत्रका बासिन्दाका लागि यो सडक यातायातको साधन मात्र नभई आर्थिक, सामाजिक तथा सामरिक विकासको आधारका रूपमा लिइएको छ।

आयोजनाका अनुसार हालसम्म सडक ब्याँस गाउँपालिका वडा नम्बर २ अन्तर्गत पर्ने राङथलसम्म पुगेको छ, जहाँसम्म सवारी साधन सञ्चालन हुन थालेको छ। निकट भविष्यमै दुम्लिङसम्म सवारी साधन पुर्‍याउने लक्ष्य लिइएको आयोजनाले जनाएको छ। यसबाट दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधि तथा निर्माण सामग्री ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ।

स्थानीयवासीका अनुसार सडक निर्माणले बसाइँसराइ न्यूनीकरण गर्ने, राज्यको उपस्थितिको अनुभूति गराउने तथा दुर्गम क्षेत्रका नागरिकलाई विकासको मूलधारसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्नेछ। ब्याँस क्षेत्रका बासिन्दाका लागि दार्चुला–तिङ्कर सडक आशा, सम्भावना र भविष्यको मार्गका रूपमा हेरिएको छ।

 

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुरः कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ।

सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सकिएको हो। नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)का वरिष्ठ चराविज्ञ हिरूलाल डगौंराका अनुसार विगतका वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसारलगायत क्षेत्रमा जलपन्छीको सङ्ख्यामा सुधार आएको पाइएको छ।

“कञ्चनपुरमा गणना कार्य पूरा गरी अहिले सङ्ख्या अद्यावधिक गर्ने, प्रजाति छुट्याउनेलगायतका काम भइरहेको छ”, उनले भने, “कैलालीका केही क्षेत्रमा गणना बाँकी रहेकाले आगामी माघ ४ गतेभित्र सबै तथ्याङ्क सार्वजनिक गरिनेछ।” बिसिएनको अगुवाइ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा जलपन्छी गणना गरिएको छ। गणनामा वाइनाकुलर, दूरबिन, क्यामेरा र जिपिएसजस्ता उपकरणको प्रयोग गरिएको थियो भने हिँडेर पुग्न नसकिने सिमसार क्षेत्रमा हात्तीको पनि प्रयोग गरिएको चराविज्ञ डगौंराले जानकारी दिए।

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एसोसिएसन तथा कञ्चनपुर पन्छी संरक्षण समूहका प्रतिनिधिहरूको संलग्नता थियो।

निकुञ्जभित्रका सिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी, राधापुर सिमसार, झिलमिला र रतनपुर सिमसारमा गणना गरिएको छ। त्यसैगरी निकुञ्ज बाहिरका महाकाली नदी, पुरैनी ताल र बन्दा ताल क्षेत्रमा पनि जलपन्छीको अवस्थाबारे विवरण सङ्कलन गरिएको छ।

चराविज्ञहरूका अनुसार सिमसार क्षेत्रमा बढ्दो अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि र जलवायु परिवर्तनका कारण जलपन्छीको बासस्थान सङ्कटमा पर्दै गएको छ । गणनाका क्रममा पन्छीको सङ्ख्याका साथै बासस्थानमा देखिएका चुनौतीबारे पनि अध्ययन गरिएको बताइएको छ।

कञ्चनपुरको मौरीफाँटामा पाटेबाघको त्रास

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मौरीफाँटामा पाटेबाघको त्रास छाएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने बाघले पछिल्लो तीन दिनको अवधिमा आधा दर्जनबढी घरपालुवा जनावरलाई मारेको छ। निकुञ्जबाट डमरुसहित बस्ती छिर्ने बाघले साँझ नपर्दै स्थानीयका चौपायामाथि आक्रमण गर्न थालेको छ। स्थानीय किसान कासी लुहारले दुई महिनाअघि मात्रै ४० हजार ऋण लिएर किनेको दुधालु गाई बाघले मारेको बताइन्।

त्यस्तै, अर्का स्थानीय नर्मा बोहराले आफ्नो दुधालु गाईलाई बाघले गोठबाट तानेर झण्डै १०० मिटर टाढा पु¥याई खाएको बताइन्। साँझ सात नबज्दै बाघ बस्ती छेउछाउमा देखापर्न थालेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ। स्थानीय महेश महराका अनुसार त्यस क्षेत्रका अधिकांश परिवारले गाईभैँसी र बाख्रापालनबाट जीविकोपार्जन गर्दै आएका छन्।

“बाघले दिनहुँ घरपालुवा जनावर मार्न थालेपछि हाम्रो रोजीरोटी नै सङ्कटमा परेको छ”, महराले भने। साँझ नपर्र्दै बस्तीमा बाघ पस्ने गरेको र चौपाया मारेर निकुञ्ज जाने गरेको उनले बताए। बाघका कारण मौरीफाँटा क्षेत्रको जनजीवन त्रसित बनेको छ।

बाल जोशीः परोपकारी धावक

संसारका सबै मान्छे दौडमा छन् । कोही नामका लागि । कोही पैसाका लागि । कसैलाई अरुको अरुको किर्तिमान भंग गर्नुछ । कायम गर्नुछ, नयाँ किर्तिमान ।

विरलै मान्छे छन्, जो अरुका लागि दौडिन्छन् । जसलाई उछिन्नु छैन्, कसैलाई । थुपार्नु छैन्, धन । चाहिएको छैन्, चर्चा । तिनै अपवाद हुन्, बाल जोशी ।

दुई दशकअघि अमेरिकालाई स्थायी मुकाम बनाएका बालको  कथा शुरु हुन्छ, सुर्खेतको कुईनेबाट ।

कुईनेमा बसोबास । वीरेन्द्रनगरमा पसल । प्रजातान्त्रिक आन्दोलनमा संलग्न बुवा  आकलझुक्कल घर आउँथे । बुवा भन्दा पहिले खोजीमा प्रहरी आईपुग्थ्यो । प्रजातन्त्रका लागि लड्दा पञ्चायती शासकबाट लखेटिए । माओवादी युद्ध शुरु भयो । त्यसपछि खोजी गर्दै माओवादी आउन थाले । बुवा सधै बनवासी । आमाको काँधमा परिवारको जिम्मेवारी ।

२०४० सालमा उनी वीरेन्द्रनगरमा जन्मिए । तीन वर्षपछि भाई । पसल डुब्यो । आमा कुईने फर्किईन् । संगै  उनी ।

गाँउको विद्यालयमा प्राथमिक तहको पढाई सके । नजिकमा विद्यालय थिएन् । निमावि तहको पढाईका लागि जामुको विद्यालयमा भर्ना भए । ओहोरदोहोरमा दैनिक चार घण्टा लाग्थ्यो ।

गर्मीमा विद्यालय विहान ६ बजे लाग्थ्यो । उनी राति चार बजे घरबाट निस्किन्थे । कुद्नु आदत बन्यो । यसरी ८ कक्षा पास गरे ।

माध्यमिक तहको पढाईका लागि घाटगाउँको हाईस्कुल जानु पर्ने भयो । बाटोमा भेरी नदी पथ्र्यो । हरेक दिन भेरी तर्नुपर्ने । अर्को स्कुल विद्यापुरमा थियो । त्यो टाढा थियो ।

आमाको धोको थियो, उनलाई धेरै पढाउने । संगै थियो, सुरक्षाको चिन्ता । आमाले उनलाई अछामको बिनायकमा पठाईन् । त्यहाँ सानी आमाको घर थियो । नजिकै विद्यामन्दिर माध्यमिक विद्यालय । उनी सानैदेखि हक्की थिए ।  भर्ना हुन एक्लै स्कुल गए । शिक्षकले सोधे, तिमी एक्लै आएको ? जवाफमा भने, पढ्ने म । पढाउने तपाई । अरु किन चाहियो ? ९ कक्षामा भर्ना भए । त्यहीबाट एसएलसी दिए ।

एसएलसीको नतिजा आउदा उनी कुईने थिए । समाचार सुने । पैदल कैलालीको लम्की हानिए । पुस्तक पसलमा लाईनमा मिसिए । पैसा तिरेर गोरखा पत्रमा नतिजा हेर्न लगाए । पसलेले भन्यो, तिमी फेल भयौ ।

उनले बुझे, पसलेले प्रथम श्रेणीमा हेर्दै हेरेनन् । भने, प्रथम श्रेणीमा हेर्नु । नभन्दै उनको नम्बर प्रथम श्रेणीमा थियो । उनको आत्मविश्वास देखेर पसले दंग भए ।

उच्च शिक्षा पढ्न नेपालगञ्ज झरे । त्यहाँ पनि मामाको घर थियो । ११ कक्षाको परीक्षा मामाकै घरबाट दिए । १२ कक्षामा मामाको घर छोडे । डेरामा बसेर पढ्न थाले ।

त्यतिबेलासम्म आमासंग सहयोग लिन छोडिसकेका थिए । आमालाई कति दुःख दिने ? अभावमा बाँचिरहेकी आमालाई उनी तनाव दिन चाहदैनथे । उनी बरु आमा र भाईलाई सहयोग गर्न चाहन्थे । घर भाडा । खाना । पढाईको खर्च । यो सबैका लागि उनीसंग काम खोज्नु बाहेक बिकल्प   रहेन् ।

काम खोजे । पाएनन् । मट्टितेल किन्ने पैसा थिएन् । उनी आईएस्सीमा बायोलोजी पढ्दै थिए । उनीसंग ३०० रुपैया पर्ने एउटा क्यालकुलेटर थियो । त्यसलाई ८० रुपैयामा बेचे । १६ रुपैयाका दरले पाँच किलो चना किने । एक महिना त्यही काँचो चना खाएर बिताए ।

हिडेर नथाक्ने उनी त्यसपछि भोक झेल्न सक्ने भए । विज्ञानका विद्यार्थी । उनी बाँच्नका लागि पत्रिकामा काम गर्न थाले । पत्रिकाको प्रुफ हेर्थे । विस्तारै समाचार लेख्न सिके । र, पत्रकार भए । भोकमा साथ दिने चना अहिले पनि उनका लागि उत्तिकै प्रिय छ ।

उनी १४ वर्षका थिए । मेलामा हराउने त्यो उमेर । बुवासंग खेलौनाका लागि जिद्दी गर्ने बालापन । उनी भने हराएका बुवा खोजी गर्न मामासंग गुजरात पुगे । बिरामी बुवालाई ल्याएर नेपालगञ्ज आए । र, त्यहाँबाट आमासंग सुर्खेत पठाए ।

एक महिनापछि बुवा सिकिस्त बिरामी भए । सुर्खेतबाट फोन गर्न कैलालीको चिसापानी झर्नुपथ्र्यो । चिसापानी एक जना आफन्त पठाएर आमाले फोन गर्न लगाईन् । आमाको सन्देश थियो, तुरुन्त घर आउनु । घरजान डेराबाट निस्केका उनी बागेश्वर मन्दिर गए । गुरुलाई भेटे । र भने, मेरो ब्रतबन्ध गरिदिनुस । गुरुले मन्दिरको फन्को मार्न लगाए । जनै दिए । र, कानमा मन्त्र फुके । बस्, पाँच मिनेटमा ब्रतबन्ध सकियो । उनी २० रुपैया दक्षिणा दिएर सुर्खेत लागे ।

घर पुगेको १५ मिनेट भएको थियो । बुवाले बाथरुम लैजान भने । उनले डो¥याएर बाथरुम लगे । बुवाको पाईन्ट खुस्कियो । उनी हाँसे । संगै गएकी आमा चिच्याउन थालिन् । निमेषमै बुवाको घाटी बांगो भईसकेको थियो । र, जिव्रो मुखबाट बाहिर निस्किएको थियो ।

उनको हातमा अडिएका बुवा भारी भए । न सास रह्यो । न आस । जिन्दगी बुझ्ने नहुदै उनले मृत्यु देखे । त्यो पनि यति नजिकबाट । त्यसैले होला, उनलाई मृत्यसंग भय लाग्दैन् ।

के कारणले म मन्दिर गए ? किन ब्रतबन्ध गरे ? ब्रतबन्ध नगरेको भए बुवाको किरिया गर्न बञ्चित हुन्थे । फर्केर सम्झिन्छन्, ब्रतबन्ध र बुवाको मृत्युका पछाडि केही न केही कनेक्सन त पक्कै   थियो ।

बुवाको हात समातेर हिड्ने त्यो बाल्यकाल उनले पाएनन् । उनका हातले त्यो उमेरमा बुवालाई मुखाग्नी दिनुप¥यो । उनले बुवालाई परबाट सुने । देख्न पाएनन् । जतिबेला नजिकबाट छुन पाए । त्यतिबेला बुवा रहेनन् । सोच्छन्, सायद मेरो भाग्यमा बुवाको भरोसा, माया र प्रोत्साहन थिएन् । फेरि सोच्छन्, आमाको ओतमा हुर्किन पाएको म त्यो भाग्यमानी ।

धन्यछन्, उनी प्रति । जसले उनलाई टुट्न दिईनन् । आफू अभावमा बाँचिन्, तर सिकाईन्, जिउँने मन्त्रहरु । उनीभित्र जो स्वाभिमान छ, त्यो आमाबाट उनमा स्वतः ट्रान्सफर भएको  हो । भोकलाई पटुकाले बाँधेर जसले सन्तानलाई भरीपेट खान दिन्छिन्, आमा तिनै हुन् । उनकी आमा त्यस्तै थिईन् ।

उनी १९ वर्षका थिए । राष्ट्रिय समाचार समितिमा काम गर्थे । पत्रकारितासंगै सहारा समूहमा सक्रिय थिए । सहाराले मुठिदानबाट बाल गृह सञ्चालन गरेको थियो । जो, सयभन्दा बढि द्वन्द्व पीडित बालबालिकाको आश्रयस्थल थियो । उनी बाल गृहभित्रै बस्थे । बालबालिकाले उनलाई कुमार पिता भन्थे । च्यारिटी उनको जीनमा थियो । आमाले भन्थिन्, तिमीले जे दिन्छौ । त्यो फिर्ता   आउछ ।

बझाङमा सेनाले माओवादी भनेर श्रीमानलाई मारेपछि श्रीमतीले सेतीमा हाम फालेर आत्महत्या गरिन् । ती दम्पत्तीका दुई जना बच्चा सेनाको हिरासतमा थिए । ती बच्चाको उद्दारका क्रममा आईसीसीमा काम गर्ने सुनैना अधिकारीसंग उनको भेट भयो ।  चिनजान भयो । त्यो चिनजान विस्तारै प्रेममा परिणत भयो ।

सुनैना महेन्द्र बहुमुखी क्याम्पसमा पढथिन् । उनीहरुले विवाह गर्ने निधो गरे । मिति र विवाहस्थल तय गरे । कार्ड छापे ।

दुस्साहसी उनी ।  कार्ड लिएर सुनैनाको घर गए । बुवालाई भेटेर भने, हामी विवाह गर्दैछौ । आशिर्वाद दिन आउनुहोला ।

उनको घर थिएन् । सुनैना बर्दियाको हुनेखाने परिवारकी छोरी । सुनैना, उपाध्याय । उनी, जैसी । बुवाआमाले स्वीकार्दैनन् होला भन्ने उनीहरुको बुझाई थियो । तर उनीहरुको खुशीको सीमा रहेन्, जब बुवाआमा कन्यादान गर्न मण्डपमै आईपुगे ।

उनी आमालाई सुर्खेत छोड्न आग्रह गर्थे । डेरामा आउदिन्, आमाको अड्डी थियो–घर नबनाएसम्म नेपालगञ्ज झर्दिन् ।

विहा गर्नुअघि सुनैना र उनी बैंक गए । सुनैनाको कमाई राम्रो थियो । १० लाख रुपैया ऋण लिए । ८ लाखमा घर किने । दुई लाख बिहाका लागि छुट्याए । र, विहा अघि आमालाई नेपालगञ्ज बोलाए । स्वाभिमानी आमाका जिद्दी छोरा । कहाँ मान्थे ? जे ठाने । ठाने । साथ दिने सुनैना छदैथिन् ।

उनले एकदिन सिनियर दाईलाई सुनैनाका बारेमा सोधे । ती दाईले सोझै भनिदिए, ‘भाई तुमसे बहुत उची है । मत देखो ।’
ती दाई त्यतिबेला झस्किए । जतिबेला उनीहरु बिहा गर्दै थिए । रोक्न खोजे । सकेनन् । सुनैना सम्झिन्छिन्, त्यतिबेला दाई भिलेन लागे । तर दाईले मेरो चिन्ता गर्नु स्वाभाविक थियो । किनकी हामी परिपक्व थिएनौ ।

बालको न घर । न ठेगाना । फेरि पनि उनीमाथि सुनैनाको औँधी विश्वास । हो, विश्वासले ठेगाना खोज्दैन् । बस्, भरोसा खोज्छ । बालमाथि भरोसा थियो ।

अमेरिकाको यात्रा र बैंकको जागीर

जुलाई २००५ मा उनी बिजनस भीसामा अमेरिका उडे । मेरिल्याण्ड उनको नयाँ मुकाम बन्यो । बंगालीको सव वेमा काम पाए । दिनभरी उभिरहनु पर्ने । उनलाई ‘ह्युमिलेसन फील’ भयो । छैठौ दिन काममा फर्किएनन् । पैसा पनि पाएनन् ।

त्यसपछि ज्वैलरी सपमा काम थाले । संगै पढाई अघि बढाए । २००८ मा फाईनान्समा स्नातक गरे । के ज्वैलर्समा सेल्सम्यान हुदै म्यानेजर भए । २००८ मा सुनैना अमेरिका आईन् । उनी टेक्सास सरे ।

त्यहीवर्ष ह्यांकक व्हिट्नी बैंकमा जागीरे भए । १२५ वर्ष पुरानो बैंकको पूँजी ४० बिलियन डलर छ । पर्सनल बैंकर्सबाट शुरु भएको बैंकिङ यात्रामा छलाङ मारे । केही वर्षमै उनी सिनियर भाईस प्रेसिडेण्ट भए ।

उनी जे गर्छन् । मनबाटै गर्छन् । र, ईमान्दारीपूर्वक गर्छन् । उनी कार्यरत बैंकमा ४ हजार कर्मचारी छन् । चार वर्षदेखि उनी उत्कृष्ट बैंकर्स अवार्ड थापिरहेका छन् । पाँचौ वर्षको अवार्ड पनि पाउनेमा ढुक्क छन् । यो उनको ईमान्दारिता र उत्कृष्ट कार्यको प्रतिफल हो ।

वान स्टेप फाउण्डेसनको जन्म

उनीसंगै काम गर्थे, जोन फेरिस । फेरिस दगुर्थे । फेरिसले उनलाई प्रेरित गरे । र, उनी दगुर्न थाले । शुरुमा स्वास्थ्यका लागि दगुरे । पछि उनले त्यसलाई परोपकारसंग जोडे ।

उनी दगुर्न थालेको चार वर्ष भयो । र, त्यसयता उनको दैनिकी फेरियो । विहान ४ बजे उठ्छन् । कम्तिमा १० माईल कुद्छन् । फर्केर स्वीमिङ गर्छन् । विदाको दिन दुगुना कुद्छन् । नित्यकर्म सकेर ८ बजे बैंक पुग्छन् । पाँच बजे फर्किन्छन् । राति ८ बजे निदाउँछन् ।

उनले दुई वर्षअघि गैर मुनाफामुखी संस्था वान स्टेप फाउण्डेसन स्थापना गरे । २४ महिनाको अवधिमा फाउण्डेसन मार्फत उनले विभिन्न संघसंस्थालाई दुई लाख डलरभन्दा बढि सहयोग गरिसकेका छन् । यो सबै रकम उनले दौडेर संकलन गरेका हुन् ।

थ्यांक्स गिभिङ । क्रिसमस र नयाँ वर्ष । दशैं होस वा दीपावली । उत्सवको त्यो समय परिवारसंगै सदपुयोग गर्छन् । र, बनाउछन्, अर्थपूर्ण ।

पछिल्लो दीपावली उनले घरमा मनाएनन् । २० देखि २४ अक्टोबर २०२५ का चार दिन उनले  नेभादाको रेड क्याननमा बिताए । संसारमा एक करोड ७० लाखभन्दा बढि व्यक्ति दृष्टि विहीन छन् । सोचे, अध्याँरोमा बाँचिरहेका उनीहरुमध्ये केहीको मात्र ज्योति फर्काउन सके हुन्थ्यो । र निधो गरे, २२० किमी दगुर्ने । एक किमी दगुरे वाफत एक जनाको आँखाको क्याट्रयाक्टको अप्रेशनका लागि सहयोग जुटाउने । लक्ष्य थियो, २२० जनाको आँखाको अप्रेशनका लागि सहयोग जुटाउने । जुट्यो, २५ हजार डलर । रुईत फाउण्डेसनसंग त्यही रकमले ५०० जनाको अप्रेशन गर्ने सहमती गरे ।

२०२४ मा उनी एभरेष्ट म्याराथनमा सहभागी भए । संसारकै सबैभन्दा उचाईमा दौडेर उनले ४० हजार डलर संकलन गरे । जुन रकम बिभिन्न सामाजिक संघसंस्थाले सहयोग गरे । त्यसमध्ये २९ हजार डलर टेक्सस नेप्लिज मेडिकल एशोसियसनलाई प्रदान गरे । उनले त्यो रकम हिमालयन हेल्थ क्लिनिक सञ्चालनमा सहयोग पुगोस भनेर सहयोग गरेका थिए ।

चार वर्षयता दुई दर्जनभन्दा बढि म्याराथनमा दौडिए । एक दर्जन भन्दा बढि ५० किमीको दौडमा सहभागी भए । ५ र १० किमीका थुप्रै दौडमा सहभागी भए ।

त्यसपछि उनले एभरेष्ट म्याराथन दौड्ने निर्णय गरे । र, गतवर्ष एभरेष्ट बेस क्याम्पबाट सुरु भएको म्याराथनमा सहभागी भए । समुद्र सतहदेखि १७,५९८ फिट उचाइको चुनौतीपूर्ण दौड मार्फत उनले संकलन गरेको ४२ हजार डलर वान स्टेप फाउण्डेसन मार्फत नेपालका स्वास्थ्य, बालकल्याण र सांस्कृतिक संरक्षणका लागि सहयोग गरे ।

२०२५ को जुनमा, उनी सपरिवार ताञ्जिनियाको किलिमञ्जारो (१९,००० फिट) आरोहणमा गए । आरोहणका क्रममा संकलन गरेको १९ हजार डलर तान्जानियाका ८० एचआईभी प्रभावित अनाथ बालबालिकालाई सहयोग गरे ।

सेप्टेम्बर २०२५ मा बर्लिन म्याराथनमा दौडिए । र, संकलन गरे ४२०० डलर । त्यो रकम जेष्ठ नागरिकहरुका लागि मिल्स अन द वील्सलाई सहयोग गरे ।

अप्रिल २०२५ मा बोष्टन म्याराथनमा दौडिए । त्यहाँ दौडेर प्राप्त भएको १० हजार डलर अमेरिकन लिभर फाउण्डेसनलाई प्रदान गरे ।

नोभेम्बर २०२४ मा न्यूयोर्क म्याराथनमा दौडिएर पाएको ४००० डलर क्यान्सरका विरामीलाई सहयोग गरे । अक्टोवर २०२४ देखि उनी टेक्सासमा ५ र १० किमी दौड आयोजना गर्दै आएका छन् ।

नोभेम्बर २०२३ मा उनी सय किमी दौडे । उनले त्यसक्रममा संकलन भएको १० हजार डलर चितवनमा बन्दै गरेको अपांग मैत्री पुस्तकालयलाई पठाए ।

पछिल्लो थ्यांक्स गिभिङमा टेक्सासमा उनले आयोजना गरेको टर्की ट्रटमा १००० मान्छे दौडिए । ५ किमी लामो दौडबाट पाँच हजार डलर संकलन भयो । त्यो रकम बालबालिकारुका लागि मिराकल लिग अफ आर्लिङटनलाई सहयोग गरे ।

नयाँ वर्षको अवसरमा ३ जनवरीमा ‘प्रोमिस ५ के’ दौड आयोजना गर्दैछन् । जसको नारा छ, वार फर अटिजम । यो दौडमा २५० भन्दा बढि सहभागी हुने अनुमान छ । यो निशुल्क ईभेण्ट । सम्पूर्ण खर्च बेहोर्न स्पोन्सर भेटाईसके ।

उनका सबै स्पोन्सर विदेशी हुन् । नेपालीसंग उनी पैसा उठाउदैनन् । स्पोन्सरबाट प्राप्त हुने रकम परोपकारी संघसंस्थालाई सहयोग गर्छन् । नेपाली र विदेशी हेर्दैनन् । तिनले गर्ने सेवा हेर्छन् ।
फाउण्डेसनले प्रोजेक्ट २६=२ सञ्चालन गर्दै आएको छ । जसको उद्देश्य दगुर्न प्रेरित गर्ने हो । त्यसका लागि तालिम र जानकारी दिने हो ।

उनको आफ्नै थ्योरी छ । ‘माई रेस, माई पेस’ अर्थात ‘मेरो दौड, मेरो गति’ । यो उनको मन्त्र हो । कसैलाई उछिन्नु छैन् । न त कसैसंग प्रतिस्पर्धा । न  भंग गर्नु छ, कसैको किर्तिमान । दौड्को उद्देश्य एउटै छ, सेवा ।

त्यसैले त उनी भन्छन्, दौडमा गति होईन् । लय जरुरी छ ।

दिमागमा सकारात्मक सोच, हृदयमा सेवा

उनको बाल्यकाल चप्पलमा कट्यो । ११ कक्षा पढ्दैथिए । मामाले आफ्नो जुत्ता दिए । उनले जीवनमा पहिलो पटक जुत्ता लगाउन पाए ।

पहाडको बाटो । चट्टानको यात्रा । तिखा काँडा । धुपमा पोल्ने कर्णालीको रेत । हिउँदमा पट्पटी फुट्ने पैताला । दुखाईलाई तिनै पैतालामुनी कुल्चिएर उनी हिडिरहे । र बनाए, आफ्नो मुकाम  आफै ।

उनले बाँचेको जीवन र उनले हिडेको बाटो । त्यसका हरेक पल महाभारतका पर्वहरु हुन् । जसका अनगिन्ति कथाहरु छन् ।

उनी आरनमा चोट खेपेर बनेको फलामको त्यो आकार हुन्, जसलाई न आँगोले पोल्छ । न हथौडाको प्रहारले असर गर्छ । कसैले गर्ने टिप्पणीले उनलाई असर के गर्थ्यो ? न फलको आशा । न प्रचारको लोभ । न नामको भोक । न प्रशंसाले फुर्किन्छन् । न आलोचकबाट तर्सिन्छन् । बस्, हिडिरहन्छन् ।

कर्णाली उधो बग्थ्यो । उनी त्यसलाई छेउ पारेर उभो हिड्थे । दुःखको अजंग पहाडलाई कुल्चिएर अघि बढ्न उनले आमाबाट सिके । भेरी र कर्णालीबाट अनवरत बगिरहने गुण उनमा सरे । न थाक्छन् । नरोकिन्छन् । उनको जीवनकी सहयात्री सुनैना पनि छन्, त्यस्तै । आफ्ना ईच्छा, आकांक्षा र रहरलाई भेरीले कर्णालीमा मिसाए झै मिसाउछिन् । जसलाई छुट्टै परिचय र अस्तित्वको मोह छैन् । बस्, कर्णाली भए पुग्यो । उनी कर्णाली हुन् । अनि सुनैना उनमा मिसिएकी भेरी । सायद यही हो, प्रेम ।

जसका लागि सुनैनाले जन्मदिने बुवाआमासंग बिद्रोह गरिन् । र, अंगालिन्, उनलाई । त्याग, र समर्पण कोही उनीबाट सिकोस ।

उनको सेवामा सुनैनाले आफ्ना रहर मिसाईन् । बनिन्, उनको छाया । यद्यपि उनी त्यो छाया होईनन्, अध्याँरोमा साथ छोड्ने । उनी धमनीमा बग्ने रगत झै छिन् ।

उनी फर्केर पुग्छन्, कुईने । अनि बालापनमा । जहाँ उनको खुट्टामा जुत्ता थिएन् । अनि त्यो डेराका यादहरुमा हराउछन्, जहाँ अभावमा एक महिना चना खाएर बिताए ।

भोक के हो ? दुःख के हो ? अभावको पीडा कस्तो हुन्छ ? उनी गलेको भए, हरेक दिन कैयौं पटक आत्महत्या गर्थे ।

आमा बलियो हुनेका सन्तान कहिल्यै कमजोर हुदैनन् । उनले त आमा झै पाए, पत्नी पनि । उनी त त्यो भाग्यमानी । आमाको संघर्ष । त्यस्तो अवस्थामा पनि आमाले अरुलाई सहयोग गर्नुपर्छ भन्ने । त्यही उर्जा हो, उनलाई ।

म जे छु । मेरो सफलतामा सबैभन्दा ठूलो योगदान आमाको छ । त्यसपछि सुनैनाको । यो सबै सुनैनाको अटुट विश्वास र साथले संभव भएको हो । यो पनि सत्य हो कि, श्रीमतीको बलियो साथ हुने श्रीमान कहिल्यै कमजोर हुदैनन् । भाग्यमानी बाल । सुनैनाको बलियो साथ र आड । आफूलाई भन्दा बढि विश्वास गरिन्, बाललाई । जब सुनैनाले बालसंग विहा गर्ने निर्णय घरमा सुनाईन् । परिवारजनले भने, बालसंग विहा नगर । दुःख पाउछौ । दरो विश्वास सहित सुनैनाले भनिन्, तपाईहरु चिन्नुहुन्न । बाल न तरासिएको हिरा हो ।

त्यतिबेला कसले पत्यावस ? अहिले सबैले भन्छन्, तिम्रो विश्वास सही थियो । सुनैनाले यो सुनाईरहदा बाल मुस्काईरहेका थिए ।

दुनियाले के भन्छ ? उनलाई छु मतलव । देउतामा खोट देख्ने दुनियामा उनी को हुन् ? तारिफ गरुन । कि आलोचना । फर्केर हेर्दैनन् । घोत्लेर सोच्दैनन् ।

यो जरुरी छैन्, सबैले राम्रो भनुन । मान्छेका आफ्नै सोच्ने तरिका छन् । जस्तो दृष्टि । त्यस्तै सोच । भन्छन्, ‘आई डण्ट केयर ।’

यस्तो कुरा सुन्दा उनी ‘एरोगेण्ट’ लाग्छन् । तर उनी त्यस्ता छैनन् । जस्तो टाढाबाट हेर्दा लाग्छन् ।
उनी भित्र पनि हृदय छ । त्यो हृदयमा बरु अरुभन्दा बढि छ, दया, माया र करुणा । परोपकार त उनको धमनीमा छ । जो उनले आमाबाट विरासतमा पाएका हुन् ।

घाम, पानी, हावा र माटो–हामी सबै ‘शेयर’ गरिरहेका छौ । उनको बुझाईमा निजी त केही छैन् । जीवनको प्रकृति नै त्यही हो ।

अनि त्यही जीवन किन मानव हीतमा सदुपयोग नगर्ने ? यो कुरा गरिरहदा, उनी सन्त लाग्छन् ।
मान्छेहरु भन्छन्, आफूसंग भए दिने हो । उनको यसमा फरक मत छ, कोसिस त आफूसंग नभए दिने हो । भएपछि त सबै दिन्छन् ।

जनावर पनि बाँचेकै छ । किरा फट्यांग्रा पनि बाँचेकै छन् । उनी भन्छन्, मान्छे त अरुका लागि बाँच्नुपर्छ ।

मान्छे सुनाउछन्, उसले करोडौ डलर कमायो । त्यो ठिक छ, ‘गुड फर हीम’ । तर समाजले के पायो ? प्रश्न यो हो । एक दिन उनीभित्र यस्तै प्रश्न जन्मियो ।

उनले अरुलाई प्रश्न गर्न जरुरी ठानेनन् । आफूले के गर्ने त्यो जरुरी सम्झे । त्यसैदिनदेखि उनी निस्किए, एउटा दौडमा । पाईला उनका हुन् । ती पाईलाले पार गर्ने दूरी उनको हो । तर त्यो दूरी तय गर्दा स्पोन्सरबाट मिल्ने हरेक पैसा, तिनको हो, जसको कोही छैन् । जोसंगै केही छैन् ।
दूरी फरक फरक हुन् सक्छ, हरेक दौडको । तर उद्देश्य एउटै छ, दीनदुःखीको सेवा गर्ने ।

नारा होईन त्यो, आन्दोलन गर्ने । मन्त्र हो त्यो, एउटा अभियानको । कहिल्यै नाम दिन्छन्, वाक फर अटिजम । कहिल्यै नाम दिन्छन्, वाक फर चिल्डे«न्स । त कहिले, वाक फर लाईब्रेरी ।

जहाँ उनको प्रतिस्पर्धा कसैसंग छैन् । उछिन्नु छैन्, कसैलाई । यो दौडमा उनी एक्लो छैनन्, उनकी पत्नी सुनैना र छोराछोरी, उनीसंगै उभिएका छन् । हिम्मत, आँट र भरोसा तिनै हातहरु हुन्, जो दुःखमा पनि उनको साथमा छन् । सुखमा पनि ।

धेरैका लागि जीवन भनेकै पैसा भयो । जब अभावमा थिए, उनका लागि त्यो आवश्यकता त भयो । सबै थोक कहिल्यै भएन् । भन्नेको के जान्छ, पैसाको चाङमा उभिएर बनावटी कुरा ग¥यो  भन्लान ।

उनी दुःखको कारण ठान्छन्, पैसालाई । जो खुशीको खोजीमा पैसाका पछि दगुरीरहन्छ । उनको बुझाईमा मुस्कुराउने बाटा तमाम छन् । मान्छे दुःखी हुने बाटो खोज्छन् ।

पैसाका पछि कुदिरहेका मान्छेहरुका दुःख उनले नजिकबाट देखेका छन् । जति कमाएपनि नअघाउने । बस्, कमाउने भोक बढेको बढ्यै । अनि सुन्छन्, देख्छन् । पढ्छन् । तिनकै आत्महत्याको समाचार । उनलाई त्यहाँ पुग्नु छैन् । जहाँ कमाएर मान्छे आत्महत्याको बाटो   रोजोस । भिक्षु जस्तै उनी । धन थुपार्ने लालसा कहिल्यै पालेनन् ।

उनी जुन परिवेशमा हुर्किए । त्यहाँ सपना कसले देखोस ? हो, बाल्यकालमा उनका कुनै सपना थिएनन् । उनी गरीवीमा हुर्किए । अभावमा बाँचे । आमा, सतिशाल झै थिईन, जसले दुःखका पहाड उनलाई बोकेर हिडिन् । सबै बोझ र पीडा आफूले सहिन । सन्तानलाई सुखद जिन्दगी दिईन् । उनी धन्य छन्, आमाप्रति ।

उनको छोरो श्रेयास १५ पुगे । छोरी श्रीयम १९ लागिन् ।

आफ्नो बिगत नबिर्सिनु । नबिर्सिनु कहाँबाट आएको हुँ । छोराछोरीलाई भनिरहन्छन्, जरा नबिर्सिनु । सेवा गर । प्रचार नगर । भन्छन्, ‘डु ईट ।’

अब के ?

उनी योजना बनाउदैनन् । पुरा गर्छन् । हो, उनी जे सोच्छन्, त्यो पुरा गरि छाड्छन् । एउटा म्याराथन नसकिदै उनी सोच्छन्, अब के ?

संसारका साना ठूला सबै दौडमा सहभागी भईसकेपछि उनको मनले प्रश्न ग¥यो, अब के ? उत्तर दिए, द वल्र्ड म्याराथन च्यालेञ्जमा दौडिने ।

हो, उनी संसारकै सबैभन्दा चुनौतीपूर्ण मानिने वर्ल्ड म्याराथन च्यालेञ्जमा सहभागी हुदैछन् । २०१५ देखि हरेक वर्ष आयोजना हुदै आएको यो म्याराथन यस वर्ष ३१ जनवरी २०२६ मा शुरु हुदैछ ।

अन्टार्टिकाबाट शुरु हुने सातदिने यो म्याराथन सात वटै महाद्धिपको परिक्रमापछि समापन  हुनेछ ।

अन्टार्टिकामा विहान ३ बजे शुरु हुनेछ, म्याराथन । त्यहाँको माईनस २० डिग्री सेल्सियस तापक्रममा उनले ४२.१९५ किमी दूरी तय गर्नेछन् ।

दोस्रोमा, साउथ अफ्रिकाको केप टाउन । तेस्रो, अष्टे«लियाको पर्थ । चौथौ, दुबई । पाँचौ स्पेनको म्याड्रिड । छैठौ, ब्राजिल । र, अन्तिम म्याराथन अमेरिकाको मायामीमा हुनेछ ।

उनी यसमा सहभागी हुनुको अर्थ, संसारका सात वटै महाद्धीपमा म्याराथनमा दौडिनु मात्र होईन् । उनले यसलाई नेपाली सम्पदाको विश्वभरी प्रचार गर्ने अवसरका रुपमा लिएका छन् । उनी सातै महाद्धीपको म्याराथनमा नेपाली पोशाक -दौरा सुरुवाल_ मा दगुर्नेछन् ।

र, उनी यो म्याराथनमा परोपकारी सात वटा उद्देश्य लिएर दगुर्दैछन् । अन्टार्टिकामा ग्लोबल वार्मिङका लागि उनको काम गर्ने सोच छ । एसियामा बालबालिकाको शिक्षा र आँखाको शल्यक्रियामा काम गर्ने योजना छ ।

यो म्याराथनमा १८ देशका २६ जना सहभागी हुनेछन् । उनी त्यसमा प्रतिनिधित्व गर्ने पहिलो नेपाली हुनेछन् । खानाका रुपमा प्याकेट फुड । तातो पानी संगै बोक्नुपर्नेछ । सुत्ने । आराम गर्ने । यो दौडमा, त्यो सुविधा छैन् । न दिन । न रात । सात दिन । सात महाद्धिप । हरेक दिन ४२ किमीका दरले सात दिनमा २९४ किमी दौडिनु पर्नेछ । एउटा दौड सकेपछि अर्को दौडका लागि तयार भईसक्नु पर्नेछ । रिकभरीका लागि टाईम छैन् ।

उनी यो सबै चुनौती झेल्न तयार भए । न मृत्युको भय । न कुनै चुनौतीको डर । परोपकार जसको उद्देश्य छ, डर के को ?

उनी रोकिनेवाला छैनन् । उनको दौडको आफ्नै थ्योरी छ, ‘माई रेस, माई पेस’।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार रावल नियुक्त

काठमाडौँ, ३० पुस । सरकारले प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारमा रामबहादुर रावललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई प्रधानमन्त्री कार्कीको सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रामबहादुर रावल नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।

यसअघि रावल प्रधानमन्त्री कार्कीको प्रेस संयोजक नियुक्त भएका थिए । नेपाल खबर डटकमका सम्पादक रावल राजीनामा दिएर प्रधानमन्त्रीको संयोजक भएका थिए ।

दृष्टि साप्ताहिकबाट पत्रकारिता शुरु गरेका रावलले नेपाल एफएम हुँदै कान्तिपुरको नेपाल म्यागजिन, कान्तिपुर टेलिभिजनमा समाचार को–अर्डिनेटर र ग्यालेक्सी फोरके टेलिभिजनको सम्पादक भएर काम गरेका थिए ।

पत्रकारिता क्षेत्रमा झन्डै दुई दशक काम गरेका रावल २०४० सालमा बाजुराको मार्तडीमा जन्मिएका हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका रावलले कानुनमा समेत स्नातक गरेका छन् ।

गगन थापा नेपाली काँग्रेसको सभापति चयन

पुस ३०, काठमाडौं ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगगन कुमार थापा सर्वसम्मत रुपमा सभापतिमा चयन भएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको  हो ।

अधिवेशनले उपभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई चयन गरेको छ । महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

त्यस्तै, सहमहामन्त्रीतर्फ महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खसआर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी, पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन् ।

यस्तो छ, विशेष महाधिवेशनले चयन गरेको केन्द्रीय समिति

काँग्रेस कसैको प्राईभेट कम्पनी होईन- थापा

काठमाडौँ, ३० पुस ।

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काँग्रेस कसैको प्राईभेट कम्पनी नभएको बताएका छन् ।

नेपाली काँग्रेसले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा सहितका नेताहरुलाई साधारण सदस्य नरहने गरी कार्बाही गरेपछि थापाले यस्तो अभिव्यक्त दिएका हुन् ।

सानेपामा बुधवार बसेको कांग्रेसको देउवा पक्षीय केन्द्रीय समितिले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । तर, कारबाही गरिनुपूर्व विधानअनुसार कसैलाई पनि सफाइको मौका दिइएको छैन ।

विशेष महाधिवेशन हलमा बोल्दै थापाले कारबाही गर्दा सामान्य स्पष्टिकरण पनि नसोधिएको बताएका छन् । उनले कांग्रेस कसैको ‘प्राइभेट कम्पनी’ नभएको भन्दै आफूमाथि गरिएको कारबाहीलाई चुनौती दिएका छन् ।

गगन–विश्वलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा

काठ्माणडौ- नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेस गरिएको छ ।

कांग्रेस संस्थापनले तीनै जना नेतालाई पाँच वर्षका लागि निष्कासन गरिएको पत्र आयोगमा पेस गरेका हुन् । कांग्रेसमा अब को आधिकारिक हुने भनेर लडाइँ हुने देखिएको छ ।

गगन–विश्वले यसअघि नै आफूहरूले विशेष महाधिवेशन गरिरहको र त्यसबाट नयाँ नेतृत्व चयन हुने व्यहोराको पत्र आयोगमा बुझाएका थिए ।

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश पारित, बीमा शुल्क १० प्रतिशत बढ्यो

 काठमाडौं- नेसनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट यसअघि घोषित लाभांश पारित भएको छ ।

कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँको ८.५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर दिने यसअघिको प्रस्ताव पारित भएको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न साधारणसभाले अन्य वित्तीय विवरण पनि पारित गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कम्पनीको व्यवसाय सन्तोषनजनक रहेको छ ।

कम्पनीको कुल बीमा शुल्क १०.२६ प्रतिशतले वृद्धि भई २२ अर्ब ५९ करोड पुगेको छ । समिक्षा वर्षको संचालनबाट १४ अर्ब ९८ करोड खुद थप रकम कुल बीमा करार दायित्वमा सारिएको छ र कुल बीमा करार दायित्व गत वर्षको तुलनामा १८.८३ प्रतिशतले बृद्धि भई वर्षान्तमा ९४ अर्ब ५८ करोड पुगेको छ ।

यसै गरी कम्पनीले समीक्षा वर्षमा मृत्यु दावी, अवधि समाप्ती एवम् आंशिक अवधि समाप्ती दावी, समर्पण मूल्य, दावी एवम् अन्य दावी भुक्तानीमा ९ अर्ब ४८ करोड दावी भुक्तानी गरेको छ ।

कम्पनीले आफ्ना सबै लगानी योग्य रकम नेपाल बीमा प्राधिकरणबाट निर्देशित क्षेत्र भित्र रहेर दीर्घकालीन क्षेत्रमा लगानी गर्दै आएको छ । कम्पनीको कुल लगानी समीक्षा वर्षमा ११.०४ प्रतिशतले वृद्धि भई वर्षान्तमा ७७ अर्ब ९०.२० करोड पुगेको छ ।

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालीन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । ‘कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ, आ.व.२०८१/०८२ मा सो दर ८.७६ प्रतिशत कायम रहेको छ’ नेसनल लाइफले भनेको छ ।

कम्पनीले आ.व.२०८२/०८३ मा हिमालयन बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२ रुपैयाँमा खरिद गरेको छ । उक्त बैंकमा कम्पनीको सेयर स्वामित्व हिस्सा १३.६१ प्रतिशत पुगेको छ ।

यसैगरी कम्पनीले मर्चेन्ट बैंकरको रुपमा प्रबद्र्धन गरेको सहायक कम्पनी नेसनल क्यापिटलले आवश्यक इजाजतपत्र प्राप्त गरी संचालनमा आएको छ । सो कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को लागि पहिलो पल्ट ७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले आफ्नो इटहरी शाखाको लागि आफ्नो स्वांमित्वमा रहेको जग्गामा नयाँ आधुनिक व्यापारिक भवन निर्माण प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म दृढ छौँ : विश्वप्रकाश

काठमाडौं : नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कारबाही गरेपछि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र आफू दृढ रहेको बताएका छन्।

पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको थियो। महामन्त्रीद्वय थापा र शर्माले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिए।

कारबाहीमा परेपछि शर्माले सामाजिक सञ्जालमा लेख्दै भने, मेरो प्रतिक्रिया केवल यत्ति छ– कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ। विधान अनुरूपको विशेष महाधिवेशनले देशलाई सही दृष्टिकोण दिएको छ। अब सही नेतृत्व दिनेछ।

यस्तै शर्माले देउवा पक्षसँगको सहमतिका लागि आज बिहान प्रस्तावित ८ बुँदामध्ये कुन बुँदा कांग्रेस र देशको अहितमा थियो र छ भन्दै प्रश्न समेत गरेका छन्।

यस्ता छन् सहमतिका लागि प्रस्तावित गरेका ८ बुँदा
१. विशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिने।
२. विशेष महाधिवेशन परिमार्जनसहित पारित प्रस्तावहरू कार्यान्वयन गर्ने।
३. सभापतिले सक्रिय भूमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने।
४. उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने।
५. आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने।
६. कुनैपनी दलसँग गठबन्धन नगरेर नेपाली कांग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने  ।
७. नेपाली कांग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने।
८. यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने। जसमा–कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने।

सरकार र जेनजीबिच सम्झौताको सक्कल फाइल झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताको सक्कल फाइल झिकाउन आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार यसअघिको आदेश अनुसार महान्यायाधिवक्ता कार्यालय मार्फत सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको हो ।

यसअघि, न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले पुस ४ गते उक्त सम्झौताका बारेमा प्रधानमन्त्री सुशीला कार्कीका नाममा कारण देखाऊ आदेश गर्दै १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनिएको थियो ।

गत पुस ३ गते अधिवक्ता डा।प्रेमराज सिलवाल र अधिवक्ताहरू सुदीप भण्डारी, रोहित झा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रवीण पौडेल र स्मृति अधिकारीलगायतले दायर दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमा सम्झौता संविधान विपरीत भएको उल्लेख गरिएको थियो ।

उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री सुशीला कार्कीलाई विपक्षी बनाएका थिए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै सरकार र जेनजी प्रतिनिधिबिच मङ्सिर २४ गते १० बुँदे सम्झौता भएको थियो ।

उक्त सम्झौताका प्रावधानहरू कार्यान्वयन भएमा राज्य संरचना र संवैधानिक अभ्यासमा दीर्घकालीन क्षति पुग्ने भन्दै अन्तिम फैसला आउँदा सम्मका लागि यस्ता कार्य नगर्न सरकारलाई रोक लगाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएका थिए ।

गगन–विश्वप्रकाश सहितलाई ५ वर्षका लागि निष्काशन गर्ने कांग्रेस संस्थापन पक्षको निर्णय

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो ।

वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर घटाए

काठमाण्डाै- वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको समस्याले लागातार ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरूले माघ महिनाका लागि त्यसलाई निरन्तरता दिएका हुन् ।

२० मध्ये १२ वटा बैंकले पुस महिनाको तुलनामा माघ महिनाका लागि ब्याजदर घटाएका छन् । ७ वटाले स्थिर राखेका छन् भने प्राइम बैंकले सामान्य बढाएको छ । बैंकले दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा शून्य दशमलव १४९५ प्रतिशत विन्दुले झरेको छ ।

पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४  दशमलव ८५ प्रतिशत रहेकोमा माघमा यस्तो औसत ब्याजदर ४ दशमलव ७ प्रतिशतमा झरेको छ ।

माघ महिनामा सबैभन्दा धेरै ब्याज ग्लोबल आईएमई बैंकले ५ दशमव ५ प्रतिशत दिनेछ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ दशमलव ३६ प्रतिशत दिनेछ । बैंकहरूसँग ११ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ ।

कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले ३ प्रतिशत र २ दशमलव ६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् । वित्तीय प्रणालीबाट राष्ट्र बैंकले ८ खर्ब ७३ अर्ब रूपैयाँ खिचिसकेको भए पनि बैंकमा लगानी योग्य रकम पर्याप्त छ ।

 

कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजे

 काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।

समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै उम्मेदवारमाथि दाबीविरोध ४ बजेदेखि ४:३० बजेसम्म गर्न सकिनेछ ।

समितिले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने र राति ८ बजेदेखि १ बजेसम्म मतदान हुने सूची सार्वजनिक गरेको छ ।

राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै म्यासेज पठाउने व्यक्ति पक्राउ

काठमाण्डाै- राजतन्त्रको पक्षमा प्रदर्शनमा आउन भन्दै अनधिकृत रूपमा म्यासेज पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निर्देश सेढाईंलाई पक्राउ गरेको हो ।

एटी अलर्टको बल्क एसएमएस सिस्टम दुरुपयोग गर्दै सेढाईंले एकैदिन ५० लाख एसएमएस पठाएको पाइएको छ । कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार अहिले विस्तृत अनुसन्धान र सोधपुछको काम भइरहेको छ ।

वेदव्यास इन्टरप्राइजेज नामक कम्पनीको नामबाट विभिन्न एसएसएस प्रदायकबाट सेवा लिएका सेढाईंले त्यसको दुरुपयोग गरेर एकैदिन लाखौँ एसएमएस पठाउँदै आन्दोलनमा आउन आह्वान गरेका थिए ।

यसले व्यक्तिगत गोपनीयताको हनन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । टेलिकमले पनि हिजो विज्ञप्ति निकालेर व्यापार व्यवसाय प्रवर्द्धनका लागि मात्रै एसएमएस प्रवाह गर्न स्वीकृति दिने गरेको बताएको छ ।

 

निर्वाचनलाई सफल बनाउनु सबैको दायित्व : गृहमन्त्री अर्याल

काठ्माणडौ- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध सबैको दायित्व भएको बताएका छन्।

संघीय गृह मन्त्रालय तथा मधेस प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले आगामी फागुन २१ गते निष्पक्ष रूपमा प्रतिनिधिसभा निर्वाचन हुने बताए।

उनले भने, ‘निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायका सबै अंगलाई गम्भीर भएर कार्यक्षेत्रमा लाग्नु होला।’

निर्वाचनलाई सफल बनाउन राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीलाई आग्रह गर्दै गृहमन्त्रीले समाजमा द्वन्द्व फैलाउने गतिविधि नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरे। प्रचलित कानुनविपरीत गर्नेलाई कारबाही हुने चेतावनी पनि उनले दिए। सामाजिक सञ्जालको दुरुपयोगतर्फ उनको भनाइ लक्षित थियो।

जेनजीको चाहनाअनुसार वर्तमान सरकार गठन भएको बताउँदै उनले सुशासन कायम गर्नु तथा निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउनु सरकारको कार्यादेश भएको गृहमन्त्रीले स्पष्ट गरे। उनले उच्च मनोबलका साथ कार्यक्षेत्रमा परिचालन हुन र राष्ट्रले सुम्पेको अभिभारा पूरा गर्न सुरक्षा निकायका पदाधिकारीलाई निर्देशन पनि दिए।

लुटिएका हतियार फिर्ता भइरहेको तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायले सीमित साधन तथा स्रोतका बाबजुद निर्वाचनलाई सफल बनाउनेतर्फ लागिपरेको उनले बताए। रासस

खोज्नुहोस