सुदूरपश्चिममा म्यादी प्रहरी भर्ना: ५ जिल्लामा दरखास्त कम

द एभरेष्ट पोष्ट
३ माघ २०८२ १२:५२
सुदूरपश्चिममा म्यादी प्रहरी भर्ना: ५ जिल्लामा दरखास्त कम

बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा निर्वाचन सुरक्षाका लागि आवश्यक प्रहरी जनशक्तिमा मागभन्दा कम दरखास्त परेका छन् । बिहिबार प्रहरीले सार्वजनिक गरेको तालिका अनुसार बझाङ, डोटी, अछाम, डडेलधुरा र बैतडी जिल्लामा माग भन्दा कम दरखास्त परेका हुन् ।

बझाङ जिल्लामा १ हजार ४ सय ८४ जनाका लागि दरखास्त आह्वान गरिएकोमा हालसम्म १ हजार ४ सय ४६ जनाले आवेदन दिएका छन् । यहाँ ३८ जना कम परेका छन् । यस्तै, डोटी जिल्लामा १ हजार ४० जनाका लागि दरखास्त आह्वान गरिएकोमा ९ सय ५० जनाले मात्रै आवेदन दिएका छन् । मागभन्दा ९० जना कम आवेदन परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

अछाम जिल्लामा १ हजार ४ सय ६३ जनाका लागि दरखास्त खुलाइएकोमा १ हजार २ सय ८७ जनाले आवेदन दिएका छन् । यहाँ १ सय ७६ जना कम छन् । डडेलधुरा जिल्लामा ९ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएकोमा ८ सय ७ जनाले मात्र दरखास्त पेस गरेका छन्, जसमा १ सय ८७ जना कम परेका छन् ।

यस्तै, बैतडी जिल्लामा १ हजार २ सय ७९ जनाका लागि दरखास्त आह्वान गरिएकोमा १ हजार २० जनाको आवेदन परेको छ । मागभन्दा २ सय ५९ जना कम आवेदन परेको हो । मागभन्दा कम दरखास्त परेका जिल्लाहरूमा आज र भोलि पनि आवेदन दिने समय थप गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलाले जानकारी दिए ।

सुदूरपश्चिमका चार जिल्लामा भने मागभन्दा बढी दरखास्त परेका छन् । कैलाली, कञ्चनपुर, बाजुरा र दार्चुला जिल्लामा आह्वान गरिएको संख्याभन्दा बढी आवेदन परेको हो । कैलाली जिल्लामा ३ हजार ५ सय ७६ जनाका लागि दरखास्त आह्वान गरिएकोमा ५ हजार १ सय ५१ जनाले आवेदन दिएका छन् ।

यहाँ १ हजार ५ सय ७५ आवेदन बढी परेका छन् । कञ्चनपुर जिल्लामा २ हजार ३५ जनाका लागि दरखास्त खोलिएकोमा २ हजार ९ सय ६ जनाले आवेदन दिएका छन्, जसमा ८ सय ७१ बढी छन् ।

बाजुरा जिल्लामा ९ सय ६४ जनाका लागि दरखास्त आह्वान गरिएकोमा १ हजार ८५ जनाले आवेदन दिएका छन् । यहाँ १ सय २१ दरखास्त बढी परेका छन् । यस्तै, दार्चुला जिल्लामा ८ सय ८४ जनाका लागि दरखास्त खोलिएकोमा १ हजार ५ सय ४१ जनाले आवेदन दिएका छन्, जसमा ६ सय ५७ बढी छन् ।

सुदूरपश्चिम प्रदेशभर १३ हजार ६ सय ६९ जनाका लागि दरखास्त आह्वान गरिएकोमा हालसम्म १६ हजार १ सय ९३ जनाले आवेदन दिएका छन् । दरखास्त दिने म्याद पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस