उठौँ कि नउठौँ ? उठौँ कसरी उठौँ ? नउठौँ, गरौ के ? भदौ २३ र २४ ले मूर्च्छनामा परेका दलहरु केही समय यस्तै अवस्थामा थिए । ज्यूँदो छु कि छैन् ? आफैलाई चिमोठ्ने अवस्थामा थिए, कतिपय दल र तिनका नेताहरु ।
सर्लक्क पद छोडेर विश्राम लिने अपेक्षा गरिएको थियो, कतिपय नेताहरुबाट । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले त्यही गरे । कार्यकारी अधिकार छोडे । प्रधानमन्त्रीको आकांक्षा त्यागे । कार्यबहाक सभापतिको जिम्मेवारी पूर्ण बहादुर खड्कालाई सुम्पिए । जताजतै वाहीवाही भयो, नेता होस त देउवा जस्तो ।
हुन् पनि जेनजी आन्दोलनबाट सबैभन्दा बढि क्षति देउवाले बेहोरे । घरआगजनी भयो । निर्घात रुपमा सपत्नी कुटिए । उनले त्यसको प्रतिशोधमा कार्यकर्तालाई सडकमा उत्रिन आह्वान गरेनन् । देशकै प्रमुख दलका सभापति देउवाले प्रतिवादमा आगो ओकेलेनन् । उनले जेनजीको भावना र आन्दोलनको मर्मलाई आत्मसात गरे ।
उपचारमा केही समय सिंगापुरमा बिताए । त्यहाँ हुदासम्म ठिकै थियो । जब फर्किए । त्यसपछि उनलाई उचाल्ने सात भाई र निकट व्यक्तिहरुले के कस्तो हर्कत गरे ? जसले न समयको बेग बुझे । न जनताको भावना । बस्, देउवालाई उकासिरहे । उचालिरहे । सक्रिय हुन दवाव दिईरहे ।
सम्मानजनक बहिगर्मन रोजेका देउवा अचानक कसरी र किन सक्रिय भए ? त्यसका पछाडि को को सक्रिय थिए ? त्यो जगजाहेर छ ।
सुदूरपश्चिमको बिकट रुवाखोलामा जन्मिएर मुलुकमा लोकतन्त्र ल्याउन भूमिका खेलेका देउवालाई सुदूरपश्चिमले मात्र नभएर देशले सम्झिनु पर्ने अनेकौं कारण छन् । यद्दपि उनी आलोचना मुक्त छैनन् । उनका खराव र असल पक्षका बारेमा अर्को लेखमा चर्चा गर्नेछु ।
पत्नी । सन्तान । र, निकट नेताहरु । यी सबैको मोहबाट देउवा अव मुक्त हुनपर्छ । कसैलाई उत्तराधिकारी बनाउने । वा कसैको स्थान सुरक्षित गर्ने सोच देउवाले राख्न हुदैन् ।
पुत्रीमोहले शान्ति नायक गिरिजाप्रसाद कोईराला जीवनको उत्तराद्र्धमा आलोचनाबाट मुक्त रहेनन् । देउवापनि श्रीमतीको मोहबाट अलग हुन आवश्यक छ । कसैको स्थान सुरक्षित गर्ने उद्देश्य र स्वार्थबाट प्रेरित नहुनु नै देउवाका लागि हितकर हुनेछ । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर देउवाले बाँकी जीवन सम्मानजनकढंगले यापन गर्नुपर्छ । यसैमा उनको भलाई छ । काँग्रेस र देशको भलाई पनि यसैमा छ ।
देउवालाई कुट्ने को हुन् ? त्यसको खोजी भयो ? कुटाउने को हुन् ? त्यसको चर्चा कहिल्यै भएन् ? न त खोजी नै भयो ? उनलाई कुटाउने तिनै पात्र र प्रबृति हुन्, जो अहिले उनलाई सक्रिय हुन बाध्य बनाईरहेका छन् । उनीहरु देउवाका सबैभन्दा ठूला शत्रु हुन् । ती शुभचिन्तक हुदै होईनन् । देउवालाई गुमराहमा राखेर, जो आफ्नो स्वार्थ पुरा गर्दै आएका छन् ।
देशलाई गगन नै चाहिएको छ, उनको बिकल्प छैन् भन्नु अन्यथा हुन्छ । तर गगन वा गगनजस्तै युवा,जोसंग उर्जा छ, जसले देशको माटो बुझेको छ, भूगोल बुझेको छ, भूराजनीति बुझेको छ, र बुझेको छ, कुटनीति । जोसंग देशका लागि केही गर्ने हुटहुटी छ, जोसंग दृढईच्छाशक्ति छ, र जोसंग छ, विकास र समृद्धिको संकल्प ।
लहड, आवेश र आवेग । डिजिटल पपुरालरिटी । र, फेक अकाउण्टहरुको कारखानाले उत्पादन गरिरहेका ‘हिरो’हरुबाट देश चल्दैन् । देश चलाउन बिबेक चाहिन्छ । संयमता चाहिन्छ । सपना चाहिन्छ । र, त्यो सपना पुरा गर्ने अठोट चाहिन्छ । त्यस्ता बिरलै युवाहरु छन्, जसमध्ये गगन एक हुन् । यद्दपि उनी पनि आलोचना मुक्त छैनन् ।
उनले भनिसके, नेपाली काँग्रेस दास र लासहरुको पार्टी होईन् । यहाँ कुनै बा छैन्, जसले नबोल भन्दैगर्दा बोल्न छोड्ने कोही छैन् । काँग्रेसमा प्रश्न मरेको छैन् । काँग्रेस जिउँदो मानिसहरुको पार्टी हो ।
लोकतन्त्रमा यो अपरिहार्य छ । जहाँ प्रश्नहरु मर्छन् । त्यो समाज जीवित रहदैनन् । प्रश्न नगर्ने । चाकरी गर्ने । प्रशंसा मात्र गर्ने । सब ठिक छ भन्ने । सत्य कुरा नभन्ने । यस्तै नेता र कार्यकर्ताहरुका कारण नेताहरु बिग्रिएका हुन् । मैमत्त भएका हुन् । स्वेच्छाचारी भएका हुन् । यो रोग सबै पार्टीभित्र विद्यमान छ ।
हुन् त लोकतन्त्रका चर्का कुरा गर्ने पार्टीभित्रै लोकतन्त्र छैन् । जहाँ बोल्ने स्वतन्त्रता छैन् । फरक मत राख्ने छुट छैन् । फरक मत राख्नेमाथि अनुशासनको कारबाही हुनु नौलो कुरा रहेन् ।
ढिलै सही, गगन र विश्वप्रकाशले जुन आँट गरे, त्यसले हरेक पार्टीभित्रका युवाहरुलाई नेतृत्वका गलत क्रियाकलापका बिपक्षमा दरो ढंगले उभिन प्रेरित गर्नेछ । पार्टीको आन्तरिक जीवनमा मात्र नभएर मुलुक र लोकतन्त्रको रक्षाका लागि उनीहरुको यो कदम आवश्यक थियो ।
विशेष महाधिवेशनले नीति र नेता बदल्ने ल्याकत राख्ने गगनको दावी छ । तातोपानीको घुर्की लगाएर कथमकदाचित चिसैपानीले नुहाउनुपर्ने बाटो रोजेमा उनका लागि यो महाधिवेशन अन्तिम अवसर हुनेछ । आफ्नो राजनीतिक जीवन जोखिममा राखेर यत्तिको आँट गर्ने गगनलाई त्यसको हेक्का नहोला भन्नु अन्यथा हुन जान्छ ।
सभापति बिरामी छन् । नियमित अधिबेशनको समय बाँकी नै छ । नजिकै चुनाव छ । यस्ता कमजोर तर्कहरु अघि सारेर मूल मुद्दालाई ओझेलमा पार्ने सबै प्रयत्नहरुलाई गगन र विश्वप्रकाशहरुले असफल गरिदिएका छन् । सधै समानुपातिकको सुविधामा रजगज गरेका कतिपय नेताहरुको त्यो रजगज रहनेछैन्, विशेष महाधिबेशनको विपक्षमा उभिनुपर्ने, यो उनीहरुको बाध्यताको कारण हो ।
चुनावै नलड्ने । हारेपनि पद पाईरहनेहरु । यतिबेला सबैभन्दा बढि छटपटीमा छन् । उनीहरुले विशेष महाधिवेशन हुने कुराको कल्पना गरेकै थिएनन् । र, महाधिवेशनका लागि प्रतिनिधिहरु जुट्न थालेपछि उनीहरु भन्न थाले, त्यो संख्या ४० प्रतिशत पुग्दैन् ।
विशेष महाधिवेशनमा कति प्रतिनिधि सहभागी भए ? त्यो संख्या र अंकगणितले अब खासै अर्थ राख्दैन् । जति जुटे । काँग्रेस अहिलेकै नेतृत्व र यही गतिमा अब चल्नु हुदैन् । चल्न सक्दैन् । विशेष महाधिवेशनमा उपस्थित प्रतिनिधिको संख्या, यस कुराको बलियो प्रमाण हो ।
जहाँनिया राणा शासनको अन्त्य । प्रजातन्त्रको पुर्नस्थापना । गणतन्त्रको प्राप्ति । काँग्रेसका जस लिने यी पुराना आधार हुन् । पुरानो पार्टी हुनु वा कुनै समय कुनै मुद्दामा उभिनुले कसैलाई चीरस्थायी बनाउदैन् । पुरानो प्रजापरिषद कहाँ छ ? नेपाली काँग्रेसले सम्झिनु पर्ने बेला हो यो । देशले खोजेको काँग्रेस कस्तो हो ? यो बुझ्न नचाहने र बुझ्न नसक्नेहरु यतिबेला काँग्रेसमा हावी छन् । जसमा बहुमतको दम्भ छ । बहुमत वा अंकले सत्ता जोगिने भए, केपी शर्मा ओलीले सत्ताबाट असमयमै लखेटिनु पर्ने थिएन् । व्यक्ति होईन, समय बलवान हुन्छ । समयको गति नबुझ्नेहरु नामेट भएका छन् ।
युवाहरु सुशासन चाहन्छन् । भ्रष्टाचारको अन्त्य चाहन्छन् । उनीहरु नेपोबेबीको रजगजबाट आजित छन् । उनीहरु चाहन्छन्, गफ होईन, काम गर्नेका हातमा देशको बागडोर जावस, जसले युवाहरुको पलायन रोकोस । आँखाले पुरा भएको देखोस, विकास र समृद्धिको सपना । त्यो सपना पुरा गर्ने दृढईच्छाशक्ति भएको नेतृत्व आजको युवाले खोजेको छ । पुरानाहरुसंग न जागर छ । न त त्यो पुरा गर्ने संकल्प ।
तर काँग्रेसका नेताहरु राग बेग्लैछ । विशेष महाधिबेशनले बिभाजन निम्त्याउने उनीहरुको जिकिर छ । बिभाजनले तिक्तता । र, त्यसले चुनावको परिणाममा असर गर्ने डर देखाउछन्, कतिपय नेता । पुराना र मक्किएका अनुहारबाट चुनावमा हुने क्षतिको तिनलाई आंकलन नै छैन् । बरु युवाको नेतृत्वले पुरानो काँग्रेसलाई नयाँ उर्जा दिनेछ, यसमा सन्देह छैन् । नेतृत्वमा गगन,विश्वकर्माहरु जो सुकै हुन्, त्यसले फरक पार्नेछैन् । पार्टी जोगाउने कि पद ? काँग्रेसका पुराना नेताहरुलाई समय घर्किनुअघि नै सद्बुद्धि मिलोस । अहिलेलाई यति कामना गर्न सकिन्छ ।