ललितपुर र अमेरिकाको ब्रुमफिल्ड नगरबीच भगिनी सम्बन्ध कायम
कोलोराडो, २९ पुष ।
ललितपुर महानगरपालिका र अमेरिकाको कोलोराडो राज्यको ब्रुमफिल्ड नगरबीच भगिनी सम्बन्ध कायम भएको छ ।
सोमवार साँझ ब्रुमफिल्ड नगरको हलमा आयोजित एक समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र ब्रुमफिल्ड नगरका प्रमुख ग्यूलिन कास्त्रियोटाले भगिनी सम्बन्धको सम्झौतामा हस्ताक्षर गरे । र, सोही समारोहमा दुबैजनाले सम्झौता पत्र आदान प्रदान गरे ।
ललितपुर नगरपालिकाका प्रमुख महर्जनले ललितपुर महानगरसंग भगिनी सम्बन्ध कायम गरेकोमा ब्रुमफिल्डकी प्रमुख कास्त्रियोटालाई धन्यवाद दिए ।
महर्जनले ललितपुरसंग भगिनी सम्बन्ध कायम हुने ब्रुमफिल्ड तेस्रो नगर भएको बताए । यसअघि रुस र कोरियाका नगरसंग भगिनी सम्बन्ध कायम भएको महर्जनले जानकारी दिए ।
मेयर महर्जनले भगिनी सम्बन्ध कायम गर्नुको उद्देश्य लिनु मात्र नभएर दिनु पनि भएको बताए ।
ब्रुमफिल्डका असल अभ्यास र सिकाई ललितपुरले अनुशरण गर्नेछ, उनले भने, ललितपुरका असल अभ्यास र सिकाई ब्रुमफिल्डलाई बाड्नेछौ ।
सोही कार्यक्रममा मेयर महर्जनले ब्रुमफिल्ड नगरका प्रमुख कास्त्रियोटालाई नेपाल भ्रमणको निम्ता दिए ।
मेयर महजर्नले दुई नगरबीच भगिनी सम्बन्ध स्थापनाका लागि योगदान पु¥याएकोमा हेल्पिङ ह्याण्ड्स हेल्थ एण्ड एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठलाई धन्यवाद दिए ।
ब्रुमफिल्ड नगरकी प्रमुख ग्यूलिन कास्त्रियोटाले ललितपुर महानगरसंग भगिनी सम्बन्ध स्थापित भएकोमा खुशी व्यक्त गरिन् ।
‘यो हाम्रा लागि खुशीको कुरा हो,’ उनले भनिन्, ‘भगिनी सम्बन्धले ब्रुमफिल्ड र ललितपुरलाई मात्र जोडेको छैन् । यसले नेपाल र अमेरिकालाई पनि जोडेको छ ।’
कार्यक्रममा हेल्पिङ ह्याण्ड्स हेल्थ एण्ड एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठले ललितपुर र ब्रुमफिल्डकाबीचको भगिनी सम्बन्धले दुई नगरलाई मात्र नभएर दुई देशलाई जोड्ने विश्वास गरे ।
उनले भगिनी सम्बन्ध कायम गर्न आफूले गरेको आग्रह सहर्ष स्वीकार गरेकोमा ब्रुमफिल्ड नगरका प्रमुख ग्यूलिन कास्त्रियोटालाई धन्यवाद दिए ।
कार्यक्रममा मेयर महर्जन र ब्रुमफिल्ड नगरकी प्रमुख कास्त्रियोटाले एक आपसमा दुई देशको संस्कृति चिनाउने उपहारहरु आदान प्रदान गरे ।
मेयर महर्जनले ब्रुमफिल्ड नगरकी प्रमुख कास्त्रियोटालाई गैडाको मूर्ति र काठको कलात्मक उपहार प्रदान गरेका थिए ।
कोलोराडोका नेपाली संघसंस्थाका अगुवा तथा नेपाली समुदायको उपस्थितिमा आयोजित कार्यक्रममा नेवारी संस्कृतिले सबैलाई लोभ्याएको थियो ।






