विश्वको ध्यान तानेको भिक्षुहरुको पैदल यात्रा र अलोका
भुवन जोशी ।
अनवरत हिडिरहेका भिक्षु । तिनलाई पछ्याईरहेको एउटा कुकुर । त्यो दृष्य, जसले यतिबेला विश्वको ध्यान तानेको छ ।
न मिडियावाजी । न चर्चा । मौन यात्रा । त्यो पनि पैदल । अक्टोबर ६ मा टेक्सासको फोर्ट वर्थबाट भिक्षुहरु निस्किदा समाचार नै बनेन् ।
जब उनीहरु अघि बढ्दै गए । तब विस्तारै चर्चा हुन् थाल्यो । शुरुवाती दिनमा छिटफुट रुपमा केही मान्छे भिक्षुहरुलाई हेर्न सडकमा निस्किन्थे ।
मंगलवार ८० औं दिन । भिक्षुहरु साउथ क्यारोलिना पुग्दा पुरै शहर स्वागतमा उर्लियो । स्वागतमा सडक किनारमा लामबद्ध थिए, बच्चादेखि बृद्धसम्म । प्ले कार्डसंगै पुष्पगुच्छा थिए, हातहातमा । श्रद्धाले झुकिरहेका शीर । भिक्षुहरुलाई छुन लालायित हातहरु । उच्च श्रद्धा । उच्च सम्मान । उच्च सुरक्षा । यस्तो सम्मान बिरलै मान्छेहरुले पाउछन् । जुन अमेरिकामा भिक्षुहरुले पाएका छन् । त्यस्तो सम्मान पाउने भाग्यमानी बनेको छ, अलोका पनि ।
स्वागतमा घण्टौं पर्खिएका सर्वसाधारणले कैयौं माईल संगै हिडेर पदयात्रामा साथ दिए । सडक पुरै जाम भयो । पुलभरी मान्छे थिए । मध्यभागमा भिक्षु । दायाँ–बाँया । अगाडि–पछाडि । सर्वसाधारणको थेगी नसक्नु भीड । भीडलाई पछ्याईरहेका सुरक्षाकर्मी । भिक्षुहरुको यात्रा शहरको मध्यभागमा पुग्दा यस्तो लाग्यो, पुरै शहर उत्सव मनाउन निस्किएको छ, सडकमा ।
अखवारका पानाहरु । अनलाईन न्यूज पोर्टल । र, टेलिभिजनका पर्दा । भिक्षुहरुको पैदल यात्राका समाचारले भरिएका छन् । समाचारबाचकहरु भिक्षुहरुको पैदल यात्रा र अलोकाको प्रशंसा गरेर थाकिरहेका छैनन् । सर्वसाधारण झै मिडियाकर्मीहरुले पनि भिक्षुहरुलाई पछ्याईरहेका छन् ।
त्योसंगै विश्व शान्ति दूतका रुपमा अलोकाको चर्चा हुन थालेको छ । करुणाको प्रतिकका रुपमा अलोकाले सबैको मन जितेको छ । अलोकालाई छुन र उसंग तस्वीर खिच्न मान्छेहरु घण्टौं पर्खिने गरेका छन् । हरेक नयाँ मान्छेसंगै सहजै घुलमिल हुने । छुन र तस्वीर खिच्न खोज्ने मान्छेलाई परिचित झै व्यवहार गर्ने अलोकाको स्वभावको सर्वत्र प्रशंसा हुने गरेको छ । अलोका छ पनि गजव । उ भिक्षुहरुलाई अनवरत रुपमा पछ्याईरहेको छ । झण्डै दुई हजार किमी यात्रा तय गर्दापनि उ थाकेको छैन् । घाम । पानी । हिमपात । सबै सहेकै छ । भिक्षुहरु रोकिदा रोकिन्छ । आराम गर्दा, सुस्ताउछ । मान्छेको भाव बुझेर उ व्यवहार गर्छ । माया दर्शाउछ । अपनत्व देखाउछ ।
सोमवार साउथ क्यारोलिनामा यात्राका क्रममा चोट लागेपछि अलोकाको खुट्टाको शल्यक्रिया गरिएको छ । यतिबेला अस्पतालमा आराम गरिरहेका अलोकालाई रिकभर हुन केही दिन लाग्नेछ ।
चोट लागेपछि पशु चिकित्सकहरुको टोलीले गाडीमा अस्पताल लैजादै गर्दा अलोका भिक्षुहरुलाई पछिसम्म हेरिरह्यो । उ भिक्षुहरुलाई छोड्न चाहदैनथ्यो । उपचार र आराम होईन, उ यात्राबाट अलग हुनुपर्दा छटपटाईरहेको दृष्यले सबैलाई छोएको छ । सामाजिक सञ्जालमा अलोकाको शिघ्र स्वास्थ्य लाभको कामना गर्नेहरु उत्तिकै छन् ।
हुन् त चिकित्सकले केही दिनपछि अलोका यात्रामा निस्किन सक्ने बताएका छन् । हो, केहीदिन अलोका भिक्षुहरुसंग यात्रामा देखिने छैनन् । भिक्षुहरुको यात्रामा यतिबेला अलोकाको अभाव खट्किएको छ ।
टेक्सासबाट शुरु भएको भिक्षुहरुको पैदल यात्रा लुजियाना, मिसिसिपी, अलाबामा, जर्जिया, दक्षिण क्यारोलिना, उत्तरी क्यारोलिना, भर्जिनिया, मेरिल्यान्ड हुदै वासिङ्टन डीसीमा पुगेर टुंगिनेछ । यो यात्रा झण्डै २३०० माईल (३७०० किमी) लामो हुनेछ ।
संभवत ४० दिन (फेब्रुअरी १२–१३)मा भिक्षुहरुको पैदल यात्रा समापन हुनेछ । भिक्षुहरुको यो मौन पैदल यात्राले संसारभरीका शान्तिगामी एक ठाउँमा उभिन प्रेरित गर्नेछ । र, संसारभरीका शासकहरुलाई युद्धको बाटो त्यागेर शान्तिको बाटोमा हिड्न सद्बुद्धि दिनेछ । युद्धले होईन, शान्ति, दया र करुणाले संसार सुन्दर हुन्छ भन्ने सन्देश दिनेछ ।
त्यस्तै अलोकाको चर्चाले दिएको सन्देश हो,–बदल्नु पर्ने रहेछ, संगत । पछ्याउनु पर्ने रहेछ, सत्मार्गमा हिड्नेहरुलाई ।
भारतका सडकमा लाखौ कुकुरहरु छन् । जसको जीवनको न मूल्य छ । न त हुन्छ, उनीहरुको मृत्युको कहीकतै हिसाव । तिनैमध्येको एक कुकुर, जो भिक्षुहरुको संगतले अलोका भयो । र चिनियो, शान्तिदूतका रुपमा । र विश्वभरीका शान्तिगामी मान्छेहरुका हृृदयमा छुट्टै ठाउँ बनायो ।
भिक्षुले भारतमा सयदिन लामो पैदल यात्रामा पछ्याएको कुकुरलाई आफूसंगै अमेरिका ल्याए । र नाम दिए, अलोका । जसको अर्थ हुन्छ, उज्यालो । प्रकाश । किरण ।
अलोका छ पनि त्यस्तै । उसलाई भेट्ने र छुनेहरु क्षणभरमै प्रभावित हुन्छन् । उसको यही स्वभावले सामाजिक सञ्जालमा हरेक दिन उसलाई पछ्याउने फ्यानको संख्या बढिरहेको छ । भिक्षुको स्वागतका लागि खानेकुरा र पुष्पगुच्छा लिएर आउनेहरु अलोकाका लागि खानेकुरा र लुगा ल्याउन बिर्सिदैनन् ।
घरगृहस्थी र बिलासी जीवन छोडेर शान्तिको खोजीमा भिक्षु भएका २१ जना यो समूहमा छन् । जसमा चर्चित मोडेल पनि छन् । उनीहरुले यसलाई ‘विश्व शान्तिका लागि पैदल यात्रा’ भनेका छन् ।
तहननहस प्यालेष्टायन । रुससंगको युद्धले थिलथिलो बनाएको युक्रेन । सेनाको बुटले कुल्चिएको म्यानमारको बिद्रोह । शासकका विरुद्ध उर्लिएका ईरानी नागरिक । सत्ताको दमन । रक्तपात । जता हे¥यो, त्यतै अशान्ति । यो सबैबाट वाक्कदिक्क र निराश भएका विश्वभरीका शान्तिगामीहरुमा भिक्षुहरुको यो पैदल यात्राले उत्साह जगाएको छ ।
मौन नै सही । उद्देश्य सही भए, नबोलेरै संसारलाई कायल पार्न सकिन्छ । शक्तिशाली चर्को भाषण भन्दा मौनतामा बढि तागत हुन्छ । भिक्षुहरुको त्यो मौनता, जसलाई संसारले सुनिरहेको छ । हेरिरहेको छ । र गरिरहेको छ, नमन ।
