कांग्रेस विशेष महाधिवेशन : विभिन्न स्थानबाट सुरू भयो र्याली
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनका लगि विभिन्न स्थानबाट र्याली सुरू भएको छ। ललितपुरबाट पनि र्याली सुरू भएको छ । ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित र्याली सुरु भएको हो। र्यालीमा सांस्कृतिक झाँकी,बाजा,पोशाकमा समेत सहभागी छन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी छ।
महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गरिएको हो । सबै रुटबाट जुलुस निस्कने तयारी भइरहेको सचिवालयले जनाएको छ। जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरू हुनेछ। विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ ।
उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र सुरू हुनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ।
