इरानमा जुनसुकै बेला आक्रमण गर्न सक्छ अमेरिका

एजेन्सी । अमेरिकाले इरानमाथि आक्रमण गर्ने अन्तिम तयारी थालेको छ। अमेरिकी सेनाले यसै सप्ताहन्तमा इरानमाथि आक्रमण गर्ने तयारी गरेको सीएनएनले जनाएको छ। यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पले कारबाहीको अनुमति दिने वा नदिनेबारे अन्तिम निर्णय लिन बाँकी छ।

अमेरिकी समाचार एजेन्सी ‘एक्सियस’ (Axios) को रिपोर्टअनुसार, यदि अमेरिकी सेना सक्रिय भयो भने इरानमा केही हप्तासम्म आक्रमण हुनसक्ने सम्भावना छ। समाचारमा ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै आक्रमणको सम्भावना ९० प्रतिशत रहेको उल्लेख गरिएको छ।

इजरायलको सैन्य गुप्तचर निकायका पूर्वप्रमुख आमोस याडलिनले द्वन्द्व अब पहिलेभन्दा नजिक पुगेको बताएका छन्। अवस्था द्रुत गतिमा बिग्रँदै गइरहेको भए पनि कूटनीतिक बाटो अझै पूर्ण रूपमा समाप्त नभएको उनको भनाइ छ।

इरानका परमाणु र मिसाइल संरचनालाई निशाना बनाउने तयारी छ। द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासहरू पनि जारी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार जारेड कुशनर र स्टिभ विटकफले मङ्गलबार जेनेभामा इरानी विदेशमन्त्री अब्बास अराघचीसँग तीन घण्टा वार्ता गरेका थिए।

दुवै पक्षले वार्तामा केही प्रगति भएको तर प्रमुख मुद्दाहरूमा सम्झौता हुन नसकेको बताएका छन्। अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले केही मुद्दाहरूमा वार्ता सकारात्मक भएको बताए पनि इरान धेरै मुद्दाहरूमा राष्ट्रपतिले तोकेको ‘रेड लाइन’ (न्यूनतम सर्त) स्वीकार गर्न इच्छुक नदेखिएको बताए।

मध्यपूर्वमा सैन्य तैनाथी बढ्यो

रिपोर्टहरूका अनुसार, मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढेको छ। दुई विमान वाहक, लगभग एक दर्जन युद्धपोत, सयौँ लडाकु जेट र धेरै हवाई रक्षा प्रणाली तैनाथ गरिएको छ भने थप सैन्य उपकरणहरू पठाइएको छ।

ओपन-सोर्स ट्र्याकिङका अनुसार, हतियार र गोला-बारुद बोकेका १५० भन्दा बढी कार्गो उडानहरू यस क्षेत्रमा आइपुगेका छन्। ५० भन्दा बढी लडाकु जेटहरू मध्यपूर्वमा पठाइएको छ। यसैबीच, इरान र रुसले ओमान सागर र उत्तरी हिन्द महासागरमा संयुक्त नौसेना अभ्यासको घोषणा गरेका छन्।

इरान र अमेरिकाबीच चलिरहेको आणविक सम्झौता वार्तामा ‘ब्यालिस्टिक मिसाइल’ परियोजना विवादको सबैभन्दा ठूलो बिन्दु बनेको छ। इरान यस मुद्दामा सम्झौता गर्न इच्छुक छैन र यसलाई आफ्नो ‘रातो घेरा’ (Red Line) मान्दछ।

इरानको दाबी छ कि उसको ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम रक्षाका लागि आवश्यक छ। इजरायल र अमेरिकाले जुन २०२५ मा इरानी आणविक स्थलहरूमा आक्रमण गर्दा इरानका क्षेप्यास्त्रहरूले नै देशलाई सुरक्षित राखेको उसको तर्क छ। अमेरिकाले इरानले हिजबुल्लाह र हुथी जस्ता प्रोक्सी समूहहरूलाई समर्थन गर्न बन्द गरोस् भन्ने पनि चाहन्छ। अमेरिका यी मुद्दाहरूलाई पनि सम्झौतामा समावेश गर्न चाहन्छ, तर इरान मुख्यतया आणविक मुद्दामा मात्र ध्यान केन्द्रित गर्न चाहन्छ।

इरानी अधिकारीहरूले बारम्बार क्षेप्यास्त्र कार्यक्रमका बारेमा कुनै पनि छलफल नहुने स्पष्ट पारेका छन्।

दुर्गा प्रसाईंको रिहाइ माग्दै देशभर आन्दोलन हुने

काठमाडौं । दुर्गा प्रसाईंको सचिवालयले हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ससम्मान रिहा नगरिएको भन्दै नेपाल बन्दलगायतका आन्दोलन घोषणा गरेको छ । सचिवालयले सरकारले विना कुनै ठोस आधारमा हिरासतमा राखेको घटनामा आपत्ति जनाएको छ ।

सचिवालयले विज्ञप्ति जारी गर्दै नागरिकको वाक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथि धावा बोल्दै सरकारले देखाएको यो दमनकारी कदम पूर्णतः अलोकतान्त्रिक र अन्यायपूर्ण भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाम्रो अभियान र प्रसाईंज्यूले उठाउनुभएका जनताका जायज माग सम्बोधन गर्नुको सट्टा राज्य शक्तिको दुरुपयोग गरी उहाँलाई बन्दी बनाएको छ, यो अन्यायको विरुद्ध र उहाँको ससम्मान रिहाइका लागि हामीले पटकपटक शान्तिपूर्ण आग्रह गर्दा पनि सरकारले वेवास्ता गरेकाले हामी बाध्य भई कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न विवश भएका छौँ ।’

सचिवालयका अनुसार, फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द, सम्पूर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द आह्वान गरिएको छ ।

यस्तै, बन्दको समयमा देशभरका मुख्य चोक र जिल्ला सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा हुने बताइएको छ ।

कैलालीमा सडक दुर्घटना, वडा अध्यक्ष पक्राउ

धनगढीः कैलालीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन्।

कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा भे १ च ४२७५ नम्बरको महेन्द्रा कोरेक्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको से ५ प २७८२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीया ईप्सा चौधरी गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि उनलाई नवजीवन अस्पताल, धनगढी लगिएकोमा चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए।

दुर्घटनामा गाडीमा सवार कैलारी–७ का ५० वर्षीय तारा चौधरी घाइते भएका छन् भने अन्य दुई जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। प्रहरीले गाडी चालक कैलारी–७ बस्ने ४० वर्षीय दिपेन्द्र बमलाई नियन्त्रणमा लिएको छ। बम कैलारी–७ का वडा अध्यक्ष हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बालेन शाहले धनगढी पुगेर भने: ‘आइ लभ यु सुदूरपश्चिम’

रञ्जना बिसी, कैलाली । राष्टिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै सुदूरपश्चिमप्रति आफ्नो माया र सम्मान खुलेर व्यक्त गरेका छन् । ‘सुदूर अब दुर नाई’,  ‘झिक्कै झिक्कै माया तिम्लाई’ भन्दै ‘आइ लभ यु सुदूरपश्चिम,’ भनेका थिए । जसले सभास्थलमा ठूलो ताली र उत्साह पैदा गरेको थियो  ।
उनले सुदूरपश्चिमलाई विकासको नाममा ‘स्विजरल्याण्ड’ बनाउने नाराभन्दा पहिला आफ्नै पहिचान, संस्कृति र सम्पदालाई उजागर गर्नुपर्नेमा जोड दिए । “हामीसँग बडिमालिका छ, खप्तड नेसनल पार्क छ, राम्रो मौसम छ, संस्कार छ । तर हामीले आफैं आफ्नो ठाउँ देखाउन सकेका छैनौं,” भन्दै उनले सुदूरपश्चिमका गीत–संगीत र कलाकार काठमाडौँसम्म पुग्नुपर्ने बताए ।
बालेनले भने, “जुन दिन सुदूरपश्चिमका गीतहरू काठमाडौँका चोक–चोकमा बज्छन्, त्यस दिन सुदूरपश्चिम साँच्चै काठमाडौँसँग जोडिन्छ । सुरुमा गीत बज्नुपर्छ, त्यसपछि आवाज बच्छ, अनि मात्रै माग पूरा हुन्छ ।”
उनले नेताहरूले ठूला भाषणभन्दा कामको सूची दिनुपर्ने धारणा राख्दै आफु भोट माग्न नभएर कामको लिस्ट माग्न सुदूरपश्चिम आएको बताए  । आफु धेरै नबोल्ने भन्दै छोटो भाषण गरेका बालेनले सुदूरपश्चिमलाई सुदूर नभएर सुन्दर पश्चिम बनाउने आश्वासन दिएका थिए ।

‘फागुन २१ भोट हाल्ने होइन, इतिहास लेख्ने दिन हो’ : रवि लामिछाने

रञ्जना बिसी, कैलाली । राष्ट्रिय स्वतन्त्र पाटी ९रास्वपा० का सभापति रवि लामिछानेले धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै फागुन २१ को मतदानलाई सामान्य चुनावी प्रक्रिया मात्र नभई इतिहास लेख्ने अवसर भएको बताएका छन् ।
उनले जनताको आँखामा र मनमा परिवर्तनको भावना स्पष्ट देखिएको उल्लेख गर्दै रास्वपा प्रति जनताको मनमा परिवर्तनको छाप लागिसकेको बताए । ‘मतपत्रमा छाप लगाउने त २१ गते हो, तर जनताको मनपत्रमा छाप लागिसकेको छ,’ उनले भने ।
उनले सुदूरपश्चिमको मुद्दा र सुदूरपश्चिमको अधिकारलाई वर्षौँसम्म अल्झाइराख्ने प्रवृत्ति अब अन्त्य गर्नुपर्ने बताए । जनताका मुद्धालाई पटक पटकको चुनावी एजेण्डा मात्र बनाउने प्रवृति अब बन्द हुने उनको भनाइ छ । ‘अब सटर बन्द गर्ने हो । कु–प्रशासनको सटर, बेरोजगारीको सटर, अशिक्षाको सटर, सबै सटर एकै पटक बन्द गर्ने हो,’ उनले भने ‘यो पटक भोट हाल्नेभन्दा पनि इतिहास लेख्ने हो ।’
नेताका वाचाबाट जनताले दुःख पाएका भन्दै लामिछानेले भने, ‘वाचा जसले गरेको हो । पूरा नगर्ने हो भने सजाय त्यसैले पाउने हो । जनताले पाउने होइन ।’ उनले आफूहरूले ५ वर्षको स्थायी सरकार मागेको भन्दै आफूहरूले जनतासँग करार गरेको बताएका छन् ।
उनले भारतमा रहेका सुदूरपश्चिमका जनतालाई छुट्टी मिलाएर भए पनि मतदान गर्न नेपाल आउन आग्रह गरेका छन् । लामो समयदेखि नेताहरू मात्रै जित्दै आएको तर जनताले कहिल्यै नजितेको अवस्था रहेको बताउँदै यस पटक जनतालाई जिताउनुपर्ने बताए । पुराना राजनीतिक दलप्रति आस्था राख्नेहरू पनि परिवर्तनको पक्षमा उभिनुपर्ने उनको भनाइ छ ।
सिंहदरबार जलाउने वा बनाउने बहसभन्दा महत्वपूर्ण कुरा सिंहदरबार बदल्ने भएको उल्लेख गर्दै उनले भने, “हामी डोजर चलाउन होइन, बनाउन आएका हौं । ३५–३५ वर्षसम्म जनताको सपनामाथि डोजर कसले चलायो रु’ उनले प्रश्न गरे ।

धनगढीमा बालेनले सम्बोधन गरिरहँदा भिडले चस्मा खोल्न भनेपछि…

धनगढी- बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढीमा परिवर्तन उद्घोष सभा गर्‍यो । सभालाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले पनि सम्बोधन गरे ।

साढे तीन मिनेटको सम्बोधनका क्रममा उनले सुदूरपश्चिम बनाउने जिम्मा अब रास्वपाको भएको बताए । उनले विपन्नलाई शिक्षा र स्वास्थ्य उपचार दिने आफ्नो पार्टीको एजेन्डा भएको बताए ।

सम्बोधनको अन्तिममा भिडले उनलाई चस्मा खोल्न आग्रह गर्‍यो । चस्मा खोल्दै बालेनले भने, ‘आँखा हेर्न पर्दैन, काम हेर्नुहोला । म धेरै बोल्दिनँ । सुदूर अब दूर नाइ, झिक्कै झिक्कै माया तमलाई ।´

यति भनेर बालेनले सम्बोधन सकाए ।

बेथितिको सटर एकैपटक बन्द गराउने हो : लामिछाने

धनगढी​​​​​​​- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेथितिको सटर एकैपटक बन्द गर्ने गरी आफूहरू राजनीतिमा आएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मत पत्रमा छाप लगाउने फागुन २१ मा हो । अहिले मनपत्रमा छाप लगाउने हो । सुदूरपश्चिमको अधिकारलाई माग बनाएर अल्झाएर राख्न काम बन्द हुनुपर्छ । सटर त एउटा बन्द हुनुपर्छ । बेथिति बेरोजगारीको सटर बन्द गर्ने हो सबै सटर बन्द गर्ने हो एकैपटक’ उनले भने ।

उनले अहिले पाँच वर्षको स्थायी सरकार माग गरेर जनतामाझ रास्वपा गएको भन्दै आफ्ना उम्मेदवारलाई भोट दिन पनि आह्वान गरे ।  उनले राजनीतिक दलले चुनावमा गरेको बाचा पूरा नगर्दा जनताले दु:ख पाउने अवस्था अन्त्य गर्न पनि रास्वपा अघि बढेको बताए ।

‘बाचा जसले गरेको हो सजाय उसैले पाउने हो । जनताले होइन । भारतमा काम गर्ने सुदूरपश्चिमका सबैलाई यहीँबाट सम्झना । मलाई थाहा छ परदेशको भूमि सजिलो छैन तर छुट्टि मिलाएरै भए पनि आउनुहोला देश बदल्नुपर्छ । यसपटक जनताले जित्नुपर्छ सँधै नेतामात्रै जितिरहेका छन्,’ उनले भने , ‘देशको राजनीतिक आकांक्षालाई केन्द्रमा राखेर हामी आएका छौं । ‘

धनगढीमा बालेनले भने– भोट माग्न आएको होइन, कामको लिष्ट दिनू, काम गर्ने हो

धनगढी। रास्वपाका वरिष्ठ नेता बालेन शाहले काम माग्न नै आफूहरु धनगढीमा आइपुगेको बताएका छन् ।
धनगढीमा भएको सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“म यहाँ बोल्न आएको होइन, काम माग्न आएको हो,” उनले भने,“भोट नदिए पनि हुन्छ कामको लिष्ट दिनू । रास्वपाले काम गरेर देखाउँछ ।”
उनले सुदूरपश्चिम अब सु (नजिक) पश्चिम हुनुपर्ने बताए ।
“आँखा हेर्न पर्दैन । म धेरै बोल्दिनँ,” उनले कार्यकर्ता तथा समर्थकतिर हेर्दै भने, “धेरै धेरै माया तम्लाई ! आई लभ यू ।”
उनले सुदूरपश्चिमले भनेका काम पूरा गर्ने पार्टी रास्वपा भएको उल्लेख गर्दै उनले भने, “खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनुपर्‍यो । उपचार पाउनुपर्‍यो त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्ने बाटो डेढ वर्षमा बन्नुपर्‍यो त्यो हो हाम्रो एजेन्डा । रास्वपा सरकारमा गए कांग्रेस, एमाले र माओवादी हिँड्ने बाटो बनाउँछौँ । हामी नेपाल माल भएको चाल नभएको भयौँ । सुदूरपश्चिममा धेरै कलाकार हुनुहुन्छ उहाँहरुका स्वर काठमाडौंका चोकमा घन्किनुपर्छ ।”

सुदूरपश्चिमलाई खाडी पठाउने होइन, समृद्ध बनाउने संकल्प चाहिन्छ: केपी खनाल

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट कैलाली क्षेत्र नम्बर-२ का उम्मेदवार एवं अभियन्ता केपी खनालले सुदूरपश्चिम प्रदेशको विकासका लागि अब नीतिकै परिवर्तन आवश्यक रहेको बताएका छन्।

बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

खनालले सुदूरपश्चिमलाई केवल भूगोलका रूपमा मात्र नहेरी यो क्षेत्र त्याग र सामर्थ्यको भूमि भएको बताए।

‘सुदूरपश्चिम केवल माटो मात्र होइन, यो खप्तडको तपस्या र कञ्चनजङ्गाको सुन्दरता हो,’ खनालले भने, ‘जब जब देशलाई अप्ठ्यारो पर्‍यो, यो क्षेत्रले रगतको खोला बगाएर देशलाई जोगाएको छ।’

सम्बोधनका क्रममा उनले सुदूरपश्चिमको प्रचुर सम्भावना र वर्तमान दुरावस्थाको तुलना गरे। उनले भने, ‘यो क्षेत्रमा १३ हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता छ, टीकापुरदेखि कञ्चनपुरसम्मको उर्वर भूमिले देशलाई पाल्न सक्छ। तर विडम्बना, यहाँका नेताहरूले देश ओगटे, जनताको भविष्य ओगटेनन्।’

खनालले युवा पलायनको मुद्दालाई प्रमुखताका साथ उठाउँदै अबको लडाइँ व्यवस्था सुधार्नका लागि भएको उल्लेख गरे।

उनले थपे, ‘हाम्रा दाजुभाइलाई खाडी र कालापहाड पठाएर अर्काको देश बनाउने होइन, अब आफ्नै सुदूरपश्चिमलाई सुन्दर बनाउनुपर्छ। अबको सफाइ झाडुले मात्र होइन, नीति बदल्ने कलमले गर्नुपर्ने बेला आएको छ।’

धनगढीमा रास्वपाको परिवर्तन उद्घोष सभा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम प्रदेशको धनगढीमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाले आफ्नो चुनावी अभियानको सुरुवात स्वरूप सुदूरपश्चिमबाट यो सभा आयोजना गरेको हो।

सभालाई रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सभामा सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रका पार्टी उम्मेदवारहरूको सहभागिता रहेको छ। कार्यक्रममा केही उम्मेदवारहरूले आफ्नो धारणा राखिसकेका छन् भने अन्य उम्मेदवारहरूले सम्बोधन गर्ने क्रम जारी रहेको छ।

धनगढीको उद्घोष सभाअघि रवि लामिछाने र बालेन शाहबीच भेट

धनगढी- धनगढीमा आयोजित उद्घोष सभालाई सम्बोधन गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच भेटवार्ता भएको छ।

चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाह आजै धनगढी आइपुगेका हुन्।

रास्वपाले ‘परिवर्तन उद्घोष सभा’ नाम दिएर चुनावी सभा गरेको हो।

उक्त सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ।

यसका साथै, सभामा सुदूरपश्चिमका १६ वटै क्षेत्रका उम्मेदवार पनि सहभागी हुँदैछ। केही उम्मेदवारले सम्बोधन गरिसकेका छन् भने केही सम्बोधन गर्ने क्रममा छन्।

लामिछाने र बालेन्द्र शाहले आज धनगढीमा सम्बोधन गर्ने

धनगढी, फागुन ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज धनगढीमा सम्बोधन गर्ने भएका छन् ।

रास्वपा कैलालीले आयोजना गर्न लागेको परिवर्तन उद्घोष सभालाई दुवै जना नेताले सम्बोधन गर्ने जनाइएको छ । सभामा सहभागिता जनाउनका लागि रास्वपा सभापति लामिछाने मङ्गलबार नै धनगढी पुगिसकेका छन् । आज बिहान उनले कञ्चनपुरमा आफ्ना कार्यकर्ता र मतदातालाई भेट गरेका छन् ।

त्यस्तै, वरिष्ठ नेता शाह पनि धनगढी पुगेको जनाइएको छ । दिउँसो १२ः३० देखि १ बजेसम्म दुवै नेताले सम्बोधन गर्ने समय तालिका निर्धारण गरिएको छ । वरिष्ठ नेता शाहले १२ः३० देखि १२ः४५ बजेसम्म विशेष सम्बोधन र सभापति लामिछानेले १२ः४५ देखि १ बजेसम्म प्रमुख सम्बोधन गर्ने रास्वपाले जानकारी दिएको छ ।

सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १५ सयले घटेर तोलाको ३ लाख ४ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख एक हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर तोलाको ४८८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८८५ मा कारोबार भएको थियो ।

नरेन्द्र मोदीको घोषणाः भारतले सगरमाथासम्म उड्न सक्ने हेलिकोप्टर बनाउने

एजेन्सी । मुम्बईमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों सँग भेटवार्ता गरे। उक्त अवसरमा मोदीले भारत र फ्रान्स मिलेर भारतमै सगरमाथाजस्तो उचाइसम्म उड्न सक्ने हेलिकोप्टर निर्माण गर्ने घोषणा गरे।

मोदीले फ्रान्सलाई भारतको विशेष साझेदार बताउँदै दुवै देशबीचको सम्बन्धलाई ‘स्पेशल ग्लोबल स्ट्राटेजिक पार्टनरशिप’ स्तरमा स्तरोन्नति गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार यस प्रकारको साझेदारीको अर्थ दुवै देश केवल व्यापार वा हतियार खरिद–बिक्रीमा सीमित नहने, बरु सुरक्षा, प्रविधि, अन्तरिक्ष, समुद्री सुरक्षा र विश्वव्यापी मुद्दाहरूमा सहकार्य गर्ने हो। यसअघि दुई देशबीच सन् १९९८ देखि ‘स्ट्राटेजिक पार्टनरशिप’ कायम रहेको थियो।

त्यसपछि म्याक्रोंले इन्डिया–फ्रान्स इनोभेसन फोरमलाई सम्बोधन गर्दै विश्वका धेरै ठूला कम्पनीहरूको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भारतीय रहेको उल्लेख गरे। उनले अल्फाबेट, माइक्रोसफ्ट, आइबीएम, एडोबी र पालो आल्टो नेटवक्र्स जस्ता कम्पनीका सीईओ भारतीय रहेको बताए। म्याक्रोंले अब भारत नेतृत्व गर्ने राष्ट्रका रूपमा उभिएको पनि उल्लेख गरे। एजेन्सी

धनगढीमा आज रास्वपाको चुनावी सभा, रवि र बालेन सहभागी हुने

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज धनगढीमा चुनावी सभा आयोजना गर्ने भएको छ।

बिहान ११ बजेदेखि हुने चुनावी सभामा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुने कार्यक्रम रहेको छ। चुनावी सभामा सहभागी हुन सभापति लामिछाने मंगलबार नै सुदूरपश्चिम पुगेका छन्।

त्यस्तै, बालेन आज मात्रै धनगढी पुग्ने कार्यक्रम रहेको रास्वपा कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा उम्मेदवार आनन्द बहादुर चन्दले बताए। दुई नेता धनगढी आउँदा कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यकर्ताको चाप बढ्न सक्ने आकलनसहित प्रहरीले सुरक्षा व्यवस्थालाई पनि कडा बनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपि योगेन्द्र तिमिल्सिनाले धनगढीमा आज थप प्रहरी तैनाथ गरिएको बताए। ‘अनुसन्धान टोली सहित थप प्रहरी धनगढी क्षेत्रमा परिचालन गरेका छौँ, तिमिल्सिनाले भने, ‘आवश्यक परे थप प्रहरी परिचालनका लागि तै नाथी अवस्थामा राखेका छौँ, सशस्त्र प्रहरी पनि पचिलान भएको छ ।’ रास्वपा सभापति लामिछाने र बालेनले दिउसो १२ बजे सभालाई सम्बोधन गर्ने कार्यपालिका रहेको छ।

एकमात्र खेल जितेर नेपालको विश्वकप यात्रा अन्त्य

काठमाडौं ।  मङ्गलवार राति जित सुनिश्चित गर्ने गरी चौका प्रहार गरेपछि गुलशन झा मुस्कुराए। अनि दर्शकतर्फ झुकेर अभिवादन गरे।

उनका लागि यो क्षण किन पनि महत्त्वपूर्ण थियो भने दुई वर्षअघि यस्तै अन्तिम समयमा १ रन लिन नसक्दा नेपाल विश्वकपमा दक्षिण अफ्रिकासँग १ रनले पराजित हुन पुगेको थियो।

तर स्कटल्यान्डविरुद्धको खेलका वास्तविक नायक दीपेन्द्र सिंह ऐरी भने अर्कोतर्फ उभिएर खुसीयाली मनाइरहेका थिए। ऐरीको अविजित ५० रनको अर्ध शतकमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्न सफल भयो।

जारी टी२० विश्वकपमा नेपालका तर्फबाट उदाहरणीय ब्याटिङ गर्न सफल भएका दीपेन्द्रको यो तारन्तारको दोस्रो अर्ध शतक पनि थियो।

स्कटल्यान्डसँग यही २ अङ्क लिएर नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्कँदै छ। एउटा क्रिकेट पावरहाउस इङ्ग्ल्यान्डसँगको कडा प्रतिस्पर्धापछि प्राप्त प्रशंसा, इटली र वेस्ट इन्डिजसँगको निकै कमजोर प्रदर्शन र स्कटल्यान्ड विरुद्धको शानदार विजयले नेपाली टोलीको टी२० विश्वकप यात्रा ‘अस्थिरता र आशा’को मिश्रण जस्तो देखियो।

त्यसक्रममा राष्ट्रिय टोलीले केही अप्रत्याशित क्षण, प्रशस्त कमजोरी अनि थुप्रै पाठ लिएको ठानिएको छ।

मुम्बई यात्रा गर्दा कम्तीमा ‘सुपर ८’ पुग्ने लक्ष्य बुनेको टोलीका योजना र खेलाडीहरूको प्रदर्शनबीच मेल खाएको देखिँदैन।इङ्ग्ल्यान्डका टम ब्यान्टनको विकेट लिएपछि कप्तान रोहित पौडेलसँग उफ्रिएर खुसी मनाउँदै सन्दीप लामिछाने

  • तथापि विश्वकपको ठुलो मञ्चमा टोलीले महत्त्वपूर्ण सन्देश प्रवाह गरेर घर फर्कँदै छ।

नेपाली समर्थकहरूले अपेक्षित रूपमै फेरि आफ्नो टोलीलाई वानखेडे रङ्गशालामा साथ दिए।

कप्तान रोहित पौडेलले प्रतियोगिताको समीक्षा गर्दै खेलपछिको पत्रकार सम्मेलनमा भने, “हो हामीले क्षमता अनुरूप खेल्न सकेनौँ। तर हामी उच्च मनोबल लिएर देश फर्कँदै छौँ।”

निडर टोलीको छाप

राष्ट्रिय टोली

तस्बिर स्रोत,CAN

अन्तिम समयसम्म डटेर खेल्ने छवि बनाउँदै आएको नेपाली टोलीले इङ्ग्ल्यान्ड विरुद्धको खेलमा त्यो छाप छोडेको देखियो। नेपालले कुनै पनि टीमलाई हराउन सक्छ भन्ने निडर छवि उक्त खेलमा उजागर भएको थियो।

दुई पटकको विजेता इङ्ग्ल्याण्डलाई दबाबमा पारिरहँदा उक्त टोलीमा विश्वका दोस्रो वरीयताका ब्याटर फिल साल्ट र चौथो वरीयताका जोस बटलरजस्ता ब्याटर थिए भने आदिल रसिदजस्ता विश्व वरीयताका चौथो नम्बरका बलरविरुद्ध चौका र छक्का बर्सिएको थियो।

इटलीविरुद्धको खेलमा भने सम्झन लायक केही पनि देखिएन। सायद नेपाली टोली निकै कमजोर देखिएको त्यो विश्वकपको एक मात्र प्रतिस्पर्धामा गनिनेछ।

के नेपाली टोली यति धेरै फितलो पनि हुन सक्छ? भन्ने प्रश्न त्यस हारले जन्माइदिएको छ।

वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाली टोलीले कुनै पनि समय खेलमा फर्किन सक्ने खाले प्रदर्शन गरेको देखिएन।

उक्त खेल पछि सोमपाल कामीले नेपाली दर्शकसँग माफी नै मागे।

स्मरणीय के-के रहे?

सोमपाल कामी

तस्बिर स्रोत,CAN

दीपेन्द्र सिंह ऐरीले भने चारवटै खेलमा सम्झिन लायक प्रदर्शन गरे। वेस्ट इन्डिज र स्कटल्यान्डजस्ता टोलीविरुद्ध अर्ध शतक प्रहार गरेर उनले वाहवाही सङ्गालेका छन्।

कुल १६९ रन बनाएका उनी कम्तीमा आजको दिनसम्म प्रतियोगिताको शीर्ष रनकर्तामध्ये दोस्रो स्थानमा छन्।

पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका स्पिनर शेर मल्लले आफ्नो पहिलो विश्वकप सहभागिताको पहिलो खेलको पहिलो बलमा पहिलो विकेट लिनु उनका लागि स्मरणीय रह्यो।

उक्त खेलमा रोहित पौडेल र ऐरीबिचको तेस्रो विकेटको लागि बनेको ८३ रनको साझेदारीले मध्यक्रमको मजबुती झल्किएको थियो।

लोकेश बमको विस्फोटक पारी र उनले जोफ्रा आर्चरलाई एकै ओभरमा दुई छक्का हान्नुले तल्लो क्रममा पनि नेपाल बलियो रहेको सङ्केत गरेको थियो।

वेस्ट इन्डिजविरुद्धको खेलमा दीपेन्द्रको अर्ध शतक महत्त्वपूर्ण रह्यो। नेपाली खेलाडीबाट दोस्रो अर्ध शतक आउन १२ वर्ष पर्खिनुपरेको थियो।

सोमपाल कामीको नाममा लगातार तेस्रो विश्वकप खेल्ने एक मात्र नेपाली खेलाडीको कीर्तिमान बन्यो। वेस्ट इन्डिजका जेशन होल्डरलाई लगातार ३ चौका प्रहार गर्दै आफू योग्य रहेको प्रमाणित गरिदिए।

कमजोरी

प्रशंसक

तस्बिर स्रोत,CAN

जारी विश्वकपले नेपाली टोलीमा रहेको कमजोरी पनि छरपस्ट देखिएको छ।

खेलमा एकरूपता नदेखिनु नेपालको मुख्य समस्याको रूपमा देखिन्छ भने महत्त्वपूर्ण क्षणहरूमा सम्हालिन नसक्ने प्रवृत्तिले नेपाललाई यसपालि पनि छोडेको देखिएन।

‘डेथ ओभर बलिङ’ त नियमित समस्या जस्तै देखियो। इङ्ग्ल्याण्डविरुद्ध करण केसीले अन्तिम ओभरमा २१ रन खर्चेका थिए। त्यसविपरीत इङ्ग्ल्याण्डका साम करनले अन्तिम ओभरमा २ रन मात्र दिएर टोलीलाई हारबाट जोगाइदिएका थिए।

नेपालको बलियो पक्ष मानिने बलिङतर्फ समेत यो पाली धार देखिएन। टोलीमा प्रमुख बलरहरूको अभाव खट्किन पुग्यो।

कुशल भुर्तेलले राम्रो सुरुआत नगर्नासाथ टोली तितरबितर हुन पुग्ने अवस्था हरेक खेलमा देखिन्थ्यो।

अनुशासनमा प्रश्न

नेपाली खेलाडी

तस्बिर स्रोत,CAN

टोलीकै मुख्य प्रशिक्षक स्टुअर्ट लले खेलाडीहरू सामाजिक सञ्जालमा भुल्न नहुने विषय सार्वजनिक गरेर नेपाली टोली भित्री पाटो खोलिदिएका छन्। परामर्शदाता प्रशिक्षक निक पोथसले पनि त्यसमा बल पुग्ने अभिव्यक्तिहरू दिए।

खेलाडीहरूले सामाजिक सञ्जालको प्रयोग र प्रभाव खेलमा समेत त्यसको असर देखिएपछि प्रशिक्षक स्टुअर्टले मुख खोलेको देखिन्थ्यो।

यसको अर्थ खेलाडीहरूमा अनुशासनको विषयमा चुकिरहेको गम्भीर तथ्य बाहिर आएको छ।

पोथसले त नेपाल क्रिकेट सङ्घले टिम म्यानेजर बारम्बार फेरिरहने नेपाल क्रिकेट सङ्घको कार्यप्रति पनि कटाक्ष गरेका थिए। विदेश भ्रमणका लागि जस्तै देखिनेगरी पटक पटक टिम म्यानेजर फेरिरहँदा उनीहरू आफ्नो भूमिकामा अस्पष्ट भएको उनको भनाई थियो।

त्यसलाई समर्थन गर्दै कप्तान रोहित पौडेलले भने: “टिममा एउटै म्यानेजर लामो समयको लागि भए टिमलाई राम्रो हुन्थ्यो।”

बहसमा असोसिएट-टेस्ट राष्ट्रबीचको खेल

यद्यपि विश्वकपको यो ठुलो मञ्चमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटका लागि असोसिएट राष्ट्रका तर्फबाट एउटा सन्देश दिन भने सफल भएको देखिन्छ।

कप्तान रोहित पौडेलले नेपाली खेलाडीहरूले ठुला राष्ट्रसँग खेल्ने क्यालेन्डर नभएकोले कमै मात्र मौका पाउने कुरा उठाए। उनले धेरै भन्दा धेरै खेल टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्न मौका दिनुपर्ने कुरा विश्वकप मञ्चमा उठाए।

“धेरै होइन कम्तीमा वर्षमा १/२ वटा खेल टेस्ट राष्ट्रसँग खेल्न पाए हामीलाई सहयोग पुग्नेछ,” उनले भनेका थिए।

वेस्ट इन्डिजका प्रशिक्षक डारेन सामीले रोहितको भनाइलाई साथ दिएका छन्। यो विषयमा आईसीसी लगायत अन्य टेस्ट राष्ट्रको पनि ध्यानाकर्षण भएको देखिन्छ।

समग्रमा भन्नुपर्दा टिम बनावट, प्राविधिक र व्यवस्थापकीय पक्षमा नेपाल क्रिकेट सङ्घले सुधार गर्नुपर्ने पक्षहरू धेरै छन्।

यद्यपि असोसिएट राष्ट्रका तर्फबाट भएको प्रदर्शनमा धेरै नै असन्तुष्ट भइहाल्नुपर्ने ठाउँ देखिँदैन।

बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए

बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आह्वान गरेअनुरुप यहाँका ४०७ जनाले प्रहरी प्रशासनलाई हातहतियार बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा एक हजार ८६ थान हातहतियार रहेकामा हालसम्म ४०७ थान मात्र प्राप्त भएका छन् । उनले बाँकी हतियार बुझाउन सम्बद्ध व्यक्तिसँग आग्रह गर्दै निर्धारित समयभित्र त्यसो नगरे कारबाही हुने चेतावनी दिएका छन् ।

प्रशासनलाई बुझाइएका सबै हातहतियार र गोलीगठ्ठा चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाइएको छ । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले अनुमतिप्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो ।

दुर्गा प्रसाईँलाई तत्काल रिहा गर्न राप्रपाको माग

काठ्माण्डौ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई बिनासर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन्।

वरिष्ठ उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसंग भेटेर प्रसाईँको रिहाइको माग गरेको छ।

‘बिना कारण पटकपटक पक्राउ गरिरहने र हिजो फेरि नियन्त्रणमा लिइ हिरासतमा राखिएका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई बिनासर्त तत्काल रिहा गर्न आज राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ,’ प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘वरिष्ठ उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसंग भेटेर प्रसाईको रिहाइको माग गरेको छ।

प्रसाईँलाई निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोपमा सोमबार राति भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो।

पैदलयात्रीलाई मुक्का हान्नेलाई ट्राफिक प्रहरीले समात्यो

काठमाडौँ: पैदलयात्रीलाई मुक्का हान्ने कारचालक पक्राउ परेका छन् । काठमाडौंको चप्पल कारखानानजिक एक कारचालकले पैदलयात्रीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पारस बमलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश अधिकारीले बमलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे ।  काठमाडौंको चप्पल कारखाना नजिक एक कार चालकले पैदलयात्रुमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भिडियोमा चालकले गाडीबाट झरेर पैदलयात्रीलाई मुक्का प्रहार गरेको दृश्य देखिन्छ। उनीसँगै गाडीबाट झरेर एक महिलाले पनि  पैदलयात्रीलाई कराएको दृश्य छ ।

लिट्मसलाई भारतीय प्रसारण निकायबाट कन्डक्टर आपूर्तिको अनुमति

काठमाडौं- नेपालको तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने उद्योग लिट्मस इन्डस्ट्रिज लिमिटेडले भारतको केन्द्रीय विद्युत् प्रसारण निकाय ‘पावर ग्रिड कर्पोरेसन अफ इन्डिया (PGCIL)’ बाट सीमा–पार विद्युत् प्रसारण लाइन परियोजनामा कन्डक्टर आपूर्तिका लागि स्वीकृति प्राप्त गरेको छ।

यो स्वीकृतिसँगै लिट्मस इन्डस्ट्रिज सीमा–पार विद्युत् प्रसारण परियोजनाका लागि कन्डक्टर आपूर्ति गर्ने एकमात्र नेपाली उत्पादक बनेको कम्पनीले जनाएको छ। पावर ग्रिड कर्पोरेसन अफ इन्डिया भारतको अन्तरराज्य तथा अन्तरदेशीय विद्युत् प्रसारण सञ्जाल सञ्चालन गर्ने केन्द्रीय निकाय हो।

सम्झौताअनुसार लिट्मसले ४०० केभी एसीएसआर मूस (ACSR Moose) कन्डक्टर २,७०० किलोमिटर उत्पादन तथा आपूर्ति गर्नेछ। यी कन्डक्टर नेपाल–भारतबीच निर्माण भइरहेको ढल्केबर–बथनाहा सीमा–पार विद्युत् प्रसारण लाइनमा प्रयोग गरिनेछ । जुन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनासँग सम्बन्धित छ। नेपालमा पहिलो पटक ४०० केभी एसीएसआर मूस कन्डक्टर उत्पादन हुन लागेको हो।

परियोजनाको स्वीकृतिपूर्व पावर ग्रिड कर्पोरेसन अफ इन्डियाले लिट्मस इन्डस्ट्रिजको उत्पादन प्रक्रिया, क्षमता, गुणस्तर नियन्त्रण प्रणाली, परीक्षण मापदण्ड तथा समग्र कारखाना पूर्वाधारको विस्तृत मूल्यांकन गरेको थियो। उक्त मूल्यांकनपछि मात्र कम्पनीलाई कन्डक्टर आपूर्तिका लागि योग्य नेपाली उत्पादकका रूपमा स्वीकृति प्रदान गरिएको हो।

ढल्केबर–बथनाहा प्रसारण लाइन नेपालका महत्वपूर्ण ऊर्जा पूर्वाधारमध्ये एक हो, जसले नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार गर्नुका साथै नेपालको ऊर्जा सुरक्षा सुदृढ बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

लिट्मस इन्डस्ट्रिजले यसअघि पनि नेपाल विद्युत् प्राधिकरण अन्तर्गत हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन परियोजनाका लागि ४०० केभी एसीएसआर मूस कन्डक्टर ३,६०० किलोमिटर आपूर्ति गरिसकेको छ। कम्पनीको यो उपलब्धिले नेपाली उद्योगको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता र विश्वसनीयता थप सुदृढ भएको संकेत गरेको छ।

यो स्वीकृतिलाई नेपाली औद्योगिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले सीमा–पार ऊर्जा पूर्वाधार विकासमा नेपालको सहभागिता र औद्योगिक क्षमता अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न थप मद्दत गर्ने विश्वास गरिएको छ।

लिट्मस नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादन गर्ने अग्रणी उद्योग हो।

जनकपुरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम

जनकपुर — प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादन ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेड ले जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरुम सञ्चालनमा ल्याएको छ। यससँगै कम्पनीले नेपाल मा आफ्नो बजार उपस्थिति थप सुदृढ बनाएको जनाएको छ।

बाबा अटोमेट ट्रेडिङ प्रा।लि। ले सञ्चालनमा ल्याइएको उक्त शोरुम जनकपुर तथा आसपासका क्षेत्रका ग्राहकलाई उच्च गुणस्तरका टायल सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो। शोरुमले ग्राहकलाई आधुनिक, व्यवस्थित र सहज खरिद अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

शोरुमको उद्घाटन शुक्रबार बिहान विशेष समारोहका बीच सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि, स्थानीय व्यवसायी, इन्जिनियर, आर्किटेक्ट तथा ग्राहकहरूको उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले क्षेत्रीय ग्राहक र व्यावसायिक साझेदारहरूको विश्वासप्रति आभार व्यक्त गर्दै कम्पनीको विस्तारले स्थानीय पूर्वाधार विकासमा सकारात्मक योगदान पुग्ने बताए। उनले प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डको जनकपुरजस्तो प्रमुख सहरमा विस्तार हुनु नेपालमा निर्माण तथा पूर्वाधार क्षेत्रमा बढ्दो सम्भावनाको संकेत भएको उल्लेख गरे। यस्ता पहलले गुणस्तरीय उत्पादनमा पहुँच बढाउनुका साथै रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनको भनाइ थियो।

नयाँ शोरुममा कजारियाका प्रिमियम टायल संग्रहहरू आकर्षक र व्यवस्थित रूपमा प्रदर्शन गरिएको छ। ग्राहकहरूले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइन, आकार र शैलीका टायल आधुनिक वातावरणमा अवलोकन गर्न सक्नेछन्।

कम्पनीका अनुसार कजारिया रमेश टायल्सले नेपालमै स्थापना गरेको अत्याधुनिक उत्पादन उद्योगमार्फत अन्तर्राष्ट्रियस्तरका टायल उत्पादन गर्दै आएको छ। कम्पनीले ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ । जसले घर तथा व्यावसायिक संरचनाको सौन्दर्य र दीगोपन बढाउने जनाइएको छ।

हाल कम्पनीले नेपालभर १०० भन्दा बढी शोरुममार्फत आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल, हेभी–ड्युटी टायल तथा सिरेमिक वाल टायल समावेश छन्, जुन पानी तथा दाग प्रतिरोधी, बलिया र आधुनिक डिजाइनमा उपलब्ध छन्।

स्वास्थ्य बिमाको संकट टार्न स्वास्थ्यकै बजेट रकमान्तरण गर्ने तयारी

काठ्माण्डौ- स्वास्थ्य बिमा सेवालाई सक्रिय बनाउन स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकै बजेट रकमान्तरण गर्ने तयारी गरेको छ। स्वास्थ्य बिमा वापतको सेवा शुल्क स्वास्थ्य संस्थालाई तिर्न नसकेपछि यस्तो कदम चालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दुई साताअघि नै स्वास्थ्य मन्त्रालयको विभिन्न शीर्षकको ७० करोड बजेट रकमान्तर गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ भने थप कार्यक्रमका बजेट पनि रकमान्तरण गर्ने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

उनका अनुसार संघीय अस्पतालहरू र स्वास्थ्य सेवा विभागहरूको कार्यक्रम बजेट रकमान्तरण गर्ने तयारी भइरहेको छ। ‘यो वर्ष कार्यक्रम नगरे पनि फरक नपर्ने कार्यक्रमका बजेटहरू खोज्ने काम भइरहेको छ। यस्ता कार्यक्रमहरूको बजेट रकमान्तरण गर्ने हो, जुन यो वर्ष न नगर्दा खासै फरक नपर्ने खालका छन्,’ उनले भने।

गत असोजसम्मको मागदाबी पूरा नभएपछि केही संघीय अस्पतालहरूले स्वास्थ्य बिमा सेवा नै बन्द गरेका छन् भने एक मात्र पुरानो तथा रेफरल अस्पताल वीरले पनि गत साता नै तीन महिनाका लागि दिनुपर्ने औषधी घटाएर एक महिनालाई मात्र दिन सक्ने निर्णय गरेको छ। ‘बिमा वापत शुल्क भुक्तानी हुन नसकेपछि अस्पताल चलाउनै सकेनौँ, बाध्य भएर यो कदम चाल्नु पर्‍यो,’ वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले भने।

शहिद गंगालाल हृदय रोग केन्द्र, टिचिङसहित मुलुकभर उल्लेखनीय स्वास्थ्य संस्थाले सेवा बन्द गरिसकेका छन्। सेवा सुचारु भइरहेका स्वास्थ्य संस्थाहरूले पनि संकट परेको र भविष्यमा सेवा दिन नसक्ने घोषणा गरेका छन्।

स्वास्थ्य बिमा बोर्डका अनुसार भने पुस मसान्तसम्मका १२ अर्ब बक्यौता पुगेको छ। प्रत्येक महिना दुई अर्बका दरले बक्यौता थपिँदा कोषमा भार थपिने गरेको बोर्डका प्रवक्ता विकेश मल्लले बताए। यो अवधिमा भएको एक अर्ब भुक्तानी ‘हात्तीको मुखमा जिरा’ जस्तै बनेको उनको भनाइ छ।

बोर्डले मागदाबी घटाउन र बिमा कोष वृद्धि गर्न र अन्य सुधारका कार्यक्रम गरे पनि अहिलेको परिस्थितिमा सरकारले सहयोग नगरेसम्म बाँकी भुक्तानीको विकल्प नभएको उनले बताए। ‘सरकारबाट भुक्तानीको लागि सहयोग गर्ने घोषणा भएको छ, तर कति रकम कहिलेसम्म दिने विषयमा यकिन जानकारी आइसकेको छैन,’ उनले भने।

स्वास्थ्य बिमा बोर्डले अर्थ मन्त्रालयलाई थप रकम माग प्रस्ताव गरे पनि मन्त्रालय भने सबै रकम एकैपटक विनियोजन गर्न सक्ने स्थितिमा नभएको बतायो। अर्थ मन्त्रालयाका प्रवक्ता टंकप्रसाद पाण्डेले भने, ‘स्वास्थ्यले पठाएको रकमान्तरणको बजेट प्रक्रियामै छ। स्वास्थ्य मन्त्रीज्युले स्वास्थ्यकै कार्यक्रमबाट रकमान्त्रणको लागि ७० करोडको बजेट पठाउनु भएको छ, यो कानुन मन्त्रालय र अन्य निकायबाट स्वीकृति भएपछि मात्र प्रक्रिया पूरा हुन्छ, त्यसपछि मात्र निकाश हुन्छ।’

चालु आर्थिक वर्षका लागि स्वास्थ्य बिमाको १० अर्ब बजेट विनियोजन भएको र विनियोजित बजेट सकिएपछि अर्थले थप एक अर्ब पठाएर खर्च भइसकेको छ। स्वास्थ्य बिमा बोर्ड भने चालु आर्थिक वर्षको असोजसम्मको अस्पतालहरूको मागदाबी भुक्तानी गर्न नसकेर अन्यौलमा परेको छ। अस्पतालहरूको मागदाबी धेरै प्रक्रिया बाहिरको भएकाले मागदाबी भएजति सबै बिमाले तिर्न सक्ने स्थिति नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए।

यसका साथै कतिपय मागदाबीको भुक्तानी विकल्प अर्को आर्थिक वर्षमा मात्र सम्भव भएको उनले जिकिर गरे। ‘यो वर्ष सक्दो भुक्तानी गरेर जाने हो, नसकेको अर्को वर्ष तिर्न मिल्छ,’ उनले भने।

सूचना सत्य, वस्तुनिष्ठ र पारदर्शी हुनुपर्छ : डिआइजी काफ्ले

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अबि नारायण काफ्लेले विभिन्न प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारीहरूसँग मंगलबार भर्चुअल माध्यमबाट छलफल तथा अन्तरक्रिया गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा डिआइजी काफ्लेले सूचना सम्प्रेषण प्रक्रिया, सूचनामा अपनाउनुपर्ने सतर्कता तथा समसामयिक विषयमा विस्तृत छलफल गरेका हुन्।

पछिल्ले समय पत्रकार सम्मेलन तथा प्रेस विज्ञप्तिमा देखिने प्रवृत्ति, सूचनाको हकसम्बन्धी संवैधानिक व्यवस्था, सूचनाको हक सम्बन्धी ऐन, २०६४, सूचना प्रवाहका लागि नेपाल प्रहरीका आधिकारिक माध्यम, सञ्चारमाध्यम सम्बन्धी नीति, २०६० तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी प्रावधानबारे सहभागी प्रहरी अधिकृतहरूलाई जानकारी गराएका थिए।

डिआइजी काफ्लेले नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई उपलब्ध गराउने सूचना सदैव सत्य, वस्तुनिष्ठ र पारदर्शी हुनुपर्ने बताए। साथै सामाजिक सञ्जालको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गर्दै सकारात्मक सोच, जनविश्वास र संगठनप्रतिको भरोसा अभिवृद्धि हुने काम गर्न निर्देशन दिएका छन्।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवं सूचना अधिकारीहरूको उपस्थिति रहेको थियो।

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रसाईं सोमबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । भक्तपुरबाट पक्राउ गरी प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । प्रसाईंले निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप छ ।

उनले २१ फागुनमा कुनै हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक रुपमा बोल्दै हिँडेका थिए । यसअघि वीरगञ्ज जान लागेका बेला प्रसाईंलाई चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको थियो । त्यो भन्दा अघि पनि उनी पोखराबाट पक्राउ परेका थिए । निर्वाचनको मिति तोकिएयता मात्रै प्रसाईं तीन पटक पक्राउ परेका हुन् ।

सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

काठमाण्डाै- देशकाे सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिँदै जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बाैँ खर्च भइरहेको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा १ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा खर्च भएको छ । चालू आर्थिक वर्षका लागि सरकारले ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ सार्वजनिक ऋणको दायित्व व्यहोर्नका लागि छुट्याएको थियो ।

अर्थ मन्त्रालयकाअनुसार ६ महिनामा आन्तरिक ऋणतर्फ साँवा १ खर्ब २६ अर्ब ७६ करोड र ब्याज २८ अर्ब ३७ करोड गरी १ खर्ब ५५ अर्ब १३ करोड रुपैयाँ भुक्तानी भएको छ । यस्तै बाह्य ऋणतर्फ साँवा २६ अर्ब १३ करोड र ब्याज ५ अर्ब ८५ करोड गरी ३१ अर्ब ९९ करोड रुपैयाँ भुक्तानी भएको छ ।

पछिल्लो एक दशकमा सार्वजनिक ऋण झन्डै ६ गुणाले बढेको छ । एक दशकअघि ५ खर्ब ४४ अर्ब ९१ करोड रहेको सार्वजनिक ऋण आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब ४ कराेड रुपैयाँ पुगेको थियो । त्यसयता पनि सार्वजनिक ऋण निरन्तर बढिरहेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको ५ महिना मङ्सिरसम्म सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

दायित्व चुलिए पनि ऋणको पासोमा परेका छैनौँ : अर्थ मन्त्रालय

ऋण बढ्दै जाँदा यसको दायित्व प्रत्येक वर्ष चुलिँदै गए पनि नेपाल अझै सुरक्षित अवस्थामै रहेको अर्थ मन्त्रालयको भनाइ छ । अर्थ मन्त्रालयका अधिकारीहरू सार्वजनिक ऋण त्यति धेरै नरहेको बताउँदै लिइएको ऋण सही रूपमा सदुपयोग भइरहेको बताउँछन् ।

मन्त्रालयका प्रवक्ता टङ्क पाण्डेयले सरकारले सार्वजनिक ऋण लिँदा संयमित हिसाबले नै लिएको बताउनुभयो । उहाँकाअनुसार नेपाल ऋणको जोखिममा छैन ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले सार्वजनिक ऋण लिएको छ, जीडीपीको ४५ प्रतिशत सार्वजनिक ऋण परिचालन भएको छ । सरकारको स्पष्ट दृष्टिकोण विकास निर्माण र पूँजीगत खर्चका निम्ति मात्रै ऋण लिने र त्यो ऋण भोलिका दिनमा उत्पादनशील क्षेत्रमा उपभोग हुन्छ र त्यसले विकास र समृद्धिमा टेवा पुर्‍याउँछ भन्ने हो । अहिले सङ्ख्यात्मक रूपमा र प्रवृत्तिगत रूपमा हेर्दा नेपाल ऋणको जोखिमको अवस्थामा छैन । सार्वजनिक ऋण अनुत्पादक क्षेत्रमा खर्च भएको छैन । त्यस्तो ऋण अनुत्पादक क्षेत्रमा खर्च गर्न हुँदैन भन्नेमा नेपाल सरकार प्रतिबद्ध छ ।’

पाण्डेयकाअनुसार अहिलेसम्म ऋण लिएर सरकारले कर्मचारीलाई तलब भत्ता खुवाउनुपरेको छैन । राजस्वले चालू खर्च, केही विकासका कामहरू गर्न पुगिरहेको छ ।

– न्युज एजेन्सी नेपाल

 

नेप्सेमा २०.७५ अंकको गिरावट

काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३५४ कम्पनीको २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड ४४ लाखको सेयर कारोबार भएको छ । आज ४२ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज रिडी पावरको सर्वाधिक ५३ करोड ३६ लाख रुपैयाँ माथिको कारोबार भएको छ । दोस्रोमा अंखु खोला जलविद्युतको ४४ करोड ५२ लाख रुपैयाँ र तेस्रोमा ङादी ग्रुपको ३१ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन सालपा विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले ९.६४ प्रतिशतका दरले कमाएका छन् ।

सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

बङ्गलादेशका भावी प्रधानमन्त्री रहमान र सांसदहरूले लिए शपथ

एजेन्सी– बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मंगलबार संसद्को शपथ लिएका छन् । उनीहरु सन् २०२४ को घातक  विद्रोह पछि पहिलो पटक निर्वाचित प्रतिनिधि हुन ।

शेख हसिनाको निरंकुश सरकार अपदस्थ भए देखि १८ महिना सम्म देश चलाएको अन्तरिम सरकारबाट रहमानले पदभार ग्रहण गर्ने तयारी गरेको जनाइएको छ ।

बङ्गलादेशका नव निर्वाचित सांसदहरूलाई मुख्य निर्वाचन आयुक्त ए. एम. एम नासिर उद्दीनले शपथ खुवाएको जनाइएको छ ।

बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का सांसदहरूले रहमानलाई औपचारिक रूपमा आफ्नो दलको नेताको रूपमा निर्वाचित गर्ने अपेक्षा गरिएको छ । यसै बिच राष्ट्रपति मोहम्मद साहाबुद्दिनले मङ्गलबार दिउँसो प्रधानमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ खुवाउने अपेक्षा गरिएको छ ।

देशको सबैभन्दा शक्तिशाली राजनीतिज्ञ तथा बिएनपीका प्रमुख ६० वर्षीय रहमानको समुहले फेब्रुअरी – १२ को चुनावमा जित हासिल गरेको थियो ।

रहमानले लामो समयको उथल पुथल पछि स्थिरता पुनर्स्थापना गर्ने र विकासलाई पुनर्जीवित गर्ने प्रतिवद्धता गर्दै वर्षौँको कडा प्रतिद्वन्द्विताले ध्रुविकृत भएको देशमा सबै दलहरूलाई एकजुट रहन पनि आह्वान गरेका छन् ।

चुनाव सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव सफल पार्न आह्वान गरेका छन् ।

शेर्पा सङ्घले आज काठमाण्डौमा आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ) मे फो त ल्हो (नयाँ वर्ष) को शुभकामना आदानप्रदान कार्यक्रममा उनले चुनाव सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने बताए ।

उनले भने, ‘सुशासनमार्फत समृद्धिबाट नै देशमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागि लोकतन्त्रमा नागरिककाे अभिमत लिने उपयुक्त माध्यम चुनाव नै हाे । आउँदाे चुनावलाई सफल पार्न सबैलाई आह्वान गर्दछु ।’

राष्ट्रपति पौडेलले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट देशमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने उल्लेख गरे। लोकतन्त्रमा नागरिकको अभिमत लिने उपयुक्त माध्यम चुनाव भएको उनको भनाइ छ ।

 

खोज्नुहोस