‘फागुन २१ भोट हाल्ने होइन, इतिहास लेख्ने दिन हो’ : रवि लामिछाने
रञ्जना बिसी, कैलाली । राष्ट्रिय स्वतन्त्र पाटी ९रास्वपा० का सभापति रवि लामिछानेले धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै फागुन २१ को मतदानलाई सामान्य चुनावी प्रक्रिया मात्र नभई इतिहास लेख्ने अवसर भएको बताएका छन् ।
उनले जनताको आँखामा र मनमा परिवर्तनको भावना स्पष्ट देखिएको उल्लेख गर्दै रास्वपा प्रति जनताको मनमा परिवर्तनको छाप लागिसकेको बताए । ‘मतपत्रमा छाप लगाउने त २१ गते हो, तर जनताको मनपत्रमा छाप लागिसकेको छ,’ उनले भने ।
उनले सुदूरपश्चिमको मुद्दा र सुदूरपश्चिमको अधिकारलाई वर्षौँसम्म अल्झाइराख्ने प्रवृत्ति अब अन्त्य गर्नुपर्ने बताए । जनताका मुद्धालाई पटक पटकको चुनावी एजेण्डा मात्र बनाउने प्रवृति अब बन्द हुने उनको भनाइ छ । ‘अब सटर बन्द गर्ने हो । कु–प्रशासनको सटर, बेरोजगारीको सटर, अशिक्षाको सटर, सबै सटर एकै पटक बन्द गर्ने हो,’ उनले भने ‘यो पटक भोट हाल्नेभन्दा पनि इतिहास लेख्ने हो ।’
नेताका वाचाबाट जनताले दुःख पाएका भन्दै लामिछानेले भने, ‘वाचा जसले गरेको हो । पूरा नगर्ने हो भने सजाय त्यसैले पाउने हो । जनताले पाउने होइन ।’ उनले आफूहरूले ५ वर्षको स्थायी सरकार मागेको भन्दै आफूहरूले जनतासँग करार गरेको बताएका छन् ।
उनले भारतमा रहेका सुदूरपश्चिमका जनतालाई छुट्टी मिलाएर भए पनि मतदान गर्न नेपाल आउन आग्रह गरेका छन् । लामो समयदेखि नेताहरू मात्रै जित्दै आएको तर जनताले कहिल्यै नजितेको अवस्था रहेको बताउँदै यस पटक जनतालाई जिताउनुपर्ने बताए । पुराना राजनीतिक दलप्रति आस्था राख्नेहरू पनि परिवर्तनको पक्षमा उभिनुपर्ने उनको भनाइ छ ।
सिंहदरबार जलाउने वा बनाउने बहसभन्दा महत्वपूर्ण कुरा सिंहदरबार बदल्ने भएको उल्लेख गर्दै उनले भने, “हामी डोजर चलाउन होइन, बनाउन आएका हौं । ३५–३५ वर्षसम्म जनताको सपनामाथि डोजर कसले चलायो रु’ उनले प्रश्न गरे ।
