बेलौरीकी आयशा चौधरीलाई गुगलमा पूर्णकालीन सफ्टवेयर इन्जिनियरको अवसर

कञ्चनपुरः कञ्चनपुरको बेलौरीकी कम्प्युटर विज्ञानकी विद्यार्थी आयशा चौधरीले विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलमा पूर्णकालीन सफ्टवेयर इन्जिनियरको जागिर सुरक्षित गरेकी छन्।

यसअघि उनले गुगलमै सफ्टवेयर इन्जिनियर इन्टर्नका रूपमा काम गरेकी थिइन्। इन्टर्नसिपपछि उनलाई प्रि–प्लेसमेन्ट अफर (पिपिओ) प्राप्त नभए पनि उनले हार नमानी निरन्तर प्रयास जारी राखिन्। आवेदन दिने, नयाँ सीप सिक्ने र आफूलाई निरन्तर सुधार गर्ने यात्रालाई उनले रोकिन दिइनन्।

उनको निरन्तरता र मेहनत अन्ततः सफल बनेको छ। सानो सहरबाट पनि ठूलो सपना देख्न सकिन्छ र कडा परिश्रम तथा धैर्यताले अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सकिन्छ भन्ने उदाहरण आयशाले प्रस्तुत गरेकी छन्।

उनको सफलता सुदूरपश्चिम मात्रै होइन, समग्र नेपाली विद्यार्थी समुदायका लागि प्रेरणाको स्रोत बनेको छ।

अब हरेक क्षेत्रमा आमूल परिवर्तन आवश्यक छ: आनन्दबहादुर चन्द

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार आनन्दबहादुर चन्दले देश विकासका लागि आमूल परिवर्तन अपरिहार्य भएको बताएका छन्। धनगढी उपमहानगरपालिका–३ मा आयोजित चुनावी प्रचार कार्यक्रममा बोल्दै उनले वर्षौंदेखि भाषण र नारामै सीमित नेतृत्वका कारण देश पछि परेको दाबी गरे। प्राकृतिक स्रोत–साधन प्रशस्त भए पनि तिनको प्रभावकारी उपयोग हुन नसक्नु नेतृत्वको कमजोरी भएको उनको भनाइ थियो।

उनले नेताहरूमा विकास गर्ने स्पष्ट दृष्टिकोण र कार्ययोजना अभाव रहेको आरोप लगाए। देशभित्रका नदी, नदीनाला, खनिज, जंगल र भूमि उपयोगको दीर्घकालीन योजना नबन्दा मुलुक अघि बढ्न नसकेको उनले उल्लेख गरे।

चन्दले नेतातन्त्र मौलाउँदा बजेटको सही सदुपयोग हुन नसकेको र आम नागरिकको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको बताए। उनले स्वास्थ्य र शिक्षालाई प्रमुख एजेण्डा बनाएर आफूहरू चुनावमा आएको स्पष्ट पारे। उनका अनुसार आर्थिक अवस्था कमजोर भएकाले शिक्षा र उपचारबाट वञ्चित हुनु नपर्ने व्यवस्था गर्न प्रभावकारी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिनेछ। साथै, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक सुधार गरिने उनको प्रतिबद्धता छ।

‘हाम्रो भावी प्रधानमन्त्रीले पनि भन्नु भएको छ, जसको खल्तीमा पैसा छैन त्यसले पढ्न पाउनु पर्‍यो । जसको खल्तीमा पैसा छैन त्यसले पनि उपचार पाउनु प¥यो ।’ त्यसका लागि प्रभावकारी स्वास्थ्य बीमालाई प्राथतमिकता दिइने उनले बताए । विश्व ‘एआई’ र डिजिटल प्रविधितर्फ अघि बढिसक्दा पनि नेपाल पुरानो शैक्षिक संरचनामै सीमित रहेको उल्लेख गर्दै उनले शिक्षा प्रणालीलाई विश्वस्तरीय बनाउने लक्ष्य लिएको बताए।

उनले वडा नम्बर ३ मा रहेको डुवान समस्या सम्बन्धित निकायसँग सहकार्य गरी समाधान गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा रास्वपाका नेता हरि रेग्मीले पनि मतदातालाई परिवर्तनको अभियानमा साथ दिन आग्रह गरे।

बाजुरामा भारी असिना पानीले खेतीबाली नष्ट, किसान चिन्तित

बाजुरा: त्रिवेणी नगरपालिकाको विभिन्न क्षेत्रमा बिहिबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म परेको भारी असिनाले यहाँका किसान त्रसित भएका छन्।

त्रिवेणी–७ का स्थानीय गोरख ऐडीका अनुसार मालाकोट, धामीबाडा, कोसेडी र तोलीको जुम्ली डाँडासम्म लगातार एक घण्टासम्म परेको असिनाले गहुँबाली, आलु, प्याज, टमाटर लगायतका तरकारी पूर्ण रूपमा नष्ट भएको छ।

किसानहरूले हिउँदमा मेहनत गरेर लगाएका बाली असिनाले नष्ट भएपछि अब वर्षा हुने समयमा खाने कुरा के हुन्छ भन्ने चिन्तामा परेको ऐडीले बताए।

चुरे क्षेत्रमा अवैध उत्खनन् गर्दै पाँच जना पक्राउ

धनगढीः कैलालीको चुरे क्षेत्रअन्तर्गत चुरे गाउँपालिका–४ स्थित अधेरी खोलामा अवैध रूपमा ढुंगा, गिट्टी र माटो उत्खनन् गर्दै गरेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको छ।डिभिजन वन कार्यालय कैलालीको नियमित गस्ती टोलीले भ्याकु लोडर प्रयोग गरी नदीजन्य पदार्थ निकालिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेहरू विभिन्न स्थानका ट्याक्टर, टिप्पर र भ्याकु लोडर चालक रहेका छन्।

घटनास्थलबाट एउटा भ्याकु लोडर, तीन वटा टिप्पर र एक ट्याक्टर बरामद गरिएको छ। अवैध उत्खनन् नियन्त्रणमा लिन सवारीसाधनसहित संलग्न व्यक्तिलाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ। डिभिजनल वन अधिकृत रामविचारी ठाकुरका अनुसार वातावरणीय परीक्षण तथा स्वीकृति बिना नदीजन्य पदार्थ उत्खनन् गर्नु कानुनविपरीत हो। वन ऐनअनुसार यस्ता गतिविधिमा संलग्नलाई बिगोबमोजिम कैद, जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको उनले स्पष्ट पारे।

यसैबीच, उक्त क्षेत्रमा वन फँडानी र काठ तस्करीसमेत भइरहेको प्रारम्भिक तथ्य फेला परेको जनाइएको छ। चुरे क्षेत्रको संरक्षणका लागि निगरानी कडा पारिएको र दोषीमाथि कडाभन्दा कडा कारबाही गरिने वन कार्यालयले चेतावनी दिएको छ।

पाटेबाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि क्षेत्रमा पटक–पटक पाटेबाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बाहिरिएका पाटेबाघ बस्तीमा प्रवेश गरी घरपालुवा चौपाया मार्न थालेपछि स्थानीयमा भय बढेको हो। त्रिशक्ति उपभोक्ता समितिले पनि समुदायलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

समितिका अध्यक्ष दमनबहादुर चन्दका अनुसार निकुञ्ज आसपासका बासिन्दालाई राति अनावश्यक हिँडडुल नगर्न, अत्यावश्यक परे समूहमा टर्चलाइटसहित मात्र बाहिर निस्कन र घर–गोठ वरपरका झाडी तथा बुट्यान सफा राख्न आग्रह गरिएको छ।

उनले निकुञ्ज सीमाक्षेत्रका खेतबारीमा काम गर्न जाँदा, दाउरा–घाँस काट्न वा पशुचौपाया चराउन जाँदा एक्लै नजान र समूहमा रहेर मात्र काम गर्न सचेत गराइएको बताए। कतै बाघ देखिएमा वा बाघले चौपाया मारेको थाहा पाएमा निकुञ्ज प्रशासन, नेपाली सेना, नगरपालिका वा वडा कार्यालयमा तुरुन्त जानकारी दिन पनि अनुरोध गरिएको छ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा जनशक्ति माग

कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले करार सेवामा विभिन्न विषयका प्राध्यापक र उप–प्राध्यापक पदकालागि दरखास्त आह्वान गरेको छ। विश्वविद्यालयले स्वास्थ्य विज्ञान अन्तर्गतका विभिन्न शैक्षिक पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न आवेदन मागेको हो।

विश्वविद्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै  २६ जना प्राध्यापक र ५१ जना उप–प्राध्यापक पदका लागि दरखास्त माग गरेको जनाएको छ। प्राध्यापक तथा उप–प्राध्यापक तहमा एनाटोमी, फिजियोलोजी, प्याथोलोजी, माइक्रोबायोलोजी, बायोकेमिस्ट्री, कम्युनिटी मेडिसिन, फरेन्सिक मेडिसिन, फार्माकोलोजी, नर्सिङ, इन्टरनल मेडिसिन, ईएनटी, जनरल सर्जरी, एनेस्थेसियोलोजी, डर्माटोलोजी, डेन्टल सर्जरी, पेडियाट्रिक्स, रेडियोलोजी, साइकियाट्री, अर्थोपेडिक्स, जनरल प्राक्टिस, अप्थाल्मोलोजी र मेडिकल एजुकेसन लगायत विषयमा पदपूर्ति गरिनेछ।

सूचना अनुसार प्राध्यापक र सहप्राध्यापक तहमा अधिकांश विषयमा एक–एक पद र केही विषयमा दुई पद माग गरिएको छ भने उपप्राध्यापक तहमा विषय अनुसार दुईदेखि तीन पद माग गरिएको छ।

विश्वविद्यालय प्रशासनले दरखास्तको विस्तृत विवरण, योग्यता र अन्य सर्तहरू विश्वविद्यालयको वेबसाइट तथा प्रशासन कार्यालयबाट प्राप्त गर्न सकिने जनाएको छ। साथै, अन्तिम दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यस दरखास्त आह्वानसँगै गेटामा सञ्चालनमा रहेको विश्वविद्यालयमा शैक्षिक तथा स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक जनशक्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाइएको विश्वविद्यालयले जनाएको छ।

रिहा भए बेलायती राजाका भाइ एन्ड्रयु

काठमाडौं । सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयु माउन्टबेटन-विन्डसर रिहा भएका छन् ।  बिहीबार साँझ विन्डसर रिहा भएको बीबीसीले जनाएको छ । तर, प्रहरीले उनलाई आरोपमुक्त नगरिएको र उनी अझै पनि अनुसन्धानको घेरामा रहेको स्पष्ट पारेको छ ।

आफ्नो ६६औँ जन्मदिनकै दिन पक्राउ परेका एन्ड्रयूमाथि यौन अपराधी जेफ्री एप्स्टिनलाई सरकारी गोप्य दस्तावेजहरू पठाएको आरोप छ । स्थानीय रिपोर्टहरूका अनुसार टेम्स भ्याली प्रहरीले उनलाई हिरासतमा लिएर करिब ११ घण्टासम्म सोधपुछ गरेको थियो । अधिकारीहरूले उनलाई अनुसन्धानकै क्रममा रिहा गरिएको बताएका छन् ।

टेम्स भ्याली प्रहरीले एक विज्ञप्तिमा ६० वर्षभन्दा माथिका एक व्यक्तिलाई सार्वजनिक पदमा दुराचार गरेको आशंकामा पक्राउ गरिएको र अहिले थप अनुसन्धानका लागि रिहा गरिएको जनाएको छ ।

पूर्व राजकुमारको गिरफ्तारीपछि राजा चार्ल्सले विज्ञप्ति जारी गर्दै कानुनले आफ्नो काम गर्ने र परिवारले अनुसन्धान एजेन्सीहरूलाई पूर्ण सहयोग गर्ने बताएका थिए । उनले भने, “एन्ड्रयू माउन्टब्याटेन–विन्ड्सरसँग सम्बन्धित खबर अत्यन्तै चिन्ताको विषय हो । कानुनलाई आफ्नो बाटो लिन दिनुपर्छ ।”

पूर्वराजकुमार पक्राउ परेको यो पहिलो पटक हो । उनले दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँगको सम्बन्धको बारेमा धेरै आरोपहरूको सामना गरिरहेका छन् । यद्यपि, एन्ड्रयूले सधैं र दृढतापूर्वक कुनै पनि गलत कामलाई अस्वीकार गर्दै आएका छन् ।

बालेन ‘अस्वस्थ’, काठमाडौं फर्किए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ‘अस्वस्थ’ भएपछि काठमाडौं फर्किएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार (फागुन ७) बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका रास्वपाका एक नेताले जानकारी दिए ।

“वरिष्ठ नेताको स्वास्थ्यमा समस्या आएपछि फर्किनुभएको हो । उहाँ दाङको कार्यक्रममा सहभागी हुनु हुन्न,” ती नेताले  भने । दाङको घोराहीमा आज (फागुन ८) रास्वपाका सभापति रवि लामिछाने र बालेनले सम्बोधन गर्ने आमसभा तय थियो ।

“उतै सुर्खेतबाट काठमाडौं फर्किनुभएको हो,” ती नेताले भने ।

बलिउड अभिनेता रणवीर सिंहलाई ज्यान मार्ने धम्की

काठमाडौं : बलिउड अभिनेता रणवीर सिंहलाई आएको धम्कीपूर्ण भ्वाइस नोट प्रकरणमा नयाँ खुलासा भएको छ। उनलाई पठाइएको धम्कीपूर्ण भ्वाइस नोट अमेरिकन नम्बरबाट आएको खुलेको छ। स्रोतका अनुसार मुम्बई क्राइम ब्रान्चले उक्त नम्बरको विवरण प्राप्त गर्न प्रोटोकलमार्फत अमेरिकाको सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।

सिंहलाई गत हप्ताको मंगलबार ज्यान मार्ने धम्की आएको थियो। यो धम्की ह्वाट्सएपमा पठाइएको एक भ्वाइस नोटमार्फत दिइएको हो । सो सन्देशमा आरोपीले १० करोड रुपैयाँ फिरौतीको माग गरेका थिए। धम्की प्राप्त हुनेबित्तिकै मुम्बई प्रहरीले सिंहको बान्द्रास्थित निवास बाहिर सुरक्षा कडा बनाउदै अनुसन्धानलाई तीव्र रुपमा अगाडी बढाएको थियो ।

अनुसन्धानका क्रममा बिश्नोई गैंग सँग सम्बन्धित व्यक्तिले धम्की पठाएको आशंका गरिएको छ। स्रोतका अनुसार ‘हैरी बॉक्सर’ नामका एक व्यक्तिले रणवीरका म्यानेजरको व्हाट्सएपमा भ्वाइस नोट पठाएर रकम माग गरेको खुल्नमा आएको छ। प्रारम्भिक जाँचमा उक्त भ्वाइस नोटमा हैरी बॉक्सरकै आवाज भएको संकेत भेटिएको बताइएको छ, यद्यपि थप प्रमाण संकलन भइरहेको छ।

क्राइम ब्रान्चले रणवीर सिंहका म्यानेजरको बयान दर्ता गरिसकेको छ। धम्की आएपछि अभिनेताको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। यसअघि धम्की पठाउँदा भिपीएन नेटवर्क प्रयोग गरिएको र लोकेसन विदेश देखिएको खुलासा भएको थियो। सोही कारण अनुसन्धानमा इन्टरपोलको समेत सहयोग लिइएको बताइएको छ। प्रकरणबारे विस्तृत अनुसन्धान जारी रहेको मुम्बई प्रहरीले जनाएको छ।

देउवाको गृहजिल्लाका बासिन्दाले गरे चुनाव बहिष्कार गर्ने घोषणा, यस्तो छ कारण

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका– ६ का वडाबासीले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । उनीहरूले चुनाव बहिष्कार घोषणासभाको आयोजना गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।

अमरगढी नगरपालिकाले फोहोरमैला व्यवस्थापनको नाममा आफूहरूलाई झुक्याएको भन्दै उनीहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् । फोहोरविरुद्ध संघर्ष समितिका अनुसार नगरपालिकाले सुरुमा अमरगढी– ५ भजनपुरनजिक गुनेगाड क्षेत्रमा कागती खेती गर्ने योजना रहेको भन्दै स्थानीयवासीलाई जानकारी गराएको थियो । तर, अहिले आएर सोही क्षेत्रलाई फोहोर फाल्न थालिएको संघर्ष समितिका अध्यक्ष गंगा ताम्राकारले जानकारी दिए ।

‘नगरपालिकाले वास्तविक योजना लुकाएर जनतालाई भ्रममा पारेको छ,’ ताम्राकारले भने, ‘यो क्षेत्र फोहोर व्यवस्थापनका लागि उपयुक्त नभएको भन्दै हामीले बारम्बार विरोध र आवाज उठाएका थियौँ । तर, हाम्रो मागलाई बेवास्ता गरिएपछि चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेका हौँ ।’

भजनपुर नजिकै रहेको गुनेगाड क्षेत्र बस्ती नजिकै रहेको तथा त्यहाँ खानेपानीका मुहान, सिँचाइको स्रोत र विद्यालय जाने बाटो रहेका कारण फोहोर व्यवस्थापन केन्द्रका लागि उपयुक्त नभएको स्थानीयको भनाइ छ । स्थानीयले फोहोर व्यवस्थापनका लागि वैकल्पिक र उपयुक्त स्थान छनोट गर्न माग गरेका छन् । उनीहरूले आफ्नो माग सम्बोधन नभए आन्दोलन चर्काउने बताएका छन् ।

डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । उनी डडेल्धुराबाट सातपटक चुनाव जितेर पाँचपटक प्रधानमन्त्री भइसकेका छन् । यसपटक भने उनी चुनावी मैदानमा छैनन् ।

सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारी सम्बन्धमा छलफल

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बिहीबार गृह मन्त्रालयमा बसेको बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा नेपाली सेनाको उच्च अधिकारीसहितको उपस्थिति रहेको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा छलफल भएको छ ।

‘जुम याप’ मार्फत सञ्चालन गरिएको बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए ।

प्रदेश प्रमुख सचिव तथा प्रजिअ संयोजक रहने जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट बैठकमा प्रस्तुतीकरण समेत भएको छ ।

‘दुई तिहाइ दिनुस्, देश बदल्छौं’ : रवि-बालेन

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पाँच वर्षे चुनावी वाचा पत्र कर्णालीको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गरेको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचन २०८२ को बाचा पात्र सार्वजनिक गरेको रास्वपाले यसलाई परिवर्तन उद्घोष भनेको छ ।

चुनावी सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहितका नेताहरूले संयुक्त रूपमा पार्टीको चुनावी बाचा पत्र सार्वजनिक गरे । रास्वपाले आफ्नो वाचा पत्रमा मध्यम वर्गलाई महत्त्व दिएको दाबी गरेको छ ।

७५ औँ प्रजातन्त्र दिवसको अवसर पारेर त्यो पनि कर्णालीबाट ‘बाचापत्र’ घोषण गरिनु संयोग मात्र नभएको सभापति लामिछानेले बताए । ‘कर्णालीबाट बाचा पत्र सार्वजनिक गर्नुको अर्थ छ, पछाडि पारिएको कर्णालीलाई अव पछाडि पर्न नदिने ‘बाचा’ आजको बाचा पत्र सार्वजनिक गर्नुको एउटा प्रमुख कडी हो’ सभापति लामिछानेले भने ।

लामिछानेले सम्बोधनको सुरुमै ‘सञ्चारकर्मीका रूपमा रिर्पोटिङ्ग गर्दै कर्णाली आएको र एउटा अस्पताल बोकेर गएको’ भन्दै कर्णाली प्रतिको सहानुभूति बटुले । कालिकोटको रास्कोटमा १५ शय्याको  अस्पताल निर्माण गरेका उनले त्यसको श्रेय लिए । रविले त्यसो भन्दै गर्दा मञ्च ‘रवि दाई, हाई हाई’ को नारा गुन्जियो ।

मञ्चको तालीले हौसिएका रवि त्यतिमै रोकिएनन् जनताले बहुमत दिए पाँच वर्षमा देशको भविष्य बदल्ने बाचा समेत गरे । ‘आजसम्म नेता र पार्टीले जिते, यो पटक जनता जिताउने हो । त्यसका लागी रास्वपालाई भोट दिनुहोला,’ लामिछानेले भने । पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिन आग्रह गर्दै उनले पाँच वर्षपछि काम गर्न नसके त्यही घण्टीले आफूहरूलाई नै बजाइदिन चुनौती समेत दिए ।

फागुन २१ को चुनावका लागि रास्वपाले घोषण पत्र सार्वजनिक गर्ने थलो कर्णाली नै किन रोज्यो र यहाँबाट के सन्देश दिन खोजिएको हो ? सभामा आएका सहभागी र नेताहरूका अभिव्यक्तिअनुसार अन्य दलहरूले त्यति चासो नदिएको कर्णालीलाई रास्वपाले विशेष प्राथमिकतामा राखेको छ ।

देशको हरेक सूचकांकमा पछाडि परेको मधेश र कर्णालीको भूगोल रास्वपाको प्राथमिकता छ भन्ने सन्देश दिन खोजेको नेताहरू बताउँछन् । सभापति लामिछानेले पनि कर्णालीलाई सबैले प्रयोगशाला बनाएको र रास्वपाले मात्रै परिवर्तन गर्ने दाबी गरे । ‘कर्णालीका धेरै आमाहरूको सिउँदो रित्तिएको छ । धेरै बालबालिका टुहुरो भएका छन्,’ लामिछानेले भने, ‘कर्णाली अब रास्वपाले बदल्छ । त्यो बाँच गर्न आएका हौँ ।’

बालेनको तीन मिनेट

रास्वपा वरिष्ठ नेता बालेन शाहले सुर्खेतमा आयोजित चुनावी सभालाई तीन मिनेट सम्बोधन गरे । उनले तीन मिनेटको सम्बोधन यति बेला सामाजिक सञ्जाल तरङ्गित बनेको छ । बालेनले सम्बोधन गर्दै गर्दा ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत ब्याक ग्राउन्डमा बजिरहेको थियो ।  मञ्चको भिड त्यही गीतमा केही बेर झुम्यो ।

बालेनले सम्बोधनमा कर्णालीको सभ्यता, इतिहास, यहाँको सम्भावनाको विषयलाई समेटे । उनले शिव र कैलाशको पाउबाट रास्वपाको बाचा पत्र पत्र सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए ।  देशको सबैभन्दा ठुलो रारा तालबारे तत्कालीन राजा महेन्द्रले लेखेको कविता ‘स्वर्गकी अप्सरा’ बारे चर्चा गरेर कर्णालीलाई पर्यटनको अथाह सम्भावना भएको क्षेत्रको रूपमा अर्थ्याए ।

उनले कर्णालीलाई देशको सबैभन्दा लामो नदी, सबैभन्दा ठुलो जिल्ला र देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँको रूपमा चिनाए । तर कर्णालीको जुन गहिराई आजसम्म कुनै सरकारले, पार्टीले, देशले बुझ्न सकेन त्यो गहिराइलाई बुझ्न चाहेको बताए । त्यो बुझ्ने पार्टी रास्वपा भएको दाबी समेत गरे ।

एपस्टिन फाइल प्रकरण : बेलायती राजा चार्ल्सका भाइ पूर्वराजकुमार माउन्टबेटन पक्राउ

काठमाडौं । बेलायतका राजा चार्ल्सका भाइ एन्ड्र्यु माउन्टबेटनलाई सार्वजनिक पदको दुरुपयोग गरेको आशंकामा गिरफ्तार गरिएको छ ।

पूर्वयुवराज माउन्टबेटनलाई आज विहान नरफकस्थित स्याड्रिङ्घमबाट पक्राउ गरिएको हो ।

अमेरिकी यौन दुराचारी सञ्जालका जेफरी एपस्टिनको गिरोहसँग मिलेर किशोरीहरुमाथि यौन दुराचार गरेको प्रकरणमा उनी तानिएका थिए ।

माउन्टबेटनलाई गत वर्ष राजकुमारको पदबाट बर्खास्त गरिएको थियो ।

रास्वपाको ‘वाचा पत्र ‘: प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि १० वर्षमा ३० अर्ब डलरको आईटी निर्यातसम्म

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी वाचा पत्रमार्फत शासकीय स्वरूप र आर्थिक मोडेलमा व्यापक हेरफेरको प्रस्ताव गरेको छ। पार्टीले आफ्नो नेतृत्वमा सरकार बनेलगत्तै दलित तथा पिछडिएका समुदायसँग ऐतिहासिक उत्पीडनका लागि क्षमा याचना गर्ने र भदौ २३–२४ को ‘जेन-जी’ आन्दोलनको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

रास्वपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने प्रणालीका लागि संविधान संशोधनको बहस थाल्ने बताएको छ। सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने र कर्मचारीतन्त्रमा दलगत आबद्धता पूर्ण रूपमा अन्त्य गर्ने योजना पार्टीको छ।

आगामी ५ वर्षमा औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने लक्ष्य रास्वपाले लिएको छ। सूचना प्रविधिलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गरी १० वर्षमा यसको निर्यात ३० अर्ब डलर पुर्‍याउने र सातै प्रदेशमा ‘डिजिटल पार्क’ मार्फत ५ लाख रोजगारी सिर्जना गर्ने दाबी पार्टीले गरेको छ। यस्तै, क्रिप्टोकरेन्सीको नियमन र एआई कम्प्युटिङ निर्यातलाई कानुनी मान्यता दिने पनि वाचा पत्रमा उल्लेख छ।

आगामी दशकलाई ‘ऊर्जा विकास दशक’ घोषणा गरी ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने र छिमेकी मुलुकसँग दीर्घकालीन व्यापार सम्झौता गर्ने रास्वपाको योजना छ। यातायाततर्फ ५० वर्षे रेलमार्ग गुरुयोजना अन्तर्गत मेची–महाकाली विद्युतीय रेल र छिमेकी मुलुकका रेल सञ्जालसँग जोड्ने लक्ष्य राखिएको छ।

सहकारी र लघुवित्तका साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने र ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ। विदेशमा रहेका नेपालीका लागि दोहोरो नागरिकता, मतदानको अधिकार र ‘राष्ट्रिय ज्ञान बैंक’ को अवधारणा पनि वाचा पत्रमा समेटिएको छ।

 

कर्णालीको दुःख बेच्ने धेरै आए, बुझ्न हामी आएका हौं: बालेन

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले कर्णालीको गरिबी र पीडालाई राजनीतिक एजेन्डा बनाएर बेच्ने धेरै आए पनि त्यसलाई वास्तविक रूपमा बुझ्ने नेतृत्वको अभाव रहेको बताएका छन्।

बिहीबार सुर्खेतमा आयोजित ‘परिवर्तन उद्घोष सभा’ तथा बाचापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

‘कर्णालीको दुःख र गरिबी बेच्ने नेताहरू धेरै आए, तर त्यो गरिबीलाई साँचो अर्थमा बुझ्ने कोही आएनन्,’ शाहले भने, ‘त्यो गहिराइ र पीडा बुझ्न रास्वपाका नेताहरू यहाँ आएका हुन्।’

शाहले कर्णालीको जुम्ला र कालीकोटको स्याउ तथा मार्सी चामल देशका अन्य भागमा सहजै पुग्न नसकेकोमा चिन्ता व्यक्त गरे। ‘डोल्पाको यार्सागुम्बा विश्वभर पुग्न सक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन,’ उनले भने, ‘यहाँको उत्पादनलाई कम्तीमा देशभर पुर्‍याउने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी।’

नेपाली र खस भाषाको उद्गमस्थल सिञ्जा सभ्यताको ऐतिहासिक महत्व सुनाउँदै शाहले यसको जगेर्ना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उनले काठमाडौं महानगरपालिकामा नेवाः सभ्यता जोगाए जस्तै कर्णालीको मौलिक भाषा, लिपि, चित्रकला र जात्रा-संस्कृतिको संरक्षणमा रास्वपाले काम गर्ने दाबी गरे।

देशमा अझै पनि भोकमरी रहेको र कर्णालीमा बाल तथा मातृ मृत्युदर उच्च रहेको उल्लेख गर्दै शाहले भने, ‘कर्णालीको यो पीडा र भोकमरी बुझ्ने नेता हामी बन्न चाहन्छौं। कर्णालीका सुइना (सपना) अब हाम्रा सपना हुनेछन्।’

क्रिकेट म्याचकै क्रममा मौरीले टोकेर अम्पायरको मृत्यु, दर्जनौँ खेलाडी घाइते

काठमाडौं । भारतमा क्रिकेट खेल भइरहेका बेला मौरीको झुन्डले आक्रमण गर्दा एक अम्पायरको ज्यान गएको छ । उत्तर प्रदेशस्थित उन्नाव जिल्लामा भएको उक्त घटनामा ६३ वर्षीय अम्पायर माणिक गुप्ताको ज्यान गएको हो ।

मौरीको टोकाइबाट उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बुधवार साँझ शुक्लागञ्ज क्षेत्रको सप्री मैदानमा क्रिकेट खेल चलिरहेको थियो । कानपुर क्रिकेट एसोसिएसनसँग आबद्ध अम्पायर माणिक गुप्ता खेल सञ्चालन गरिरहेका थिए । दोस्रो इनिङ्सअन्तर्गत ‘ड्रिंक्स ब्रेक’का क्रममा अचानक मौरीको ठूलो झुन्ड मैदानमा प्रवेश गरी खेलाडी र अम्पायरमाथि हमला गर्यो ।

मौरीको आक्रमणबाट जोगिन खेलाडी र अम्पायर मैदानमै पल्टिएका थिए । सामान्यतया मौरीबाट बच्न यही नै गरिन्छ । तर पनि मौरीले निरन्तर डंक हानेपछि मैदानमा भागदौड मच्चिएको थियो । घटनामा १० देखि १२ जना खेलाडी घाइते भएको जनाइएको छ ।

गम्भीर घाइते भएका अम्पायर गुप्तालाई कानपुरस्थित एक निजी नर्सिङ होममा उपचारका लागि लगिएको थियो । चिकित्सकले उनको अवस्था नाजुक रहेको बताएपछि प्राथमिक उपचारपछि अन्यत्र रिफर गरिएको थियो । तर उपचारकै क्रममा उनको दुखद निधन भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार खेलाडीहरू पानी पिइरहेका बेला मौरीको झुन्डले अचानक आक्रमण गरेको थियो । लखनउबाट आएका एक खेलाडीलाई समेत धेरै ठाउँमा डंक लागेको बताइएको छ ।

यसअघि पनि भारतमा यस्तै घटना भएको थियो । तिरुवनन्तपुरम मा आयोजित भारत ‘बी’ र इंग्ल्यान्ड लायन्सबीचको एकदिवसीय खेलका क्रममा मौरीको झुन्डले आक्रमण गरेको थियो । उक्त घटनामा धेरै जना घाइते भए पनि कुनै मानवीय क्षति भने भएको थिएन ।

वेस्ट इन्डिज समूह विजेता बनेर सुपर एटमा

काठमाडौं- जारी टी–२० विश्वकपमा वेस्ट इन्डिजले समूह चरणका चारै खेलमा जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा इटालीलाई ४२ रनले हराउँदै टोलि ८ अंकसहित सुपर एटमा प्रवेश गरेको हो । वेस्ट इन्डिजले आफ्नो समूहका इंग्ल्यान्ड, नेपाल, इटाली र स्कटल्यान्ड सबैलाई हरायो ।

वेस्ट इन्डिजले दिएको १६६ रनको लक्ष्य पछ्याएको इटाली १८ ओभरमा अलआउट हुँदै १२३ रनमा रोकियो ।

उसका लागि बेन मनेन्टीले २६, जेजे स्मट्सले २४, एन्थोनी मोस्काले १९ तथा ग्रान्ट स्टवार्टले १२ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ वेस्ट इन्डिजका समर जोसेफले चार, म्याथ्यु फोर्डेले तीन, गुदाकेश मोतीले २ तथा अकिल हुसेनले एक विकेट लिए ।

त्यसअघि कोलकातास्थित इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ थालेको इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन जोड्यो ।

कप्तान शाई होपले अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ६ चौका र ४ छक्काको मद्धतले ७५ रन जोडे ।

यस्तै, रोस्टन चेज र शेरफान रुदरफोर्डले २४–२४ रन बनाउँदा म्याथ्यु फोर्डे १६ रनमा अविजित रहे ।

बलिङतर्फ इटालीका बेन मनेन्टी र कृषन कालुगामागेले दुई–दुई तथा अलि हसन र थोमस डार्काले एक–एक विकेट लिए ।

यस समूहबाट वेस्ट इन्डिज र इंग्ल्यान्डले सुपर एटमा स्थान बनाउँदा नेपाल, इटाली र स्कटल्यान्ड समूह चरणबाट बाहिरिए ।

खुटिया–दिपायल फास्ट ट्रयाक अगाडि बढाउने पूर्वमुख्यमन्त्री भट्टको प्रतिवद्धता

डोटीः डोटीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले आफू निर्वाचित भएपछि कैलालीको खुटियादेखि डोटीको दिपायल हुँदै बझाङमा चीनसँगको उरई भञ्ज्याङ नाका जोड्ने ‘फास्ट ट्रयाक’ निर्माणलाई अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्।

आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै भट्टले संघीय सरकारअन्तर्गत रहेको यो योजना कार्यान्वयनका लागि जनप्रतिनिधिका रुपमा आफूले पहल गर्ने उल्लेख गरे। उनले आफू मुख्यमन्त्री हुँदा प्रदेश मन्त्रिपरिषद बैठकले निर्णय गरेरै यो सडकलाई भारत र चीनको सीमाना जोड्ने त्रिदेशीय सडकको रुपमा विकास गर्न संघीय सरकारलाई आग्रह गरेको बताए।

‘पहिले खुटिया–दिपायल फास्ट ट्रयाक भनेर सुरुवात गरिएको हो। म मुख्यमन्त्री हुँदा प्रदेश सरकारकै आग्रहमा संघीय सरकारले खुटिया–दीपायल हुँदै बझाङमा चीनसँगको उरै नाकासम्म जोड्ने गरी यो सडकको नामाकरण गर्दै अगाडि बढाउने निर्णय गरेको थियो’ भट्टले भने, ‘हामीले नै पहल गरेर ट्रयाक खोल्ने काम पूरा भएको हो।’ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपछि यो सडकलाई अगाडि बढाउन आफूले सरकार र सदनमा आवाज उठाउने उनले बताए। सुदूरपश्चिमको विकासका लागि निकै महत्वपूर्ण रहेको खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक डोटी र कैलालीमा केही खण्ड कालोपत्रे भए पनि निर्माण कार्यले गति लिन सकेको छैन।

सहजपुर–बोगटान–दिपायल सडक कालोपत्रे गर्ने योजनालाई पनि पूर्वमुख्यमन्त्री भट्टले आफ्नो चुनावी प्रतिवद्धतापत्रमा समावेश गरेका छन्। दर्जनौँ ग्रामीण क्षेत्रलाई यो सडक निर्माण कार्य पनि अहिले सुस्त छ। सहजपुरदेखि करिब ५० किलोमिटर संघीय सरकारले पिच गरिसकेको छ। भट्ट मुख्यमन्त्री हुँदा प्रदेश सरकारले यो सडकको डोटी खण्डलाई प्रदेश गौरवको आयोजनामा राखेको थियो।

‘मेरै पालामा ठेक्का भएर केआइसिंहसम्म यो सडक कालोपत्रे भइसकेको छ। तर पछिल्ला प्रदेश सरकारले यसलाई निरन्तरता दिएनन्’ भट्टले भने, ‘मेरै पालामा सुरु भएको यो सडक निर्माण कार्यलाई पूरा गर्ने मेरा योजना छ।’ दिपायलमा ५० सय्याको अस्पताल सञ्चालन, त्रिभुवन विश्वविद्यालय मातहत डोटीमा इन्जिनियरिङ्ग क्याम्पस सञ्चालन, केआइसिंह–शिखर–जोरायल तेलेमार्ग निर्माण, सहजपुर–जोरायल–मुडभरा द्रुत मार्ग निर्माण, वायल–अल्लेवन–घाट लाउने–कोलाखान–सात्फरी सडक स्तरोन्नति गर्ने योजना भट्टले आफ्नो प्रतिवद्धतापत्रमा समावेश गरेका छन्।

आफू निर्वाचित भएर गएपछि पश्चिम सेती र एसआर सिक्स जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाउन सदनमार्फत सरकारलाई निरन्तर दवाव दिने प्रतिवद्धता उनले जनाए। सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रको विकासका लागि खप्तड क्षेत्र विकास कोष स्थापनाको योजनालाई पनि उनले अघि सारेका छन्।

आफू मुख्यमन्त्री भएका बेला डोटीमा धेरै योजनाहरु कार्यान्वयन भए पनि क्रमागत कतिपय योजना पछिल्ला सरकारले वास्ता नगर्दा अलपत्र अवस्थामा रहेको उनले बताए। आफ्नो कार्यकालमा डोटीमा मात्र करिब एक सय ३० किलोमिटर सडक कालोपत्रे भएको, अधिकांश विद्यालयका भवन निर्माण, ५० सय्याको अस्पताल भवन, जिल्ला अस्पतालदेखि प्रादेशिक अस्पतालको सेवा स्तरोन्नति गरेको उनले दावी गरे।

आफू मुख्यमन्त्री हुँदा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माणका थुप्रै योजनाहरु डोटीमा कार्यान्वयन भएको दावी गर्दै उनले विगतका कामको मूल्याकंन गरेर मतदाताले आफूलाई निर्वाचित गराउँछन् भन्नेमा विश्वस्त रहेको बताए। त्यसबेला र अहिले डोटीमा आउने योजना र बजेटमा ठूलो अन्तर रहेको भट्टको दावी छ।

‘पाँच वर्ष मुख्यमन्त्री हुँदा डोटीसहित सिंगो सुदूरपश्चिमको विकासका लागि इमान्दारितापूर्वक प्रयास गरेँ। पूर्वाधार विकाससँगै कानुन निर्माणलगायत क्षेत्रमा त्यसबेला र पछि भएका कामको तुलना नागरिकले गरेकै होलान्’ पूर्वमुख्यमन्त्री भट्टले भने, ‘मैले विगतमा आफू पदमा हुँदा इमान्दारितापूर्वक गरेको कामका आधारमा पनि यसपालि जनताले मलाइ निर्वाचित गराउँछन् भन्ने विश्वास लिएको छु।’ नेकपाका उम्मेदवार भट्ट गत २०७९ को चुनावमा भने उम्मेदवार बनेनन्।

सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या कटौती गर्ने कांग्रेसको घोषणा

काठमाण्डौ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय र प्रदेश सरकारमा मन्त्रालय सङ्ख्या कटौती गर्ने घोषणा गरेका छन्  । काठमाण्डौमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले सङ्घमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गरे । गठबन्धनको नाममा भागबण्डा गर्न कुनै पनि दलले मन्त्रालय सङ्ख्या बढाउन नपाउने उनको भनाइ छ ।

सभापति थापाले २०४६ सालपछि कांग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू कांग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गरे । त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसङ्ग उल्लेख गर्दै उनले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आउँदो पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गरे ।

आउँदो पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पुर्‍याउने कांग्रेसको प्रतिबद्धता छ । सभापति थापाले अब कुनै पनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गरे । अबको पाँच वर्षभित्र देशबाट भ्रष्टाचार पूर्णरूपमा अन्त्य गर्ने उनको दाबी छ ।

एमालेले भन्यो– पाँच वर्षमा प्रतिव्यक्ति आय तीन हजार डलर पुर्‍याउँछौँ

काठमाडौं । नेकपा (एमाले)ले पाँच वर्षमा प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार (फागुन ७) सार्वजनिक पार्टीको चुनावी घोषणापत्रमा यो लक्ष्य प्राप्तिका निम्ति सम्पूर्ण राष्ट्रिय स्रोतसाधन र सामर्थ्य परिचालन गरिने उल्लेख छ ।

“कृषिको उत्पादकत्व, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ७ प्रतिशतदेखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिद्वारा अर्थतन्त्रको आकार पाँच वर्षमा एक सय खर्ब रुपैयाँ र दश वर्षमा दुई सय खर्ब रुपैयाँको पुर्‍याउने छौँ,” घोषणपत्रमा भनिएको छ, “प्रतिव्यक्ति आय पाँच वर्षमा करिब अमेरिकी डलर ३ हजार पुर्‍याउने लक्ष्यका साथ सम्पूर्ण राष्ट्रिय स्रोत, साधन र सामर्थ्य परिचालन गर्नेछौँ । समतामूलक द्रुत आर्थिक विकासबाट चरम गरिबीको अन्त्य गर्छौं ।”

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, नेपालीको प्रतिव्यक्ति आय हाल एक हजार ५१७.४ डलर छ । कृषिको आधुनिकीकरण गर्दै यो क्षेत्रको अतिरिक्त श्रमशक्तिलाई शिक्षा, सीप र प्रविधि विकासद्वारा औद्योगिक र सेवामा स्थानान्तरण गरिने एमालेले जनाएको छ ।

“सार्वजनिक संस्थानको कार्यकुशलता अभिवृद्धि गनेछौँ । आगामी पाँच वर्षसम्म पुँजी निर्माण र अनिवार्य दायित्वका खर्चबाहेकका अन्य खर्चहरू कटौती गरी रोजगारी सिर्जना हुने उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नेछौँ,” एमालेले भनेको छ, “बजेटको अंक, निर्धारित समय, नतिजा र गुणस्तरको सीमा उल्लंघन गर्ने वा मापदण्ड पूरा नगर्नेलाई दण्डित गर्ने कानुनी व्यवस्था तर्जुमा गरी बजेट कार्यान्वयन गर्नेछौँ ।”

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना कार्यान्वयन गर्न मात्र सार्वजनिक ऋण लिइने एमालेले जनाएको छ ।

सार्वजनिक ऋणलाई राष्ट्रिय सामर्थ्यको सुरक्षित अनुपातभन्दा बढ्न नदिने एमालेको प्रतिबद्धता छ । “मुद्रास्फितिलाई नियन्त्रण गर्नेछौँ । खाद्यसुरक्षा कायम गर्नेछौँ । उत्पादन वृद्धि, मूल्य तथा आपूर्ति नियमन र उपभोक्ता सचेतना वृद्धि गरी उपभोक्त हित संरक्षण गर्नेछौँ,” घोषणापत्रमा उल्लेख छ ।

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाण्डौ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्न निषेध रहेको बताएका छन् ।

दशौँ निर्वाचन दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि सञ्चार संस्थाले चुनाव अगाडी नै फलानो उम्मेदवार जित्छ भनी अग्रिम घोषणा गर्न निर्वाचन आचारसंहिताले प्रतिबन्ध लगाएको बताए ।

भण्डारीका अनुसार यस्तो सर्वेक्षणले अन्य प्रतिस्पर्धीको मनोबल घटाउने र मतदातामा भ्रम तथा अनुचित प्रभाव पार्न सक्ने हुँदा यो कारबाहीयोग्य विषय हो । उनले सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति पनि चिन्ता व्यक्त गर्दै कसैको चरित्र हत्या गर्ने वा कसैलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्ने कार्यबाट टाढा रहन आग्रह गरे।

सामाजिक सञ्जालमा आउने सबै सामग्री सत्य नहुन सक्ने भन्दै प्रयोगकर्ताहरूलाई पनि सचेत रहन उनले आग्रह गरे ।

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार (फागुन ७) काठमाडौंमा एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यही फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।

दक्षिण कोरियाका पूर्व राष्ट्रपति याेललाई आजीवन कारावासको सजाय

कोरिया : दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक याेललाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। उनलाई मार्शल ल लागू गर्ने क्रममा विद्रोहको नेतृत्व गरेको अभियोगमा दोषी ठहर गरिएको हो।

दक्षिण कोरियाको अदालतले बिहीबार सुनाएको यस फैसलासँगै देशको हालसम्मकै ठूलो राजनीतिक संकटको एक अध्याय समाप्त भएको मानिएको छ।

३ डिसेम्बर २०२४ मा युनले टेलिभिजनमार्फत राष्ट्रलाई सम्बोधन गर्दै मार्शल ल घोषणा गरेका थिए। उनले विपक्षी दलहरूभित्र “राज्यविरोधी शक्तिहरू” रहेको र ती उत्तर कोरियाप्रति सहानुभूति राख्ने दाबी गरेका थिए।

घोषणापछि सशस्त्र सैनिकहरू हेलिकप्टरमार्फत संसद भवनमा अवतरण गरेका थिए र सांसदहरू बसेको कक्षमा प्रवेश गर्ने प्रयास गरेका थिए। सांसदहरू, संसद कर्मचारी तथा आक्रोशित नागरिकहरूले प्रवेशद्वार अवरोध गर्दै सैनिकहरूलाई रोक्न प्रयास गरे। ती दृश्यहरू प्रत्यक्ष टेलिभिजनमा प्रसारण भएका थिए।

युनको घोषणाले देशको अधिनायकवादी विगतका सम्झनाहरूलाई पुनर्जीवित गरेको भन्दै व्यापक आलोचना भएको थियो। सांसदहरूले संसदमा जबरजस्ती प्रवेश गरी सर्वसम्मतिले मार्शल ल खारेज गर्ने प्रस्ताव पारित गरेपछि युनले करिब छ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए।

१९८० को दशकको अन्त्यदेखि, दक्षिण कोरिया नियमित विरोध, अभिव्यक्ति स्वतन्त्रता, निष्पक्ष चुनाव र शक्तिको शान्तिपूर्ण हस्तान्तरणको साथ एक बलियो लोकतन्त्रमा रूपान्तरण भएको छ। त्यसबेलादेखि यो देश विश्वव्यापी अर्थतन्त्रको एक प्रमुख खेलाडीको रूपमा पनि विकसित भएको छ र एसियामा एक महत्वपूर्ण अमेरिकी सहयोगी बनेको छ।

तर घरेलु राजनीति भने गहिरो ध्रुवीकरणले ग्रस्त छ। विभिन्न राजनीतिक धारका राष्ट्रपतिहरूले महाभियोग, आपराधिक अनुसन्धान र अभियोजनको सामना गर्दै आएका छन्। सियोल केन्द्रीय जिल्ला अदालत बाहिर युन समर्थकहरूको भीड जम्मा भएको थियो। सुनुवाइ राष्ट्रव्यापी प्रत्यक्ष प्रसारण गरिएको थियो।

अध्यक्ष न्यायाधीश जी ग्वी–योनले युनको मनसाय राष्ट्रिय सभालाई पक्षाघात पार्नु रहेको स्पष्ट देखिएको बताए। उनले विपक्षी डेमोक्रेटिक पार्टीका नेता तथा सत्तारूढ दलका नेता हान डोङ–हू लगायत राजनीतिक विपक्षीहरूलाई पक्राउ गर्ने प्रयासलाई पनि निर्णयको आधार बनाइएको बताए।

पूर्व रक्षामन्त्री किम योङ–ह्युन लाई पनि विद्रोहमा प्रमुख भूमिका खेलेको आरोपमा दोषी ठहर गर्दै ३० वर्षको जेल सजाय सुनाइएको छ। उनले मार्शल ल कार्यान्वयनका लागि सैनिकहरूलाई आदेश दिने जिम्मेवारी लिएको स्वीकार गरेका थिए।

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै : मुख्यमन्त्री शाह

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै लोकतन्त्रको विकल्प केवल उन्नत लोकतन्त्र मात्रै हुने बताएका छन्। आज एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र दिवसले सबै नेपालीलाई दिगो शान्ति, सुशासन र समृद्धिको साझा लक्ष्यमा सँगै हिँड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका हुन् ।

मुख्यमन्त्री शाहले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको उल्लेख गरे।

उनले मुलुकको वर्तमान राजनीतिक अवस्थामा राजनीतिक स्थायित्व कायम गर्न निर्वाचनबाहेक अर्को उत्तम विकल्प हुन नसक्ने ठोकुवा गरे। नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमानका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा योगदान पुर्‍याउने सबै योद्धा तथा शहीदहरूप्रति उनले उच्च सम्मान प्रकट गरे। शाहले १०४ वर्ष लामो निरङ्कुश शासन ढालेर जनताको शासन ल्याएको यस दिनको ऐतिहासिक महत्त्व सधैँ अक्षुण्ण रहने बताए।

२००७ सालको क्रान्तिले नै नेपालमा आधुनिक युगको सुरुआत गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले लोकतान्त्रिक मूल्य र मान्यतालाई जनस्तरसम्म पुर्‍याउनु आजको प्रमुख दायित्व भएको बताए। प्रजातन्त्रको जगमा उभिएर नै मुलुकले संघीयता र गणतन्त्रजस्ता उपलब्धि हासिल गरेको भन्दै उनले यी प्राप्तिको रक्षाका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए। हरेक वर्ष फागुन ७ गते मनाइने यो दिवसले नेपाली राजनीतिमा नागरिक सर्वोच्चताको महत्त्वलाई फेरि एकपटक स्मरण गराएको उनको भनाइ छ। -रासस

बंगलादेशका प्रधानमन्त्रीको राष्ट्रको नाममा पहिलो सम्बोधन, माफिया राज नचल्ने दाबी

एजेन्सी- बंगलादेशका नवनियुक्त प्रधानमन्त्री तारिक रहमानले मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य, विधिको शासन र आर्थिक सुधारलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन्।

पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै उनले पूर्णतः बंगलादेशको आन्तरिक राजनीति, सुशासन र भावी योजनाहरूमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन्।

उनले विगतको फासीवादी शासनकालमा राज्यका संयन्त्रहरू ध्वस्त भएको आरोप लगाउँदै अब देश विधिको शासन र नीति-नियम अनुसार चल्ने उद्घोष गरे। उनले कुनै पनि राजनीतिक प्रभाव वा जोर-जुलुमका आधारमा नभई कानुनको आधारमा राज्य सञ्चालन हुने प्रतिबद्धता जनाए।

मुलुकको अर्थतन्त्र कमजोर हुनुमा भ्रष्टाचार र माफिया सिन्डिकेट मुख्य जिम्मेवार रहेको उनको ठम्याइ छ। उनले सबै प्रकारका अनियमितता र सिन्डिकेटहरू तोड्ने संकल्प गर्दै भ्रष्टाचार नियन्त्रणलाई सरकारको पहिलो प्राथमिकतामा राखेका छन्।

पवित्र रमजान महिना सुरू हुन लागेको सन्दर्भमा उनले व्यवसायीहरूलाई महँगी नबढाउन र अस्वभाविक नाफा नकमाउन अपील गरेका छन्। आम नागरिकलाई दैनिक उपभोग्य वस्तुहरू सहज र सुलभ मूल्यमा उपलब्ध गराउन सरकारले कडा कदम चाल्ने उनले बताए।

उनले बंगलादेश मुस्लिम, हिन्दु, बौद्ध, क्रिश्चियनका साथै पहाड र समतल क्षेत्रमा बस्ने सबै नागरिकको साझा घर भएको बताए। धर्म, वर्ण र लिंगका आधारमा कसैलाई पनि भेदभाव नगरिने र सबैको समान अधिकार सुनिश्चित गरिने उनले स्पष्ट पारे।

देशको ठूलो जनसंख्यालाई ‘दक्ष जनशक्ति’मा रूपान्तरण गरी विश्व बजारमा प्रतिस्पर्धा गर्न योग्य बनाउने उनको योजना छ। उनले सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा युवाहरूलाई अगाडि बढाउन सरकारले सबै प्रकारको सहयोग गर्ने बताए।

राजधानी ढाकामा बढ्दो जनसंख्याको चाप कम गर्न देशभर रेल, जल र सडक मार्गको सञ्जाल विस्तार गर्ने र सेवा सुविधाहरूलाई गाउँ-गाउँसम्म पुर्याउने योजना उनले अघि सारेका छन्।

आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूले सरकारी सुविधाका कर-मुक्त गाडी र प्लटहरू नलिने निर्णय भएको जानकारी दिँदै उनले राजनीतिलाई सेवाको रूपमा अगाडि बढाउन खोजेको बताए।

प्रधानमन्त्रीले बंगलादेशी जनताले दिएको मतको सम्मान गर्दै आफूसँग देश विकासको स्पष्ट योजना रहेको र त्यसलाई सफल पार्न सबैको सहयोगको अपेक्षा गरेका छन्।

बैतडीमा पुग्यो मतपत्रसहित निर्वाचन सामग्री, मतपेटिका पुरानै प्रयोग गरिने

बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य निर्वाचन सामग्री आइपुगेको छ । फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र मंगलबार जिल्ला ल्याइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीका सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तका अनुसार प्रत्यक्षतर्फ एक लाख ६८ हजार र समानुपातिकतर्फ एक लाख ७१ हजार मतपत्र आइपुगेका छन् ।

निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले निर्वाचनका लागि आवश्यक अन्य सामग्री पनि आइपुगेको जानकारी दिए ।

मतपेटिका भने अघिल्लो निर्वाचनकै प्रयोग गरिने जनाइएको छ । निर्वाचन आयोगबाट प्राप्त सामग्री रुजु गरी सुरक्षित राखिएको र छिट्टै सम्बन्धित मतदान केन्द्रमा पठाइने तयारी भइरहेको छ ।

जिल्लामा निर्वाचन तयारी तीव्र पारिएको छ । बैतडीमा कुल एक लाख ५६ हजार तीन सय ७२ मतदाता रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा एक स्वतन्त्र उम्मेदवारसहित ११ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाभर एक अस्थायी केन्द्रसहित २१५ मतदान केन्द्र रहेका छन् । १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य सूचीमा परेका छन् ।

राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाण्डौ- प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य चुनावलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताएकी छन्  ।

प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएकी हुन्। प्रधानमन्त्री कार्कीले २०१५ साल फागुन ७ गतेदेखि शुरू भएको नेपालको निर्वाचन इतिहासको स्मरण गरिन्। चुनावलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी देशलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण शक्ति लगाएको जिकिर गरिन्।

प्रधानमन्त्री कार्कीले तोकिएकै मितिमा भयरहित र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न हुने सुनिश्चित भएको दाबी गरिन्। उनले चुनावबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गरिन्। उनले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली र सामाजिक न्यायसहितको समृद्धिका लागि सबैलाई एकजुट हुन अपिल गरिन्।

प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयमुक्त चुनावमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट हुन समेत आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छन् । २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाएको र २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय चुनावको शुरूवात भएको स्मरण गर्दै आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उल्लेख गरेकी छन् ।

‘लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ । पटकपटक आन्दोलन गर्नुपर्यो । अब त्यस नियतिको अन्त्य गर्नैपर्छ । भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ’ प्रधानमन्त्री कार्कीले फेसबुकमा समेत लेखेकी छन् ।

तोलामै ४३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं- नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

खोज्नुहोस