रिहा भए बेलायती राजाका भाइ एन्ड्रयु
काठमाडौं । सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका बेलायती राजा चार्ल्सका भाइ एन्ड्रयु माउन्टबेटन-विन्डसर रिहा भएका छन् । बिहीबार साँझ विन्डसर रिहा भएको बीबीसीले जनाएको छ । तर, प्रहरीले उनलाई आरोपमुक्त नगरिएको र उनी अझै पनि अनुसन्धानको घेरामा रहेको स्पष्ट पारेको छ ।
आफ्नो ६६औँ जन्मदिनकै दिन पक्राउ परेका एन्ड्रयूमाथि यौन अपराधी जेफ्री एप्स्टिनलाई सरकारी गोप्य दस्तावेजहरू पठाएको आरोप छ । स्थानीय रिपोर्टहरूका अनुसार टेम्स भ्याली प्रहरीले उनलाई हिरासतमा लिएर करिब ११ घण्टासम्म सोधपुछ गरेको थियो । अधिकारीहरूले उनलाई अनुसन्धानकै क्रममा रिहा गरिएको बताएका छन् ।
टेम्स भ्याली प्रहरीले एक विज्ञप्तिमा ६० वर्षभन्दा माथिका एक व्यक्तिलाई सार्वजनिक पदमा दुराचार गरेको आशंकामा पक्राउ गरिएको र अहिले थप अनुसन्धानका लागि रिहा गरिएको जनाएको छ ।
पूर्व राजकुमारको गिरफ्तारीपछि राजा चार्ल्सले विज्ञप्ति जारी गर्दै कानुनले आफ्नो काम गर्ने र परिवारले अनुसन्धान एजेन्सीहरूलाई पूर्ण सहयोग गर्ने बताएका थिए । उनले भने, “एन्ड्रयू माउन्टब्याटेन–विन्ड्सरसँग सम्बन्धित खबर अत्यन्तै चिन्ताको विषय हो । कानुनलाई आफ्नो बाटो लिन दिनुपर्छ ।”
पूर्वराजकुमार पक्राउ परेको यो पहिलो पटक हो । उनले दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँगको सम्बन्धको बारेमा धेरै आरोपहरूको सामना गरिरहेका छन् । यद्यपि, एन्ड्रयूले सधैं र दृढतापूर्वक कुनै पनि गलत कामलाई अस्वीकार गर्दै आएका छन् ।
