अन्तर्राष्ट्रिय महिला दिवस केन्टुकीमा भव्य रुपमा मनाईयो

केन्टुकी, २६ फागुन ।

११६ औं अन्तर्राष्ट्रिय महिला दिवस अमेरिकाको केन्टुकी राज्यको लेक्जिंटनमा भव्यताका साथ मनाईएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा केन्टुकीमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था एशोसियसन अफ नेपाली ईन केन्टुकी(एन्का) द्धारा आईतवार लेक्जिंटनमा आयोजित कार्यक्रमका वक्ताहरुले महिला दिवसको महत्व र त्यसको सान्दर्भिकताका बारेमा चर्चा गरे ।

कार्यक्रमका अतिथि तथा सहभागीहरुले महिला दिवसका अवसरमा शुभकामना दिनुका साथै महिलाका अधिकारका बारेमा चर्चा गरे ।

केन्टुकीस्थित मानसिक स्वास्थ्य अस्पताल, द रिज बिह्यावियर हेल्थ सिष्टमको स्वास्थ्य विभागमा टीम लिडरका रुपमा कार्यरत रेखा जोशीले मानसिक स्वास्थ्य र अध्यात्मिक जीवनको अन्तरसम्बन्ध र महिलाहरुको अधिकारका बारेमा चर्चा गरिन् ।

कार्यक्रमको शुरुवाती सञ्चालन सचिव बिपिन पन्तले गरेपनि उनले कार्यक्रम सञ्चालनको जिम्मेवारी उमा उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सामाजिक अभियन्ता तथा सामाजिक अभियन्ता डमरु पौडेल, मेन्टल हेल्थ प्राक्टिसनर सविता घले लोहनी, सदीक्षा पौडेल, निरु थापा, मञ्जु रिजाल, श्रद्धा लामिछाने, सृजना मरासिनी, रुद्री केसी, लीला अधिकारी, रेखा भट्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

एंकाकी उपाध्यक्ष बिन्दु लामिछानेको अध्यक्षतातामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष सन्त कुँवरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

एनआरएनए अमेरिकाद्वारा नौ जना महिला सम्मानित

कोलोराडो(अमेरिका), २६ फागुन ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गैर आवासीय नेपाल संघ एनसीसी (एनआरएनए)अमेरिकाले बिभिन्न बिधा र क्षेत्रमा योगदान पु¥याउने प्रेरणादायी नौ जना महिलालाई सम्मान गरेको छ ।

एनआरएनए कोलोराडो च्याटर र नेपाल वुमन थ्राईभ(एनडब्लुटी) को सहकार्यमा एनआरएनए एनसीसी अमेरिकाद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आईतवार कोलोराडोको वेष्टमिनिष्टरमा आयोजित एक कार्यक्रममा नौ जना महिलालाई सम्मान गरिएको हो ।

कार्यक्रममा सगरमाथा आरोही एकल महिला नीमा डोमा शेर्पा, ओलम्पियन निष्मा गुरुङ, महिला उद्यमी तथा समाजसेवी दिल कुमारी श्रेष्ठ, समाजसेवी मीना पौडेल, गायिका निर्मला श्रेष्ठ, लेखिका प्रमिला शर्मा, समाजसेवी उत्तरा श्रेष्ठ, रिभाईभ मेडिकल वेलनेसकी सिईओ तथा रिजेनेरेटिभ स्पेशसिष्ट डा. शारदा काफ्ले त्रिपाठी(डक्टर अफ नर्स प्राक्टिसनर) उद्यमी तथा सांस्कृतिक दूत मिना मास्केलाई सम्मान गरिएको थियो ।

कोलोराडो राज्य सभा सदस्य केनी न्यूयाङ र वेष्टमिनिष्टर नगरकी मेयर क्लेरा कार्मेलियाले बिभिन्न बिधा र क्षेत्रमा विशिष्ट योगदान पु¥याउने सम्मानित नौ जना महिलालाई प्रशंसा पत्र प्रदान गरिन् ।

कार्यक्रमकी मुख्य वक्ता डा. उमा सिटौलाले महिलाको शक्ति, स्वास्थ्य तथा कल्याणसँग सम्बन्धित चुनौतीहरू र ती चुनौतीहरूले महिलाको प्रगतिमा पार्ने प्रभावबारे चर्चा गरिन् ।

उनले दृढ इच्छा र समर्पणका साथ काम गरेमा कुनै पनि लक्ष्य हासिल गर्न सकिने बताईन् ।

विशेष वक्ता अधिवक्ता स्मारिका थापाले आप्रवासी अधिकार र समुदायका लागि उपलब्ध सहयोगबारे जानकारी दिईन् ।

कार्यक्रममा नेपाल वुमथ थ्राईभकी प्रकृति जोशी र रियलटर नीलम श्रेष्ठले सम्मानित प्रेरणादायी महिलाहरुको योगदानका बारेमा र शर्मिला शर्माले अन्तर्राष्ट्रिय महिला दिवसको महत्वमाथि चर्चा गरिन् ।

सम्मानसंगै सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको कार्यक्रममा नेपाल वुमथ थ्राईभकी प्रकृति जोशी र सृष्टि उप्रेतीले सुन्दर नृत्य प्रस्तुत गरेकी थिईन् ।

नेवा खलः समूहले सय थरी बाजा बोलको गीतमा प्रस्तुत गरेको मनमोहक नृत्यले सबैलाई मन्त्रमुग्ध एको थियो ।

एनआरएनए कोलोराडो च्याप्टरकी महिला उपाध्यक्ष नमुना गैरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गायिका सम्झना पाण्डेले गणेश वन्दना तथा नेपाली राष्ट्रिय गान प्रस्तुत गरेकी थिईन् ।

एनआरएनए एनसीसी अमेरिका महासचिव आरसी पन्तले कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।

एनआरएनए नेपाल वुमन थ्राईभ(एनडब्लुटी) को सहकार्यमा एनआरएनए कोलोराडो च्याप्टरद्धारा आयोजित कार्यक्रममा नेपाली समुदायका वरिष्ठ सदस्य तथा सामाजिक अभियन्ता नारायण श्रेष्ठ, सिर्जना श्रेष्ठ, उत्तरा राम श्रेष्ठ, डा. विजय राज शर्मा तथा गायक तथा लेखक हिरण्य भोजपुरे लगायतको उपस्थिति रहेको थियो ।

चुनाव हारेपछि धमलाको घोषणा : आजबाट आमजनता पार्टी र मोबाइल छापसँग मेरो सम्बन्ध रहँदैन

काठमाडौं- रौतहट–४ मा पराजित भएपछि ऋषि धमलाले आम जनता पार्टी र मोबाइल छाप चुनाव चिह्नसँगको सम्बन्ध तोडेका छन् । आज रिपोर्टस् क्लबमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले पार्टी र चुनाव चिह्नसँगको सम्बन्ध सकिएको घोषणा गरेका हुन् ।

‘आजको दिनबाट जुन चुनाव चिह्नबाट लडेको थिएँ, त्यो पार्टी र चुनाव चिह्नसँग मेरो सम्बन्ध रहँदैन । मैले त्यो पार्टी र चिह्नलाई खाली चुनावमा मात्र प्रयोग गरेको थिएँ,’ धमलाले भने, ‘आम जनता पार्टी र जनादेश पार्टीले आग्रह गरेपछि उक्त चुनाव चिह्न लिएर गएको हुँ । आजसम्म म त्यो पार्टीको सदस्य होइन । र मैले कुनै राजनीतिक दलको सदस्यता लिएको छैन ।’

आफूलाई चुनावमा जानुअघि बालेन शाहले दुई पटक बोलाएर जुन क्षेत्रबाट लडे पनि टिकट दिने बताएको उनको दाबी छ । जहाँबाट लडे पनि टिकट दिने बताउँदा बताउँदै आफू मोबाइल छाप लिएर चुनावमा लडेको बताए । उनले रौतहटवासीलाई धन्यवाद समेत दिए । तर, अब पनि राजनीतिमै रहने वा पत्रकारितामा फर्कनेबारे केही बताएनन् ।

रौतहट–४ बाट रास्वपाका गणेश पौडेल ३६८७६ मत ल्याएर निर्वाचित हुँदा धमलाले ६५५ मत मात्र ल्याएका थिए ।

गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी

काठमाडौं । गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी भएका छन्। कांग्रेसका प्रेम कुमार खत्रीलाई भारी मतले हराउँदै गुरुङले बाजी मारेका हुन्।

गुरुङले २९ हजार ८९६ मत पाउँदा कांग्रेसका खत्री १५ हजार ३९८ मतमै रोकिए।

नेकपाका हरि राज अधिकारी ११ हजार १२४ मत ल्याएर तेस्रो हुँदा नेकपा एमालेका राम चन्द्र लामिछानेले ३ हजार ७३२ मत पाए। यो जितसँगै रास्वपाले प्रत्यक्षमै १२५ सीट जितेको छ।

डडेलधुरामा समानुपातिक मत पनि रास्वपाकै बढी

डडेलधुरा : डडेलधुरामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ। रास्वपाले अन्य दलहरूलाई पछ्याई प्रत्यक्षभन्दा केही बढी मत ल्याएको हो। २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फबाट सबैभन्दा बढी मत ल्याई विजयी हासिल गरेको रास्वपाले समानुपातिकतर्फ पनि पहिलो दल बनेको हो।

यसअघिका ७ वटा निर्वाचन जितेको नेपाली कांग्रेस अहिले भने अपराजित यात्रा भोग्नु परेको छ। प्रत्यक्ष निर्वाचनमा हार व्यहोरेको कांग्रेसले समानुपातिक मत पनि दोस्रो नै रहेको छ। यस अघिका सात वटै निर्वाचनमा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उम्मेदवार रहेका थिए। तर यस पटक भने देउवा मतदान गर्न पनि डडेलधुरा नआउँदा हार व्यहोर्नु परेको कांग्रेसका शुभचिन्तकको भनाइ छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार रास्वपाले १२ हजार २६८ मत प्राप्त गर्दै जिल्लामा सबैभन्दा बढी मत प्राप्त गरेको छ। समानुपातिकतर्फ नेपाली कांग्रेसले ११ हजार ८ सय ५१ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ७ सय ७२, नेकपा (एमाले)ले ३ हजार २ सय ७५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ३९२ मत प्राप्त गरेको जनाएको छ।

मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाका अनुसार जिल्लामा समानुपातिकतर्फ कुल ४६ हजार २११ मत खसेको थियो। त्यसमध्ये ४४ हजार १८६ मत सदर भएका थिए भने २ हजार २५ मत बदर भएका छन्। यसअघि प्रत्यक्षतर्फ पनि डडेलधुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका थिए। उनले १९ हजार १३१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका थिए। जोशीसँग महर ७ हजार १० मतान्तरले पराजित भएका थिए।

यसैगरी नेकपा एमालेका उम्मेदवार चक्र स्नेहीले दुई हजार ३१६ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मानसिंह मालले ६ हजार ४३८ मत प्राप्त गरेका थिए। मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाका अनुसार डडेलधुरामा प्रत्यक्षतर्फ जम्मा ४५ हजार ९०९ मत खसेको थियो।

डडेलधुरामा १० उम्मेदवारको जमानत जफत

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत डडेलधुरामा नेकपा (एमाले)का उम्मेदवार सहित १० जनाको धरौटी रकम जफत भएको छ। एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीसहित १० जना उम्मेदवारको जमानत जफत भएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।

डडेलधुरामा कुल ४३ हजार ६७ मत सदर भएकाले जमानत जोगाउन उम्मेदवारले कम्तीमा ४ हजार ३ सय ७ मत ल्याउनुपर्ने हुन्छ। तर एमालेका स्नेहीले भने २ हजार ९२६ मत मात्रै प्राप्त गरेपछि उनको जमानत जफत भएको हो।

जमानत जफत हुने अन्य उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोविन्द खडायत, आम जनता पार्टीका खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीका लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगर रहेका छन्। भने यस्तै स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीको पनि जमानत जफत भएको छ।

सुदूरपश्चिमका १० सिटमा रास्वपाको क्लीन स्वीप

कैलाली ।  परम्परागत दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीको पालैपालो जित्दै आएको सुदूरपश्चिमका १० वटा निर्वाचन क्षेत्रमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिन स्वीप’ गरेको छ ।
तराईमा ‘क्लिन स्वीप’ गरेको रास्वपालाइ पहाडमा भने प्रतिस्पर्धामा आउन कठिन भयो । त्यहाँका २ सीटमा उसले जित निकालेपनि अन्य छ सीटमा परम्परागत दलकै बर्चस्व रह्यो । जहाँ रास्वपा प्रतिस्पर्धामा पनि आउन सकेन् । तराईमा चलेको रास्वपाको जादू सुदूर पहाडमा निस्प्राभी हुदा काँग्रेस र एमालेले बीउ जोगाए ।
देशैभरी निरीह देखिएका काँग्रेस र एमाले सुदूर पहाडमा भने बलिया देखिए । कैलालीका पाँच र कञ्चनपुरका ३  क्षेत्रका रास्वपाले क्लीनस्वीप गरेको छ ।
२०१५ सालको पहिलो आम निर्वाचन र २०४९ मा काँग्रेसले क्लिन स्वीप गरेको सुदूर पश्चिममा ५१ मा नेकपा एमालेले क्लिन स्वीप गरेको थियो । २०५६ मा मिश्रित नतिजा दिएको

सुदूरमा २०६४ सालको संविधान सभाको निर्वाचनमा तत्कालिन नेकपा माओवादीको सुनामीमा काँग्रेस र एमालेलाई बिउ जोगाउन हम्मेहम्मे भएको थियो ।
२०७०, ७४, ७९ मा परम्परागत दलहरुबीचकै गठबन्धनले सुदूर पश्चिममा कुनै एउटा दलले जादू चलाउन सकेन् । २०७९ मा कैलालीका पाँचमध्ये तीन निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले क्लिन स्वीप गरेको थियो । यस पटक भने परम्परागत दलहरुको सुदूर किल्लालाई रास्वपाले भत्काईदियो ।

कैलाली–१ म आफ्नै दलभित्रको असन्तुष्टिलाई चिर्दै रास्वपा उम्मेदवार कोमल ज्ञवाली विजय मात्र भइनन् । प्रत्यक्षमा सुदूरपश्चिमबाट जित्ने एक मात्र महिला बनिन् । थारु बाहुल्यता रहेको क्षेत्रमा उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जनकराज चौधरीलाई ४ हजार ९५९ मतान्तरले पछि पार्दै विजयी भइन् ।
ज्ञवालीले १७ हजार ८२६ मत पाउदा चौधरीले १२ हजार ८६७ मत पाएका पाए । तेस्रो स्थानमा रहेको नेकपाका रामलाल डंगौरा थारुले ८ हजार ३९२ मत ल्याउदा नेकपा एमालेका द्वारिका प्रसाद न्यौपाने ४ हजार ४९३ मतमा समेटिएका हुन् ।

क्षेत्र नम्बर–२ मा रास्वपाका केपी खनालले ७ हजार १०८ मतको भारी मतान्तरले प्रतिद्वन्दीलाई हराउदै विजय भएका छन् । खनालले १९ हजार ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरीले  ११ हजार ९४९ मतमा खुम्चिएका हुन् ।
यो क्षेत्रमा एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत सहित तेस्रो स्थानमा झरेका छन् । जितको दावेदार मानिएका नेपाली कांग्रेसका विजय बहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउदले ४ हजार ३६९ मत ल्याए । यो क्षेत्रमा  १ लाख ७ हजार ५७ मतदाता रहेकोमा ५६ हजार ७७० मत खसेको थियो ।

कैलाली क्षेत्र नम्बर ३ मा रास्वपाकै जगत बहादुर जोशी विजय भइसकेका छन् । उनी निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका बिरमान चौधरीलाई ८ हजार ३७६ मतको भारी मतान्तरले हराउदै विजय भएका हुन् । जोशीले २० हजार ३५९ मत पाउदा चौधरीले ११ हजार ९८३ मत प्राप्त गरे ।
यो क्षेत्रमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ हजार ७०६ मत पाउदा  चौथो स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत प्राप्त गरे । चौथो स्थानमा समेटिएका एमाले उम्मेदवार गौरीशंकर चौधरीले ४ हजार ७५२ मत प्राप्त गरे ।

क्षेत्र नम्बर ४ मा पनि रास्वपाको लहरले आफ्नो प्रभाव कायम राख्न सफल भयो । यो क्षेत्रका रास्वपा उम्मेदवार खेमराज कोइराला  आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोरखबहादुर बिष्टलाई १७ हजार २५५ मतको भारी अन्तरले पछि पार्दै विजय भएका छन् । कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दा बिष्टले ११ हजार ३०१ मत प्राप्त गरे ।
यस्तै तेस्रो स्थानमा रहेको नेकपा एमालेका लेखराज भट्टले ९हजार ४४४ मत प्राप्त गरे भने चौथो स्थानमा नेकपाका हरिराम चौधरी ५ हजार ६०९ मतमा समेटन पुगे ।
सुदूर राजनीतिको मुख्य केन्द्र मानिने कैलाली ५ का मतदाता अस्थिर छन् । विषेस क्षेत्र मानिने यहाँका मतदाताले कहिले नेकपा एमाले, कहिले नेपाली कांग्रेस त कहिले माओवादी उम्मेदवारलाई विजय गराए । तर यसपटक भने रास्वपाको लहर यसरी चल्यो मतदाताले अरु उम्म्ेदवार नै देखेनन् ।

रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतले विजयी हँुदा दशकौको राजनीतिक विरासत बोकेका परम्परागत दलहरू नराम्रो संग पछारिए । यो क्षेत्र एमाले र काग्रेस दुबैको राम्रो सांगठनिक पकड भएको क्षेत्र हो । तर रास्वपाका चन्दले नेपाली कांग्रेसका यो क्षेत्रका प्रभावशाली नेता नरनारायण शाहलाई झण्डै २० हजार मतान्तरले पछि पारे । शाहले  ११ हजार ९५८ मत मात्रै प्राप्त गरे ।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आलेले ७ हजार ८८६ मत मात्रै प्राप्त गरे । सुदूरपश्चिमको राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिने आलेले डोटीबाट प्रतिनिधिसभाको निर्वाचनमा लगातार तीनपटक जितेर ह्याट्रिक गरेका थिए । तर यसपटक चुनावी क्षेत्र परिवर्तन गर्दै कैलाली झरेका आले नराम्रोसँग पराजित भए ।

२०७९ को स्थानीय तहको निर्वाचनको मत हेर्दा नेकपा एमालेको पकड र राम्रो सांगठनिक प्रभाव क्षेत्र मानिएको कैलाली ५ मा यसपटक एमाले चौथो स्थानमा समेटियो । एमाले उम्मेदवार यज्ञराज ढुङ्गानाले ५ हजार ८३९ मतमै चित्त बुझाउनुपर्यो ।
कैलालीमा नौ लाख ११ हजार जनसंख्या रहेको छ भने ५ लाख ५१ हजार भन्दा बढी मतदाता रहेका छन् ।

कञ्चनपुर पनि घण्टीमय
कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले क्लिन स्वीप गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार कञ्चनपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार जनकसिंह थामी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बिना मगरलाई १३ हजार २२ मतान्तरले उनले पराजित गरे । सिंहले २४ हजार ३३२ मत प्राप्त गर्दा  पराजित बिना मगरले ११ हजार ११० मत ल्याएकी छन् ।
यस्तै कञ्चनपुरमा क्षेत्र नम्बर–२ मा पनि रास्वपाकै उम्मेदवार दीपकराज बोहराले विजय प्राप्त गरेका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश साँउदलाई २३ हजार १२५ मतको फराकिलो अन्तरले पराजित गर्दै बोहरा विजयी भए । उनले ३३ हजार ९५२ मत प्राप्त गर्दा पराजित साँउद १० हजार ८२७ मतमा समेटिए ।
क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै उम्मेदवार ज्ञानेन्द्र सिंह महता विजयी भएका भए आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहरालाई १७ हजार ६७५ मतको भारी अन्तरले पराजित गर्दै सिंहले संसदको यात्रा तय गरेका हुन् । विजय सिंहले २७ हजार ११८ मत पाउ“दा पराजित बोहराले ९ हजार ४४३ मत मात्रै पाएका थिए ।

जोगिएन डडेल्धुराको ३४ वर्षीय विरासत

सुदुरपहाडका सात जिल्लाका ८ निर्वाचन क्षेत्र मध्य रास्वपाले २ क्षेत्रमा मात्रै जित हासिल गर्न सफल भयो । बाँकी छ क्षेत्रमा परम्परागत दलकै उम्मेदवार विजयी भएका छन् । पुर्व प्रधान मन्त्री सेर बहादुर देउवाको आधार इलाका  डडेल्धुरा क्षेत्र नम्बर १ नेपालको राजनीतिमा सधै चर्चाको विषय बन्यो ।
२०४८ यता यसै क्षेत्रबाट पटक पटक संसदीय निर्वाचन जितेर सत्ताको केन्द्रमा रहेका देउवाले यसपटक टिकट पाएनन् । उनको अनुपस्थितिमा देशै भरी चलेको रास्वपाको लहरले डडेल्धुराको ३४ वर्षीय राजनीतिक विरासत ढालिदिएको छ ।

यसपटकको प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा ताराप्रसाद जोशी विजयी भए संगै डडेल्धुराको राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल आएको छ । जोशीले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा मात्र तय गरेनन्, डडेल्धुरामै नयाँ इतिहास पनि रचेका छन् ।
उनले निकटतम प्रतिद्वन्दी महरलाई ७ हजार १० मतको अन्तरले पराजित गरेका हुन् । जोशीले १९ हजार १३१ मत ल्याउँदा पराजित भएका महर १२ हजार १२१ समेटिए ।
उता बैतडी क्षेत्र नम्बर १ मा पनि मुख्य दलहरुलाई पछि पार्दै रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतको अन्तरले पराजित गर्दै भण्डारी विजय भए । उनले २२ हजार १३४ मत प्राप्त गर्दा पराजित चन्दले १८ हजार १९४ मत ल्याएका हुन् ।

तीन/तीन सिटमा समेटिए काँग्रेस, एमालेले : नेकपा सुन्य
निर्वाचन आयोगको मत परिणाम अनुसार सुदूरपश्चिमका ६ सिट मात्र काँग्रेस र एमालेले जितेका छन् । बाजुरा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले हराउँदै गिरी विजयी भएका हुन् । उनले १७ हजार १७३ मत पाउँदा पराजित थापाले १६ हजार ६३३ मत प्राप्त गरे ।
दुई निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र नम्बर–१ मा काँग्रेसका उम्मेदवार भरत कुमार स्वार विजय भएका छन् । उनले १० हजार ७५९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भीम बहादुर रावलले १० हजार २३३ मत ल्याए ।
क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटी विजयी भएका छन् ।  । उनले ९ हजार ५१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरे ।  यस्तै तेस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका बलबहादुर कुँवरले ६ हजार ४९३ मत र चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाहले ४ हजार ५६२ मत प्राप्त गरेका छन् ।
उता एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपकबहादुर धामीलाई ७८७ मतान्तरले पराजित गर्दै खड्का विजयी भए । उनले १४ हजार ८९७ मत प्राप्त गर्दा पराजित धामीले १४ हजार ११० मत मात्रै ल्याएका थिए  ।
बझाङमा– १ मा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएका भए । उनले १८ हजार ५४३ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरे । स्नेही र महर बीचको मतान्तर २ हजार २३९ रहेको छ ।
माथि दार्चुलामा पनि नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना विजय भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीलाई ३ हजार ५५ मतको अन्तरले पराजित गर्दै ठगुन्नाले संसदको यात्रा तय गरे । उनले १८ हजार ८९१ मत प्राप्त गर्दा पराजित जोशीले १५ हजार ८३६ मत ल्याएका थिए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भने सुदूरपश्चिममा १ सिट पनि ल्याउन सकेन । प्रदेशका १६ मध्य १० सिट रास्वपाले जिते संगै सुदूरपश्चिमको राजनीतिक सत्ता समीकरणमा ठुलो परिवर्तन आएको छ ।

प्रतिनिधिसभा चुनावमा विजयी हुँदा १२ जनालाई ५० हजारभन्दा धेरै मत प्राप्त

काठमाण्डौ- यस पटकको प्रतिनिधि सभा चुनावमा १२ जना उम्मेदवारले ५० हजार भन्दा धेरै मत पाएर विजयी भएका छन् । ५० हजार मत कटाउने सबै राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का उम्मेदवार हुन् । निर्वाचन आयोगका अनुसार झापा २ मा इन्दिरा राना मगरले ६० हजार ११० र झापा ५ मा बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गरेका छन् ।

यस्तै मोरङ ६ मा रुबिना आचार्यले ५५ हजार ५१३, सुनसरी २ मा लालविक्रम थापाले ५७ हजार ३४८, काभ्रे २ मा बदनकुमार भण्डारीले ५३ हजार ३४४ मत पाएका छन् ।

यस्तै चितवन १ मा हरि ढकालले ५८ हजार २०८, चितवन २ मा रवि लामिछानेले ५४ हजार ४०२, चितवन ३ सोविता गौतमले ५९ हजार २७७, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा राजन गौतमले ५० हजार ९४५, रूपन्देही १ मा सुनिल लम्सालले ५४ हजार ८४५, रूपन्देही २ मा सुलभ खरेलले ५६ हजार ५५० र रुपन्देही ३ मा डा लेखजंग थापाले ५८ हजार ८१४ मत प्राप्त गरेका छन्।

धेरै मत पाउने मध्ये रास्वपाका वरिष्ठ नेता बालेनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व उपसभामुख इन्दिरा राना मगरले पूर्वसभामुख देवराज घिमिरेलाई र रास्वपाकी रुबिना आचार्यले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई पराजित गरेका हुन् ।

यस्तै सुलभ खरेलले एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई र सोविता गौतमले भरतपुर महानगरपालिकाकी पूर्व मेयर रेणु दााहललाई पराजित गरेका हुन् ।

 

कञ्चनपुरमा छ प्रतिशत मत बदर

कञ्चनपुर- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा ६.८५ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ।

क्षेत्र नम्बर १ मा ६० हजार ७८५ मत खसेकोमा तीन हजार ७३४ मत बदर भएको छ। यो क्षेत्रमा कूल एक लाख एक हजार ७२४ मतदाता रहेका थिए। निर्वाचन क्षेत्र नम्बर २ मा ६५ हजार ३४७ मत खसेकोमा चार हजार २३० मत बदर भएका छन्। यहाँ एक लाख नौ हजार ५७४ मतदाता रहेका थिए।

त्यसैगरी क्षेत्र नम्बर ३ मा ५८ हजार २०९ मत खसेकोमा चार हजार ६६३ मत बदर भएका छन्। निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले अधिकांश मतमा दोहोरो छाप लागेको र कतिपय मतपत्रमा एउटा औँठा छापसमेत पाइएको बताए।

गत निर्वाचनमा छ प्रतिशत मत भएको निर्वाचन आयोगले जनाएको छ। कञ्चनपुरमा तीन लाख १७ हजार ६२३ मतदाता रहेको कञ्चनपुरमा तीनवटै निर्वाचन क्षेत्रमा ५८.६७ प्रतिशत मतदान भएको थियो।

बैतडीमा ७ उम्मेदवारको धरौटी जफत

बैतडी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा ७ जना उम्मेदवारको जमानत जफत भएको छ। खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारको जमानत जफत भएको हो। एक स्वतन्त्रसहित ७ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्दले दुई हजार ६८१ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का रामबहादुर कुँवरले २९९ मत, जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालाले समान ९४/९४ मत, आम जनता पार्टीका बिसनसिंह बोहराले ८२ मत, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ मत र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १८ मत प्राप्त गरेका थिए।

फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा यहाँ ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए। तीमध्ये ६७ हजार ७३० मत सदर खसेको सूचना अधिकारी दयालले बताए। खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्थाअनुसार उनीहरुको जमानत जफत गरिएको उनले जानकारी दिए।

आइतबार सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए। यस्तै नेपाली कम्युनिस्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन्।

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए शपथ

काठमाडौं : राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहणका गरेका छन्। सिंहदरबारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष नव निर्वाचित सदस्यहरूले शपथ लिएका हुन्।
गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो।

निर्वाचन आयोगका अनुसार गत माघ ११ गते सातै प्रदेशमा १८ पदका लागि भएको निर्वाचनमा एमाले-कांग्रेस गठबन्धनका उम्मेदवारहरू विजयी भएका थिए।

यी हुन् नवनिर्वाचित सांसद्हरू  

कोशी प्रदेशमा कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए। निर्वाचनपछि एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भए। त्यस्तै मधेशमा महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रेखा झा, अल्पसंख्यक क्लस्टरमा कांग्रेसका रंजित कर्ण, दलित क्लस्टरमा कांग्रेसका धर्मेन्द्र पासवान र अन्यतर्फ महन्थ ठाकुर विजयी भए। त्यस्तै बागमती प्रदेशबाट महिला क्लस्टरमा कांग्रेसकी गीता देवकोटा र अन्य क्लस्टरमा उम्मेदवार बनेका एमालेका डा. प्रेम प्रसाद दंगाल विजयी भए।

त्यस्तै राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकीबाट अन्यमा कांग्रेसका जगत तिमिल्सिना र महिलामा एमालेकी सम्झना देवकोटा विजयी भए। लुम्बिनीबाट एमालेकी रामकुमारी झाँक्री महिला कोटाबाट, अपांगता कोटामा कांग्रेसका बासुदेव घिमिरे र अन्य समूहको कोटामा काग्रेसकै चन्द्रबहादुर केसी विजयी भए।

त्यस्तै कर्णालीबाट अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेसका ललितजंग शाही र महिलातर्फ उम्मेदवार रहेकी एमालेकी मिनासिं रखाल निर्वाचित भए भने सुदूरपश्चिमबाट महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी र खुल्लातर्फ कांग्रेसका खम्मबहादुर खाती विजयी भए।

गोरखा- १ मा सुधन गुरुङको दोब्बर मतको अग्रता कायमै

गोरखा : गोरखा १ मा चुनावी प्रतिस्पर्धा गरेका सुधन गुरुङले प्रतिस्पर्धीभन्दा दोब्बर मतको अग्रता लिइरहेका छन् । ६४ हजार ५ मत खसेको सो क्षेत्रको ५७ हजार ७१५ मत गणना गरिसक्दा उनले २६ हजार ५२२ मत ल्याई अग्र स्थान कायम गरेका छन् ।

दोस्रो प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १४ हजार ३७० मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले १० हजार ५८९ मत प्राप्त गरेका छन् । एमालेका आरसी लामिछाने ३ हजार ४१७ मत प्राप्त गरेर चौथो स्थानमा छन् ।

५७ हजार ७१५ मत गन्दा १ हजार ८१५ मत बदर भएको छ ।

कञ्चनपुर-२ मा १५ उम्मेदवारको जमानत जफत

कञ्चनपुर- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका १९ मध्ये १५ जनाको जमानत जफत भएको छ।

निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसके उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ।  सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा राजनीतिक दलका ११ र स्वतन्त्र चार जना उम्मेदवारको जमानत जफत भएको हो।

जमानत जफत हुने उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले एक हजार ९९३, जनमत पार्टीका रामचन्द्र भट्टले १२५, नेपाल मजदुर किसान पार्टीका सीताराम रानाले ७२ तथा राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीले १९५ मत प्राप्त गरेका छन्।

त्यसैगरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मानन्द जोशीले १९५, संयुक्त नागरिक पार्टीका खडक तम्राकारले ३२, मितेरी पार्टी नेपालका तेजबहादुर बडवालले १८ तथा नेपाली कम्युनिष्ट पार्टी (माओवादी) का लोकेन्द्रबहादुर विकले १४३ मत प्राप्त गरेका छन्।

उज्यालो नेपाल पार्टीका योगेन्द्रबहादुर साउदले ९३, नागरिक उन्मुक्ति पार्टी नेपालकी प्रेमवती रानाले ५६० र आम जनता पार्टीका जग्गु चौधरीले ३७ मत ल्याए पनि जमानत जोगाउन सकेनन्।

स्वतन्त्र उम्मेदवारतर्फ वीरेन्द्र रानाले ८१, भानुभक्त बोहराले २६, सिद्धराज जोशीले १९ तथा हरिशबहादुर भट्टले ४४ मत प्राप्त गरेका छन्। उहाँहरूको पनि जमानत जफत भएको छ।

यस निर्वाचन क्षेत्रमा भने चार दलका उम्मेदवारले मात्र जमानत जोगाउन सफल भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपकराज बोहरा ३३ हजार ९५२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन्। नेकपा (एमाले)का बचनबहादुर सिंहले ६ हजार ४१८ मत ल्याउँदै तेस्रो स्थान हासिल गर्दा नेपाली कम्युनिष्ट पार्टीका माधव पन्तले ६ हजार ३३७ मतसहित चौथो स्थान प्राप्त गरेका छन्।

कञ्चनपुर–२ मा कुल ६५ हजार ३४७ मत खसेको थियो। तीमध्ये ६१ हजार ११७ मत सदर भएको छ भने चार हजार २३० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैबीच, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा पनि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशसभाका पूर्व मानबहादुर सुनारको धरौटी जफत भएको छ।

कञ्चनपुर–३ मा ५३ हजार ५१५ मत सदर भएकामा धरौटी जोगाउन पाँच हजार ३५२ मत आवश्यक थियो। तर सुनारले चार हजार २८४ मत मात्र प्राप्त गरेपछि उनको धरौटी जफत भएको हो। उक्त निर्वाचन क्षेत्रमा सुनारसहित १४ जनाको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस क्षेत्रमा १७ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा राष्ट्रिय स्वतन्त्र पार्टीका ज्ञानेन्द्रसिंह महताले २७ हजार ११८ मत ल्याउँदै विजयी भएका छन्। विजयी उम्मेदवारसहित चार जनाले मात्र धरौटी जोगाउन सकेका छन्। रासस

तेश्रो सर्किटपछि नेप्सेद्वारा आजको कारोबार बन्द

काठमाण्डौ । चुनावी परिणामको प्रभावले सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमत(करिब दुईतिहाई बहुमत) आएपछि स्थिर सरकार बन्ने र त्यसले नीतिगत स्थिरता हुने आशासहित लगानीकर्ताले खरीदारी बढाउँदा सोमबार बजार खुलेदेखि नै सेयर किन्न नपाउने अवस्था देखियो ।

किन्नेहरु मात्र थुप्रिएपछि र बिक्री गर्न कोही तयार नभएपछि एक मिनेटमै बजारमा पहिलो सर्किट लाग्यो । २० मिनेट कारोबार हल्ट गरी खुलेको बजारमा फेरि अर्को मिनेटमा नेप्से ५ प्रतिशत बढेपछि सर्किट लगाइयो । दोश्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार हल्ट गरिएको थियो ।

त्यसपछि खुलाइएको बजार फेरि अर्को एक मिनेटमा थप १ प्रतिशत अर्थात कुल ६ प्रतिशतले बढेपछि तेश्रो सर्किट लगाएर आजका लागि कारोबार स्थगित गरियो ।

यो दिन नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ को विन्दूमा पुग्यो ।

२५३ कम्पनीको सेयर खरीदबिक्री भएको बजारमा ५१ करोड बढीको कारोबार भयो ।

यसरी हेर्दा चुनावपछि खुलेको बजारमा अभूतपूर्व उछाल र उत्साहको अवस्था देखिएको छ । जसका कारण आज तीनवटा सर्किटअघिको अवधि हेर्दा जम्माजम्मी ३ मिनेट मात्र कारोबार हुन पायो । सामान्य अवस्थामा ४ घण्टासम्म कारोबार हुने बजार जम्माजम्मी ३ मिनेटको कारोबार भएर आजका लागि बन्द भयो।

किन आयो उछाल ?

सेयर बजारले चुनावअघिकै केही कारोबार दिनमा समेत चुनावपछिको परिदृश्य संकेत गरिरहेको थियो । देश रास्वपामय भएको छनक बजारले चुनावअघि नै दिइसकेको थियो । घण्टीमय(रास्वपाको चुनाव चिन्ह घण्टी हो) देश बनिरहेको बेला प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको स्पष्ट बहुमत आउने र त्यसले राजनीतिक अन्यौलता, नीतिगत स्खलन तथा ६/६ महिनामा नयाँ सरकार बन्ने दुर्भाग्यपूर्ण अवस्थाको अन्त्य गर्ने धेरैमा विश्वास देखिएको थियो ।

ठूला तथा संस्थागत लगानीकर्ताहरु चाहिँ चुनावअघिसम्म पनि ‘पर्ख र हेर’को अवस्थामै थिए । चुनावअघिको केही कारोबार दिनमा बैंक तथा वित्तीय संस्था लगायतका केही संस्थागत लगानीकर्ताहरुले भने चूपचाप खरीदारी बढाउन थालेका थिए ।

यस्तै, कतिपय लगानीकर्ताहरुले भने चुनावअघि कित्ता थपेर जूवा खेल्ने रणनीतिसहित खरीदारी बढाउँदा त्यसको सकारात्मक प्रभाव बजारमा देखिएकै थियो ।

चुनाव भएपछि त्यसको परिणामले यस्तो अवस्था देखाइदियो कि पर्ख र हेरको अवस्थामा रहेका ठूला तथा संस्थागत लगानीकर्ताहरु समेत आक्रामक ढंगले बजार प्रवेश गर्न खोजेकोे देखिन्छ । ठूला लगानीकर्ताहरुको यही आक्रामकता र त्यसमा सानाले थपेको बलका कारण बजारमा उछालको माहौल बनेको हो ।

सेयर लगानीकर्ताहरुमा रास्वपाको स्थिर सरकार बनेपछि अर्थतन्त्र र सेयर बजारलाई राम्रोसँग बुझेका डा. स्वर्णिम वाग्ले अर्थमन्त्रीको रुपमा आउने विषयले समेत सकारात्मक प्रभाव पारेको देखिन्छ । यस्तै, रास्वपाले आफ्नो चुनावी बाचापत्रमा अन्य दलभन्दा एक कदम अगाडि बढेर सेयर बजारको दिगो सुधार तथा विकासका लागि सार्वजनिक गरेका प्रतिबद्धताका कारण समेत अहिले सोही दलको एकल सरकार बन्ने विषयले लगानीकर्तामा उत्साह थपेको देखिन्छ । रास्वपाले आफ्नो बाचापत्रमा सेयर बजारको आमूल सुधार गरी नेप्सेलाई अन्तराष्ट्रिय स्तरको बनाउने सगौरव घोषणा गरेको छ । यो विषयले समेत लगानीकर्ताहरुको अहिलेको उत्साहमा इन्धन भर्ने काम गरेको देखिन्छ ।

बजारका विज्ञ तथा विश्लेषक र अनुभवी लगानीकर्ताहरुले आजबाट सुरु भएको बुल लामो समयसम्म रहने तथा नेप्से परिसूचकले अलटाईम हाईको रेकर्ड ब्रेक गर्नेसम्मको प्रक्षेपण गरिरहेका छन् । राजनीतिमा आएको ऐतिहासिक परिवर्तन र त्यसपछि बजारका लगानीकर्तामा देखिएको उत्साहलाई हेर्ने हो भने नेप्सेले अलटाईम हाई ब्रेक गर्ने समय आउन धेरै दिन पर्खिनुपर्छ भन्ने देखिन्न ।

समानुपातिकमा रास्वपाले कटायो ४० लाख मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ४० लाख मत कटाएको छ।

बिहान साढे ११ बजेसम्मको मतगणना विवरण अनुसार रास्वपाले ४० लाख ७७ हजार ९०० मत ल्याएको छ।

निर्वाचन आयोगका अनुसार यस अवधिसम्म ८४ लाख ३५ हजार ०६४ मत  गणना भएको छ।

यस आधारमा रास्वपाले पाएको यो मत ४८ प्रतिशत बढी हो।

कांग्रेसले अहिलेसम्म १३ लाख ६७ हजार ५८३, एमालेले ११ लाख ५६ हजार ६५४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ५ लाख ९६ हजार ११३ मत, श्रम संस्कृति पार्टीले २ लाख ९४ हजार ७२६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ७८ हजार ३१८ मत ल्याएको छ।

जनता समाजवादी पार्टी (जसपा)नेपालले अहिलेसम्म १ लाख २६ हजार ८१७ मत ल्याएको छ।

सुन र चाँदी दुवैको मूल्य घट्यो

काठमाडौँ- सुनको मूल्य ३ हजार ७०० रुपैयाँले घटेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य ३ लाख १६ हजार ९०० रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ५ हजार ५ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ४१० रुपैयाँ कायम भएको छ ।

‘दिगो बुल’को छनक पाएपछि लगानीकर्ता उत्साहित, नेप्सेमा दोश्रो सर्किट

काठमाण्डौ- चुनावी परिणामको प्रभावले सेयर लगानीकर्तामा उच्च मनोबल देखिएको छ । लगानीकर्ताको मनोबल फर्किएपछि र ठूला तथा संस्थागत लगानीकर्ता समेत दिगो बुल सुरु हुने विश्वासहित बजारमा प्रवेश गरेपछि त्यसको प्रभाव नेप्से परिसूचकमा देखिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ मा राष्टिय स्वतन्त्र पार्टीको प्रचण्ड बहुमत आएपछि राजनीतिक स्थिरता हुने र त्यसले नीतिगत स्थिरता भई अर्थतन्त्रमा समेत सुधार हुने अपेक्षासहित लगानीकर्ताको मनोबल बढ्दा चुनावपछि सोमबार खुलेको बजारमा लगातार दोश्रो सर्किट लागेको छ ।

सोमबार बजार खुलेको एकमिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लगाई २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजारमा उछालको गति उस्तै रह्यो र फेरि एकमिनेटमै अर्को १ प्रतिशत विन्दू अर्थात कुल ५ प्रतिशतले नेप्से बढेपछि ४० मिनेटका लागि कारोबार हल्ट(स्थगन) भएको हो । पहिलो सर्किटपछि खुलेको बजार परिसूचक(नेप्से) ५ प्रतिशत(१३५.७२ अकं)बढेर २८४८.२२ विन्दूमा पुगेको छ ।

अब ४० मिनेटपछि खुल्ने बजार थप १ प्रतिशत विन्दू अर्थात कुल ६ प्रतिशतले बढ्यो भने आज(सोमबार)का लागि कारोबार बन्द हुनेछ ।

समानुपातिकतर्फ ८ क्षेत्रको मतगणना शुरू हुन बाँकी

काठमाण्डाै – गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ आठ क्षेत्रको मतगणना शुरू हुन बाँकी रहेको  छ ।

निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नम्बर १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना शुरू हुन बाँकी रहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

पर्सि बुधवार बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको आयोगले जनाएको छ । समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि ‘थ्रेसहोल्ड’ पार गरेका दलहरूले प्राप्त गरेका मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको सङ्ख्या निर्धारण गर्नेछन् ।

निर्धारित सङ्ख्यामा समानुपातिक क्लस्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि त्याे नामावली समावेशी क्लस्टर बमोजिम मिले/नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइने छ ।

आउँदाे चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको प्रवक्ता भट्टराईले बताए ।

 

चुनावी परिणामले सेयर बजारमा उछाल

काठमाण्डौ । चुनावी परिणामको प्रभाव सेयर बजारमा देखिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्टिय स्वतन्त्र पार्टीको प्रचण्ड बहुमत आएपछि राजनीतिक स्थिरता हुने र त्यसले नीतिगत स्थिरता भई अर्थतन्त्रमा समेत सुधार हुने अपेक्षासहित लगानीकर्ताको मनोबल बढ्दा चुनावपछि सोमबार

सोमबार बजार खुलेको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि सर्किट ब्रेक लगाई २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।

अब २० मिनेटको ब्रेकपछि खुल्ने बजार अर्को १ प्रतिशत विन्दू अर्थात कुल ५ प्रतिशतले बढ्यो भने दोस्रो सर्किट ब्रेक लगाई ४० मिनेटका लागि कारोबार स्थगन गरिन्छ ।

त्यसपछि पुनः खुलाइने बजारमा बढोत्तरी जारी रह्यो र थप १ प्रतिशत विन्दू अर्थात कुल ६ प्रतिशत बढ्यो भने आज(सोमबार)का लागि कारोबार बन्द हुनेछ ।

न्युजिल्यान्डलाई हराउँदै भारतले तेस्राे पटक जित्याे टी–२० विश्वकपकाे उपाधि

काठमाण्डाै- न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनले हरायो ।

भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १५९ रन बनाउँदा सबै विकेट गुमायो । न्युजिल्यान्डका टिम साइफर्टले ५२, कप्तान मिचेल स्यान्टरले ४३ रन बनाए । भारतका जसप्रित बुमराहले ४, अक्षर पटेलले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो । भारतका सन्जु सामसनले ५९, ईशान किशनले ५४, अभिषेक शर्माले ५२ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले ३ विकेट लिए ।

योसँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो ।

न्युजिल्यान्ड भने दाेस्राे पटक उपविजेता बनेकाे छ । न्युजिल्यान्ड यसअघि सन् २०२१ काे फाइनलमा अस्ट्रेलियासँग पराजित भएकाे थियाे ।

भारतले पछिल्लो २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको छ । भारतले सन् २०२४ को जुनमा टी–२० विश्वकप जितेको थियो । यस्तै २०२५ को मार्चमा आईसीसी च्याम्पियन्स ट्रफी जितेको भारतले गएराति टी–२० विश्वकप उपाधि जित्यो ।

१०औँ संस्करणको टी–२० विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाउने भारतका सन्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । यस्तै भारतकै जसप्रित बुमराह फाइनल खेलकाे उत्कृष्ट खेलाडी बनेका छन् ।

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ

काठमाण्डौ- राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुँदैछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारमा रहेको कानून, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ । राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि गएको माघ ११ गते चुनाव भएको थियो ।

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ । शपथ ग्रहणका लागि आफ्नो पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित उपस्थित हुनुपर्नेछ ।

नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले कानूनअनुसार शपथको व्यहोरा आफ्नो मातृभाषाका अनुवाद गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार गएको माघ ११ गते राष्ट्रियसभा सदस्य चुनावमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा निर्वाचित भएका छन् ।

मधेश प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित  भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका छन् ।

कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही निर्वाचित भएका छन् । त्यसैगरी सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित भएका छन् ।

समानुपातिक तर्फ रास्वपाले ५८ सिट पाउने, दोस्रोमा रहेको काँग्रेसको भागमा १९ सिट

काठमाण्डौं २५ फागुन।

समानुपातिक तर्फको ७५ प्रतिशतभन्दा बढि मत गणना हुदा रास्वपा दुई तिहाई नजिक पुगेको छ ।

७९ लाख १० हजार ४०८ मत गणना हुदा रास्वपाले ३८ लाख २२ हजार ६३२ मत पाएको छ । जुन करिव साढे ४८.३२ प्रतिशत हो । उसले यो मतका आधारमा ५८ सिट पाउनेछ ।

कांग्रेसले १२ लाख ८९ हजार ४४८ मत पाएको हो । जुन १६.३० प्रतिशत हो । उसले यो मतका आधारमा १९  सिट पाउनेछ ।

एमालेले १० लाख ८९ हजार ४४९ मत पाएको छ । करिव १३.७७ प्रतिशत मत पाएको उसले १६ सिट पाउने देखिन्छ ।

नेपाली कम्यूनिष्ट पार्टीको ५ लाख ६२ हजार ९१४ मत छ । ७.१२ प्रतिशत मत पाएको नेकपाले ८ सिट पाउने देखिन्छ ।

राप्रपाले २ लाख ६७ हजार ३०४ मत पाएको छ । साढे ३.३८ प्रतिशत भन्दा केही कम मत पाएको राप्रपाले ४ सिट पाउने  देखिन्छ ।

श्रम संस्कृति पार्टीको २ लाख ६२ हजार ६६० मत छ । तीन प्रतिशतभन्दा कही बढी मत पाएको उसको ४ सिट पाउने देखिन्छ ।

खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने देखिन्छ ।

अहिलेसम्मको मतगणना हेर्दा रास्वपा, कांग्रेस, एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले पनि थ्रेसहोल्ड कटाएका छन् । तर राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने जोखिममै छ । किनभने गणना गर्न बाँकी २५ लाख भन्दा बढी मतमा उनीहरुको अनुपात त्यही कायम हुने कि घट्ने भन्ने टुंगो छैन । गन्न बाँकी मतमा उनीहरुको अनुपात घटेर तीन प्रतिशत भन्दा कम भएमा भने उनीहरु थ्रेसहोल्डको सीमा नकटाएर सीट दाबी गर्न नपाउने अवस्थामा पुग्छन् ।

 

अछाम २ मा एमालेका बोगटी बिजयी

अछाम, २४ फागुन ।
अछाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका यज्ञ बोगटी बिजयी भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार पुष्प बहादुर शाहलाई ४७२ मतले पछि पार्दै एमालेका बोगटी निर्वाचित भएका हुन् ।

ढकारी गाउँपालिका वडा ८ को मतगणना समाप्त भएसंगै अछाम क्षेत्र नम्बर २ को मतगणना सकिएको हो । त्यसअघि ४५९ मतले अगाडि रहेका बोगटीले अन्तिम वडामा समेत शाहलाई रोकेर जित निकालेका हुन् ।

अछाममा २ मा खसेका ३२,४०८ मतमध्ये बोगटीले ९५१८ मत पाए । उनलाई शुरुवातदेखि पछ्याईरहेका शाहले ९०४६ मत   पाए ।

प्राप्त मतसंख्याका आधारमा तेस्रोमा नेकपाका बल बहादुर कुँवर रहे । कुँवरले ६४९३मत ल्याएका छन् । चौथोमा रास्वपाका भुप देव शाह रहेका छन् । शाहको ४५६२ मत रहेको छ ।

अन्य उम्मेदवारहरुले पाएको मत विवरण :

• गुलाब : ५५८

• हलो : १६७
• मादल : ६०
• चिम : ५३
• आँखा : ११३

कुचो बोकेर अभियान चलाएका खनाल अब सांसद

कैलाली- केपी खनालले १७ वर्षकै कलिलो उमेरमा ‘कान्छा अभियन्ता’को पहिचान बनाएका थिए । कुनै बेला उनी काठमाडौंका सडकमा कुचो बोकेर ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्दै हिँड्थे । हातमा कुचो र मनमा देशप्रेम बोकेर हिँडेका खनालले सयौं युवालाई सामाजिक कार्यमा गोलबन्द गरे । राजधानी मात्र होइन, विकट बाजुराको बुढीगंगामा अनाथ बालबालिकाका लागि बालगृह निर्माण गर्नेदेखि अनेकौं सामाजिक सेवामा उनी अनवरत खटिए ।

किशोरावस्थादेखि नै देशमा केही गरौं भन्ने हुटहुटीले सामाजिक कर्ममा लाग्दै आएका खनालको काँधमा अहिले जिम्मेवारी थपिएको छ । सरसफाइ अभियानबाट माथि उठेर राज्य संयन्त्रकै सफाइ गर्ने अठोटका साथ उनले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली-२ मा रास्वपाबाट उम्मेदवारी दिएका थिए । प्राय: सामाजिक कार्यमा देखिने खनालको धोको पूरा गराउन कैलाली-२ का नागरिकले मतदानमार्फत साथ दिए ।

उनी यस निर्वाचनमा ७ हजार १०८ मतान्तरले विजय भए । खनालले १९ हजार ५७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरी ११ हजार ९४९ मतमा सीमित बने । यो क्षेत्रमा एमालेका सूर्यबहादुर थापा ७ हजार ८८६ मतसहित तेस्रो बने । जितको दाबेदार मानिएका नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ मत मात्रै प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउदले ४ हजार ३६९ मत ल्याए ।

२०५६ सालमा अछामको दुर्गम रामारोशनमा जन्मिएका खनाल सानै उमेरमा छिमेकी मुलुक भारतमा मजदुरी गर्न पुगेका थिए । भारतबाट फर्किएर अध्ययन सुरु गरेका खनाल ७ कक्षा पढ्दापढ्दै रेडियोकर्मी पनि बने । प्लस टू अध्ययनका क्रममा काठमाडौं छिरेका खनालले देशको राजधानी काठमाडौंमा फोहोरको डंगुर देखेपछि सुरु गरेका थिए, ‘क्लिन काष्ठमण्डप’ अभियान । त्यहीबेलादेखि उनको ‘कान्छा अभियन्ता’का चिनारी बनेको थियो ।

सामाजिक कर्ममा निस्वार्थ हेलिएका खनाल ‘नेसनल युथ आइकोन’ र ‘जनसेवा श्री’ जस्ता प्रतिष्ठित सम्मानको हकदार बने ।

सामाजिक कामले मात्रै समाजको दिगो रूपान्तरण सम्भव छैन भन्ने महसुस भएपछि खनालले राजनीतिको बाटो रोजेका हुन् । चुनावी अभियानका क्रममा धनगढीको सभालाई सम्बोधन गर्ने क्रममा खनालले भनेका थिए, ‘अब सुदूरपश्चिमका युवाले झाडु लिएर भारत र खाडीका सडक सफा गर्ने होइन, परिवर्तनको कलमले देशको नीति बदल्ने हो ।’ त्यो भावना र चाहनालाई पूरा गराउन जनताले उनलाई संसदीय यात्रा तय गराएका छन् ।

स्वच्छ छवि र युवा जोस देखिने खनाललाई लम्कीचुहा नगरपालिकाका स्थानीय युवा र मतदाताको ठूलो साथ थियो । उनको प्रेरणादायी पृष्ठभूमिले साधारण मानिसहरूलाई पनि आकर्षित गर्थ्यो । यद्यपि, राजनीतिक विरासतको अभाव तथा क्षेत्रीय समीकरणहरू उनका लागि केही प्रतिकूल थिए । तर भ्रष्टाचारको अन्त्य र सुशासनको जुन नारा उनले बोके त्यो कैलाली-२ का जनताले पत्याए । स्नातक तहसम्म अध्ययन गरेका खनाल पहिलोपटक संसदीय यात्रा हो । उनले आफ्नो क्षेत्रको सामाजिक, आर्थिक र शैक्षिक विकासका ठोस मुद्दा लिएर घरदैलो गए । जनता, मतदातासँग गरेका वाचा कसरी पूरा गर्छन्, उनको भावी कार्यशैलीले बताउनेछ ।

प्रतिनिधिसभा चुनाव : ३८८ प्रतिस्पर्धी महिला मध्ये १४ मात्रै निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट १४ जना महिला उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार रास्वपाबाट १३ र कांग्रेसबाट एक जना प्रतिनिधिसभा सदस्य बनेका छन् । रास्वपाले १६ र कांग्रेसले ११ निर्वाचन क्षेत्रमा महिला उम्मेदवारहरू खडा गरेको थियो ।

यस्तै नेकपा एमालेले १० र नेपाली कम्युनिष्ट पार्टीले ११ महिलालाई उम्मेदवार बनाएको थियो । आयोगका अनुसार निर्वाचनमा ३८८ महिला उम्मेदवारहरू प्रतिस्पर्धामा थिए ।

कांग्रेसबाट उम्मेदवार बनेका ११ महिला नेतृमध्ये बासना थापाले मात्रै जित निकालेकी छन् । उनी दैलेख–१ मा १२ हजार ३७२ मत ल्याएर प्रतिनिधिसभा सदस्य बनेकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रविन्द्रराज शर्माले ११ हजार ७६९ मत पाउँदा रास्वपाका नन्दकिशोर बस्नेत आठ हजार १५१ मतसहित तेस्रो भएका छन् ।

रास्वपाबाट निवर्तमान उपसभामुख इन्दिरा राना मगर झापा–२ मा ६० हजार ११० मतसहित विजयी भएकी छन् । यस्तै चितवन–३ मा ५९ हजार २७७ मत ल्याएर सोबिता गौतम निर्वाचित भएकी छन् ।

झापा–१ बाट ४५ हजार ६८० मतसहित निशा डाँगी र सर्लाही–१ बाट ४४ हजार १८१ मतसहित नीतिमा भण्डारी कार्की विजयी भएको आयोगले जनाएको छ ।

यस्तै तोसिमा कार्की ललितपुर–३ बाट ४३ हजार ९६, आशिका तामाङ धादिङ–१ बाट ३९ हजार १२८ मत ल्याएर विजयी भएका छन् ।

सप्तरी–१ बाट विजयी पुष्पाकुमारी चौधरीले ३८ हजार १९५, कास्की–३ बाट विजयी बिना गुरूङले ३७ हजार ७५० मत ल्याएका छन् ।

आयोगका अनुसार रास्वापा नेतृ आशा झा मोरङ–५ र गौरी कुमारी महोत्तरी–४ बाट विजयी भएका छन् । उनीहरूले क्रमशः ३० हजार ४३४ र ३० हजार १३२ मत पाएका छन् ।

रास्वपा नेतृ कोमल ज्ञवाली कैलाली–१ बाट १७ हजार ८२६ मत र रञ्जु न्यौपाने काठमाडौं–१ बाट १५ हजार ४५५ मत पाएर निर्वाचित भएका छन् ।

त्यसैगरी मोरङ–६ बाट रुबिना आचार्य विजयी भएकी छन् । उनले ५५ हजार ५१३ मत पाएको आयोगले जनाएको छ ।

कैलाली-२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी

कैलाली । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् ।

२६ वर्षीय उनले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरे । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल भए । चौधरीले ११ हजार ९४९ मत ल्याए ।

त्यस्तै एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत ल्याए ।

यसअघि कैलाली १ मा रास्वािकी कोमल ज्ञवाली, ३ मा रास्वपाकै जगतप्रसाद जोशी, ४ र ५ मा पनि रास्वपाकै खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भएका छन् ।

कैलालीका पाँचवटै क्षेत्रमा रास्वपाको क्लिन स्वीप

 यशोदा शर्मा,

कैलाली । प्रतिनिधिसभा निर्वाचनमा कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिन स्वीप गरेको छ। परम्परागत राजनीतिक दलका किल्लाहरूलाई भत्काउँदै यहाँका जनताले परिवर्तनको पक्षमा मतदान गरेका छन् ।  विभिन्न क्षेत्रमा कांग्रेस एमाले तत्कालीन माओवादी, र पछिल्लो समय पहिचानको मुद्दासहित उदयको नागरिक उन्मुक्ति पार्टीलाई पनि मौका नदिइ कैलालीका जनताले रास्वपामा एकहोरो मतदान गरेका हुन् ।
यस अघि कैलालीका चारवटै क्षेत्रमा जितिसकेको रास्वपाले क्षेत्र नम्बर २ मा केपी खनालको विजयसँगै क्लिन स्वीप गरेको हो।
क्षेत्र नम्बर २ मा खनालले ७१०८ मतको भारी मतान्तरले प्रतिद्वन्दीलाई हराउँदै विजय भएका हुन् । खनालले १९ हजार 57 मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरीले  ११,९९४ मतमा खुम्चिएका हुन् । नेकपा एमालेको पकट क्षेत्र मानिएको यो क्षेत्रमा एमालेका सूर्यबहादुर थापाले ७,८८६ मत सहित तेस्रो स्थानमा झरेका छन् । जितको दावेदार मानिएका नेपाली कांग्रेसका विजयबहादुर स्वारले  ७,२१३ मत प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउथले ४३६९ मत ल्याए।
यो क्षेत्रमा  १ लाख ७०५७ मतदाता रहेकोमा ५६ हजार ७७० मत खसेको थियो।

सुनसरी–१ मा रास्वपालाई हराउँदै हर्कराज राई निर्वाचित

सुनसरी- सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष  हर्कराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले ३५ हजार ७४१ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङलाई पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार रास्वपाकी तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन् । राईले तामाङलाई ८ हजार ४ सय ९२ मतको अन्तरले पराजित गरेका हुन् । धरान उपमहानगरपालिकाका मेयरबाट राजिनामा दिएर  राई यस पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

स्थानीय तहबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै उनले पहिलो पटक संसदीय यात्रा तय गरेका हुन् । निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनका समर्थकहरूले धरानमा विजय उत्सव मनाएका छन् । राईले आफ्नो जितलाई जनताको परिवर्तनको चाहना र विश्वासको परिणाम भएको बताएका छन् ।

जाँचबुझ आयोगले सरकारलाई बुझायो जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन

काठमाडौं : जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ। आइतबार सिंहदरबार पुगेर आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुसन्धानको प्रतिवेदन बुझाएको हो।

जेनजी आन्दोलनका घटनाको छानबिन गर्न सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। सुरूमा तीन महिनाको समयावअधि दिएको थियो। तर,  तोकिएकै समयम काम पूरा नगरेपछि सरकारले बीचमा म्याद थप गरेको थियो।

आयोगमा पूर्व एआईजी विज्ञान राज शर्मा र विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहेका छन्।  भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा ७४ जनाले ज्यान गुमाएका थिए।आन्दोलनका क्रममा देशको  प्रशासनिक केन्द्र सिंहदरबार तथा सर्वोच्च अदालतसहित विभिन्न सार्वजनिक संस्थाहरूमा तोडफोडका साथै आगजनी भएको थियो।

खोज्नुहोस