सुदूरपश्चिमका १० सिटमा रास्वपाको क्लीन स्वीप

द एभरेष्ट पोष्ट
२५ फागुन २०८२ १५:३८
सुदूरपश्चिमका १० सिटमा रास्वपाको क्लीन स्वीप

कैलाली ।  परम्परागत दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीको पालैपालो जित्दै आएको सुदूरपश्चिमका १० वटा निर्वाचन क्षेत्रमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले ‘क्लिन स्वीप’ गरेको छ ।
तराईमा ‘क्लिन स्वीप’ गरेको रास्वपालाइ पहाडमा भने प्रतिस्पर्धामा आउन कठिन भयो । त्यहाँका २ सीटमा उसले जित निकालेपनि अन्य छ सीटमा परम्परागत दलकै बर्चस्व रह्यो । जहाँ रास्वपा प्रतिस्पर्धामा पनि आउन सकेन् । तराईमा चलेको रास्वपाको जादू सुदूर पहाडमा निस्प्राभी हुदा काँग्रेस र एमालेले बीउ जोगाए ।
देशैभरी निरीह देखिएका काँग्रेस र एमाले सुदूर पहाडमा भने बलिया देखिए । कैलालीका पाँच र कञ्चनपुरका ३  क्षेत्रका रास्वपाले क्लीनस्वीप गरेको छ ।
२०१५ सालको पहिलो आम निर्वाचन र २०४९ मा काँग्रेसले क्लिन स्वीप गरेको सुदूर पश्चिममा ५१ मा नेकपा एमालेले क्लिन स्वीप गरेको थियो । २०५६ मा मिश्रित नतिजा दिएको

सुदूरमा २०६४ सालको संविधान सभाको निर्वाचनमा तत्कालिन नेकपा माओवादीको सुनामीमा काँग्रेस र एमालेलाई बिउ जोगाउन हम्मेहम्मे भएको थियो ।
२०७०, ७४, ७९ मा परम्परागत दलहरुबीचकै गठबन्धनले सुदूर पश्चिममा कुनै एउटा दलले जादू चलाउन सकेन् । २०७९ मा कैलालीका पाँचमध्ये तीन निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले क्लिन स्वीप गरेको थियो । यस पटक भने परम्परागत दलहरुको सुदूर किल्लालाई रास्वपाले भत्काईदियो ।

कैलाली–१ म आफ्नै दलभित्रको असन्तुष्टिलाई चिर्दै रास्वपा उम्मेदवार कोमल ज्ञवाली विजय मात्र भइनन् । प्रत्यक्षमा सुदूरपश्चिमबाट जित्ने एक मात्र महिला बनिन् । थारु बाहुल्यता रहेको क्षेत्रमा उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जनकराज चौधरीलाई ४ हजार ९५९ मतान्तरले पछि पार्दै विजयी भइन् ।
ज्ञवालीले १७ हजार ८२६ मत पाउदा चौधरीले १२ हजार ८६७ मत पाएका पाए । तेस्रो स्थानमा रहेको नेकपाका रामलाल डंगौरा थारुले ८ हजार ३९२ मत ल्याउदा नेकपा एमालेका द्वारिका प्रसाद न्यौपाने ४ हजार ४९३ मतमा समेटिएका हुन् ।

क्षेत्र नम्बर–२ मा रास्वपाका केपी खनालले ७ हजार १०८ मतको भारी मतान्तरले प्रतिद्वन्दीलाई हराउदै विजय भएका छन् । खनालले १९ हजार ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरीले  ११ हजार ९४९ मतमा खुम्चिएका हुन् ।
यो क्षेत्रमा एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत सहित तेस्रो स्थानमा झरेका छन् । जितको दावेदार मानिएका नेपाली कांग्रेसका विजय बहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउदले ४ हजार ३६९ मत ल्याए । यो क्षेत्रमा  १ लाख ७ हजार ५७ मतदाता रहेकोमा ५६ हजार ७७० मत खसेको थियो ।

कैलाली क्षेत्र नम्बर ३ मा रास्वपाकै जगत बहादुर जोशी विजय भइसकेका छन् । उनी निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका बिरमान चौधरीलाई ८ हजार ३७६ मतको भारी मतान्तरले हराउदै विजय भएका हुन् । जोशीले २० हजार ३५९ मत पाउदा चौधरीले ११ हजार ९८३ मत प्राप्त गरे ।
यो क्षेत्रमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ हजार ७०६ मत पाउदा  चौथो स्थानमा रहेको नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले ६ हजार ७४७ मत प्राप्त गरे । चौथो स्थानमा समेटिएका एमाले उम्मेदवार गौरीशंकर चौधरीले ४ हजार ७५२ मत प्राप्त गरे ।

क्षेत्र नम्बर ४ मा पनि रास्वपाको लहरले आफ्नो प्रभाव कायम राख्न सफल भयो । यो क्षेत्रका रास्वपा उम्मेदवार खेमराज कोइराला  आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोरखबहादुर बिष्टलाई १७ हजार २५५ मतको भारी अन्तरले पछि पार्दै विजय भएका छन् । कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दा बिष्टले ११ हजार ३०१ मत प्राप्त गरे ।
यस्तै तेस्रो स्थानमा रहेको नेकपा एमालेका लेखराज भट्टले ९हजार ४४४ मत प्राप्त गरे भने चौथो स्थानमा नेकपाका हरिराम चौधरी ५ हजार ६०९ मतमा समेटन पुगे ।
सुदूर राजनीतिको मुख्य केन्द्र मानिने कैलाली ५ का मतदाता अस्थिर छन् । विषेस क्षेत्र मानिने यहाँका मतदाताले कहिले नेकपा एमाले, कहिले नेपाली कांग्रेस त कहिले माओवादी उम्मेदवारलाई विजय गराए । तर यसपटक भने रास्वपाको लहर यसरी चल्यो मतदाताले अरु उम्म्ेदवार नै देखेनन् ।

रास्वपाका आनन्दबहादुर चन्द ३१ हजार ९५३ मतले विजयी हँुदा दशकौको राजनीतिक विरासत बोकेका परम्परागत दलहरू नराम्रो संग पछारिए । यो क्षेत्र एमाले र काग्रेस दुबैको राम्रो सांगठनिक पकड भएको क्षेत्र हो । तर रास्वपाका चन्दले नेपाली कांग्रेसका यो क्षेत्रका प्रभावशाली नेता नरनारायण शाहलाई झण्डै २० हजार मतान्तरले पछि पारे । शाहले  ११ हजार ९५८ मत मात्रै प्राप्त गरे ।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका प्रेमबहादुर आलेले ७ हजार ८८६ मत मात्रै प्राप्त गरे । सुदूरपश्चिमको राजनीतिमा प्रभावशाली नेताका रूपमा चिनिने आलेले डोटीबाट प्रतिनिधिसभाको निर्वाचनमा लगातार तीनपटक जितेर ह्याट्रिक गरेका थिए । तर यसपटक चुनावी क्षेत्र परिवर्तन गर्दै कैलाली झरेका आले नराम्रोसँग पराजित भए ।

२०७९ को स्थानीय तहको निर्वाचनको मत हेर्दा नेकपा एमालेको पकड र राम्रो सांगठनिक प्रभाव क्षेत्र मानिएको कैलाली ५ मा यसपटक एमाले चौथो स्थानमा समेटियो । एमाले उम्मेदवार यज्ञराज ढुङ्गानाले ५ हजार ८३९ मतमै चित्त बुझाउनुपर्यो ।
कैलालीमा नौ लाख ११ हजार जनसंख्या रहेको छ भने ५ लाख ५१ हजार भन्दा बढी मतदाता रहेका छन् ।

कञ्चनपुर पनि घण्टीमय
कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले क्लिन स्वीप गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार कञ्चनपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार जनकसिंह थामी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बिना मगरलाई १३ हजार २२ मतान्तरले उनले पराजित गरे । सिंहले २४ हजार ३३२ मत प्राप्त गर्दा  पराजित बिना मगरले ११ हजार ११० मत ल्याएकी छन् ।
यस्तै कञ्चनपुरमा क्षेत्र नम्बर–२ मा पनि रास्वपाकै उम्मेदवार दीपकराज बोहराले विजय प्राप्त गरेका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश साँउदलाई २३ हजार १२५ मतको फराकिलो अन्तरले पराजित गर्दै बोहरा विजयी भए । उनले ३३ हजार ९५२ मत प्राप्त गर्दा पराजित साँउद १० हजार ८२७ मतमा समेटिए ।
क्षेत्र नम्बर ३ मा पनि रास्वपाकै उम्मेदवार ज्ञानेन्द्र सिंह महता विजयी भएका भए आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहरालाई १७ हजार ६७५ मतको भारी अन्तरले पराजित गर्दै सिंहले संसदको यात्रा तय गरेका हुन् । विजय सिंहले २७ हजार ११८ मत पाउ“दा पराजित बोहराले ९ हजार ४४३ मत मात्रै पाएका थिए ।

जोगिएन डडेल्धुराको ३४ वर्षीय विरासत

सुदुरपहाडका सात जिल्लाका ८ निर्वाचन क्षेत्र मध्य रास्वपाले २ क्षेत्रमा मात्रै जित हासिल गर्न सफल भयो । बाँकी छ क्षेत्रमा परम्परागत दलकै उम्मेदवार विजयी भएका छन् । पुर्व प्रधान मन्त्री सेर बहादुर देउवाको आधार इलाका  डडेल्धुरा क्षेत्र नम्बर १ नेपालको राजनीतिमा सधै चर्चाको विषय बन्यो ।
२०४८ यता यसै क्षेत्रबाट पटक पटक संसदीय निर्वाचन जितेर सत्ताको केन्द्रमा रहेका देउवाले यसपटक टिकट पाएनन् । उनको अनुपस्थितिमा देशै भरी चलेको रास्वपाको लहरले डडेल्धुराको ३४ वर्षीय राजनीतिक विरासत ढालिदिएको छ ।

यसपटकको प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा ताराप्रसाद जोशी विजयी भए संगै डडेल्धुराको राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल आएको छ । जोशीले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा मात्र तय गरेनन्, डडेल्धुरामै नयाँ इतिहास पनि रचेका छन् ।
उनले निकटतम प्रतिद्वन्दी महरलाई ७ हजार १० मतको अन्तरले पराजित गरेका हुन् । जोशीले १९ हजार १३१ मत ल्याउँदा पराजित भएका महर १२ हजार १२१ समेटिए ।
उता बैतडी क्षेत्र नम्बर १ मा पनि मुख्य दलहरुलाई पछि पार्दै रास्वपाका उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतको अन्तरले पराजित गर्दै भण्डारी विजय भए । उनले २२ हजार १३४ मत प्राप्त गर्दा पराजित चन्दले १८ हजार १९४ मत ल्याएका हुन् ।

तीन/तीन सिटमा समेटिए काँग्रेस, एमालेले : नेकपा सुन्य
निर्वाचन आयोगको मत परिणाम अनुसार सुदूरपश्चिमका ६ सिट मात्र काँग्रेस र एमालेले जितेका छन् । बाजुरा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतले हराउँदै गिरी विजयी भएका हुन् । उनले १७ हजार १७३ मत पाउँदा पराजित थापाले १६ हजार ६३३ मत प्राप्त गरे ।
दुई निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र नम्बर–१ मा काँग्रेसका उम्मेदवार भरत कुमार स्वार विजय भएका छन् । उनले १० हजार ७५९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार भीम बहादुर रावलले १० हजार २३३ मत ल्याए ।
क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार यज्ञ बहादुर बोगटी विजयी भएका छन् ।  । उनले ९ हजार ५१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरे ।  यस्तै तेस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका बलबहादुर कुँवरले ६ हजार ४९३ मत र चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाहले ४ हजार ५६२ मत प्राप्त गरेका छन् ।
उता एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपकबहादुर धामीलाई ७८७ मतान्तरले पराजित गर्दै खड्का विजयी भए । उनले १४ हजार ८९७ मत प्राप्त गर्दा पराजित धामीले १४ हजार ११० मत मात्रै ल्याएका थिए  ।
बझाङमा– १ मा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएका भए । उनले १८ हजार ५४३ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरे । स्नेही र महर बीचको मतान्तर २ हजार २३९ रहेको छ ।
माथि दार्चुलामा पनि नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्ना विजय भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीलाई ३ हजार ५५ मतको अन्तरले पराजित गर्दै ठगुन्नाले संसदको यात्रा तय गरे । उनले १८ हजार ८९१ मत प्राप्त गर्दा पराजित जोशीले १५ हजार ८३६ मत ल्याएका थिए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले भने सुदूरपश्चिममा १ सिट पनि ल्याउन सकेन । प्रदेशका १६ मध्य १० सिट रास्वपाले जिते संगै सुदूरपश्चिमको राजनीतिक सत्ता समीकरणमा ठुलो परिवर्तन आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस