ओपीडी बन्द भएपछि सेती प्रादेशिक अस्पतालमा अस्तव्यस्त
कैलाली । नेपाल चिकित्सक संघले देशभर सञ्चालन गरेको आन्दोलनको प्रभाव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पनि देखिन थालेको छ। आन्दोलनका कारण आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द भएपछि उपचारका लागि आएका बिरामी मारमा परेका छन्।
मंगलबार बिहानदेखि अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा प्रभावित भएपछि ओपीडी सेवा ठप्प भएको छ। उपचारका लागि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका बिरामी लामो समयसम्म चिकित्सकको प्रतीक्षा गर्दा पनि सेवा नपाएपछि निराश हुँदै फर्किन बाध्य भएका छन्।
धनगढी–१३ फूलबारीकी हाँसिना चौधरी बिहान ८ बजे छोरालाई उपचार गराउन अस्पताल पुगेकी थिइन्।
तर बिहान ११ बजेसम्म पनि चिकित्सक नआएपछि उपचार नै नगराई घर फर्किनुपरेको उनले बताइन्।
‘बिहानैदेखि कुरिरहेका थियौं। डाक्टर नै आउनुभएन। अन्त्यमा उपचार नपाई फर्किनुपर्यो,’ उनले भनिन्।
केही साताअघि सेती प्रादेशिक अस्पतालमै शल्यक्रिया गराएका डडेल्धुराका एक बिरामी टाँका काट्नका लागि अस्पताल पुगेका थिए। तर सेवा बन्द भएकै कारण उपचार नपाई फर्किनुपरेको उनले गुनासो गरे।
यस्तै धनगढीको शिवनगरकी नौ महिनाकी गर्भवती प्रिया धामी अन्तिम स्वास्थ्य परीक्षण (चेकअप) गराउन अस्पताल पुगेकी थिइन्। चिकित्सकको सेवा उपलब्ध नभएपछि उनी पनि निराश भएर फर्किन बाध्य भइन्।
‘बाहिर हिँड्न पनि गाह्रो हुन्छ। अन्तिम पटक चेकअप गराउन आएको थिएँ, तर डाक्टर नभएकाले फर्किनुपर्यो,’ उनले भनिन्।
नेपाल चिकित्सक संघले चिकित्सकमाथि बढ्दो हिंसा तथा असुरक्षाविरुद्ध आन्दोलन घोषणा गरेपछि त्यसको प्रभाव सेती प्रादेशिक अस्पतालमा पनि परेको हो। आन्दोलनका कारण नियमित स्वास्थ्य सेवा प्रभावित हुँदा टाढाटाढाबाट उपचारका लागि आएका बिरामी सबैभन्दा बढी समस्यामा परेका छन्।
यता सेती प्रादेशिक अस्पताल प्रशासनले भने ओपिडी बाहेक आकस्मिक र आइपीडी सेवा सञ्चालनमा रहेको जानयको छ । भोलि सेवा सञ्चालन हुने बारे अहिले नै जानकारी नआइसकेको अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज साँझ चिकित्सक संघको निर्णय आएपछि मात्रै भोलिको सेवा बारे निर्णय हुनेछ ।
