त्रिविले लागू गर्‍यो कडा आचारसंहिता, उल्लंघन गर्नेको परीक्षा नै रद्द

द एभरेष्ट पोष्ट
११ साउन २०८३ १३:०९
त्रिविले लागू गर्‍यो कडा आचारसंहिता, उल्लंघन गर्नेको परीक्षा नै रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर तथा एमफिल तहका सत्रान्त परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन कडा परीक्षा आचारसंहिता जारी गरेको छ ।

डीनको कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार परीक्षामा सहभागी हुने सबै परीक्षार्थीले अनिवार्य रूपमा तोकिएका नियम तथा निर्देशिकाको पालना गर्नुपर्नेछ । नियम उल्लंघन गर्ने परीक्षार्थीमाथि विश्वविद्यालयको परीक्षा नियमावलीअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

प्रत्येक परीक्षार्थीले परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको आधिकारिक प्रवेशपत्र हरेक दिन परीक्षा केन्द्रमा अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । साथै परीक्षा केन्द्रले निर्धारण गरेको रोल नम्बरअनुसारको सिटमा बसेर मात्र परीक्षा दिन पाइने व्यवस्था गरिएको छ ।

परीक्षाको क्रममा केन्द्राध्यक्ष वा निरीक्षकको अनुमतिबिना आफ्नो सिट वा परीक्षा भवन छाड्न नपाइने उल्लेख गरिएको छ। त्यस्तै परीक्षा सुरु भएको पहिलो एक घण्टाभित्र कुनै पनि परीक्षार्थीलाई परीक्षा भवनबाट बाहिर निस्कन अनुमति नदिइने जनाइएको छ ।

महाशाखाले मोबाइल फोन, स्मार्ट वाचलगायत सबै प्रकारका इलेक्ट्रोनिक उपकरण, चिट, पुस्तक वा अन्य निषेधित सामग्री परीक्षा भवनभित्र लैजान पूर्ण  प्रतिबन्ध लगाएको छ । यस्ता सामग्री फेला परेमा नियमअनुसार कारबाही हुने चेतावनी दिइएको छ । त्यसैगरी नक्कल गर्ने, अरूलाई नक्कल गर्न सहयोग गर्ने, अरूको सट्टा परीक्षा दिने परीक्षा सञ्चालनमा अवरोध पु‍र्‍याउने वा परीक्षा कर्मचारीप्रति अभद्र व्यवहार गर्ने जस्ता गतिविधिलाई पनि कडाइका साथ निषेध गरिएको छ ।

महाशाखाले परीक्षा नियम तथा आचारसंहिताको उल्लंघन गरेको पाइएमा परीक्षा रद्द गर्ने, निश्चित अवधिसम्म परीक्षामा सहभागी हुन रोक लगाउने तथा आवश्यक परे कानुनी कारबाहीसमेत गरिने स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस