कैलालीमा चुनाव लडेका ७५ जना मध्ये एक जनाले मात्र बुझाए निर्वाचन खर्च

धनगढी: कैलालीमा चुनाव लडेका ७५ जना मध्ये मतगणना सकिएको दोस्रो दिन एक जना उम्मेदवारले निर्वाचन खर्च बुझाएका छन्।सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार उज्यालो पार्टी नेपालका कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका चन्द्र साउँदले सबै भन्दा पहिले आइतवारनै निर्वाचन खर्च विवरण बुझाएका हुन्।प्रदेश निर्वाचन कार्यालयका अनुसार यो कार्यालयमा कैलालीभरिका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारले खर्च विवरण कार्यालयमा बुझाउने छन्।

सुदूरपश्चिमका अन्य जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारहरूले भने आ–आफ्नो सम्बन्धित निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने छन्। सोही अन्तरगत खर्च विवरण बुझाउने काम भइरहेको छ।

अहिलेसम्म कैलालीमा भने एक जना उम्मेदवारको मात्रै खर्च विवरण प्राप्त भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए।

प्रधानमन्त्रीलाई नैनसिंह महरको पत्र : म्यादी प्रहरीलाई बेरोजगार नबनाऊ, उद्यमशीलतासँग जोड

काठमाडौँ- नेपाली कांग्रेसका नेता नैनसिंह महरले निर्वाचनको सुरक्षामा खटिने हजारौँ म्यादी प्रहरीको भविष्य सुरक्षित गर्न सरकारसँग विशेष प्याकेजको माग गरेका छन्। प्रधानमन्त्रीलाई सम्बोधन गर्दै सार्वजनिक गरिएको ध्यानाकर्षण पत्रमा महरले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न म्यादी प्रहरीको भूमिका अतुलनीय रहे पनि काम सकिएकै भोलिपल्ट उनीहरू बेरोजगार बन्नुपर्ने बाध्यता रहेको औंल्याएका हुन्।

राज्यले युवाहरूलाई केही दिनको रोजगारी दिएर बिदाइ गर्नुको सट्टा उनीहरूको बिदाइलाई बेरोजगारीको सुरुवात नभई उद्यमशीलताको प्रस्थानबिन्दु बनाउनुपर्ने उनको तर्क छ। नेता महरले गृह, श्रम, उद्योग र अर्थ मन्त्रालयको समन्वयमा निर्वाचन प्रहरी उद्यमशीलता रूपान्तरण कार्यक्रम तत्काल मन्त्रिपरिषद्‌बाट पारित गरी देशव्यापी रूपमा लागू गर्न जोडदार माग गरेका छन्।

युवाहरूको रुचि र स्थानीय सम्भाव्यताका आधारमा आधुनिक कृषि, पर्यटन, प्राविधिक सीप र घरेलु उद्योगजस्ता तालिम दिएर उनीहरूलाई स्वरोजगार बनाउनुपर्नेमा उनले जोड दिएका छन्। यसका लागि सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने र युवा पलायन रोक्ने सुदृढ राष्ट्रिय नीति निर्माण गर्नुपर्ने महरको भनाइ छ।

यस्तो बृहत् आर्थिक तथा सामाजिक रूपान्तरणको अभियान संघीय सरकारको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै महरले बहुपक्षीय समन्वयको आवश्यकतासमेत औंल्याएका छन्। उनले देशका विश्वविद्यालयहरूले नवप्रवर्तन र बजार अनुसन्धानमा नेतृत्व लिनुपर्ने तथा सीटीईभीटीले व्यावहारिक सीपमूलक पाठ्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

सीप सिकेर गाउँ फर्केका युवाहरूलाई बिउ पुँजी र बजार व्यवस्थापनमा प्रदेश तथा स्थानीय तहले अभिभावकत्व ग्रहण गर्नुपर्ने पत्रमा उल्लेख छ। सानो पुँजी र सीपबाट सुरु हुने हजारौँ स्थानीय उद्यमले देशमा व्याप्त बेरोजगारी समस्या समाधान गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ऐतिहासिक भूमिका खेल्ने महरको विश्वास छ।

उनले आफ्नो पत्रको बोधार्थ गृह, श्रम, उद्योग र अर्थ मन्त्रीलाई समेत बुझाउँदै युवा शक्तिलाई राष्ट्र निर्माणको मूल प्रवाहमा ल्याउन ढिलाइ नगर्न सचेत गराएका छन्। निर्वाचन सकिएपछि युवाहरूलाई रित्तो हात घर पठाउने परम्परागत प्रवृत्तिको अन्त्य नभएसम्म देशको समृद्धि सम्भव नहुने दाबी महरले गरेका छन्।

गृहमन्त्री र नेपालका लागि चिनियाँ राजदूत चाङ बीच भेट

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।

गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे।

सो भेटमा चिनियाँ राजदूत माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

गृहमन्त्री अर्यालले चीनले आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको सहयोगको निरन्तरता र भविष्यमा हुने सहयोग थप बढ्ने विश्वास व्यक्त गरे। उनले टेलिकम क्षेत्र र साइबर क्राइमको क्षेत्रमा बहुपक्षीय सहयोग र सहकार्यको प्रस्ताव पनि गरे।

भेटका क्रममा चिनियाँ राजदूतचाङ माओमिङले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद ज्ञापन गरे।

मन्त्रालयले निर्वाचन सुरक्षा, सीमा सुरक्षा व्यस्थापनमा गरेका कामको उच्च प्रसंशा गर्दै उनले नेपाल चीनको ऐतिहासिक सम्बन्ध अझै थप बलियो बनाउने प्रतिवद्धता जनाए।

राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा स्वतन्त्रता प्रति चीनको निरन्तर प्रतिवद्धता रहेको दोहोर्‍याए।

राजदूत माओमिङले गृहमन्त्री अर्याललाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेकामा बधाइ ज्ञापन गरे।

शुक्लाफाँटामा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मङ्गलबारदेखि बाघ गणना सुरु भएको छ ।

राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

आज बिहान एक कार्यक्रम आयोजना गरी निकुञ्ज कार्यालयले औपचारिक रुपमा बाघ गणना सुरु गरेको हो । शुक्लाफाँटा–लालझाडी–जोगबुडलाई दुई गुणा दुई किलोमिटरका २६० ग्रिडमा विभाजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । यसअघि ४३ पाटेबाघ गणना गरिएको शुक्लाफाँटामा हरेक वर्ष बाघ गणना गरिँदै आएको छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा मुलुकमै थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्ज हो ।

आहार प्रजातिको पर्याप्तताका कारण यहाँ बाघको सङ्ख्या धेरै भएको जनाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघ गणनाका लागि ५८० स्वचालित क्यामेरा जडान गरिनाका साथै ७७ जनाको प्राविधिक टोली खटिने जानकारी दिए ।  -रासस

क्रिकेटर लोकेश बम एसपीए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त

केलाली। सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्ना विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

बमलाई मङ्गलबार कलेजले एक कार्यक्रमबिच ब्रान्ड एम्बेसडर घोषणा गरेको हो । कलेजले शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको कलेजका प्रबन्ध निर्देशक सुवास शाहीले बताए ।

लोकेश बम एसपीए कलेजका विद्यार्थी हुनुका साथै नेपाली क्रिकेटमा उदाउँदा प्रतिभाशाली विकेटकिपर-ब्याट्सम्यानका रूपमा परिचित छन् । उनले हालै सम्पन्न विश्वकप एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विभिन्न घरेलु क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम प्रदेश तथा समग्र राष्ट्रको गौरव बढाउन महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

बमले आफू अध्ययन गरेको कलेजसँग जोडिन पाउँदा खुशी लागेको बताए। क्याम्पस प्रमुख बुधराम चौधरीले यसपीए कलेज र खेलकुद प्रर्यायबाची भएको बताउँदै विद्यार्थीको सफल भविष्यको लागि सबै खेलका विद्यार्थीलाई उत्तिकै महत्वका साथ अवसर प्रदान गर्दै आएको बताए ।

 

ट्रम्पको अभिव्यक्तिपछि विश्वभर तेलको मूल्यमा गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप्पले चाँडै युद्ध अन्त्य गर्ने बताएसँगै विश्व बजारमा तेलको मूल्यमा गिरावट आएको छ। ट्रम्पले चाँडै  युद्ध अन्त्य गर्ने र हर्मुजको जलडमरूम हुँदै तेलको प्रवाह रोकेको खण्डमा कडा कारबाही गर्ने बताएपछि तेलको मूल्यमा गिरावट आएको हो।

ट्रम्पको उक्त भनाइ आउनुअघि तेलको मूल्य ११७ डलर पुगेको थियो। त्यसपछि ८८ डलरमा झरेको हो। ब्रेन्ट कच्चा तेलको प्रति ब्यारेल मूल्य ९३ डलरभन्दा बढी छ।

डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलडमरू हुँदै तेलको प्रवाह रोक्न कुनै पनि कदम चालेमा धेरै कडा कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। विश्वको लगभग २० प्रतिशत तेल यहीँबाट ढुवानी गरिन्छ।

‘यदि इरानले हर्मुजको जलडमरू हुँदै तेलको प्रवाह रोक्न कुनै कदम चाल्यो भने अमेरिकाले इरानमाथि पहिलेभन्दा २० गुणा बढी बलपूर्वक आक्रमण गर्नेछ,’ ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखे।

इरानी रिभोलुसनरी गार्ड्सले इरानले यस क्षेत्रबाट एक लिटर पनि तेल निर्यात गर्न नदिने धम्की दिएको छ।

नेप्से ३२.०८ अंकले घट्यो

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से ३२.०८ अंकले घटेर २८४३.३५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २९ कम्पनीको ५२ करोड ७१ लाख १ हजार ३ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नग्दि ग्रुप पावर कम्पनीको भएको छ ।

त्यस्तै, आजको बजारमा रिलाएन्स स्पिनिङ्ग मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीमा आज पोजेटिभ सर्किट लागेको छ।

यता, हिम स्टार कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो ।

मध्यपूर्वमा जारी युद्धले तेल सङ्कट, एसियामा तनाव

काठमाडाैँ। मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि एसियाका विभिन्न देशहरूमा इन्धन अभाव र असन्तुष्टि देखिन थालेको छ । बङ्गलादेशमा अवस्था अझ तनावपूर्ण बनेपछि प्रमुख तेल डिपोहरूको सुरक्षा गर्न सैनिक तैनाथ गरिएको छ।

तेल आयातमा अत्यधिक निर्भर बङ्गलादेशले आफ्नो ऊर्जा आवश्यकताको करिब ९५ प्रतिशत बाहिरबाट ल्याउँछ । इन्धन अभावको आशङ्कासँगै राजधानी ढाकासहित विभिन्न स्थानका पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको छ । सुरक्षा व्यवस्थालाई कडा बनाउन सेनालाई मुख्य डिपोहरूमा राखिएको छ भने पेट्रोल पम्प वरपर प्रहरी गस्ती बढाइएको छ।

ढाकाको एक पेट्रोल पम्पका कर्मचारी अशरफुज्जमान दुलालले आपूर्ति नपुग्दा आक्रोशित मोटरसाइकल चालकहरूले स्टेसनमा तोडफोड गरेको बताए । उनका अनुसार डिपोबाट इन्धन नआएको जानकारी दिए पनि चालकहरू आश्वस्त नभएपछि आइतबार हिंसात्मक घटना भएको थियो ।

मङ्गलबार राजधानीको सबैभन्दा पुरानो स्टेसनमध्ये एक शाहजहाँ ट्रेडर्सले आफ्नो इन्धन सकिएको भन्दै ग्राहकसँग क्षमा माग्दै सूचना टाँसेको थियो ।

सत्र करोड जनसङ्ख्या भएको बङ्गलादेश सरकारले स्थिति नियन्त्रणमा राख्न इन्धन राशनिङ सुरु गरेको छ । ऊर्जा अभावका कारण विद्यार्थीहरूलाई घर पठाइएको छ भने सार्वजनिक उत्सवमा हुने प्रकाश प्रदर्शनहरू पनि रद्द गरिएको छ ।

यसैबीच दक्षिणी जिल्ला झेनैदाहमा शनिबार राति इन्धन भर्ने विषयमा कर्मचारीसँग भएको झडपमा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । २५ वर्षीय युवाको मृत्युपछि आक्रोशित भीडले तीनवटा बसमा आगजनी गर्नुका साथै एउटा फिलिङ स्टेसनमा तोडफोड गरेको थियो ।

ढाकाको सिटी सेन्टरमा मङ्गलबार करिब १.५ किलोमिटर लामो सवारीको लाइन देखिएको थियो । गाडीमा लामो समयदेखि पर्खिरहेका कामरुल हसनले आफ्नो मालिकले कार लाइनमै छोडेर गन्तव्यमा पुग्न रिक्सा प्रयोग गरेको बताए।

पेट्रोल पम्पका कर्मचारी अख्तर हुसेनका अनुसार घण्टौँसम्म भीड नघट्ने अवस्था छ । “खाडी युद्धको समयमा पनि हामीले यति ठूलो भीड देखेका थिएनौँ”, उनले भने।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिका–इजरायल युद्ध ‘छिट्टै अन्त्य हुन सक्ने’ बताएपछि मङ्गलबार तेलको मूल्य केही घटेको छ । तर त्यसअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको थियो । यो मूल्य सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि देखिएको उच्च स्तर हो ।

इरानले मिसाइल र ड्रोन आक्रमणमार्फत खाडी क्षेत्रलाई लक्षित गरेपछि बजारमा अस्थिरता बढेको हो । युद्ध सुरु भएयता होर्मुज जलडमरूमध्यमा समुद्री यातायात पनि प्रभावित भएको छ । विश्वको करिब पाँचौँ भाग कच्चा तेल यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको असर विश्व बजारमा देखिएको छ ।

इन्धन सङ्कटको असर अन्य एसियाली देशहरूमा पनि देखिन थालेको छ । भियतनाममा मङ्गलबार हजारौँ मोटरसाइकल चालक पेट्रोलका लागि लाममा उभिएका थिए । त्यहाँ अनलिडेड पेट्रोलको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ ।

यद्यपि सरकारले आयातित पेट्रोलियम उत्पादनमा लगाइने शुल्क हटाएपछि भियतनाम ठूलो अभावबाट भने हालसम्म जोगिएको छ । हनोईका ५७ वर्षीय तुआन नामका एक व्यक्तिले पेट्रोलका लागि लामो समय पर्खनु परेपछि आफू निकै निराश भएको बताए।

उनका अनुसार करिब एक घण्टा लाइनमा बसेपछि पालो आउँदा पम्पको प्रणाली बन्द भएको जानकारी दिइएको थियो, जसका कारण धेरै चालकहरू निराश भएर फर्किएका थिए ।

फिलिपिन्समा पनि यस हप्ता पेट्रोल पम्पहरूमा गाडीहरूको लाम देखिएको छ। अधिकारीहरूले इन्धन भण्डारण नगर्न चेतावनी दिएका छन् भने पाकिस्तान र श्रीलङ्कामा पनि यस्तै दृश्यहरू देखिएका छन्।

मेट्रो मनिलाका ग्यास स्टेसन परिचारक एनरिको गुडाका अनुसार मूल्य अझ बढ्ने आशङ्कामा मानिसहरू हतारिएर इन्धन भर्न थालेपछि दैनिक कामको भार दोब्बर भएको छ ।

म्यान्मामा अवस्था अझ कठिन देखिएको छ । आफ्नो इन्धनको करिब ९० प्रतिशत आयात गर्ने यस देशमा पहिले नै गृहयुद्धका कारण ऊर्जा आपूर्ति कमजोर थियो । तेलको भण्डार जोगाउन सरकारले प्रत्येक दिन आधा निजी सवारीसाधन सडकमा नचलाउने व्यवस्था लागु गरेको छ ।

कार भाडामा दिने व्यवसायी ५६ वर्षीया ह्ला हतेले यस्तो नियमले गाडीमा निर्भर चालकहरूलाई व्यवसाय सञ्चालन गर्न कठिन बनाएको बताए।

म्यान्माको सीमावर्ती सहर टाचिलिकमा थाइल्यान्डबाट हुने आपूर्ति घटेपछि केही पेट्रोल पम्पहरू बन्द भएका छन् । त्यहाँ गत हप्ता इन्धनको मूल्य तीन गुणासम्म बढेको थियो ।

यद्यपि जापान, इन्डोनेसिया, चीन, भारत र अफगानिस्तानजस्ता केही देशहरूमा भने हालसम्म व्यापक सङ्कट देखिएको छैन ।

सियोलका ४२ वर्षीय व्यापारी ली इन–टेले भने सावधानीस्वरूप आफूले पहिलेभन्दा बढी पटक इन्धन भर्न थालेको बताए । “पहिले हप्तामा एक पटक गाडीमा इन्धन हाल्थेँ, तर अब सस्तो पम्प देख्नेबित्तिकै भर्ने प्रयास गर्छु”, उनले भने ।

६ वटा दलले राष्ट्रिय मान्यता पाउने

काठमाण्डौ- निर्वाचन आयोगले प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रको परिणाम घोषणा गरिसकेको छ । समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको परिणाम र समानुपातिकतर्फको मतको अनुपातका आधारमा अब नयाँ प्रतिनिधिसभामा दलको अवस्था कस्तो हुन्छ भन्ने सङ्केत स्पष्ट भइसकेको छ ।

प्रत्यक्षतर्फ १ सय २५ सीट पाएको रास्वपाले समानुपातिकमा ५० लाख भन्दा धेरै मत पाएको छ । प्रत्यक्षमा १८ सीट पाएर दोस्रो बनेको कांग्रेसले समानुपातिकमा पनि दोस्रो स्थानमा रहँदै १७ लाख भन्दा धेरै मत पाएको छ ।

प्रत्यक्षमा नौ सीटसहित तेस्रो रहेको एमालेले समानुपातिकमा १४ लाख भन्दा धेरै मत पाएको छ । प्रत्यक्षमा चौथो भएको नेकपा, पाँचौं भएको श्रमशक्ति र एक सीटसहित छैटौं बनेको राप्रपाले पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन् ।

यसैले अब यी ६ वटा दलले राष्ट्रिय दलको मान्यता पाउने भएका हुन् । विगतमा राष्ट्रिय दल रहेका जसपा–नेपाल र जनमत पार्टीले यसपटक प्रत्यक्षतर्फ कुनै सीट जित्न सकेनन् भने समानुपातिकमा पनि थ्रेस होल्ड पार गर्ने सम्भावना सकिएको छ ।

राष्ट्रिय दलले अर्को चुनावसम्मका लागि आफ्नो चुनाव चिह्न सुरक्षित गर्न पाउने कानूनी व्यवस्था छ । तर राष्ट्रिय दल नभए पनि दुई जनाभन्दा धेरै सांसद भएका दलहरूलाई संसदीय दलको कार्यालयसहितका सुविधा उपलब्ध गराउने अभ्यास छ । राष्ट्रिय दल नभए पनि आफ्ना सांसदहरूलाई पार्टीले दलको ह्विप लगाउन सक्छ ।

 

प्रतिनिधिसभाको पहिलो बैठक नयाँ भवनमै हुने

काठमाडौं- नयाँ सरकार गठनसँगै पहिलो संसद् बैठक नयाँ भवनबाट नै गर्ने तयारी सरकारको छ।  यसअघि नयाँ वानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् भवन थियो। यही भदौ २३ को प्रदर्शन र २४ को आन्दोलनका क्रममा आगजनीपछि उक्त भवन पूर्णरूपमा क्षतिग्रस्त छ। २०७६ सालबाट नै सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण गर्दैछ। तर, ३ वर्षमा निर्माण गरिसक्नुपर्ने नयाँ संसद् भवनको भौतिक प्रगति करिब ९३ प्रतिशत छ।

‘अब हामीले नयाँ संसद्को बैठक नयाँ संसद् भवनमै गर्ने भन्ने तयारी गरिरहेका छौं,’ सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल बताउँछन्।

मन्त्रालय भने अबको करिब १ महिनामा हुने संसद्को पहिलो बैठक सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम अघि बढाइएको बताउँछ। नयाँ संसद् भवन निर्माणका लागि अहिलेसम्म ५ पटक म्याद थपिए पनि पूरा हुन सकेको छैन।

‘भवन निर्माणको सम्पूर्ण काम नसकिए पनि बैठक बस्न मिल्ने गरी हल निर्माण सक्किने छ। त्यसमा नै बैठक सुरु गराउने हो। हामीसँग अप्सन भएन के अरू अहिलेलाई। निर्माणको काम अलि छिटो गरौं भनेर अहिले हामी लागिरहेका छौं,’ सिग्देलले बताए। न्यूनतम पूर्वाधारसहित बैठक सञ्चालन गर्न आवश्यक केही सभाकक्ष र संरचना तयार हुने उनले भने।

वायु प्रदूषण बढ्यो : आम नागरिकलाई विशेष शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ- पछिल्लो समय काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीकाअनुसार काठमाण्डौं, पोखरा, विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम २.५) को मात्रा निकै बढेको छ । श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र पस्ने यी सुक्ष्म र हानिकारक कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने उहाँले बताउनुभयो । प्रदूषणबाट ज्येष्ठ नागरिक, गर्भवती महिला, ५ वर्षमुनिका बालबालिका र दीर्घरोगीहरू उच्च जोखिममा रहेकाले उनीहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

बिहान र बेलुका बाहिर ननिस्कन सुझाव 

प्रदूषणबाट बच्न मन्त्रालयले विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ । बिहान र बेलुकीको समयमा हानिकारक किटाणु र कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले समयमा मर्निङ वाक वा इभिनिङ वाकमा ननिस्कन आग्रह गरिएको छ । बाहिर निस्कनै पर्ने अवस्थामा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, आँखा जोगाउन चस्मा वा लगाउन र छालालाई प्रदूषणबाट बचाउन पूरै शरीर छोपिने गरी कपडा तथा टोपी लगाउन मन्त्रालयले सुझाएको छ ।

अन्य मन्त्रालयसँग समन्वय गर्दै स्वास्थ्य मन्त्रालय 

वायु प्रदूषण न्युनिकरणका लागि स्वास्थ्य मन्त्रालयले अन्य सरोकारवाला मन्त्रालयहरूसँग पनि समन्वय र पैरवी गरिरहेको जनाएको छ । प्रवक्ता बुढाथोकीकाअनुसार उद्योग, भौतिक पूर्वाधार, कृषि तथा वन र वातावरण मन्त्रालयसँग प्रदूषण कम गर्ने विषयमा निरन्तर छलफल भइरहेको छ । गाडीको धुवाँ, कलकारखाना, कृषिमा विषादीको प्रयोग, जथाभावी फोहोर र प्लास्टिक जलाउने कार्य तथा वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण निर्मूल नहुने भन्दै मन्त्रालयले यस्ता कार्य रोक्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ । तत्कालका लागि भने प्रदूषणको प्रत्यक्ष असरबाट बच्न शरीरलाई सुरक्षित राख्नु नै उत्तम विकल्प भएको मन्त्रालयको भनाइ छ ।

 

इलाका प्रहरी कार्यालय टीकापुर ब्यारेकको छतबाट खसेर प्रहरीको मृत्यु

टीकापुर- इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेकको छतबाट खसेर यहाँ कार्यरत प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ ।

सोमबार राति करिब ११ बजेतिर कार्यालयसँगै रहेको व्यारेक भवनको छतबाट खसेर अन्दाजी ३० वर्षीय चदाराको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका सूचना अधिकारी प्रहरी निरीक्षक मुकेश न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार चदारा बझाङको तलकोट गाउँपालिका–१ का बासिन्दा हुन् ।घटनाको कारण खोज्न अनुसन्धान भैरहेको छ।

मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

 

मध्यपूर्वका रहेका ५७ हजारभन्दा धेरै नेपालीले अनलाइन विवरण दर्ता गराए

काठमाण्डाै – मध्यपूर्वमा विकसित घटनाक्रमपछि सरकारले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा ५७ हजार एक सय जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।

नेपालीहरूको अद्यावधिक विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा हिजो बेलुकीसम्म यो सङ्ख्यामा नेपालीले आफ्नो विवरण दर्ता गरिसकेका छन् ।

मन्त्रालयले प्राप्त विवरणहरू अध्ययन गरी आवश्यकताअनुसार थप कदम चालिने जनाएको छ । परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहल जारी राखेको जनाएको छ । अति आवश्यक परेका कारण साउदी अरब हुँदै नेपाल फर्कन चाहने नेपालीहरूले आफ्नो राहदानीको फोटोकपी, भिसाको फोटोकपी तथा ट्राभल योजनासहितको विवरण आफू रहेको देशका नेपाली नियोगमा पठाई भिसा सहजीकरणका लागि अनुरोध गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

कुनै समस्या आइपरेमा मन्त्रालयको इमर्जेन्सी कन्ट्रोल रूमका टेलिफोन नम्बर वा इमेल तथा सम्बन्धित देशका नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क माध्यममार्फत तत्काल सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मध्यपूर्वमा चलिरहेको युद्धका कारण नेपालको अर्थतन्त्रमा समेत असर पर्ने चिन्ता बढ्न थालेको छ । रेमिट्यान्समध्येको झन्डै ४० प्रतिशत हिस्सा मध्यपूर्व क्षेत्रबाट आउने गर्छ ।

राष्ट्र बैंकका अनुसार गएको पुसमा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । तर युद्धका कारण अबका दिनमा रेमिट्यान्स आप्रवाह प्रभावित हुन सक्ने अवस्था छ । त्यस क्षेत्रमा रोजगारीमा रहेका नेपाली श्रमिकहरू पनि जोखिममा पर्ने चिन्ता छ ।

संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब, कतार, कुवेत, बहराइन, इराक, ओमान, साइप्रसलगायतका देशहरूमा ठूलो सङ्ख्यामा नेपाली श्रमिक कार्यरत छन् । युद्धले त्यहाँ रहेका झन्डै १८ लाख नेपाली श्रमिकको सुरक्षा चिन्ता थपिएको छ ।

 

राना थारू समुदायले आज खखडेहरा पर्व मनाउँदै

कञ्चनपुर- सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने राना थारू समुदायले आज परम्परागत ‘खखडेहरा पर्व’ मनाउँदै यस वर्षको होलीलाई औपचारिक रूपमा बिदाइ गर्दैछन् । झन्डै एक महिनाभन्दा धेरै समयसम्म निरन्तर रूपमा मनाइने राना थारू समुदायको होली खखडेहरा पर्वसँगै समाप्त हुने परम्परा छ ।

राना थारू समुदायमा होली केवल रङ खेल्ने पर्वका रूपमा सीमित छैन । यो पर्व सामाजिक, धार्मिक र सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको उत्सवका रूपमा मनाइन्छ । वर्षको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाडका रूपमा लिइने होली पर्व समुदायका लागि सामूहिक एकता, सांस्कृतिक निरन्तरता र धार्मिक आस्थाको प्रतीक पनि मानिन्छ ।

राना थारू समुदायमा माघ शुक्ल पूर्णिमाका दिनदेखि होली पर्वको शुरुआत हुन्छ । त्यस दिन गाउँमा ‘होरी’ राखेर पर्व प्रारम्भ गरिन्छ । त्यसपछि झन्डै एक महिनासम्म रातको समयमा मात्र होली खेल्ने चलन छ । यस अवधिलाई राना थारू समुदायमा ‘जिउँदो होली’ भनेर चिनिन्छ ।

जिउँदो होलीका दिनहरूमा गाउँका महिला तथा पुरुष रातभरि भेला भएर पारम्परिक होली गीत गाउने, नाचगान गर्ने र धार्मिक कथाहरूलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने चलन छ । यसले समुदायमा मनोरञ्जनका साथै धार्मिक आस्था र सांस्कृतिक चेतनालाई पनि सुदृढ बनाउने विश्वास रहेको रामसहाय राना बताछन् ।

उनका अनुसार फागुन पूर्णिमाका दिन गाउँको दक्षिणपूर्व दिशामा स्थापना गरिएको होलिकालाई विधिपूर्वक दहन गरिन्छ । होलिका दहनपछि अर्को दिनलाई ‘टीका’ भनिन्छ । यस दिन गाउँका सबै जनाले होली जलेपछि बाँकी रहेको खरानीको टीका लगाउने परम्परा छ । समुदायमा रहेको विश्वासअनुसार होलीको खरानीको टीका लगाउँदा रोगव्याधि नलाग्ने, स्वास्थ्य राम्रो हुने तथा दीर्घायु प्राप्त हुने मान्यता रहेको स्थानीय रामसहाय बताउछन् ।

टीकाको दिनदेखि आठ दिनसम्म ‘मरी होरी’ अर्थात् ‘मरेको होली’ खेल्ने चलन छ । यस अवधिमा दिन र रात दुवै समयमा होली खेल्ने गरिन्छ । मरेको होलीको आठौँ दिनमा खखडेहरा पर्व मनाइन्छ जसलाई होलीको औपचारिक समापनका रूपमा लिने गरिन्छ ।

खखडेहरा पर्वका दिन बिहानैदेखि गाउँमा विशेष तयारी शुरू  हुन्छ । गाउँका अगुवा, भलमन्सा, चाकर तथा अन्य जिम्मेवार व्यक्तिहरूले घरघरमा पुगेर पूजा सामग्री सङ्कलन गर्ने गर्छन् । पूजा सामग्रीका रूपमा सात प्रकारका अन्न, माटोका भाँडाकुँडा, खप्टाका टुक्रा, गाग्रो, लोटा, सुकेको गोबरबाट बनाइने कन्डी, दियो, घोडाको माटोको मूर्ति तथा शुद्ध पानी सङ्कलन गरिन्छ ।

शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय रतनलाल रानाका अनुसार यी सामग्रीलाई सामूहिक रूपमा ‘सत्ना’ भनिन्छ । ‘गाउँका सबै घरबाट सामग्री सङ्कलन गरिन्छ जसले यो पर्व सामूहिक सहभागितामा आधारित रहेको देखाउँछ’, उनी भन्छन् ।

सङ्कलित सामग्रीलाई गाउँको चौबाटो वा निश्चित ठाउँमा लगेर परम्परागत विधिअनुसार पूजा गरिन्छ । पूजा सम्पन्न भएपछि माटोका भाँडाकुँडा, खप्टा, घोडाको मूर्ति, दियो, हडियालगायत सामग्री फुटाउने चलन छ । राना थारू समुदायका अगुवा जगता रानाले खखडेहरा फुटाउने कार्य गाउँका निश्चित व्यक्तिमात्रले गर्ने परम्परा रहेको बताए । ‘यो कार्य प्रतीकात्मक रूपमा गाउँबाट नकारात्मक शक्ति हटाउने संस्कारका रूपमा मानिन्छ’, उनले भने ।

उनका अनुसार यस पर्वमार्फत राक्षसी प्रवृत्ति, रोगव्याधि, दुर्भाग्य र अन्य नकारात्मक प्रभावलाई गाउँबाट टाढा भगाउने विश्वास समुदायमा रहिआएको छ । खखडेहरा फुटाइसकेपछि सहभागीहरू गाउँ फर्किन्छन् । फर्किने क्रममा पछाडि फर्केर हेर्नु हुँदैन भन्ने कडा मान्यता छ । यदि कसैले फर्केर हेरेमा अनिष्ट निम्तिने वा दुष्ट शक्ति देखिने विश्वास समुदायमा प्रचलित रहेको राना थारू समुदायका बूढापाकाहरू बताउछन् ।

खखडेहरा पर्वको अर्को महत्त्वपूर्ण पक्ष ‘फगुवा’ माग्ने परम्परा पनि हो । पूजा सम्पन्न भएपछि गाउँका युवा तथा अगुवाहरू घरघरमा पुगेर फगुवा माग्ने गर्छन् । फगुवाका रूपमा घरधनीले गच्छेअनुसार नगद रकम, अन्न वा अन्य सामग्री दिने गर्छन् । यसरी सङ्कलित रकमबाट सामूहिक भोज, नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।

साँझपख गाउँमा उत्सवमय वातावरण देखिन्छ । महिला र पुरुष दुवै पारम्परिक पहिरन र शृङ्गारमा सजिएर होली खेल्ने, गीत गाउने र नृत्य गर्ने गर्छन् । समुदायमा रहेको विश्वासअनुसार खखडेहरा पर्वमा गरिने पूजा तथा अनुष्ठानले अन्नबाली राम्रो हुने, रोगव्याधि हट्ने र गाउँमा समृद्धि आउने विश्वास गरिन्छ ।

नेपाल राना थारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष कृपाराम रानाले राना थारू समुदायका लागि होली सबैभन्दा महत्त्वपूर्ण पर्व रहेको बताए । ‘राना थारू समुदायको सांस्कृतिक जीवनमा होलीको विशेष महत्व छ’, उनले भने, ‘विशेषगरी खखडेहरा पर्वले समुदायको एकता, संस्कार र परम्परालाई बलियो बनाउने काम गर्छ ।’

उनका अनुसार खखडेहरा पर्वका दिन गाउँमा खेतीपाती, गोरुगाडा चलाउनेलगायतका कामसमेत रोक्ने चलन छ । विगतमा तराई क्षेत्रमा मलेरिया, महामारी तथा प्राकृतिक विपत्तिसँग जुध्दै आएको समुदायले सामाजिक एकता कायम राख्न यस्ता सांस्कृतिक परम्पराहरू विकास गरेको उनले उल्लेख गरे ।

गर्मी मौसम शुरू हुने समयमा रोगव्याधि फैलिने सम्भावना बढी हुने भएकाले समुदायले खखडेहरा पर्वमार्फत प्रतीकात्मक रूपमा भूतप्रेत, रोगव्याधि तथा दुर्भाग्यलाई गाउँबाट हटाउने विश्वास राख्दै आएका छन् । यसरी खखडेहरा पर्व केवल धार्मिक अनुष्ठानमात्र नभई समुदायको सामाजिक एकता, सांस्कृतिक पहिचान र परम्परागत मूल्यलाई जोगाउने महत्त्वपूर्ण अभ्यासका रूपमा स्थापित भएको देखिन्छ ।

‘सदियौँदेखि निरन्तर रूपमा मनाइँदै आएको यो पर्वले राना थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक जीवनलाई आजसम्म जीवन्त बनाइराख्न महत्त्वपूर्ण भूमिका खेलेको छ’, पूर्वअध्यक्ष रानाले भने । आजका दिन अर्थात् खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

अब अमेरिकासँग वार्ताको कुनै सम्भावना छैन :इरान

इरानका सर्वोच्च नेताका विदेश नीति सल्लाहकार कमाल खराजीले अब अमेरिकासँग वार्ताका लागि कुनै ठाउँ नभएको बताएका छन्। उनले इरानको सेना लामो युद्धका लागि तयार रहेको पनि बताएका छन्।

एक अन्तर्वार्तामा खराजीले भने, ‘म अब वार्ताको लागि कुनै ठाउँ देख्दिनँ।’ उनले अमेरिकाले पहिले वार्ताका क्रममा आफ्ना वाचाहरू पूरा गर्न असफल भएको थियो र वार्ता चलिरहेको बेला इरानमाथि आक्रमण गरेको आरोप लगाए।

वर्तमान युद्ध लामो समयसम्म रहन सक्ने र अमेरिका र उसका सहयोगीहरूमाथि आर्थिक दबाब नबढेसम्म जारी रहने संकेत उनले गरे।

इरानको सैन्य र राजनीतिक नेतृत्व यस संघर्षमा एकताबद्ध र देश लामो लडाईंको लागि तयार रहेको खराजीले बताए।

अछाममा समानुपातिकमा कांग्रेस पहिलो दल

अछाम : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अछाममा समानुपातिक तर्फ नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दुई निर्वाचन क्षेत्र रहेको अछाममा कांग्रेस १९ हजार ३५ मत सहित पहिलो बनेको छ । नेकपा एमाले १५ हजार ३०२ मत सहित दोस्रो, नेकपा १४ हजार १६२मत सहित तेस्रो र १० हजार २५० मत सहित रास्वपा चौथो दल बनेको छ ।

आइतबार सम्पन्न मतगणना अनुसार अछाम-१ मा कांग्रेस ९ हजार ५२३ मत सहित पहिलो स्थानमा रहेको छ। यो मत  प्रत्यक्ष तर्फ पाएको भन्दा एकहजार २३६ मत कम हो ।  कांग्रेसले प्रत्यक्ष तर्फ १० हजार ५२३ मत प्राप्त  गरी भरतकुमार स्वाँर निर्वाचित भएका छ्न् ।

समानुपातिक तर्फ नेकपा दोस्रो स्थानमा रहँदै ९ हजार ३५१ मत प्राप्त गरेको छ । प्रत्यक्ष तर्फ नेकपाका भीमबहादुर रावलले १० हजार २३३ मत  प्राप्त गरेका थिए ।

नेकपा एमालेले  ६ हजार ३१७  प्राप्त गरेर तेस्रो बनेको छ । प्रत्यक्षमा एमालेका दिपकबहादुर साउदले ७ हजार ३८९  मत प्राप्त गरेका थिए ।  यस्तै, रास्वपाले ४ हजार ७८० मत पाएको छ।प्रत्यक्षमा रास्वपाका ओमप्रकाश रावलले १ हजार ७३९ मत प्राप्त गरेका छ्न । रावलले जमानत समेत जोगाउन सकेनन्।

अछाम-२ मा  समानुपातिक मतगणना अनुसार नेपाली कांग्रेस ९,५१२ मत सहित पहिलो, एमाले ८,९८५  दोस्रो, रास्वपा ५,८४० तेस्रो र नेकपा ४,८११ मत सहित तेस्रो बनेका छ्न् । अछाम- २ मा एमालेका यज्ञबहादुर बोगटी ९,५१८ मत सहित निर्वाचित भएका छ्न्।

समानुपातिक तर्फ ६४ हजार ८९३  मत खसेका थिए । जसमा २ हजार ६५० मत बदर भएका छ्न् ।

प्रधानमन्त्री कप क्रिकेट चैत ७ गतेदेखि हुने

काठमाण्डाै- प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आउँदो चैत ७ गतेदेखि शुरू हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ल सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता काठमाण्डौको त्रिवि मैदान र मूलपानी तथा धनुषाको जनकपुर र पर्सामा हुनेछ । प्रधानमन्त्री कप क्रिकेट आउँदो वैशाख ४ गतेसम्म चल्नेछ ।

यसैबीच जय ट्रफी क्रिकेटको फाइनल खेल आउँदो चैत ३ देखि ५ गतेसम्म माथिल्लो मूलपानी मैदानमा हुने भएको छ । प्रतिनिधिसभा सदस्य चुनाव र आईसीसी विश्वकप क्रिकेट ‘लिग–टू’ का कारण जय ट्रफीको फाइनल यसअघि चैत २१ देखि २३ गतेसम्म तय भएको थियो ।

चुनावका कारण रोकिएको बजार अनुगमन शुरू

काठमाण्डाै- प्रतिनिधिसभा सदस्य चुनावका कारण रोकिएको नियमित बजार अनुमगन पुनः शुरू भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानून कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ ।

अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवम् सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो भने १० ग्राम सुन २ लाख ६८ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकै दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको हो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९०४ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँ र १० ग्राम ४ हजार ६३८ रुपैयाँ रहेको थियो। यसअनुसार चाँदी प्रतितोला ३१० रुपैयाँले बढेको महासंघले जनाएको छ।

बैतडीमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो

बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

गएराति सम्पन्न मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी २३ हजार ७३६ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बैतडीमा रास्वपाले प्रत्यक्षतर्फ प्राप्त मतभन्दा समानुपातिकतर्फ बढी मत ल्याएको छ ।

यस्तै, नेकपा (एमाले) ले १६ हजार ४९ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ भने एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए ।

समानुपातिकतर्फ नेपाली कांग्रेस १५ हजार ९०७ मतसहित तेस्रो स्थानमा रहेको छ । प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका थिए ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले छ हजार ३३५ मत पाएको छ । प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले छ हजार ९६५ मत ल्याएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ तीन हजार ४७१ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ भने राप्रपाका उम्मेदवार भुपेनबहादुर चन्दले दुई हजार ६८१ मत ल्याएका थिए ।

बैतडीमा समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेकोमा चार हजार १२६ मत बदर भएका छन् । यसअनुसार ६८ हजार १८२ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कैलालीमा चुनाव उठेका ७५ जना मध्ये एक जनाले मात्र बुझाए निर्वाचन खर्च विवरण

धनगढी । कैलालीमा चुनावमा उठेका ७५ जना मध्ये मतगणना सकिएको दोस्रो दिन एक जना उम्मेदवार निर्वाचन खर्च बुझाएका छन्। सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका अनुसार उज्यालो पार्टी नेपालका कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका चन्द्र साउँदले सबै भन्दा पहिले आइतवारनै निर्वाचन खर्च विवरण बुझाएका हुन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार यो कार्यालयमा कैलालीभरिका पाँच वटै निर्वाचन क्षेत्रका उम्मेदवारले खर्च विवरण कार्यालयमा बुझाउने छन्। सुदूरपश्चिमका अन्य जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवारहरूले भने आ–आफ्नो सम्बन्धित निर्वाचन कार्यालयमा खर्च विवरण बुझाउने छन्। सोही अन्तरगत खर्च विवरण बुझाउने काम भइरहेको छ।

अहिलेसम्म कैलालीमा भने एक जना उम्मेदवारको मात्रै खर्च विवरण प्राप्त भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिए।

एनआरएनए अमेरिकाद्वारा सगरमाथा आरोही निमा सम्मानित

कोलोराडो(अमेरिका), २६ फागुन ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गैर आवासीय नेपाल संघ(एनआरएनए) एनसीसी अमेरिकाले सगरमाथा आरोही निमा डोमा शेर्पालाई सम्मान गरेको छ ।

निमा सगरमाथा आरोहण गर्ने एकल महिला हुन् । जसले आफ्नो पतिको सगरमाथा आरोहण गर्ने अधुरो सपना पुरा गरिन् । उनको त्यही साहस र प्रेरणादायी योगदानको कदर गर्दै एनआरएनए एनसीसी अमेरिकाले सम्मान गरेको हो ।

१८ अप्रिल २०१४ को बिहान करीव ६ बजेर ३० मिनेट जाँदा सगरमाथाको चुचुरोमा उक्लिदै गरेको १६ जना आरोहीको टोली १९ हजार फिटस्थित ‘खुम्बु आइसफल’ ले पुरियो । सगरमाथाकै काख खुम्जुङमा जन्मिएका छिरिङ ओङ्चु त्यही हिमपहिरोमा अस्ताए । हिम पहिरोमा पुरिएर मृत्यु भएका छिरिङ ओङ्चु निमा डोमा शेर्पाका पति थिए ।

निमाका बुवा आङ्छुवी शेर्पाले १९९३ मा सगरमाथा आरोहण गरिसकेका थिए । उनका पति ओङ्चुले ससुरा आङ्छुवीको पद्चाप पछ्याए ।

सगरमाथामाथि बिजय हात पार्न घरबाट विदावारी भएर निस्किएका उनका पति १८ अप्रिल २०१४ को विहान सूर्योदय नहुदै हिउँमा अस्ताए । ओङ्चुको सगरमाथाको टाकुरामा टेक्ने सपना र जीवन हिमपहिरोमा अस्ताएको त्यो उनको जीवनको कालो दिन थियो ।

पति बियोगमा दुई वर्षभन्दा बढि समय रोएर बिताएकी निमाले त्यसपछि आफूलाई सम्हालिन् । उनले सगरमाथाको चुचुरोमा टेक्ने पतिको अुधरो सपनालाई पुरा गर्ने अठोट गरिन् । र, विभिन्न संघसंस्थाको सहयोगमा हिमाल आरोहणको प्रशिक्षण लिईन् । र पतिको मृत्यु भएको पाँच वर्षमा २३ मे २०१९ मा उनले सगरमाथाको चुचुरोमा पाईला टेकिन ।

उनको यो साहस र सफलताको कथा उनी जस्तै अरु थुप्रै सगरमाथा आरोही शेर्पाका एकल महिलाहरुका लागि मात्र नभएर सम्पूर्ण महिलाहरुका लागि प्रेरणादायी छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आईतवार नेपाली घरमा आयोजित कार्यक्रममा कोलोराडो राज्य सभा सदस्य केनी न्यूयाङ र वेष्टमिनिष्टर नगरकी मेयर क्लेरा कार्मेलियाले प्रेरणादायी सगरमाथा आरोही शेर्पालाई प्रशंसा पत्र प्रदान गरेकी थिईन् ।

एनआरएनए एनसीसी अमेरिकाले सगरमाथा आरोही शेर्पा सहित बिभिन्न बिधा र क्षेत्रमा योगदान पु¥याउने प्रेरणादायी नौ जना महिलालाई सम्मान गरेको हो ।

सगरमाथा आरोही शेर्पा सहित ओलम्पियन निष्मा गुरुङ, महिला उद्यमी तथा समाजसेवी दिल कुमारी श्रेष्ठ, डा. शारदा काफ्ले त्रिपाठी, समाजसेवी मीना पौडेल, गायिका निर्मला श्रेष्ठ, लेखिका प्रमिला शर्मा, समाजसेवी उत्तरा श्रेष्ठ, उद्यमी तथा सांस्कृतिक दूत मिना मास्केलाई सम्मान गरिएको थियो ।

एनआरएनए कोलोराडो च्याटर र नेपाल वुमन थ्राईभ(एनडब्लुटी) को सहकार्यमा आयोजित कार्यक्रम एनआरएनए कोलोराडो च्याप्टरकी महिला उपाध्यक्ष नमुना गैरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सगरमाथाको चुचुरोमा नथामिएका निमाका आँशु

 

कैलालीमा ५९ उम्मेदवारको धरौटी जफत

धनगढी। कैलालीमा पाँच निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका ५९ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशतसम्म मत प्राप्त गर्न नसकेपछि उनीहरूको जमानत जफत भएको हो । जमानत जफत हुनेमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) तीन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना उम्मेदवार छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत भएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ ९१० अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत कुनै पनि निर्वाचन क्षेत्रमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी फिर्ता नहुने व्यवस्था छ ।

कैलाली क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार द्वारिका न्यौपानेसहित १६ जनाको जमानत जफत भएको छ । नागरिक उन्मुक्ति पार्टी नेपालको समर्थन पाएका स्वतन्त्र उम्मेदवार फागुराम थारू, उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीलगायतले धरौटी जोगाउन सकेनन्। कुल ५४ हजार ७९ मत सदर भएको निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारले जमानत जोगाउन कम्तीमा पाँच हजार ४०८ मत प्राप्त गर्नुपर्ने थियो ।

क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नन्दबहादुर साउँदसहित ११ जना उम्मेदवारको जमानत जफत भएको छ । साउदले चार हजार ३६९ मत प्राप्त गरे । ५६ हजार २०५ मत सदर भएको यस क्षेत्रमा धरौटी जोगाउन उम्मेदवारले कम्तीमा पाँच हजार २६४ मत प्राप्त गर्नु आवश्यक थियो ।

क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री एवं एमाले उम्मेदवार गौरीशङ्कर चौधरीसहित सात जना उम्मेदवारको धरौटी जफत भएको छ । चौधरीले चार हजार ७५२ मत प्राप्त गरे । ५६ हजार ४३३ मत सदर भएको यो निर्वाचन क्षेत्रमा धरौटी जोगाउन कम्तीमा पाँच हजार ६४४ मत ल्याउन आवश्यक थियो ।

क्षेत्र नम्बर ४ मा नेकपाका उम्मेदवार हरिराम चौधरी उत्सवसहित १३ उम्मेदवारको धरौटी जफत भएको छ । ५८ हजार २६३ कुल सदर मत भएको यस निर्वाचन क्षेत्रमा धरौटी जोगाउन कम्तीमा पाँच हजार ८२९ मत ल्याउन आवश्यक थियो । चौधरीले पाँच हजार ६०९ मत प्राप्त गरे ।

क्षेत्र नम्बर ५ मा एमाले उम्मेदवार यज्ञराज ढुङ्गानासहित १२ उम्मेदवारको जमानत जफत भएको छ । कुल ६२ हजार १४७ मत सदर भएको क्षेत्रमा जमानत जोगाउन कम्तीमा छ हजार २१ मत प्राप्त गर्नु आवश्यक थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका रोशन शाही, जनमत पार्टीका धनबहादुर चौधरी, नेपाल मजदुर किसान पार्टीका तृष्ण पुनमगर, उज्यालो नेपाल पार्टीका चन्द्र साउँद, स्वतन्त्र उम्मेदवार प्यारेलाल राना, ईश्वरी विष्टको जमानत जफत भएको छ । आमजनता पार्टीका देवसिंह विष्ट, नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० का बबरजङ्गबहादुर सिंह, नागरिक उन्मुक्ति पार्टी नेपालका जगन्नाथ चौधरी, राजमोका शोभामणि जोशी, मितेरी पार्टी नेपालका राधिकाकुमारी कार्कीको जमानत जफत भएको छ ।

गत निर्वाचनमा कैलालीमा शक्तिशाली देखिएको नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरी र पतिराम चौधरीले मात्रै जमानत जोगाउन सफल भए। उक्त पार्टीका अन्य उम्मेदवारको धरौटी जफत भएको छ ।

नेकपाका जोशीसहित आठ जना 

२०६४ सालमा भएको संविधान सभा सदस्यमा विजयी भएका नेकपाका नेता लक्ष्मणदत्त जोशीको यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जमानत जफत भएको छ ।

दार्चुलामा जोशीसहित आठ जना उम्मेदवारको जमानत जफत भएको हो । नेकपाका जोशीले तीन हजार ५९२ मत मात्रै प्राप्त गरेका छन् । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा उनले यहाँबाट २९ हजार ४०४ मत प्राप्त गरेका थिए ।

यहाँ प्रत्यक्षतर्फ जम्मा ४९ हजार ९३७ मत खसेकोमा ४७ हजार ८९० मत सदर भएको थियो । सदर मतको १० प्रतिशत अर्थात् चार हजार ७८९ मत ल्याउन नसकेका आठ जना उम्मेदवारको जमानत जफत भएको हो । जमानत जफत हुनेमा नेकपाका लक्ष्मणदत्त जोशी, राप्रपाका राजेश चन्द, नेकपा (माओवादी) का नवराज भट्ट रहेका छन् । राप्रपाका चन्दले ६६६ मत मात्रै प्राप्त गरेका छन्, भने नेकपा (माओवादी) का भट्टले २९८ मत प्राप्त गरेका छन्।

राष्ट्रिय जनमोर्चाका विर्खराज पन्तले ८६, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का विद्यादेव जोशीले ४१, आमजनता पार्टीका प्रेमसिंह बडालले ३४, सङ्घीय लोकतान्त्रिक मञ्चका गगन ठगुन्नाले १९ र नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावलले १८ मत प्राप्त गरेका छन् ।

जमानत जफत हुने दस

प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत डडेलधुरामा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीसहित १० जना उम्मेदवारको जमानत जफत भएको छ । डडेलधुरामा १३ जना उम्मेदवार थिए ।

डडेलधुरामा ४३ हजार ६७ मत सदर भएकाले जमानत जोगाउन उम्मेदवारले कम्तीमा चार हजार ३०७ मत ल्याउनुपर्ने थियो ।  एमालेका स्नेहीले भने दुई हजार ९२६ मत मात्रै प्राप्त गरेपछि उनको जमानत जफत भएको हो ।

जमानत जफत हुने अन्य उम्मेदवारमा राप्रपाका गोविन्द खडायत, आमजनता पार्टीका खडकबहादुर ठकुराठी, राजमोका चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीका लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगर रहेका छन्  ।

स्वतन्त्र उम्मेदवार गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीको पनि जमानत जफत भएको छ । यहाँ तीन जना उम्मेदवारले जमानत जोगाएका छन् । जसमा रास्वपाका डा. ताराप्रसाद जोशी (विजयी), नेपाली कांग्रेसका नैनसिंह महर र नेकपाका मानसिंह माल रहेका छन् ।   -गोरखापत्रबाट

बाजुरामा समानुपातिक मतगणना सकियो

बाजुरा- बाजुरामा समानुपातिकको मतगणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसको  १६ हजार ७४६, नेकपा एमाको १५ हजार ८९७, रास्वपाको छ हजार ८२० नेपाली कम्युनिष्ट पार्टीको तीन हजार ३५८ राप्रपाको ४७० रहेको छ ।

यसैगरी, लोकतान्त्रिकपार्टीको ७१ जनता समाजवादी पार्टी ४२ जनमत पार्टी ८७ नेपाल मजदुर किसान पार्टी ७१ नेपाल लोकतान्त्रिक पार्टी ११ मगल नेश्नल अग्रनाईजेसन ७ बहुजन शक्री पार्टीको दुई नेपाल सदभावना पार्टीको दुई नेपाल जनता सरक्षण पार्टीको १३६ रहेको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत संजिव पोखरेलले मतदाता सख्या ९८ हजार ३४३ मा खसेको ४५ हजार ६६९ खसेको र त्यसमा ४४ हजार ४६९ सदर भएको र एक हजार १२० मत बदर भएको बताए ।

ट्रम्पले इरान युद्ध ‘निकै चाँडै’ सकिने भनेपछि तेलको मूल्यमा गिरावट

राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध “निकै चाँडै” समाप्त हुने बताएका छन्। तर उनले अमेरिकाले “पर्याप्त जित हासिल नगरेको” र “अन्तिम विजय” को लक्ष्य राखेको समेत बताए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन वार्ता गरेकै दिन ट्रम्पको इरान युद्ध अन्त्य सम्बन्धी भनाइ आएको छ। ट्रम्प पुटिन वार्तासम्म ८ अमेरिकी सेना मारिएको जानकारी सार्वजनिक भएको थियो भने अहिलेसम्म ८ जना अमेरिकी सैनिकको ज्यान गएको बताइएको छ।

सीबीएस न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिका “तालिकाभन्दा निकै अगाडि” रहेको बताए।

अमेरिकी राष्ट्रपतिको उक्त टिप्पणीपछि मङ्गलवार एसियाको प्रारम्भिक कारोबारमा तेलको मूल्य घटेको छ। सोमवार एक बिन्दुमा ती कारोबार प्रतिब्यारल ११५ अमेरिकी डलरसम्म पुगेका थिए।

इरानले स्ट्रेट अफ हर्मुज भनिने जल क्षेत्रलाई अवरुद्ध गर्ने धम्की दिएको छ। ट्रम्पले तेहरानलाई त्यसो गरेमा “मृत्यु, आगो र क्रोध”को चेतावनी दिएका छन्।

तेलको भाउ घट्यो

तेलको भाउ

तस्बिर स्रोत,Getty Images

ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलरमा पुगेको छ। अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलरमा पुगेको छ।

तर यस द्वन्द्वको सुरु हुनुअघि रहेको तुलनामा मूल्य अझै पनि करिब ३० प्रतिशतले बढ्ता छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार युद्ध “निकै चाँडै” समाप्त हुने बताएपछि यस्तो गिरावट देखा परेको हो।

प्रारम्भिक व्यापारमा तेलको मूल्यमा आएको गिरावटले एसियाली बजारहरूलाई प्रोत्साहन दिएको देखिन्छ।

जापानको निक्केई २२५ सूचकाङ्क २.८ प्रतिशतले बढेको छ र दक्षिण कोरियाको कोस्पी एक्सचेन्ज ५ प्रतिशतभन्दा बढीले बढेको थियो।

कैयौँ एसियाली देशहरू द्वन्द्व प्रभावित खाडी राज्यहरूका ठूला ग्राहक भएकाले तेलको मूल्यमा भएको वृद्धिसँगै एसियाली सूचकाङ्कहरूमा ठूलो धक्का परेको थियो।

ट्रम्पले अरू के भनेका छन्?

ट्रम्प

तस्बिर स्रोत,Reuters

एनबीसीसँग कुरा गर्दै उनले इरानी तेल कब्जा गर्ने सम्भावनालाई खुला राखेको बताउँदै “केही मानिसहरूले यसको बारेमा कुरा गरेको” उल्लेख गरे।

न्यूयोर्क पोस्टसँगको अर्को अन्तर्वार्तामा उनले आफ्नो प्रशासन इरानमा अमेरिकी सेना पठाउने कि नपठाउने भन्ने निर्णय गर्नबाट “निकै पर” रहेको बताए।

रिपब्लिकन सांसदहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिका “केही अति दुष्ट मानिसहरूबाट छुटकारा पाउन” इरानमा “छोटो अवधिको” सैन्य कारबाहीमा तानिएको बताए।

उनले थप भने: “हामीले पहिले नै धेरै तरिकाले जितेका छौँ, तर हामीले पर्याप्त जितेका छैनौँ।”

ट्रम्पले न्यूयोर्क पोस्टलाई भने अनुसार उनी इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईलाई लिएर “खुसी छैनन्।”

तर पछि ट्रम्पले आफ्नो प्रेस ब्रीफिङका क्रममा मोज्तबाको स्थान कसलाई चाहन्छन् वा त्यो कसरी प्राप्त हुने छ भनेर स्पष्ट पारेनन्।

उक्त ब्रीफिङमा ट्रम्पले इरानमा गरिएको कारबाही “ठूलो सफलता” भएको दोहोर्‍याए। तर उनले इरानले “निकै लामो समयसम्म” परमाणु अस्त्र विकास गर्न नसक्ने सुनिश्चित गर्न चाहेको र त्यो निकै ठूलो काम रहेको बताए।

पत्रकारहरूसँग बोल्दै ट्रम्पले अमेरिकाको इरानमा अझै पनि लक्ष्यहरू रहेका र ती “एकै दिनका” काम भएको बताए। तर उनले यस युद्ध “निकै चाँडै” सकिने बताए।

बीबीसीबाट ।

नेपालमा आगामी सरकारले गर्नु पर्ने आधारभूत कार्यहरू

टीका पौडेल ।

सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता

नेपाल लामो राजनीतिक परिवर्तनको इतिहास बोकेको देश हो। राणा शासनको अन्त्यपछि सुरु भएको राजनीतिक रूपान्तरणको यात्रा बहुदलीय प्रजातन्त्रको स्थापना, त्यसको विघटन र पुनर्स्थापना, सशस्त्र द्वन्द्वको अन्त्य तथा राजतन्त्रको समाप्तिसँगै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासम्म आइपुगेको छ। यी सबै परिवर्तनहरूले नेपाली समाजमा नयाँ आशा र अपेक्षाहरू जन्माएका थिए। जनताले प्रत्येक परिवर्तनलाई नयाँ युगको सुरुवातको रूपमा हेरेका थिए। तर यति धेरै राजनीतिक परिवर्तनहरू भए पनि राज्य सञ्चालनको शैलीमा अपेक्षित स्तरको सुधार हुन नसकेको अनुभूति आज पनि धेरै नेपाली नागरिकमा देखिन्छ। राजनीतिक प्रणाली बदलिएको भए पनि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त शासनको अनुभूति आम जनतासम्म पूर्ण रूपमा पुग्न सकेको छैन।

यस वास्तविकताले नेपाली समाजमा राजनीतिप्रति निराशा र अविश्वासको भावना विस्तार हुँदै गएको देखिन्छ। धेरै नागरिकहरू अब केवल सरकार परिवर्तन होइन, शासन संस्कृतिको परिवर्तन चाहन्छन्। राज्य सञ्चालनको प्रक्रिया जनताप्रति उत्तरदायी, न्यायपूर्ण र पारदर्शी हुनुपर्ने अपेक्षा आज पहिलेभन्दा धेरै स्पष्ट रूपमा व्यक्त भइरहेको छ। यही परिवेशमा नयाँ राजनीतिक शक्तिहरू—विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता दलहरू—प्रति जनतामा आशाको भावना देखिन थालेको छ। यदि भविष्यमा यस्ता शक्तिहरूले सरकार सञ्चालन गर्ने अवसर प्राप्त गरे भने उनीहरूले आफ्नो प्राथमिकतामा राख्नुपर्ने आधारभूत विषयहरू स्पष्ट छन्। ती विषयहरू हुन् सुशासनको स्थापना, भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र राज्य सञ्चालनमा पारदर्शिताको सुनिश्चितता। यी तीन तत्वहरू लोकतान्त्रिक शासनको मेरुदण्ड हुन्। यदि यी मजबुत भए भने आर्थिक विकास, सामाजिक न्याय र राजनीतिक स्थायित्वको आधार स्वतः बलियो हुन्छ।

सुशासन कुनै पनि आधुनिक राज्य व्यवस्थाको आधारभूत आवश्यकता हो। सुशासन भन्नाले राज्य सञ्चालनको यस्तो प्रणाली बुझिन्छ जसमा निर्णय प्रक्रिया न्यायपूर्ण, उत्तरदायी, प्रभावकारी र जनमुखी हुन्छ। सुशासनको मूल उद्देश्य राज्यका सबै संस्थाहरूलाई जनताको सेवामा समर्पित बनाउनु हो। जब सरकारका नीतिहरू स्पष्ट हुन्छन्, कानूनको शासन प्रभावकारी रूपमा लागू हुन्छ, र नागरिकले सहज रूपमा सार्वजनिक सेवा प्राप्त गर्न सक्छन्, तब मात्र सुशासनको वास्तविक अनुभूति हुन्छ। सुशासन केवल प्रशासनिक दक्षताको विषय मात्र होइनस यो नागरिकको सम्मान, अधिकार र सहभागितासँग गहिरो रूपमा जोडिएको अवधारणा हो।

नेपालमा सुशासनको अवधारणा औपचारिक रूपमा स्वीकार गरिएको भए पनि यसको व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको देखिन्छ। सरकारी संस्थाहरूमा कहिलेकाहीँ अत्यधिक राजनीतिक हस्तक्षेप हुने गरेको आरोप लाग्ने गरेको छ। नियुक्ति, सरुवा र पदोन्नति जस्ता प्रशासनिक प्रक्रियाहरूमा योग्यता र दक्षताभन्दा राजनीतिक निकटताको प्रभाव बढी देखिने अवस्था हुँदा प्रशासनिक प्रणालीको पेशागत चरित्र कमजोर हुन्छ। यस्तो अवस्थामा प्रशासनिक निकायहरूले स्वतन्त्र र निष्पक्ष रूपमा निर्णय गर्न कठिनाइ महसुस गर्छन्। परिणामस्वरूप प्रशासनिक निर्णयहरू दीर्घकालीन राष्ट्रिय हितभन्दा पनि तत्कालीन राजनीतिक स्वार्थबाट प्रभावित हुने सम्भावना बढ्छ।

सुशासनको अर्को महत्वपूर्ण चुनौती प्रशासनिक प्रक्रियामा देखिने ढिलासुस्ती र जटिलता हो। धेरै नागरिकहरूले सरकारी सेवा प्राप्त गर्नका लागि लामो समय खर्च गर्नुपर्ने अनुभव सुनाउने गरेका छन्। एउटा सामान्य प्रमाणपत्र लिनका लागि पनि विभिन्न कार्यालयहरू धाउनुपर्ने अवस्था अझै कतिपय स्थानमा देखिन्छ। यस्तो परिस्थितिले नागरिकको समय मात्र नष्ट गर्दैन, राज्यप्रति उनीहरूको विश्वास पनि कमजोर बनाउँछ। जब राज्यका संस्थाहरू नागरिकको जीवनलाई सहज बनाउने सट्टा झन्झटिलो बनाउने माध्यमजस्तो देखिन थाल्छन्, तब सुशासनको अवधारणा कमजोर हुन्छ।

यस अवस्थामा सुधार ल्याउन प्रशासनिक प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउनु आवश्यक हुन्छ। डिजिटल प्रविधिको प्रयोग गरेर सार्वजनिक सेवा वितरणलाई सरल र छिटो बनाउने प्रयास विश्वभर भइरहेको छ। नेपालले पनि यस दिशामा उल्लेखनीय प्रगति गर्नुपर्ने आवश्यकता छ। जब सरकारी सेवाहरू अनलाइन माध्यमबाट उपलब्ध हुन्छन्, तब प्रक्रियाहरू पारदर्शी बन्छन् र अनावश्यक मानवीय हस्तक्षेप कम हुन्छ। यसले भ्रष्टाचारको सम्भावना घटाउनुका साथै नागरिकको समय र श्रम पनि बचाउँछ।

सुशासनसँग घनिष्ठ रूपमा सम्बन्धित अर्को आधारभूत विषय कानूनको शासन हो। लोकतान्त्रिक समाजमा कानून सबैका लागि समान हुनुपर्छ भन्ने सिद्धान्त अत्यन्त महत्वपूर्ण मानिन्छ। यदि समाजमा शक्तिशाली व्यक्ति वा संस्थाहरू कानूनभन्दा माथि रहेको जस्तो अनुभूति फैलियो भने राज्य प्रणालीप्रति जनताको विश्वास कमजोर हुन्छ। त्यसैले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र प्रभावकारिता कायम राख्नु सुशासनको महत्वपूर्ण आधार हो।

सुशासनको चर्चा गर्दा भ्रष्टाचारको प्रश्न स्वतः उठ्छ। भ्रष्टाचारलाई विकासको सबैभन्दा ठूलो बाधा मानिन्छ। जब सार्वजनिक स्रोतहरू निजी स्वार्थका लागि प्रयोग गरिन्छन्, तब राष्ट्रको आर्थिक र सामाजिक प्रगति अवरुद्ध हुन्छ। नेपालमा पनि भ्रष्टाचारको समस्या लामो समयदेखि सार्वजनिक बहसको केन्द्रमा रहँदै आएको छ। विभिन्न अध्ययन र सूचकांकहरूले सार्वजनिक खरिद प्रक्रिया, विकास परियोजनाहरू, प्रशासनिक निर्णय र राजनीतिक वित्तका क्षेत्रमा भ्रष्टाचारको जोखिम रहेको देखाएका छन्।

भ्रष्टाचारको प्रभाव बहुआयामिक हुन्छ। यसले सरकारी बजेटको दुरुपयोग गराउँछ, विकास योजनाहरूको प्रभावकारिता घटाउँछ र सामाजिक असमानतालाई बढावा दिन्छ। अझ महत्वपूर्ण कुरा, भ्रष्टाचारले राज्यप्रति जनताको विश्वासलाई कमजोर बनाउँछ। जब नागरिकले देख्छन् कि नियमको पालन गर्नेभन्दा नियम उल्लङ्घन गर्नेहरूलाई बढी लाभ मिलिरहेको छ, तब समाजमा नैतिक मूल्यहरूको ह्रास हुन थाल्छ। यस्तो अवस्था दीर्घकालीन रूपमा लोकतान्त्रिक संस्थाहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ।

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी संस्थागत संरचना आवश्यक हुन्छ। भ्रष्टाचारको अनुसन्धान गर्ने निकायहरू स्वतन्त्र र सक्षम हुनुपर्छ। यदि अनुसन्धान प्रक्रिया राजनीतिक प्रभावबाट मुक्त रहन सकेन भने भ्रष्टाचार नियन्त्रणको प्रयास प्रभावकारी हुन सक्दैन। त्यसैले अनुसन्धान संस्थाहरूलाई पर्याप्त अधिकार, स्रोत र संस्थागत स्वतन्त्रता प्रदान गर्नु अत्यन्त आवश्यक हुन्छ। साथै भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कानून अनुसार कडा कारबाही गरिनुपर्छ ताकि समाजमा उत्तरदायित्वको स्पष्ट सन्देश जाओस्।

डिजिटल प्रविधिको प्रयोगले पनि भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ। जब सरकारी भुक्तानी प्रणाली, कर प्रणाली र ठेक्का प्रक्रिया डिजिटल माध्यमबाट सञ्चालन हुन्छ, तब मानवीय हस्तक्षेप कम हुन्छ र अनियमितताको सम्भावना घट्छ। यसले प्रशासनिक प्रक्रियालाई थप पारदर्शी र व्यवस्थित बनाउँछ।

भ्रष्टाचार नियन्त्रणसँग गहिरो रूपमा सम्बन्धित अर्को महत्वपूर्ण विषय पारदर्शिता हो। पारदर्शिता भनेको सरकारका गतिविधिहरू नागरिकका लागि खुला र स्पष्ट हुनु हो। जब सरकारका निर्णय, बजेट र कार्यक्रमहरूको विवरण सार्वजनिक रूपमा उपलब्ध हुन्छ, तब नागरिकले राज्य सञ्चालनको प्रक्रिया बुझ्न सक्छन्। यसले सरकारप्रति विश्वास निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ।

नेपालमा पारदर्शिताको विषय अझै पनि चुनौतीपूर्ण रहेको देखिन्छ। धेरै निर्णयहरू कसरी गरिन्छन्, बजेट कसरी खर्च हुन्छ, र विकास परियोजनाहरूको वास्तविक प्रगति कस्तो छ भन्ने विषयमा नागरिकहरूले स्पष्ट जानकारी प्राप्त गर्न कठिनाइ महसुस गर्ने अवस्था रहेको गुनासो सुनिन्छ। यस्तो अवस्थाले समाजमा शंका र अविश्वासको वातावरण सिर्जना गर्छ।

पारदर्शिता बढाउनका लागि सूचना अधिकारको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक हुन्छ। नागरिकहरूले सरकारी निकायसँग जानकारी माग्दा सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण हुनुपर्छ। यसका साथै सरकारी निकायहरूले आफ्ना गतिविधिहरू नियमित रूपमा सार्वजनिक गर्ने संस्कृति विकास गर्नुपर्छ। जब राज्यका संस्थाहरू आफ्ना निर्णय र कार्यहरूबारे खुला हुन्छन्, तब नागरिक र सरकारबीच विश्वासको सम्बन्ध सुदृढ हुन्छ।

पारदर्शिताले नागरिक सहभागितालाई पनि प्रोत्साहन दिन्छ। जब नागरिकहरूलाई नीति निर्माण प्रक्रियाबारे पर्याप्त जानकारी हुन्छ, तब उनीहरू सक्रिय रूपमा आफ्नो धारणा व्यक्त गर्न सक्छन्। लोकतन्त्रको सुदृढीकरणका लागि यस्तो सहभागिता अत्यन्त महत्वपूर्ण हुन्छ। नागरिकहरूलाई नीति निर्माण प्रक्रियामा सहभागी गराउने प्रयासले राज्य र समाजबीचको दूरी कम गर्छ।

अन्ततः सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता तीनवटा अलग(अलग विषय जस्तो देखिए पनि वास्तवमा यी एकअर्कासँग गहिरो रूपमा जोडिएका आधारहरू हुन्। सुशासन बलियो भयो भने भ्रष्टाचारको सम्भावना स्वतः घट्छ। पारदर्शिता बढ्यो भने प्रशासनिक उत्तरदायित्व सुदृढ हुन्छ। भ्रष्टाचार नियन्त्रण भयो भने विकास प्रक्रियामा जनताको विश्वास बढ्छ। यी तीन तत्वहरू मिलेर नै उत्तरदायी र प्रभावकारी शासन प्रणालीको निर्माण सम्भव हुन्छ।

नेपाल आज परिवर्तनको खोजीमा रहेको समाज हो। राजनीतिक संरचना परिवर्तन भइसकेको छ, तर शासन संस्कृतिको परिवर्तन अझै अधुरो छ। त्यसैले आगामी सरकारले आफ्नो प्राथमिकता स्पष्ट रूपमा तय गर्नुपर्छ। सत्ता प्राप्त गर्नु मात्र पर्याप्त हुँदैनस सत्ताको प्रयोग कसरी गरिन्छ भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ। यदि सरकार जनताप्रति उत्तरदायी, पारदर्शी र ईमानदार बन्न सक्छ भने मात्र लोकतन्त्रको वास्तविक अर्थ स्थापित हुन्छ।

यस दृष्टिकोणबाट हेर्दा नेपालको भविष्य सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताको सुदृढीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको छ। यदि यी आधारहरू मजबुत बनाउन सकियो भने नेपालले आर्थिक विकास, सामाजिक न्याय र राजनीतिक स्थायित्वतर्फ द्रुत गतिमा अघि बढ्न सक्छ। यही मार्गले मात्र जनताको विश्वास जित्ने र राष्ट्रलाई दीर्घकालीन समृद्धिको दिशामा लैजाने सम्भावना सुनिश्चित गर्छ।

एनआरएनए अमेरिकाद्वारा डा. त्रिपाठी सम्मानित

कोलोराडो(अमेरिका), २६ फागुन ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गैर आवासीय नेपाल संघ(एनआरएनए)  एनसीसी अमेरिकाद्धारा रिभाईभ मेडिकल वेलनेसकी सिईओ तथा रिजेनेरेटिभ स्पेशलिष्ट डा. शारदा काफ्ले त्रिपाठी सम्मानित भएकी छन् ।

ब्लड डोनर्स अफ अमेरिका(बीडीए) कोलोराडो च्याप्टरकी पूर्व अध्यक्ष समेत रहेकी त्रिपाठीलाई सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै एनआरएनए कोलोराडोले सम्मान गरेको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आईतवार नेपाली घरमा आयोजित कार्यक्रममा कोलोराडो राज्य सभा सदस्य केनी न्यूयाङ र वेष्टमिनिष्टर नगरकी मेयर क्लेरा कार्मेलियाले डा. त्रिपाठीलाई प्रशंसा पत्र प्रदान गरेकी थिईन् ।

एनआरएनए  एनसीसी अमेरिकाले डक्टर अफ नर्स प्राक्टिसनर त्रिपाठी सहित बिभिन्न बिधा र क्षेत्रमा योगदान पु¥याउने प्रेरणादायी नौ जना महिलालाई सम्मान गरेको हो ।

डा. त्रिपाठी सहित सगरमाथा आरोही एकल महिला नीमा डोमा शेर्पा, ओलम्पियन निष्मा गुरुङ, महिला उद्यमी तथा समाजसेवी दिल कुमारी श्रेष्ठ, समाजसेवी मीना पौडेल, गायिका निर्मला श्रेष्ठ, लेखिका प्रमिला शर्मा, समाजसेवी उत्तरा श्रेष्ठ, उद्यमी तथा सांस्कृतिक दूत मिना मास्केलाई सम्मान गरिएको थियो ।

एनआरएनए कोलोराडो च्याटर र नेपाल वुमन थ्राईभ(एनडब्लुटी) को सहकार्यमा आयोजित कार्यक्रम एनआरएनए कोलोराडो च्याप्टरकी महिला उपाध्यक्ष नमुना गैरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो पनि

को हुन् डा. शारदा काफ्ले त्रिपाठी ?

अमेरिकामा विरामीलाई पुनर्जीवन दिईरहेकी डा. शारदा 

 

(www.revivemedicalwellness.net)

रास्वपा दुई तिहाई नजिक, दोस्रोमा काँग्रेस(कसको कति सिट विस्तृतमा)

काठमाण्डौं, २६ फागुन ।
प्रत्यक्षपछि समानुपातिक तर्फको मतगणना सकिन लाग्दा रास्वपा दुई तिहाई बहुमतको नजिक पुगेको छ । रास्वपाको प्रत्यक्षतर्फ १२५ र समानुपातिक तर्फ ५८ गरी १८३ सिट पुग्ने देखिएको छ । यो संख्या दुई तिहाई पुग्न एक सिट कम हो ।

त्यस्तै काँग्रेसको प्रत्यक्ष तर्फ १८ र समानुपातिक तर्फ १९ गरी ३७ सिट पुग्ने देखिन्छ । तेस्रोमा रहेको नेकपा एमालेले प्रत्यक्ष तर्फ ९ र समानुपातिक तर्फ १६ गरी २५ सिट पुर्याउने देखिएको छ ।

चौथो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी १७ सिटमा समेटिएको छ ।

चुनावकै मुखमा स्थापना भएको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिक ४ सिट पाएको छ । त्यस्तै राप्रपा र स्वतन्त्रले प्रत्यक्षमा एक एक सिट जितेको छ ।

समानुपातिक तर्फ कुन पार्टीले कति मत पायो ?
रास्वपा ४,९३२,२७८ (४८.०८%)
कांग्रेस १,६६८,९७८ (१६.२७%)
एमाले १,३८६,४३१ (१३.५१%)
नेकपा ७४९,३६६ (७.३०%)
श्रम संस्कृति ३४६,७९६ (३.३८%)
राप्रपा ३२२,०४० (३.१४%)
जसपा, नेपाल १६८,५३७ (१.६४%)
राष्ट्रिय परिवर्तन पार्टी १६४,७३२ (१.६१%)
जनमत ७५,३१३ (०.७३%)
जम्मा गणना भएको मतसंख्या : १०,२५९,५००

खोज्नुहोस