इरानले विश्वकप नखेल्ने

काठमाण्डाै – इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को विश्वकप नखेल्ने बताएका छन् ।

खेलकुदमन्त्री डोन्यामालीले प्रतियोगिताको सह–आयोजक अमेरिकाले इजरायलसँग मिलेर हवाई आक्रमण गरेपछि आफ्नो देशले विश्वकपमा भाग लिन नसक्ने बताएका हुन् । आफ्ना खेलाडीहरू सुरक्षित नभएकाले विश्वकपमा सहभागिता जनाउन नसक्ने उनको भनाइ छ ।

खेलकुदमन्त्रीको भनाइलाई लिएर इरानी फुटबल सङ्घ र विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले तत्काल कुनै टिप्पणी गरेका छैनन् ।

४८ वटा टोली सहभागी विश्वकप आउँदो जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ । विश्वकपमा इरानसँगै बेल्जियम, इजिप्ट र न्युजिल्यान्ड समूह ‘जी’ मा रहेका छन् ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानी सर्वाेच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि मध्यपूर्वमा तनाव बढेको छ ।

 

१६ वर्षीया किशोरीको शव ५ दिनदेखि कर्णाली प्रदेश अस्पतालमा

सुर्खेत — वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विक गत शनिबार बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किइन् । उनी उषा बालवाटिका विद्यालयमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत थिइन् । शनिबार भएकाले आमा तिला र उनी आफ्नो गाउँ गुर्भाकोट जाने योजना अघिल्लो दिन नै बनेको थियो ।

तर इनिसाले १–२ घण्टामै फर्किहाल्छु, त्यसपछि गाउँ जाने भनेपछि आमा तिलाले छिटो आउनु भन्दै पठाएकी थिइन् । तर छोरी फर्किइनन् ।  ‘ढिलोमा ८ बजेसम्म फर्किहाल्छु भनेकी छोरी ९ बजेसम्म नआएपछि मैले फोन गरें, तर मोबाइल अफ थियो,’ भक्कानिँदै आमा तिलाले भनिन्, ‘त्यसपछि शिक्षकको मोबाइलमा पनि फोन गरें, तर अफ थियो ।’

त्यसको करिब १० मिनेटपछि आमा तिलालाई नचिनेको नम्बरबाट फोन आयो, इनिसा सहिद पार्कको जंगलमा बेहोस अवस्थामा छिन् भनेर ।  हतार–हतार सहिद पार्क पुग्दा इनिसाको शरीर नग्न, रक्ताम्मे र बेहोस अवस्थामा थियो । उनी पुग्दा प्रहरी पनि घटनास्थल पुगिसकेको थियो । ‘शरीर पूरै रक्ताम्मे थियो, कपाल लुछिएको थियो, वरिपरि घाँस मडारिएको थियो,’ उनले भनिन्, ‘नग्न भएकाले शरीर कालो ज्याकेटले छोपिएको थियो, त्यो हेर्न नसकी म त्यहीं बेहोस भएछु ।’

इनिसालाई प्रहरी र स्थानीयले हतार–हतार झन्डै १० मिनेट दूरीको प्रदेश अस्पताल पुर्‍याए । तर उपचार सुरु नहुँदै डाक्टरले मृत घोषणा गरे । उनको शव प्रदेश अस्पतालमा राखिएको छ । पोस्टमार्टम भइसकेको छ । परिवारले दोषीमाथि कारबाही नहुँदासम्म शव नबुझ्ने अडान लिएको छ । ‘सामूहिक बलात्कारपछि हत्या गरियो, न्याय नपाए शव बुझ्दैनौं,’ आमा तिलाले भनिन् ।

पोस्टमार्टमको विस्तृत रिपोर्टका लागि भेरी अस्पताल नेपालगन्जबाट विशेषज्ञ डाक्टरको टोली बोलाइएको प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले बताए । ‘सबै कोणबाट पोस्टमार्टम  रिपोर्टको विश्लेषण गर्ने काम भइरहेको छ,’ उनले भने, ‘१–२ दिनमा विस्तृत रिपोर्ट सम्बन्धित निकायमा पठाउँछौं । प्रहरीले पनि ‘फरेन्सिक रिपोर्ट’का लागि नमुना विधिविज्ञान प्रयोगशालामा पठाएको जनाएको छ ।

दुवै रिपोर्ट आएपछि घटनाको वास्तविकता थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले बताए । उनका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानले इनिसाको बलात्कारपछि मृत्यु भएको देखिन्छ ।  पोस्टमार्टम रिपोर्टमा यौनांगको भित्री र बाहिरी भाग च्यातिएकाले अत्यधिक रगत बगेपछि मृत्यु भएको देखिएको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फरिन्सिक विभाग अधिकृत डा. अर्विन शाक्यले बताए ।

‘अत्यन्तै हिंसात्मक शैलीले सम्पर्क गरेको देखिन्छ, सामूहिक बलात्कार हो/होइन भन्ने तथ्य खुलिसकेको छैन,’ उनले भने, ‘अन्य रिपोर्ट पनि आउन बाँकी छ ।’  डीएसपी बुढथापाका अनुसार त्यस दिन बिहान प्रहरीलाई ९ः१५ बजेतिर खबर गरिएको थियो ।

‘घटनास्थल पुग्दा शरीरको तल्लो भागमा चोटपटक देखिएको थियो, रगत बगेको थियो,’ उनले भने, ‘ढाडतिरको भाग कोतरिएको थियो ।’ अनुसन्धानका लागि एक जनालाई घटनास्थलबाटै र आइतबार थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीनै जना नाबालक (१८ वर्षमुनिका) हुन् ।

परिवारले चार जनाविरुद्ध कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी उजुरी दिएको डीएसपी बुढथापाले बताए । प्रहरीका अनुसार पक्राउ परेका १६ वर्षीय किशोरले बयानका क्रममा किशोरीसँग शारीरिक सम्पर्क गर्दा अत्यधिक रक्तस्राव भएको बयान दिएका छन् ।

‘रक्तस्राव भएपछि उनी बेहोस भइन्, त्यसपछि मैले अरू तीन साथीलाई उद्धारका लागि बोलाएको हुँ,’ बयानमा उनले भनेका छन्, ‘उनीसँग दुई वर्षदेखि प्रेमसम्बन्ध थियो, बेलाबेलामा भेटघाट गरिरहन्थ्यौं ।’ किशोरले अन्य तीन युवकलाई ८ः२५ बजे फोन गरेको ‘कल डिटेल्स’मा देखिएको प्रहरीको भनाइ छ ।  घटनास्थल भैरव सामुदायिक वनभित्र सहिद पार्क निर्माण गरिएको छ । जहाँ दैनिक दुई सय जना आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् ।

तर पछिल्लो घटनाको पाँच दिनसम्म पनि वास्तविकता सार्वजनिक नभएको भन्दै पीडित परिवार र विभिन्न संघसंस्था आन्दोलित बनेका छन् । पीडितहरूले बुधबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । घटनाको सत्यतथ्य सार्वजनिक गर्न र अपराधमा संलग्नलाई कडा सजाय दिनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा आमा तिलालगायतको टोलीले ज्ञापनपत्र बुझाएको छ ।

‘दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्छ, प्रहरीले उनीहरूलाई उन्मुक्ति दिने प्रयास नगरोस्, दोषीमाथि कारबाहीको ग्यारेन्टी नहुँदासम्म शव बुझ्दैनौं,’ मृतकका काका नाता पर्ने अनन्त विकले भने । बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पनि पीडित परिवार भेट्न पुगेका  थिए । उनले घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानुनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढ्ने बताए । पीडित परिवारले न्याय पाउनेमा प्रदेश सरकार स्पष्ट रहेको उनको भनाइ छ ।

राजधानी काठमाडौंको माइतीघरमा पनि बुधबार दोषीमाथि कारबाहीको माग गर्दै विभिन्न संघसंस्थाले प्रदर्शन गरेका छन् ।

विश्वभरको इन्धन अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय

काठमाडौं । मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ । अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का ३२ सदस्य देशहरूले विश्व बजारमा तेल पठाउने निर्णयको पक्षमा सर्वसम्मत निर्णय गरेको बीबीसीले जनाएको छ ।

मध्यपूर्वको तनावको क्रममा इरान र खाडी देशको बीचमा पर्ने समुद्री मार्ग होर्मुज स्ट्रेटमा आक्रमण भएपछि विश्वभर तेल आपूर्ति प्रभावित भएको छ । तेल मूल्यको आकासिएको छ ।

आईईएका कार्यकारी निर्देशक फेथ बिरोलले तेल बजारले अहिले असाधारण चुनौतीको सामना गरिरहेको भन्दै यस्तो कदम आवश्यक भएको बताएका छन् । उनले भनेका छन्, ‘तेल बजारमा देखिएका चुनौतीहरू अभूतपूर्व छन्, त्यसैले सदस्य देशहरूले यस्तो कदम चाल्नु सकारात्मक कुरा हो ।’

आईईएले आपतकालीन भण्डारबाट निकालिने तेल प्रत्येक सदस्य देशको राष्ट्रिय परिस्थितिअनुसार उपयुक्त अवधिमा बजारमा उपलब्ध गराइने जनाएको छ ।

आईईएका सदस्य देशहरूसँग अहिले १ अर्ब २० करोड ब्यारेलभन्दा बढी आपतकालीन तेल भण्डार रहेको बताइन्छ । त्यसबाहेक उद्योग क्षेत्रमा सरकारी दायित्वअन्तर्गत अतिरिक्त ६० करोड ब्यारेल तेल भण्डार रहेको एजेन्सीले जनाएको छ ।

अमेरिकाले दिनेछ १७ करोड २० लाख ब्यारेल तेल

यस निर्णयअन्तर्गत अमेरिकाले सबैभन्दा ठूलो योगदान गर्ने भएको छ । अमेरिकाले कुल ४० करोड ब्यारेलमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने जनाएको छ ।

अमेरिकाको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) बाट तेल निकासी आगामी सातादेखि सुरु हुने र करिब १२० दिनभित्र बजारमा पठाइने  अमेरिकाको ऊर्जा विभागले जनाएको छ ।

ऊर्जा विभागका अनुसार, अमेरिकाले आगामी एक वर्षभित्र २० करोड ब्यारेल तेल पुन: भण्डारमा भर्ने योजना बनाएको छ । सामान्यतया यस्तो भण्डार पुन: भर्ने खर्च करदाताले बहन गर्नुपर्ने भए पनि यसपटक करदातालाई अतिरिक्त भार नपर्ने दाबी गरिएको छ, यद्यपि त्यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

अमेरिकी ऊर्जा विभागको तथ्यांकअनुसार ६ मार्चसम्म एसपीआरमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल भण्डारण छ, जबकि यसको कुल क्षमता ७० करोड ब्यारेल रहेको छ ।

मिर्गौला र कलेजो बिग्रनेको संख्या बढ्दो, अस्पतालमा पालो कुर्नेको भिड

काठमाडौं ।  भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गर्न तीन सय र कलेजो प्रत्यारोपणका लागि १६० बिरामी पर्खाइमा छन् । नियमित डायलाइसिस र औषधि सेवनले शरीर गलेका उनीहरू प्रत्यारोपण गर्न आतुर छन् । तर, सीमित स्रोत–साधनका कारण सबै बिरामीको अंग प्रत्यारोपण प्रक्रिया तत्काल थाल्न सम्भव नभएको अस्पताल बताउँछ । सबैभन्दा बढी मिर्गौला र कलेजो प्रत्यारोपण गर्दै आइरहेको केन्द्रले नै प्रत्यारोपणको भार खेपिरहेको छ ।

केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पना श्रेष्ठले नेपालमा हुने अंग प्रत्यारोपणमध्ये दुईतिहाइ प्रत्यारोपण केन्द्रले नै गर्ने गरेको बताइन् । उनका अनुसार केन्द्रले वार्षिक दुई सयको अंग प्रत्यारोपण गर्छ । तर, केन्द्रको आफ्नै भवन छैन, आफ्नै भवन भयो भने पाँच सय प्रत्यारोपण गर्न सकिने डा. श्रेष्ठको भनाइ छ ।

‘पर्खाइमा बस्ने बिरामी पनि उत्तिकै हुनुहुन्छ, दैनिक एकजनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । जहाँ बिरामीको जटिल प्रत्यारोपण भइरहेको छ, त्यहाँ सरकारले चासो दिएको छैन,’ उनले भनिन्, ‘यस्तो प्रकारको अस्पतालको पूर्वाधार राम्रो भए बिरामीलाई सहज हुन्थ्यो ।’

शरीरको अंगले काम गर्न नसक्ने भएपछि अंग प्रत्यारोपणका लागि अस्पतालमा पालो कुर्नेको लामो सूची छ । सीमित अस्पतालहरूमा मात्रै प्रत्यारोपण सेवा हुँदा र प्रक्रिया झन्झटिलो हुँदा बिरामीहरू लामो समयसम्म पालो कुर्न विवश छन् ।

हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा १४ बिरामी मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । कलेजो प्रत्यारोपणका लागि कुर्ने बिरामी एकजना मात्रै रहेको अस्पतालले जनाएको छ । मिर्गौला मात्रै प्रत्यारोपण हुने वीर अस्पतालमा १० जना लाइनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नौ, प्रादेशिक अस्पताल सुर्खेतमा ६, भेरी प्रादेशिक अस्पतालमा पाँच बिरामीले मिर्गौला प्रत्यारोपणको पालो कुरिरहेका छन् ।

अंग प्रत्यारोपणका लागि निजी अस्पतालमा पनि बिरामी पर्खाइमा छन् । ललितपुरस्थित मेडिसिटी अस्पतालमा आठजना मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । किस्ट मेडिकल कलेजमा सात बिरामी मिर्गौला र तीनजना कलेजो प्रत्यारोपणको पर्खाइमा छन् । काठमाडौं मेडिकल कलेज (केएमसी)मा तीनजना कलेजो र ११ जना मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् । अस्पतालका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले अंग प्रत्यारोपणको प्रक्रिया नै झन्झटिलो भएकाले पालो कुर्ने बिरामीको संख्या बढ्दै गइरहेको बताए । बी एन्ड बी, नर्भिक, ग्रान्डी र सुमेरु अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुन्छ । तर, यी अस्पतालले लाइनमा रहेका बिरामीको तथ्यांक दिन मानेनन् ।

आफैँमा कठिन मानिने प्रत्यारोपणपछि नयाँ जीवन पाउने आशामा बिरामी एक वर्षसम्मको पालो कुरिरहेका छन् । डोनर नपाउने, पाए पनि म्याचिङ नगर्ने तथा रक्त समूह नमिल्ने, झन्झटिलो कानुनी प्रक्रिया, आर्थिक अभावलगायत समस्या अंग बिग्रिएकाले झेल्दै आइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो समय अंग प्रत्यारोपण गर्नेको संख्या बढ्दै गएको बताए । ‘अंग प्रत्यारोपण गर्न पहिले विदेश जान्थे, अहिले विदेशभन्दा नेपालमा प्रत्यारोपण गराउँछु भन्नेहरू धेरै छन्,’ उनले भने, ‘देशभर पाँच अस्पतालमा कलेजो र एक दर्जनजति अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन्छ, यो निजी र सरकारी दुवै अस्पतालतर्फको तथ्यांक हो । दुवैतर्फ गरी वार्षिक देशभर करिब आठ सयजनाको मिर्गौला र सयजनाको कलेजो प्रत्यारोपण हुन्छ, तर पर्खाइमा बस्नेको सूचीअनुसार यो पर्याप्त होइन ।’

भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपणका लागि पालो पर्खिनेको संख्या पाँच महिनाअघि भन्दा अहिले कम भएको छ । पाँच महिनाअघि एक हजार बिरामी मिर्गौला प्रत्यारोपण गर्ने पालोमा बसेका थिए । तर, हाल उक्त संख्यामध्ये केही घटेको हो । केन्द्रका अनुसार मस्तिष्क मृत्युबाट हुने अंगदानमा अलि सुधार भएको छ । अझ यसमा बढी जोड दिने हो भने सुधार हुने प्रत्यारोपणविद् बताउँछन् । धेरै त मिर्गौला नमिलेर नै लामो समय पालोमा बस्नेहरू रहेको केन्द्रले जनाएको छ ।

सहिद धर्मभक्तमा मात्रै मिर्गौला प्रत्यारोपणका लागि तीन सय र कलेजोका लागि १६० बिरामी पर्खाइमा 
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंग प्रत्यारोपणका लागि पालो कुर्र्ने बिरामीको सूची निकै लामो छ । मिर्गौला प्रत्यारोपणका लागि ११ कात्तिकसम्मको तथ्यांक हेर्दा डोनरसहित उपस्थित भएका ११२ बिरामी पर्खाइमा छन् । यी बिरामी सबै प्रकारको चेकजाँच गरेर लिने तयारीमा बसेका हुन् । तर, यी सबैको मिर्गौला प्रत्यारोपण गरिसक्न एक वर्ष लाग्ने केन्द्रले जनाएको छ ।

त्यस्तै, ब्रेन डेथबाट आएको मिर्गौला प्रत्यारोपणको पर्खाइमा बसेका बिरामी १९२ जना छन् । उनीहरूको मिर्गौला प्रत्यारोपण गर्ने विभिन्न प्रक्रिया नमिलेको र डोनर नभेटिएका कारण ब्रेन डेथबाट आएको मिर्गौला लिन पर्खिएका हुन् । डोनर भेटिएका र सबै प्रक्रिया मिलेका बिरामीको तुलनामा ब्रेन डेथको मिर्गौला कुरिरहेका बिरामीको अंग प्रत्यारोपण गर्न एक वर्षभन्दा बढी लाग्ने केन्द्रले जनाएको छ । ब्रेन डेथबाट आएको मिर्गौला कुरिरहेकामध्ये ३१ जना तत्काल लिन सक्ने गरी तयारीमा बसेका छन् ।

११ बुँदे घोषणापत्र जारी गर्दै छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न

अमेरिका –११ बुँदे घोषणापत्र जारी गर्दै छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।

मार्च ६ देखि ८ सम्म अमेरिकाको जर्जिया राज्यको एटलान्टामा आयोजित उक्त सम्मेलन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रम ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गरिएको थियो।

सम्मेलनको पहिलो दिन, मार्च ६ मा सहभागी साहित्यकार, अतिथि तथा प्रतिनिधिहरूबीच अनौपचारिक भेटघाट, स्वागत तथा परिचयात्मक कार्यक्रम सन्ध्याकालीन भोजनसहित सम्पन्न भएको थियो।

सम्मेलनको दोस्रो दिन, मार्च ७ मा आयोजित उद्घाटन सत्र अनेसास केन्द्रीय महिला समितिकी संयोजक उर्मिला निर्दोषीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष तारा अधिकारी तथा केन्द्रीय सदस्य शकुन ज्ञवालीले संयुक्त रूपमा गरेका थिए ।

उक्त सत्रमा कार्यक्रमका प्रमुख अतिथि जर्जियाका स्टेट सिनेटर शेख रहमानले पानसमा दीप प्रज्वलन गरी सम्मेलनको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा उनले अमेरिका बहुसांस्कृतिक समाज भएको उल्लेख गर्दै आप्रवासी समुदायले आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्नु अत्यन्त आवश्यक रहेको बताए।

भाषा बिर्सिए पहिचान हराउने उल्लेख गर्दै बाल्यकालदेखि नै मातृभाषा सिकाउने परम्परा सुदृढ गर्नुपर्ने र यस कार्यमा आमाहरूको भूमिका विशेष महत्त्वपूर्ण हुने कुरामा उनले जोड दिएका थिए ।

उद्घाटन सत्रमा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, अनेसास बोर्ड अफ ट्रस्टिजका सभापति पदम विश्वकर्मा लगायत बोर्ड अफ ट्रस्टिजका पदाधिकारीहरू, केन्द्रीय कार्यसमितिका सदस्यहरू, सल्लाहकारहरू, अनेसासका विभिन्न च्याप्टरका प्रतिनिधिहरू तथा जर्जिया राज्यमा क्रियाशील नेपाली संघ–संस्थाका प्रतिनिधिहरूले सम्मेलनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

वक्ताहरूले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महिला सशक्तिकरण तथा महिला साहित्यको विकासमा अनेसासले निर्वाह गरेको भूमिकाबारे चर्चा गरेका थिए ।

कार्यक्रममा समाजसेवी डा. प्रह्लाद पन्त तथा उनकी श्रीमती बिन्दु पन्तलाई जर्जिया राज्यस्थित नेपाली समुदायमा पुर्‍याएको सामाजिक सेवाको योगदानको कदरस्वरूप दोसल्ला तथा ताम्रपत्र प्रदान गरी सम्मान गरिएको थियो।

त्यस्तै अनेसास जर्जिया च्याप्टरका संस्थापक अध्यक्ष चेतनाथ घिमिरे तथा वर्तमान अध्यक्ष मीरा कोइरालालाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा हेमराज सापकोटाको जीवनीमा आधारित पुस्तक Extraordinary Life of a District Administrator तथा तारा उप्रेतीको पुस्तक My Life So Far को लोकार्पण गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा अनेसास ह्युस्टन च्याप्टरकी उपाध्यक्ष साधना शर्माद्वारा सञ्चालित कविता वाचन कार्यक्रममा अम्बिका लोहनी, शान्ता घिमिरे अधिकारी, लक्ष्मी श्रेष्ठ, तारा अधिकारी, ज्योति अधिकारी, उर्मिला निर्दोषी, भारती गौतम, तारा उप्रेती, डा. थोमस बास्तोला, विष्णु पंगेनी, डा. राम सिग्देल, मुना आचार्य, सीता अधिकारी तथा रमा बुढाथोकी लगायतका साहित्यकारहरूले आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रमको तेस्रो चरणमा महिला र महिला साहित्य सम्बन्धी विविध विषयमा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो। सिक्किम (भारत) बाट प्राध्यापक डा. कविता लामाले “विश्वमञ्चमा नेपाली नारी: नयाँ पुस्ताका लागि सिर्जनाशक्ति” विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी अनेसास केन्द्रीय सदस्य तारा उप्रेतीले “नेपाली साहित्यमा महिला: हिजो र आज तथा पारिजात” विषयमा र साहित्यकार भारती गौतमले “डायस्पोरामा नेपाली नारीको सिर्जनात्मक भूमिका” विषयमा कार्यपत्र प्रस्तुत गगरेकी थिइन् । कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टिजका उपाध्यक्ष तीर्थराज पाण्डेयले पनि कार्यपत्र प्रस्तुत गरेका थिए।

दोस्रो दिनको अन्तिम प्रस्तुतिका रूपमा सञ्चारकर्मी तथा विश्व भ्रमणकर्ता साइकल यात्री प्रेम बानियाँको टोलीद्वारा निर्मित डकुमेन्ट्री फिल्म Zero to 8848m प्रदर्शन गरिएको थियो।

सम्मेलनको अन्तिम दिन, मार्च ८ मा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महिला साहित्यकारहरूको भूमिका सुदृढ गर्ने उद्देश्यसहित ११ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन औपचारिक रूपमा सम्पन्न गरिएको थियो।

घोषणापत्रमा नेपाली साहित्यका विभिन्न विधामा महिला स्रष्टाहरूको खोज, अनुसन्धान तथा कृतिहरूको प्रकाशनलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। त्यसैगरी प्रवासमा हुर्कँदै गरेको नयाँ पुस्तामा नेपाली भाषा र संस्कृतिको पुस्तान्तरणका लागि बालसाक्षरता कक्षा, साहित्यिक कार्यक्रम, बालकृति प्रकाशन तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने विषय समेटिएको छ।

घोषणापत्रमा भाषा, साहित्य र संस्कृतिको संरक्षणमा आमाहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै उनीहरूलाई संगठित गरी नयाँ पुस्तामा नेपाली पहिचान हस्तान्तरण गर्ने योजनासमेत समावेश गरिएको छ। त्यसैगरी महिला सशक्तिकरण, लैंगिक समानता तथा विश्वव्यापी महिला सहकार्यलाई सुदृढ बनाउने लक्ष्य पनि अघि सारिएको छ। महिला, पुरुष तथा तेस्रो लिंगी समुदायबीच समानता र सम्मान स्थापित गर्दै स्वस्थ प्रतिस्पर्धासहित सशक्त समाज निर्माणमा साहित्यले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा घोषणापत्रले जोड दिएको छ।

टी–२० विश्वकप : नेपाली खेलाडीले तीन करोड ७७ लाख पुरस्कार पाए

काठमाडौँ- भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) बाट दुई लाख ५६ हजार एक सय ५४ अमेरिकी डलर (करिब तीन करोड ७७ लाख ५७ हजार रुपियाँ) पुरस्कार पाएको छ ।

आइसिसीले बुधबार विश्वकपमा सहभागि खेलाडीलाई प्रदान गर्ने पुरस्कार स्वरुप नेपाललाई उक्त रकम प्रदानको घोषणा गरेको हो । नेपालसँगै इटाली, युएई र नेदरल्यान्डले पनि समान रकम पाएका छन् ।

आइसिसीकाअनुसार कूल एक करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये विश्वकप विजेता भारतले २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर पाएको छ ।

यस्तै उपविजेता न्युजिल्यान्डले १४ लाख २२ हजार ६०२ र तेस्रो भएको दक्षिण अफ्रिकाले १० लाख पाँच हजार ५७७ अमेरिकी डलर प्राप्त गरेको छ । सेमिफाइनलमा पुगेको इङ्गल्यान्डले नौ लाख ७४ हजार ४२३ अमेरिकी डलर पाएको छ ।

यस्तै सुपर आठमा पुगेको वेस्ट इन्डिजले पाँच लाख ३८ हजार २६९, पाकिस्तानले पाँच लाख २२ हजार ६९२, जिम्बावेले चार लाख ९१ हजार ५३८ र श्रीलङ्काले चार लाख ७५ हजार ९६२ अमेरिकी डलर पाएको छ ।

समूह चरणबाट बाहिरिएको अफगानिस्तान, अष्ट्रेलिया र अमेरिकाले समान तीन लाख नौ हजार ८०८ अमेरिकी डलर पाएको छ । यस्तै स्कटल्यान्डले दुई लाख ७८ हजार ६५४ र आयरल्यान्डले दुई लाख ७१ हजार ७३१ अमेरिकी डलर पाएको छ ।

क्यानडा, नामिबिया र ओमानले भने समान दुई लाख २५ हजार अमेरिकी डलर पाएको छ । २० टोली सहभागि विश्वकपको फाइनलमा भारतले न्युजिल्यान्डलाई ९६ रनले हराएर लगातार दोस्रो पटक उपाधि जितेको थियो ।

 

पर्‍यो भने पानीजहाजबाट भए पनि नेपाली श्रमिकलाई उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं- परराष्ट्र मन्त्रालयका सचि अमृतबहादुर राईले मध्यपूर्वी एसियामा देखिएको द्वन्द्वमा फसेका नेपाली श्रमिकलाई आइपरे पानीजहाजबाट उद्धार गर्न सकिने बताएका छन्।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ठूलो संख्यामा नेपालीहरू मध्यपूर्वी एसियाका देशहरूमा काम गर्ने भएकाले पानी जहाजबाट भए पनि उद्धार गर्न सकिने बताएका हुन्।

‘मध्यपूर्वी एसिया क्षेत्रमा फसेका नेपालीहरूलाई पानीजहाजबाट पनि उद्धार गर्न सकिन्छ। तर, आशा गरौं, त्यो दिन आउने छैन। विस्तारै जारी द्वन्द्व शान्तिमा परिणत हुँदै जानेछ,’ सञ्चारकर्मीको प्रश्नमा उनले भने।

चुनावका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द हुने

काठमाण्डौ- निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको तयारीका लागि आयोगको केन्द्रीय कार्यालयमा स्थापना गरेका विशेष एकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको छ । आयोगको हिजोको निर्णयअनुसार आजदेखि लागू हुनेगरी विशेष एकाइ र केन्द्रहरू बन्द गरिएको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी चुनावको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले विशेष एकाइ तथा समन्वय केन्द्रहरू स्थापना गरेको थियो ।

निर्वाचन प्रक्रियासँग सम्बन्धित सूचनाको प्रभावकारी सम्प्रेषण, सरोकार भएका निकायबीच समन्वय तथा मतदाता र सर्वसाधारणलाई आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले आयोगले गएको पुस ११ गतेदेखि निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र (इआइडीसी) स्थापना गरेको थियो ।

त्यस्तै, मतदाता र आमसर्वसाधारणका चुनावसँग सम्बन्धित जिज्ञासा सम्बोधनका लागि गएको माघ ५ गतेदेखि ‘कल सेन्टर’ र सुरक्षा निकायबीच सहकार्य तथा चुनाव प्रक्रियाको समग्र समन्वयका लागि गएको माघ ११ गतेदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) सञ्चालनमा ल्याइएकामा मतदान एवम् मतगणनाको कार्य सम्पन्न भएपछि आजदेखि लागू हुनेगरी ती एकाइ र केन्द्रहरू बन्द गरिएको उनले बताए ।

प्रेस कार्यालयले आयोगका काम कारबाहीको सूचना प्रवाह, सञ्चारमाध्यमसँगको समन्वय र प्रेस ब्रिफिङ, दैनिक पत्रपत्रिकाका सामग्री विश्लेषण, आचारसंहिताविपरीतका सामग्री पहिचान र कारबाहीका लागि सिफारिस तथा मतदाता शिक्षाका सामग्री निर्माण गरेको छ । साथै कल सेन्टरले मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रियाका अन्य विषयसमेत गरी आम मतदाताका ८ हजार २ सय २० जिज्ञासाको सम्बोधन गरेको आयोगले जनाएको छ ।

चुनाव अवधिमा केन्द्र र मातहतमा रही समन्वय, सूचना व्यवस्थापन तथा सेवा प्रवाहमा प्रत्यक्ष एवम् परोक्ष रूपमा संलग्न भएकोमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभाग तथा सम्बन्धित कार्यमा खटिनुभएका विज्ञ तथा सम्पूर्ण कर्मचारीहरूको समर्पण, दक्षता र सक्रियताप्रति आयोगले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।


दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको अभियानमा दुई लाख ३७ हजार ९७२ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए।

नियमित एचपिभी खोप लगाउने दुई लाख १५ हजार ३१४ जना र गत वर्षको खोप अभियानमा छुट भएका २२ हजार ६४८ जना किशोरी रहेका छन्। शाखा प्रमुख डा. गौतमका अनुसार अभियानमा नियमिततर्फ खोप लगाउने कक्षा ६ मा पढ्ने दुई लाख एक हजार ८९ छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका १३ हजार ५८५ किशोरी रहेका छन्।

यस्तै सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका अहिले कक्षा ७ देखि १० सम्म पढिरहेका १४ हजार ५८६ छात्राले खोप लगाएका छन्। यस्तै अभियानका क्रममा ११ वर्षदेखि १४ वर्षका विद्यालय नजाने आठ हजार ४९ किशोरी पनि खोप लगाएको छन्। छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइएको थियो।

शाखा प्रमुख डा गौतमले धनुषा, महोत्तरी, अर्घाखाँची, गुल्मी, पाल्पा र रोल्पा जिल्लाबाट विवरण प्राप्त गर्न वाँकी रहेको बताए।

चार जिल्लामा खोप लगाउन बाँकी  

हिमाली भेगका चार जिल्लामा खोप अभियान सञ्चालन हुन सकेको छैन। विद्यालय बिदा भएकाले डोल्पा, हुम्ला, जुम्ला र मनाङ जिल्लामा खोप अभियान सञ्चालन हुन सकेको शाखा प्रमुख डा. गौतमले जानकारी दिए।

उनका अनुसार ती जिल्लामा चैत महिनामा एचपिभी खोप अभियान सञ्चालन गरिने छ। पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ। -रासस 

बुधबार ४६.७८ अंकले घट्यो नेप्से

काठमाडौँ- बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से ४६. ७८ अंकले घटेर २७९६. ५७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार ४ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनीको भएको छ ।

त्यस्तै, आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीमा आज पोजेटिभ सर्किट लागेको छ।

यता,कालिका पवर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन्।

यही फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कूल ५७ दलले भाग लिएकामा ६ दलले संसद्‌मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन्।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ।

सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका सह-प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

उनका अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ सदर मत गणना भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ सहित अग्रता हासिल गरेको छ।

नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले  १४ लाख चार हजार ८५४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आठ लाख पाँच हजार ७७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत हासिल गरेका छन्।

यी बाहेकअन्य दलले थ्रेस होल्ड कटाउन नसकेको उनले बताए।

न्यूनतम मत सीमा नकटाउने दलमा जनमत समाजवादी पार्टी (जसपा) नेपालको एक लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीको एक लाख ७१ हजार ५०१, जनमत पार्टीले ७९ हजार, एकल चिह्न चकिया (जाँतो, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादाी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल) ले ६१ हजार ६७७, नेपाल मजदुर किसान पार्टीले ४२ हजार २४६, राष्ट्र निर्माण दल नेपालले ३८ हजार ९३३, राष्ट्रिय जनमोर्चाले २९ हजार ४४२,  एकल चिह्न बस (नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी) ले २८ हजार १७८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६१७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २३ हजार ८५१, मङ्गोल नेशनल अर्गनाइजेशनले २० हजार ८०६, एक चिह्न मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल) ले १३ हजार ४४५ मत प्राप्त गरेका आयोगका सह-प्रवक्ता जिसीले जानकारी दिए।

त्यसैगरी, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार ६९५, संयुक्त नागरिक पार्टीको ९८०, स्वाभिमान पार्टीको आठ हजार १३२, राष्ट्रिय जनमुक्ति पार्टीको सात हजार २०७, नेपाल जनता पार्टीको सात हजार १५३, राष्ट्रिय एकता दलको सात हजार ५०, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी) ले छ हजार १६२, राष्ट्रिय गौरव पार्टीले पाँच हजार २४१, नेशनल रिपब्लिक नेपालले पाँच हजार १५७, नेपालका लागि नेपाली पार्टीले पाँच हजार सात, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले चार हजार ८२३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार हजार ६६८, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले चार हजार ५०८, राष्ट्रिय ऊर्जा पार्टी नेपालले चार हजार ३१२, समाजवादी पार्टी नेपालको चार हजार २४८, गतिशील लोकतान्त्रिक पार्टीले चार हजार २४८ प्राप्त गरेका छन्।

नेपाल लोकतान्त्रिक पार्टीले चार हजार १००, नेपाल मातृभूमि पार्टीले दुई हजार ९७२, राष्ट्रिय जनता पार्टी नेपालको दुई हजार ९२५, बहुजन शक्ति पार्टी नेपालको दुई हजार २६६, नेपाल जनमुक्ति पार्टीले दुई हजार १६२, जनअधिकार पार्टीले दुई हजार १०५, नेपाल सद्भावना पार्टीले दुई हजार १५ मत प्राप्त गरेका आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए।

पिपुल फष्ट पार्टी, नेपाली कांग्रेस (बिपी), नागरिक शक्ति नेपाल, नेपाल जनश्रमदान संस्कृति पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल) र जनप्रिय लोकतान्त्रिक पार्टीले दुई हजारभन्दा कम मत प्राप्त गरेका उनले बताए।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुन्छ। निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू नहुने आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए।

उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछन्। रासस

साफ यू-२० च्याम्पियनशिपको खेल तालिका सार्वजनिक

काठमाण्डौ- नेपालले साफ २० वर्षमुनिको च्याम्पियनशिपमा पहिलो खेल भुटानसँग खेल्ने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले २३ मार्च अर्थात् चैत ९ गते भूटानसँग खेल्दै प्रतियोगिता शुरूआत गर्नेछ ।

माल्दिभ्सको राजधानी मालेमा रहेको नेशनल स्टेडियममा आयोजना हुने प्रतियोगिता २३ मार्चदेखि ३ अप्रिलसम्म सञ्चालन हुनेछ । नेपाल गएको संस्करणको उपविजेता टोली हो । सन् २०२४ मा नेपालमै भएको प्रतियोगिताको फाइनल खेलमा ४–१ गोलले पराजित गर्दै बङ्गलादेशले उपाधि जितेको थियो ।

नेपाल रहेको समूह ‘ए’ मा आयोजक माल्दिभ्ससँगै श्रीलङ्का र भूटान पनि छन् । नेपालले दोस्रो खेल चैत ११ गते श्रीलङ्कासँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल १३ गते आयोजक माल्दिभ्ससँग खेल्नेछ । समूह ‘बी’ मा बङ्गलादेश, भारत र पाकिस्तान छन् ।

समूह चरणपछि दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल यही चैत २० गते हुनेछ ।

 

मध्यपूर्व युद्धको असर तेल बजारमा, ऊर्जा आपूर्ति जोखिममा

मध्यपूर्व क्षेत्रमा जारी युद्धकाबीच इरानले क्षेत्रीय तेल उद्योग र ऊर्जा पूर्वाधारमाथि दबाब बढाइरहेको छ। यसले विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढ्दै गएको छ ।

बुधबार बिहान इजरायल र इरानबीच पुनः आक्रमण भएको खबर सार्वजनिक भएको छ। यसैबीच इरानले क्षेत्रका तेल उद्योगसँग सम्बन्धित संरचनाहरूलाई लक्षित गर्दै विभिन्न गतिविधि तीव्र बनाएको बताइएको छ। विश्लेषकहरूका अनुसार इरानले यस्तो रणनीति अपनाएर विश्व अर्थतन्त्रमा दबाब सिर्जना गर्दै इजरायल र अमेरिकामाथि आफ्नो सैन्य कारबाही रोक्न दबाब दिन खोजेको हुन सक्ने बताइएको छ।

इरानले पर्सियन खाडीबाट हिन्द महासागरतर्फ जाने प्रमुख समुद्री मार्ग हर्मुज जलडमरूमा जहाज आवागमनमा प्रभाव पारिरहेको छ। विश्वको करिब पाँच भागमध्ये एक भाग तेल यही समुद्री मार्गबाट ढुवानी हुने भएकाले यस क्षेत्रमा अवरोध हुँदा विश्व ऊर्जा आपूर्तिमा ठूलो असर पर्न सक्ने अनुमान गरिएको छ।

बुधबार बिहान ओमानको तट नजिकै हर्मुज जलडमरूमा एउटा कन्टेनर जहाजमा प्रहार हुँदा जहाजमा आगलागी भएको थियो। आगो नियन्त्रण बाहिर गएपछि जहाजका कर्मचारीहरूलाई जहाज छाडेर सुरक्षित स्थानमा जान बाध्य भएको जनाइएको छ।

यसैबीच कुवेतले आफ्नो हवाई सुरक्षाले इरानबाट आएका आठवटा ड्रोन खसालिएको जनाएको छ। साउदी अरबले पनि आफ्नो सायबह तेल क्षेत्रमा लक्षित पाँचवटा ड्रोनलाई बाटोमै रोकेको जानकारी दिएको छ। यी घटनाले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमाथि खतरा बढेको सङ्केत गरेको छ।

यस परिस्थितिबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले बुधबार बैठक बस्ने तयारी गरेको छ। खाडी सहयोग परिषद्ले प्रस्तुत गरेको प्रस्तावमाथि मतदान हुने बताइएको छ। उक्त प्रस्तावमा इरानले आफ्ना अरब छिमेकी राष्ट्रहरूलाई लक्षित गर्दै भइरहेको आक्रमण रोक्नुपर्ने माग गरिएको छ।

मध्यपूर्वमा जारी तनावका कारण विश्व ऊर्जा बजार अस्थिर बन्न सक्ने र तेलको मूल्यमा उतारचढाव बढ्न सक्ने चिन्ता अन्तर्राष्ट्रिय स्तरमा व्यक्त गरिएको छ। विश्लेषकहरूका अनुसार यदि हर्मुज जलडमरूमा अवरोध लामो समयसम्म जारी रह्यो भने विश्वव्यापी ऊर्जा आपूर्ति, ढुवानी र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्छ। -एपी

खामेनी सुरक्षित रहेको दाबी

इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिएपछि इरानी राष्ट्रपतिको छोराले उनी सुरक्षित र स्वस्थ रहेको दाबी गरेका छन्। इजरायल र संयुक्त राज्य अमेरिकासँगको जारी युद्धको पृष्ठभूमिमा उनले यस्तो दाबी गरेका हुन्।

इरानी राष्ट्रपतिको छोरा तथा सरकारी सल्लाहकार युसेफ पेजेस्कियानले बुधबार आफ्नो टेलिग्राम च्यानलमार्फत मोजताबा खामेनीको अवस्थाबारे टिप्पणी गर्दै उनी घाइते भएको खबर आफूले पनि सुनेको तर त्यसको पुष्टि नभएको बताएका हुन। उनले आफूले सम्पर्कमा रहेका केही व्यक्तिसँग सोधपुछ गर्दा खामेनी सुरक्षित र स्वस्थ रहेको जानकारी प्राप्त भएको बताएका छन्।

‘मैले मोजताबा खामेनी घाइते भएको खबर सुनेको थिएँ। मैले सम्पर्क भएका केही साथीहरूलाई सोधेको छु। उनीहरूले भगवानको कृपाले उहाँ सुरक्षित र स्वस्थ छन् भन्ने बताएका छन्’, पेजेस्कियानले सामाजिक सञ्जालमार्फत लेखेका छन्।

यसअघि सरकारी टेलिभिजनले खामेनीलाई ‘रमजान युद्धका घाइते पूर्व सैनिक’ भनेर उल्लेख गरेको थियो। तर उनी कहिले र कसरी घाइते भएको भन्नेबारे भने कुनै स्पष्ट विवरण दिइएको थिएन।

मोजताबा खामेनी इस्लामिक गणतन्त्रका लामो समयसम्म सर्वोच्च नेता रहेका आयातुल्ला अली खामेनीका छोरा र उत्तराधिकारी हुन्। आयातुल्ला अली खामेनीको फेब्रुअरी २८ मा इरानमाथि गरिएको अमेरिका–इजरायल संयुक्त आक्रमणमा मृत्यु भएपछि मोजताबालाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सारिएको हो। उक्त घटनापछि नै मध्यपूर्व क्षेत्रमा व्यापक युद्ध सुरु भएको थियो।

छपन्न वर्षीय मोजताबा खामेनी सामान्यतः सार्वजनिक जीवनमा कम देखिने व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी सार्वजनिक कार्यक्रममा विरलै देखिन्छन् र प्रायः आधिकारिक कार्यक्रममा बोल्न पनि कमै देखिएको बताइन्छ।

आइतबार सर्वोच्च नेता घोषणा गरिएपछि पनि उनले राष्ट्रलाई औपचारिक सम्बोधन गरेका छैनन्। साथै हालसम्म उनका तर्फबाट कुनै लिखित वक्तव्य पनि सार्वजनिक भएको छैन, जसले उनको अवस्थाबारे विभिन्न अनुमानहरू फैलिन मद्दत गरेको छ।

यसैबीच अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले बुधबार प्रकाशित गरेको एक रिपोर्टमा तीन जना नाम नखुलाइएका इरानी अधिकारीहरूलाई उद्धृत गर्दै मोजताबा खामेनी घाइते भएको उल्लेख गरेको थियो। उक्त रिपोर्टअनुसार उनको खुट्टामा चोट लागेको थियो, तर उनी सचेत अवस्थामा रहेको र सीमित सञ्चारका साथ अत्यन्त सुरक्षित स्थानमा बसिरहेको बताइएको छ। एएफपी

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौँ  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।

संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । “सचिवालयले नवनिर्वाचित सांसदहरूलाई काठमाडौँ आउनका लागि करिब १० दिनको समय दिएर संसद् बैठकका लागि सूचना आह्वान गर्छ । यही बिचमा ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथ लिन्छन् र उनले अरु सांसदलाई शपथ गराउनुहुन्छ”, उनले भने ।

सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने कानुनी प्रावधान रहेको प्रवक्ता गिरीले जानकारी दिए । “संसद्को पहिलो बैठकले सभामुखको निर्वाचन घोषणा गर्छ, साथै सभामुखको अनुपस्थितिमा भूमिका निर्वाह गर्नका लागि प्रत्येक दलबाट तीन जनाका दरले सांसदको नाम मागेर अनुमोदन गरिन्छ । त्यसपछि बस्ने पहिलो बैठकमा अध्यादेश छन् भने पेस गरिन्छन्”, उनले भने ।

इनिसा विक मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका—४ को जनजागरण सामुदायिक वनमा मृत्यु भएकी १६ वर्षीया इनिसा विक मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै पीडित पक्षधरहरूले आन्दोलन गरेका छन् ।

बुधबार वीरेन्द्रनगरमा ‘बालिकामाथि हुने बलात्कार, हत्या र हिंसा बन्द गर’ जस्ता नारासहित उनीहरुले दबाबमूलक आन्दोलन गरेका हुन् । यद्यपि,प्रहरीले घटनामा संलग्न चार जना नाबालक किशोरहरूलाई यस अघि नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीय इनिसा शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् ।

तर बिहान ९ बजेतिर वीरेन्द्रनगर बजारको उत्तरतर्फ गर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरे ।

सोही दिन प्रहरीले १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएको थियो । पीडित पक्षले फागुन २४ गते दिएको उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय बालकहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

मृतक बालिका वीरेन्द्रनगरको उषा बालबाटिकामा कक्षा ११ मा अध्ययनरत थिइन् । प्रहरीलाई आफन्तहरूले भने अनुसार इनिसा २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर उक्त दिन शनिबार हो ।

अर्को उनी पढ्ने विद्यालय र इनिसा बेहोस अवस्थामा भेटिएको स्थान निकै टाढा छ । स्कुलभन्दा उत्तरतर्फ करिब १० किलोमिटर दुरीमा पर्ने उक्त जङ्गलमा इनिसा रक्ताम्मे अवस्थामा भेटिएकी थिइन् । ट्युसन पढ्न भन्दै बिहान ६ बजेतिरै घरबाट निस्किएकी ती किशोरी जङ्गलसम्म पुग्नुका पछाडि ती १६ वर्षीया युवकसँग प्रेम सम्बन्ध भएर हो कि भन्ने आशङ्का प्रहरीले गरेको छ ।

ती युवकले पनि अनुसन्धानका क्रममा प्रेम सम्बन्ध रहेको खुलाएको एक अनुसन्धान अधिकृतले बताएका छन् । ‘घर परिवारले ट्युसन पढ्न गएको भनिए पनि पक्राउ परेका १६ वर्षीय किशोरले मर्निङ वाक गर्न गएको भनेका छन्,’ ती अनुसन्धान अधिकृतले भने ।

मर्निङ वाक जाने बहानामा उनीहरुले जबरजस्ती करणी गरी हत्या गरेको आशङ्का प्रहरीले गरेको छ । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै छ । मृतकका आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै दोषीहरूलाई कारबाहीको माग गरेका छन् । शवको पोस्टमार्टम प्रदेश अस्पताल सुर्खेतमा भए पनि सद्गत भने गरिएको छैन।

सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिक तर्फ ९२ हजारभन्दा बढी मत बदर

कैलाली।सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ ।

फागुन २१ गते भएको मतदान समाप्तसँगै विभिन्न क्षेत्रको मत गणनासम्पन्न पछि सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले तयार पारेको प्रतिवेदन अनुसार प्रत्यक्ष तर्फ खसेको मत मध्ये ५१ हजार ५६ सङ्ख्यामा मत बदर भएको छ भने समानुपातिक तर्फ ४१ हजार ६२४ मत बदर भएको छ ।

सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमा जम्मा मतदाता सङ्ख्या १७ लाख १६ हजार ६६० भएपनि आठ लाख ७४ हजार मत खसेको थियो ।

प्रत्यक्ष तर्फ बैतडी जिल्लामा पाँच हजार ११३ , कञ्चनपुर १ मा तीनहजार ७३४, २ मा चार हजार २३०, ३ मा चार हजार ६६३, डडेल्धुरामा दुईहजार ४७६, दार्चुलामा दुईहजार ४७ मत बदर भएको छ ।

त्यसैगरी बाजुरामा एकहजार ३४६, अछाम १ मा एकहजार ३०८, अछाम २ मा एकहजार ६४३, बझाङमा तीन हजार १६१, डोटीमा दुई हजार ९७४ मत बदर भएको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको कैलाली १ मा चार हजार २१४, २ मा तीन हजार ५६८, ३ मा तीन हजार ३१६, ४ मा तीन हजार ६५८ र ५ मा तीन हजार ६०५ मत बदर भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी समानुपातिक तर्फ बाजुरामा १२ सय, अछाम १ मा एकहजार ११९, अछाम २ मा एकहजार ५३१ , बझाङमा दुई हजार ९५२, डोटीमा दुई हजार ४६९ मत बदर भएको छ ।

कैलाली निर्वाचन क्षेत्र १ मा तीन हजार २५८, २ मा दुई हजार ६४६, ३ मा दुई हजार ९१३, ४ मा दुई हजार ९०७, ५ मा दुई हजार ८०७ मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुर १ मा तीन हजार २३४, २ मा तीन हजार ४३०, ३ मा तीन हजार ३९९, बैतडीमा चार हजार १२६, दार्चुलामा एक हजार ६०८ र डडेल्धुरामा दुई हजार २५ मत बदर भएको छ ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले विगतको तुलनामा मत बदर कम भएको जनाए । उनले विभिन्न क्षेत्रको मत गणना रिर्पोबाट आएको जानकारी अनुसार मत बदर हुने कारण खाली मत पत्र, दुई ठाउँमा मत सङ्केत गर्नु र औँठा छाप लगाउनु रहेको बताए ।

सुदूरपश्चिम प्रदेशमा पहिलो हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली तर्फ २५ दलले निर्वाचनमा भाग लिएका थिए ।१६ निर्वाचन क्षेत्र रहेको उक्त प्रदेशमा एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेको जनाइएको छ ।

प्रतिनिधि सभा चुनावमा ३ सय ५० जनाले एक मत पनि पाएनन्

काठमाण्डौ- फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा प्रत्यक्षतर्फ प्रतिष्पर्धा गरेकामध्ये २ हजार ८ सय ९० जनाको जमानत जफत भएको छ । चुनावमा तीन हजार चार सय ६ जना उम्मेदवार रहेकामा २ हजार ८ सय ९० जनाको जमानत जफत भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

५ सय १६ जनाले मात्रै जमानत जोगाएका छन् । चुनावमा भाग लिनका लागि उम्मेदवारले कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ ।  यदि ती उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रको कुल सदर मतको १० प्रतिशत मत पाएमा जमानत फिर्ता हुन्छ ।

१० प्रतिशत भन्दा कम मत पाउनेको जमानत जफत हुन्छ । जमानत जफत भएका मध्ये ३ सय ५० जनाले त एक मत पनि पाएका छैनन् । ती उम्मेदवारले आफूले आफैंलाई वा आफ्नो परिवार वा प्रश्तावक र समर्थकले समेत मत नदिएका हुन् ।

जमानत जोगाउन सफल ५ सय १६ जना उम्मेदवारले आफ्नो धरौटी रकम फिर्ता पाउनका लागि चुनावको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । ऋतपूर्वक निवेदन दिएपछि उनीहरुले कानून बमोजिम आफ्नो रकम फिर्ता पाउने आयोगले जनाएको छ ।

रविविरुद्धको मुद्दा फिर्ता विवाद: पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता गर्ने निर्णय रोक्न माग गर्दै दायर रिटलाई सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाउने आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।

अब यो रिटमा सर्वोच्चका तीन वा तीनभन्दा बढी न्यायाधीश रहेको पूर्ण इजलासमा प्रारम्भदेखि नै सुनुवाइ हुनेछ । अदालतले आगामी आइतबार उक्त रिट सुनुवाइका लागि पेस गर्न पनि आदेश दिएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिने निर्णय गरेपछि यस विषयमा कानुनी विवाद उत्पन्न भएको हो।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र सिन्धुलीका युवराज पौडेल ‘सफल’ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

गत पुस ३० गते महान्यायाधिवक्ता बरालले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन् । निर्देशनमा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो । तर केही जिल्ला अदालतले मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै अस्वीकार गरेका थिए ।

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

शुक्लाफाँटा- शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा रु एक करोड ६७ लाख ४९ हजारको लागतमा तारजाली लगाउन थालिएको छ।

जङ्गली जनावर अतिप्रभावित तीन वडामा ‘मेसवायर’ तारजाली लगाउन सुरु गरिएको हो।

नगरपाालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नं १ मा दुई हजार ९०० मिटर, वडा नं ९ मा दुई हजार ५०० मिटर र वडा नं १२ मा ४०० मिटर गरी पाँच हजार ८०० मिटर मेसवायर लगाउन सुरु गरिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र चुरे क्षेत्र नजिकका सामुदायिक वन क्षेत्राट स्थानीय किसानका खेतमा पस्ने जङ्गली हात्ती, चित्तल, बँदेल, नीलगाईलगायत जनावरलाई रोक्न मेसवायर लगाइएको हो।

गत आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश सरकारको अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख खर्चेर नगरपालिकाको वडा नं ८ र १२ मा ५.८८ किलोमिटर मेसवायर लगाइएको थियो ।

मेसवायर लगाइएसँगै वन्यजन्तु प्रभावित क्षेत्रमा राति प्रकाशको व्यवस्था गर्न  नगरपालिकाले रु ३५ लाखको लागतमा ३०  स्थानमा सौर्यबत्ती जडान थालेको छ।

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकद्धारा नेपललाई ७ अर्ब रुपैयाँभन्दा धेरै वित्तीय सहयोग

काठमाण्डाै – विश्व बैंकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंकको बोर्ड बैठकले नेपालमा वायु प्रदूषण न्यूनीकरण र वायु गुणस्तर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन ५ करोड २० लाख डलर अर्थात् साढे ७ अर्ब रुपैयाँभन्दा धेरै सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो ।

‘नेपाल स्वच्छ वायु र समृद्धि परियोजना’ नाम दिइएको यस कार्यक्रमले विशेषगरी औद्योगिक र व्यावसायिक क्षेत्रमा प्रयोग हुने बोयलर तथा भट्टीहरूबाट निस्कने हानिकारक सूक्ष्म कणको उत्सर्जन कम गर्ने लक्ष्य राखेको छ । यो परियोजना मुख्यतया काठमाण्डौ उपत्यका, तराई र पहाडी फेदीका क्षेत्रहरूमा केन्द्रित हुनेछ । वायु प्रदूषणको जोखिम उच्च रहेका ती ठाउँमा परियोजना लागू हुने विश्व बैंकले जानकारी दिएको छ ।

विश्व बैंकका अनुसार नेपालमा वायु प्रदूषणका कारण स्वास्थ्योपचार र उत्पादकत्वमा हुने ह्रासले कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतभन्दा धेरै हिस्सा ओगट्ने गरेको छ । यो परियोजनाले आर्थिक भार कम गर्न मद्दत पुग्नेछ । उद्योगहरूलाई सहुलियतपूर्ण ऋण र प्राविधिक सहयोग उपलब्ध गराइन्छ जसले गर्दा उद्योगहरूको सञ्चालन खर्च घट्नुका साथै प्रतिस्पर्धात्मक क्षमता पनि बढ्नेछ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि डिभिजन निर्देशक डेभिड सिस्लेनले यो परियोजनाले नेपाली उद्योगहरूलाई स्वच्छ उत्पादनतर्फ जान प्रोत्साहन गर्दै दीर्घकालीन दिगो विकासमा टेवा पुर्‍याउने बताएका छन् ।

यो परियोजना विश्व बैंकको ‘इन्डो–ग्याङ्गेटिक प्लेन्स एन्ड हिमालयन फुटहिल्स’ क्षेत्रीय वायु गुणस्तर व्यवस्थापन कार्यक्रमको हिस्सा रहेको उनले जानकारी दिए ।

 

सुनकाे भाउ बढ्याे

काठमाण्डाै – आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ । सुनको भाउ २ हजारले बढेर तोलाको ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको ३ लाख १६ हजार ४०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको भाउ ३ हजार ७०० ले घटेकोमा हिजो ३ हजार ८०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजो जस्तै आज पनि तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

समानुपातिकतर्फको मतगणना सकियो

काठमाडौं- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ।

पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए।

समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ ।

यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख ३९ हजार दुई सय ३५ सहित अग्रता कायम गरेको छ ।

नेपाली कांग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा एमालेले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख पाँच हजार सात सय ७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार चार सय ७२ मत हासिल गरेका छन् । अन्य दल थ्रेसहाल्ड कटाउने स्थितिमा देखिएका छैनन् ।

रवि लामिछानेको चुनाव खर्च झन्डै १० लाख

काठमाण्डाै- गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च पेश गरेका छन् ।

निर्वाचन आयोगको कार्यालय चितवनमा लामिछानेले पेश गरेको चुनावी खर्च ९ लाख ८९ हजार ९८६ रुपैयाँ रहेको छ । मनोनयन दर्तामा १० हजार, नमूना मतपत्र सामाग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण तथा खाजा खर्च दुई दिनको १४ हजार २०० रुपैयाँसहित झन्डै १० लाख रुपैयाँ खर्च भएको उल्लेख छ ।

लामिछाने ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । यसअघि झापा–५ बाट विजयी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनाव अभियानका क्रममा १४ लाख १४ हजार ७२९ रुपैयाँ खर्च भएको विवरण पेश गरिसकेका छन्  ।

यसैगरी अरू केही उम्मेदवारले पनि आफ्नो चुनावी खर्च सम्बन्धित निर्वाचन आयोगको कार्यालयमा बुझाइसकेका छन्  ।

कञ्चनपुरको बेलौरीमा अवैध साल काठसहित एक जना नियन्त्रणमा

कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले अवैध साल काठ बरामद गरेको छ।
सोही स्थानका दीपेन्द्र चौधरीले आफ्नै घरको कोठाभित्र अवैध काठ लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरको कोठाभित्र लुकाइछिपाइ राखिएको साल जातको ६४।६७ क्युफिट काठ फेला परेको प्रहरीले जनाएको छ। बरामद काठको अन्दाजी मूल्य ८० हजार ८३७ रुपैयाँ रहेको छ।
प्रहरीले अवैध काठसहित सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि कुण्डा सब–डिभिजन वन कार्यालय, कञ्चनपुरको जिम्मा लगाएको जनाएको छ।

राष्ट्रसंघद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो । अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५ मा यो दिवस मनाइने छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएकोे छ ।

राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।

उक्त प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यो नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताएका छन् ।

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं- हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ । कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

आज समानुपातिक प्रणालीतर्फको मतगणना सकिने

 काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले बुधबार बिहानसम्म परिणाम प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ ।

सङ्खुवासभा, धनुषा निर्वाचन क्षेत्र नं। १, गोरखा निर्वाचन क्षेत्र नं। १ र २,   लगायत केही क्षेत्रको मात्र मतगणना बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।  यी क्षेत्रमा अहिले मतगणना जारी रहेकाले बुधबार बिहानसम्म समानुपातिकतर्फ अहिले पनि सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको उनले बताए ।

खोज्नुहोस