ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दु:ख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले दु:ख व्यक्त गरेका छन् । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको थियो।

ओलीका पिता मोहनप्रसादको निधनप्रति नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वसभापति शेरबहादुर देउवा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरूले दुख व्यक्त गरेका छन् ।

कांग्रेस सभापति थापाले दुःख व्यक्त गर्दै भनेका छन्, ‘दिवंगत पुण्य आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, यस कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

देउवाले पनि ओलीका पिता मोहनप्रसादको निधनको खबरले दुखी बनाएको भन्दै आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

पिताको निधन भएलगत्तै ओली भेट्न पुगेका नेकपाका संयोजक प्रचण्डले भनेका छन्, ‘बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपी जी लगायत शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

यस्तै, नेकपाका सहसंयोजक नेपालले पनि शोकको घडीमा दिवंगत मोहनप्रसाद ओलीज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पितृ वियोगमा परेका केपी ओलीसहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा– दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।

भीरबाट लडेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

बिहीबार घर फर्किने क्रममा धामी लेकम गाउँपालिका–१ मा भीरबाट लडेर घाइते भएका थिए । उनलाई धनगढी लगिएकामा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सन्दीप ‘द हन्ड्रेड’को अक्सनमा ‘अन्सोल्ड’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने इंल्यान्डमा हुने ‘द हन्ड्रेड’मा ‘अन्सोल्ड’ भएका छन् । इंल्यान्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने यो प्रतियोगिताका निम्ति बिहीबार भएको अक्सनमा सन्दीपमाथि कुनै पनि टिमले बोली नलगाएका हुन् ।

अक्सनमा सन्दीपको बेस प्राइस ३१ हजार पाउन्ड थियो । नेपाली मूल्यमा यो करिब ६२ लाख रुपैयाँ हुन्छ ।

सन्दीपले सन् २०२० मा ओभल इन्भिन्सिबलबाट द हन्ड्रेड खेलेका थिए ।

प्रतियोगिताको यो संस्करण आउँदो जुलाई २१ देखि अगस्ट १६ सम्म हुने तय छ ।

इरान विश्वकप खेल्न आउँदा सुरक्षाको जिम्मा आफैँले लिनुपर्छ : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विश्वकप खेल्न आउँदा आफ्नो जीवन र सुरक्षाको जिम्मा आफैँले लिनुपर्ने बताएका छन्।

ट्रम्पले बिहीबार इरानका लागि यस्तो सुझाव दिएका हुन्। उनले भने, ‘इरान राष्ट्रिय फुटबल टोलीलाई विश्वकपमा स्वागत छ, तर मलाई लाग्दैन उनीहरूको जीवन र सुरक्षा यहाँ उचित हुनेछ।’

यसअघि ट्रम्पले फिफा प्रमुख जियानी इन्फान्टिनोसँग इरानी खेलाडीहरूलाई विश्वकपमा स्वागत गरिने बताएका थिए।

सन् २०२६ मा हुने फिफा विश्वकप फुटबल अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन्।

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडीः बैतडीको सिगासमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

बझाङको बित्थडचीर गाउँपालिका–९ भतडा स्थायी घर भइ सिगास गाउँपालिका ७ सल्याडी बस्दै आएका मुकेश रावलकी श्रीमती ३२ वर्षीया सरस्वती रावलको बिहीबार बिहान भीरबाट लडेर मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए। रावलको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको बताइएको छ।

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुरः बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि बढ्न थालेको छ। पतझरको समय सुरु भएसँगै वनमा पात झर्ने र नयाँ पालुवा पलाउने क्रम चलिरहेकाले सुक्खा वातावरणका कारण सानो आगोको झिल्कोले समेत ठूलो डढेलोको रूप लिने खतरा बढेको छ।

यस्तो संवेदनशील अवस्थामा पनि डढेलो नियन्त्रणका जिल्लामा प्रभावकारी पूर्वतयारीका कार्यक्रम पर्याप्त रूपमा सञ्चालन हुनसकेका छैनन्। चुरे फेदीका वन र लालझाडी–मोहना संरक्षण क्षेत्र आसपासका क्षेत्रमा डढेलोको जोखिम उच्च देखिएको छ। उक्त क्षेत्रमा रहेका सामुदायिक वनमा आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वतयारी तथा सचेतनामूलक गतिविधि पर्याप्त नभएको सामुदायिक वन समन्वय समिति (सिएफसिसी) कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले बताए। उनका अनुसार पछिल्लो समय निर्वाचनको माहोलमा सबैको ध्यान केन्द्रित हुँदा वन संरक्षणको विषय ओझेलमा परेको छ। “वन क्षेत्रमा आगलागी रोक्न आवश्यक पूर्वतयारी गर्नुपर्ने हो, तर त्यसतर्फ सरकारी तथा गैरसरकारी निकायको ध्यान खासै गएको देखिँदैन”, उनले भने।

अध्यक्ष जोशीका अनुसार वातावरण अत्यन्त सुक्खा हुँदै गएको छ र लामो समयदेखि पानी नपरेकाले डढेलोको सम्भावना झनै बढेको छ। “हावा सुक्खा छ, तापक्रम बढ्दै गएको छ, यस्तो अवस्थामा सानो आगोको झिल्कोले पनि पूरै वन क्षेत्र खरानी बनाउन सक्छ”, उनले भने, “यसतर्फ सरोकारवालाहरूको ध्यान जानुपर्ने हो तर हालसम्म कुनै पनि निकायले चासो दिएको पाइएको छैन।” जलवायु परिवर्तनको प्रत्यक्ष असर पनि वनमा देखिएको छ।

वन क्षेत्रमा डढेलो लागे त्यसको प्रत्यक्ष असर जैविक विविधतामा पर्ने सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले बताए। डढेलोका कारण वन्यजन्तुको प्राकृतिक बासस्थान नष्ट हुनेमात्र नभई घिस्रेर हिँड्ने सरीसृप वर्गका जीवजन्तु ठूलो मात्रामा नष्ट हुने खतरा रहेको उनले उल्लेख गरे। “वनमा डढेलो लागेपछि ठूलो आकारका जनावर भाग्न सक्छन्, तर साना जीवजन्तु र सरीसृपहरू आगोबाट बच्न सक्दैनन्”, उनले भने। यसका साथै लाखौँ रूपैयाँ मूल्यबराबरका काठ, बहुमूल्य जडीबुटी तथा वनसम्पदा जलेर नष्ट हुने जोखिम पनि उत्तिकै रहेको उनले उल्लेख गरे। यसै चुनौतीलाई मध्यजनगर गरी फायरलाइन सरसफाइको कार्यमा जोड दिइएको उनको भनाइ छ।

यस जोखिमलाई ध्यानमा राख्दै केही सामुदायिक वनहरूले अग्निपथ (फायर लाइन) सरसफाइ तथा वनभित्र थुप्रिएका सुक्खा पातपतिङ्गर हटाउने कार्यमा जोड दिन थालेका छन्। तर सीमित स्रोतसाधनका कारण यस्ता गतिविधि सबै वन क्षेत्रमा प्रभावकारी रूपमा सञ्चालन हुनसकेका छैनन्। लालझाडीदेखि चुरे क्षेत्र वन्यजन्तुको आवतजावतका लागि अत्यन्त महत्त्वपूर्ण करिडोर मानिन्छ।

उनका अनुसार यस्तो जोखिमपूर्ण अवस्थामा अग्नि नियन्त्रण दललाई सक्रिय अवस्थामा राख्नुपर्ने भए पनि त्यस्तो व्यवस्था प्रभावकारी रूपमा हुनसकेको छैन। “सूचना प्रणाली पनि चुस्तदुरुस्त बनाउनुपर्ने हो, तर त्यो पनि पर्याप्त रूपमा सक्रिय छैन”, उनले भने।

लालझाडी–मोहना संरक्षण क्षेत्रमा मात्रै ९४ वटा सामुदायिक वन छन्। डिभिजन वन कार्यालयले भने डढेलो न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जनाएको छ। कार्यालयका डिभिजनल वन अधिकृत लक्ष्मीराज जोशीले वन क्षेत्रमा आगलागीका घटना कम गर्न सामुदायिक वनका पदाधिकारी र उपभोक्तालाई सचेत गराउने कार्य गरिएको बताए।

“सामुदायिक वनका पदाधिकारीलाई अग्निपथ (फाइर लाइन) सफा गर्ने, वनमा थुप्रिएका सुक्खा पातपतिङ्गर हटाउनेजस्ता कार्य गर्न मौखिक र पत्राचारमार्फत जानकारी दिएका छौँ”, उनले भने। डढेलोबाट हुने जोखिमबारे जनचेतना फैलाउन एफएम रेडियो तथा छापा सञ्चारमाध्यममार्फत सूचनामूलक सन्देश पनि प्रसारण भइरहेको उहाँले जानकारी दिए। तर डढेलो नियन्त्रणका लागि पर्याप्त बजेटको अभाव रहेको उनले स्वीकार गरे। “डढेलो नियन्त्रणका लागि बजेट सीमित छ, त्यसैले सामुदायिक वन समूहका पदाधिकारी र उपभोक्तालाई परिचालन गरेर काम अघि बढाइएका छौँ”, उनले भने।

केही समयभित्रै विभिन्न स्थानमा डढेलोसम्बन्धी सचेतनामूलक छलफल, गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरी स्थानीय बासिन्दालाई सचेत बनाउने योजना रहेको उनले बताए। डिभिजन वन कार्यालयले डढेलो लागेका स्थानमा तत्काल नियन्त्रणका लागि आवश्यक उपकरण र साधनको व्यवस्था गर्ने तयारी पनि गरिरहेको जनाएको छ। आवश्यक परेको खण्डमा ट्रयाक्टरमा पानी ट्याङ्की जडान गरेर आगो निभाउने व्यवस्था मिलाइएको उनले उल्लेख गरे।

त्यसैगरी, डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री सामुदायिक वन उपभोक्ता समूहलाई वितरण गर्ने योजना पनि रहेको कार्यालयले जनाएको छ। डढेलोको जोखिम बढ्दै गएकाले जनचेतना अभिवृद्धि गर्न सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने तयारी पनि भइरहेको डिभिजनल वन अधिकृत जोशीले जानकारी दिए। “स्रोतसाधन सीमित भए पनि वन क्षेत्रमा सम्भावित डढेलो नियन्त्रणका लागि कर्मचारी, सामुदायिक वनका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीय उपभोक्ताबीच समन्वय गरेर काम गर्ने तयारी गरिएको छ”, उनले भने।

डढेलोको जोखिम बढ्दै गएकाले समयमै प्रभावकारी पूर्वतयारी गर्नुपर्ने बैजनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बहादुरसिंह महरा बताउछन्। “वन क्षेत्रको संरक्षण केवल सरकारी निकायको मात्र दायित्व नभई स्थानीय समुदाय, सामुदायिक वन समूह र सरोकारवालाको साझा जिम्मेवारी हो”, उनले भने, “वन क्षेत्रमा सुक्खा पातपतिङ्गर व्यवस्थापन, अग्निपथ निर्माण तथा स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नसके आगलागीको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ।”

सुक्खा मौसम, पतझरको समय र मानव गतिविधिका कारण ती क्षेत्रमा हरेक वर्ष आगलागीको जोखिम बढ्ने गर्दछ। वनमा लाग्ने ९० प्रतिशतभन्दा बढी डढेलो मानवीय कारणले लाग्ने गरेको छ। वनमा वनभोज खान जानेहरूले आगो ननिभाइ छाड्ने, गोठालाले नयाँ घाँस पलाउने लोभमा आगो लगाउने र सिकारीले जनावरलाई लखेट्न आगोको प्रयोग गर्नेजस्ता गतिविधिले डढेलो निम्त्याउने गरेको छ।

आधा सिलिन्डर मात्रै बिक्री गर्ने सरकारको निर्णय

काठमाडौँ — नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास बेच्ने भएकाे छ । उपभाेक्ताले अनावश्यक रुपमा ग्यास भन्डारण गर्न थालेको भन्दै निगमले अनावश्यक भन्डारण रोक्न आधा सिलिन्डर मात्रै बिक्री गर्न लागेको हाे ।

निगमले शुक्रबारदेखि लागू हुने गरी ७.१ केजी एलपीजी ग्यास बजारमा पठाउन लागेको हाे । प्रति सिलिन्डर  ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरण गर्न यस्तो निर्णय गरेको निगमले जनाएको छ । पछिल्लो समय आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको निगमले जनाएको छ ।

निगमले नियमित रुपमा मागअनुरुप नै ग्यास आयात तथा वितरण गरिरहे पनि २-३ महिनादेखि उपत्यकामा माग उच्च देखिएको विज्ञप्तीमा उल्लेख गरेको छ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा ग्यास आपूर्तिमा विश्वव्यापी रुपमा असर परिरहेको छ ।

 

नयाँ सरकार चैत १० भित्र गठन हुने

काठमाडौं । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएलगत्तै राजनीतिक ‘कोर्स’ नयाँ सरकार गठनतिर प्रवेश गरेको छ । निर्वाचन आयोग र संसद् सचिवालयले केही प्रक्रिया पूरा गरेपछि १० चैतसम्म नयाँ सरकार गठन हुने देखिएको छ । मतपरिणामको अन्तिम नतिजासहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया आरम्भ हुने आयोगका अधिकारीले बताएका छन् ।

आयोगले बिहीबार ६ दललाई प्राप्त समानुपातिक सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बन्दसूचीबाट छान्न पत्राचार गरिसकेको छ । बन्दसूचीबाट नाम छान्न दलहरूलाई तीन दिन समय दिइएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए । उनका अनुसार दलहरूले पठाएको उम्मेदवार मिले–नमिलेको हेरेर निर्वाचित गरी आयोगले दुई दिनभित्र प्रमाणपत्र दिनेछ ।

‘थ्रेसहोल्ड कटाएका ६ दललाई उनीहरूले प्राप्त गरेको समानुपातिक सिटमा निर्वाचित गर्नुपर्ने उम्मेदवारको नाम बन्दसूचीबाट छान्न तीन दिनको समय दिएर बिहीबार पत्राचार गरिएको छ । दलहरूले पठाएको उम्मेदवार मिले–नमिलेको हेरेर निर्वाचित गरी दुई दिनभित्रै प्रमाणपत्र दिनेछौँ,’ उनले भने, ‘५ चैतभित्र राष्ट्रपतिलाई अन्तिम मतपरिणाम प्रतिवेदन दिने लक्ष्यसहित काम गरिरहेका छौँ । केही प्राविधिक तयारी नसकिए एक दिन ढिलो हुन पनि सक्ला । तर, चैत पहिलो साताभित्रै प्रतिवेदन बुझाउने तयारी छ ।’

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रपतिले अन्तिम मतपरिणाम प्रतिवेदन प्राप्त गरेपछि औपचारिक रूपमा सरकार गठन आह्वान गर्नेछन् । राष्ट्रपति कार्यालयबाट मतपरिणाम प्रतिवेदन संसद् सचिवालयमा पठाइन्छ भने राष्ट्रपतिले बहुमतप्राप्त दललाई सरकार गठनको आह्वान गर्नेछन् । ठुलो दल रास्वपाले संसदीय दलको नेता चुनेर प्रधानमन्त्रीको दाबी गर्नुपर्छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा होमिएको थियो । बहुमतप्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेपछि नयाँ सरकार गठन हुनेछ ।

‘ढिलोमा १० चैतभित्र देशले नयाँ सरकार पाउने देखिन्छ,’ संसद् सचिवालय प्रवक्ता गिरी भन्छन् । उनका अनुसार निर्वाचन मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वान सिफारिस गर्छ । राष्ट्रपतिबाट आह्वान भएर बैठक बस्छ । सरकार बैठक बस्नुअघि वा पछाडि गठन हुन सक्छ ।

बैठक बस्नुअघि संसद् सचिवालयले निर्वाचित सदस्यहरूलाई शपथ गराउँछ । निर्वाचित ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिन्छन् । ज्येष्ठ सदस्यबाट अन्य सदस्यले शपथ लिन्छन् । ‘प्रतिनिधिसभाले सरकार बनाउनेभन्दा पनि बनेको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भन्ने संविधानको व्यवस्था हो,’ गिरीले भने ।

संविधान निर्माणपछि पहिलोपटक धारा ७६(१)को सरकार
२१ फागुनमा सम्पन्न निर्वाचनमा रास्वपाले एक्लै बहुमत ल्याएपछि पहिलोपटक संविधानको धारा ७६(१) को कार्यान्वयन हुने भएको छ । ३ असोज ०७२ मा संविधान जारी भएपछि कुनै पनि दलले एकल बहुमत प्राप्त गर्न नसक्दा धारा ७६(१) को कार्यान्वयन हुन सकेको छैन । ७६(१) मा ‘प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने’ व्यवस्था छ ।

०७४ मा एमाले र माओवादी गठबन्धन भई झन्डै दुईतिहाइ बहुमत प्राप्त गर्दा ७६(२) अनुसार नै सरकार बनेको थियो । पछि दुई पार्टी मिलेर नेकपा बन्दा सरकार ७६(१) मा परिणत भएको भनिएको थियो । तर, उक्त सरकार ७६(२), ७६(३) हुँदै विघटन नै भएको थियो ।

संसद् सचिवालयका अनुसार ०७२ मा संविधान बनेपछि स्पष्ट बहुमत प्राप्त गर्ने दल रास्वपा नै हो । संविधान निर्माणको १० वर्षपछि रास्वपाले ७६(१) अनुसार बहुमतको एकमना सरकार बनाउन लागेको हो । रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनाउँदै छ । त्यसअगाडि उसले बालेनलाई संसदीय दलको नेता चुन्नुपर्नेछ ।

नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस सतहमा

काठमाडौं । २०६४ सालको निर्वाचन भन्दा पनि खराब नतिजा आएपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस सतहमा आएको छ । सामाजिक सञ्जाल, मिडिया र संवादमार्फत नेताहरूले नीति र नेतृत्व परिवर्तनको बहस थालेको देखिन्छ ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराईसहितका नेताहरूले नीति र नेतृत्व परिवर्तनको अग्ररसता लिने सार्वजनिक प्रतिबद्धता गरेपछि पार्टीभित्र यो बहस सघन बनेको छ । उपाध्यक्ष पौडेलले फेसबुक स्टाटस लेखेर कार्यकर्ता पंक्तिलाई निराश नहुन आग्रह गर्दै पार्टी बदल्ने कामको अग्रसरता लिने बताएका छन् ।

‘विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाई रूपान्तरण गर्न र नेकपा एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ पौडेलले लेखेका थिए ।

पौडेलकै जस्तो भाषामा भट्टराईले पनि नेतृत्व परिवर्तनको प्रस्तावअगाडि सारेका छन् । ‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेका छन् । यो आजको वस्तुगत यथार्थ हो । हामीले आपूभित्र सर्वाङगीण रूपान्तरणमार्फत जनसमर्थन पुन: आर्जनको बाटो लिनुपर्छ,’ भट्टराईको प्रस्ताव थियो ।

टेलिभिजनसँगको अन्तर्वार्तामा त भट्टराईले ओलीको राजीनामा नआए अप्रिय निर्णय लिन बाध्य हुने चेतावनीकै भाषामा बोलेका छन् । पदाधिकारी तहबाटै ओलीलाई राजीनामाको दबाव बढेपछि यो बहस तल्लो तहसम्मै पुगेको देखिन्छ ।

रूपन्देही-३ बाट निर्वाचन हारेका वासुदेव घिमिरेको स्टाटसलाई त्यसको उदाहरणका रूपमा लिन सकिन्छ । उनले एमाले नेताहरूलाई पञ्चसँगै तुलना गरेका छन् । ‘पञ्चायत ढल्दै थियो, तर पञ्चहरुको रटान उही- सबै ठीक छ, महाराज,’ घिमिरेको व्यंग्यात्मक स्टाटसमा लेखिएको छ ।

नेतृत्व फेर्नुपर्ने बहसको प्रतिवादमा भने सदाझै महासचिव शंकर पोखरेल उभिएका छन् । बिहीबार साँझ मात्रै स्टाटस लेखेर पोखरेलले पार्टीलाई कमजोर भ्रममा नपर्न आग्रह गरेका छन् ।

‘१६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य सुरु भइसकेको छ । यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन–२०८२ को समग्र समीक्षा गरिनेछ,’ पोखरेलले लेखेका छन्, ‘पार्टीको आन्तरिक एकतालाई कमजोर बनाउने उद्देश्यले केही मिडिया मार्फत पार्टी नेताहरूको नाममा भइरहेको मिडिया ट्रायल र फैलाइएको भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्तिलाई अनुरोध गर्दछु ।’

विगतमा पनि पोखरेलले यस्तै तर्क गर्ने गर्थे । सुदृढीकरण र पुनर्गठनको एजेन्डा नेताहरूले उठाउँदा उनी जनताबिच एमाले लोकप्रिय रहेको रिपोर्ट तयार पार्थे । यो निर्वाचनपछि पनि पार्टी संकटमा देखिएकाले सतिसालझैँ उभिनुपर्ने भाष्य जबर्जस्त आफू पक्षधरमार्फत फैलाउने प्रयत्नमा छन् ।

ओलीको एकलौटी चल्ने एमालेले भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया अथवा निर्णय सार्वजनिक गरेको छैन । महासचिव पोखरेलसहितका केही नेताको संकेत हेर्दा ओलीको राजीनामा आउने देखिन्न ।

प्रचार संयोजक मीनबहादुर शाही पार्टीको बैठकबाट निर्णय आउने बताउँछन् । ‘अब सचिवालय बैठक बस्ला, त्यसले केन्द्रीय कमिटी बोलाउछ र समीक्षा हुन्छ,’ शाही भन्छन्, ‘तर बैठक कहिले बस्छ भन्ने चाहिँ जानकारी छैन ।’

पार्टी अनपेक्षित पराजय बेहोर्नु परेकाले गम्भीर समीक्षा हुने उनी बताउँछन् । ‘यति खराब नतिजा अपेक्षित थिएन । तर जनताले आफ्नो अधिकार प्रयोग गरेर दिएको नतिजा स्वीकार्नैपर्छ,’ शाही भन्छन् ।

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा स्वीट्जरल्यान्डका एरेना नियुक्त

काठमाडौँ। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षकमा स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेना नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार एरेनालाई प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाले प्रशिक्षक एरेनालाई एक वर्षको जिम्बेवारी दिएको बताईएको छ ।

इटालीकासमेत नागरिक ५२ वर्षीय एरेनाले यसअघि लाओस र मोरक्कोको क्लब एमएएस फेस सम्हालेका थिए।

हार्दिक पाण्ड्यालाई भारतीय झण्डाको अपमान गरेको भन्दै मुद्दा

काठमाडौं : भारतीय झण्डा ओढेर प्रेमिकालाई मैदानमै चुम्बन गरेपछि भारतीय क्रिकेटर हार्दिक पाण्ड्यामाथि मुद्दा दायर भएको छ ।

वकिल वाजिद खानले भारतीय झण्डाको अपमान गरेको भन्दै पाण्ड्याविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

उनले पुणेस्थित शिवाजी नगर पुलिस स्टेशनमा मुद्दा दर्ता गरेका छन् । टी–२० विश्वकप २०२६ को फाइनलमा न्यूजिल्याण्डलाई हराएपछि भारतीय अलाराउण्डर हार्दिकले प्रेमिका माहिका शर्मासँग चुम्बन गरेको र भारतीय झण्डा गलामा पहिरिँदै दुवै जना सँगै पल्टिएको विषयलाई वकिल खानले झण्डाको गरिमामाथि ठेस पुर्‍याएको भन्दै मुद्दा दर्ता गरेका हुन् ।

भारतीय मिडियाका अनुसार खानले भारतीय संविधान १९७१ राष्ट्रिय झण्डाको ऐन अन्तगर्तको धारा २ मा राष्ट्रिय झण्डाको गरिमाको सम्मानको विषयलाई आधार मान्दै उनले मुद्दा दायर गरेका हुन् ।

निर्वाचन समीक्षामा बोल्दा बोल्दै ढलेका एमाले केन्द्रीय सदस्य थापाको निधन

पोखरा : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा कास्की जिल्ला इञ्चार्ज कृष्ण थापाको असामयिक निधन भएको छ । बिहीबार पार्टी बैठक  लगत्तै उनलाई हृदयघात भएको थियो ।

एमाले कास्कीका सचिव दर्शन लामाका अनुसार, कास्की क्षेत्र नम्बर १ को निर्वाचन समीक्षा बैठक सकिए लगत्तै थापालाई अचानक हृदयघात भएको थियो । उनलाई तत्काल उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

थापा नेकपा एमालेका एक प्रभावशाली नेता थिए । उनी २०५४ सालमा पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए  । २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

ग्यास अभाव बढ्नथालेपछि आधा सिलिन्डर मात्रै बिक्री गर्ने सरकारको तयारी

बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि सरकारले उपभोक्तालाई आधा सिलिन्डर मात्रै वितरण गर्ने विकल्प अघि सारेको छ। माग अनुसार भारतबाट ग्यास आयात भइरहे पनि बजारमा कृत्रिम अभाव देखिन थालेपछि यस्तो तयारी गरिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अनिलकुमार सिन्हाका अनुसार उपभोक्तासम्म ग्यासको पहुँच बढाउन १४.२ केजीको सट्टा ७.१ केजी ग्यास भरेर सिलिन्डर बिक्री गर्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ।

यस सम्बन्धमा अन्तिम निर्णय मन्त्रिस्तरीय बैठक वा नेपाल आयल निगमको सञ्चालक समितिबाट हुने बताइएको छ। निगमले आजै सञ्चालक समितिको बैठक बोलाएको छ । यो बैठकले आवश्यक निर्णय लिने छ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पनि ग्यास आपूर्ति सहज बनाउन आधा सिलिन्डर वितरणको विकल्पबारे छलफल भएको बताएका छन् । उनका अनुसार यस्तो व्यवस्था लागू भए उपभोक्ताले हालको मूल्यको आधा रकम तिरेर ७.१ केजी ग्यास प्राप्त गर्न सक्नेछन्।

निगमका अनुसार देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर प्रचलनमा छन्। हालसम्म १४.२ केजी ग्यास भरेर बिक्री हुँदै आएको भए पनि नयाँ निर्णय कार्यान्वयनमा आएपछि आधा ग्यास भरेर बजारमा पठाइनेछ।

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ । राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम २०–२२ डिग्री सेल्सियस रहेकोमा शनिबार बढेर २४ डिग्री पुगेको थियो । आज मध्यान्हसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ । आज रातिको न्यूनतम तापक्रम भने १५–१७ डिग्रीकै हाराहारीमा रहने अनुमान गरिएको छ।

यसैगरी मध्यान्हसम्म सबैभन्दा बढी सिराहा र बाँकेको अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । सो समयमा मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस रहेको छ । आज विराटनगरमा ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । त्यस्तै नेपालगञ्जमा भने ३०–३२ डिग्री सेल्सियस आसपास रहने अनुमान गरिएको छ।

गण्डकी प्रदेशको पोखरामा आज २६–२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रतर्फ जुम्लामा २३–२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ भने जोमसोममा पनि १७–१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ । “हावाको आद्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ । आगामी दिनहरूमा देशभर क्रमशः तापक्रम बढ्दै जाने सम्भावना रहेको छ,” उनले भने। -रासस

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई बिमा बोर्ड निर्देशन

काठमाडौँ- स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि  खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिएका छन् ।  बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर खरिद गराउने पाइएकोले त्यस्ता नगर्न ÷ नगराउन सबै अस्पताललाई परिपत्र गरिएको उनले बताए ।

“केही अस्पतालले बीमितलाई उपचार गरेसँगै बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको छ,” उनले भने, “त्यसैले हामीले त्यसरी बीमितलाई बाहिर औषधि खरिद नगर्न नगराउन निर्देशन दिँदै अस्पताललाई परिपत्र गरेका हौँ ।”

उनका अनुसार अस्पतालले बीमितसँग बिमा सेवका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्री सोही अस्पताल तथा बाहिरका औषधि पसलबाट नगदमा खरिद गर्न लगाउने गरेका छन् । सूचना अधिकारी मल्लले बिरामीलाई बाहिरका औषधि पसलबाट औषधि खरिद गर्न लगाउने अस्पताललाई  स्वास्थ्य बिमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत रहेको भन्दै त्यस्ता अस्पताललाई स्वास्थ्य बिमा नियमावली २०७५को नियम १८ को उपनियम (१) को खण्ड (क)  बमोजिम कारबाही गरिनेसमेत बताएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रममा अन्तर्गत पाँचजना परिवारसम्मका लागि रु तीन हजार ५०० बराबरको योगदानको आधारमा रु एक लाख सम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रति सदस्य ७०० का दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ ।

सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

लगातार दुई दिन घटेको बजार बिहीबार (फागुन २८) मा २३.८७ अंकले बढेर नेप्से परिसूचक २८२०.४४ विन्दुमा बन्द भएको छ ।

यस दिन चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक लाख ३० हजारपटक किनबेच हुँदा १४ अर्ब ५५ करोडभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

नेप्सेका अनुसार, ३३५ कम्पनीको कारोबार भयो, जसमा १७६ कम्पनीको मूल्य बढ्यो, ७७ को घट्यो भने नौवटाको स्थिर रह्यो ।

सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, नेसनल हाइड्रोपावर र होटेल फरेस्ट इनको सर्किट लेभलमा कारोबार भयो ।

स्वास्थ्य बीमामा सुधार ल्याउन स्वदेशी उद्योगबाट एकमुष्ट रूपमा औषधि किन्ने तयारी

काठमाण्डाै- सरकारले स्वदेशी उत्पादकहरूबाट एकमुष्ट अर्थात् बल्कमा औषधि किन्ने नीति ल्याउने भएको छ । स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्न र नागरिकलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउन यस्तो नीति ल्याउन लागेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले जानकारी दिए ।

काठमाण्डौको भृकुटीमण्डपमा शुरू भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री गौतमले औषधिको मूल्य र खरिद प्रक्रियामा रहेको विरोधाभासपूर्ण अवस्थालाई अन्त्य गर्न सरकारले उत्पादकहरूसँग सिधै खरिद गर्नुपर्ने बताए । उनका अनुसार नेपालमा सर्वसाधारणलाई औषधि अत्यन्तै महँगो परिरहेको छ भने कच्चा पदार्थको मूल्य बढे पनि उत्पादकहरूले पुरानै मूल्यमा औषधि बेच्नुपरेको बताएका छन् ।

सरकारले सिधै उद्योगबाट ठूलो मात्रामा औषधि खरिद गर्दा उद्योगीहरूको मार्केटिङ र कमिसन खर्च जोगिने हुँदा औषधिको मूल्य सस्तो पर्छ । यसरी खरिद गरेको औषधिको गुणस्तर सरकारी प्रयोगशालाले प्रमाणित गरेपछि बीमा कार्यक्रममार्फत नागरिकलाई सस्तो र सुलभ रूपमा वितरण गरिने मन्त्री गौतमले स्पष्ट पारे ।

यस विषयमा आफूले निजी क्षेत्रका औषधि उत्पादकहरूसँग छलफल गरिसकेको र उनीहरु पनि सकारात्मक रहेका मन्त्री गौतमले बताए ।

 

विश्व बजारमा तेलको भाउ फेरि १ सय डलर माथि

हर्मुज मार्गमा इरानको नाकाबन्दी कायम रहँदा विश्व बजारमा कच्चा तेलको भाउ फेरि १ सय डलर माथि पुगेको छ । आज अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य १ सय डलर नाघेको हो । यसअघि सोमवार भाउ बढेर अधिकतम १ सय २० डलरसम्म पुगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै सकिने घोषणा गरेपछि मङ्गलवार भाउ केही घटेको थियो, तर हिजोदेखि फेरि बढ्न थालेको हो ।

इरानले हर्मुजको सामुद्रिक घाँटीमा नियन्त्रण कायम राखेर त्यहाँबाट कुनै पनि जहाज निस्कन दिएको छैन । यस क्षेत्र हुँदै यात्रा गर्न खोज्ने थाइल्यान्ड र जापानका जहाजसहित  ६ वटा जहाज आक्रमणमा परिसकेका छन् । इरानले हर्मुजबाट १ लिटर तेल पनि बाहिर निस्कन नदिने दाबी गरेको छ र ठूलो सङ्ख्यामा ड्रोन तथा युद्ध डुङ्गा परिचालन गरेको छ ।

पश्चिम एशियाका धेरैजसो देशबाट एशियाली क्षेत्रमा हर्मुजको घाँटी हुँदै तेल ओसारिन्छ । विश्व बजारको कुल २० प्रतिशत तेल र ग्यास यही मार्गबाट निस्कने गर्दछ । आज पनि इरान र अमेरिका–इजरायलबीच आक्रमण जारी रहेको छ र पश्चिम एशियाका तेलखानी तथा ऊर्जा पूर्वाधार पनि निशानामा परेका छन् ।

अमेरिका, बेलायत र धेरैजसो पश्चिमा देश सम्मिलित अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले सदस्य राष्ट्रको रणनीतिक भण्डारबाट ४ सय मिलियन ब्यारेल तेल निकालेर बजारमा पठाउने निर्णय गरेको छ, जुन संस्थाको इतिहासकै सबैभन्दा ठूलो भण्डार खोल्ने कदम हो । तर यो निर्णयले पनि भाउमा खासै असर पार्न सकेको छैन ।

विश्लेषकहरूका अनुसार हर्मुज जलसन्धिमाथिको नियन्त्रण इरानकै हातमा रहेसम्म यो सङ्कट छिट्टै समाधान हुने सम्भावना कम छ । अमेरिकाले मङ्गलवार इरानका १६ वटा जहाज ध्वस्त पारेको दाबी गरेको छ, तर त्यसपछि पनि अवस्था सामान्य हुन सकेको छैन । युद्ध लम्बिएमा तेलको भाउ थप बढ्ने र विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विज्ञहरू बताउँछन् ।  -एजेन्सी 

कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए ।

उनका अनुसार दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

दुवै जनाको परिचय खुल्न बाँकी छ ।

सुर्खेतमा किशोरीको बलात्कारपछि हत्याको अनुसन्धान गर्न खटियो सिआइबी

सुर्खेत- सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनामा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली खटिएको छ।

सिआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली बिहीबार सुर्खेततर्फ आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवं एसपी सुधिरराज शाहीले जानकारी दिए।

‘हामीले पनि अनुसन्धान गरिरहेका छौं, हाम्रो अनुसन्धानमा सघाउनका लागि सिआइबीको टोली आएको हो,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले छुट्टै टोली बनाएर घटनाको अनुसन्धान गरिरहेको छ।

साथै घटना अनुसन्धानमा कुनै तथ्यहरू नछुटून् भनेर सिआइबीको टोली पुगेको एसपी शाहीले बताए।

गुर्भाकोट नगरपालिका-६ घर भएकी १६ वर्षीया किशोरी वीरेन्द्रनगर-१ मा आमासँग बस्दै आएकी थिइन्। उनका बुवा विदेशमा थिए। बिहीबार मात्र घर आइपुगेका छन्।

कक्षा-११ मा पढ्ने उनी फागुन २३ गते बिहान वीरेन्द्रनगर-४ को जनजागरण सामुदायिक वनमा साथीहरूसँग मर्निङवाक जाने भनेर निस्किएकी थिइन्।उनी बिहान ८ बजेतिर निस्केकी थिइन्।

त्यसपछि किशोरसँग भेट भएको र वनमा उनले जबरजस्ती करणी गरेको आरोप छ। जबरजस्ती करणी गर्दा नाबालिकाको यौनांगमा चोट लागेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

किशोरीको अत्यधिक रक्तस्राव भएपछि ती किशोरले आफ्ना साथीहरूलाई बोलाएको प्रहरीसमक्ष बयान दिएका छन्। अचेत अवस्थामा रहेको खबरपछि प्रहरी पनि घटनास्थलमा पुगेको थियो।

पछि बालिकालाई प्रादेशिक अस्पतालमा लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेको हो। प्रहरीले घटनामा चार जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रहरी कार्यालयमा चारै जनाविरूद्ध किटानी जाहेरी परेको छ। उक्त जाहेरी परेपछि प्रहरीले आइतबार नै जबरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

पहिलो पटक ६ दिन म्याद थप भएकोमा बिहीबार पुन: म्याद थपका लागि जिल्ला अदालत लगिएको छ।

एन्फा महिला लिगको खेलतालिका सार्वजनिक

काठमाडौं । चैत पहिलो सातादेखि सुरु हुने एन्फा महिला राष्ट्रिय लिग फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार खेलतालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार ४ चैतमा उद्‍घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लब खेल्नेछन् ।

१० टिम सहभागी हुने लिगका खेलहरू च्यासल रंगशालामा हुनेछन् ।

कञ्चनपुरमा बलात्कार आरोपमा दुईजना पक्राउ

कञ्चनपुर-  एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका–९ का ४० वर्षीय हीरा नाथ र भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय नरेश नाथलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बलात्कारको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी विस्तृत अनुसन्धान भइरहेको बताए । “अहिले प्रहरीले विस्तृतमा अनुसन्धान गर्दैछ”, प्रहरी निरीक्षक थापाले भने, “जङ्गलभित्र लगेर बालिकामाथि जबरर्जस्ती करणी गरेको उजुरीपछि प्रहरी अनुसन्धानमा जुटेको हो ।” रासस

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

कञ्चनपुर, फागुन २८ गते । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका प्रतिनिधि सभा सदस्यहरू पछिल्लो समय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आएका छन्।

कञ्चनपुर क्षेत्र–१ बाट निर्वाचित सांसद जनक सिंह धामी बिहीबार बेलौरी नगरपालिका–९ का कुण्डा, रतनपुर, वडा नं. १० भुडा लगायतका क्षेत्रमा पुगेर मतदाताका समस्या बुझे। बेलौरी–९ का स्थानीय गोपाल चौधरीले कुण्डामा रोकिएका सडक योजना समयमै सम्पन्न गर्न पहल गर्न आग्रह गरे।

सांसद धामीले मतदातासँगको भेटघाटमा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, नियम संशोधन र रोजगारीका अवसर सिर्जना गर्न कटिबद्ध रहनुपर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि सोमबार सांसद धामीले बेलौरीस्थित भीमदत्त चोक, कलकत्ता बजार, गोकुलपुर बजार, बेलडाडीस्थित चवौंन्नी बजार, लालझाडीस्थित चानदेव, कन्ज बजार तथा पुनर्वासका विभिन्न टोल–बस्तीमा पुगेर मतदातालाई धन्यवाद ज्ञापन गर्दै, सरकार गठन भए लगत्तै यस क्षेत्रको हितमा आवश्यक नीति नियम बनाइने प्रतिबद्धता जनाएका थिए।

त्यसैगरी, कञ्चनपुर क्षेत्र–३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र सिंह महतले पनि जनतासँग भेटघाट गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। बिहीबार भीमदत्त नगरपालिकाका विभिन्न वडा तथा दोधारा चाँदनी नगरपालिकाका टोल–बस्तीमा पुगेर सांसद महताले जनतामा अभिभावक राज्यको महसुस गराउने योजना रहेको बताए।

सांसद महताले यस क्षेत्रका विकासका लागि आवश्यक नीति, नियम निर्माण गरिने र युवालाई रोजगारी प्रदान गर्न आवश्यक कदम चालिने पनि जनाए। शपथग्रहणपछि जनताको समस्या बुझेर त्यस अनुरूप अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

बैतडीबाट निर्वाचित सांसद भण्डारी घरदैलोमा जनताको समस्या सुन्दै

बैतडी-बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भण्डारी बैतडीका दुर्गम र ग्रामीण बस्तीहरूमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या सुन्ने कार्यमा जुटेका छन् ।

निर्वाचन अघि प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गरेको स्मरण गर्दै उनले अहिले जनतालाई धन्यवाद दिन र उनीहरूको समस्या बुझ्न पुनः गाउँ–गाउँ पुगिरहेको बताए। ग्रामीण क्षेत्रका समस्या नजिकबाट बुझेर समाधानका लागि आवश्यक पहल गर्ने उनको भनाइ छ।

आफू सम्पूर्ण जिल्लावासीको प्रतिनिधि तथा अभिभावक भएको उल्लेख गर्दै सांसद भण्डारीले जस्तोसुकै समस्या पर्दा निसंकोच आफूलाई सम्झन स्थानीयलाई आग्रह गरेका छन्।

पूर्वाधार विकास, विद्युत् विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरणलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सुधार ल्याउन आफू प्रतिबद्ध रहेको उनले बताए।

इजरायलद्वारा लेबननमा नयाँ आक्रमण शुरू : तेल बोकेका जहाजमाथिका आक्रमण पनि बढ्दै

इजरायली सेनाले लेबननमा रहेको हिजबुल्लाहका लक्ष्यहरूमा नयाँ चरणका आक्रमण शुरू गरेसँगै खाडी क्षेत्रमा पानीजहाजमाथिका आक्रमण पनि बढ्दै गएका छन् ।

बासरा बन्दरगाह नजिकै पर्सिअन गल्फमा दुई विदेशी तेल ट्याङ्करमा विस्फोट हुँदा एक जनाको ज्यान गउको इराकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो घटनामा केहीको उद्धार गरिएको खोजी कार्य चलिरहेको छ ।

यसैबीच इराकका प्रधानमन्त्री मोहम्मद शिआ अल–सुदानीले इरानी राष्ट्रपति मसूद पेजेश्किआनलाई इराकमाथिको आक्रमण अस्वीकार्य भएको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले आफ्नो सरकारले कुनै पनि पक्ष वा व्यक्तिलाई इरानमाथि आक्रमणका लागि आफ्नो क्षेत्र प्रयोग गर्न नदिने पनि बताएका छन् ।

बुधवार स्ट्रेट अफ हर्मुजमा तीन वटा व्यावसायिक जहाजमाथि आक्रमण भएका थिए । त्यो आक्रमण कसले गरेको भन्ने खुलेको छैन । आक्रमणपछि क्षतिग्रस्त भएकामध्ये एउटा भारत आउँदै गरेको पनि रहेको भारतीय अधिकारीहरूले जनाएका छन् ।

हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग मानिन्छ ।

मध्यपूर्वमा बढ्दो तनावले विश्व ऊर्जा बजारमा पनि असर गहिरिन थालेको छ ।

आज एशियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य ९ प्रतिशतले बढेर प्रतिब्यारेल १०० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने कच्चा तेलको मूल्य पनि ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अमेरिका र बेलायतलगायत दर्जनौँ देशले कीर्तिमानी मात्रामा आपत्कालीन भण्डारबाट तेल निकाल्ने घोषणा गरेपछि पनि तेलको मूल्य घट्न सकेको छैन । -एजेन्सी

 

सोविता गौतमको चुनावी खर्च ९ लाख ९३ हजार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सोबिता गौतमले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएकी छिन्।

उनले फागुन २७ गते जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएकी हुन्।

चितवन–३ बाट निर्वाचित गौतमका तर्फबाट निर्वाचन प्रतिनिधि कैलाश घिमिरेमार्फत बुझाइएको विवरणमा ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावमा खर्च भएको उल्लेख छ।

निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिले ३१ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था रहेको छ। गौतमले त्यो भन्दा निकै कम रकम खर्च भएको विवरण पेस गरेकी हुन्।

उनले मनोनयन दर्ता ५ हजार, प्रचारप्रसार सामग्री ३ लाख १७ हजार ४ सय, मतदाता प्रशिक्षण ३० हजार, नमुना मतपत्र घोषणा छपाइमा ७४ हजार २ सय, वडा स्तरीय प्रचारप्रसारमा १ लाख, सवारी साधानमा ३ लाख २५ हजार, स्टेशनरी सचिवालय प्रयोग २३ हजार ४४५ र खाद्यन्न, रासन तथा पानीमा १ लाख १८ हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेकी छिन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९ लाख ८९ हजार ९८७ रुपैयाँ चुनावी खर्च भएको उल्लेख गरेका छन्।

सुर्खेतमा बालिकाकाे बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाही गर्न चौतर्फी दबाब

सुर्खेत– सुर्खेतमा बालिकाकाे बलात्कार र हत्या घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न चौतर्फी दबाव बढेको छ । गएको शनिवार वीरेन्द्रनगरको सुर्खेत शहीद उद्यानको जनजागरण सामुदायिक वनमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न दबाव बढेको हो ।

सुर्खेतका विभिन्न सङ्घ–संस्थाहरूले संयुक्त विज्ञप्ति निकालेर यो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

मानव अधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सीएमसी, महिला मानव अधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, दलित महिला सङ्घ, वाम, सोसेक र मानव अधिकारका लागि महिला एकल महिला समह सुर्खेतले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई उचित न्याय दिनसमेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानूनी ढङ्गले छानबिन अनुसन्धान हुने तथा कानूनअनुसार न्याय सुनिश्चित गर्ने विश्वास व्यक्त गरेका छन् । सरकारका तर्फबाट यस घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानूनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढाउने भन्दै पीडित परिवारले न्याय पाउनेमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते उजुरी दिएका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई अस्ति मङ्गलवार पक्राउ गरी अनुसन्धान थालेको छ । घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनामाथि जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको उनले बताए ।

वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया बालिकाको शव परिवारजनले अझै बुझेका छैनन् । -रासस

 

सुनकाे भाउ २ हजार रुपैयाँले घट्याे

काठमाण्डाै – आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजारले घटेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलको ३ लाख १६ हजार ९०० रुपैयाँ रहेको थियो । यस्तै सोमवार सुनको भाउ ३ हजार ७०० ले घटेकोमा अस्ति ३ हजार ८०० र हिजो २ हजार रुपैयाँले बढेको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २०५ रुपैयाँले घटेर तोलाको ५ हजार ५१५ रुपैयाँमा झरेको छ ।

खोज्नुहोस