कृष्ण धानुक ।
डेनमार्क नेशनल बैंक डेनमार्कको केन्द्रीय बैंक हो। जसले देशको मौद्रिक नीति तर्जुमा गर्नुका साथै समय र परिस्थिति अनुसार ब्याजदर तथा मौद्रिक नीतिहरूमा फेरबदल गरी देशको अर्थतन्त्रलाई चलायमान बनाउन र वित्तीय स्थिरता कायम राख्न मद्दत गर्दछ। अर्कोतर्फ डेनमार्कको सरकारले वित्त नीति मार्फत कर र सार्वजनिक खर्चको व्यवस्थापन गर्दछ। यी दुवै निकायहरूको नीतिगत समन्वयले नै देशको समग्र आर्थिक सन्तुलन कायम राख्न मुख्य भूमिका रहेको हुन्छ।
विगत ६ महिनाको अन्तरालमा डेनमार्क नेशनल बैंकले पहिले प्रतिवेदन (नोभेम्बर २०२५) र दोस्रो पटक डेनमार्क नेशनल बैंकका गभर्नर उल्रिक नोडगार्डको आधिकारिक बयान (अप्रिल २०२६) मार्फत जोखिम पूर्वानुमान जारी गर्दै ग्रेटर कोपेनहेगनको घर तथा अपार्टमेन्टको मूल्य वृद्धि नियन्त्रण बाहिर जान सक्ने बारेमा ध्यानाकर्षण गराइएको छ।
नोभेम्बर २०२५ मा डेनमार्क नेशनल बैंकले प्रतिवेदन नम्बर-२७ सार्वजनिक गरेको थियो। प्रतिवेदनले ग्रेटर कोपेनहेगनको घरजग्गा बजार र विशेष गरी राजधानी क्षेत्रमा भएको असामान्य मूल्य वृद्धिलाई लिएर चिन्ता व्यक्त गरेको थियो। त्यस प्रतिवेदनमा अक्टोबर २०२४ देखि सेप्टेम्बर २०२५ सम्मको ग्रेटर कोपेनहेगनको घरजग्गा कारोबारको तथ्याङ्कहरूको अध्ययन गरिएको थियो। प्रतिवेदनमा कोर कोपेनहेगन क्षेत्रमा घर तथा अपार्टमेन्टको मूल्य बीस देखि तीस प्रतिशत सम्म र समग्र ग्रेटर कोपेनहेगन क्षेत्रमा २० प्रतिशत सम्मले बढेको उल्लेख थियो।
कोर कोपेनहेगन भन्नाले कोपेनहेगन कम्युन र फ्रेडेरिक्सबर्ग कम्युन हुन् भने ग्रेटर कोपेनहेगन क्षेत्र भित्र यी दुई सहित अन्य २७ गरी २९ वटा कम्युनहरू पनि पर्दछन्।
प्रतिवेदनका अनुसार पछिल्लो एक वर्षमा ग्रेटर कोपेनहेगन क्षेत्रको घर तथा अपार्टमेन्टहरूको मूल्य बजारमा अस्वाभाविक मूल्य वृद्धि देखिएको छ। प्रतिवेदनले बजारको यो अस्वाभाविक स्थितिलाई गम्भीरताका साथ लिँदै यस्तो अत्यधिक मूल्यवृद्धिले भविष्यमा ठूलो आर्थिक दुर्घटना निम्त्याउन सक्ने बारेमा इंगित गरेको थियो। मूल्य यसरी नै आकासिँदै जाँदा कुनै पनि बेला बजारमा गिरावट आउन सक्ने र त्यसले देशको समग्र अर्थतन्त्र नै संकटमा पार्न सक्ने चेतावनी दिइएको थियो। ग्रेटर कोपेनहेगनमा देखिएको यो मूल्यवृद्धि डेनमार्कका अन्य भू-भागहरूमा भन्दा धेरै बढी हुनुका साथ साथै अन्य स्क्यान्डेनेभियन देशहरूको तुलनामा पनि धेरै हो भनेर भनिएको थियो। यो मूल्य वृद्धि खरिदकर्ताहरूको आम्दानीको तुलनामा धेरै छिटो बढेको छ। जसले गर्दा राजधानीमा घर किन्न मध्यम र न्यून आय भएका मानिसहरूका लागि असम्भव जस्तै बन्दै गएको भनेर विश्लेषण गरिएको थियो।
डेनमार्क नेशनल बैंकको प्रतिवेदनले वर्तमान हाउजिङ मार्केटको मूल्यवृद्धिका पछाडि पाँचवटा मुख्य कारणहरूलाई विशेष महत्त्वका साथ औंल्याएको थियो।
१. आप्रवासीहरूको बढ्दो चाप : डेनमार्कमा आप्रवासीहरूको संख्यामा भइरहेको निरन्तर वृद्धिले आवासको मागलाई तीव्र बनाएको छ। विशेष गरी सहरी क्षेत्रहरूमा घर तथा अपार्टमेन्टको मागको तुलनामा आपूर्ति न्यून हुँदा बजारमा ठूलो चाप पर्न गएको हो।
२. युवा खरिदकर्तालाई पारिवारिक सहयोग : पहिलो पटक घर खरिद गर्न खोज्ने युवाहरूले आफ्नो व्यक्तिगत आर्जन र बचतको तुलनामा निकै बढी रकम डाउन पेमेन्ट गरिरहेका छन्। यसको स्पष्ट अर्थ हो कि उनीहरूले आफ्ना अभिभावकहरूबाट उल्लेख्य आर्थिक सहयोग प्राप्त गरिरहेका छन्। जसले गर्दा बजारमा खरिद गर्ने क्षमता कृत्रिम रूपमा बढेको देखिन्छ। अभिभावकको आर्थिक सहयोग पाउनेहरूको वर्चस्व देखिए तापनि, यसले दीर्घकालीन रूपमा सामाजिक र आर्थिक असमानता निम्त्याउने देखिन्छ।
३. सबल अर्थतन्त्र र लगानीको केन्द्रस् रुस–युक्रेन युद्ध र कोरोना महामारीका कारण जर्मनी र फ्रान्सजस्ता देशहरूको अर्थतन्त्र सुस्त बने पनि डेनमार्कको अर्थतन्त्र तुलनात्मक रूपमा अझै मजबुत नै देखिएको छ। डेनमार्कको अर्थतन्त्र बलियो हुनुमा फार्मास्युटिकल क्षेत्र र विशेष गरी नोभो नर्डिस्कको ठूलो योगदान छ। यसका साथै सेवा क्षेत्रको पुनरुत्थानले पनि यसलाई थप मजबुत बनाएको छ। यही कारणले डेनमार्कको सर्वसाधारणको बचतमा वृद्धि भएको छ। बैंकमा पैसा राख्दा खासै ब्याज नआउने हुनाले मानिसहरूले घरजग्गालाई सबैभन्दा सुरक्षित र बढी प्रतिफल दिने क्षेत्रका रूपमा हेरेका छन्। यसले गर्दा पहिले नै घर भएकाहरूले पनि दोस्रो वा तेस्रो अपार्टमेन्ट लगानीको रूपमा किन्न थालेका छन्। सुरक्षित र उच्च प्रतिफलको खोजीमा रहेका लगानीकर्ताहरूले घरजग्गा क्षेत्रलाई प्राथमिकता दिइरहेका छन्। जसको परिणामस्वरूप मूल्यवृद्धि भयो।
४. माग र आपूर्तिबीच ठूलो असन्तुलन : बजारमा घर किन्न चाहने ग्राहकहरूको संख्या उल्लेखनीय रूपमा बढेको तर सोही अनुपातमा घर तथा अपार्टमेन्टको आपूर्ति वृद्धि हुन नसक्दा बजारमा अभावको अवस्था सिर्जना भएको छ। सीमित आपूर्तिका कारण खरिदकर्ताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। जसले गर्दा मूल्य अझै बढ्ने दबाब सिर्जना भयो भनेर प्रतिवेदनमा लेखिएको थियो।
५. निर्माण कार्यमा आएको सुस्ततास् विगत १० वर्षको तथ्याङ्कलाई हेर्दा निर्माण क्षेत्रमा राम्रो प्रगति देखिए तापनि पछिल्लो समयमा यस क्षेत्रले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ। विशेषगरी सन् २०१९ मा कोपेनहेगनमा ठूला भवनहरूको निर्माण कार्य उच्च बिन्दुमा पुगेको थियो। तर त्यसपछिका वर्षहरूमा यसमा निरन्तर गिरावट आएको देखिन्छ। सन् २०२२ मा आइपुग्दा रुस–युक्रेन युद्धले निर्माण सामग्रीको मूल्यमा भएको अप्रत्याशित वृद्धि र ऊर्जा संकटका कारण देशभरकै निर्माण कार्यमा ठूलो झड्का लाग्यो। यसका साथै निर्माण सामग्रीको अस्थिर मूल्य र बढ्दो ब्याजदरले गर्दा नयाँ परियोजनाहरूमा लगानी गर्न लगानीकर्ताहरू हिचकिचाए।
डेनमार्क नेशनल बैंकले प्रतिवेदनमार्फत देशको समसामयिक अर्थतन्त्रको चित्रण गर्दै नागरिकहरूलाई सचेत र संयमित रहन आग्रह गरेको थियो। बैंकले यस अवस्थालाई गम्भीर वित्तीय जोखिमको रूपमा परिभाषित गर्दै बजारमा बबल सिर्जना हुन सक्ने तथा भविष्यमा मूल्यमा ठूलो गिरावट आउन सक्ने चेतावनी दिएको थियो। विगतको इतिहासले पनि के देखाउँछ भने जब मूल्य अस्वाभाविक रूपमा बढ्छ। त्यसपछिको सम्भावित गिरावटले बैंक र घरधनी दुवैलाई ठूलो आर्थिक संकटमा पुर्याउन सक्छ। यदि यो प्रवृत्ति देशभरि फैलियो भने यसले देशको समग्र अर्थतन्त्र र वित्तीय स्थिरतामा नै गम्भीर असर पुर्याउने जोखिम रहने भन्दै सावधान गराइएको थियो।
डेनमार्क नेशनल बैंकको प्रतिवेदनको मुख्य उद्देश्य जनतालाई सम्भावित आर्थिक दुर्घटना प्रति सचेत गराउनु थियो। प्रतिवेदनको मूल मर्म चाही घरको मूल्य सधैं यसरी नै बढ्न सक्दैन भन्ने थियो। तर यसको प्रभाव भने ठ्याक्कै उल्टो हुन पुग्यो।
बैंकको चेतावनीलाई सर्वसाधारणले एक किसिमको अग्रिम सूचनाको रूपमा लिइदिए। जसका कारण जनवरी २०२६ देखि ग्रेटर कोपेनहेगनमा घरको मूल्यमा थप २० प्रतिशतको तीव्र वृद्धि देखियो। बैंकले मूल्य नियन्त्रण बाहिर जान सक्ने संकेत गरेपछि आम जनतामा अहिले नकिने भविष्यमा कहिल्यै किन्न सकिँदैन भन्ने बुझाइ स्थापित भयो। यसले बजारमा एक किसिमको फियर अफ मिसिङ आउट अर्थात् केही कुरा छुट्ने डर पैदा गरिदियो। यही मनोवैज्ञानिक त्रासका कारण खरिदकर्ताहरू आफ्नो क्षमताभन्दा बाहिर गएर पनि घर वा अपार्टमेन्ट किन्न लालायित देखिएका छन्।
अर्कोतर्फ, घर तथा अपार्टमेन्ट हुनेहरू भविष्यमा मूल्य अझै बढ्ने आशामा अहिले आफ्नो सम्पत्ति बेच्न अत्यन्तै अनिच्छुक देखिएका छन्। यसले गर्दा बजारमा माग र आपूर्तिको बीचमा एउटा ठूलो खाडल सिर्जना भएको छ। माग अत्यधिक हुने तर आपूर्ति न्यून हुने यो अवस्थाले गर्दा मूल्यमा झन् ठूलो चाप परेको छ। डेनमार्कको घरजग्गा खरिद-बिक्रीको आधिकारिक जानकारी दिने वेबसाइट बोलिसिडेनको तथ्याङ्कले बजारको भयावह अवस्थालाई स्पष्ट पार्छ। यो पोर्टलले डेनमार्कभरि बिक्रीका लागि राखिएका घर, रेक्केहुस, अपार्टमेन्ट, समरहाउसहरूको विस्तृत जानकारी प्रदान गर्दछ। जनवरी २०२५ मा बजारमा ५२,००० देखि ५५,००० को संख्यामा घर, अपार्टमेन्ट र समरहाउसहरू बिक्रीका लागि उपलब्ध थिए। तर मात्र एक वर्षको अन्तरालमा अर्थात् जनवरी २०२६ सम्म आइपुग्दा यो संख्या करिब ३२ प्रतिशतले घटेर ३५,००० देखि ३८,००० को हाराहारीमा झरेको थियो।
बजारमा उपलब्ध घरहरूको संख्यामा आएको यो तीव्र गिरावटले एकातिर आपूर्तिको चरम संकट सिर्जना गर्यो भने अर्कोतिर खरिदकर्ताहरूमा घर नै पाइँदैन कि भन्ने त्रास फैलायो। जब बजारमा सामानको अभाव हुन्छ र किन्ने मान्छेको होडबाजी चल्छ। त्यस्तो अवस्थामा मूल्य अस्वाभाविक रूपमा आकासिन्छ। यही ३२ प्रतिशतको सप्लाई सकु नै जनवरी २०२६ पछि कोपेनहेगनको आवास बजारमा देखिएको थप २० प्रतिशत मूल्यवृद्धिको मुख्य कारक बन्यो।
सबैभन्दा चुनौतीपूर्ण कुरा त के छ भने आम मानिसहरूमा अहिले सेल्फ-रिइन्फोर्समेन्टको भावना हाबी भएको छ। छ। जहाँ खरिदकर्ताहरू भविष्यमा मूल्य अझै बढ्ने अनुमानित मनोविज्ञानका आधारमा महँगो लगानी गर्न तयार देखिन्छन्। यसको अर्थ जब उनीहरूले मूल्य बढेको देख्छन्। उनीहरूलाई लाग्छ कि उनीहरूको डर सही थियो। जसले गर्दा उनीहरू अझ बढी मूल्य तिर्न तयार हुन्छन् र यसले पुनः मूल्यलाई थप माथि धकेल्छ। यो एउटा यस्तो आत्म-घाती चक्र बनेको छ। जसले कोपेनहेगनको घरजग्गा बजारलाई एउटा अनिश्चित र जोखिमपूर्ण मोडमा पुर्याएको छ।
अप्रिल २०२६ मा डेनमार्क नेशनल बैंकका गभर्नर उल्रिक नोडगार्ड को एउटा गम्भीर आधिकारिक बयान सार्वजनिक भएको छ। गभर्नर नोडगार्डले आफ्नो बयानमा स्पष्ट पारेका छन् कि ग्रेटर कोपेनहेगनको घरजग्गा बजार अब सामान्य जोखिमको अवस्थाबाट उच्च जोखिमको खतरनाक मोडमा पुगिसकेको छ। उदाहरणका लागि अहिले ३ मिलियन डेनिस क्रोनर सरकारी मूल्यांकन भएको घर वा अपार्टमेन्ट ४ मिलियन डेनिस क्रोनर बिक्रीमा राखिने अवस्था देखिएको छ। बजारमा खरिदकर्ताहरूको चाप अत्यधिक भएकाले एउटै घर किन्न धेरै व्यक्तिहरूबीच प्रतिस्पर्धा हुने गरेको छ। जसका कारण ‘ओभर बिडिङ’ को अवस्था सिर्जना भइरहेको छ। अर्थात् घर पाउनका लागि खरिदकर्ताहरूले तोकिएको मूल्यभन्दा अझ बढी रकम प्रस्ताव गरिरहेका छन्। जसले बजार मूल्यलाई अस्वाभाविक रूपमा माथि धकेलिरहेको छ। घर खरिद गर्ने व्यक्ति सुरुदेखि नै अतिरिक्त आर्थिक दबाबमा रहेको छ। किनभने उसले आफ्नो योजनाभन्दा बढी रकम घर खरिदमा खर्च गर्नुपर्ने अवस्था आइरहेको छ।
यदि कुनै राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय कारणले डेनमार्कको अर्थतन्त्रमा सुस्तता आयो, ब्याजदर बढ्यो, वा घरको मूल्य घट्न थाल्यो भने अहिलेको आवास बजार गम्भीर असर पर्न सक्छ। उदाहरणका लागि, ४ मिलियन डेनिस क्रोनरमा खरिद गरिएको घरको बजार मूल्य घटेर फेरि ३ मिलियनमै किनबेच हुन थाल्यो। यस्तो अवस्था आए पनि उच्च मूल्यमा घर खरिद गरेका परिवारहरूले भने ४ मिलियनकै ऋण र ब्याज तिरिरहनुपर्ने हुन्छ। अर्थात्, घरको वास्तविक बजार मूल्य घटे पनि ऋणको भार भने उस्तै रहिरहनेछ।
यस्तो अवस्थामा उच्च ऋण लिएका परिवारहरू चरम आर्थिक दबाबमा पर्न सक्छन्। विशेषगरी रोजगारीमा आउने अस्थिरता, आम्दानीमा गिरावट, वा ब्याजदर वृद्धिले बैंकको मासिक किस्ता तिर्न कठिन बन्न सक्छ। त्यसपछि परिवारहरूले खर्च कटौती गर्दै बचतलाई प्राथमिकतामा राख्न थाल्छन्। व्यक्तिगत आवश्यकतादेखि बालबालिका, परिवार तथा दैनिक उपभोगमा गरिने खर्चसमेत घट्न सक्छ। जब ठूलो संख्यामा मानिसहरूले उपभोग घटाउन थाल्छन्। त्यसको प्रत्यक्ष असर बजारमा पर्छ र अन्ततः समग्र देशको अर्थतन्त्र सुस्त बन्ने जोखिम बढ्न सक्छ। यो संकट व्यक्तिगत परिवारमा मात्र सीमित नभई समग्र राष्ट्रिय अर्थतन्त्रका लागि समेत चुनौती बन्न सक्ने र विषम परिस्थितिमा आफ्नो घर बिक्री गर्दा पनि सावाँको लगानी समेत फिर्ता नहुने जोखिम रहेको भन्दै डेनमार्कका गभर्नरले सचेत गराएका छन्।
वर्तमान बजारको यो उछाललाई सन् २००८ को वित्तीय संकटसँग तुलना गर्दा अवस्था झन् भयावह देखिन्छ। त्यतिबेला पनि ग्रेटर कोपेनहेगन र जिल्याण्ड क्षेत्रभरि घर तथा अपार्टमेन्टहरूको मूल्यमा आजको जस्तै अस्वाभाविक वृद्धि भएको थियो। तर जब सन् २००८ मा अमेरिकाबाट सुरु भएको आर्थिक मन्दीको लहरले विश्वव्यापी रूप लिँदा डेनमार्कको अर्थतन्त्रलाई पनि नराम्ररी गिजोलेको थियो। घरजग्गाको मूल्यमा यति ठूलो गिरावट आयो कि धेरै लगानीकर्ताहरूले त्यसको मार खेप्नुपर्यो।
सन् २००८ को विश्वव्यापी वित्तीय संकटका बेला डेनमार्कका धेरै कम्पनीहरूले ऐतिहासिक नोक्सानी र आर्थिक चुनौतीहरूको सामना गर्नुपरेको थियो। यस संकटबाट सबैभन्दा बढी प्रभावित बैंकिङ क्षेत्र भएको थियो। जहाँ डेनमार्कको सबैभन्दा ठूलो बैंक डान्सके बैंकले आफ्नो बजार मूल्यमा भारी गिरावट र ऋण संकटको सामना गर्दै सरकारबाट अर्बौं डलरको बेलआउट लिनुपरेको थियो। सोही समयमा रोस्किल्डे बैंक पूर्ण रूपमा टाट पल्टिएपछि डेनमार्कको केन्द्रीय बैंकले त्यसलाई आफ्नो नियन्त्रणमा लिनुपरेको थियो। विडम्बनापूर्ण तथ्य त के छ भने, केही क्षेत्रहरूमा घरको मूल्य सन् २०२३ सम्म आइपुग्दा समेत संकटपूर्वको स्तरमा फर्कन सकेको थिएन। यसले के प्रस्ट पार्छ भने बजारको कृत्रिम वृद्धि जति तीव्र हुन्छ। त्यसको गिरावट उति नै निर्मम र दीर्घकालीन हुन सक्छ। जसको प्रत्यक्ष असर आजका नयाँ खरिदकर्ताहरूमा पनि पर्न सक्ने देखिन्छ।
डेनमार्क नेशनल बैंक पनि कठिन अवस्थामा उभिएको छ। कोरोना कालमा अर्थतन्त्रलाई चलायमान बनाउन ०.५ प्रतिशत सम्म झारिएको घरकर्जाको ब्याजदर अहिले बढेर ४ प्रतिशत को हाराहारीमा पुगेको छ। नेशनल बैंकका लागि अहिलेको मुख्य चुनौती के हो भने यदि बढ्दो घरजग्गाको मूल्य नियन्त्रण गर्न ब्याजदरमा अझ वृद्धि गरियो भने यसले समग्र आर्थिक गतिविधिमा सुस्तता ल्याउन सक्छ। अर्कोतर्फ, अहिलेकै ब्याजदरलाई यथावत् राख्दा घरजग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्ने र अन्ततः त्यो बबल फुट्ने डर रहन्छ। यो दोहोरो दबाबका कारण बैंक अहिले एउटा कठिन नीतिगत दुविधामा फसेको देखिन्छ। ब्याजदरमा हुने सानो परिवर्तनले पनि उच्च ऋण भार बोकेका परिवारहरूको बजेट बिथोलिने र त्यसको प्रत्यक्ष असर समग्र देशको अर्थतन्त्रमा पर्न सक्ने भएकाले नेशनल बैंक अहिले अत्यन्तै संवेदनशील र रक्षात्मक अवस्थामा रहेको छ।
डेनमार्क तथ्याङ्क विभागको पछिल्लो प्रतिवेदन अनुसार देशको कुल जनसंख्या करिब ६० लाख पुगेको छ। यसको झन्डै आधाभन्दा बढी हिस्सा अर्थात् ३२ लाख मानिसहरू प्रत्यक्ष रूपमा श्रम बजारमा सक्रिय छन् वा आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन्। यो तथ्याङ्कले डेनमार्कको उच्च रोजगारी दरलाई मात्र नभई देशकै इतिहासमा हालसम्मकै सबैभन्दा सुदृढ रोजगारीको अवस्थालाई समेत दर्शाउँछ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२५ को प्रतिवेदन अनुसार डेनमार्कको आर्थिक अवस्था निकै सुदृढ देखिएको छ। उक्त प्रतिवेदनका अनुसार डेनमार्कको कुल गार्हस्थ्य उत्पादन ५०३ अर्ब अमेरिकी डलर पुगेको छ भने प्रतिव्यक्ति आय ८३,५४४ डलर कायम भएको छ। जसले त्यहाँका नागरिकहरूको उच्च जीवनस्तरलाई दर्शाउँछ। साथै, सन् २०२६ मा डेनमार्कको अर्थतन्त्र २ प्रतिशतको दरले वृद्धि हुने सकारात्मक पूर्वानुमान पनि गरिएको छ। यद्यपि, विश्वव्यापी रूपमा बढ्दो भू-राजनीतिक तनाव, आपूर्ति श्रृंखलामा आउन सक्ने अवरोध र ऊर्जा संकट जस्ता अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक अस्थिरताले यो वृद्धिको लक्ष्यमा केही चुनौतीहरू थप्न सक्ने भने पक्कै देखिन्छ।
अहिलेको विश्वको राजनीतिक अवस्था अत्यन्तै अस्थिर छ। विशेषगरी डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि धेरै देशहरूमा अनिश्चितताको भावना अझ बढ्दै गएको देखिन्छ। विभिन्न देशहरूका आपसी मतभेदले निम्त्याउन सक्ने समस्या एकातिर छ भने अर्कोतर्फ सन् २००० को सुरुवातमा भएको डट-कम बबल झैँ अहिले आर्टीफिसियल ईन्टेलीजेन्स एआई बबल पनि फुट्न सक्छ भनेर पूर्वानुमान भइरहेको छ।
डेनमार्कको अर्थतन्त्रका लागि बाह्य चुनौतीहरू झन् थपिँदै गएका छन्। भर्खरैको इरान-इजरायल युद्धका कारण दुई महिनाको अन्तरालमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६८ डलरबाट आकाशिएर १२६ डलर सम्म पुग्नु र विश्वकै व्यस्त व्यापारिक जलमार्ग स्ट्रेट अफ हर्मोज बन्द हुनुले आपूर्ति शृङ्खलामा ठूलो संकट पैदा गरेको छ। यसले डेनमार्कमा ऊर्जाको मूल्य बढाउने र महँगी लाई नियन्त्रण बाहिर पुर्याउने जोखिम बढाएको छ।
वर्तमान विश्व अर्थतन्त्रका लागि आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा आउन सक्ने सम्भावित करेक्सन सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ। एआई भविष्यको आधारशिला हो भन्नेमा सन्देह नभए पनि यस क्षेत्रमा ओइरिएको २ ट्रिलियन डलरभन्दा बढीको विशाल लगानीले कसरी ठोस प्रतिफल दिन्छ भन्नेमा लगानीकर्ताहरूमा संशय पैदा भएको छ। यस परिस्थितिलाई सन् २००० को डट कम बबल सँग तुलना गर्न थालिएको छ। जहाँ प्रविधिको वास्तविक उपयोगिताभन्दा बढी त्यसको हाइप मा पुँजीकरण गरिएको थियो। यदि आर्टीफिसियल ईन्टेलीजेन्सक्षेत्रको यो लगानीको एआई बबल फुट्यो भने त्यसले विश्व शेयर बजारमा एउटा ठूलो वित्तीय पहिरो निम्त्याउने निश्चित छ। यसको प्रत्यक्ष र गहिरो असर डेनमार्कको पेन्सन फण्ड र समग्र लगानी संरचनामा पर्नेछ। किनकि डेनिस अर्थतन्त्रका ठूला पोर्टफोलियोहरू विश्वव्यापी प्रविधि कम्पनीहरूसँग प्रत्यक्ष रूपमा जोडिएका छन्।
शास्त्रीय अर्थशास्त्रीहरूको मूल मान्यता थियो कि बजार सधैँ लेसेज-फेयर अर्थात् पूर्ण स्वतन्त्रताको सिद्धान्तमा चल्नुपर्छ। एडम स्मिथले प्रतिपादन गरेको अदृश्य हातको सिद्धान्त अनुसार माग र आपूर्तिको सन्तुलन बजारले आफैँ कायम गर्छ र सरकारले यसमा कुनै हस्तक्षेप गर्नु हुँदैन। तर सन् १९२९ को द ग्रेट डिप्रेसनले यो शास्त्रीय विश्वासलाई गलत सावित गरिदियो। मन्दीको त्यो भयावह अवस्थापछि नै जोन मेनार्ड केन्सको सक्रिय सरकारी हस्तक्षेप र मौद्रिक नीतिको अवधारणाले मान्यता पाएको हो।
यही ऐतिहासिक नजिरलाई मध्यनजर गर्दा वर्तमानमा डेनमार्कको हाउजिङ मार्केटलाई पनि केवल अदृश्य हात को भरमा छोड्नु अत्यन्तै जोखिमपूर्ण हुन्छ भन्नेमा डेनमार्क नेशनल बैंक अत्यन्तै सतर्क देखिन्छ। आवश्यक परेको बेलामा सरकार र केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत ब्याजदरमा सामयिक परिवर्तन गरी बजारमा हस्तक्षेप गर्नैपर्ने हुन्छ। त्यही कारणले गर्दा डेनमार्क नेशनल बैंकले हाउजिङ कारोबारलाई नजिकबाट निगरानी गरिरहेको छ।