सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायत प्रस्ताव टेबल गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी महालेखापरीक्षक कार्यालय, लोकसेवा आयोग, थारु आयोग र मधेसी आयोगको वार्षिक प्रतिवेदनसमेत पेस गर्ने कार्यसूची रहेको उनले जानकारी दिए ।

यही असार १ गते आर्थिक वर्ष २०८३ / ८४ को बजेट प्रस्तुत भएपछि आज पहिलोपटक बैठक बस्न लागेको हो । यहाँ सरकारले प्रस्तुत गरेको बजेटका सम्बन्धमा सत्तासाझेदार दलहरुबीच नै मतभेद भएपछि बाँकी प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

मेस्सी, एमबाप्पे र हालान्ड : को हुन् गोल्डेन बुटको दाबेदार ?

फिफा विश्वकप २०२६मा गोल्डेन बुटको प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ।

ब्राजिलविरुद्ध दुई गोल गर्दै नर्वेलाई क्वार्टरफाइनलमा पुर्‍याएका एर्लिङ हालान्डले गोल्डेन बुटको प्रतिस्पर्धालाई थप चर्काएका छन्।

अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा खेलको  ७९औँ र  ९०औँ मिनेटमा गोल गर्दै हालान्डले अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र फ्रान्सका केलियन एमबाप्पेसँग बराबरी गरे।

गोल्डेन बुटको शिर्ष स्थानमा सात गोलसहित एमबाप्पे पहिलो स्थानमा छन्। समान गोल गरेका मेस्सी र हालान्ड एसिस्ट अन्तरका कारण दोस्रो र तेस्रो स्थानमा छन्।

गोल्डेन बुटको रेसमा को–को छन् ?

केलियन एमबाप्पे (फ्रान्स) – ७ गोल, २ असिस्ट

लियोनेल मेस्सी (अर्जेन्टिना) – ७ गोल, ० असिस्ट

एर्लिङ हालान्ड (नर्वे) – ७ गोल, ० असिस्ट

ह्यारी केन (इंग्ल्याण्ड) – ६ गोल, १ असिस्ट

उस्मान डेम्बेले (फ्रान्स) – ४ गोल, २ असिस्ट

मिकेल ओयारजाबल (स्पेन) – ४ गोल, १ असिस्ट

नर्वेका स्ट्राइकर एर्लिङ हालान्ड आफ्नो पहिलो विश्वकपमै उत्कृष्ट लयमा देखिएका छन्। शारीरिक रूपमा बलिया र गोल गर्ने अद्भुत क्षमताका कारण उनी विपक्षी रक्षापंक्तिका लागि ठूलो चुनौती बनेका छन्। नर्वेले प्रतियोगितामा आफ्नो यात्रा लम्ब्याउन सके हालान्ड गोल्डेन बुटका बलिया दाबेदार बन्नेछन्।

अर्जेन्टिनाका कप्तान मेस्सी टोलीको आक्रमणको मुख्य आधार बनेका छन्। उनी निरन्तर गोल गर्दै टोलीलाई अघि बढाइरहेका छन्। अर्जेन्टिना प्रतियोगितामा लामो यात्रा गर्न सफल भए मेस्सीसँग गोल संख्या अझ बढाउने पर्याप्त अवसर हुनेछ। निर्णायक खेलमा प्रभाव पार्ने क्षमता र अनुभव उनका सबैभन्दा ठूला बल हुन्।

फ्रान्सका केलियन एमबाप्पे पनि उत्कृष्ट फर्ममा छन्। बलियो टोली, आक्रामक खेलशैली र लगातार सिर्जना हुने अवसरका कारण उनी अन्य प्रतिस्पर्धीभन्दा केही अघि देखिन्छन्। फ्रान्स प्रतियोगितामा अन्तिम चरणसम्म पुग्ने अपेक्षा गरिएकाले एमबाप्पेसँग थप गोल गर्ने अवसर पनि बढी हुनेछ।

हालको अवस्थालाई हेर्दा एमबाप्पे, मेस्सी र हालान्ड तीनै जना गोल्डेन बुटका प्रमुख दाबेदार हुन्। यद्यपि, टोलीले प्रतियोगितामा कति लामो यात्रा गर्छ भन्ने कुराले अन्तिम विजेता तय गर्ने सम्भावना बढी छ।

सचिनलाई सुदूरपश्चिमले भित्र्यायो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को साविक उपविजेता सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणका लागि सचिन भट्टलाई भित्र्याएको छ ।

सोमबार सुदूरपश्चिमले दुई लाख रुपैयाँमा सचिनलाई प्रतियोगिताको निम्ति अनुबन्धित गरेको हो । योसँगै उनी यस संस्करण प्रतियोगिताको लागि सोल्ड भएका पहिलो खेलाडी बनेका छन् ।

आयुव सुदूपश्चिममा अनुबन्धित

काठमाडौं । आयुव चन्दले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण साविक उपविजेता सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।

सोमबार सुदूरपश्चिमले दुई लाख रुपैयाँमा आयुवलाई प्रतियोगिताको निम्ति अनुबन्धित गरेको हो ।

कांग्रेसको इतर पक्षले साउन ६ गते काठमाडौंमा वृहत् कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले साउन ६ गते बृहत् कार्यक्रम गर्ने भएको छ। सम्पर्क कार्यालय चुनदेवीमा बसेको बैठकले बीपी स्मृति दिवसको दिनमा सम्पर्क कार्यालयबाट बृहत् कार्यक्रम हुने नेता मीन विश्वकर्माले बताए।

उनका अनुसार कार्यक्रम काठमाडौंमा हुनेछ। स्थान र कार्य तालिका तय हुन बाँकी रहेको बताए। भोलिकै बैठकबाट १५ औँ महाधिवेशनको कार्य तालिका र सम्पर्क कार्यालयबाट हुने गतिविधिबारे पनि निर्णय लिने बताए।

उनले भने, ‘नेपाली कांग्रेसको एकताका लागि सम्पर्क कार्यालय स्थापना भएको छ। हामी पहिलो एकताको प्रयास गर्छौँ। तर एकताको प्रयास सार्थक बन्न सकेको छैन। एकता भएन भने वैकल्पिक बाटो पनि खोजेर जान सक्ने छलफल भइराखेको छ। त्यसो भएको हुनाले सबै कुराको निष्कर्ष भोलिको बैठकले गर्छ।’

विशेष महाधिवेशनमा नगएका आधा साथी बाहिर भएकाले एकतामा जोड दिएको बताए।

उनले थपे, ‘आयोगले मान्यता दिएको, अदालतले वैधानिकता दिएको कार्यसमितिलाई हामी पनि वैधानिक मान्छौँ, त्यो कार्यसमितिमा छुटेका साथीहरूलाई पनि सँगै लिएर १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन गराऔँ भनेका हौँ।’

१५ औँ महाधिवेशनलाई एकताको बनाउन दबाब सिर्जना गर्नका लागि सम्पर्क कार्यालय खोलिएको बताए। पार्टी एकता तर्फ नभई विभाजन तर्फ गइराखेको समेत उनले बताए।

रोनाल्डोले राष्ट्रिय टोलीमा डेब्यु गर्दा जन्मिएकै थिएनन् यमल

काठमाडौं । भरै राति पौने १ बजे हुने पोर्चुगल र स्पेन आमनेसमाने हुँदैछन् । यी दुईमध्ये एक टोलीले क्वार्टरफाइनलको यात्रा तय गर्नेछ भने एक टोली घर फर्किँदैछ ।

यो खेलको सबैभन्दा रोचक पक्ष त के छ भने पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोभन्दा स्पेनमा स्टार लामिन यमल २२ वर्ष ५ महिना ८ दिन कान्छा छन् । रोनाल्डो ४१ वर्ष ५ महिना १ दिनका भए भने यमल १८ वर्ष, ११ महिना २३ दिनका भए ।

रोनाल्डोले सन् २००३ मा राष्ट्रिय टोलीमा डेब्यु गर्दा यमल जन्मिएकै थिएनन् । त्यसको चार वर्षपछि सन् २००७ मा मात्र यमल जन्मिएका हुन् । आजको खेलमा संन्यासको संघारमा रहेका सुपरस्टार र विश्व फुटबलमा उदाउँदा स्टारबीचको भिडन्त रोचक हुने आँकलन गरिएको छ ।

यमल मात्र होइन, स्पेनमो सिंगो टोली नै तुलनात्मक रूपमा पोर्चुगलभन्दा युवा छ । यमल, पाउ कुबार्सी, निको विलियम्स, येरेमी पिनो जस्ता टोलीका महत्वपूर्ण खम्बाहरू २५ भन्दा मुनिका छन् । पोर्चुगलमा रोनाल्डो, ब्रुनो फर्नान्डेस, बर्नाडो सिल्भा, रुबेन नेभेस, रुबेन डियाज, नेल्शन सेमेडो, जाओ क्यान्सेलो जस्ता सुरुवाती ११ मा पर्ने खेलाडीहरू सबै ३० वर्ष माथिका छन् ।

देशभरि ३२.३८ प्रतिशत मात्र धान रोपाइँ

काठमाडौं। यस वर्ष असारको तेस्रो साता बितिसक्दा पनि देशभरि धान रोपाइँले सोचेजस्तो गति लिन सकेको छैन ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्यांकअनुसार देशभरि कुल ३२.३८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । नेपालमा धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ७० हजार ६२ हेक्टर रहेकोमा हालसम्म ४ लाख ४३ हजार ५ सय ९५ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको छ ।

गत वर्ष यही अवधिमा देशभरि ४५ प्रतिशत रोपाइँ भइसकेको थियो । प्रदेशगत तथ्यांकलाई विश्लेषण गर्दा सुदूरपश्चिम प्रदेशमा रोपाइँको अवस्था सबैभन्दा सन्तोषजनक देखिएको छ ।

तथ्यांकअनुसार सुदूरपश्चिममा धान खेती हुने कुल १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ८९ हजार ७ सय ४२ हेक्टरमा रोपाइँ सकिएको छ । यो भनेको कुल क्षेत्रफलको ५७.९ प्रतिशत हो ।

गत वर्ष यहाँ यसै अवधिमा ८२.८ प्रतिशत रोपाइँ भइसकेको थियो । सुदूरपश्चिम पछि गण्डकी प्रदेशमा ४१ प्रतिशत रोपाइँ भएको छ । गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टरमध्ये ३८ हजार ३ सय ८९ हेक्टरमा धान रोपिएको छ ।

त्यसैगरी, कर्णाली प्रदेशमा धान खेती हुने ४३ हजार २ सय ९० हेक्टरमध्ये १७ हजार ५ सय ४९ हेक्टर अर्थात् ४०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यो बेला गण्डकीमा ५५.६ प्रतिशत र कर्णालीमा ७१.७ प्रतिशत रोपाइँ भएको थियो ।

लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३ सय ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म १ लाख १२ हजार ५ सय ९ हेक्टर अर्थात् ३७.३ प्रतिशतमा मात्र रोपाइँ भएको छ । यो गत वर्षको ५२.१ प्रतिशतको तुलनामा निकै कम हो ।

बागमती प्रदेशमा पनि गत वर्षको ५१.९ प्रतिशतको तुलनामा यस वर्ष ३३.२ प्रतिशत मात्र रोपाइँ भएको छ । बागमतीमा कुल १ लाख १४ हजार ५ सय २४ हेक्टरमध्ये ३८ हजार २६ हेक्टरमा रोपाइँ सकिएको छ ।

तथ्यांकअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८७ हेक्टरमध्ये ८७ हजार ३३ हेक्टर अर्थात् ३१.५ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यो बेला यहाँ २९.५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

धान उत्पादनको मुख्य केन्द्र मानिने मधेश प्रदेशको अवस्था भने यस वर्ष पनि निराशाजनक छ। देशमै सबैभन्दा धेरै अर्थात् ३ लाख ८५ हजार ९ सय ३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने यस प्रदेशमा असार तेस्रो सातासम्म ६० हजार ३ सय ४६ हेक्टरमा मात्र रोपाइँ हुन सकेको छ । यो कुल क्षेत्रफलको जम्मा १५.६ प्रतिशत मात्र हो, जुन सबै प्रदेशमध्ये सबैभन्दा न्यून हो । गत वर्ष यसै अवधिमा मधेशमा २५.१ प्रतिशत रोपाइँ भइसकेको थियो ।

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारले भूमिहीनलाई जग्गा दिने नीति लिएको जानकारी दिइन् ।

उनले भनिन्, “सरकारले बर्दियाबाट लालपुर्जा दिन थालनी गरिसकेको छ । यस काममा बजेटको अभाव हुँदैन ।”

भूमि व्यवस्था मन्त्री रावलले वैज्ञानिक भूमिसुधार, उत्पादनकेन्द्रित भूमि व्यवस्थापन तथा स्थानीय तहको सुदृढीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको सदनलाई जानकारी दिइन् ।

उनका अनुसार हालसम्म करिब १२ लाख भूमिहीन र सुकुमवासीले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । यसका लागि रु ६१ करोड ३० लाख बजेट विनियोजन गरिएको छ ।

सुशासन र पारदर्शितालाई महत्त्व दिँदै सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने तथा ‘डिजिटल’ रूपान्तरणसँग जोडेर काम भइरहेको जानकारी गराउँदै उनले समस्याग्रस्त सहकारीको रकम फिर्ता कार्यक्रम जारी रहने बताइन् ।

मन्त्री रावलले ट्रेड युनियन खारेजीबाट निजामती सेवामा देखिएका विकृति र विसङ्गति अन्त्य हुने विश्वास व्यक्त गर्दै सङ्घीय निजामती ऐन जारी भएपछि प्रशासनिक सङ्घीयता प्रभावकारी हुने बताइन् ।

सेयर बजारका सबै सूचक घटे, नेप्से २६२७ अंकमा

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक घटेका छन् । बजार परिसूचक नेप्से २६.२९ अंक (०.९९ प्रतिशत) घटेको छ ।

गत साताको अन्तिम दिन शुक्रबार बजार ८.३० अंक घटेको थियो । आजको कारोबारपछि नेप्से परिसूचक २६२७ अंकमा कायम भएको छ । आज दिनभरजसो बजार रातो अंकमा रह्यो ।

 

 

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५५ करोडको भयो । जम्मा ३४ कम्पनीको मूल्य बढेको छ भने २३९ को घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

व्यापार समूह सबैभन्दा धेरै ३.१५ प्रतिशत घट्यो । दुई कम्पनी मात्रै रहेको यो समूहमा पूँजीकरणका आधारमा सबैभन्दा ठूलो कम्पनी विशाल बजारको मूल्य ३.५० प्रतिशत घट्दा समग्र समूह प्रभावित भयो ।

बैंकिङ १.०६, विकास बैंक ०.३०, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.९८, लगानी ०.७२, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन १.१७, माइक्रोफाइनान्स ०.८९, निर्जीवन बीमा ०.९८ र अन्य ०.५२ प्रतिशत घटे ।

३ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर र स्नो रिभर फल्स छन् । यी तीन हालै सूचीकृत भएका नयाँ कम्पनी हुन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ११.५५, बाराही हाइड्रोपावरको ४.०२ प्रतिशत बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशत घट्यो । अघिल्लो दिन १५ प्रतिशत मूल्य बढेको नेपाल फाइनान्स आज ११.६४ प्रतिशत घट्यो । खानीखोला हाइड्रोपावरको ९.७२ तथा उपकार लघुवित्तको ६.४५ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सिटी होटल तथा शिवम् सिमेन्ट छन् ।

महिलासामु अश्लील हर्कत गर्ने रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ

काठ्माण्डौ- ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरि गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा सरकारका एक अधिकृत पक्राउ परेका छन्।

सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कार्यरत शिक्षा अधिकृतलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। ललितपुर जिल्ला प्रहरी परिसर मातहतको प्रहरी वृत्त सातदोबाटोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पीडित महिलाले भट्टले सार्वजनिक स्थलमा गरेको सो आपत्तिजनक हर्कतको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्। भिडियो भाइरल भएलगत्तै एक्सनमा उत्रिएको प्रहरी टोलीले भट्टको पहिचान गरी उनलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भट्ट रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका भट्टलाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखी मुलुकी अपराध संहिता बमोजिम कानूनी प्रक्रिया अघि बढाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ट्रम्पको फोनपछि फिफाले अमेरिकी खेलाडीमाथिको प्रतिबन्ध फुकुवा गर्‍याे

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले अमेरिकाका खेलाडी फोलारिन बालोगुनमाथि लगाइएको एक खेलको प्रतिबन्ध फुकुवा गरेको छ ।

विश्वकप फुटबलको नकआउट चरणमा बोस्निया एन्ड हर्जगोभिनासँगको खेलमा बालोगुनले रेड कार्ड पाएका थिए । यो खेल अमेरिकाले २–० ले जितेको थियो । फिफाले प्रतिबन्ध स्थगित गरेसँगै बालोगुनले विश्वकपको प्रिक्वाटरफाइनलमा बेल्जियमसँग खेल्ने पक्का भएको छ । यो खेल भोलि बिहान अमेरिकाको सिएटल रङ्गशालामा हुँदैछ ।

फिफाको घोषणाको केही समयपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफालाई धन्यवाद दिएका छन् । ट्रम्पले ट्रुथ सोसलमार्फत फिफाले सही काम गरेको र ठूलो अन्याय सच्याएकोमा धन्यवाद दिएका हुन् ।

यसैबीच ट्रम्पको दबाबमा फिफाले अमेरिकी खेलाडी फोलारिन बालोगुनमाथिको प्रतिबन्ध फुकुवा गरेको रिपोर्ट सार्वजनिक भएको छ । ट्रम्पले बालोगुनमाथि लगाइएको खेलको प्रतिबन्धबारे पुनर्विचार गर्न फिफालाई आग्रह गर्नुभएको न्युयोर्क टाइम्सले लेखेको छ । ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फाटिनोलाई फोन गरेर ‘रेड कार्ड’ को समीक्षा गर्न आग्रह गरेको खबरमा उल्लेख छ ।

यसैबीच राताे कार्डकाे निर्णय उल्ट्याउने फिफाकाे निर्णयप्रति बेल्जियम फुटबल सङ्घले आश्चर्य व्यक्त गरेको छ । सङ्घले प्रतियोगिताका नियमअनुसार रातो कार्ड पाउने खेलाडी स्वतः अर्को खेलबाट निलम्बित हुने व्यवस्था रहेको उल्लेख गर्दै फिफाले अनुशासन संहिता प्रयोग गरेर नियमलाई निष्प्रभावी बनाएको जनाएको छ ।

फिफाको विधानले खेलमा राजनीतिक हस्तक्षेपलाई निषेध गरेको भए पनि यस घटनापछि फिफाको अनुशासन समितिको निर्णयमा राजनीतिक हस्तक्षेप भएको भन्दै प्रश्न उठेको हो ।

यद्यपि विश्वकपको इतिहासमा यस्तो विवाद पहिलो पटक भने होइन । यसअघि सन् १९६२ को विश्वकपमा ब्राजिलका गारिन्चालाई सेमिफाइनलमा चिलीसँगकाे खेलमा रातो कार्ड देखाइए पनि उनले चेकोस्लोभाकियासँगकाे फाइनल खेलेका थिए । त्यति बेलाको निर्णय पनि राजनीतिक हस्तक्षेपको आरोपका कारण विवादमा परेको थियो ।

विश्वकप, पोर्चुगल भर्सेस स्पेनः रोनाल्डो र यमालको भिडन्त

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र स्पेन खेल्दैछन् । अमेरिकाको डलास स्टेडियममा हुने उक्त खेल राति पौने एक बजेबाट सुरु हुनेछ ।

राउन्ड अफ ३२ मा स्पेनले अष्ट्रियामाथि सहज जित निकाल्दा पोर्चुगलले क्रोएसियामाथि कठिन जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

समूह ‘एच’ को विजेता स्पेन यस विश्वकपमा लयमा देखिएको छ । अन्तिम ३२ को खेलमा अस्ट्रियालाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले आफ्नो आक्रामक र बलियो उपस्थिति प्रमाणित गरिसकेको छ ।

जारी विश्वकपमा स्पेनले अहिलेसम्म एउटा पनि गोल खाएको छैन । गोलकिपर उनाई सिमोनले लगातार ५१९ मिनेट गोल नखाई विश्वकपको इतिहासमा ३६ वर्ष पुरानो कीर्तिमान समेत तोडिसकेका छन् ।

समूह ‘के’ को उपविजेता बनेको पोर्चुगलले भने नकआउट चरणसम्म आइपुग्न निकै संघर्ष गर्नुपर्‍यो । राउन्ड अफ ३२ मा क्रोएसियाविरुद्धको खेलमा १–० ले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी र थप गरिएको समयमा गोन्सालो रामोसको निर्णायक हेडर गोलको मद्दतले पोर्चुगल २–१ को पुनरागमन जित निकाल्दै राउन्ड अफ १६ मा आइपुगेको हो ।

यो खेललाई दुई देशबीचको भिडन्तका रूपमा मात्र नभई दुई फरक पुस्ताका खेलाडीहरु ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र १८ वर्षीय युवा लामिन यमालबीचको भिडन्तका रूपमा पनि हेरिएको छ । रोनाल्डोले सन् २००६ मा विश्वकपमा डेब्यु गर्दा यमाल जन्मिएकै थिएनन् । तर यमालले अब आफूभन्दा दोब्बर उमेर भन्दा जेठा रोनाल्डोसँग विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

४१ वर्ष पुगिसकेका रोनाल्डोका लागि यो सम्भवतः करियरकै अन्तिम विश्वकप खेल हुन सक्छ । उनी लियोनेल मेसी जस्तै आफ्नो अन्तर्राष्ट्रिय करियरको उत्तरार्धमा विश्वकप ट्रफी जित्ने लक्ष्यमा छन् । उनले उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाइसकेका छन् ।

डेब्यु गरिरहेका स्पेनका १८ वर्षीय विंगर यमाल यस विश्वकपमा आफ्नो चोटपटकपछि लयमा फर्किँदै टोलीका प्रमुख खम्बा बनेका छन् । सुरुवाती खेलहरूमा कम समय मैदान उत्रिएका यामालले नकआउट चरणमा भने आफ्नो पुराना जादुमयी प्रदर्शन देखाउन थालेका छन् । उनी पोर्चुगलका लागि घातक बन्न सक्छन् ।

स्पेनका सेन्टर फरवार्ड मिकेल ओयार्जाबाल उत्कृष्ट लयमा छन् । उनले यस प्रतियोगितामा ४ गोल गरिसकेका छन् । राष्ट्रिय टोलीका लागि सुरुवाती ११ मा खेलेका पछिल्ला १६ खेलमा उनले १७ गोल गरिसकेका छन् ।

स्पेन र पोर्चुगलबिचको खेलको नतिजा मिडफिल्डमा कसको नियन्त्रण रहन्छ भन्ने कुराले तय गर्ने देखिन्छ । स्पेनका रोड्री र पेड्रीको जोडीविरुद्ध पोर्चुगलका भिटिन्हा, जोआओ नेभेस र ब्रुनो फर्नान्डेस मैदान उत्रिनेछन् ।

खेलअघि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले बल आफ्नो नियन्त्रणमा राखेर नै रक्षात्मक खेल खेल्ने बताए । ‘स्पेन एउटा उत्कृष्ट टोली हो । हामी दुवैलाई बल आवश्यक पर्छ र हामी बल आफ्नो नियन्त्रणमा राखेर नै रक्षात्मक खेल खेल्छौँ । आफ्नो आत्मविश्वास बढाउनका लागि हामीलाई बल चाहिन्छ। मलाई लाग्छ यो खेल नेसन्स लिगको खेल जस्तै हुनेछ,’ उनले भने ।

स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले तीव्र गतिमा र उच्च दबाबका साथ विपक्षीमाथि हाबी हुने उल्लेख गरे । ‘हामी हरेक दृष्टिकोणबाट निकै मिल्दोजुल्दो विशेषता भएका दुई टोली हौँ,’ उनले भने, ‘हामी दुवै बल गुम्ने बित्तिकै निकै तीव्र गतिमा र उच्च दबाबका साथ विपक्षीमाथि हाबी हुन्छौँ ।’

यी दुई टोलीहरू सन् १९२१ यता ४४ पटक आमनेसामने भइसकेका छन् । जसमा पोर्चुगलले मात्र ७ पटक जित हात पारेको छ । १९ खेल स्पेनले जित निकाल्दा १८ खेल बराबरीमा सकिएका छन् । यी दुई टोलीबिच पछिल्लोपटक सन् २०२५ को यूईएफए नेसन्स लिगको फाइनलमा भएको थियो ।

निर्धारितमा समयमा २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ स्पेनलाई हराउँदै पोर्चुगलले नेसन्स लिगको उपाधि जितको थियो । विश्वकपमा भने सन् २०१८ मा यी दुई टोलीले प्रतिष्पर्धा गरेका थिए । समूह चरणमा उक्त खेल ३–३ को बराबरीमा सकिएको थियो । उक्त खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए ।

संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देश गरेका छन् ।

‘सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले बिभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनुभएको छ’ सभामुख अर्यालले भने ।

उनले अगाडि भनेका छन्, ‘माननीय सदस्यहरूद्धारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सन्दर्भमा जवाफ दिन साथै देशका बिभिन्न भागमा बाढी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न, विपद् व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका कामकारबाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।’

सोमबार प्रतिनिधिसभामा सांसदहरूले कर्णालीमा हालै भएको सवारी दुर्घटनाको विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । सरकारले समयमै उद्धार नगरेको भनेर आलोचना गरेका थिए ।

यो विषयमा सत्तारुढ दलबाट समेत गृहमन्त्रीले जवाफ दिनुपर्ने माग उठेको थियो ।

रास्वपाका सांसद रमेश प्रसाईं भनेका थिए, ‘हालसालै जुन दुर्घटना कर्णाली राजमार्गम भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन ? के मान्छे भिरमा अड्किएर हार गुहार गरेको र विपक्षी मित्रहरूले भने जस्तै लापरबाही भएको साँचो हो ?’

यो विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने उनको माग थियो ।

उनले भनेका थिए, ‘भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटना दोहोरिन नदिन सरकारसँग दीर्घकालीन योजनाहरू के-के छन् ? गृहमन्त्रीले यो रोस्ट्रममा उभिएर उत्तर दिनैपर्छ ।’

प्रतिपक्ष र सत्तापक्ष दुवैतिरबाट ध्यानाकर्षण भएपछि सभामुखले जवाफ दिन सरकारलाई निर्देश गरेका हुन् ।

दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न सांसदहरुको माग

काठ्माण्डौ- राष्ट्रिय सभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरूले दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन, सडक सुरक्षा, महङ्गी नियन्त्रण, लैङ्गिक समानता, महिला स्वरोजगार र सार्वजनिक यातायातलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद पदमबहादुर परियारले सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत दलित समुदायसँग क्षमायाचना गर्ने तथा सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै सरकारसँग जवाफ मागे।

सांसद मनरुपा शर्माले साझा बसमा निलो रङ प्रयोग गरिएको विषयप्रति आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिको पहिचान र मौलिकता जोगाउन आग्रह गरे।

सांसद रुक्मिणी कोइरालाले लैङ्गिक असमानता, जातीय विभेद तथा श्रम शोषण अन्त्यका लागि प्रभावकारी नीति र कार्यक्रम कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।

सांसद रेणु चन्दले बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए।

यसैगरी सांसद विष्णुकुमारी सापकोटाले महिलालाई स्वरोजगार बनाउने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग माग गरे।

सांसद विष्णुदेवी पुडासैनीले भने ट्राफिक नियम कडाइ गर्दा सर्वसाधारणले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था आउन नदिन आग्रह गर्दै सडकका खाल्डाखुल्डी तथा असुरक्षित सडक संरचना तत्काल सुधार गर्नुपर्ने बताए।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बढ्दो महङ्गीका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।

सांसद सावित्री मल्लले कर्णाली राजमार्गमा बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सडक सुरक्षाका उपाय प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिए।

सांसद विष्णुबहादुर विश्वकर्मा र कृष्णबहादुर रोकायले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।

फोर्स गाडी दुर्घटना : सुर्खेत-कैलालीमा दुई शव फेला, बेपत्ता यात्रुकै हुनसक्ने आशंका

वीरेन्द्रनगर।   कर्णाली नदीमा भएको फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी चलिरहेको बेला सोमबार बिहान दुई शव फेला परेका छन्।

ती शव दुर्घटनामा हराएका यात्रु तथा चालक वा सहचालक मध्येका हुन सक्ने आशंका प्रहरीले गरेको छ।

जिल्लाको मोहन्याल गाउँपालिका–६, सुँगुरखाल र सुर्खेतको पश्चिम बाबियाचौर क्षेत्रमा अन्दाजी ३५ वर्षीय एक पुरुषको शव उत्तानो परेको अवस्थामा फेला परेको हो।

प्रहरीले उक्त शव दुर्घटनामा हराएका चालक वा सहचालकमध्ये एक हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ।

यस्तै, लम्कीचुहा नगरपालिका–३, चिसापानीस्थित बुरिङ्गे क्षेत्रमा थप एक जनाको शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) जय राज सापकोटाले जानकारी दिए। उनका अनुसार दुई शवको सनाखत हुन बाँकी छ।

प्रहरीका अनुसार यी शव गत बिहीबार कर्णाली नदीमा खसेको फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुमध्येका हुन सक्ने आशंका गरिएको छ।

शवको पहिचानका लागि हराइरहेका व्यक्तिका आफन्तलाई बोलाइएको छ भने सनाखत र घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गुर्भाकोट नगरपालिकाको जहरेस्थित भेरी नदीबाट बगेका एक युवती कर्णाली नदीमा पुगेको  आशंका गर्दै खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ।

घटनास्थलमा प्रहरी टोली परिचालन गरी खोजी तथा अनुसन्धान तीव्र पारिएको छ।

काम नगर्ने प्रदेशमन्त्री र मेयरलाई कारबाही गर्ने मन्त्री लम्सालको चेतावनी

काठ्माण्डौ- पूर्वाधारमन्त्री सुनील लम्सालले जनताको पक्षमा इमानदारपूर्वक काम गर्न सबै जनप्रतिनिधि र पदाधिकारी जिम्मेवार हुनुपर्ने बताएका छन्।

आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ दुलेगौँडामा रास्वपाका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले सो बताएका हुन्।

यस्तै, उनले काम नगर्ने प्रदेशमन्त्री र मेयरलाई कारबाही गर्ने चेतावनी दिएका छन्। ‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई जानकारी दिनुहोस्। आवश्यक कारबाही गर्छौं,’ उनले भने, ‘प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने थुन्छौं। चिन्तै लिनुपर्दैन।’

उनले गैरजिम्मेवार पदाधिकारीमाथि कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए।

उनको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसअघि उनले काम नगर्ने ठेकेदाहरूको खुट्टा भाँच्ने चेतावनी दिएका थिए।

एनपीएल तेस्रो संस्करणको अक्सन आज, १५५ खेलाडी अन्तिम सूचीमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि आज अक्सन हुँदै छ । अक्सन दिउँसो १ बजे सुरु हुँदै छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक टोलीले थप दुई नेपाली खेलाडी खेलाडी राख्न पाउने छन् । त्यसैगरी अक्सनबाट अन्तिम सूचीमा रहेका १५५ मध्ये ५२ खेलाडी विभिन्न फेन्चाइज टोलीमा अनुबन्ध हुनेछन् ।

अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गरेकामा १५५ जना अन्तिम सूचीमा अटाएका हुन् । अन्तिम सूचीमा परेका खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ ।

अक्सन लागि श्रेणी ‘ए’मा पाँच, श्रेणी ‘बी’ मा २७ र श्रेणी ‘सी’ मा १२३ खेलाडी छन् । अक्सनमा जनकपुर बोल्ट्ससँग खर्च गर्न सर्वाधिक ६६ लाख २५ हजार रुपैयाँको खर्च सीमा छ । काठमाडौं गोर्खाजसँग सबैभन्दा कम मात्र ३४ लाख रुपैयाँ बाँकी छ ।

एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणमा जनकपुर र दोस्रो संस्करणमा लुम्बिनी च्याम्पियन बनेका थिए ।

विश्वकपमा इंग्ल्यान्ड र नर्वेबीचको क्वाटरफाइनल खेल आउँदो आइतबार हुने

फिफा विश्वकप फुटबलमा आज सम्पन्न अन्तिम–१६ का रोमाञ्चक खेलपछि इंग्ल्यान्ड र नर्वेले अन्तिम आठमा स्थान बनाएका छन् । अब यी दुई टोलीबीचको क्वाटरफाइनल खेल जुलाई १२ अर्थात् आउँदो आइतबार बिहान अमेरिकाको मियामीमा हुनेछ ।

आज भएका खेलमा इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गर्यो । अर्को प्रि–क्वाटरफाइनल खेलमा नर्वेले पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ ।

इंग्ल्यान्डको जितमा जुड बेलिङहमले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे भने कप्तान ह्यारी केनले एक गोल थपे । घरेलु समर्थकको साथ पाएको मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले एक/एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस हारसँगै मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको छ ।

यसअघि अर्को आयोजक क्यानडा पनि अन्तिम–१६ बाटै बाहिरिएको थियो । यस्तै ब्राजिलसँगको खेलमा नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालाण्डले दुई गोल गर्दै टोलीलाई पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पु¥याए । ब्राजिलका लागि अतिरिक्त समयमा नेइमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि त्यसले हार टार्न पर्याप्त भएन ।

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदै नयाँ इतिहास रचेको छ । अर्कोतर्फ ब्राजिल सन् १९९० यता पहिलो पटक क्वाटरफाइनल पुग्नुअघि नै विश्वकपबाट बाहिरिएको छ, जुन ब्राजिली फुटबलका लागि ठूलो निराशाको क्षण बनेको छ ।

विश्वकपबाट अप्रत्याशित रूपमा बाहिरिएसँगै ब्राजिलका चर्चित फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । लामो समयदेखि विश्वकप उपाधिको सपना पछ्याइरहेका नेइमारको राष्ट्रिय टोलीसँगको यात्रा यस हारसँगै अन्त्य भएको छ ।

 

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं– प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धीसम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून,न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछिन्।

त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै युवा,श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नं. ८१)’ माथि सामान्य छलफल गरियोस् भन्ने दुई वटा प्रस्ताव बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।

विश्वकपमा नर्वेको स्वर्णिम क्षण

एजेन्सी । एर्लिङ हालान्डका हल्लिँदै उड्ने सुनौला कपाल फुटबल मैदानमा सजिलै चिनिने विशेषता हुन्। धेरैजसो अवस्थामा उनी तीव्र गतिमा खुला ठाउँतर्फ दौडिरहेका हुन्छन् र विपक्षी डिफेन्डरहरू उनलाई पछ्याउन संघर्ष गरिरहेका हुन्छन्। साेमबार भने दृश्य केही फरक थियो। उनी धेरै समय खेलबाट टाढा जस्तै देखिए तर अन्ततः दुई गोल गर्दै नर्वेलाई ब्राजिलमाथि २-१ को ऐतिहासिक जित दिलाए र पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुर्‍याए।

२५ वर्षीय हालान्डले अन्तिम-१६ को खेलमा पेनाल्टी क्षेत्रभित्र जम्मा चार पटक मात्र बल छोएका थिए। तर तीमध्ये एक स्पर्शले खेलको ७९औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलायो। त्यसको ११ मिनेटपछि उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली लो-ड्राइभ प्रहारले दोस्रो गोल थपे। यसले उनी किन विश्व फुटबलका सबैभन्दा खतरनाक स्ट्राइकरमध्ये एक हुन् भन्ने फेरि प्रमाणित गर्‍यो। योसँगै उनी सात गोलका साथ फ्रान्सका केलियन एम्बाप्पे र अर्जेन्टिनाका मेस्सीसँग बराबरी गर्दै गोल्डेन बुट दौडको शीर्ष स्थानमा पुगे।

पूर्व स्कटल्यान्ड विंगर प्याट नेभिनले बीबीसीसँग भने,‘त्यो गोल अरू कुनै खेलाडीले त्यसरी गर्न सक्दैन। त्यहाँ त अवसर नै थिएन। आधा अवसर पनि थिएन, चौथाइ अवसर पनि थिएन। केही पनि थिएन।’

पूर्व इंग्ल्यान्ड स्ट्राइकर इयान राइटले आईटीभीमा भने, ‘मानिसहरू सधैं उनी कति पटक बल छुन्छन् भन्ने कुरा गर्छन्। तर उनलाई धेरै पटक बल छुन आवश्यक नै पर्दैन।’ हालान्डका दुई गोलले नर्वेलाई दक्षिण अमेरिकी शक्तिशाली टोली ब्राजिलविरुद्ध ऐतिहासिक जित दिलायो।

१९९८ पछि पहिलो पटक विश्वकप खेलेको प्रशिक्षक स्टाले सोलबाकेनको टोली अहिले विश्व च्याम्पियन बन्नबाट केवल तीन जित टाढा छ। अब क्वार्टरफाइनलमा उनीहरूको सामना इंग्ल्यान्डसँग हुनेछ जसले रोमाञ्चक खेलमा मेक्सिकोलाई ३-२ ले पराजित गरेको थियो। तर हालान्डजस्तो खेलको दिशा बदल्न सक्ने खेलाडी भएकाले नर्वेले अब जुनसुकै कुरा सम्भव ठान्न थालेको छ।

पूर्व इंग्ल्यान्ड कप्तान वेन रुनीले भने,‘हालान्डले सम्पूर्ण नर्वेली जनतालाई यो प्रतियोगितामा धेरै टाढासम्म पुग्न सकिन्छ भन्ने विश्वास दिलाएका छन्।’

नर्वेका लागि हालान्डको अविश्वसनीय तथ्यांक

हालान्डले यसअघि अन्तर्राष्ट्रिय फुटबलमा मोल्डोभाविरुद्ध एकै खेलमा पाँच गोल गरेका थिए भने पाँच पटक ह्याट्रिक पनि गरिसकेका छन्। पूर्व इंग्ल्यान्ड डिफेन्डर गेरी नेभिलले भने,‘हालान्ड एउटा विशाल व्यक्तित्व हुन्। पहिले भनिन्थ्यो कि उनले विश्वस्तरमा आफूलाई प्रमाणित गरेका छैनन्। अब त्यो बहस समाप्त भएको छ।’

हालान्डले वास्तवमै विश्व फुटबलकै सबैभन्दा ठूलो मञ्चमा आफूलाई प्रमाणित गरेका छन्। चार खेलमा सात गोल गर्नु यसको प्रमाण हो। समूह चरणमा उनले इराक र सेनेगलविरुद्ध दुई-दुई गोल गरेका थिए। त्यसपछि फ्रान्ससँगको खेलमा नर्वेले १० खेलाडी परिवर्तन गर्दै उनलाई विश्राम दिएको थियो, जहाँ टोली ४-१ ले पराजित भएको थियो।

तर त्यो निर्णय सफल साबित भयो। किनभने ब्राजिलविरुद्धको दुई गोलअघि उनले अन्तिम-३२ मा आइभोरी कोस्टविरुद्ध निर्णायक गोल गरेका थिए। हालान्डले नर्वेका लागि ५४ अन्तर्राष्ट्रिय खेलमा ६२ गोल गरेका छन्। औसतमा उनी प्रत्येक ७१ मिनेटमा एक गोल गर्छन्। अझ उल्लेखनीय कुरा के भने तीमध्ये केवल ६ गोल मात्र पेनाल्टीबाट आएका छन्।

अब उनले नर्वेका लागि लगातार १४ प्रतिस्पर्धात्मक खेलमा गोल गरेका छन् र यस अवधिमा २७ गोल गरेका छन्। प्रतिस्पर्धात्मक खेलमा उनले नर्वेका लागि गोल गर्न नसकेको अन्तिम खेल सन् २०२४ को अक्टोबरमा अस्ट्रियाविरुद्धको नेसन्स लिग खेल थियो।

गाब्रियलमाथि हालान्डको निर्णायक विजय

खेलअघि ब्राजिल तथा आर्सनलका सेन्टर-ब्याक गाब्रियलसँग हालान्डको प्रतिस्पर्धाबारे निकै चर्चा भएको थियो। प्रिमियर लिगबाट सुरु भएको यो प्रतिस्पर्धाको पछिल्लो अध्यायमा भने अन्तिम मुस्कान हालान्डकै रह्यो।

पहिलो हाफमा गाब्रियलले हालान्डलाई लगभग नियन्त्रणमा राखेका थिए। हालान्डले पेनाल्टी क्षेत्रभित्र केवल एक पटक मात्र बल छोएका थिए। तर खेल खुल्दै जाँदा हालान्डका लागि ठाउँ पनि खुल्यो र ब्राजिलले त्यसको ठूलो मूल्य चुकायो।

पहिलो गोलमा हालान्डले हेडरमार्फत गाब्रियललाई उछिने। दोस्रो गोलमा त गाब्रियल केवल दर्शक बने। पूरै खेलमा हालान्डले जम्मा ३० पटक मात्र बल छोए, जुन पहिलो हाफपछि परिवर्तन गरिएका टोलीका अर्का खेलाडी एन्टोनियो नुसासँग बराबर थियो। उनले केवल १३ वटा पास पूरा गरे।

पूर्व आर्सनल डिफेन्डर म्याट अप्सनले भने,‘के हालान्डले कहिल्यै धेरै पटक बल छुन्छन् र? खासै होइन। उनी यस्तै खेल्छन्। तर निर्णायक क्षणमा उपस्थित हुन्छन्।’

पूर्व लिभरपुल डिफेन्डर स्टेफन वार्नकले थपे,‘मलाई लाग्छ, उनले औसतमा प्रत्येक गोल गर्न १४ पटक मात्र बल छोएका छन्। त्यसले नै उनको विशेषता देखाउँछ।’

हालान्ड स्वयं पनि आफू नयाँ उचाइमा पुगेको विश्वास गर्छन्। उनले भने,‘यो प्रतियोगितामा मैले केही पटक आफ्नो उत्कृष्ट स्तर भेट्टाएको छु। तर बेला-बेलामा म फेरि नयाँ स्तरमा पुग्छु। यदि मलाई एक-दुई अवसर मिल्यो भने प्रायः म गोल गर्छु। यही मेरो काम हो।’  उनले थपे,‘मुख्य कुरा केन्द्रित हुनु र अवसरको सदुपयोग गर्नु हो। पहिलो अवसरमा गोल नगरे पनि अर्को अवसर मलाई प्रायः मिल्छ।’

‘नर्वेको इतिहासकै सबैभन्दा अविश्वसनीय दिन’

खेल सुरु हुनुअघि नै हजारौँ नर्वेली समर्थकहरू रंगशालाबाहिर भेला भएका थिए। उनीहरू वाइकिङ हेल्मेट लगाएका, ठूला रातो झण्डा बोकेका र प्रतियोगिताभर गुञ्जिरहेको गीत गाइरहेका थिए।

त्यहाँ उत्साह मात्र थिएन, एउटा गहिरो विश्वास पनि थियो। यो टोलीले जुनसुकै प्रतिद्वन्द्वीलाई चुनौती दिन सक्छ। वर्षौँसम्म विश्वस्तरीय खेलाडी उत्पादन गरे पनि नर्वेले प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता टेलिभिजनबाट मात्र हेर्नुपरेको थियो।

यो उनीहरूको चौथो विश्वकप सहभागिता मात्र हो र १९९८ पछिको पहिलो हो। यसअघि उनीहरू सन् १९३८ र १९९८ मा अन्तिम-१६ सम्म मात्र पुगेका थिए।

गत मंगलबारसम्म नर्वेले विश्वकपको नकआउट चरणमा कहिल्यै जित निकालेको थिएन। अहिले भने लगातार दुई खेल जित्दै पाँच पटकको विश्व विजेता ब्राजिललाई समेत बाहिर पठाएको छ।

प्रशिक्षक स्टाले सोलबाकेनले भने,‘मैले खेलाडीहरूलाई भनेको थिएँ कि यो ५०-५० को खेल होइन। तर यदि हामीले उत्कृष्ट प्रदर्शन गर्‍यौँ र निर्णायक खेलाडीले आफ्नो काम गरे भने हाम्रो राम्रो सम्भावना छ। र आज त्यही भयो।’

अन्तिम सिटी बज्नेबित्तिकै हालान्डले समर्थकहरूसँग मिलेर ढोल बजाए र टोलीसँगै प्रसिद्ध ‘भाइकिङ रो’ उत्सव मनाए। हालान्डले भने, ‘आज साँच्चै अविश्वसनीय दिन हो। यो नर्वेको इतिहासकै सबैभन्दा अद्भुत दिनमध्ये एक हो।’

स्टेफन वार्नकले भने,‘उनी अत्यन्त भावुक देखिए,जुन स्वाभाविक पनि हो। उनी क्लब फुटबलमा विश्वकै उत्कृष्ट टोलीमध्ये एकका लागि खेल्छन्। तर नर्वे त्यस्तो ठूलो फुटबल राष्ट्र होइन। अहिले नर्वे आफ्नै इतिहास बनाइरहेको छ र त्यसको केन्द्रमा हालान्ड छन्।

प्रशिक्षक सोलबाकेनले भने,‘आज सम्पूर्ण नर्वे एउटै डुङ्गामा बसेर अगाडि बढिरहेको छ। यहाँ मात्र होइन, ओस्लोदेखि साना-ठूला सबै शहरमा उत्सव मनाइँदै छ। हाम्रो ‘रोइङ’ उत्सव त्यसैको प्रतीक हो- हामी सबै एकसाथ छौँ। समर्थकका लागि यो अविस्मरणीय गर्मी हो। मलाई लाग्छ, प्रशिक्षकभन्दा समर्थक हुनु अझ रमाइलो छ।’

विश्वकपमा अहिले ‘भाइकिङ रो’ उत्सव चर्चाको विषय बनेको छ। र, नर्वे क्वार्टरफाइनल पुगेपछि आफ्नो वाचा अनुसार वेन रुनीले अब मर्सी नदीमा डुङ्गा चलाउनुपर्ने भएको छ।

शुक्लाफाँटा नगरपालिकामा अनुमतिबिना घुम्ती व्यापार गर्न नपाइने

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमतिबिना अनधिकृत रूपमा घुम्ती व्यापार, व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ ।

नगरपालिकाको क्षेत्राधिकारभित्र पूर्वस्वीकृति नलिई ढुवानी तथा सवारीसाधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार, पालिकाको क्षेत्राधिकारभित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनि ट्रकलगायत सवारीसाधनमार्फत पूर्वस्वीकृतिबिना व्यापार, व्यवसाय गरिरहेको गुनासो आएपछि कडाइ गरिएको हो ।

हाल नगरपालिकाको पूर्वस्वीकृति नलिई बजार तथा ग्रामीण क्षेत्रमा पुगेर घुम्ती व्यापार गर्नेमा अधिकांश भारतीय नागरिक रहेका पाइएको छ । पूर्वस्वीकृतिबिना व्यापार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने अधिकृत बिष्टले स्पष्ट पारे ।

यस्तै, नगरपालिकाले सडक क्षेत्रलाई सुरक्षित र जोखिममुक्त बनाउन विशेष कार्य अगाडि बढाएको छ । स्थानीय सडक, सडक किनारा र अरू सार्वजनिक स्थानमा पशुचौपाया बाँध्ने एवं बालुवा, गिट्टी, ढुंगा, काठ, इँटा, माटोलगायत निर्माण सामग्री थुपार्ने कार्यलाई निरुत्साहन गर्न लागिएको छ ।

नगरपालिकाको पूर्वस्वीकृतिबिना सडकमा निर्माण सामग्री थुपार्ने र बाटो खनेर क्षति पुर्‍याउने कार्यले सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिम बढेकाले यस्ता कार्य नगर्न आग्रह गरिएको छ । “सडक क्षेत्रमा अवरोध पुर्‍याउने वा क्षति गर्ने कार्य गरिएको पाइएमा नगरपालिकाको सडक मापदण्ड कार्यविधि, २०७६ बमोजिम कारबाही गरिनेछ,” प्रमुख प्रशासकीय अधिकृत बिष्टले भने ।

नगरपालिकाले सडक अतिक्रमण हटाउन, अनधिकृत व्यापार रोक्न र सर्वसाधारणलाई सचेत पार्नका निम्ति नगर प्रहरी समेत परिचालन गरी निरन्तर रूपमा अनुगमन तथा सचेतीकरण कार्य गरिरहेको जनाएको छ । रासस

सरकारले १०० दिनमा आशा जगाउनुको सट्टा संशय र आशंका मात्रै जन्माउने काम गर्‍यो : प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नु पर्ने र आगामी १५औं महाधिवेशनलाई विधिसम्मत ढङ्गले सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए । उनले नेतृत्व तहलाई सम्मान गर्न आफूहरू सधैँ तयार रहेको तर विधिको दायरा र सीमालाई कसैले पनि मिच्न नहुने स्पष्ट पारे ।

महामन्त्री पौडेलले पार्टीभित्र रहेका संस्थापन र इतर दुवै पक्षका नेता–कार्यकर्ताले अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्ने धारणा राखे । पौडेलले सदस्यता अद्यावधिकलाई लिएर अनावश्यक भ्रम फैलाइएको उल्लेख गर्दै यसको उद्देश्य पुराना सदस्यलाई हटाउनु नभई उनीहरूको विवरण अद्यावधिक गरी एकीकृत अभिलेख तयार गर्नु रहेको स्पष्ट पारे । महामन्त्री पौडेलले सरकार गठन भएको १०० दिन पुग्न लाग्दा सरकारले जनतामा विश्वास जगाउनुको साटो अनेकन् आशंका र संशयहरू मात्रै जन्माउने काम गरेको आरोप लगाए ।

जनताले जुन लोकतान्त्रिक र संसदीय व्यवस्थाबाट रास्वपालाई निर्वाचित गरेर पठाए, सरकारमा पुगेपछि उनीहरूले त्यही व्यवस्था र जगलाई भत्काउने गरी महाधिवेशनबाट नीति पास गरेको भन्दै आपत्ति जनाए । महामन्त्री पौडेलले रास्वपाले संघीयता खारेज गर्ने जस्ता व्यवस्था र संविधान विरोधी निर्णहरु गरिरहेको आरोप लगाए । बालेन्द्र शाह र रास्वपा नेतृत्वले चुनावका बेला एृउटा र सत्तामा पुगेपछि अर्कै चरित्र देखाएको भन्दै लोकतान्त्रिक र संसदीय व्वस्थाकै बलमा  आएर त्यही विचार र प्रणालीलाइ  सिध्याउने खेल खेलिएको भन्दै सरकारको १०० दिने कार्यकाल पूर्ण रूपमा संशयपूर्ण रहेको दाबी गरे।

महिला टी–२० विश्वकप : उपाधिका लागि इङ्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि आज घरेलु टोली इङ्ल्याण्ड र साविक विजेता अस्ट्रेलियाले खेल्दैछन् ।

लड्र्समा फाइनल खेल नेपाली समयअनुसार बेलुका सवा ८ बजे शुरु हुनेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । इङ्ल्याण्डले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ४० रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इन्डिजलाई आठ विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो ।

अस्ट्रेलिया र इङ्ल्याण्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छन् । आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन टोली तय गर्नेछ ।

 

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर, जनशक्ति अभावले सञ्चालनमा आएन

बैतडी- बैतडीमा निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका-८ सिद्धेस्वर स्वास्थ्य चौकीको भवनमा निर्माण गरिएको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

दुर्घटना र विपद्का घाइतेलाई तत्काल उपचार उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको ट्रमा सञ्चालनमा ढिलाइ हुँदा दुर्घटनामा तत्काल उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्ने समस्या रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए।

“बैतडीको खोडपे आसपासका क्षेत्रलाई सवारी दुर्घटनाको उच्च जोखिमयुक्त क्षेत्र मानिन्छ । ट्रमा सेन्टर सञ्चालनमा आउन नसक्दा विपद् र दुर्घटनामा घाइते भएकाको उपचारमा समस्या भइरहेको छ”, सिँगास गाउँपालिका-१ का जगदीश ऐरले भने, “उपचारका लागि डडेल्धुरा अस्पताल पठाउनुपर्ने भएकाले घाइतेको ज्यानै जोखिममा पर्ने गरेको छ ।”

नगरपालिकाको रु १० लाख र सङ्घीय सरकारको रु ५० लाख लागतमा ट्रमा सेन्टरका लागि भवन निर्माण गरिएको थियो। भवन र केही उपकरण उपलब्ध भएपनि आवश्यक थप उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए।

“भवनसँगै स्पाइनल ब्याकबोर्ड, एइडी उपकरण, अक्सिजन कन्सन्ट्रेटर, प्यासेन्ट मोनिटर, थप १५ शय्यालगायत सामग्री राखिएको छ । अन्य थप उपकरण र जनशक्तिको व्यवस्थापन भने हुन सकेको छैन”, महराले भने, “एक्सरे मेसिन, अर्थोपेडिक चिकित्सक, रेडियोग्राफर, स्टाफनर्स र हेल्थ असिस्टेन्टको व्यवस्था भए यो सेन्टर तत्काल सञ्चालन गर्न सकिन्छ ।”

आर्थिक वर्ष २०७७/७८ मा भवन निर्माण सम्पन्न भएको थियो । तत्काल आवश्यक उपकरण व्यवस्थापन गरी ट्रमा सेन्टर सञ्चालनको माग गर्दै प्रदेश र सङ्घीय सरकारलाई पटकपटक जानकारी गराउँदै आए पनि हालसम्म कुनै सुनुवाई नभएको पाटन-८ का वडाध्यक्ष हरिश विष्टले बताए।

“गत चैत २२ गते नगरपालिकाले ट्रमा सेन्टर सञ्चालनका लागि तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई उपकरण र जनशक्ति व्यवस्थापनको माग गर्दै पत्र पठाएको थियो”, वडाध्यक्ष विष्ट भने, “अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।”

दशरथचन्द राजमार्ग, महाकाली र जयपृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन खोडपे भएर गुड्ने जनाउँदै उनले यो क्षेत्र जोखिमपूर्ण मानिएकाले यहाँ बर्सेनि सवारीसाधन दुर्घटना हुने तथा समयमा उपचार सेवा नपाउँदा घाइतेले ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताए। रासस

संविधान संशोधनमा केटाकेटीपन देखियो: गगन थापा

काठमाण्डौ- नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनको विषयलाई सरकारले अत्यन्तै हल्का र केटाकेटीपनका साथ लिएको बताएका छन्।

सरकारको सय दिनको कामकारबाहीबारे समीक्षा गर्दै थापाले सस्तो लोकप्रियताका लागि संविधानका व्यवस्थाहरू खारेज गर्ने लहडबाजी चलेको भन्दै असन्तुष्टि जनाएका हुन्।

‘एउटा सानो किताब जस्तो संविधान हातमा लियो, यो फालिदिऊँ, यो ठोकदिऊँ भन्यो। भोलिपल्ट भाषण गर्‍यो, ताली खायो,’ सभापति थापाले भने, ‘संविधान निर्माणका बेलाका संवेदनशीलता र जटिलतालाई चटक्कै बिर्सेर अहिले भइरहेको यो अभ्यास निकै खतरनाक छ।’

उनले संविधान संशोधन र पुनरावलोकन गर्न सकिने भए पनि यसलाई लहडको विषय बनाउन नहुनेमा जोड दिए।

पहिलो र दोस्रो संविधानसभामा आफूले नजिकबाट भोगेका जटिलता स्मरण गर्दै थापाले आदिवासी, जनजाति, दलित, थारु र मधेशी आन्दोलनका भावनालाई समेटेर निकै ठूलो संघर्षपछि संविधान जारी भएको प्रस्ट पारे।

‘सम्पत्तिको अधिकारदेखि समावेशितासम्मका विषय टुंग्याउन कति कठिन थियो भन्ने कुरा अहिले बिर्सिइएको छ,’ उनले भने, ‘अहिलेका साना–साना लहडले भोलि ठूलो अवसर गुम्ने खतरा छ।’

संविधानको विषयबाहेक सभापति थापाले देशको अर्थतन्त्र र बजारको मनोबल खस्किएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। बैंकमा प्रशस्त तरलता र विदेशी मुद्राको सञ्चिति इतिहासमै उच्च रहे पनि कर्जा प्रवाह नहुनुको मुख्य कारण बजारले गुमाएको कन्फिडेन्स भएको उनले बताए।

कानुनविपरीत काम गर्नेलाई कारबाही गर्ने कुरामा कांग्रेसको पूर्ण समर्थन रहे पनि बजारमा आतंकको वातावरण सिर्जना गर्न नहुने उनको तर्क छ।

‘सबैजना तर्सेका छन्, नयाँ व्यवसाय सुरु गर्न कोही तयार छैनन्,’ उनले भने, ‘सरकारले यो वर्ष सुशासनको र अर्को वर्ष अर्थतन्त्रको भन्दै कोठा-कोठामा राखेर हेर्ने नीति नै गलत छ, यी दुवै कुरा सँगसँगै अगाडि बढ्नुपर्छ।’

दिनहुँ हजारौँ युवा विदेश पलायन भइरहेको डरलाग्दो चित्र प्रस्तुत गर्दै थापाले सरकारको सय दिनको कामले आम नागरिक र साना-मझौला व्यवसायीमा कुनै आशा जगाउन नसकेको निष्कर्ष सुनाए।

संसदको दोस्रो ठूलो दल भए पनि जिम्मेवारीका हिसाबले कांग्रेस मूल राष्ट्रिय शक्ति भएकाले देश र जनताका यी तमाम विषयमा सरकारलाई निरन्तर प्रश्न गरिरहने उनले बताए।

सञ्चारमन्त्री र पत्रकार महासङ्घ नेतृत्वबीच आरोप–प्रत्यारोप

काठमाण्डौ। नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको राष्ट्रिय भेलामा सञ्चारमन्त्री विक्रम तिमिल्सिना र महासङ्घ नेतृत्वबीच आरोप–प्रत्यारोप चलेको छ ।

महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मिडियाप्रति सङ्कुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मिडिया उद्योग आर्थिक सङ्कटमा परेको बताए । उनले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालयसहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएकोप्रति समेत आक्रोश व्यक्त गरे ।

यस्तै पूर्वअध्यक्ष हरिहर विरहीले सरकार र सञ्चार क्षेत्रबीच बढ्दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराए ।

जवाफमा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दाबी गर्दै उल्टै पत्रकारिताको धरातल, जिम्मेवारी र महासङ्घको आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाए । विज्ञापन बजारमा बिचौलियाको बिगबिगीबारे महासङ्घ मौन रहेको उनको आरोप छ ।

विगतका गैरकानूनी नियुक्तिहरूतर्फ पनि प्रश्न उठाउँदै मन्त्री तिमिल्सिनाले सडक आन्दोलनको सट्टा संवादमार्फत समस्या समाधान गर्न आग्रह गरे । प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उनको दाबी छ ।

 

यो सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको आरोप लगाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित सरकारको सय दिन र १०० बुँदे कार्यक्रमबारे पार्टी संयन्त्रको समीक्षामा थापाले यस्तो आरोप लगाएका हुन् । उनले सरकारको कार्यशैली नागरिकको उठिबास लगाएर सामाजिक सञ्जालमा चर्चा कमाउने कार्यमा सिमित रहेको बताए ।

भूमिहीनको समस्या समाधान गर्नु राज्यको दायित्व भए पनि वैकल्पिक व्यवस्थापनबिना टोल टोलमा डोजर आतंक मच्चाएको थापाको भनाइ छ ।

यस्तो छ थापाको भनाइ :

यो सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता छ । सरकारलाई वास्तविक जीवनको सवालभन्दा पनि लोकप्रियताको चिन्ता रहेको पाउँछौँ । यसलाई उदाहरणबाट पनि बुझ्न सकिन्छ । नेपालमा भूमिहीनको समस्या संरचनागत समस्या हो । लामो समयदेखि छ । संविधान निर्माणनको समयमा म स्वयं सदस्य समेत रहेको र समितिको संयोजक नै भएर काम गरेको कारणले गर्दा म त्यो समयमा भएका छलफलहरू याद गर्छु । हामीले जतिखेर दलितको  हक लेखेका छौँ । भूमिहीन दलितले प्राप्त गर्ने विशेष अधिकारको बारेमा छुट्टै लेखेका छौँ । अहिले सरकारले व्यवस्थापन गर्ने भनेर उठिबास लगाइदिएको छ, टोल टोलमा डोजर पुर्‍याएको छ । यो प्रक्रियागत भएन । न्युज एजेन्सी नेपाल

लिग-२ क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । यही जुलाई २१ देखि नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले जर्सी गएर अभ्यास पनि गर्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो ।  बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले गतवर्ष स्कटल्यान्डमा गरेको जस्तै प्रदर्शन दोहोर्‍याउने र हालको लयलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

‘प्रतिस्पर्धा बढ्दो क्रममा छ, हामी फेरि पनि युरोप टुरमा राम्रो प्रदर्शन गर्न सक्छौं जस्तो लाग्छ, टिमलाई धेरै शुभकामना छ’ खड्काले भने ।  ‘हाम्रो आगामी केही महिना निकै व्यस्त छ, लिग २ को शृङ्खला पनि छ, एनपीएल पनि आयोजना गर्नु छ’ खड्काले थपे ।

यस्तै नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले तयारी राम्रो भएको बताएका छन् । ‘हामी पछिल्लो एक साता फिटनेसमा केन्द्रित छौं, हामी यो टुरमा धेरै महत्व दिएका छौं, विश्वकप खेल्नका लागि बाँकी शृंखला महत्वपूर्ण छन् र हामी राम्रो प्रदर्शन गर्नेछौं’ रोहितले भने ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि टोलीलाई शुभकामना दिए । ‘तपाईंहरूले धेरै दबाब नलिइकन खेल्नुहुन्छ भन्ने मलाई भरोसा छ, हामी दुई घरेलु शृङ्खलाले गर्दा उत्साहित पनि छौं, राम्रो गर्नुहोला’ चन्दले भने ।

नेपाली क्रिकेट टोलीले लिग २ को शृङ्खला अघि जर्सीमा गएर अभ्यास एकदिवसीय खेल पनि खेल्नेछ ।

जर्सीमा नेपालले तयारी क्याम्पसँगै दुई अभ्यास एकदिवसीय खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । पहिलो अभ्यास खेल जुलाई १३ अनि दोस्रो खेल जुलाई १५ मा हुने क्यानले जनाएको छ ।

लिग २ को खेलअघि कन्डिशन मिल्दोजुल्दो हुनेगरी जर्सीमा खेल्न लागिएको हो । नेपालले केही साताअघि मात्र दुई घरेलु शृङ्खला खेलेको थियो । ८ खेलमध्ये नेपालले ६ खेलमा जित हासिल गरेर लिग २ अंकतालिकामा स्थान सुधार समेत गरेको थियो ।

यस शृंखलाका लागि नेपाली टोलीको म्यानेजरमा क्यानकै सदस्य श्रीधर केसी चयन भएका छन् । नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट‌ लको पासपोर्ट नवीकरणसम्बन्धी समस्याले उनी भने केही समयपछि टोलीसँग जोडिने बताइएको छ ।

खोज्नुहोस