ट्रम्पको फोनपछि फिफाले अमेरिकी खेलाडीमाथिको प्रतिबन्ध फुकुवा गर्याे
विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले अमेरिकाका खेलाडी फोलारिन बालोगुनमाथि लगाइएको एक खेलको प्रतिबन्ध फुकुवा गरेको छ ।
विश्वकप फुटबलको नकआउट चरणमा बोस्निया एन्ड हर्जगोभिनासँगको खेलमा बालोगुनले रेड कार्ड पाएका थिए । यो खेल अमेरिकाले २–० ले जितेको थियो । फिफाले प्रतिबन्ध स्थगित गरेसँगै बालोगुनले विश्वकपको प्रिक्वाटरफाइनलमा बेल्जियमसँग खेल्ने पक्का भएको छ । यो खेल भोलि बिहान अमेरिकाको सिएटल रङ्गशालामा हुँदैछ ।
फिफाको घोषणाको केही समयपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफालाई धन्यवाद दिएका छन् । ट्रम्पले ट्रुथ सोसलमार्फत फिफाले सही काम गरेको र ठूलो अन्याय सच्याएकोमा धन्यवाद दिएका हुन् ।
यसैबीच ट्रम्पको दबाबमा फिफाले अमेरिकी खेलाडी फोलारिन बालोगुनमाथिको प्रतिबन्ध फुकुवा गरेको रिपोर्ट सार्वजनिक भएको छ । ट्रम्पले बालोगुनमाथि लगाइएको खेलको प्रतिबन्धबारे पुनर्विचार गर्न फिफालाई आग्रह गर्नुभएको न्युयोर्क टाइम्सले लेखेको छ । ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फाटिनोलाई फोन गरेर ‘रेड कार्ड’ को समीक्षा गर्न आग्रह गरेको खबरमा उल्लेख छ ।
यसैबीच राताे कार्डकाे निर्णय उल्ट्याउने फिफाकाे निर्णयप्रति बेल्जियम फुटबल सङ्घले आश्चर्य व्यक्त गरेको छ । सङ्घले प्रतियोगिताका नियमअनुसार रातो कार्ड पाउने खेलाडी स्वतः अर्को खेलबाट निलम्बित हुने व्यवस्था रहेको उल्लेख गर्दै फिफाले अनुशासन संहिता प्रयोग गरेर नियमलाई निष्प्रभावी बनाएको जनाएको छ ।
फिफाको विधानले खेलमा राजनीतिक हस्तक्षेपलाई निषेध गरेको भए पनि यस घटनापछि फिफाको अनुशासन समितिको निर्णयमा राजनीतिक हस्तक्षेप भएको भन्दै प्रश्न उठेको हो ।
यद्यपि विश्वकपको इतिहासमा यस्तो विवाद पहिलो पटक भने होइन । यसअघि सन् १९६२ को विश्वकपमा ब्राजिलका गारिन्चालाई सेमिफाइनलमा चिलीसँगकाे खेलमा रातो कार्ड देखाइए पनि उनले चेकोस्लोभाकियासँगकाे फाइनल खेलेका थिए । त्यति बेलाको निर्णय पनि राजनीतिक हस्तक्षेपको आरोपका कारण विवादमा परेको थियो ।
