एनपीएल तेस्रो संस्करणको अक्सन आज, १५५ खेलाडी अन्तिम सूचीमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि आज अक्सन हुँदै छ । अक्सन दिउँसो १ बजे सुरु हुँदै छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रत्येक टोलीले थप दुई नेपाली खेलाडी खेलाडी राख्न पाउने छन् । त्यसैगरी अक्सनबाट अन्तिम सूचीमा रहेका १५५ मध्ये ५२ खेलाडी विभिन्न फेन्चाइज टोलीमा अनुबन्ध हुनेछन् ।
अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गरेकामा १५५ जना अन्तिम सूचीमा अटाएका हुन् । अन्तिम सूचीमा परेका खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ ।
अक्सन लागि श्रेणी ‘ए’मा पाँच, श्रेणी ‘बी’ मा २७ र श्रेणी ‘सी’ मा १२३ खेलाडी छन् । अक्सनमा जनकपुर बोल्ट्ससँग खर्च गर्न सर्वाधिक ६६ लाख २५ हजार रुपैयाँको खर्च सीमा छ । काठमाडौं गोर्खाजसँग सबैभन्दा कम मात्र ३४ लाख रुपैयाँ बाँकी छ ।
एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो संस्करणमा जनकपुर र दोस्रो संस्करणमा लुम्बिनी च्याम्पियन बनेका थिए ।
