बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ।

मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि रकमान्तरमार्फत उक्त रकम उपलब्ध गराएको हो। बर्डफ्लुका कारण आर्थिक क्षति बेहोरेका किसानलाई राहत उपलब्ध गराउन विभागले मन्त्रालयसँग बजेट माग गरेको थियो।

पशुसेवा विभागका प्रवक्ता डा। मुकुल उपाध्यायका अनुसार निकासा भएको रकमबाट प्रभावित किसानलाई प्रमाणित क्षतिको आधारमा ७५ प्रतिशतसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।

विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी गरी ११ जिल्लामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको विभागले जनाएको छ।

‘बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४’ अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था रहेको छ।

विभागका अनुसार गत चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन सुरु भएको बर्डफ्लु सङ्क्रमण हाल ११ जिल्लामा फैलिएको छ। भाइरसको स्वरूप परिवर्तन हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै सम्भावित सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पन्छी, अण्डा तथा दाना नष्ट गर्ने कार्य गरिएको प्रवक्ता उपाध्यायले बताए ।

बर्डफ्लु नियन्त्रणलाई प्रभावकारी बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रणकक्ष स्थापना गरिएको छ। सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी प्रभावित क्षेत्रमा रोग नियन्त्रणका लागि आवश्यक कार्य जारी रहेको विभागले जनाएको छ।

कैलालीमा एक पुरुष मृत फेला

काठमाडौं । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

चुरे गाउँपालिका–१ आमसेरा ग्वानी बस्ने ४८ वर्षीय शेर बहादुर थापा मृत भेटिएका हुन् ।

सोही गाउँपालिका–१ मिलनपुरस्थित चिनानी खोला किनारमा उनको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

२०२६ विश्वकप नै रोनाल्डोको अन्तिम प्रतियोगिता!

​फुटबलका ‘महानायक’ क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय खेल जीवन अब अन्तिम मोडमा आइपुगेको छ। सन् २०२६ को फिफा विश्वकप नै पोर्चुगलको जर्सीमा रोनाल्डोको अन्तिम यात्रा हुने कुरा उनकी दिदी काटिया अभेइरोले पुष्टि गरेकी छन्।

​बिदाइको निश्चित समय: सन् २०२८ को युरोकप खेल्ने हल्लाहरूलाई पूर्णविराम लगाउँदै काटियाले भनिन्— “मैले पाएको विश्वसनीय जानकारी अनुसार अब बिदाइको समय आएको छ। २०२६ विश्वकप नै उनको अन्तिम अन्तर्राष्ट्रिय अभियान हुनेछ।”

​तनावमुक्त रोनाल्डो: दिदीका अनुसार रोनाल्डो यो निर्णयबाट कत्ति पनि दबाबमा छैनन्। उनी बरु परिवारभन्दा पनि कम तनावमा छन् र आफ्नो सुखद बिदाइका लागि पूर्ण रूपमा विश्वस्त छन्।

​आलोचकहरूलाई जवाफ: मैदान भित्र र बाहिर भइरहने आलोचनाप्रति असन्तुष्टि जनाउँदै काटियाले थपिन्— “२० वर्षभन्दा बढी फुटबलमा दबदबा कायम राखेका रोनाल्डोलाई फुटबल बुझ्ने र माया गर्ने हरेकले सम्मान गर्नुपर्छ। हाम्रो सङ्घर्षको कथा बुझ्नेका लागि यस्ता आलोचनाले कुनै असर पार्दैन।”

​एक अद्वितीय विरासत (Legacy)

​पोर्चुगलका लागि २३१ खेलमा १४५ गोल गरिसकेका रोनाल्डोको यो छैटौं विश्वकप हो। आफ्नो देशलाई युरो २०१६ र नेसन्स लिग २०१९ को ऐतिहासिक उपाधि दिलाएका यी महान् खेलाडीको यो अन्तिम अन्तर्राष्ट्रिय यात्रा कस्तो होला? अब सारा विश्वको नजर २०२६ को मैदानमा सोझिएको छ!

कञ्चनपुर र कैलालीबाट ५ जना युवा लागुऔषध खैरो हेरोइनसहित पक्राउ

धनगढी : सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लाबाट एकैदिन ५ जना युवा लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरबाट चार र कैलालीबाट एक जना पक्राउ परेका हुन् ।

उनीहरूलाई प्रहरीले बिहीबार बेलुकी छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ नयाँबस्तीबाट ३० ग्राम ९३० मिलिग्राम हेरोइनसहित चार जनालाई बिहीबार साँझ पक्राउ परेका छन।

पक्राउ पर्नेहरूमा स्थानीय ४० वर्षीय लालबहादुर सुनार, ३१ वर्षीय हेमराज जोशी, वेदकोट नगरपालिका–७ दैजीका ३१ वर्षीय बिमल पाण्डे र कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका २५ वर्षीय अशोक पाण्डे रहेका छन् ।

यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालिपुरबाट १५० मिलिग्राम हेरोइनसहित स्थानीय २३ वर्षीय ललित रानाक्षेत्रीलाई बिहीबार साँझ प्रहरीले जनाएको छ ।

बाजुराका खोला किनारका बस्तीहरू वर्षायाममा बाढी–पहिरोको उच्च जोखिममा

बाजुरा :  बाजुराका खोला किनारका बस्तीहरू वर्षायाममा बाढी–पहिरोको उच्च जोखिममा परेपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्तीको तलतर्फ बाढी र माथितर्फ पहिरो जाने–आउने समस्याका कारण यहाँका स्थानीयलाई वर्षाको समयमा बाढी–पहिरोको चिन्ता रहने गरेको हो । हिउँदका दिनमा निर्धक्क भएर बसोवास गर्ने गरे पनि वर्षायाममा बाढी–पहिरोको डर रहने गरेको खप्तड छेडेदह गाउँपालिका–६ गुम्ला गाउँका पदम रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँ नजिक पहिरो पुगेको छ । त्यसले प्रत्येक वर्ष बस्तीलाई जोखिममा पार्दै गएको छ । हिउँदमा केही हुँदैन, तर वर्षायाम सुरु भएपछि पहिरो चल्न थाल्छ, त्यतिबेला बस्तीमा डर हुन्छ ।” असारदेखि साउन–भदौसम्म बढी पानी पर्ने समयमा राति सुतेका बेला कतिबेला पहिरोले बस्ती बगाउने हो भन्ने ठुलो डर हुने गरेको रावतले बताउनुभयो । यहाँका हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका झण्डै १३५ भन्दा बढी गाउँबस्ती पछिल्लो समय बाढी–पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षायाममा तलतर्फबाट बाढी र माथितर्फबाट पहिरो आउने हुँदा ती बस्तीका स्थानीयलाई निरन्तर चिन्ता हुने गरेको छ ।

बुढीगङ्गाका अम्कोट, बजेडी, निमोनीस त्रिवेणीका मौरे, छतारास खप्तड छेडेदह गाउँपालिकाका गाज्रा, धनाल्ट, पार्तोला, गुइबन, पाटा, सुदारास बडीमालिकाका ओलेना, राप्का, भौनेरा, बीरे खोला, रजातोलीस बुढीनन्दाका साउनेगाउँस जगनाथको पीलिचौरस स्वामिकार्तिक खापरको साप्पाटा, माझीगाउँ, मुक्तीकोटस र हिमालीको विच्छ्या, मैर्तना, बोल्ढीक लगायतका बस्तीहरू बाढी–पहिरोको उच्च जोखिममा परेका छन् । यी जोखिमयुक्त बस्तीहरू स्थानान्तरण गर्न स्थानीयवासीले पटक–पटक जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दै आएका छन् । वर्षा लाग्दा बस्ती स्थानान्तरणको कुरा उठ्ने र हिउँद लागेपछि त्यो प्रक्रिया रोक्ने प्रवृत्ति देखिएको छ ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले स्थानान्तरण गर्नुपर्ने बस्तीहरूको तथ्याङ्क सङ्कलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको बताउनुभयो । त्यस्तै, हिमाली गाउँपालिकाको विच्छ्या र बडीमालिकाको रजाली बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरिन्द्र निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ भूकम्पपीडित पनि धेरै छन् । उनीहरूका लागि टहरा व्यवस्थापन गर्न गत वर्ष केही रकम वितरण गरिएको थियो । सो रकमबाट हिमाली, गौमुल र त्रिवेणीका केही परिवारले टहरा बनाएर बसोवास गरेका छन् ।”

बस्ती स्थानान्तरणका लागि ठुलो रकम आवश्यक पर्ने भएकाले गृह मन्त्रालयमा थप प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।

८८ वर्षपछि स्विट्जरल्यान्डको ऐतिहासिक जीत

एजेन्सी ।  ब्रिल एम्बोलो र ड्यान एनडोयेको गोलको मद्दतले अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै स्विट्जरल्यान्डले नकआउट चरणमा लामो समयदेखिको जितको खडेरीलाई तोडेको हो।

जितसँगै स्विट्जरल्यान्डले सन् १९३८ मा फ्रान्समा भएको विश्वकपपछि पहिलो पटक नकआउट चरणको खेल जितेर इतिहास रचेको छ। यद्यपि, सन् १९५४ मा घरेलु मैदानमा भएको विश्वकपमा भने टोलीले प्लेअफ खेल जितेर क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । पछिल्ला तीनवटा विश्वकपमा पनि स्विट्जरल्यान्ड अन्तिम १६ मा पुगेको थियो, तर ३२ टोली सहभागी ती प्रतियोगिताहरूमा टोली त्योभन्दा अगाडि बढ्न सकेको थिएन।

अब स्विट्जरल्यान्डले क्वाटरफाइनल प्रवेशका लागि कोलम्बिया र घानाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको विजेतासँग स्विट्जरल्यान्डको भेट आगामी मंगलबार भ्यान्कुभरमा हुने तय भएको छ।

अर्कोतर्फ, सन् २०१४ पछि पहिलो पटक विश्वकपमा फर्किएको अल्जेरियाको यात्रा भने पराजयसँगै टुङ्गिएको छ। सन् २०१४ को विश्वकपमा अल्जेरिया नकआउट चरणसम्म पुगे पनि त्यतिबेलाको विजेता जर्मनीसँग पराजित हुँदै बाहिरिएको थियो।

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री सुरु

दार्चुलाः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै प्रकारका चामलमा प्रतिकिलो १० रुपैयाँ सहुलियत छुटसहित बिक्री वितरण सुरु गरेको छ।

कम्पनीको प्रधान कार्यालयको निर्देशनअनुसार यही असार १२ गतेदेखि लागू हुने गरी चामलमा सहुलियत छुट प्रदान गरिएको शाखा कार्यालयले जनाएको छ। उक्त सहुलियत असार मसान्तसम्म मात्र कायम रहने छ।

नयाँ मूल्यसूचीअनुसार अरुवा मोटा चामलको मूल्य प्रतिकिलो ५६ बाट घटाएर ४६ रुपैयाँ कायम गरिएको छ। पच्चीस किलोग्रामको एक बोराको मूल्य एक हजार १५० तोकिएको छ।

त्यसैगरी, स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकिलो ८४ बाट घटाएर ७४ रुपैयाँ कायम गरिएको छ भने पच्चीस किलोग्रामको एक बोराको मूल्य एक हजार ८५० निर्धारण गरिएको शाखाले जनाएको छ।

यस्तै गहुँको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन । गहुँ साविककै प्रतिकिलो रु ५३ मा बिक्री भइरहेको छ भने २५ किलोग्रामको एक बोराको मूल्य रु एक हजार ३२५ कायम गरिएको कम्पनीले जनाएको छ ।

राष्ट्रियसभामा नौ मन्त्रालयमाथि विनियोजित शीर्षकमा छलफल

काठमाडौं। राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत बिभिन्न ९ वटा मन्त्रालयमाथि विनियोजित शीर्षकमाथि छलफल भएको छ । बिहीबार बसेको बैठकमा  युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन र कानुन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल भएको हो ।

विनियोजन शीर्षकमाथिको छलफलमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रियसभा सदस्य सम्झाना देवकोटाले सरकारले बजेट छुट्याए अनुसारको अंक बजेट पुस्तिकमा नभेटेको बताइन् । त्यस्तै राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले पहाडी क्षेत्रमा रहेका बिमानस्थललाई सुविधा दिएर उडान सुचारु गर्न  सुझाव दिए ।

उनले संघीय व्यवस्थालाई कमजोर नभए थप बलियो बनाएर लैजानु पर्नेमा जोड दिए । त्यस्तै अन्य सदस्यहरुले पर्यटन क्षेत्रका विस्तार, स्वास्थ्यमा सहज पहुँच, रोजगारी सिर्जना लगायतमा ध्यान दिन सरकारलाई सुझाव दिए । विनियोजन विधेयक अन्तर्गत बाँकी मन्त्रालयहरुका शीर्षकहरुमाथि असार १९ गते शुक्रबार छलफल हुने राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।

अमेरिकाले विश्वकप जिते चन्द्रमामा फुटबल लैजाने नासाको योजना

काठमाडौं। भविष्यमा फिफा विश्वकप जित्न सफल भए फुटबललाई चन्द्रमासम्म पुर्‍याउने योजना रहेकाे अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले जनाएको छ । नासाका अधिकारीहरूले यसलाई अहिलेका लागि सम्भावित योजनाका रूपमा प्रस्तुत गरेको छ ।

यस योजना अमेरिकी अन्तरिक्षयात्री एलन शेपर्डसँग जोडिएको ऐतिहासिक घटनाबाट आएको हो । शेपर्ड चन्द्रमामा पाइला टेक्ने पाँचौँ व्यक्ति थिए । अमेरिकी अन्तरिक्ष कार्यक्रमका प्रारम्भिक तथा प्रभावशाली अन्तरिक्षयात्रीमध्ये एक मानिन्छन् ।

सन् १९७१ मा भएको एपोलो–१४ अभियानको अन्त्यतिर शेपर्डले आफूले गोप्य रूपमा साथमा लगेका सानो गल्फ क्लब र बल निकालेका थिए । त्यसपछि उनले चन्द्रमाको सतहमा दुई सट खेलेका थिए । चन्द्रमाको न्यून गुरुत्वाकर्षणका कारण ती बलहरू पृथ्वीको तुलनामा निकै टाढासम्म पुगेका थिए । यो घटना अन्तरिक्ष इतिहासका सबैभन्दा चर्चित र स्मरणीय क्षणहरूमध्ये एक मानिन्छ ।

नासाको मुन बेस कार्यक्रमका प्रबन्धक कार्लोस गार्सिया–गालनले यसको सम्भावनाबारे प्रतिक्रिया दिएका छन् । उनका अनुसार, अमेरिकी पुरुष फुटबल टोलीले भविष्यमा फिफा विश्वकप जित्न सफल भए चन्द्रमामा फुटबल पुर्‍याउने विषयलाई मिसनको योजनामा समावेश गर्न सकिन्छ । त्यसका लागि केही अतिरिक्त वैज्ञानिक तयारी र विशेष उपकरण आवश्यक पर्ने उनले बताए ।

यद्यपि, उनले यो टिप्पणी ठट्टापूर्ण शैलीमा गरेका थिए । उनले भने, “अब सबै कुरा अमेरिकी पुरुष फुटबल टोलीमा निर्भर छ । यदि टोलीले विश्वकप जितेर फर्कियो भने फुटबल पनि इतिहास रच्दै चन्द्रमासम्म पुग्न सक्छ ।”

माइक्रो दुर्घटना : कर्णालीमा पानीको बहाव बढेपछि उद्धारमा कठिनाइ

कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स माइक्रो कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ।

नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।

उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी आज बिहान ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो।

उक्त स्थानबाट नामथर र वतन नखुलेका एक जना पुरुष भिरमा अचेत अवस्था अड्केको अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए।

उद्धारका सामग्रीसहित प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेका उनले बताए।

प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली सुर्खेतबाट यतातर्फ हिँडिसकेको छ।

सुर्खेत बसपार्कबाट आज बिहान ८ः०० बजेट छुट्दा पाँच जना सवार रहेको भनिए पनि गाडीमा कति जना थिए भन्ने यकीन नभएको उनले बताए।

उनका अनुसार गाडी ४०० मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ। गाडी डुबेको स्थान प्रहरीचौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्दछ।

भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।

शेयर बजार बढ्याे

काठमाण्डाै- शेयर बजार आज पनि बढेको छ । हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ७८ अङ्कले बढेर २ हजार ६६१ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको सूचक घटेको छ । आज बैंक समूहको सूचक २ प्रतिशतले उकालो लागेको छ ।

आज १०९ वटा कम्पनीको शेयर बढेकोमा १५३ वटाको घटेको छ । यस्तै १३ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज अपर लोहोरे खोला हाइड्रोपावर, कलङ्गा हाइड्रो, स्नो रिभर्स, सानीगड हाइड्रोको शेयर १५ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन एनआईसी एशिया डिबेन्चरको शेयर साढे १० प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ३५९ वटा कम्पनीका ८९ लाख ६४ हजार कित्ता शेयर ४ अर्ब ११ करोड रुपैयाँमा किनबेच भएको छ ।

 

गोरखापत्रको महाप्रबन्धकमा कैलालीका रावल नियुक्त

कैलाली । गोरखापत्रको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावल नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयको सिफारिसमा रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

नवनियुक्त महाप्रबन्धक रावल लामो समय एभिन्युज टेलिभिजनमा सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा कार्यरत थिए। त्यसपछि उनीले न्युज २४ टेलिभिजनमा पनि सुदूरपश्चिम ब्युरो प्रमुखका रूपमा काम गरे ।

त्यसपश्चात केही समय ग्यालेक्सी टेलिभिजनमा काम गरेका उनी पछिल्लो समय बीबीसी नेपालीमा आबद्ध थिए।

एन्फालाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुन दिँदैनौं: खेलकुदमन्त्री पोखरेल

काठ्माण्डौ- सरकारले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्दै यसलाई पूर्वखेलाडी तथा खेलप्रेमीहरूको नेतृत्वमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

फिफाद्वारा एन्फा निलम्बन गरिएको प्रसङ्गमा सरकारका प्रवक्ता एवं खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो धारणा राखेका हुन्।

बिहीबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले एन्फामा लामो समयदेखि राजनीतिक हस्तक्षेप र भ्रष्टाचार हुँदै आएको स्वीकार गरे।

उनले विगतका विभिन्न सरकारहरूबाट भएका शृङ्खलाबद्ध हस्तक्षेप र आर्थिक अनियमितताका कारण अहिले फिफाले निलम्बन गर्ने परिस्थिति सिर्जना भएको सुनाए।

मन्त्री पोखरेलले एन्फाभित्रका विभिन्न अनियमितता र भ्रष्टाचारका उजुरीमाथि विस्तृत छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्षको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए।

छानबिन समितिको प्रतिवेदन प्राप्त हुनासाथ आवश्यक कदम चालिने उनको भनाइ छ।

नेपाली फुटबल इतिहासकै कठिन मोडमा पुगेको बताउँदै मन्त्री पोखरेलले भने, ‘नेपालको डिभिजन लिगका खेलहरू हुन सकेका छैनन्, फुटबलको विकास ठप्प छ। एन्फाका लागि योभन्दा तल खस्कने ठाउँ नै छैन।’

उनले यस संकटबाट निकास निकाल्न आफूले व्यक्तिगत रूपमा खेल विज्ञहरूसँग निरन्तर छलफल गरिरहेको समेत बताए। फुटबल निलम्बन फुकुवाका लागि फिफा र एसियाली फुटबल महासंघ (एएफसी) सँग औपचारिक संवाद सुरु भइसकेको उनले जानकारी दिए।

उनका अनुसार फिफा र एएफसीका पदाधिकारीहरूलाई सरकारले वार्ताका लागि नेपाल आमन्त्रण गरिसकेको छ। उनले आगामी दिनमा गठन हुने एन्फामा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरिने दृढता व्यक्त गरे।

मन्त्री पोखरेलले भने, ‘अब बन्ने एन्फा राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुने छैन, यसलाई विशुद्ध फुटबल बुझेका खेलाडी र खेलप्रेमीहरूको जिम्मा लगाइनेछ।’

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं- सरकारले शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

  • एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन (बीबीएन्जी)लाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
  • नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने।
  • विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गर्ने।
  • कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
  • शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने।
  • गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल (कैलाली)लाई नियुक्ति गर्ने।
  • सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गाना (मोरङ) लाई नियुक्ति गर्ने।
  • राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्ने
  • राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गर्ने।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरिएको हो ।

त्यसअघि, बैठकमा उक्त विधेयकका संशोधनमाथि छलफल भई निणयार्थ प्रस्तुत गरिएको थियो । छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताए ।

उनले सम्पत्ति शुद्धीकरण मात्र नभई आर्थिक अपराधविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तै शक्तिशाली ‘आर्थिक अपराध प्राधिकरण’ बनाउने विषयमा समेत छलफल गर्ने तयारी भइरहेको उल्लेख गरे ।

एउटै स्रोतबाट सिर्जित विषयमा फरक–फरक निकायले अनुसन्धान गर्दा राज्यको लागत बढ्ने, अदालती प्रणालीमा बोझ थपिने र बिगो असुलीमा समेत समस्या पर्ने हुनाले कानुनमा आवश्यक सुधार गर्न खोजिएको उनले बताए ।

विष्णु पौडेलविरुद्ध फेरि ६ दिन म्याद थपियो

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि अनुसन्धान गर्न पुनः ६ दिन म्याद थपिएको छ । बिहीबार (असार १८) विशेष अदालतले तेस्रोपटक म्याद थपेको हो ।

विशेषका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थपिएको अदालत प्रशासनले जनाएको छ ।

“सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा आज (बिहीबार) तेस्रोपटक ६ (छ) दिन म्याद थप भएको छ,” अदालतको सूचनामा उल्लेख छ ।

पौडेल हाल न्यायिक हिरासतमा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका निम्ति उनलाई अदालतमा पेस गरेको थियो ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)को कसुरमा अनुसन्धानका निम्ति उनलाई प्रहरीले पक्राउ गरी विभागमा बुझाएको थियो । यही असार ८ गते उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।

विशेष अदालतले पौडेललाई थुनामै राखेर अनुसन्धान गर्न पहिलोपल्ट सात दिन म्याद दिएको थियो । त्यसपछि असार १५ गते तीन दिन म्याद थप गरेको थियो ।

हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका पौडेलमाथि श्रीराम टोबाको प्रालिको २० प्रतिशत सेयर हिमालयन एसेट म्यानेजमेन्टलाई सस्तो मूल्यमा बेच्न दबाब दिएर लाभ लिएको आरोप लगाइएको छ ।

उक्त कम्पनीमा इन्फिनिटी होल्डिङ्सको शतप्रतिशत लगानी छ । त्यो कम्पनी सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परी अनुसन्धानकै क्रममा रहेका दीपक भट्टको हो । भट्टको सम्पत्तिमा पौडेल जोडिएपछि उनी अनुसन्धानमा तानिएका हुन् । विभागले थप छानबिन गरिरहेको छ ।

प्रतिनिधि सभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित

काठ्माण्डौ। प्रतिनिधि सभाको बिहीबारको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ पारित भएको छ।

बैठकमा सोसम्बन्धी भएको दफाबार छलफल, सम्बन्धित मन्त्रीको जवाफ र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत भएपछि बहुमतबाट विधेयक पारित भएको हो।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सदनमा विधेयकमाथि दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

अध्यादेशलाई प्रतिस्थापन गर्न उक्त विधेयक सदनमा ल्याइएको हो।

मुलुकी अपराध संहिता (संशोधन विधेयक) को मस्यौदाप्रति सांसद शाहीको विरोध

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मुलुकी अपराध संहिता (संशोधन विधेयक) को मस्यौदाप्रति आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा शाहीले सांसदले संसदीय मामिला तथा कानुन मन्त्रालयले मुलुकी अपराध संहिता २०७४ को दफा ४९ लाई संशोधन गर्न अघि बढाएको मस्यौदाप्रति विरोध जनाएका हुन् । उनले संविधानले नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, राजनीतिक बहुलवाद र स्वतन्त्रता को प्रत्याभूति गरेको भन्दै प्रस्तावित मस्यौदाले मौलिक हकमाथि प्रहार गर्ने दावी गरे ।

मस्यौदामा संविधान वा लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा गतिविधि गर्ने, गराउने वा बल प्रयोग गर्ने भन्ने शब्द थपेर राज्य विरुद्धको कसुर बनाउने र त्यसमा २५ वर्षसम्मको जेल सजायको व्यवस्था गर्न लागिएकोप्रति समेत उनले आपत्ति जनाए ।

उनले शान्तिपूर्ण विचार, राजनीतिक असहमतिका फरक मत, प्रदेश संरचना खारेजीको माग वा संविधान संशोधनको माग जस्ता शान्तिपूर्ण राजनीतिक अभिव्यक्तिहरूलाई पनि अपराध मान्य कार्य लोकतान्त्रिक अभ्यास र नागरिक स्वतन्त्रतामाथिको प्रत्यक्ष आघात हुने तर्क गरे । उनले यस्ता कार्य संविधानको मर्म विपरीत भएकोले तत्काल खारेज गर्न माग गर्दै रुलिङ गर्न समेत आग्रह गरे ।

त्यस्तै उनले परराष्ट्र नीति व्यक्तिगत आवेगमा नभई पञ्चशीलको सिद्धान्तका आधारमा बन्नुपर्ने बताए । देशको प्रधानमन्त्रीले कुनै पनि कुरा बोल्दा तथ्य र प्रमाणमा टेकेर बोल्नुपर्ने र हचुवाका भरमा बोल्न नहुने उनको भनाइ छ । उनले प्रधानमन्त्रीले ‘नेपालले भारतको सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति सच्याउनु नै देश र राष्ट्रको हितमा हुने उल्लेख गरे ।

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग

काठमाडौँ । राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्नेलाई छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको केही घण्टामै देशका धेरै स्थानका पेट्रोल पम्पहरूले ‘पेट्रोल–डिजेल’ छैन भन्दै बिक्री वितरण बन्द गरेको सूचना प्राप्त भएको भन्दै उनले यस्तो माग गरेका हुन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै सांसद रोकायाले भने- ‘मूल्य बढ्दा भार बोक्ने जनताले घट्दा राहत किन नपाउने ?’ त्यस्तै उनले यसरी कृतिम अभाव सिर्जना गर्नेमाथि सरकारले तत्काल छानबिन गरी कारबाही गर्न माग गरे ।

उनले पेट्रोल–डिजेलको मूल्य घटेको अवस्थामा अविलम्ब सार्वजनिक यातायात र हवाई उडान भाडा पुनरावलोकन गर्न माग पनि गरे ।

यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो

सुर्खेत । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले गाडी नदीमा डुबेको रातोपाटीलाई बताए ।

उनका अनुसार, कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो । प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन ।

बुलबुले यातायातको गाडीमा १४ जना यात्रु सवार थिए । दुर्घटनास्थलमा तल्लो ढुंगेस्वर, पाल्तडा र राकम कर्णालीबाट पनि प्रहरी परिचालन गरिएको छ । उद्धारको लागी सशस्त्र प्रहरीसँग पनि समन्वय गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी सन्तोषसिंह राठौरले बताए । दुर्घटनास्थल सुर्खेतको बिरेन्द्रनगरबाट करिब ७५ किलोमिटर टाढा पर्छ ।

अहिले बेपत्ता गाडी र यात्रुहरूको खोजी कार्य जारी रहेको छ।

विश्वकप २०२६ : पाेर्चुगल र क्राेएशिया पहिलाे पटक आमनेसामने हुँदै

काठमाण्डाै। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन् । यो खेल राति पौने १ बजे अमेरिकाको लस एन्जलस रङ्गशालामा शुरू हुनेछ ।

स्पेन समूह ‘एच’ को विजेता र अस्ट्रिया समूह ‘जे’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

सन् २०१० को विजेता स्पेन र अस्ट्रियाबीच विश्वकपमा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् १९७८ को विश्वकपमा अस्ट्रियाले स्पेनलाई २–१ ले हराएको थियो ।

यस्तै यी दुई टोलीबीच अन्तर्राष्ट्रिय फुटबलमा १६ पटक प्रतिस्पर्धा भएको छ । यसमा स्पेन ९ र अस्ट्रियाले ४ खेल जितेको छ भने ३ खेल बराबरीमा सकिएको छ ।

विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने ५ बजे पोर्चुगल र क्रोएशिया खेल्दैछन् । यो खेल क्यानडाको टोरन्टो रङ्गशालामा हुनेछ ।

पोर्चुगल समूह ‘के’ को उपविजेता र क्रोएशिया समूह ‘एल’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।

पोर्चुगल र क्रोएशियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

यस्तै यी दुई टोलीबीच अहिलेसम्म १० पटक प्रतिस्पर्धा भएको छ । यसमा पोर्चुगल ७ र क्रोएशिया १ खेलमा विजयी भएको छ भने २ खेल बराबरीमा सकिएको छ ।

विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने ९ बजे स्विट्जरल्यान्ड र अल्जेरिया खेल्दैछन् । स्विट्जरल्यान्ड समूह ‘बी’ को विजेता र अल्जेरिया समूह ‘जे’ बाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन् ।

स्विट्जरल्यान्ड र अल्जेरियाबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

यस्तै यी दुई टोलीबीच अहिलेसम्म २ पटक प्रतिस्पर्धा भएको छ । यसमा दुइटै खेल स्विट्जरल्यान्डले जितेको छ ।

अहिलेसम्म १० वटा टोली प्रिक्वाटरफाइनलमा पुगेका छन् । क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्डले एकअर्कासँग खेल्ने पक्का भएको छ ।

 

संसद्‌मै इन्टरनेट समस्या, भएन प्रत्यक्ष प्रसारण

काठ्माण्डौ- प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण बिहीबार बिहानदेखि इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रभावित भएको छ।

सिंहदरबारस्थित संघीय संसद् भवनमा बैठक नियमित रूपमा सञ्चालन भइरहे पनि इन्टरनेटमा समस्या आएपछि लाइभ स्ट्रिमिङ रोकिएको संसद् सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार इन्टरनेट मर्मतको काम भइरहेकाले सेवा सुचारु हुनेबित्तिकै बैठकको प्रत्यक्ष प्रसारण पुनः सुरु गरिनेछ।

मुख्यमन्त्री निवासमै पुगेर ट्राफिक प्रहरीले काट्यो ५ सय जरिवाना

धनगढी :  बिना हेलमेट मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् । आफ्नो निवास परिसरमा शाहले हेलमेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री निवासमै पुगेर चीट काटेका छन् । शाहलाई थमाइएको चीटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार मोटरसाइकल चालकले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था छ । ऐनअनुसार हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइए पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक १,००० रुपैयाँ र त्यसपछि १,५०० रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ ।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकबाट शाहले हेल्मेटबिना बाइक चलाएको भिडिओ सार्वजनिक गरेका थिए । केही समययता दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्यले टिकाटिप्पणी बढेको थियो ।

६ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डौ – आज  सुनचाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। हिजो सुन तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको भाउ पनि आज तोलामा १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।

मन्त्रिपरिषद् बैठक बस्दै

काठ्माण्डौ- मन्त्रिपरिषद्‍को बैठक आज (बिहीबार) बस्ने भएको छ।

बेठक बिहीबार दिउँसो २ बजे बस्ने भएको हो। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

वर्षाले कैलाली–कञ्चनपुरका धेरै स्थान डुबानमा

धनगढी- सुदूरपश्चिम प्रदेशमा गत रातिदेखि निरन्तर वर्षा भइरहेका कारण तराईका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्र डुबानमा परेका छन्। अविरल वर्षाले खेतबारी जलमग्न भएका छन् भने प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकांश बस्ती र सडकसमेत डुबानमा परेका छन्।

धनगढीका मुख्य सडक, गल्ली, नाला र होचा बस्तीमा पानी जम्दा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ। डुबानका कारण सवारीसाधन सञ्चालन तथा पैदल आवतजावतमा समेत समस्या देखिएको छ।

लगातार वर्षा भइरहेकाले डुबानसँगै बाढीको जोखिमसमेत बढेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायहरूले नदी, खोलानाला आसपास र होचा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

डुबानका कारण विद्यालय जाने बालबालिकासमेत प्रभावित भएका छन्। विद्यार्थीको सुरक्षालाई ध्यानमा राख्दै कैलालीका केही स्थानीय तहले आज विद्यालयमा सार्वजनिक बिदा दिएका छन्।

मौसम पूर्वानुमान विभागका अनुसार अझै वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले सबैलाई अनुरोध गरेको छ।

सुदूरपश्चिममा अविरल वर्षाले बाढी–पहिरोको जोखिम बढ्दै, सतर्कता अपनाउन आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशमा गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ। प्रदेशका तराईदेखि पहाडी जिल्लासम्म वर्षा भइरहेकाले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, दार्चुला, डडेल्धुरा लगायतका जिल्लामा निरन्तर वर्षा भइरहेको छ। केही स्थानमा भारी वर्षा पनि भइरहेको छ। नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले कञ्चनपुरमा पनि गएरातिदेखि भारी वर्षा भइरहेको जानकारी दिए। उनका अनुसार हालसम्म बाढी, डुबान वा वर्षाका कारण कुनै अप्रिय घटनाको सूचना प्राप्त भएको छैन।

‘वर्षा निरन्तर भइरहेकाले प्रहरी सतर्क अवस्थामा छ। सर्वसाधारणलाई पनि आवश्यक सावधानी अपनाउन आग्रह गरेका छौँ,’ डीएसपी रावतले भने।

प्रहरी र स्थानीय प्रशासनले नदी तथा खोलाको सतह बढ्न सक्ने, कमजोर बस्ती र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक जोखिमयुक्त स्थानमा नजान सर्वसाधारणलाई अनुरोध गरेका छन्।

पत्रकार भण्डारी पक्राउ

धनगढी । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भण्डारीविरुद्ध गालीगलौजसम्बन्धी मुद्दा अदालतसम्म पुगेको थियो। उक्त मुद्दामा अदालतले एक महिना ७ दिन कैद सजाय र जरिवानाको फैसला गरेको थियो।

डीएसपी रावतले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा भण्डारीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीका अनुसार पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतको फैसला कार्यान्वयन गरिनेछ।

खोज्नुहोस