सुदूरपश्चिम सरकारले बनायो आयोजना छान्ने मापदण्ड

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले आयोजना छनोटका लागि मापदण्ड बनाएको छ । ‘सुदूरपश्चिम प्रदेश आयोजना छनोटसम्बन्धी मापदण्ड २०८३’ तयार गर्दै प्रदेश राजपत्रमा प्रकाशन गरिएको हो ।

आगामी वर्षको बजेटको तयारीमा रहेको प्रदेश सरकारले नीति तथा योजना आयोगलाई मापदण्ड बनाउने जिम्मेवारी दिएको थियो । आयोगले तयार गरेको उक्त मापदण्ड आर्थिक मामिला मन्त्रालयमार्फत मन्त्रिपरिषद् बैठकमा पेस गरिएको थियो । मन्त्रिपरिषद् बैठकले पारित गरेर उक्त मापदण्ड कार्यान्वयनमा ल्याइएको योजना आयोगका सदस्य नृपबहादुर सुनारले जानकारी दिए ।

‘जनचाहना र आवश्यकताबमोजिम प्रदेश सरकारले सञ्चालन गर्ने विकास तथा अन्य आयोजनाहरूलाई वर्गीकरण र प्राथमिकीकरण गरी स्रोत सुनिश्चिततासहित कार्यान्वयनयोग्य बनाउन मापदण्ड तयार गरेका छौँ,’ उनले भने, ‘यसले समावेशी र समानुपातिक रूपमा बजेट बाँडफाँट गरी सन्तुलित विकासका आयोजना छनोट गर्न सहज हुन्छ ।’

योजना आयोगका सदस्य सुनारका अनुसार मापदण्डमा आयोजनाको न्यूनतम लागत सीमा पनि तोकिएको छ, जसअनुसार प्रदेश सरकारले कार्यान्वयन गर्ने आयोजना कम्तीमा पनि २५ लाखको हुनुपर्नेछ । प्रदेश लोकमार्गका लागि ३ करोड तथा प्रदेश सहायक सडक, तराईका सिँचाइ र २० मेगावाटसम्मका ऊर्जा पूर्वाधार आयोजना कार्यान्वयनका लागि १ करोड न्यूनतम लागत हुनुपर्ने आयोजना छनोटसम्बन्धी मापदण्डमा भनिएको छ ।

यस्तै, खेलकुद, स्वास्थ्य, पर्यटन, कृषि र धार्मिक पूर्वाधारतर्फ ५० लाख, शिक्षातर्फ ३२ लाख, खानेपानीतर्फ ३० लाख न्यूनतम लागत भएका आयोजना मात्रै छनोट गर्न मिल्ने मापदण्ड बनाइएको सदस्य सुनारले बताए । भूमिगत सिँचाइ र पहाडी जिल्लाको सिँचाइ आयोजनाका लागि भने २५ लाख मापदण्ड तोकिएको छ ।

यस्तै, १ करोडभन्दा बढी लागतका आयोजना छनोट गर्दा अनिवार्य रूपमा प्रदेश आयोजना बैंकमा प्रविष्ट भएको हुनुपर्ने पनि मापदण्ड बनाइएको छ ।  दिगो र रोजगारमूलक आर्थिक वृद्धिमा योगदान पुर्‍याउने तथा दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउन सक्ने आयोजना मात्रै छनोट गर्न मिल्ने मापदण्डमा उल्लेख छ ।

काँग्रेस देउवा समूहको सुदूरपश्चिममा प्रदेशस्तरीय भेला जेठ १० गते धनगढीमा

काठमाडौं, ४ जेठ  /  नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला तय गरेको छ । उक्त समूहले देउवाको गृहजिल्ला सुदूरपश्चिममा १० जेठमा प्रदेशस्तरीय भेला गर्ने भएको हो ।

भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिने देउवा समूहले तयार गरेको प्रचार सामग्रीमा उल्लेख छ ।

उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो ।

फेसबुकमा लामो स्टाटस लेखेका दार्चुलाको सम्पाल माविका प्रधानाध्यापक धामी विद्यालयमै मृत फेला

धनगढी: दार्चुलाको ब्याँस गाउँपालिका–४ सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेव सिंह धामीले आत्महत्या अघि सामाजिक सञ्जाल फेसबुकमा लामो भावुक स्टाटस लेख्दै विभिन्न व्यक्ति र समूहविरुद्ध गम्भीर आरोप लगाएका छन्।

धामीले आफूलाई योजनाबद्ध रूपमा चरित्रहत्या, मानसिक तनाव र सामाजिक अपमानमा पारिएको दाबी गर्दै त्यसकै कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका छन् । उनले आफ्ना परिवार, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा विद्यालयलाई नमुना बनाउने अभियानमा लाग्दा “दुष्मनहरूको षड्यन्त्र” को सिकार भएको दाबी गरेका छन् ।

स्टाटसमा उनले विद्यालयमा आफूले गरेको कामहरूको लामो विवरण सार्वजनिक गरेका छन् । १८ कोठे पक्की भवन निर्माण, पुस्तकालय, आईसीटी प्रयोगशाला, स्मार्ट बोर्ड, विज्ञान प्रयोगशाला, हरित विद्यालय निर्माणदेखि विद्यार्थीलाई निःशुल्क पोशाक वितरणसम्मका काम आफ्नो नेतृत्वमा सम्पन्न भएको उनको दाबी छ ।

धामीले केही शिक्षक, स्थानीय राजनीतिक व्यक्तित्व र निर्माण व्यवसायीमाथि आफूलाई झुटो बलात्कार आरोपमा फसाउने षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले केही व्यक्तिको नाम र फोन नम्बरसमेत सार्वजनिक गर्दै उनीहरूविरुद्ध कानुनी कारबाहीको माग गरेका छन् ।

उनले लेखेका छन्, “मेरो शैक्षिक इतिहास समाप्त पार्ने र स्वाभिमानमाथि गम्भीर चोट पुर्‍याउने काम भयो । मानसिक तनाव र डिप्रेसनका कारण आत्महत्या गर्न बाध्य भएँ ।” आफ्ना दुई छोरा र श्रीमतीलाई सम्बोधन गर्दै धामीले भावुक सन्देश पनि छोडेका छन् । उनले आफ्ना छोराहरूलाई “मुटु दरो बनाउन” आग्रह गर्दै श्रीमतीलाई छोराहरूको विशेष ख्याल गर्न अनुरोध गरेका छन् ।

त्यस्तै उनले आफ्नो मृत्युपछि डीएनए परीक्षण गर्नसमेत माग गरेका छन् । आफूविरुद्ध लगाइएको आरोप झुटो सावित गर्न डीएनए परीक्षणको रिपोर्ट सार्वजनिक गर्न परिवारलाई आग्रह गरेका छन् ।
धामीले प्रधानमन्त्री, राजनीतिक दलका नेताहरू तथा सरकारलाई समेत सम्बोधन गर्दै “ठालुहरूको दबदबामा समाज परिवर्तन हुन नसक्ने” टिप्पणी गरेका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । धामीको मृत्युको वास्तविक कारण र उनले लगाएका आरोपबारे अनुसन्धान हुने दार्चुला प्रहरी प्रमुख डिएसपी गौरव महतले बताए। प्रधानाध्यापक धामी सोमबार बिहान विद्यालयको निवासमा मृत फेला परेका हुन्। घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली परिचालन भएको डिएसपी महतले बताए ।

कञ्चनपुरका स्थानीय तह विपद् पूर्वतयारीमा जुटे

कञ्चनपुरः कञ्चनपुरका स्थानीय तह विपद् पूर्वतयारीमा जुटेका छन् । मनसुनजन्य विपत्को उच्च जोखिममा रहेका क्षेत्रमा पूर्वसावधानी अपनाउनका लागि पूर्वतयारी थालिएको यहाँका नौ वटै स्थानीय तहले जनाएका छन् ।

जेनजी आन्दोलनका क्रममा खोज तथा उद्धार सामग्री नष्ट भएपछि विभिन्न सङ्घ संस्थाको सहयोगमा आवश्यक सामग्री खरिदको कार्य अगाडि बढाइएको पुनर्वास नगरपालिकाका विपत् सम्पर्क व्यक्ति ओमनाथ ढकालले बताए।

पुनर्वास वडा नम्बर १० स्थित विकास बस्ती, वडा नम्बर ५ मा रातो ताल, सिमरी तथा वडा नम्बर २ स्थित दशरथ बस्तीका दुई सयभन्दा बढी घरधुरी मनसुनजन्य विपत्को उच्च जोखिममा छन् ।
विपत्मा परेकालाई सुरक्षित स्थानमा राख्नका लागि यस वर्ष वडा नम्बर ५ को रातोतालमा सुरक्षित आवास निर्माणको काम गरिएको विपत् सम्पर्क व्यक्ति ढकालले बताए।

सामुदायिक विपत् व्यवस्थापन समितिलाई तालिम प्रदान गर्नुका साथै उद्धारमा खटिन तथा पूर्वतयारीमा रहन सतर्क गराइएको उनले बताए। उनका अनुसार दुई स्थानमा साइरनको व्यवस्था गरिएको छ भने विपत्मा परेकाको उद्धारका लागि सुरक्षा निकायसँग समन्वय तथा आवश्यक राहत सामग्रीको व्यवस्थापन गरिएको छ । विपत्बाट महामारी फैलिन नदिन स्वास्थ्य शाखामार्फत आवश्यक औषधी उपचारको व्यवस्था पनि मिलाइएको उनल बताए।

बेलौरी नगरपालिकाले पनि मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि वडाहरूसँग छलफल तथा खोज उद्धारमा खटिने सामुदायिक विपत् व्यवस्थापन समितिलाई आवश्यक तालिम प्रदान गरिरहेको जनाएको छ ।
खहरेखोला तथा नदीका कारण डुबानमा पर्दे आएका नौ वटै वडामा मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका काम अगाडि बढाइएको कृष्णपुर नगरपालिकाले जनाएको छ। यसका साथै डुबान प्रभावित क्षेत्रमा तटबन्ध, नाला सफाइका काम अगाडि बढाइएको उनले बताए।

त्यसै गरी यहाँको वेदकोट नगरपालिकाले विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना परिमार्जनको कार्य भइरहेको जनाएको छ । विपत् जोखिम न्यूनीकरणका लागि विभिन्न सङ्घ संस्थाको सहकार्यमा पूर्वतयारी थालिएको नगरपालिकाका विपत् सम्पर्क व्यक्ति सुनील चन्दले बताए।  विपत्मा परेकाको खोज तथा उद्धारका लागि नगर प्रहरीलाई पाँच दिनको तालिम पनि प्रदान गरिएको विपत् सम्पर्क व्यक्ति चन्दले बताए।

वेदकोट नगरपालिकाका–४ स्थित सार्कीपार्की टोल, वडा नम्बर १० स्थित चतहरी क्षेत्र तथा वडा नम्बर ९ स्थित बैजनाथ टोलका गरेर चार सयभन्दा बढी घरधुरी डुबानको उच्च जोखिममा रहेका छन् । बेलडाँडी गाउँपालिकाले पनि मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि पाँच वटा वडामा १० वटा सामुदायिक स्तरीय विपत् व्यवस्थापन समिति गठन गरी पूर्वतयारी थालिएको जनाएको छ ।

गाउँपालिकाका विपत् सम्पर्क व्यक्ति पुरुषोत्तम जोशीले पूर्वतयारीका लागि समितिहरूलाई आवश्यक तालिम प्रदान गरेर सूचना प्रवाह, खोज तथा उद्धारमा खटिन सक्रिय तुल्याइएको बताए। बेलडाँडीमा नदीको बाँध भत्किँदा गत वर्ष अत्यधिक क्षति पुग्न गएपछि यस वर्ष मर्मतको काम गरिएकाले यस वर्ष जोखिम कम हुने आकलन गरिएको उनले बताए।

त्यसै गरेर यहाँको लालझाँडी गाउँपालिकाले पनि मनसुनजन्य विपतबाट उद्धारका लागि १४ वटा सामुदायिक विपत् व्यवस्थापन समितिलाई तालिम प्रदान गरिएको जनाएको छ । लालझाँडीका वडा नम्बर २, ३ र ४ बाढीजन्य विपत्को उच्च जोखिममा रहेका छन् । भीमदत्त, शुक्लाफाँटा र दोधाराचाँदनी नगरपालिकाले पनि मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि पूर्वअभ्यास तथा सामुदायिक विपत् व्यवस्थापन समितिलाई पूर्वतालिम प्रदान गरिनुका साथै आवश्यक सामग्री व्यवस्थापनको कार्य गरिरहेको जनाएका छन् ।

भीमदत्तका महाकाली नदी तटीय क्षेत्रमा मात्रै एक हजारभन्दा बढी परिवार बाढीको उच्च जोखिममा छन् । दोधारा चाँदनी नगरपालिकाका विपत् सम्पर्क व्यक्ति अमृत विकले पनि विपत् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालिएको बताए।

स्कटल्याण्डमाथि नेपालको सहज जित

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले स्कटल्याण्डमाथि ६ विकेटको जित हात पारेको हो।

१९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। कप्तान रोहित पौडेल र डा. ईशान पाण्डेको उत्कृष्ट साझेदारीमा नेपालले सहजै खेल आफ्नो पोल्टामा पार्यो।

दुई ब्याट्सम्यानबीच १०४ रनको साझेदारी भयो। दुवैले अर्धशतकीय पारी खेले। रोहित ७४ रनमा अविजित रहे भने ईशानले ५५ रनको योगदान दिए।

यस्तै, आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २८ रन जोडे। बलिङतर्फ स्कटल्याण्डका मार्क वाटले दुई तथा ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो।

ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाउँदा माइकल इंग्लिसले पनि अर्धशतक बनाए। उनले ५१ रन जोडे। यस्तै, जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ नेपालका ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिँदा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक सफलता हात पारे।

यसै खेलमा लामिछानेले एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व किर्तिमान राखे। उनले २ विकेट लिने बित्तिकै यो कोसेढुंगा पार गरेका हुन्।

सन्दीपले ७३ म्याचमा १५० लिए। यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो। स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए।

यसअघिको खेलमा २ रनले पराजित भएको नेपालले आजको खेलमा जित निकाल्दै स्कटल्याण्डमाथि बदला लिएको छ।

कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर : कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिलकीकी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै मृत्यु भएको हो।

माटोको ढिस्कोभित्र पुरिएकी अर्की करिब ५५ वर्षीया सुन्दरीया रानालाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका छन्। उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ।

वडाध्यक्ष नवलसिंह रानाका अनुसार घाइते सुन्दरीयालाई उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ।

घटनाका समयमा माटो खन्न गएका अन्य दुई जना भने सकुशल रहेका छन्।

राष्ट्रिय सभामा अध्यादेशबारे दलहरू विभाजित

काठमाडाैं ।  सरकारले ल्याएका आठवटा अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन् । कांग्रेस र नेकपाले चार–चार अध्यादेशमा असहमति जनाएका छन् भने एमाले आठवटै अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ । जनता समाजवादी पार्टी (जसपा) मौन छ भने राष्ट्रिय जनमोर्चाले एक अध्यादेशमा असन्तुष्टि जनाएको छ । प्रतिनिधिसभामा झन्डै दुईतिहाइ मतसहित सरकार सञ्चालन गरिरहेको रास्वपाको राष्ट्रिय सभामा उपस्थिति छैन ।

सुरुमा एमाले र कांग्रेसबिच सबै अध्यादेश निष्क्रिय गराउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र सेवा प्रवाहसँग जोडिएका अध्यादेश रोक्दा जनतामा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित बनेका हुन् । त्यसपछि दलहरूले आ–आफ्नै ढंगले ‘अध्यादेश अस्वीकार गरियोस्’ भन्ने सूचना दिएका छन् ।

सरकारले २८ वैशाखमा सहकारी (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्थासहितको अध्यादेश, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश दुवै सदनमा पेस गरेको छ ।

संसद् सचिवालयका अनुसार १० सांसद रहेको एमालेले आठवटै अध्यादेश अस्वीकृत गर्न सूचना दिएको छ । २४ सिट भएको कांग्रेसले संवैधानिक परिषद्, केही नेपाल ऐन संशोधन, विश्वविद्यालयसम्बन्धी र सार्वजनिक खरिद ऐन संशोधनसम्बन्धी अध्यादेश अस्वीकृत गर्न सूचना दिएको छ । त्यस्तै, १७ सांसद रहेको नेकपाले संवैधानिक परिषद्, केही नेपाल ऐन संशोधन, विश्वविद्यालयसम्बन्धी र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश निष्क्रिय गराउन सूचना दिएको छ । एक सिट भएको जनमोर्चाले संवैधानिक परिषद् अध्यादेश अस्वीकृत गर्न खोजेको छ । ७ जेठमा अध्यादेशलाई छलफलको प्रक्रियामा लैजाने राष्ट्रिय सभाको सम्भावित कार्यसूची छ ।

नेपालले स्कटल्याण्डसँग आज खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु  हुनेछ ।

नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले दुवै खेल जितेको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस (डीएलएस) नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा दुई रनले नै पराजित गरेको थियो ।

तेस्रो खेल नेपाल र अमेरिकाबीच भएको थियो । गत शनिबार सम्पन्न उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल स्कटल्याण्डलाई पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुने सम्भावनालाई जीवितै राख्न चाहन्छ ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ को अङ्क तालिकामा नेपाल सातौँ स्थानमा छ । नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन अब बाँकी सबै १० वटा खेल जित्नुपर्छ भने एकदिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहन आवश्यक छ । त्यसैले आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।

नेपाल अहिले २६ खेलपछि नौमा जित, १५ मा हार र दुई खेलमा अनिर्णित हुँदै २० अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । साथै स्कटल्याण्ड पहिलो स्थानमा छ । स्कटल्याण्डले ३० खेलमध्ये १६ मा जित, आठमा हार र छ वटा खेल अनिर्णित हुँदा कूल ३८ अङ्क जोडेको छ ।

सुदूरपश्चिमको सम्भावनाबारे धनगढीमा बहसः लगानी भित्र्याउन जोड

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिपूर्ण रहेकाले सरकारले लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। धनगढीमा जारी ‘सुदूरपश्चिम कचहरी-२०८३’ अन्तर्गत आज दोस्रो दिनको कार्यक्रममा संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव हुने भन्दै लगानी भित्र्याउन प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिइएको हो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले सुदूरपश्चिम प्रदेशमा थुप्रै पर्यटन, कृषि, सम्पदालगायत क्षेत्रको प्रवर्द्धन गरी आम्दानी गर्नसक्ने सम्भावना हुँदाहुँदै पनि लगानीका लागि भने उपेक्षामा परेको बताए।

“एकदमै धेरै सम्भावना भएको क्षेत्र सुदूरपश्चिम हो”, उनले भने, “पर्यटन र जडीबुटीको क्षेत्रमा बढी सम्भावना छ। यहाँ सम्भावना देखेर हामीले चिसापानीमा अहिलेसम्मकै ठूलो केबुलकारसहितको आयोजना सञ्चालन गर्ने अन्तिम तयारी गरेका छौँ।”

नेपाल उद्योग परिसङ्घ अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारको नीति र प्रतिफल हेरेर निजी क्षेत्रको लगानी आउने बताए। “सुदूरपश्चिममा सम्भावना धेरै छ”, उनले भने, “सरकारीस्तरबाट लगानीकर्तालाई सुविधा दिन आवश्यक छ। सम्भावना देखाउन नसक्दा पनि लगानी भित्र्याउन समस्या भइरहेको हो।”

प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिमका सदस्य नृपबहादुर सुनारले यो प्रदेश पर्यटन, कृषि, सम्पदा, प्राकृतिक स्रोत सबै हिसाबले सम्भावना भएको क्षेत्रका रूपमा रहेको बताउँदै सम्भावनालाई नीति तथा कार्यक्रम र बजेटमा समेट्न आवश्यक रहेकामा जोड दिए।

सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजनामा धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ भइरहेको हो। आजको पहिलो सत्रमा, ‘प्रदेशसभा सदस्यसँग विशेष संवाद’ शीर्षकमा आयोजित छलफलमा सुदूरपश्चिमको विकास, दीर्घकालीन एजेण्डा तथा नीतिनिर्माणका विषयमा छलफल गरिएको छ।

छलफलमा सहभागीले राजनीतिक नेतृत्व सही ढङ्गले नचल्दा सुदूरपश्चिम अपेक्षाकृत रूपमा विकास हुन नसकेको औँल्याएका थिए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्ट, सामाजिक विकास समितिका सभापति धर्मराज पाठक र नेपाली कांग्रेसका सांसद रक्षा महाराले सुदूरपश्चिमको विकास र समृद्धिका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको टिप्पणी गरे।

यसअघि पहिलो दिन शनिबारको कार्यक्रममा सुदूरपश्चिम प्रदेशको विकासका लागि तीनै तहका सरकारबीच सहकार्यसँगै निजी क्षेत्र र अन्तरराष्ट्रिय लगानीकर्तालाई सहभागी गराउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

प्रदेश सरकारका प्रमुख सचिव वैकुण्ठ अर्यालले प्रदेशका विकास आयोजना निर्माणमा प्रदेश, स्थानीय र सङ्घीय सरकारबीच सहकार्य आवश्यक रहेकामा जोड दिए। प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा जीवन रानाले रामारोशन, खप्तड र बडिमालिकालाई पर्यटकीय सर्किटका रूपमा विकास गर्न सकिने बताए।

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजङ्ग थापाले गड्डाचौकी-अत्तरिया-चिसापानी सडक खण्डलाई चार लेनमा विस्तार गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइरहेको जानकारी दिए।

दार्चुलामा जिप दुर्घटना : पाँच जना घाइते

दार्चुला: दार्चुलाको मार्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

मार्माको भित्री सडक अन्तर्गत ताकुबाट घोल्जरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज ००७६ नम्बरको जिप शनिबार राति करिब ८ बजे पातिहाल्ला भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा मार्मा गाउँपालिका–१ घोल्जर निवासी २६ वर्षीय चालक हरिश महरा, २७ वर्षीया मनिषा ठगुन्ना, १७ वर्षीया स्मृती ठगुन्ना, १३ वर्षीया सारिका ठगुन्ना तथा १६ वर्षीय विवेक महरा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारीका अनुसार घाइतेमध्ये चालक महरा र स्मृती ठगुन्नाको अवस्था गम्भीर रहेको छ। सबै घाइतेको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आफ्नै कीर्तिमान तोड्दै ३२औँ पटक सगरमाथामा सफल आरोहण

काठमाडौं । नेपाली पर्वतारोहणका जीवित किंवदन्ती मानिने कामी रीता शेर्पाले विश्व कीर्तिमानलाई फेरि एक पटक विस्तार गर्दै विश्वकै सर्वोच्च शिखर सगरमाथामा आफ्नो ३२औँ सफल आरोहण गरेका छन् ।

आज बिहान १०ः१२ बजे उनले सगरमाथाको शिखरमा पाइला टेकेका हुन् । यो उपलब्धिसँगै उनले आफैंले बनाएको सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमानलाई थप मजबुत बनाएका छन् । सन् १९९४ बाट सगरमाथा आरोहण यात्रा सुरु गरेका कामी रीता शेर्पा विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा हिमाल आरोहणमा सक्रिय छन् । कठिन मौसम, जोखिमपूर्ण मार्ग र उच्च हिमाली चुनौतीका बीच पनि उनले देखाएको निरन्तरता र धैर्यले उनलाई विश्वकै अग्रणी उच्च हिमाल आरोहीमध्ये एक बनाएको छ ।

उनलाई नेपाली मात्र होइन, विश्वभरका पर्वतारोहण समुदायले सगरमाथाको प्रतीक र प्रेरणाको स्रोतका रूपमा सम्मान गर्दै आएका छन् । यस वर्षको सफल आरोहणपछि उनी सुरक्षित रूपमा आधार शिविर (बेस क्याम्प) तर्फ फर्किँदै गरेको जनाइएको छ । आरोहण अभियानमा संलग्न कम्पनी सेभेन समिट ट्रेकले उनको सफलताको पुष्टि गर्दै सुरक्षित अवतरणको कामना गरेको छ ।

कामी रीता शेर्पाको यो उपलब्धिले नेपालको पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेको छ । सगरमाथा आरोहणलाई जीवनको निरन्तर अभियान बनाएका उनले फेरि एक पटक विश्वलाई देखाएका छन् । साहस, अनुशासन र समर्पणले असम्भवलाई सम्भव बनाउन सकिन्छ । उनको यो कीर्तिमानी आरोहणले नेपाली हिमाल पर्यटन र पर्वतारोहण क्षेत्रमा नयाँ ऊर्जा थपेको छ र विश्वभर नेपाललाई अझ उज्यालो रूपमा प्रस्तुत गरेको छ ।

कांग्रेसमा दिन थालियो ३० वर्ष मुनिकालाई सिधै क्रियाशील सदस्यता

काठमाडौं ।  नेपाली कांग्रेसले ३० वर्षमुनि उमेर भएकालाई आवेदन दिनेबित्तिकै क्रियाशील सदस्यता दिने सुरू गरेको छ।

सदस्यता व्यवस्थापन समितिका अनुसार ३० वर्ष उमेर मुनिकालाई सिधै क्रियाशील सदस्यता दिन सुरू गरिएको हो।

सदस्यता व्यवस्थापन समिति संयोजकसमेत रहेका महामन्त्री प्रदीप पौडेलले युवाहरूलाई सिधै क्रियाशील सदस्यता दिन सुरू गरेको बताए।

‘३० वर्षमुनिका युवाहरूलाई आवेदन दिनेबित्तिकै क्रियाशील सदस्यता दिन सुरू गरेका छौं, पार्टीमा युवाहरूलाई उचित अवसर र ठाउँ दिन पनि यो आवश्यक छ,’ उनले सेतोपाटीसँग भने।

कांग्रेसले प्राय: साधारण सदस्यता लिएको वर्षदिन पुगेपछि क्रियाशील सदस्यता दिने गरेको छ। तर अब युवाहरूलाई केन्द्रित गरेर सिधै क्रियाशील सदस्यता दिन सुरू गरिएको हो।

कांग्रेसले वैशाखदेखि नै जरा अभियानअन्तर्गत पार्टी संगठन सुदृढीकरणका काम गरिरहेको छ।

महामन्त्री पौडेल संयोजक रहेको सदस्यता व्यवस्थापन समितिले पनि प्रदेशहरूमा पुगेर जरा अभियानसँगै क्रियाशील अद्यावधिक अभियान पनि साथसाथै अघि बढाइरहेको छ।

क्रियाशील सदस्यहरूको विवरणलाई डिजिटल गर्न अद्यावधिक गर्न लागिएको महामन्त्री पौडेलले बताए।

‘पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले यो डिजिटल अभियानलाई थप प्रभावकारी बनाउन प्रदेशस्तरीय भेला तथा प्रशिक्षणको आयोजना गरिरहेको छ,’ पौडेलले भने, ‘हरेक प्रदेशका पार्टीका विभिन्न तहका सभापति तथा प्राविधिकहरुलाई डिजिटल अद्यावधिकको अपरिहार्यता एवं प्राविधिक प्रक्रियाबारे प्रशिक्षण जारी छ।’

उनकाअनुसार कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशमा प्रशिक्षण सकिएको छ।

कोशीको भेडेटारमा सदस्यता व्यवस्थापन समितिका केन्द्रीय संयोजक पौडेलकै उपस्थितिमा प्रशिक्षण र अन्तर्क्रिया शनिबार भएको थियो।

WhatsApp-Image-2026-05-16-at-5.07.15-PM-1778994170.jpeg
महामन्त्री पौडेलका अनुसार जेठ २१ गतेभित्र नयाँ क्रियाशील वितरण, छुटेका पुराना सदस्यहरूको नवीकरण र सम्पूर्ण क्रियाशील सदस्यता अद्यावधिक गरिसक्नुपर्नेछ।

यो विवरण अद्यावधिकपछि कांग्रेस आफ्ना सदस्यहरूको डिजिटल डाटाबेस भएको व्यवस्थित र पूर्ण रूपमा डिजिटल स्वरूपमा रूपान्तरित भएको पार्टी बन्ने उनले बताए।

नेता पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षले भने क्रियाशील अद्यावधिकमा प्रश्न उठाउँदै आएका छन्। १५ औं महाधिवेशनका लागि भनेर यसअघि नै ६ लाख क्रियाशील नवीकरण र ३ लाख नयाँ वितरण गरिएकोले अद्यावधिकको आवश्यकता नरहने उनीहरूको तर्क छ।

तर संस्थापन पक्षले भने करिब ९ लाख क्रियाशील रहेको कांग्रेसमा ८० हजार सदस्यको मात्रै मोबाइल नम्बरलगायत विवरण रहेको भन्दै सदस्यको आवश्यक विवरण संकलनका लागि पनि अद्यावधिकको आवश्यकता रहेको बताउने गरेको छ।

अमेरिकाको कोलोराडोमा २३ औँ ‘नेपाल डे परेड’ सम्पन्न

कोलोराडो, अमेरिका अमेरिकाको कोलोराडोमा २३ औँ संस्करणको ‘नेपाल डे परेड २०२६’ भव्य रुपमा सम्पन्न भएको छ ।

सन् २००४ देखि कोलोराडोको बोल्डर सहरमा आयोजना हुँदै आएको ‘नेपाल डे परेड’को २३ औँ संस्करण शनिबार भव्य रुपमा सम्पन्न भएको हो ।

प्रमुख अतिथि बोल्डर सहरका मेयर ब्रकेटले काठमाडौँ महानगर र बोल्डर सहरबीच भगिनी सम्बन्ध कायम रहेको भन्दै नेपाल–अमेरिका सम्बन्धमा दुई सहरको भौगोलिक, प्राकृतिक र सांस्कृतिक सम्बन्ध विशेष रहेको बताए ।

सुरुदेखि अहिलेसम्म आफूले हरेक वर्ष नेपाल डे परेड कार्यक्रम नजिकबाट नियालेको तथा सहभागी भएको भन्दै उनले आगामी वर्षमा पनि यसलाई निरन्तरता दिन र दुई देशबीचको आपसी सांस्कृतिक सम्बन्ध बलियो बनाइराख्नुपर्नेमा जोड दिए ।

उनले हालै मात्र काठमाडौँ उपत्यकाको भ्रमण गरेको सम्झना गर्दै बोल्डर सहरमा धेरै नेपालीहरुलाई स्वागत गर्न पाउँदा खुशी लागेको पनि बताए ।

नेपाल डे परेडका संस्थापक तथा विशेष अतिथि नारायण श्रेष्ठले सन् २००४ देखि सुरु गरेको नेपाल डे परेड यस वर्ष पनि निरन्तरता दिन पाउँदा खुशी लागेको बताए ।

श्रेष्ठले नेपाली पोशाक, नेपालको झण्डा र नेपालका विभिन्न जातजातिको भेषभुषामा नेपाली मौलिक बाजा बजाउँदै बोल्डर सहर परिक्रमा गर्दा अमेरिकामा नेपाल चिनाउन पाउँदा हर्षित भएको टिप्पणी गरे ।

नेपालीहरुले नेपालको झण्डासहित बोल्डर सहर परिक्रमा गर्दा मानिसहरुले मोबाइलमा फोटो भिडियो खिचेर राख्नु गर्वको क्षण भएको भन्दै यसलाई आगामी वर्ष पनि निरन्तरता दिनुपर्ने बताए ।

‘हामीले नेपाली झण्डा फहराउँदै नेपाली पोशाकमा अझ विभिन्न जातजातिले नेपाली मौलिक भेषभुषा लगाएर बाजा बजाउँदै सहर परिक्रमा गर्दा बोल्डरका स्थानीय तथा पर्यटकले मोबाइलमा नेपाल डे परेडको फोटो भिडियो खिचिरहेका थिए’ उनले भने, ‘यो हाम्रा लागि सबैभन्दा गर्वको क्षण हो । यो एक दिन भए पनि हामीले २३ वर्षदेखि अमेरिकामा नेपाल चिनाइरहेका छौँ । अहिले अमेरिकाका न्युयोर्क, क्योलिफोर्नियासँगै युरोप, एसिया र अष्ट्रेलियामा पनि नेपाल डे परेडमार्फत नेपालको प्रवर्द्धन गरिरहेका छौँ । हरेक वर्ष यसलाई निरन्तरता दिनुपर्छ र दिन्छौँ पनि ।’

आरएमएफएनकी अध्यक्ष आकृति राईले वर्षौदेखि अमेरिकामा नेपाल चिनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिन सफल भएकोमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

परेडमा सहभागीमध्ये नेवार, राई, लिम्बु, मगर, गुरुङ र शेर्पा समुदायले आफ्नो जातजातिको भेषभुषा लगाएर मौलिक बाजा बजाउँदै सांस्कृतिक नृत्यसमेत प्रदर्शन गरेका थिए ।

नेपाली नयाँ वर्षको अवसर तथा सन्दर्भ पारेर अमेरिकामा नेपाल चिनाउने नेपाल डे परेड सबैभन्दा पहिले कोलोराडोको बोल्डर सहरमा सन् २००४ मा सुरु भएको थियो । पछिल्लो समय अमेरिकाका अन्य सहर, युरोपका विभिन्न देश तथा अष्ट्रेलियाका विभिन्न सहरमा पनि नेपाल डे परेड फेस्टिभलहरु हुँदै आएका छन् ।

रक्की माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन)को आयोजना तथा एनआरएनए अमेरिका र हेल्पिङ ह्यान्ड्स हेल्थ एण्ड एजुकेसनको सहयोगमा आयोजित नेपाल परेडमा सहभागीहरुले नेपाल र अमेरिकाको झण्डा फहराउँदै नेपाली पोशाकसहित विभिन्न जातजातीका भेषभुषामा मौलिक नेपाली बाजा बजाएर बोल्डर सहर परिक्रमा गरेका संस्थाका युवा संयोजक तथा कार्यक्रम सञ्चालक विष्णु विवेकले जानकारी दिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्मा लगायत कोलोराडोमा रहेका नेपाली समुदाय तथा संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो ।

100%x

कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु

कैलाली : कैलालीकाे घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएकाे छ । नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बमकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।

प्रहरीले डुबेकै स्थानबाट उद्दार गरेर उपचारका लागि धनगढीको निसर्ग अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

भारी संख्यामा कर्मचारी दरबन्दी कटौती हुने

काठमाडौं । सरकारले ४ वटा मन्त्रालय खारेज तथा एकआपसमा गाभ्दै २१ बाट १७ मन्त्रालय बनाएसँगै तीनवटै सरकारमा रहेका कर्मचारी दरबन्दीमा समेत भारी संख्यामा कटौती गर्ने गृहकार्य अघि बढाएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा झण्डै २० प्रतिशतजति कर्मचारी दरबन्दी अनावश्यक रहेको विश्लेषण गर्दै सरकारले भारी संख्यामा कर्मचारी कटौतीको गृहकार्य अघि बढाएको हो । सरकारले नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्दै केही मन्त्रालयलाई गाभ्दै केहीलाई खारेज गरेको छ भने एउटा नयाँ मन्त्रालय थप गरेको छ । कार्यविभाजन नियमावली नयाँ आएसँगै कर्मचारी दरबन्दीमा स्वतः पुनरावलोकन हुने भएको हो ।

नयाँ कार्यविभाजन नियमावली अनुसार मन्त्रालयहरूको पुनःसंरचना गर्न तथा दरबन्दी पुनरावलोकन गर्न मुख्य सचिव सुमनराज अर्यालको नेतृत्वमा उच्चस्तरीय समिति गठन भएको छ । समिति गठन भएसँगै प्रधानमन्त्री कार्यालय दरबन्दी पुनरावलोकनमा जुटेको हो । साथै सो समितिले हाल खारेज भएका मन्त्रालयहरूमा रहेका सचिवहरूको समेत आवश्यक व्यवस्थापन गर्ने छ ।

यसअघि बालेन्द्र शाह नेतृत्वको सरकारले चैत्र १३ गते स्वीकृत गरेको सरकारको सयदिने कार्यसूचीमा संघ, प्रदेश तथा स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड १५ दिनभित्र तर्जुमा गरी स्वीकृत गने निर्णय गरेको थियो । सरकारको सो निर्णयअनुसार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड स्वीकृत गरी प्रदेश र स्थानीय तहमा पठाइसकेको छ ।

सो मापदण्डअनुसार स्थानीय तह र प्रदेशले आ–आफ्नो निकायमा रहेका अनावश्यक दरबन्दी कटौतीको प्रस्ताव गर्नेछन् । संघीय सरकारले पनि संघमा रहेका अनावश्यक दरबन्दीको कटौती प्रस्ताव गर्ने जनाइएको छ । यस हिसाबले तीनै तहमा गरी २० देखि २५ हजार दरबन्दी कटौती हुने सम्भावना देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए ।

राष्ट्रिय किताबखाना(निजामती) का अनुसार अहिले संघमा ६१ हजार ८ सय ३७, प्रदेशमा ५ हजार ३ सय ४१ र स्थानीय तहमा ६५ हजार ५ सय ५६ दरबन्दि गरी देशभर कुल १ लाख ३२ हजार ७ सय ३४ स्वीकृत दरबन्दी रहेको छ । केन्द्रीय सरकारको दरबन्दी कटौतीको गृहकार्य हेर्दा कुल १ लााख ३२ हजारको २० प्रतिशतले कटौती हुने सम्भावना देखिएको हो । जुन २५ हजार भन्दा बढी हुन आउँछ ।

प्रधानमन्त्री बालेन्द्र शाहको सरकारी निकायमा अनावश्यक खर्च कटौती गर्न कडा निर्देशनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अधिकारीहरू सो कार्यमा जुटेका छन् । अहिले दरबन्दी पुनरावलोकनका लागि समेत प्रधानमन्त्री कार्यालयकै अधिकारीहरूले सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित मन्त्रालयका अधिकारीहरूसँग समन्वय गरी आवश्यक गृहकार्य अघि बढाइरहेको स्रोतले जानकारी दिएको छ । हाल विभागको संख्या पनि धेरै भएकाले केही विभागहरूसमेत कटौतीमा पर्ने जनाइएको छ ।

कर्मचारी दरबन्दीको अवस्था यस्तो छ
जम्मा दरबन्दी ः १ लाख ३२ हजार ७ सय ३४
संघ ः ६१ हजार ८ सय ३७
प्रदेश ः ५ हजार ३ सय ४१
स्थानीय तह ः प्रदेशमा ५ हजार ३ सय ४१

 

नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पुरा

कोलोराडो, १६ मे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गईरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा अनेसासको बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

नेपाल सहित विश्वका बिभिन्न मुलुकबाट १२५ जना साहित्यकार, लेखक तथा पत्रकारहरुको सहभागिता रहने छ, उनले भने, त्यसबाहेक कोलोराडो राज्यका ५० भन्दा बढि स्रष्टा र साहित्यप्रेमीको उपस्थिति रहने छ ।

बीओटी सभापति विश्वकर्माले सम्मेलनमा मदन पुरस्कार बिजेता डा. नवराज लम्साल, नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, होमनाथ सुवेदी, राधेश्याम लेकाली, गोबद्र्धन पूजा, पुरु सुवेदी, मोहन सिटौला, भुटानी साहित्य परिषदका अध्यक्ष खेम रिजाल उर्जा, पत्रकार तथा लेखक सुधीर शर्मा, बबिता बस्नेत, बसन्त बस्नेत, बिपुल पोखरेल, नारायण श्रेष्ठ, प्रेम बाँनिया, सुरज भण्डारी लगायत १७५ जनाभन्दा बढिको सहभागिता रहने बताए ।

उनले चारदिनसम्म सञ्चालन हुने सम्मेलनको अन्तिम दिन सहयोगी व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिने जानकारी दिए

अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनका लागि कोलाराडोको वेष्टमिनिष्टरस्थित होटल ड्रुरी ईनमा ५० भन्दा बढि कोठा बुक गरिएको जानकारी दिए ।

२२ मेमा अतिथिहरुको स्वागतमा रात्रीभोज आयोजना गरिने जानकारी दिएका महासचिव सिटौलाले सम्मेलनको औपचारिक उद्घाटन २३ मेमा गरिने बताए ।

उनले २३ र २४ मेमा बिभिन्न सत्रहरुमा ख्यातिप्राप्त  साहित्यकार तथा लेखकहरुका बीचमा साहित्यका विभिन्न विधामा बहस गरिने समेत जानकारी दिए ।

सिटौलाले सम्मेलनका दुई दिन विहान योगा र साँझ काव्य उत्सव आयोजना गरिने बताए ।

उनले सम्मेलनको पहिलो दिन ‘ईतिहासमा आख्यान र आख्यानमा ईतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता निलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र बसन्त बस्नेतका बीचमा हुने बहसको सहजीकरण पत्रकार नारायण श्रेष्ठले गर्ने जानकारी दिए ।

उनले चौथो तथा अन्तिम दिन अतिथिहरुलाई कोलाराडोको ऐतिहासिक तथा पर्यटकीय गन्तव्यहरुको भ्रमण गराउने कार्यक्रम रहेको बताए ।

अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीले सम्मेलनमा ५३ हजार डलर खर्च हुने अनुमान गरिएकोमा ३५ हजार डलर संकलन भईसकेको र बाँकी रकम पनि चाँडै संकलन हुने बताईन् ।

सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न स्वस्फूर्त ढंगले मनकारी व्यक्ति तथा विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भईरहेको अधिकारीले जानकारी दिईन् ।

उनले सहयोग गर्ने सम्पूर्ण दाता तथा संघसंस्थाहरुलाई धन्यवाद दिईन् ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष तथा सम्मेलनका संयोजक किरण अधिकारीले सम्मेलनका लागि आवश्यक तयारी पुरा भएको जानकारी दिए ।

उनले सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्न कोलोराडोका विभिन्न संघसंस्था र व्यक्तिहरुबाट उत्साहजनक रुपमा सहयोग प्राप्त भएको बताए ।

सम्मेलन संयोजक अधिकारीले अतिथिहरुका लागि आवास, भोजन र भ्रमणको उचित प्रबन्ध मिलाईएको बताए ।

उनले विश्वका विभिन्न मुलुकबाट आउने अतिथिहरुलाई कलरफुल कोलोराडोमा स्वागत गर्न आतुर रहेको सुनाए ।

सम्मेलनमा फुड पार्टनरका रुपमा जोडिएका कोलोराडोस्थित नेपाली रेष्टुरेष्टहरुले अतिथिहरुलाई स्वादिष्ट नेपाली परिकारको प्रबन्ध गर्ने अधिकारीले जानकारी दिए ।

सांस्कृतिक समितिका संयोजक बिजयदेव अधिकारीले सम्मेलनमा विभिन्न जातजाती र समुदायका झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने बताए ।

अत्तरिया चोकमा आकाशे पुल निर्माण हुने

कैलाली: कैलालीको अत्तरिया चोकमा आकाशे पुल निर्माण हुने भएको छ। गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट ले शनिबार एक कार्यक्रमका बीच पुलको शिलान्यास गरेका हुन्।

करिब १ करोड ४२ लाख ८५ हजार ४९८ रुपैयाँको लागतमा निर्माण हुने उक्त आकाशे पुलका लागि कृजल त्रिनेत्र सिद्धनाथ जेभीसँग ठेक्का सम्झौता गरिएको छ। सम्झौताअनुसार पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ।

नगर प्रमुख भट्टले बढ्दो सवारी चापका कारण पैदल यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आकाशे पुल निर्माणको योजना अघि बढाइएको बताए। उनका अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत उक्त परियोजना कार्यान्वयनमा ल्याइएको हो।

एडिबीको सहयोगमा चार सडक बन्दै

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र एवं अस्थायी राजधानी धनगढीमा एसियन विकास बैङ्क (एडिबी) को सहयोगमा चार वटा सडक बनिरहेको छ ।

क्षेत्रीय सहरी विकास आयोजनामार्फत यहाँ ६.४६ किलोमिटर सडक बन्न लागेको हो ।

आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार धनगढीगाउँ–बेली रोड (३.८२९ किलोमिटर), पार्कमोड सडक, उपमहानगरपालिका–राष्ट्र बैङ्क–ग्यालेक्सी स्कुल रोड (०.७९६ किलोमिटर) को निर्माण भइरहेको छ ।

यसै गरी पुरानो गोबरग्यास रोड (०.८४० किलोमिटर) र पुरानो हसनपुर–युएन सडक (एक किलोमिटर) निर्माण भइरहेको क्षेत्रीय परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिए ।

उनका अनुसार २०२५ डिसेम्बर अन्तिममा चार वटै सडकको संयुक्त रूपमा ३१ करोड २७ लाख ४५ हजार रुपियाँमा ठेक्का लागेको थियो । धनगढीकै केएस कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएर काम गरिरहेको छ ।

चार वटै सडकको निर्माण समयावधि १५ महिना रहेको इन्जिनियर कलौनीले बताए । नाली, फुटपाथसहितको सडक बन्ने जनाइएको छ ।

कृषि सडकका रूपमा चिनिएको धनगढीगाउँ–बेली रोडको निर्माण धमाधम भइरहेको छ ।

धनगढी उपमहानगरपालिकाका अनुसार प्रदेश, सङ्घीय सरकार र क्षेत्रीय सहरी विकास आयोजनामार्फत तीन छुट्टाछुटटै ठाउँमा यो सडक बनिरहेको छ । प्रदेश सरकारको लगानीमा दुई सय मिटर कालोपत्रे सडक बनिसकेको छ ।

सङ्घीय सरकारको लगानीमा पनि त्यत्ति नै सडक निर्माण भइरहेको धनगढी उपमहागरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले बताए । यसै गरी एडिबीको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनामार्फत ३.८ किलोमिटर सडक निर्माण भइरहेको उनको भनाइ छ ।

निर्माणाधीन यो सडक बिग्रेको कैयौँ वर्षसम्म नबनाइँदा स्थानीयले सास्ती खेप्दै आएका थिए ।

सडक बनेपछि राम्रो हुने धनगढी उपमहानगरपालिका–८ का रमेश चौधरीले बताए । उनले सडक बनेपछि दैनिक दुध बोकेर धनगढीमा बिक्री गर्न आउजाउ गर्ने दक्षिणी क्षेत्रका कृषकलाई धेरै सहज हुने उल्लेख गरे ।

 

गगन सिंगो कांग्रेसको सभापति बन्न सकेनन् – पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको ब्रिफिङ गरेका छन्। पूर्वसभापति शेरबहादुर देउवा समूहको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अझै आफू पार्टी विभाजनको बाटोमा जान नहुने पक्षमा रहेको बताए।

उनले अहिले सानेपामा आधा कांग्रेस मात्रै रहेको बताए।

उनले भने, ‘म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु, विगतमा गिरिजाबाबुकै कारणले पार्टी फुट्यो, पछि मिलाएको पनि उहाँले नै हो। यो कुरा मैले गगन र विश्वजी भेट्न आउँदा भनेको छु। पार्टी फुटको डिलमा छ मिलाउने कि फुटाउने तपाईँहरूको जिम्मा छ भनेर। अहिले आधा कांग्रेस सानेपाबाट बाहिरै छ। तपाई सिंगो कांग्रेसको सभापति हुने कि नहुने ? सबैलाई एकताबद्ध गरेर सिंगो कांग्रेसको सभापति हुनुस्। अदालतले जिताएर हामीले सभापति मानेका छौँ। सबै नेताहरूलाई सानेपा आउनसक्ने वातावरण बनाउनुस्।’

उनले नेपालको राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा रहेको भन्दै कांग्रेस फुट्यो भनेर नरहने जिकिर गरे।

प्रदेशको समृद्धिकालागि धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु,

कैलाली ।  सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ को औपचारिक सुरुवात भएको छ । प्रदेशको विकास, नीतिगत सुधार र आर्थिक समृद्धिको मार्गचित्र तय गर्न आजाबाट कचहरी सुरु भएको हो ।  कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुदूरुपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिममा विद्यमान अपार सम्भावनाहरूको सही सदुपयोग गर्दै समृद्धिको ढोका खोल्नुपर्ने बताए । उनले यस कचहरीले प्रदेश र संघीय सरकारलाई विकासको सही मार्ग पहिल्याउन र नीतिगत सुधारका लागि ठोस सुझाव दिने विश्वास व्यक्त गरेका थिए ।

दुई दिनसम्म चल्ने गहन छलफलले सरकारका आगामी नीति तथा कार्यक्रमलाई समृद्धितर्फ केन्द्रित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
‘सुदूरपश्चिम प्रदेशमा अपार सम्भावनाहरू छन्। ती सबै सम्भावनाहरूलाई यो कार्यक्रमले नीतिगत रूपमा समृद्धितर्फ केन्द्रित बनाउने विश्वास लिएको छु, ’ मुख्यमन्त्री शाहले भने, ‘दुई दिनको छलफल र त्यसको निष्कर्षले सरकारलाई नीतिगत सुधारका सुझावहरू पनि दिने विश्वास लिएको छु ।’
सोही अवसरमा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा पर्याप्त स्रोत र साधन हुँदाहुँदै पनि अपेक्षित विकास हुन नसकेको बताए । यस्ता बहसले प्रदेशको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन मद्दत गर्ने धारणा राखे ।

पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य नरेश शाहीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सुदूरपश्चिमको स्वाभिमान झल्काउने र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार लगायतका क्षेत्रमा साझा विकास दृष्टिकोण तयार गरिने जानकारी दिए । उनका अनुसार कचहरीबाट प्राप्त निष्कर्ष र सुझावहरूलाई आगामी बजेट तथा नीति निर्माण प्रक्रियामा समावेश गराउन केन्द्र सरकारसमक्ष पठाइनेछ ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाइएको छ । भारतको कुमाउँ विश्वविद्यालयका प्राध्यापक डा. रितेश शाहले सुदूरपश्चिमका सम्भावनाहरूको प्रचारप्रसारमा आफूहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै आयोजक सुदूरपश्चिम विकास फाउन्डेसनका अध्यक्ष शेरबहादुर शाहीले संवादमार्फत नीतिगत सुधारको पहल हुनुपर्नेमा जोड दिँदै विकासका लागि स्पष्ट दृष्टि र साझा उत्तरदायित्वको आवश्यकता औंल्याएका थिए । प्रदेश नीति तथा योजना आयोगकी उपाध्यक्ष डा. जीवन रानाले कार्यक्रममा प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाबारे जानकारी गराएकी थिइन् ।

अर्थ मन्त्रालयकै बेरुजु ३७ अर्ब ६३ करोड

काठमाडौं । आर्थिक वर्ष २०८१र८२ मा संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यस आर्थिक वर्षमा संघीय निकायतर्फ कुल ५३ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ बराबरको बेरुजु देखिएकोमा अर्थ मन्त्रालय र त्यस मातहतका निकायहरूको मात्रै ७० प्रतिशत हिस्सा रहेको छ ।

अंकका आधारमा अर्थ मन्त्रालयको मात्रै ३७ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ बेरुजु कायम भएको हो ।

कुल २२ खर्ब ४४ अर्ब ७८ करोड ८ लाख रुपैयाँ बराबरको लेखा परीक्षण गर्दा देखिएको उक्त बेरुजुमध्ये २० अर्ब ९५ करोड रुपैयाँ असुलउपर गर्नुपर्ने, १६ अर्ब ६३ करोड रुपैयाँ नियमित गर्नुपर्ने र ४ करोड ५७ लाख रुपैयाँ पेश्की बेरुजु रहेको छ ।

यसैगरी, धेरै बेरुजु हुने मन्त्रालयहरूको सूचीमा दोस्रो स्थानमा साविकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । सो मन्त्रालयको बेरुजु ७ अर्ब १० करोड रुपैयाँ रहेको छ, जुन कुल संघीय बेरुजुको १३।२८ प्रतिशत हो । महालेखा परीक्षकको कार्यालयका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको १ अर्ब ५३ करोड, वन तथा वातावरण मन्त्रालयको १ अर्ब ३४ करोड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको १ अर्ब १६ करोड रुपैयाँ बेरुजु देखिएको छ ।

त्यस्तै शहरी विकास मन्त्रालयको ८० करोड ५१ लाख, परराष्ट्र मन्त्रालयको ७४ करोड ३४ लाख, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको ६५ करोड २६ लाख, गृह मन्त्रालयको ५७ करोड ७२ लाख र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ५२ करोड ४३ लाख रुपैयाँ बराबर बेरुजु कायम भएको छ ।

बडिमालिकामा बढ्दै धार्मिक पर्यटक

बाजुरा: धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा पछिल्लो समय आन्तरिक तथा धार्मिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ। विशेषगरी प्रधानमन्त्री  बालेन शाहले चुनावी प्रचारका क्रममा “स्विजरल्याण्डको बाउ बडिमालिका यहीँ छ” भन्ने अभिव्यक्ति दिएपछि यस क्षेत्रको चर्चा थप चुलिएको हो।

स्थानीय पथप्रदर्शक नरबहादुर रावलका अनुसार प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि बडिमालिका पुग्ने धार्मिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ। सरकारले सार्वजनिक गरेको १०० कार्यसूचीभित्र पनि बडिमालिकालाई समेटिएपछि यसको प्रचारप्रसार अझ व्यापक बनेको छ।
समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा अवस्थित बडिमालिका क्षेत्र प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र जैविक विविधताले भरिपूर्ण मानिन्छ। बडिमालिका नगरपालिकाका नगरप्रमुख अम्मरबहादुर खड्काले पछिल्ला दिनमा यहाँ आउने पर्यटक तथा तीर्थयात्रीको संख्या निरन्तर बढिरहेको बताए।

उनका अनुसार विगतमा जनैपूर्णिमाको अवसरमा मात्रै ठूलो संख्यामा भक्तजन आउने गरे पनि अहिले वर्षभर नै तीर्थयात्रीहरू पुग्न थालेका छन्। बडिमालिकाको दर्शनले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।

यहाँको त्रिवेणी क्षेत्र, २२ पाटन, विष्णुपानी, धर्मद्वार तथा रङ्गीचङ्गी फूलले ढाकिएका फाँट पर्यटकका प्रमुख आकर्षण हुन्। स्थानीय किंवदन्ती अनुसार भगवती र मैसासुरबीच युद्ध भइरहेका बेला रोपिएको धान खेतिबेती क्षेत्रमा अझै रहेको विश्वास गरिन्छ।
बडिमालिका क्षेत्रमा डाँफे, मुनाल, कस्तुरी लगायत दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छन्। साथै यहाँबाट मनोरम हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिने भएकाले यो क्षेत्र धार्मिकसँगै प्राकृतिक पर्यटनको पनि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ।

टीकापुरमा सहरी स्वास्थ्य प्रवर्द्धन तथा सिकलसेल केन्द्र सञ्चालन

टीकापुर: कैलालीको टीकापुरमा आजदेखि सहरी स्वास्थ्य प्रवद्र्धन तथा सिकलसेल केन्द्र सञ्चालन भएको छ। केन्द्रमा मेडिकल अधिकृत अभिनन्दन शाहको नेतृत्वमा आठ जना स्वास्थ्यकर्मीले सेवा दिनेछन्।

केन्द्रबाट विशेषज्ञबाट दैनिक बिरामी जाँच, परामर्श, ल्याब, फार्मेसीलगायत आधारभूत सबै सेवा उपलब्ध हुनेछन्। यहाँबाट सिकलसेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइनेछ। सेवा सुरु भएपछि कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले यहाँबाट सेवा लिन बिरामीलाई सहज हुने बताउँदै कर्मचारीलाई मुस्कानसहितको सेवा दिन अनुरोध गरे।

प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले एक वर्षको तयारीपछि सेवा सुरु भएको बताउँदै सिकलसेल उपचारलाई प्राथमिकता दिन र निम्न वर्गका मानिसलाई आधारभूत सेवामा सहज पहुँच पुर्‍याइने बताए। “लोककल्याणकारी राज्यको अवधारणाअनुसार सेवा सुरु गरिएको हो”, उनले भने, “यहाँबाट ल्याब, सहुलियत दरमा औषधि उपलब्धलगायत सेवा थालिएको छ । यसले टीकापुर अस्पतालमा बिरामीको चाप घटाउन पनि सहयोग हुनेछ।”

वडा नं १ का वडाध्यक्ष मोहन लुहार विकले थारु जातिमा सिकलसेलको समस्या बढ्दै गएकाले उपचारात्मक र प्रवद्र्धनात्मक हिसाबले उपचार र परामर्श दिन, रोग लाग्नबाट बच्न सचेतना जगाउन सहयोग हुने बताए। “सिकलसेलको समस्या विशेष गरी थारु जातिमा देखिएको छ”, उनले भने, “यहाँ कैलालीका अन्य पालिका र लुम्बिनी प्रदेशका नागरिकले पनि सेवा लिन सक्नेछन्।”

नेप्से घट्ने क्रममा ब्रेक, कारोबार ३ अर्बमा सिमित

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको बजार आज १.७७ अंकले बढेको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७३१.९४ विन्दुमा पुगेको छ । आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको सेयर मूल्य घटेको छ । आज २२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.३४ अंकले बढेर ४६७.५५ विन्दुमा पुगको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको मूल्य बढेको छ भने ५ वटाको घटेको छ । परिसूचक बढेको दिन कारोबार रकममा भने गिरावट आएको छ ।

आज सेयर बजारमा ३३८ कम्पनीका ७९ लाख ३४ हजार ४४४ कित्ता सेयर ४३ हजार ६७४ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ रुपैयाँको कारोबार भएको छ ।

नीति तथा कार्यक्रम पास भएपछि प्रधानमन्त्रीले बोलाए अर्थमन्त्रीलाई

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनले पारित गरिसकेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह आफैंले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित भए पनि बिहीबार प्रतिनिधि सभाले सर्वसम्मत पारित गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि बीचमै उठेर हिँडेका उनी त्यसपछिका छलफलमा कुनै दिन संसद् गएनन्।

वालेन्द्रले संसद्लाई बेवास्ता गरे पनि नीति तथा कार्यक्रम बिहीबार पारित भएसँगै अब बजेट ल्याउने बाटो खुलेको छ।

यसबीचमा बिहीबार नीति तथा कार्यक्रम पारित भएसँगै शुक्रबार प्रधानमन्त्री शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेट भएको छ।

नीति तथा कार्यक्रममाथि जवाफ दिएका वाग्लेलाई बालेनले भेटका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएका हुन् ।

अत्तरियामा कोल्ड स्टोर अलपत्र

अत्तरिया: निर्माण सुरु भएको २०७४ सालदेखि अलपत्र अवस्थामा रहेको अत्तरियाको कृषि उपज थोक बजारमा निर्माणाधीन कोल्ड स्टोर सञ्चालनमा नआउँदै जीर्ण बनेको छ।

संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण सुरु गरिएको कोल्ड स्टोर लामो समयसम्म ट्रस्टमै सीमित रहँदा संरचना नै कमजोर बन्दै गएको हो। पछि प्रदेश सरकारले ९२ लाख रुपैयाँ खर्चेर उपकरण जडान गरे पनि आवश्यक काम पूरा नभएकाले कोल्ड स्टोर अझै सञ्चालनमा आउन सकेको छैन। चालु आर्थिक वर्षमा समेत ९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

तर हाल कोल्ड स्टोरमा चुहावट देखिनुका साथै ल्याब र प्यानलहरू समेत जीर्ण भइसकेका छन्। कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष डिल्ली राज जोशीका अनुसार उपलब्ध बजेटले सञ्चालन सम्भव छैन। उनका अनुसार धमिराले प्यानल क्षति पुर्‍याएको र दोस्रो तलाको च्यानल तथा प्यानल फेर्नुपर्ने अवस्था छ।

यसैबीच कृषि विकास निर्देशनालय डोटीले प्राविधिक टोलीमार्फत आवश्यक संरचनाको अध्ययन गरिरहेको जनाएको छ। कृषि इन्जिनियर कोष राज बुढाका अनुसार प्राविधिक रिपोर्ट आएपछि मात्र आवश्यक सामग्री र लागतको स्पष्ट अनुमान हुने र त्यसपछि मात्र सञ्चालन प्रक्रिया अघि बढ्नेछ।

२०७४ सालमा करिब ९ लाख रुपैयाँ लागतमा फाउन्डेसन निर्माण गरिएको उक्त कोल्ड स्टोर पछि ३ सय मेट्रिक टन क्षमताको संरचना निर्माणका लागि ठेक्का सम्झौता गरिएको थियो। तर फाउन्डेसन र संरचनाबीच असन्तुलन, सामग्रीको कमी तथा निर्माण ढिलाइका कारण परियोजना अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।

चालु बजेट पनि अपुग भएको भन्दै सरोकारवालाहरूले थप बजेट र छिटो सञ्चालनका लागि दबाब दिइरहेका छन्। तर समयमै काम सम्पन्न नभए परियोजना पुनः अलपत्र पर्ने जोखिम देखिएको छ।

यो वर्षको मनसुनमा २ लाख जनसंख्या प्रभावित हुने आंकलन, कुन प्रदेशमा कति जोखिम ?

काठमाडौं ।  सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख भन्दा बढी जनसंख्या प्रभावित हुने आकलन गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको हो ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ स्वीकृत समेत गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने आकलन गरेको छ ।

प्राधिकरणका अनुसार यस वर्ष मनसुन सुरुको अवधिमा देशभर सरदरभन्दा कम वर्षा रहने सम्भावना विगतको तुलनामा कम रहेको भएता पनि सरदर तापक्रम वृद्धि हुनसक्ने आकलन छ । यो अवस्थाले केही उच्च हिमाली स्थानहरूमा हिमताल विष्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुजन्य विपद्को जोखिम अधिक हुने सम्भावना छ  ।

त्यसैगरी उक्त अवधिमा दैनिक तापक्रममा वृद्धि हुने सम्भावना अधिक रहने आकलनले देशको दक्षिणी तराई भू–भागमा सर्वसाधारण अत्याधिक गर्मी वा तातो हावाको लहर (लु) बाट समेत प्रभावित हुने अनुमान छ । यस वर्षको मनसुनको पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मनसुन मौसमसँग मिल्दोजुल्दो देखिन्छ । ‘समग्रमा यस वर्षको मनसुन अवधिमा मनसुजन्य विपद्बाट देशभर करीब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ । ‘एक हजारदेखि चार हजार घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जुन सबैभन्दा खराब अवस्थाको परिदृश्यको करीब १० प्रतिशत बराबर हो,’ प्राधिकरणले भनेको छ ।

लुम्बिनी प्रदेश बढी प्रभावित हुने अनुमान

विपद् प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ मा उल्लेख भएअनुसार यस वर्षको मनसुन अवधिमा सबैभन्दा बढी प्रभावित लुम्बिनी प्रदेश हुने देखिन्छ । लुम्बिनीमा ११ हजार ८१४ घरधुरीका ५१ हजार ६२६ जना यस वर्षको मनसुनजन्य विपदबाट प्रभावित हुने आकलन छ ।

कोशी प्रदेशमा ८ हजार ८६४ घर परिवारका ३८ हजार ७३६ जना, मधेशमा ८ हजार ९२ घरधुरीका ३५ हजार ३६१ जना र बागमतीमा ७ हजार ५२८ घरधुरीका ३२ हजार ८९७ जना प्रभावित हुने अनुमान छ । यसैगरी गण्डकीमा ४ हजार ९५२ घर परिवारका २१ हजार ६४१ जना, कर्णालीमा ३ हजार १५ घर परिवारका १३ हजार १७५ जना र सुदूरपश्चिममा ७ हजार ६०३ घर परिवारका ३३ हजार २२७ जना मनसुन अवधिमा प्रधावित हुने विपद् प्राधिकरणको आकलन छ ।

विगत १० वर्षको अवधिमा मनसुनजन्य विपदबाट ३ हजार ७४ जनाको ज्यान गएको र ५०२ जना बेपत्ता भएको तथ्यांक छ । पहिरोबाट सबैभन्दा धेरै १ हजार ४८३ जनाको मृत्यु भएको छ । चट्याङबाट ८०५, बाढीबाट ६७८ र भारी वर्षाबाट १०८ जनाको ज्यान गएको छ । यस वर्ष पनि यस्तै प्राकृतिक विपदबाट जनधनको क्षति हुनसक्ने भएकाले विपद् प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यका लागि विभिन्न मन्त्रालयहरुलाई जिम्मेवारी बाँडफाँट गरेको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए ।

समग्र नेतृत्व र समन्वय प्राधिकरणले गर्ने छ भने बन्दोबस्तीसहित खोज, उद्धार तथा राहत लगायतका कामको जिम्मा गृह र रक्षा मन्त्रालयले लिएका छन् । संघीय मामिला मन्त्रालयले शीघ्र पुनर्लाभको जिम्मेवारी दिइएको छ । यस अन्तर्गत विपद् प्रतिकार्यको अवधिमा स्थानीय तहहरुलाई मन्त्रालयले आवश्यक सहजीकरण र समन्वय गर्ने छ ।

रास्वपा महाधिवेशनः २ महिना अघि नै निर्विकल्प रवि

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी ७ देखि ९ असारमा हुदैछ । चितवनमा हुने सो महाधिवेशनबाट नयाँ नेतृत्वसहित पार्टीलाई थप बलियो बनाउदै अगाडी बढने रणनीतिमा नेताहरु छन् ।

पार्टी स्थापनाको चार बर्ष नपुग्दै हुन लागेको महाधिवेशनबाट पार्टी सभापति को हुने चर्चाको बिषय बनेको छ । अहिले पार्टी सभापति रवि लामिछाने र सरकारको नेतृत्व वरिष्ठ नेता वालेन्द्र शाह (वालेन)ले गरिरहेका छन् ।

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन अघि लामिछाने र शाहका बीचमा भएको सहमती अनुसार पार्टीको नेतृत्व रवि र सरकारको नेतृत्व वालेनले गर्ने भएको थियो । सोही सहमती महाधिवेशनबाट पनि अनुमोदन हुन्छ की पार्टी नेतृत्व फेरिन्छ भन्ने निर्णय २ हजार ५ सय भन्दा बढी महाधिवेशन प्रतिनिधिले चितवनमा गर्ने छन् ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीमा विकल्प भए पनि सभापति रवि लामिछाने नै अहिलेको आवश्यकता भएको बताए । ‘सभापतिमा त रवि लामिछानेज्यू नै हुनुहुन्छ । विकल्पहरु त किन नहुने पार्टीमा नेताहरु भई नै हाल्नुहुन्छ । यदि पार्टी बलियो र एकढिका छ भने देशलाई निकास दिनसक्छ । यसमा नेताहरु कोको हुने भन्ने हानथाप गर्ने भन्दा पनि पार्टी एकढिका छ भने देशलाई निकास दिनसक्छ, देशलाई निकास दिनका लागि हामीले पार्टी खोलेर आएको कारणले गर्दा निकास दिनेगरी पार्टी निर्माण गर्छौ,’ रास्वपा महामन्त्री बुर्लाकोटीले भने ।

महामन्त्री बुर्लाकोटीले भने जस्तै रास्वपाको आगामी महाधिवेशनबाट पनि सभापतिमा लामिछाने नै दोहिरिने प्रायः निश्चित जस्तै छ । तर महाधिवेशनबाट वरिष्ठ नेता वालेन शाहसहित अन्य नेताहरुले सभापति हुने चाहना राखे के हुन्छ ? कतिपय नेताहरुले वालेन सभापति आफै नभई अरु नेतालाई नै अघि सार्न सक्ने सम्भावना पनि रहेको आशंका गरिरहेका छन् ।

सरकारको नेतृत्व गरिरहेका शाहले आफूले चाहे अनुसारका नेतालाई पार्टी सभापति बनाउन खोजेका छन् । भारतीय जनता पार्टी (विजेपी)को सभापति कहिल्यै नभएका तर तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू अनुकुलका सभापति बनाउदै आइरहेका छन् । सोही अनुसार शाहले रास्वपा सभापति पनि आफू अनुकुलका नेतालाई अघि सार्नसक्ने सम्भावना रहेको दावी गरिएको छ ।

रास्वपाले गरेको निर्णय अनुसार २ जेठमा वडा भेला (समिति गठन नभएका वडाहरूमा), ३ जेठमा वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा), ९ जेठमा पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा), १० जेठमा पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका), १६ जेठमा वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा), १७ जेठमा पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका) र २३ र २४ जेठमा जिल्ला अधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ ।

यसैगरी, बुधबार बसेको केन्द्रीय समिति बैठकले २६ जेठ देखी १ असारसम्ममा सात वटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । नेता प्रकाशचन्द्र परियारका अनुसार २६ जेठमा बागमती प्रदेश, २७ जेठमा कोशी प्रदेश, २८ गते मधेस प्रदेश, २९ गते गण्डकी प्रदेश, ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र १ असारमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुनेछ । त्यसपछि राष्ट्रिय महाधिवेशन चितवनमा हुने कार्यतालिका रास्वपाको छ ।

रास्वपाको विधान २०७९ (संशोधन २०८१)को धारा २३ मा महाधिवेशन प्रतिनिधिहरूको व्याख्या भए अनुसार केन्द्रीय समिति, केन्द्रीय सल्लाहकार परिषद्, तीन वटा केन्द्रीय निकाय, केन्द्रीय विभागका प्रमुख सहित कम्तीमा ३३ जना महिला सहभागी हुनेगरी ११ जना, प्रदेश समिति, प्रादेशिक निकाय र विभागका पदाधिकारी महाधिवेशनमा सहभागी हुनेछन् ।

यसैगरी प्रदेश–काठमाडौँ सम्पर्क विभागका प्रमुखसहित (एक जना महिला) तीन जना, जिल्ला समिति सभापति (एक महिला सहित) पाँच जना, जिल्ला–काठमाडौँ विभागका प्रमुख, निर्वाचन क्षेत्रका संयोजक र सहसंयोजक प्रतिनिधि हुनेछन् ।

यस्तै प्रवास विभाग अन्तर्गत विभिन्न देशमा रहेका प्रवास नेपाली सम्पर्क विभाग तथा त्यसका शाखा समेतबाट प्रतिनिधित्व हुनेगरी प्रमुखसहित विभागको नियमावली बमोजिम अधिकतम ११ जना, पालिका सभापति एक सहभागी हुने व्यवस्था छ ।

पालिका अधिवेशनले छनोट गर्ने प्रतिनिधिहरूमा २०१ भन्दा बढी पार्टी सदस्य भएका पालिकाबाट १ जना, ४०१ भन्दा बढी सदस्य भएका नगरपालिकाबाट २ जना, ५०१ भन्दा बढी सदस्य भएको उपमहानगरपालिकाबाट ३ जना र ७०१ भन्दा बढी पार्टी सदस्य भएका महानगरपालिकाबाट ४ जना प्रतिनिधि सहभागी रहने व्यवस्था छ ।

पार्टीको तर्फबाट प्रतिनिधि सभा, प्रदेश सभामा निर्वाचित प्रतिनिधिहरू, पार्टीको तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुखहरू प्रतिनिधि बन्न सक्ने व्यवस्था छ । तर विधान संशोधन हुँदा केही संख्या तलमाथि हुने भए पनि प्रक्रिया एउटै हुनेछ । पार्टी एकताको भावना अनुसार सबैलाई समेट्नुपर्ने हुँदा केन्द्रीय समिति र पदाधिकारीको आकार थोरै बढ्न सक्ने बताइन्छ ।

मौजुदा केन्द्रीय समितिमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष सहित १२९ सदस्यीय केन्द्रीय सदस्य छन् । रास्वपाको केन्द्रीय समितिमा सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था छ । गत २० वैशाखमा बसेको रास्वपाको सचिवालय बैठकले सचिवालय विस्तार गरी १६ सदस्यीय बनाएको छ ।

महाधिवेशन व्यवस्थित रूपमा सञ्चालन गर्न महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वको समितिले बनाएको महाधिवेशन कार्यविधि, २०८३ लाई बैठकले अनुमोदन गरेको छ । अर्का महामन्त्री भूपदेव शाहको संयोजकत्वमा बनेको एकता समायोजन समिति र सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिलाई १० जेठसम्म मस्यौदा पेस गर्न निर्देशन दिएको छ । पार्टीको ऐतिहासिक प्रथम महाधिवेशन भएकाले भव्य र प्रविधिको भरपुर प्रयोग हुने रास्वपाले जनाएको छ ।

खोज्नुहोस