मुख छोपेर विपक्षी खेलाडीलाई केही भन्दा इक्वेइडरका खेलाडीलाई रातो कार्ड
एजेन्सी : मौसमका कारण केही समय ढिलाइ भएको खेलमा मेक्सिकोले इक्वेडरलाई सहजै पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान पक्का गरेको छ। एज्डेका स्टेडियममा भएको यस खेलमा मेक्सिकोले पूर्ण नियन्त्रण कायम गर्दै २-० गोलको जित निकाल्यो।
दोस्रो हाफमा इक्वेडरले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। खेलको अन्त्यतिर इक्वेडरका पिएरो हिकापिएले रातो कार्ड खाएपछि टोली झनै निराश बन्यो।
विपक्षी खेलाडीसँग मुख छोपेर केही भनेका कारण उनलाई रातो कार्ड दिइएको थियो। यस विश्वकपमा यो अनौठो नियमका कारण रातो कार्ड पाउने उनी दोस्रो खेलाडी हुन्।
विपक्षी खेलाडीलाई मुख छोपेर गाली गरेको अवस्थामा रातो कार्ड पाउने नियम फिफाले यसै संस्करणदेखि लागू गरेको यो।
मुख छोपेर गाली गरेको अवस्थामा यसअघि कुनै अन्जाद लगाउन गाह्रो पर्थ्यो। मुख छोपेर जे पनि बोल्न सक्ने कुरालाई निरुत्साहित गर्न फिफाले यो नियम ल्याएको हो।
यसअघि समूह चरणमा पाराग्वेका मिग्युल अलमिरोनले पनि टर्कीविरूद्धको खेलमा यस्तै अवस्थामा रातो कार्ड पाएका थिए।
खेलको पहिलो हाफमै जुलियन क्विनोनेस र राउल जिमेनेजले गोल गरेपछि आयोजक मेक्सिकोले बलियो अग्रता लिएको थियो। दोस्रो हाफमा मेक्सिकोले संयमित खेल प्रदर्शन गर्दै इक्वेडरलाई कुनै मौका दिएन।
प्रशिक्षक जाभियर एगिरेको टोलीले अब अन्तिम १६ को खेल पनि मेक्सिको सिटीमै खेल्ने फाइदा पाउनेछ। त्यहाँ उनीहरूले आइतबार राति इंग्ल्याण्ड वा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन्।
मेक्सिकोको राजधानीमा आएको भीषण आँधीबेहरी र मेघगर्जनका कारण खेल निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो। तर खेल सुरु भएपछि मेक्सिकोले ‘हुरी’ जस्तै आक्रामक सुरुवात गर्यो, जसलाई इक्वेडरका खेलाडीहरूले रोक्न सकेनन्।
मेक्सिकोले खेलको सुरुवाती १० मिनेटमै गोलका चारवटा अवसर सिर्जना गरेको थियो। सन् १९६६ को विश्वकप यता मेक्सिकोले खेलको सुरुवातमा यति धेरै अवसर बनाएको यो पहिलो पटक हो।
खेलको पहिलो गोल जुलियन क्विनोनेसले गरे। कोलम्बियामा जन्मिएका यी विङ्गरले मैदानको बायाँ भागबाट बल लाँदै डि-बक्स भित्रबाट गोलकिपरलाई कुनै मौका नदिई उत्कृष्ट गोल गरे। यो उनको यस प्रतियोगिताको तेस्रो गोल हो। त्यसको केही समयपछि क्विनोनेसकै पासमा ‘वुल्भ्स’ का चर्चित फरवार्ड राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए। इक्वेडरका डिफेन्डर जोएल ओर्डोनेजको गल्तीलाई जिमेनेजले गोलमा परिणत गरिदिएका थिए।
