जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं । उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले सो भूकम्पका कारण तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पपछि तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन दिइएको छ ।

भूकम्प स्थानीय समय अनुसार, साँझ ४:५३ बजे (०७५३ जिएमटी) इवाटे प्रान्तको प्रशान्त महासागर क्षेत्रको तटीय भागमा केन्द्रित भएर गएको हो । भूकम्पको धक्का सयौँ किलोमिटर टाढा टोकियोसम्म महसुस गरिएको थियो ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार प्रारम्भिक सुनामी छालहरू उत्तरी तटीय क्षेत्रमा छिट्टै आइपुग्न सक्ने जोखिम रहेको छ । यस कारण तटीय तथा नदी किनारका बासिन्दालाई तत्काल उच्च भूभाग वा सुरक्षित निकासी भवनहरूमा जान आग्रह गरिएको छ ।

एजेन्सीले सुनामी छाल बारम्बार आउन सक्ने सम्भावना रहेको भन्दै चेतावनी पूर्ण रूपमा नहटाइएसम्म सुरक्षित स्थान नछोड्न आग्रह गरेको छ । यसले सम्भावित क्षतिबाट जोगिन सतर्क रहनुपर्नेमा जोड दिएको छ ।

जापानको प्रधानमन्त्री कार्यालयले पनि आपतकालीन अवस्था व्यवस्थापन गर्न संकट व्यवस्थापन टोली गठन गरेको जनाएको छ । अधिकारीहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएका छन् ।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वकै सबैभन्दा भूकम्पीय जोखिमयुक्त देशमध्ये एक मानिन्छ । चार प्रमुख टेक्टोनिक प्लेटको संगममा रहेको यस द्वीप राष्ट्रमा बारम्बार भूकम्प जाने गर्छ ।

करिब १२ करोड ५० लाख जनसङ्ख्या रहेको जापानमा वार्षिक औसत करिब एक हजार ५०० भूकम्पीय धक्का महसुस गरिन्छ, जसले विश्वका कुल भूकम्पमध्ये करिब १८ प्रतिशत हिस्सा ओगट्छ । यद्यपि धेरैजसो भूकम्प हल्का प्रकृतिका हुने भए पनि भूकम्पको गहिराइ र स्थानका आधारमा क्षतिको स्तर फरक पर्ने गर्छ ।

यसअघि सन् २०११ मा जापानमा ९.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसले विनाशकारी सुनामी निम्त्याउँदै करिब १८ हजार ५०० मानिसको मृत्यु वा बेपत्ता भएको थियो । त्यस घटनाले जापानको तटीय सुरक्षा र विपद् व्यवस्थापन प्रणालीमा दीर्घकालीन प्रभाव पारेको थियो ।

हालको भूकम्पपछि पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । रासस/एएफपी

महामन्त्री भूपदेव शाहलाई बनाउने रास्वपाको तयारी

 काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरेको स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

‘उहाँ (भूपदेव शाह) लाई महामन्त्रीको रुपमा बैठकमा प्रस्ताव पेश हुने कार्यसूची छ,’ स्रोतले भन्यो, ‘आजकै बैठकले उक्त प्रस्ताव पारित पनि गर्नेछ ।’

काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए ।

यसअघि भएको सहमति अनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए । लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउन लागिएको स्रोतले बतायो ।

प्रमुख स्वकीय सचिव भएर काम गरेका उनी बालेनका निकट पात्र मानिन्छन् । रास्वपासँग एकीकरणको प्रक्रियाका क्रममा उनी पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।

पछिल्लोपटक फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि उनी निर्वाचनमा भने पराजित भएका थिए ।

परराष्ट्र मन्त्री खनाल र फ्रान्सेली राजदूत कोर्तेवालबीच भेटवार्ता

काठ्माण्डौ- परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्तेवालबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल-फ्रान्स सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको छ।

मन्त्रालयका अनुसार विशेषगरी पर्यटन, लगानी तथा जलवायु परिवर्तन र हिमाली पर्यावरणका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल केन्द्रित थियो।

हल्ला धेरै छन्, तर तथ्य बुझ्न जरुरी छ : गृहमन्त्री गुरुङ

काठ्माण्डौ- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर पछिल्ला दिनमा भइरहेको चर्चाबारे स्पष्ट पार्दै तथ्यभन्दा हल्ला बढी फैलिएको बताएका छन्। उनले सामाजिक संजालमार्फत यस्तो बताएका हुन्।

‘पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन्। विषय अलि जटिल ढंगले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ।,’ उनले लेखेका छन्।

उनका अनुसार ‘२५ लाखको सेयर लुकाइएको’ भन्ने आरोप तथ्यपरक नभई वर्गीकरणसम्बन्धी विषय हो। धितोपत्र बजारमा कारोबार हुने सेयरअन्तर्गत २ करोड रुपैयाँभन्दा बढी लगानी सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरिएको उनले जनाएका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको उनको भनाइ छ।

‘२५ लाखको सेयर लुकाइएको’ भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो।,’ उनले लेखे।

लुकाउने उद्देश्य भएको व्यक्तिले खुला रूपमा ठूलो रकमको सम्पत्ति नदेखाउने उनको दाबी छ।

मन्त्री हुनुअघि सेयर खरिद गरिएको विषयमा उनले सेयरमा लगानी गर्नु अपराध नभएको जिकिर गरे। सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको उल्लेख गर्दै उनले पैसाको स्रोत, समय र गन्तव्य सबै अभिलेखमा देखिने बताएका छन्।

”मन्त्री हुनुअघि सेयर किनियो’ भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो? सम्पूर्ण कारोबार बै‌ंकिङ च्यानलमार्फत भएको छ। बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ। कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ। यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?,’ उनको प्रश्न छ।

लगानीको स्रोतबारे उनले २०८० भदौ २९ गतेको लिखित तमसुकअनुसार ऋण (कर्जा) मार्फत रकम जुटाइएको र सोही रकम बैंकिङ च्यानलमार्फत लगानीमा प्रयोग गरिएको स्पष्ट पारे। “पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,” उनले उल्लेख गरेका छन्।

”विवादित व्यक्तिसँग साझेदारी’ सम्बन्धी आरोपबारे उनले एउटै कम्पनीमा सयौँदेखि हजारौँ सेयरधनी रहने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु सरह नहुने बताए। एउटै कम्पनीमा विभिन्न संस्था र व्यक्तिहरूको लगानी रहने तथ्यलाई आधार मान्दा सबैलाई एउटै रूपमा दोषी ठहर गर्न नसकिने उनको तर्क छ।

सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी आरोपमा उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई सम्पत्ति शुद्धिकरण विभाग रहेको र सोही निकायले प्रक्रिया अघि बढाइरहेको जानकारी दिए। ‘यदि हस्तक्षेप भएको भए प्रक्रिया अघि बढ्ने थिएन,’ उनले भने।

लगानी गर्दा पृष्ठभूमि नजाँची निर्णय गरिएको भन्ने टिप्पणीबारे उनले व्यापारिक लगानीमा जोखिम रहने र भविष्यका सबै अवस्था पहिल्यै थाहा नहुने बताए। पछि भएका घटनालाई आधार बनाएर अघिको निर्णयलाई दोष दिनु तथ्यभन्दा व्याख्या मात्र हुने गृहमन्त्री गुरुङको भनाइ छ।

”पृष्ठभूमि नजाँची लगानी’ भन्ने कुरा पनि उठाइएको छ। व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा हुँदैन। हरेक लगानीमा जोखिम हुन्छ। पछि भएको घटनालाई अघि गरेको निर्णयको दोष बनाउनु, यो तथ्य होइन, सुविधा अनुसारको व्याख्या हो। ‘प्रतिक्रिया नदिनु’लाई पनि प्रश्न बनाइएको छ। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त हुँदैन।,’ उनले थपे, ‘हल्ला छिटो फैलिन्छ, तर सत्य प्रमाणसहित मात्र आउँछ।’

गृहमन्त्रीको प्रश्न– यो देशमा सेयरमा लगानी कहिलेदेखि अपराध भयो ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूविरुद्धका आरोपका विषयमा स्पष्टीकरण दिएका छन् । व्यवसायी दीपक भट्टसँग नाम जोडेर सेयर किनेको भन्ने समाचारका विषयमा सोमबार (वैशाख ७) सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन् ।

“२५ लाखको सेयर लुकाइएको भनिएको छ । वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन् । मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर दुई करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ,” उनले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, “स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो । यो लुकाउने होइन, वर्गीकरणको विषय हो । सिधा कुरा, लुकाउने मान्छेले खुला रूपमा दुई करोडभन्दा बढी सम्पत्ति देखाउँदैन । ‘मन्त्री हुनुअघि सेयर किनियो’ भनिएको छ । यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ? सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको छ ।”

मैले सेयर किन्न प्रयोग गरेको रकम ऋणको हो : गृहमन्त्री गुरूङ

गृहमन्त्री सुधन गुरूङले आफूमाथि उठेको लगानीको स्रोतबारे स्पष्टीकरण दिएका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकबाट उनले आफ्नो दुई करोड ७५ लाख शेयर कारोबारबारे उठेको प्रश्नको जबाफ दिएका हुन्।

‘स्रोतको कुरा- मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो, र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो, जुन रेकर्डमा नै छ। उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो,’ उनले लेखेका छन्।

उनले पैसा कहाँबाट आयो भन्नेकुरा बैंकको रेकर्ड र कागजातबाट देखिने पनि बताए।

त्यसैगरी उनले अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका दीपक भट्टसँगको व्यवसायिक साझेदारीबारे पनि खुलाएका छन्। उनले सेयर किन्दैमा साझेदारी नहुने बताए।

यूएईविरुद्धको टी–२० शृखंला : पहिलो खेल खेल्दै नेपाल

काठमाडौं । नेपालले सोमबार युनाईटेड अरब इमिरेट्स (यूएई)विरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृखंलाको पहिलो खेल खेल्दै छ । खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा हुनेछन् ।

एसोसिएट क्रिकेटको ‘एल–क्लासिको’ मानिने यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा साँझ ५ बजे हुनेछ । यो त्रिवि क्रिकेट रंगशालामा फ्ल्डलाइटमा हुने पहिलो टी–२० शृखंलासमेत हो ।

नेपाल र यूएईले दुई वर्षपछि रंगशालामा टी–२० खेल्न लागेका हुन् । यसअघि यी दुईले सन् २०२३ मा रंगशालामै त्रिदेशीय टी–२० शृखंला खेलेका थिए । यो खेल नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लको पहिलो घरेलु खेलसमेत हो ।

शृखंलाको निम्ति क्यानले यसअघि नै तीन रिजर्भ खेलाडीसहित कप्तान दीपेन्द्र सिंह ऐरिको कप्तानी १८ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिसकेको छ ।

शृखंलाको दोस्रो खेल भोलि त्रिवि क्रिकेट रंगशालामै हुनेछ ।

शृखंलापछि नेपालले यूएई र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दुवै टोलीसँग समान दुई खेल खेल्ने तालिका छ ।

गृहमन्त्रीमाथि तत्काल उच्चस्तरीय छानबिन थालियोस्- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा साझेदारी भेटिएपछि छानबिनको माग गरेको छ।

प्रवक्ता देवराज चालिसेले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ। अतः नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्।’

यो विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउने उल्लेख छ।

कांग्रेसले कांग्रेस केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकबाटै मन्त्रीहरूको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रूपमा उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने स्पष्ट निर्णय गरिसकेको जानकारी समेत गराएका छन्।

null

अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा

काठमाण्डाै- अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर काठमाण्डाै आइपुगेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री कपुर तीन दिने नेपाल भ्रमणका लागि आज काठमाण्डाै आइपुगेका हुन् ।

उनले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारी, व्यावसायिक नेतृत्वकर्ता र सांस्कृतिक विज्ञहरूसँग भेटघाट गर्नुहुने काठमाण्डाैमा रहेकाे अमेरिकी दूतावासले जनाएको छ ।

बालेन्द्र (बालेन) शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय अमेरिकी भ्रमण हो ।

 

राप्रपाको अनुशासन समितिको बैठक आज

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिको बैठक बस्ने भएको छ। आज (सोमबार) दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाएको राप्रपाले जनाएको छ।

बैठकमा पार्टीभित्रको आन्तरिक अनुशासनका विषयमा छलफल गरी आवश्यक निर्णय हुने नेताहरुले बताएका छन्। पार्टीभित्र विवाद बढिरहेको बेला बस्न लागेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो समय पार्टीभित्रको इतर समूहले अध्यक्ष राजेन्द्र लिङ्दनको कार्यशैलीलाई लिएर प्रश्न उठाउँदै आएका छन्।

विशेषगरी महामन्त्री धवलशमशेर राणाले जेठभित्र महाधिवेशन नभए पार्टी समाप्त हुने चेतावनी दिएपछि बस्न लागेको यो बैठकलाई महत्वपूर्ण मानिएको छ।

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

काठ्माण्डौ- सूचना प्रविधि विभागले सरकारी ‘वेबसाइट’हरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ ।

सरकारी एकीकृत बेवसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस कार्यले विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए ।

विभागका अनुसार अब सरकारी वेबसाइटहरू ‘किबोर्ड’को प्रयोगबाट मात्र पनि सहज रूपमा सञ्चालन गर्न सकिनेछ । यसअन्तर्गत प्रयोगकर्ताले ‘माउस’ प्रयोग नगरीकनै वेबसाइटको सम्पूर्ण भागमा पहुँच पाउन सक्नेछन् । साथै, ‘स्किप नेभिगेसन’ लिङ्कको व्यवस्था गरिएकाले किबोर्ड तथा ‘स्क्रिन रिडर’ प्रयोग गर्ने व्यक्तिहरूले सबै नेभिगेसन सामग्री छोडेर सिधै मुख्य विषयवस्तुमा जान सक्ने सुविधा प्राप्त गर्नेछन् ।

वेबसाइटमा राखिएका सबै महत्वपूर्ण तस्बिर, लोगो, चिह्न तथा सेवासम्बन्धी तस्बिरहरूमा ‘अल्ट टेक्स्ट’ राखिएको विभागले जनाएको छ । जसले स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्री बुझ्न सहज बनाउनेछ ।

त्यस्तै, फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू पनि अब सजिलै सुन्न र बुझ्न सकिने गरी तयार पारिएको छ ।

सर्च, सम्पर्क फारामजस्ता सबै ‘इनपुट’ क्षेत्रमा स्पष्ट नाम र चिह्न राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई सजिलै प्रयोग गर्न मद्दत पुर्याउने विभागले जनाएको छ । त्यस्तै, किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्र आफू कुन स्थानमा छु भन्ने कुरा स्पष्ट देखिने गरी दृश्य सङ्केतहरू पनि समावेश गरिएको छ ।

यसैगरी, फाराम पेस गरेपछि प्राप्त हुने सन्देशहरू पनि स्क्रिन रिडर प्रयोगकर्ताले सजिलै थाहा पाउने गरी व्यवस्था गरिएको छ । यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि प्रत्यक्ष रूपमा धेरै देखिने परिवर्तन नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि भने अत्यन्त उपयोगी हुने विभागको भनाइ छ ।

यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा ‘डिजिटल’ सेवामा पहुँच पुर्याउने लक्ष्यलाई थप मजबुत बनाउने विश्वास गरिएको महानिर्देशक साहले बताए । साथै, यसले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

तीन दिनसम्म गर्मी बढ्ने अनुमान

काठमाण्डौ- आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा अबको तीन दिनसम्म तातो दिन रहने सम्भावना छ ।

पछिल्ला केही दिनयता तापक्रम बढ्दै गएको छ । महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्दै आएको छ । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मी महसुस हुने महाशाखाको अनुमान छ । देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहे पनि धेरै ठाउँमा गर्मी बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले पर्याप्त पानी पिउन, हल्का र उज्यालो रङका कपडा लगाउन, घाममा निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा बालबालिका, सुत्केरी, वृद्ध र बिरामीहरूको विशेष हेरचाह गर्न सुझाव दिएको छ । लामो समय घाममा काम गर्नुपरेमा बीच–बीचमा आराम गर्न पनि आग्रह गरिएको छ ।
यसैबीच आज कोशी प्रदेश लगायत बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । बाँकी क्षेत्रको मौसम आंशिक बदली रहनेछ । भोलि र पर्सि पनि कोशी प्रदेश लगायत हिमाली र पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई क्षेत्रको मौसम सामान्यतया सफा रहने र गर्मी कायमै रहने महाशाखाले जनाएको छ ।

सुन र चाँदीको मूल्यमा गिरावट

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य दुई लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार (हिजो) सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। हिजो प्रतितोला पाँच हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर पाँच हजार १९० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै आधारमा महासंघले नेपाली बजारमा दैनिक कारोबार मूल्य तोक्ने गरेको छ।

सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ ।

अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने बताए । ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । यो छिट्टै कार्यान्वयन हुन्छ,’ उनले भने ।

मन्त्रालयका अनुसार, समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो ।

 

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सबै विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सोमबार त्रिविसहित सबै विश्वविद्यालयका उपकुलपतिसँग छलफल गर्ने भएका छन् । विश्वविद्यालयसँग सम्बन्धित विषयमा छलफलका लागि उनले सोमबार सबै उपकुलपतिलाई सिंहदरबार बोलाएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग उनले राख्न लागेको यो पहिलो बैठक हो ।

बैठकमा सबै विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारलाई निमन्त्रणा गरिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री सोमबार दिउँसो १२ बजे विश्वविद्यालयका पदाधिकारीहरूसँग सामूहिक छलफलमा बस्नेछन् । त्यसभन्दा अघि बिहान ११ बजे चिकित्सा शिक्षा आयोगका पदाधिकारी, शिक्षामन्त्री र चिकित्सा शिक्षा पढाइ हुने विश्वविद्यालयका पदाधिकारी बैठक बस्नेछन् ।

त्यसपछि उपकुलपतिहरूसँग प्रधानमन्त्री शाहको छलफल सुरु हुनेछ । सुरुमा सामूहिक छलफल गरेपछि आवश्यकता परेमा छुट्टाछुट्टै बैठक बस्नेछन् । ‘कुन–कुन विश्वविद्यालय कसरी चलिरहेका छन्, उनीहरूका समस्या के–के छन्, नतिजा प्रकाशनदेखि शैक्षिक क्यालेन्डर, बजेट, विद्यार्थीको अवस्थालगायत विषयमा छलफलका लागि प्रधानमन्त्रीज्यूले सबै विश्वविद्यालयका पदाधिकारीलाई सिंहदरबार बोलाउनुभएको छ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘बैठकमा विश्वविद्यालयमा विद्यार्थी संगठनहरूले गर्ने गरेका गतिविधि र विद्यार्थी संगठनका असरलगायत विषयमा पनि छलफल गर्नुहुनेछ, त्रिविसहितका विश्वविद्यालयका प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति बस्ने वा नबस्ने भन्ने विषयमा पनि छलफल हुन्छ ।’

प्रधानमन्त्री कार्यालयले सबै उपकुलपतिलाई आ–आफ्नो विश्वविद्यालयको छोटो प्रस्तुतिसमेत ल्याउन निर्देशन दिएका छन् । बैठकमा त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, कृषि र वन विश्वविद्यालय, मध्यमाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, नेपाल विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, नेपाल विश्वविद्याल र प्रादेशिक विश्वविद्यालयहरू मनमोहन प्राविधिक विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, मधेश कृषि विश्वविद्यालय, मधेश विश्वविद्यालय, लुम्बिनी प्राविधिक विश्वविद्यालय, बागमती विश्वविद्यालयका पदाधिकारीहरू बैठकमा सहभागी हुनेछन् ।

नैतिक शिक्षाको खडेरी, नेपाली समाजमा हराउँदै गएको मानवीयता

नेपाली समाज आज एक अजीब विरोधाभासको दौरबाट गुज्रिरहेको छ। एकातिर हामी प्रविधि, शिक्षा, भौतिक पूर्वाधार र सूचनाको पहुँचमा ऐतिहासिक उचाइमा पुगेका छौँ, तर अर्कोतिर मानवीय सम्बन्ध, सामाजिक सद्भाव, कृतज्ञता र नैतिक आचरण गम्भीर रूपमा कमजोर हुँदै गएका छन्। यो विरोधाभास संयोग होइन, यो नैतिक शिक्षाको क्रमिक क्षयको परिणाम हो। आजको समाजमा देखिँदै गएको असहिष्णुता, स्वार्थ, अवसरवाद, र संवेदनहीनताको जरो यही नैतिक शिक्षाको खडेरीमा गाडिएको छ।

नैतिक शिक्षा कुनै साधारण शैक्षिक विषय होइन, यो त मान्छे बन्ने शिक्षा हो। असल नागरिक, जिम्मेवार व्यक्ति र संवेदनशील समाज निर्माण गर्ने मूल आधार नै नैतिक शिक्षा हो। इमानदारी, सत्यनिष्ठा, सहानुभूति, कृतज्ञता, अनुशासन, सहकार्य र उत्तरदायित्व, यी सबै नैतिक शिक्षाका मूल स्तम्भ हुन्।केही दशकअघिसम्म नेपाली विद्यालयहरूमा “नैतिक शिक्षा” छुट्टै विषयका रूपमा पढाइन्थ्यो। त्यो केवल परीक्षा पास गर्ने विषय थिएन; त्यो बालबालिकाको चरित्र निर्माण गर्ने बलियो माध्यम थियो। कथा, नीति–कथा, जीवनोपयोगी उदाहरण र व्यवहारिक शिक्षा मार्फत बालबालिकाहरूलाई सही र गलत छुट्याउने क्षमता विकास गरिन्थ्यो।शिक्षक ज्ञान दिने मात्र होइन, जीवनका आदर्श प्रस्तुत गर्ने मार्गदर्शक मानिन्थे। तर आज त्यो शिक्षा पाठ्यक्रमबाट हराएको छ, भने हाम्रो व्यवहारबाट पनि हराउदै गएको छ ।

कुनै समय नेपाली समाज, विशेषगरी गाउँ समाज, सहकार्य र सामूहिकतामा आधारित थियो। नचिनेको मान्छे पनि पाहुना सरह मानिन्थ्यो। बाटोमा हिँडेको यात्रुलाई पानी सोधिन्थ्यो, भोक लागेको छ कि भनेर चिन्ता गरिन्थ्यो। सहयोग गर्नु धर्म ठानिन्थ्यो, परोपकारी भावना थियो । “अतिथि देवो भवः” भन्ने संस्कार केवल भनाइमा होइन, व्यवहारमै देखिन्थ्यो।आजको समाजमा अवस्था धेरै बदलिएको छ। चाहे गाउँ होस् वा शहर, नव–आगन्तुकलाई शंकाको दृष्टिले हेरिन्छ। सहयोग गर्नुअघि “यसबाट मलाई के फाइदा हुन्छ?” भन्ने प्रश्न मनमा पहिले आउँछ। सम्बन्धहरू विश्वासमा भन्दा पनि स्वार्थमा आधारित हुँदै गएका छन्।

आजको समाजको सबैभन्दा पीडादायक समस्या कृतघ्नता (अवगुनी) को बढ्दो प्रवृत्ति हो। कसैले दिएको सहयोग, सिकाएको ज्ञान, बाँडेको सीप, संकटको घडीमा दिएको साथ, यी सबै बिर्सिने संस्कार सामान्य बन्दै गएको छ। अझ दुःखद त के छ भने, सहयोग गर्ने व्यक्तिलाई नै पछि बेवास्ता गर्ने, अपमान गर्ने वा अस्वीकार गर्ने व्यवहार देखिन थालेको छ।यो केवल व्यक्तिगत कमजोरी होइन; यो सामाजिक मानसिकताको रोग हो। कृतज्ञता कुनै सानो गुण होइन, यो सभ्य समाजको मेरुदण्ड हो। जहाँ गुन सम्झिने संस्कार हराउँछ, त्यहाँ सहयोग, सेवा र सद्भाव पनि मर्छ। अनि समाज स्वार्थी, कठोर र विभाजित बन्छ।

आजको शिक्षा प्रणाली अत्यधिक रूपमा अंक, ग्रेड, प्रमाणपत्र र रोजगारीमा केन्द्रित भएको छ। दक्ष जनशक्ति उत्पादन त भइरहेको छ, तर सदाचारयुक्त नागरिक उत्पादनमा गम्भीर प्रश्न उठेको छ। विद्यार्थीहरू प्रतिस्पर्धी त बन्छन्, तर सहानुभूतिशील हराउदै गएको छ । सफल त हुन्छन्, तर जिम्मेवारी बिर्सिदैगएको छ । नैतिक शिक्षा बिना प्राप्त ज्ञान खतरनाक पनि हुन सक्छ। दक्ष तर अनैतिक व्यक्ति समाजका लागि सम्पत्ति होइन, जोखिम बन्छ। आज हामी त्यही जोखिमतर्फ उन्मुख छौँ, जहाँ सीप छ, तर संवेदना छैन; ज्ञान छ, तर विवेक छैन।

नैतिक शिक्षाको पहिलो पाठशाला भनेको परिवार हो। बालबालिकाले जे देख्छन्, त्यही सिक्छन्। तर आज अभिभावकहरू आफैं समयको अभाव, आर्थिक दबाब र व्यस्त जीवनशैलीमा अल्झिएका छन्। बच्चासँग संवाद कम हुँदै गएको छ। मोबाइल, सामाजिक सञ्जाल र स्क्रिनले अभिभावकको भूमिका ओगट्न थालेका छन्।समाज पनि पहिलेझैँ नैतिक नियन्त्रणको संरचनामा रहन सकेको छैन। पहिले गलत व्यवहारलाई सामाजिक दबाब हुन्थ्यो, आज “आफ्नो काम गर, अरूको मतलब नगर” भन्ने सोचले सामूहिक जिम्मेवारी, सहयोगी मन, परोपकारी भावना कमजोर बनाएको छ।

समाजले नेतृत्वबाट सिक्छ। जब सार्वजनिक जीवनमा अनैतिकता, भ्रष्टाचार, अवसरवाद र दण्डहीनता देखिन्छ, तब आम नागरिकमा नैतिकताको मूल्यप्रति विश्वास घट्छ। “सबै यस्तै छन” भन्ने मानसिकता भावना फैलिन्छ। यसले व्यक्तिगत नैतिक आचरणलाई पनि कमजोर बनाउँछ। नैतिक समाज निर्माण गर्न नैतिक नेतृत्व अपरिहार्य हुन्छ।

नैतिक शिक्षा किन आज अपरिहार्य छ भने, कानुनले सबै कुरा नियन्त्रण गर्न सक्दैन। जहाँ नैतिकता बलियो हुन्छ, त्यहाँ कानुनको न्यूनतम आवश्यक पर्छ। जहाँ नैतिकता कमजोर हुन्छ, त्यहाँ कानुन पनि असफल हुन्छ। नैतिक शिक्षा व्यक्तिको भित्री नियन्त्रणविकास गर्ने माध्यम हो, जसले डर होइन, विवेकका आधारमा सही निर्णय गर्न सिकाउँछ।नैतिक शिक्षा बिना विकास खोक्रो हुन्छ। भौतिक समृद्धि भए पनि समाज भित्रैदेखि रित्तो हुन्छ।

नैतिकता पुनस्र्थापनाको लागिः पहिलो, नैतिक शिक्षालाई, केवल किताबमा होइन, व्यवहारिक अभ्याससहित, विद्यालयको पाठ्यक्रममा पुनः प्रभावकारी रूपमा समावेश गर्नुपर्छ । दोस्रो, शिक्षक र अभिभावक स्वयं उदाहरण बन्नुपर्छ, उपदेशभन्दा आचरण र व्यवहारिक बन्न जरुरी छ ।तेस्रो, सामुदायिक सेवा, स्वयंसेवा र सहकार्यको संस्कृति पुनर्जीवित गर्नुपर्छ।चौथो, मिडिया र सामाजिक सञ्जाललाई नकारात्मकता होइन, परोपकारी भावना, सहयोगी मन, र मूल्य प्रवद्र्धनको माध्यम बनाउनु पर्छ।पाँचौं, नीति र नेतृत्व तहमा नैतिकताको स्पष्ट प्रतिबद्धता आवश्यक पर्छ ।

नैतिक शिक्षाको खडेरी केवल आजको समस्या होइन, यो भविष्यको गम्भीर चुनौती हो। यदि हामीले आज आत्ममूल्याङ्कन गरेनौँ भने, भोलिको समाज अझै संवेदनहीन, स्वार्थी, करुणारहित, असहयोगी, अवगुनी र विभाजित हुनेछ। तर यदि हामीले गुन सम्झिन सिक्यौँ, कृतज्ञता अभ्यास गर्यौं, र नैतिकतालाई जीवनको आधार बनायौँ भने, समाज पुनः मानवीय, उदार र सहकार्यमा आधारित बन्न सक्छ।अन्ततः समाज भनेको हामी नागरिक नै हौँ । हामी नैतिक भए मात्र समाज नैतिक हुन्छ, र नैतिक शिक्षा पुनर्जीवित गर्नु आजको सबैभन्दा ठूलो सामाजिक दायित्व हो।

                                                                                                                  (लेखक क्लिन अप नेपालका कार्यकारी निर्देशक हुन्।)

रास्वपाको प्रवास विभाग प्रमुखमा बोहोरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश विभाग प्रमुखमा दीपक बोहोरा नियुक्त भएका छन् ।

केन्द्रीय सदस्य तथा सांसद बोहोरालाई उक्त पदमा नियुक्त गर्ने निर्णय सचिवालय बैठकले गरेको हो । पार्टी उपसभापति रहेका डीपी अर्यालले उक्त विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।

उनी सभामुख पदमा निर्विरोध निर्वाचितसँगै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएपछि विभागको नेतृत्व  रिक्त थियो । त्यस स्थानमा बोहोरालाई नियुक्त गरिएको हो ।

समानुपातिक सांसदलाई निर्वाचन क्षेत्रमा खटाउने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरूलाई निर्वाचन क्षेत्रमा खटाउने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदहरूलाई पनि जिम्मेवारी तोक्ने निर्णय गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले जिम्मेवारीको सूची पारित गर्ने प्रवक्ता झाले बताए। जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलिको बैठकबाट पारित गर्ने रास्वपाको तयारी छ।

फागुन २१ को निर्वाचनमा रास्वपाले १६५ मध्ये १२५ क्षेत्रमा जित हासिल गरेको थियो। समानुपातिकतर्फ भने ५७ सिट जितेको थियो।

भूटानी शरणार्थी संकटको समाधान गर्न प्रधानमन्त्री शाहलाई आग्रह

काठमाण्डाै- भूटानी शरणार्थी संकटको दीर्घकालीन समाधान र भुटानमा रहेका नेपालीभाषी राजनीतिक बन्दीहरूको रिहाइका लागि तत्काल कूटनीतिक पहल गर्न नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरिएको छ ।

द हेगमा आधारित भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि ग्लोबल अभियानका ग्लोबल संयाेजक राम कार्की र झापाको बेलडाँगीमा रहेको भूटान स्वतन्त्र जनता मञ्चका महासचिव डी.बी. सुब्बाले संयुक्त रूपमा प्रधानमन्त्रीलाई खुला पत्र पठाउँदै दुई दशकभन्दा लामो समयदेखि अल्झिएको शरणार्थी समस्या र मानव अधिकारसम्बन्धी मुद्दामा सक्रिय भूमिका खेल्न आह्वान गरेका हुन् ।

पत्रमा सन् १९८० को दशकको अन्त्यदेखि १९९० को दशकको शुरुवातसम्म दक्षिण भूटानबाट मुख्यतः नेपालीभाषी भूटानीहरूलाई जबरजस्ती निष्कासन गरिएको उल्लेख गरिएको छ । त्यसपछि १ लाखभन्दा बढी शरणार्थी पूर्वी नेपालका शिविरहरूमा बसोबास गर्न बाध्य भएका थिए ।

संयुक्त राष्ट्रसंघीय पहलमा सन् २००७ देखि २०१६ सम्म धेरैलाई तेस्रो देशमा पुनर्वास गरिए पनि अहिले पनि झन्डै ६–७ हजार शरणार्थी नेपालमै रहेका छन् । उनीहरूको जीवनयापन कठिन बन्दै गएको, मानवीय सहायता बन्दप्रायः भएको र भविष्य अन्योलपूर्ण रहेको पत्रमा उल्लेख छ । साथै, स्वदेश फर्कने अधिकार सुनिश्चित गर्न नागरिकता, सुरक्षा र सम्मानजनक पुनःस्थापनाको आवश्यकता औंल्याइएको छ ।

यसैबीच, भूटानमा दशकौँदेखि हिरासतमा रहेका राजनीतिक कैदीहरूको अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले उनीहरूलाई उचित कानूनी प्रक्रिया बिना नै कैदमा राखिएको जनाएका छन् । तीमध्ये धेरैका परिवारहरू नेपालका शरणार्थी शिविरमै रहेका छन् ।

हालै केही बन्दीहरूको रिहाइ भए पनि उनीहरूलाई पुनःस्थापना नगरी भारततर्फ निर्वासित गरिएको र त्यसपछि पुनः नेपालका शिविरमा आइपुगेको उल्लेख गरिएको छ । उनीहरूसँग आवश्यक कागजात नहुँदा आधारभूत सेवामा पहुँचसमेत कठिन भएको पत्रमा उल्लेख छ ।

संस्थाहरूले प्रधानमन्त्रीसँग शरणार्थीहरूको स्वैच्छिक र सम्मानजनक स्वदेश फर्काइ सुनिश्चित गर्न भुटानसँग नयाँ संवाद शुरू गर्ने, बाँकी शरणार्थी र रिहा भएका कैदीहरूलाई आधारभूत सेवा र पहिचान दस्तावेज उपलब्ध गराउने, तथा राजनीतिक कैदीहरूको मुद्दालाई कूटनीतिक रूपमा निरन्तर उठाउने माग गरेका छन् ।

त्यसैगरी, परिवार पुनर्मिलन सहज बनाउने, मानवीय पहुँच पुनःस्थापना गर्ने र अन्तर्राष्ट्रिय  साझेदारहरूसँग समन्वय गरी अधिकारमा आधारित दृष्टिकोण अपनाउन पनि आग्रह गरिएको छ । खुला पत्रमा नेपालको वर्तमान राजनीतिक स्थिरताले यो जटिल मानवीय मुद्दा समाधान गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै पारदर्शिता, जवाफदेहिता र न्यायपूर्ण प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिइएको छ ।

पत्रमा हस्ताक्षरकर्ताहरूले नेपाल सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको जनाउँदै यी मुद्दाहरूको समाधानलाई मानवीय तथा नैतिक दायित्वका रूपमा लिनुपर्ने बताएका छन् ।

 

सुम्पिएको काम जिम्मेवारीपूर्वक पूरा नगरे मार्गप्रशस्त गर्नुपर्छ : सञ्चार मन्त्री तिमिल्सिना

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले कर्मचारीलाई जिम्मेवारीपूर्वक काम गरी गर्व गर्नलायक नतिजा देखाउन आग्रह गरेका छन् ।

“कसैलाई पनि गैह्रजिम्मेवार हुने छुट छैन । आफूलाई सुम्पिएको काम कि त जिम्मेवार भएर पूरा गर्नुपर्छ, अन्यथा मार्ग प्रशस्त गर्नुपर्छ,” मन्त्री डा. तिमिल्सिनाले भने । जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई जवाफदेही बनाइने उनले स्पष्ट पारे ।

शासन सञ्चालन र सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउन निर्देशन दिँदै मन्त्री डा. तिमिल्सिनाले सरकारी कार्यालयले जनतालाई सेवा दिन बसेको हो भन्ने अनुभूति दिलाउनुपर्ने बताए ।

“जनतालाई केन्द्रमा राखेर काम गर्नुको विकल्प छैन, अब सबैले काम गर्नुपर्ने समय आएको छ । विगतको तुलनामा आफूलाई सन्तुष्ट हुने गरेर काम गर्न लाग्नुहोस्,” उनले भने ।

‘जेनजी’ आन्दोलनपछिको राजनीतिक परिवर्तनलाई कर्मचारी संयन्त्रले पनि बदलिएर साथ दिनुपर्ने समय आएकाले आफूले दिएको सेवाप्रति गर्व गर्नलायक काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए ।

जिल्ला प्रशासन कार्यालयमा आज आयोजित जिल्लाका सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिसँगको छलफलमा मन्त्री डा. तिमिल्सिनाले सेवा प्रवाहमा ढिलाइ, गैह्रजिम्मेवारी र बहाना अब सह्य नहुने स्पष्ट पारे ।

राजनीतिक परिवर्तनको मर्म बुझ्न आग्रह गर्दै उनले नयाँ सरकार किन बनेको हो भन्नेबारे सबैले आत्मसमीक्षा गर्नुपर्ने भन्दै सरकारी सेवामा सुधार गरेर जनतालाई सहज रूपमा सुशासन दिन कर्मचारीतन्त्र लाग्नुपर्ने बताए ।

“समस्या देखाउन सजिलो हुन्छ । तर, अब हामीले आफैँतिर औँला उठाउनुपर्छ । हामीले काम गर्ने भनेको राजनीतिक लाभका लागि नभई देशको सेवाका लागि हो,” मन्त्री डा. तिमिल्सिनाले भने ।

अहिलेको सरकार पारदर्शिता र जवाफदेहिताको जगमा बनेको उल्लेख गर्दै उनले हरेक नागरिक उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए ।

छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालयका प्रमुखको उपस्थिति थियो । सो अवसरमा जिल्लाको विकास आयोजनाको अवस्थाको सम्बन्धमा पनि मन्त्री र सांसदले जानकारी लिए । -रासस

नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट, नागरिक एपमा हेर्न मिल्ने

काठमाडौं । विश्वविद्यालयहरूको परीक्षा नतिजा सार्वजनिक भएको भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको निर्देशनअनुसार सबै विश्वविद्यालयका उपकुलपतिहरूले उक्त अवधिमा ट्रान्सक्रिप्ट उपलब्ध गराउन सहमत भएका हुन् ।

विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रलाई डिजिटल माध्यमबाट उपलब्ध गराउन विश्वविद्यालयहरूले १५ दिनभित्र आवश्यक एप वा पोर्टल तयार गरी ‘नागरिक एप’सँग जोड्ने निर्णय गरिएको  छ ।

त्यसैगरी, परीक्षा नतिजालाई पूर्वानुमानयोग्य र पारदर्शी बनाउन ‘नतिजा पोर्टल’ निर्माण गरिनेछ । यसले परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित र समयबद्ध बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले आगामी वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए।

रास्वपाको ७६ जिल्लामा जिल्ला कार्यसमिति र डोल्पामा तदर्थ समिति छ।

सचिवालय बैठक अहिले पनि जारी छ।

एकैदिन शेयर मूल्य १५ प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था भोलिदेखि लागू हुँदै

काठमाण्डौ- भोलिदेखि शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको हो । नयाँ नीतिअनुसार प्रि–ओपन सेसनको मूल्य सीमा ५ प्रतिशत कायम गरिएको छ, जुन यसअघि २ प्रतिशत थियो ।

यसले बजार खुल्नेबित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा छ । यसैगरी, नेप्से परिसूचकमा आधारित सर्किट ब्रेकर अब तीन तहको सट्टा दुई तहको रहनेछ । कारोबार शुरू भएको दुई घण्टाभित्र सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ भने ८ प्रतिशतले घटबढ भएमा त्यो दिनको सम्पूर्ण कारोबार बन्द हुनेछ ।

यस्तै, आईपीओ प्रक्रियालाई पारदर्शी बनाउन सेबोनले नयाँ मापदण्ड वैशाख १ देखि लागू गरेको छ, जसअनुसार आवेदक कम्पनीहरूको वित्तीय अवस्थाको जाँच लेखा विशेषज्ञबाट अनिवार्य पुनरावलोकन गराइनेछ ।

 

देशभर बढ्यो तापक्रम, कैलालीमा ४० डिग्री सेल्सियस

काठमाण्डौ- आज देशभर तापक्रम बढेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार दिउँसो ३ बजे कैलालीमा ४० डिग्री सेल्सियस र बाँकेमा ३९ डीग्री सेल्सियस तापक्रम पुगेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेका ८ भन्दा बढी मापन केन्द्रमा ३५ डिग्रि सेल्सियस भन्दा बढी तापक्रम मापन भएको छ ।

काठमाण्डौ उपत्यकामा पनि २९ डीग्री सेल्सियससम्म तापक्रम मापन भएको छ । गर्मी बढेसँगै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अत्यधिक गर्मी हुने भएकोले यो समयमा सकेसम्म  घर  बाहिर ननिस्कनु राम्रो हुन्छ ।

यस्तै प्रशस्त मात्रामा पानी  पिउन, हल्का, पातलो तथा उज्यालो रङका कपडा लगाउन, घाममा निस्कँदा टोपी वा छाता प्रयोग गर्न, बालबालिका, सुत्केरी, वृद्ध तथा बिरामीहरूको विशेष ख्याल राख्न र लामो लामो समयसम्म घाममा काम गर्नुपरेमा बीच–बीचमा आराम गर्न महाशाखाको आग्रह छ ।

 

देउवा पक्षको निष्कर्ष : कांग्रेसलाई कसरी अगाडि बढाउने त्यसको जिम्मा सानेपाले लिनुपर्छ

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा बसेको १४औं महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका बिषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका हुन् ।

पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानेपाले नै सबैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफूहरुको मत रहेको कांग्रेस नेत नेता कुन्दनराज काफ्लेले बताए । विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरुको छलफलले निरन्तर छलफल गरेर पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे आवश्यक निर्णय लिने उनको भनाइ छ । बैठकमा पार्टीको पहिलेको विश्लेषण, निर्वाचनमा पराजयको कारणलगायतका बिषयमा समेत छलफल भएको काफ्लेले बताए ।

अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौं विश्वविद्यालय(केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो ।

उक्त प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ । योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत् एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैंले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

दुवै विश्वविद्यालयसँग अन्तरआवद्धता हुनुभन्दा अगाडि आवेदकले आवेदन दिइसकेपछि,आवेदकले राखेको नागरिकताको विवरण गृह मन्त्रालयसँग अन्तरआवद्धता भएको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट’(सीआइएमएस) मा भेटिएको अवस्थामा र आवेदकले राखेको एनईबीको रजिस्ट्रेसन नम्बर,जन्ममिति विवरणको आधारमा एनईबीसँग अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्र देखिएमा आवेदक विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने भएको छ ।

तर, फेसलेस बनाउँदा आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदनमा विश्वविद्यालयको सर्टिफिकेट राख्नु पर्ने र विश्वविद्यालयका प्रणालीहरूसँग अन्तरआवद्धता नभएकाले आवेदक सर्टिफिकेट विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था रहेको थियो ।

महालेखा नियन्त्रणको कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँग अन्तरआवद्धता भएकाले एनओसीको राजस्व पूर्ण रूपमा अनलाइनमार्फत् लिइएको छ ।
एप्रुभ भएको एनओसी सर्टिफिकेट आवेदकले आफ्नै प्रोफाइलबाट पेपरलेस डाउनलोड गर्न सक्नेछन् । सर्टिफिकेटमा क्यूआर कोड भएकाले क्यूआर स्क्यानरबाट हेर्न सकिनेछ ।

त्रिवि र केयूसँग अन्तरआवद्धता भएपछि आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदकले आवेदनमा राखेको विश्वविद्यालयको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणको आधारमा त्रिवि र केयूसँग फेसलेस अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्रका विवरणहरू देखिने र आवेदक सर्टिफिकेट विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने एनओसी शाखाले जनाएको छ।

दार्चुलाको उकु महल उत्खनन् : पौराणिक मन्दिरका भग्नावशेष भेटिए

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु महल क्षेत्रमा १५औँ शताब्दी आसपासका पौराणिक मन्दिरका भग्नावशेष फेला परेका छन् । पुरातत्व विभागले गरेको उत्खनन्का क्रममा मन्दिरसम्बन्धी अवशेषहरू भेटिएका हुन् ।

वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती नेतृत्वको टोलीले उकु क्षेत्रमा उत्खनन् गरिरहेको छ । पुरातत्व अधिकृत हरिप्रसाद भुसालका अनुसार उत्खनन्का क्रममा ठूलो संख्यामा कलात्मक शीला, विभिन्न मूर्ति, शिखर (गजुर) का अर्धभाग, ढुङ्गेधारा, बसाहा तथा सिंह आकृतिका पत्थरका अवयवहरू फेला परेका हुन् ।

मध्ययुगीन समयमा निर्माण भएका शिव मन्दिर जस्ता संरचनाका अवशेष प्रशस्त मात्रामा भेटिएको भुसालले बताए । उनका अनुसार उत्खनन्बाट प्राप्त संरचनाको स्वरूप हेर्दा यो क्षेत्र राजा बस्ने महलभन्दा पनि मन्दिर भएको प्रारम्भिक अध्ययनले संकेत गरेको छ ।

‘यहाँ शिखर वास्तुशैलीका जग र ढुङ्गा भेटिएका छन् । त्यसैले यो क्षेत्र मन्दिर परिसर हुन सक्ने प्रारम्भिक निष्कर्षमा पुगेका छौँ,’ उनले भने । पिपलबोट क्षेत्र आसपास उत्खनन् गर्दा मन्दिरको जग भेटिएको र महल वा मन्दिर भन्ने विषयमा थप अध्ययन जारी रहेको उनको भनाइ छ । उत्खनन्पछि ढुङ्गाहरू नापजाँच गरी नम्बरिङ गर्ने काम भइरहेको छ ।

उत्खनन्‌का क्रममा भेटिएका केही महत्वपूर्ण मूर्तिहरू काठमाडौंस्थित छाउनी संग्रहालयमा संरक्षणका लागि लैजाने तयारी भइरहेको पुरातत्व विभागले जनाएको छ । ‘विश्वभरिका पर्यटकहरू संग्रहालय अवलोकन गर्न आउने भएकाले यहाँ भेटिएका उत्कृष्ट मूर्तिहरूको प्रचारप्रसारमा सहयोग पुग्नेछ,’ भुसालले भने ।

उनका अनुसार गत वर्षभन्दा यस वर्ष थप मूर्तिहरू फेला परेका छन् । उत्खनन्स्थलमा शीलालेख अंकित चट्टानहरू समेत देखिएका छन् । ढुङ्गा कुँदेर बनाइएका आकर्षक मूर्ति तथा संरचनात्मक अवशेषहरू भेटिनु महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।

मालिकार्जुन गाउँपालिका–६ का वडाध्यक्ष गोकर्णसिंह धामीले उत्खनन् कार्य सकारात्मक भए पनि पर्याप्त बजेटको अभाव रहेको बताए । ‘एक महिनाको छोटो उत्खनन्ले मात्रै यसको पुनर्निर्माण सम्भव छैन । निरन्तर अध्ययन र पर्याप्त बजेट आवश्यक छ,’ उनले भने ।

मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको मस्यौदाबारे सुझावका लागि आह्वान गरेको छ ।

मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४लाई संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यही साताभित्र सुझाव दिन आह्वान गरेको हो ।

कानुनलाई अझ प्रभावकारी बनाउन विभिन्न प्रावधान समावेश गरिएको र मस्यौदामा सरोकार भएकाहरूबाट राय, सुझाव तथा प्रतिक्रिया प्राप्त गर्नका लागि सार्वजनिक गरिएकाले इच्छुक सबैलाई आफ्नो राय सुझाव दिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।

खोज्नुहोस