महेश बस्नेतले पनि मागे गृहमन्त्रीको राजीनामा

नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेका छन्।

व्यवसायी दीपक भट्टसँग जोडिएको ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा गृहमन्त्रीको सेयर रहेको कागजात सार्वजनिक भएपछि चौतर्फी राजीनामा र छानबिनको माग उठिरहेका बेला बस्नेतले पनि सामाजिक सञ्जालमार्फत् राजीनामाका लागि जोड दिएका हुन्।

गृहमन्त्री गुरुङ र भट्टबीच २५ लाख रुपैयाँ बराबरको शेयर स्वामित्वसहितको सम्बन्ध देखिएको दाबी गर्दै सचित बस्नेतले छानबिनका लागि पदबाट बाहिरिनुपर्ने बताएका हुन्।

यसअघि मिडिया र बालेन शाहका समर्थकहरूले भट्टको नाम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा स‌ंयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवासँग जोडेर बदनाम गर्न खोजेको बस्नेतको आरोप छ। यद्यपि, अनुसन्धानका क्रममा ती नेताहरूको कुनै संलग्नता नदेखिएको उनको जिकिर छ।

सचिव बस्नेतले गृहमन्त्री गुरुङ बालेन शाह निकटका व्यक्ति भएको उल्लेख गर्दै लेखेका छन्, ‘दीपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुधन गुरुङसँग नै २५ लाख रुपैयाँ बराबरको शेयरसहित रहेको तथ्य बाहिरियो।’

उनले कार्की आयोगका सदस्य विज्ञान राज शर्माको नाममा समेत १० लाख रुपैयाँ बराबरको शेयर फेला परेको दाबी गरेका छन्।

व्यवसायी भट्ट दोषी भए वा नभएको निर्णय न्यायालयले गर्ने उल्लेख गर्दै बस्नेतले गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक रहेको बताए। बस्नेतले गृहमन्त्री गुरुङलाई पद नत्यागे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन्।

गृहमन्त्रीको आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो पद जाने निश्चित रहेको जिकिर समेत सचिव बस्नेतले गरेका छन्।

बजेट कार्यान्वयन प्रभावकारी बनाउन आर्थिक कार्यविधि संशोधन

काठमाडौं- सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली संशोधन गरेको छ । विकास बजेट खर्च हुन नसकिरहेका बेला सरकारले यससम्बन्धी नीति संशोधन गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ लाई संशोधन गर्दै ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (तेस्रो संशोधन) नियमावली, २०८३’ जारी गरिएको छ ।

संशोधित नियमावलीअनुसार, अर्थ मन्त्रालयको अधिकार प्रत्यायोजन  गरिएको छ । नियमावलीको नियम १३१ मा परिवर्तन गरिएको छ । उपनियम (१)पछि उपनियम (१ क) र (१ ख) थपिएको छ ।

उपनियम (१ क)अनुसार, अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० को उपदफा (३) बमोजिमको पुँजीगत रकम रकमान्तर गर्ने अधिकार सम्बन्धित निकायको लेखा उत्तरदायी अधिकृतलाई प्रत्यायोजन गर्न सक्ने व्यवस्था गरिएको छ ।

उपनियम (१ ख) मा भने यस्तो प्रत्यायोजित अधिकार प्रयोग गर्दा त्यसको जवाफदेहिता सम्बन्धित लेखा उत्तरदायी अधिकृतमै रहने स्पष्ट गरिएको छ । सरकारले ऐनको दफा ६५ ले दिएको अधिकार प्रयोग गर्दै उक्त संशोधन गरेको हो । उक्त नियमावली नेपाल सरकारका सचिव डा. घनश्याम उपाध्यायको आदेशबाट जारी गरिएको छ ।

यो संशोधनसँगै पुँजीगत बजेट व्यवस्थापन गर्ने अधिकार विस्तार भएको छ । त्यसको जिम्मेवारी पनि सम्बन्धित अधिकृतमै रहने व्यवस्था गरिएको छ । -न्युज एजेन्सी नेपाल

रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौ । गृहमन्त्री सुधन गुरुङ मंगलबार (वैशाख ८) दिउँसो बूढानीलकण्ठ पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न गुरुङ बूढानीलकण्ठस्थित उनको निवास गएका हुन् ।

सम्पत्ति शुद्धीकरणको कसुर भोगिरहेका व्यवसायी दीपक भट्ट समूहको लगानी भएको लघुबिमा कम्पनीमा गृहमन्त्री गुरुङको समेत संस्थापक सेयर रहेको खुलेपछि उनी विवादित बनेका छन् । यही विषयका कारण उनीमाथि पदबाट राजीनामाको दबाब समेत परेको छ ।

यसबारे छलफलका निम्ति उनी बूढानीलकण्ठ पुगेका गृहस्रोतले जनाएको छ । स्रोतका अनुसार, गृहमन्त्री गुरुङ सोमबार (वैशाख ७) राति पनि लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।

विद्युतीय गाडीको आयात घट्यो

काठमाण्डौ- विद्युतीय गाडीको आयात घटेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा विद्युतीय कार आयातमा झन्डै १० प्रतिशतले गिरावट आएको हो । गएको वर्षको ९ महिनामा ७ हजार ९ सय ६७ युनिट विद्युतीय कार आयात भएकोमा चालू वर्ष घटेर ७ हजार १ सय ७३ युनिटमा सीमित भएको छ ।

चालू आर्थिक वर्षमा कुल १६ अर्ब ६६ करोड रुपैयाँ बरारबरको विद्युतीय कार भित्रिएका छन् । जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजश्व पाएको छ । चालू आर्थिक वर्षमा ५० किलोवाट सम्मका २ हजार ५ सय ६ युनिट, ५१ देखि १ सय किलोवाटसम्मका ४ हजार ८३, १ सय १ किलोवाटदेखि २ सय किलोवाटसम्मका ५ सय ७४ र २ सय १ किलोवाट माथिका ८ युनिट ईभी भित्रिएक छन् ।

चालू वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा वृद्धि देखिएको छ । ९ महिनाको अवधिमा ४ हजार १ सय ४० युनिट पेट्रोल कार आयात भएको छ । यो गएको वर्ष त्यही अवधिको तुलनामा ५०.९९ प्रतिशत धेरै हो ।

गएको वर्ष चैतसम्म कुल २ हजार ७ सय ४२ युनिट पेट्रोल कार आयात भएको थियो । बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । पछिल्लो समय इन्धन सङ्कट चुलिँदै गर्दा विद्युतीय गाडी भन्दा इन्धनबाट चल्ने गाडीको सङ्ख्या बढ्नुले अर्थतन्त्रमा चुनौती थपिदिएको छ ।

 

प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार, दिउँसो ३ बजे सभामुखलाई बुझाइँदै

काठमाडौं : प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । नियमावली मस्यौदा समितिले आज राज्य व्यवस्था तथा सुशासन समितिमा सभामुख डोलप्रसाद (डीपी) अर्याललाई नियमावलीको मस्यौदा बुझाउने भएको छ । नियमावलीको मस्यौदा आज दिउँसो ३ बजे सभामुखलाई बुझाउने कार्यक्रम रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व्पा) सांसद गणेश पराजुलीको नेतृत्वमा १५ सदस्यीय समितिले मस्यौदा फाइनल गरेको हो । प्रतिनिधिसभा सञ्चालन, समिति गठन, काम कारवाही चुस्त बनाउन नियमावली आवश्यक पर्छ ।  यी विषय केन्द्रित रहेर नियमावली बनाउन पराजुली नेतृत्वको समितिलाई जिम्मेवारी दिइएको थियो ।

रास्वापाले नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष चुनावमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रका निम्ति समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ ।

रास्वपाले यसनिम्ति कोसी प्रदेशमा ११, मधेसमा दुई, वाग्मतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा पाँच, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा ६ सांसदलाई जिम्मेवारी तोकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

यो जिम्मेवारी तोकिएका सांसदले ती क्षेत्रका समसामयिक समस्याका विषयमा समन्वय गर्नेछन् । रासस

सरकारलाई श्रम संस्कृतिको ३३ बुँदे सुझाव

काठमाडौं- श्रम संस्कृति पार्टीले सरकारलाई ३३ बुँदे सुझाव दिएको छ । मंगलबार (वैशाख ८) काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष हर्क साम्पाङले सरकारलाई ३३ बुँदे सुझाव दिएका हुन् ।

उनले भने, “असंलग्न परराष्ट्र नीति सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नुपर्छ भन्ने मान्यता हामी अगाडि सार्छौं । त्यसअन्तर्गत एमसीसी, एसपीपी, बफर स्टेटजस्ता सन्धि–सम्झौता, तालमेल र रणनीति, युद्धसँग प्रत्यक्ष अप्रत्यक्ष जोड्ने खालको अवस्था र घोषणा नगर्न हामी सुझाव दिन्छौँ ।”

सीमारक्षामा जोड दिन पनि श्रम संस्कृतिले सरकारलाई आग्रह गरेको छ । अवैध तरिकाले भइरहेको निर्माण कार्य रोक्न उनले सरकारलाई भनेका छन् ।

पाठ्यभार घटाएर शिक्षालाई प्रयोगात्मक बनाउनुपर्ने पनि उनको सुझाव छ ।

स्थानीय बजारमा केराको हाहाकार !

काठमाडौं । स्थानीय बजारमा केराको हाहाकार देखिएको छ । खासगरी व्यवसायीले भारतीय नाकाबाट अवैध रूपमा आउने केरा नबेच्ने भन्दै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार भएको हो ।

केराको आन्तरिक उत्पादन कमजोर भएको र अवैध केरा जनस्वास्थ्यका लागि पनि प्रतिकूल भएको भन्दै व्यापारीले बेच्न छाडेका छन् । सोही कारण बजारमा केरा अभाव भएको व्यापारीहरूको भनाइ छ ।

नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति अभावका कारण भएको बताए । उनका अनुसार, केही महिनाअघिसम्म भारतबाट अवैध रूपमा ठूलो मात्रामा केरा भित्रिन्थ्यो । तर, संघकै पहलमा त्यस्ता अवैध केराको बिक्रीवितरणमा रोक लगाइएपछि बजारमा एकाएक आपूर्ति घटेको हो ।

“नेपाल फलफूल थोक व्यवसायी संघ र महासंघ हाम्रो छाता संगठनले अवैध भित्रिएका केरा बेच्न बन्देज गरेको हो,” अध्यक्ष बानियाँले भने, “महासंघको पहलमा हामीले सम्पूर्ण बजारमा बन्देज गरेका छौँ, जसले गर्दा एकैचोटि बजार खाली भयो ।”

नेपालको उत्पादन अत्यन्तै कम भएको र अवैध रूपमा आयात हुने केरा रोकेपछि मूल्य बढेको उनले बताए ।

केरा दर्जनकै ३५० १ होलसेलमै ८७ प्रतिशतको मूल्यवृद्धि

अध्यक्ष बानियाँका अनुसार, हाल गुणस्तरीय केरा अभाव छ । केही स्थानमा प्रतिदर्जन ३०० देखि ३५० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ ।

बानियाँले कमजोर अनुगमनका कारण भारतीय केरा नेपाली उत्पादनका नाममा बजारमा प्रवेश गरिरहेको बताउँदै यसलाई अझ कडाइका साथ रोक्नुपर्ने बताए ।

किसानले भने आफूहरूले ५० देखि ८० रुपैयाँ प्रतिदर्जनमा केरा बजारमा पठाएको दाबी गर्दै बीचका व्यवसायीले मूल्य बढाएको आरोप लगाउँदै आएका छन् । तर, बानियाँले यसलाई अस्वीकार गरे ।

उनका अनुसार, अहिले बजारमा उपलब्ध धेरैजसो नेपाली केरा गुणस्तरहीन रहेको र उपभोक्ताले नकिन्दा खुद्रा व्यापारीसमेत मारमा परेका छन् । किसानले उत्पादन गर्दा ग्रेडिङ र प्याकेजिङमा ध्यान दिनुपर्छ, नत्र बजारमा बेच्न कठिन हुने उनको भनाइ छ ।

सरकारले करिब ८० प्रतिशत आत्मनिर्भरता दाबी गरिरहेको भए पनि वास्तविक उत्पादन ३० प्रतिशत हाराहारी मात्र रहेको बानियाँको भनाइ छ । उहाँले क्रमिक रूपमा आयात नियन्त्रण गर्दै उत्पादन बढाउने नीति लिनुपर्ने सुझावसमेत दिए ।

बानियाँका अनुसार, किसान र व्यवसायीबीच समन्वयको अभाव छ । राज्यले किसान र व्यवसायीलाई नङ–मासुजस्तो बनाउनुपर्नेमा उल्टै फाटो ल्याएको उनले गुनासो गरे । -न्युज एजेन्सी नेपाल

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायकमन्त्री एसपल कपुरले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार (वैशाख ८) मन्त्रालयमा भेटका क्रममा उनीहरूबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको परराष्ट्रले जनाएको छ ।

साथै, व्यापार तथा लगानी क्षेत्रमा थप ध्यान केन्द्रित गर्दै सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको थियो । रासस

योजना आयोग र नीति अनुसन्धानका पदाधिकारीसँग छलफलमा जुटे प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल सुरु भएको उनको सचिवालयले जनाएको छ ।

सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ । बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावबारे समेत छलफल हुनेछ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आज (मंगलबार) दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री  सुधन गुरुङको व्यवसायिक साझेदारी रहेको विषय अहिले चर्चामा छ।

गृहमन्त्री  गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

यसअघि पदको दुरुपयोग गर्दै पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डको सदस्य बनाएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री शाहले दुई सातामै दीपककुमार साहलाई श्रममन्त्रीबाट बर्खास्त गरेका थिए।

कञ्चनपुरमा बिहेमा गएका युवकको चक्कु प्रहार गरी ह’त्या, दुईजना पक्राउ

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराति चक्कु प्रहरी गरी हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको हो ।

स्थानीय युवाबीच आपसी विवाद हुँदा चक्कु प्रहरी गरी गम्भीर घाइते भएका सायरको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा राति २ बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापालाई नियन्त्रणमा लिएको बताए ।

आरोपितहरूलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र घटनाको विस्तृत अनुसन्धान सुरु भइसकेको उनले जानकारी दिए । -रासस

शुक्लाफाँटामा बाह्रसिङ्गा गणना सुरु

कञ्चनपुर।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ । निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका साझेदार संस्थाको संयुक्त सहभागितामा गणना सुरु गरिएको हो । यसका लागि ३५ जना परिचालन गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ‘हेड काउन्ट’ विधिबाट बाह्रसिङ्गा गणना सुरु गरिएको छ । गणनाका लागि मचानमा बसेर, फायरलाइनमा सवारीसाधन प्रयोग गरी तथा हात्तीको सहायताबाट गणना (अवलोकन) गरिने व्यवस्था मिलाइएको छ ।

गणनाका लागि बाइनाकुलर, क्यामेरा, टेलिस्कोप, दूरबिन र ड्रोनको प्रयोग गरिनेछ भने दुर्गम तथा हिँडेर पुग्न नसकिने क्षेत्रमा तीनवटा हात्ती परिचालन गरिएको जनाइएको छ । फायरलाइनमा दुई सवारीसाधन र चारवटा मचानमा तीन–तीन जनाको प्राविधिक जनशक्ति खटाइएको छ ।

गणना बिहान ६ः०० देखि ९ः०० बजेसम्म र साँझ ४ः०० देखि ७ः०० बजेसम्म भइरहेको छ । आजदेखि सुरु भएको गणना वैशाख १२ गतेसम्म जारी रहने छ । गणनाका क्रमा बाह्रसिङ्गाको सङ्ख्या एकिन गर्ने, बासस्थाको अवस्थाबारे अध्ययन गर्ने, आहार तथा जोखिमको मूल्याङ्कन गरिने सूचना अधिकारी वाग्लेले बताए ।

निकुञ्जको मझगाउँ मुख्य कार्यालयदेखि करिब २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसेमैदान नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान मानिन्छ । करिब ३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा विश्वकै ठूलो झुण्डका रूपमा बाह्रसिङ्गा पाइन्छन् ।  विसं २०८१ मा गरिएको गणनामा यहाँ दुई हजार १८२ बाह्रसिङ्गा देखापरेका थिए ।

निकुञ्जका रेञ्जर प्रयास केसीका अनुसार निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्या सन्तोषजनक छ । पछिल्ला वर्षहरूमा मुख्य घाँसेमैदानबाहेक अन्य क्षेत्रमा पनि बाह्रसिङ्गा देखिन थालेका छन् । “यो संरक्षणका हिसाबले सकारात्मक सङ्केत हो”, उनले भने, “गणनालाई घाँसेमैदानमा मात्र सीमित नराखी बाह्रसिङ्गा पाइने सम्भावित अन्य क्षेत्रमा समेत विस्तार गरिएको छ ।”

बाह्रसिङ्गा बाघको प्रमुख आहार प्रजातिका रूपमा रहेको छ । पर्याप्त आहार र उपयुक्त बासस्थान व्यवस्थापनका कारण निकुञ्जमा बाघको सङ्ख्यासमेत वृद्धि हुँदै गएको जनाइएको छ । रासस

९ महिनामा सवा २ खर्ब निर्यात

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब रुपैयाँ बराबरको भएको छ। भन्सार विभागका अनुसार अघिल्लो आवको सोही अवधिमा वस्तु निर्यात १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँबराबर भएको थियो। त्यसैगरी, कुल निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँबराबर भएको थियो।

तेस्रो त्रैमासमा वनस्पति तथा जनावरको घिउ र तेल निर्यात उच्च रहेको छ। यसअधिमा १ खर्ब ५ अर्ब रुपैयाँबराबरको घिउतेल निर्यात भयो। त्यसैगरी, कफी, मसला, चिया १४ अर्ब ९८ करोड रुपैयाँबराबरको भएको छ। तेस्रो त्रैमासमा वस्तु आयात भने १४ खर्ब ९० अर्ब रुपैयाँबराबर भएको छ। गत आवको सोही अवधिमा आयात १३ अर्ब ९ अर्ब रुपैयाँबराबर भएको थियो।

९ महिनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ रहेको छ। यस अवधिमा २ खर्ब ५० अर्ब रुपैयाँबराबरको पेट्रोलिय पदार्थ आयात भएको छ। यस अवधिमा तेस्रो मुलुकबाट १ खर्ब २९ अर्ब रुपैयाँबराबर वनस्पति घिउ तेलको आयात भएको छ।

त्यसैगरी, ९ महिनामा मेसिनरी र मेकानिकल उपकरण तथा पार्टपुर्जा आयातमा १ खर्ब ८ अर्ब रुपैयाँबराबर आयात भएको छ भने १ खर्ब ५ अर्ब रुपैयाँबराबरको फलाम र स्टिलमा खर्च भएको छ। त्रैमासमा ८३ अर्ब ७ करोड रुपैयाँबराबरको सवारीसाधन आयात भएको छ।

९ महिनाको अवधिमा कुल वैदेशिक व्यापार आकार १७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। गत आवको सोही अवधिमा १४ खर्ब ९७ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो।

यस आवमा व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँबराबर भएको छ। अघिल्लो आव भने ११ खर्ब २१ अर्ब रुपैयाँबराबर भएको थियो। भन्सार विभागका अनुसार भारतबाट नेपालमा ८ खर्ब ४७ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ। नेपालबाट भारततर्फ भने १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँबराबर वस्तु निर्यात भएको छ। चीनबाट ३ खर्ब रुपैयाँबराबरको वस्तु आयात भएको भने १ अर्ब १९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। यसै अवधिमा अर्जेन्टिनाबाट ८७ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ भने निर्यात भने न्यून रहेको छ।

गृहमन्त्री सुधन गुरुङमाथि रास्वाका नेताहरुबाटै छानबिन हुनुपर्ने माग उठ्यो

काठमाडौँ — सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङमाथि सत्तारूढ रास्वपाकै नेताहरूले छानबिन गर्नुपर्ने माग उठाउन थालेका छन् । सुशासनको जगमा बनेको सरकार भएका कारण पनि प्रश्न उठिसकेपछि पार्टी चुप लागेर बस्न नहुने ती नेताहरूले बताएका छन् ।

लामो समयदेखि निष्क्रिय रहेकी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यका रूपमा नियमित काममा लगाएको विषय उठेपछि तत्कालीन श्रममन्त्री दीपककुमार साहलाई प्रधानमन्त्री वालेन्द्र शाहले गत २६ चैतमा पदमुक्त गरेका थिए । त्यतिबेला साहलाई पदमुक्त गर्न रास्वपाले नै सिफारिस गरेको थियो ।

अहिले गृहमन्त्री गुरुङमाथि सार्वजनिक रूपमै प्रश्न उठेपछि पार्टी र सरकारले कुनै न कुनै रूपमा जवाफ दिनुपर्ने रास्वपाकै नेताहरूको भनाइ छ । ‘साहलाई सुशासनको सन्दर्भ जोडेर स्पष्टीकरण दिने मौकासमेत नदिई हटाइएको थियो, अहिले त्योभन्दा गम्भीर प्रश्न उठेको छ,’ रास्वपाका पदाधिकारीसमेत रहेका एक सांसदले भने, ‘पार्टीले कुनै संयन्त्रमार्फत तत्कालै आन्तरिक छानबिन गरेर निष्कर्षमा पुग्नुपर्छ । गल्ती भएको पाइए ढाकछोप गर्नु हुँदैन ।’

सरकार विद्यार्थी संगठन खारेजीबाट पछि नहट्ने

काठमाडौं । सरकारले विश्वविद्यालयबाट दलीय विद्यार्थी र कर्मचारीको संगठन खारेजीको अडान कायमै राखेको छ ।

मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा ८६ मा उल्लेखित विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना ६० दिन भित्र हटाई ९० दिनभित्र स्टुडेन्ट काउन्सिल/भ्वाइस अफ स्टुडेन्ट संयन्त्र विकास गर्ने उल्लेख छ ।

यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्री बालेनले सोमबार पनि निर्देशन दोहोर्‍याएका छन् । विश्वविद्यालयका उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले सोमबार सिंहदरबार बोलाएका थिए ।

छलफलका क्रममा कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेनले दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न निर्देशन दिए ।

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले शैक्षिक संस्थाहरूमा राजनीति गर्न नहुने र दलीय संगठनका संरचना हटाउन ऐन बाधक नहुने सन्देश दिए ।

‘अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न हुदैन । राजनीति गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्नू,’ प्रधानमन्त्री बालेनले उपकुलपतिहरूसँग भनेका छन् ।

प्रधानमन्त्री बालेनले संगठनका संरचना हटाउन समस्या भए सुरक्षाको लागि खबर गर्न आग्रह गरे । ‘राजनीतिक संगठनका सरचना  हटाउदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्नू,’ प्रधानमन्त्री बालेनले भने, ‘सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको छ ।’

महँगी बढेपछि जनजीवन झन् कष्टकर

काठमाडौं । शक्तिशाली नयाँ सरकारको आगमनसँगै राहतको अपेक्षा गरेका नागरिकको जनजीवन सर्वत्र चुलिएको महँगीले झन् कष्टकर बन्दै गएको छ । अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणसँगै मध्यपूर्वमा बढेको तनावले पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालीको भान्सासम्मै महँगी भित्रिएको छ । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, खानेपानी, फलफूलदेखि यातायातको भाडासम्म बढेको छ । किसानले बारीमा राम्रो भाउ नपाएको तरकारीलाई उपभोक्ताले भने चर्को मूल्य तिर्नुपरेका घटनाले कालोबजारी रोक्न सरकारका निकाय निष्प्रभावी बनेको देखाउँछ ।

सरकारको अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नै गरेको अध्ययनमा बढी मूल्यवृद्धि सबैभन्दा धेरै खपत हुने चामल, तेल, दाल, गेडागुडीलगायतमा भएको छ । चामलमा पनि सबैभन्दा धेरै बिक्री हुने स्टिम जिरा मसिनोमा फागुनको तुलनामा चैतमा औसत खुद्रा मूल्य प्रतिकेजी १७ रुपैयाँले बढेको छ, जुन २५ केजीको बोरामा ४२५ रुपैयाँले वृद्धि हो । त्यस्तै, सोना मन्सुली चामल २५ केजीको बोरामा २५० रुपैयाँले बढेको छ भने बासमती चामल २० केजीको बोरामा तीन सय रुपैयाँले महँगिएको छ ।

खानेतेलतर्फ सबैभन्दा धेरै खपत हुने सनफ्लावर तेल लिटरमा १५ रुपैयाँ बढेर ३०५ रुपैयाँ पुगेको छ । त्यस्तै, जिरा र धनियाँ (दाना) क्रमशः प्रतिकेजी ५० र ७० रुपैयाँले बढेको छ । चिउराको भाउ प्रतिकेजी २५ देखि ५० रुपैयाँसम्म र राज्मा प्रतिकेजी ६० रुपैयाँले बढेको छ ।

वाणिज्य विभागले प्रत्येक महिना बजार मूल्य संकलन गरी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । विभागका निरीक्षण अधिकृतहरूले खुद्रा बजारमा पुगेर मूल्य संकलन गर्दै आएको प्रवक्ता नरहरि तिवारीले जानकारी दिए । संकलित मूल्यसूचीका आधारमा तुलनात्मक विवरण सार्वजनिक गर्दै आएको उनले बताए ।

खाद्यान्नभन्दा पनि अकासिएको छ हरियो तरकारीको भाउ । एक महिनाको अवधिमा झन्डै दुई सय प्रतिशतसम्म महँगिएको छ । सबैभन्दा महँगो टाटेसिमी छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार १ चैतमा औसत ३७ रुपैयाँ प्रतिकेजी थोक (होलसेल) मूल्य रहेको टाटेसिमी सोमबार ११० रुपैयाँमा बिक्री भयो । त्यस्तै, काउली, फर्सी, बरेलालगायतको भाउ दोब्बरले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको भाउका कारण नेपाली बजारमा पनि इन्धनको भाउ समायोजन भइरहेकाले असर परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले बताए । ‘इन्धनको भाउ बढेपछि सबैतिर असर पर्ने नै भयो,’ उनले भने, ‘अहिले भइरहेको इन्धनको भाउ वृद्धिमा अन्तर्राष्ट्रिय कारक तत्व नै प्रमुख रहेकोमा हामी सबै जानकार नै छौँ ।’ उनले बजार भाउ नियन्त्रणका लागि मौजुदा कानुनअनुसार अधिकतम खुद्रा बिक्री मूल्यको कार्यान्वयनमा वाणिज्य विभागमार्फत कडाइ भइरहेको पनि दाबी गरे ।

युएईविरुद्ध नेपालको कमजोर सुरुवात

युएईविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पावरप्लेमा तीन महत्त्वपूर्ण विकेट गुमाउँदै फितलो सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले सुरुवाती ६ ओभरमा ३ विकेटको क्षतिमा ४० रन मात्र जोडेको छ।

नेपालले २.३ ओभरमा २१ रन हुँदा पहिलो विकेटका रूपमा विकेटकिपर अर्जुन साउदलाई गुमाएको थियो।

११ बल खेलेका साउदले ३ चौकाको मद्दतमा १३ रन जोड्दै जुनेद सिद्दिकीको बलमा बोल्ड भए। लगत्तै ३.४ ओभरमा सन्दीप जोरा ६ रन बनाएर हैदर अलीको शिकार बनेपछि नेपाल दबाबमा परेको थियो।

सेट भइसकेका ओपनर कुशल भुर्तेल ५.२ ओभरमा रन आउट भएपछि नेपालले तेस्रो झड्का व्यहोरेको हो।

भुर्तेलले ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १६ रनको योगदान दिए।

अहिले क्रिजमा कप्तान दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल रहेका छन्। युएईका लागि जुनेद सिद्दिकी र हैदर अलीले १-१ विकेट लिएका छन्।

रास्वपाको सचिवालयमा ढकाल र ज्ञवाली मनोनीत

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय सदस्यमा दुई जनालाई मनोनीत गरेको छ।

सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सागर ढकाल र सरिता श्री ज्ञवाली सचिवालय सदस्यमा मनोनीत गरेको हो।

प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समिति बैठकले उनीहरूको नाम अनुमोदन गरेको थियो। त्यस्तै बैठकले भुपदेव शाहलाई महामन्त्रीमा मनोनीत गरेको छ।

भूपदेव शाह बने रास्वपाको महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय चःमतीमा जारी केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै, सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाइएको छ ।

नौ महिनामा १६ लाख बढी स्मार्टफोन भित्रियो

काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा १६ लाख ७४ हजार स्मार्टफोन भित्रिएका छन् । भन्सार विभागले सोमबार (वैशाख ७) मा प्रकाशित  तथ्यांकअनुसार १६ लाख ७४ हजार २४९ थान फोन भित्रिएको हो ।

उक्त आयातका कारण ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ विदेशिएको छ । स्मार्टफोन आयात बापत सरकारले ६अर्ब ३० करोड राजस्व संकलन गरेको विभागको तथ्यांक छ ।

व्यापार घाटा साढे १२ खर्बमाथि : नौ महिनामा १४ खर्ब ९० अर्बको आयात

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँबराबरको भएको छ । यस्तो घाटा गत आवको सोही अवधिमा ११ खर्ब २१ अर्ब रुपैयाँ थियो ।

सोमबार (वैशाख ७) भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकानुसार, चालु आवको चैत्रसम्ममा नेपालको कुल व्यापार घाटा १३.०४ प्रतिशतले बढेको छ । आयातभन्दा निर्यातको आकार धेरै कम छ ।

गत आर्थिक वर्षको नौ महिनाको तुलनामा यसपालि निर्यातको वृद्धिदर केही उत्साहजनक देखिए तापनि व्यापार घाटाको अंक बढ्दै गएको छ । यो अवधिमा नेपालको निर्यात व्यापार गत वर्षको तुलनामा १८.४६ प्रतिशतले बढेर दुई खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा यस्तो निर्यात एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ थियो ।

आयात व्यापारमा पनि १३.८२ प्रतिशतको वृद्धि भई १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको नौ महिनामा १३ खर्ब नौ अर्ब ५३ करोड २८ लाख रुपैयाँबराबरको वस्तु आयात भएको थियो ।

आयातको तुलनामा निर्यातको वृद्धिदर उच्च देखिएकाले आयात–निर्यात अनुपातमा ३.९२ प्रतिशतले सुधार आई ६.६९ मा झरेको छ । यसले गत वर्ष ६.९६ रुपैयाँको आयात गर्दा एक रुपैयाँको निर्यात हुने गरेकामा यसपालि उक्त अनुपात केही घटेको छ ।

यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले बढेर १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ पुगेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा केही सुधार भई १३.०१ प्रतिशत पुगेको छ । आयातको हिस्सा सामान्य घटेर ८६.९९ प्रतिशत कायम भएको छ ।

भन्सार विभागको तथ्यांकले नेपालको वैदेशिक व्यापारको आकार विस्तार भइरहेको र निर्यातको हिस्सामा क्रमिक सुधार भएको देखाएको छ । तर, ठूलो अंकको व्यापार घाटा अझै अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा छ ।

यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङमा नेपाल

काठमाडौं । पहिलो टी २० आई सिरिज अन्तरगत नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित टियु मैदानमा ५ बजे सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले ब्याटिङ रोजेका हुन्।

रास्वपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ । सोमबार (वैशाख ७) अपराह्न पार्टी केन्द्रीय कार्यालय चःमतिमा बैठक बसेको हो ।

प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बैठकमा सहभागी भएका छैनन् । यो बैठकका नौ एजेन्डा रहेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा ‘रिपोर्टिङ’ गर्न २० केन्द्रीय सदस्य प्रत्येकलाई दुई मिनेटको समय छुट्ट्याइएको छ । आइतबार (वैशाख ६) रास्वपाको सचिवालय बैठक बसेको थियो ।

कैलालीमा जतताको घरमै राहदानी पुर्‍याउने व्यवस्था, लाइनमा बस्नुपर्ने झन्झटको अन्त्य

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले अब आफ्ना सेवाहरू जनताको घरदैलोमै पुर्‍याउने व्यवस्था सुरु गरेको छ ।

संघीय सरकारको नीति अनुसार राहदानी, नागरिकता राष्ट्रिय परिचयपत्र हुलाकमार्फत घरमै पठाउने कार्य औपचारिक रूपमा सुरु गरिएको हो।जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख हिरालाल रेग्मीले सञ्चारकर्मीसँग कुरा गर्दै आज मात्रै करिब दुई सय सेवाग्राहीका राहदानी हुलाकमार्फत पठाएर सेवाको सुरुवात गरिएको जानकारी दिए ।

उनका अनुसार अब सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने झन्झट अन्त्य हुँदै गएको छ। “कार्यालयबाट प्रदान गरिने सेवा जनताको घरमै पु¥याउने लक्ष्यका साथ काम अघि बढाएको उनले बताए ।

रेग्मीका अनुसार तत्काललाई राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पठाउने व्यवस्था गरिएको बताउदै उनले बिस्तारै कार्यालयले दिने अन्य सेवा समेत जनताको घरमै पुगाने गरि काम भइरहेको बताए ।

जसका कारण सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी हुने र विशेष गरी टाढाटाढाबाट सेवा लिन आउने नागरिकलाई यसले ठूलो राहत मिल्ने उनको भनाइ छ ।


समिति सभापतिलाई सभामुखको आग्रह– दलीय आस्था नदेखाउनू

काठमाडौं । संसदीय समितिका सभापतिहरूले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेका छन् । प्रतिनिधिसभाका १० र संयुक्त दुई गरी १२ समितिका सभापतिले सोमबार (वैशाख ७) सभामुखसँग भेटवार्ता गरेका हुन् ।

सिंहदरबारमा भएको भेटमा सभामुख अर्यालले ‘मिनि संसद्’का रूपमा रहने संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिए । दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका काम–कारबाहीमा राजनीतिक दलको आस्था र प्रभाव नदेखाउन उनले आग्रह गरे ।

उनले संघीय संसद् सचिवालय र आफू सधैँ सहयोगका निम्ति तत्पर रहेको पनि बताए ।

समिति सभापतिहरूले आफूहरूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

पुराना असल अभ्यासलाई निरन्तरता दिँदै संसदीय मूल्य–मान्यता आत्मसात् गरी नवीन ढंगबाट समितिका गतिविधि अगाडि बढाइने उनीहरूले बताएका सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

१३ अङ्कले घट्यो नेप्से

साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।

आज नेप्से परिसूचक १३ दशमलव १७ अङ्कले घटेर दुई हजार ८२५ दशमलव २३ बिन्दुमा कायम भएको हो ।

आज तीन सय ४९ कम्पनीको एक करोड १६ लाख ५३ हजार ३७० कित्ता शेयर एक लाख १६ हजार ३१० पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेले कुनै कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको घटबढ हुँदा ‘सर्किट ब्रेक’ लाग्ने व्यवस्थालाई परिमार्जन गरी १५ प्रतिशत बनाएको छ ।

जसअनुसार आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, पाल्पा सिमेन्ट इन्डस्टिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ०१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बेत बाँसको बजारमा उच्च माग, तर कामदार पाउनै मुस्किल

कैलाली- कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बाँसका लागि प्रख्यात छ। सामुदायिक वनले बर्सेनि लाखौँ रुपैयाँको बेत बाँस सङ्कलन गर्दै आएको छ।

वनको प्रमुख आम्दानीको स्रोत नै बेत बाँस हो। आर्थिक हिसाबले सम्पन्न यस सामुदायिक वनले बेत बाँस सङ्कलनबाट दर्जनौँ स्थानीयवासीलाई रोजगारी सिर्जना गर्दै आएको छ। अहिले वनबाट काँचो बेत सङ्कलन भइरहेको छ। दर्जनौँ स्थानीयवासी बेत सङ्कलनमा जुटेका छन्। उनीहरूले सङ्कलन गरेको बेत वनले प्रतिकिलो रु. ११ मा खरिद गर्दै आएको छ।

तीन हजार क्विन्टल बेत बाँस सङ्कलन गर्ने लक्ष्य लिएको सामुदायिक वनले आवश्यकताअनुसार कामदार नपाउँदा लक्ष्य भेटाउन मुस्किल भएको वन कार्यालयका प्रमुख मीनबहादुर ठकुल्ला बताउँछन्।

“अहिलेसम्म लगभग ९०० क्विन्टल सङ्कलन भएको छ। लक्ष्यअनुसार यस वर्ष पनि बेत सङ्कलन हुँदैन,” उनी भन्छन्, “कामदार पाउन निकै गाह्रो हुँदा गत वर्ष पनि लक्ष्यअनुसार बेत सङ्कलन गर्न सकिएको थिएन। वनले गत वर्ष एक हजार ४०० क्विन्टल बेत बाँस सङ्कलन गरेको थियो।”

वनको १४६ हेक्टर क्षेत्रफलमा बेत बाँस छ। त्यसमध्ये १० हेक्टरभन्दा बढी क्षेत्र कर्णाली नदीको कटानमा परिसकेको छ। बेत बाँस भएको क्षेत्रलाई चार भागमा विभाजन गरेर वनले पाँच वर्षमा एक पटक एउटा भागको बेत बाँस सङ्कलन गर्दै आएको छ।

“हामीले वर्षमा ७० देखि ८० लाख रुपैयाँसम्मको बेत बाँस बिक्री गरेको रेकर्ड छ,” सामुदायिक वनका अध्यक्ष जितराम चौधरी भन्छन्, “यसरी आम्दानी भएको रकम उपभोक्ताहरूलाई प्रदान गरिने सेवामा खर्च गर्ने गरेका छौँ।”

उनका अनुसार वनले बर्सेनि जाडोको समयमा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गर्दै आएको छ। साथै, उपभोक्ताका बालबालिकालाई छात्रवृत्ति र उपभोक्ताको परिवारमा कसैको निधन हुँदा किरिया खर्चबापत वनले नगद सहयोगसमेत गर्दै आएको छ।

काँचो बेत प्रतिकिलो रु. ११ मा खरिद गरेर सामुदायिक वनले त्यसलाई सुकाई उपभोक्ताका लागि प्रतिकिलो रु. ५० मा उपलब्ध गराउँदै आएको छ। बाहिर बिक्री गर्नुपर्दा प्रतिकिलो रु. ९० मा बिक्री गरे पनि ‘टेन्डर’ मार्फत प्रतिकिलो रु. १०५ सम्ममा बिक्री हुने गरेको अध्यक्ष चौधरीको भनाइ छ।

उनका अनुसार बजारमा बेतको माग उच्च रहे पनि त्यसलाई पूरा गर्न सकिएको छैन। टीकापुरमा मात्रै बेत बाँसका फर्निचर उत्पादन गर्ने दर्जनौँ उद्योग सञ्चालनमा छन्। ती सबै उद्योगको कच्चा पदार्थको स्रोत यही सामुदायिक वन हो।

बर्सेनि कर्णाली नदीको कटानका कारण सामुदायिक वनको क्षेत्रफल खुम्चिँदै गएको छ, जसले गर्दा टीकापुर नगरपालिकाको दक्षिण–पूर्वी क्षेत्र थप जोखिममा पर्दै गएको छ। -रासस

खोज्नुहोस