प्रदेश र स्थानीय तह पनि नयाँ जनादेशमा जानुपर्छ : मुख्यमन्त्री कमलबहादुर शाह

धनगढी। प्रदेश र स्थानीय तह पनि छिटोभन्दा छिटो नयाँ जनादेशमा जानु पर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज पत्रकारहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् । जेनजी आन्दोेलनको मर्म र भावनानुरूप निर्वाचन भई सङ्घीय सरकार नयाँ जनादेशको साथ अगाडि बढिसकेको अवस्थामा प्रदेश र स्थानीय तह पनि अब नयाँ जनादेशकै साथ अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्रीको भनाइ छ ।

“भदौ २३ र २४ गतेको नव युवाको आन्दोलनको भावना अनुसार सङ्घ सरकार निर्माण भए जसरी नै स्थानीय र प्रदेश सरकारको निर्वाचन चाँडोभन्दा चाँडो हुनुपर्छ”, उनले थपे, “त्यसका लागि सङ्घ सरकारले वातावरण निर्माण गर्नुपर्‍यो ।”

अर्को प्रसङ्गमा मुख्यमन्त्री शाहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रदेश सरकार दृढ रहेको बताएका छन् ।

दीपक भट्ट र सुलभ अग्रवाल सात दिन थुनामै रहने

काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा रहेका व्यापारीद्वय दीपक भट्ट र सुलभ अग्रवालको सात दिन म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले दुवैजनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

“अनुसन्धान गर्ने निकायको तर्फबाट उपस्थित अनुसन्धान अधिकृतले प्रस्तुत मुद्दाको अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको, सम्पत्ति शुद्धीकरणको कसुर मा जोडिएको बिमा ऐन र धितोपत्र ऐन अन्तर्गतको सम्बद्ध कसुरको अनुसन्धान गर्न, राय प्रतिवेदन तयार गर्नको लागि म्याद थप आवश्यक परेको भनी माग गरेको देखिँदा बाँकी अनुसन्धान कार्य पुरा गरी, राय प्रतिवेदन तयार गरी अभियोगपत्र समेत दायर गर्ने प्रयोजनका लागि आरोपीहरू दिपक भट्ट र सुलभ अग्रवाललाई मिति २०८३/१/९ गते देखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण  निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) समेतका आधारमा दिन ७ (सात) म्याद थप गरिदिएको छ ।”

भट्ट  र  अग्रवालका तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, लभकुमार मैनाली, सुरेन्द्रकुमार महतो र अधिवक्ताहरू रमणकुमार कर्ण, समिरकुमार शर्मा र भावेश गौतमले बहस गरेका थिए ।

उनीहरूमाथि बिमा ऐन र धितोपत्र ऐन अनुसारको अनुसन्धान मात्र बाँकी रहेको जानकारी अदालतमा गराइएको छ ।

सरकारले राम्रो गरे समर्थन र नराम्रो गरे विरोध गर्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गरेका राम्रा काममा पार्टीले समर्थन गर्ने बताएका छन् । विराटनगरमा पार्टीको समीक्षा कार्यक्रममा थापाले सरकारले गरेका खराब कामहरूको भने विरोध गर्ने बताए ।

निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भए पनि हारेको भनेर मन साँघुरो बनाउनुपर्ने अवस्था नरहेको बताए । फेरि संगठित भएर आउने भन्दै थापाले लडेर आएको पार्टी जय वा पराजयबाट नखुम्चने उल्लेख गरे ।

बाहिर रहेकाहरूले पनि पार्टीमा सदस्यता जहाँ छ त्यहीँबाट नवीकरण गर्न पाइने उनको भनाइ छ । “क्रियाशील भएकाहरू आफैँ जानुहोस् भनेर गर्न खोजेको । डिजिटल्ली स्मार्ट बनाउन खोजेको हो,” उनले भने ।

केन्द्रीय कमिटीलाई पूर्णता दिएर केन्द्रीय महाधिवेशनमा लाग्ने उनको भनाइ छ । पार्टी सबैको हो भन्ने बनाउने जिम्मेवारी आफ्नो भएको उनको भनाइ छ । रिसाएका १० लाख मतदातालाई फिर्ता गरेर ल्याउन भरोसा दिलाएर अगाडि बढ्नुपर्ने उनले बताए । “नयाँ पुस्तालाई सँगै लिएर हिँड्नुपरेको छ । चार पुस्तासँगै लिएर अघि बढ्नुपर्नेछ,” उनले भने ।

गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमपश्चात् पत्रकारको जिज्ञासामा गृहमन्त्री गुरुङले राजीनामा दिएर राम्रो गरेको बताएका हुन् ।

गृहमन्त्रीको राजीनामालगत्तै सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीले बोलाए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामालगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुरक्षा संठगन प्रमुखहरूलाई सिंहदबार बोलाएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेका छन् ।

मन्त्रीपदबाट राजीनामा दिनुअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सुधन गुरुङबीच पनि भेट भएको थियो ।

राजीनामालगत्तै प्रधानमन्त्री बालेनले पनि सुरक्षा संगठन प्रमुखहरूलाई भेटका लागि सिंहदबार बोलाएका हुन् ।

सामान्य अङ्कले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको छ ।

आज ३४२ कम्पनीको एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर एक लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव १३, वित्त समूह शून्य दशमलव ५८, लगानी शून्य दशमलव ०९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र निर्जीवन बीमा शून्य दशमलव ३८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

विकास बैंक शून्य दशमलव २७, होटल तथा पर्यटन दुई दशमलव ३६, जलविद्युत् शून्य दशमलव ०६, जीवन बीमा शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४०, व्यापार एक दशमलव १० र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेको छ ।

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हाल्ने

काठमाडौं- तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि उनी पनि विवादमा तानिएका थिए । त्यसपछि उनले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएका हुन् ।

अहिलेको सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका हुन् । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा लगरेको अर्को लागनीको विवरण पनि बाहिर आयो ।

उनले सञ्चालन गरेको सामाजिक संस्था हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो । त्यही दबाबमा बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

नेपाललाई रुवान्डाले दियो ८९ रनको लक्ष्य

काठमाडौं । रुवान्डाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला च्यालेन्ज ट्रफीमा नेपाललाई ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार घरेलु मैदान गाहांगा ‘बी’ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको रुवान्डा पाहुना टोलीविरुद्ध १९.४ ओभरमा ८८ रनमै समेटियो ।

रुवान्डाको निम्ति एलिक इकुज्वीले १७ रन बनाइन् । मेरी डीआने बिमेन्यीमानाले १५, क्लारिस उमोटोनिवासेले १३ र रोजिनी आईरेराले १२ रन बनाए । यसबोहक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकी रुविना क्षेत्रीले सर्वाधिक तीन विकेट लिइन् । कविता कुँवर र पूजा महतोले समान दुई विकेट लिँदा मनिषा उपाध्याय र रिया शर्माले समान एक विकेट लिए ।

खेलमा रुवान्डा लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । तालिकाको शीर्ष स्थानमा रहेको रुवान्डाले तीन खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । अन्तिम खेल खेलिरहेको यो टोलीले तालिकामा चार अंक जोडेको छ ।

नेपाल भने लगातार दोस्रो जितको खोजिमा छ । तालिकाको चौथो स्थानमा रहेको नेपालले दुई खेल खेल्दा समान एक जित र हार व्यहोरेको छ ।

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएकाे घाेषणा गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलपछि उनले सामाजिक संजालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

पछिल्लो समय व्यवसायी दिपक भट्टसँग विभिन्न व्यवसायमा साझेदारी रहेको, जेन्जी आन्दोलनपछि ५० लाख बढीको सेयर खरिद गरेको, फेवातालको अतिक्रमित जग्गा भाडामा लिएर व्यवसाय संचालन गरेको लगायतका विषयमा उनी संलग्न रहेको भन्दै चौतर्फी विरोध भइरहेको थियो ।

उनले फेसबुक मार्फत लेखेका राजीनामा यस्तो छ : 

‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।

मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको न्भल श्  आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।  

त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest  नदेखियोस र  त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।

मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।’

कर्मचारी संयन्त्रलाई उत्तरदायी र जनमुखी बन्‍न सरकारको निर्देशन

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई निर्देशन दिएको छ।

मन्त्रालयकी सचिव चन्द्रकला पौडेलद्वारा जारी पत्रमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत ‘शासकीय सुधारका एकसय कार्यसूची’ अन्तर्गत बुँदा नं. १३ कार्यान्वयनमा जोड दिइएको छ।

साशकीय सुधारको १३ नम्बर बुँदामा भनिएको छ, ‘विद्यमान भ्रष्टाचार, ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहारजस्ता प्रवृत्तिहरूको सुधार गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी, जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिताको अक्षरशः कार्यान्वयन गर्ने। साथै, कर्मचारीहरूले व्यावसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र सरकारका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित भई काम गर्ने वातावरण सुनिश्चित गर्ने।’

उक्त बुँदाले भ्रष्टाचार, ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहार अन्त्य गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी र जनमुखी बनाउने लक्ष्य राखेको छ।

यसका साथै, कर्मचारीहरूले पेशागत मर्यादा कायम राख्दै निष्पक्ष र तटस्थ ढंगले सरकारका निर्णय कार्यान्वयनमा समर्पित हुनुपर्ने उल्लेख गरिएको छ।

मन्त्रालयले निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली, २०५० र निजामती सेवाका कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ लगायत प्रचलित कानूनअनुसार स्वीकृत आचारसंहिताको पूर्ण पालना गराउने तथा नियमित अनुगमन गर्न निर्देशन दिएको छ।

​​​​​​​

सुदन किरातीले साधारण सदस्य समेत नरहने गरी प्रलोपा छोडे

काठ्माण्डौ- सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अब उक्त दलमा आबद्ध नरहने जानकारी दिएका हुन्।

पार्टी छोड्ने निर्णय सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

आफ्नो आगामी कदमबारे स्पष्ट पार्दै उनले अगाडि लेखेका छन्, ‘जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु। मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु।’

यस्तो छ सुदन किरातीको फेसबुक पोस्ट
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। 
यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु। संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु।
साथै, जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु। मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु।
धन्यवाद !

सुदूरपश्चिममा रास्वपाले हारेका ६ क्षेत्रमा यी सांसदहरूलाई दियो जिम्मेवारी

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिम प्रदेशमा पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि नयाँ कार्यविभाजन गरेको छ। गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा पराजय भोगेका ६ वटा निर्वाचन क्षेत्रहरूमा पार्टीले आफ्ना समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको हो।

पार्टीको पछिल्लो निर्णयअनुसार ती क्षेत्रहरूमा संगठन विस्तार र जनसम्पर्क बढाउन सांसदहरूलाई प्रत्यक्ष रूपमा खटाइएको छ। जसअनुसार दार्चुला निर्वाचन क्षेत्रको जिम्मेवारी सांसद करिश्मा कठरियालाई दिइएको छ भने बझाङमा सांसद अंकिता ठाकुरलाई जिम्मेवारी दिएको हो।

त्यसैगरी, बाजुरा जिल्लामा सांसद सुनिताकुमारी चौधरी र डोटीमा सांसद पुरुषोत्तम शुभप्रभात यादवलाई जिम्मेवारी प्रदान गरिएको छ। अछामका दुईवटै निर्वाचन क्षेत्रमा पनि रास्वपाले सांसदहरूलाई नै परिचालन गरेको छ। अछाम निर्वाचन क्षेत्र नं. १ मा सांसद टीका संग्रौला र निर्वाचन क्षेत्र नं. २ मा सांसद रत्नाकुमारी थापालाई जिम्मेवारी तोकिएको छ।

गत निर्वाचनमा यी क्षेत्रहरूमा रास्वपाले हार व्यहोरेको थियो।

डडेल्धुरा सदरमुकाम सडक बजेट अभावमा अलपत्र

डडेल्धुरा। जिल्ला सदरमुकामको करिब चार किलोमिटर सडक विस्तारका लागि सरकारले ६५ करोड रुपियाँ मुआब्जा वितरण गरेको चार वर्ष पूरा भए पनि विस्तार कार्य अघि बढ्न सकेको छैन। आर्थिक वर्ष २०७७/०७८ मा उक्त रकम स्थानीयलाई वितरण गरिएको थियो। मुआब्जा पाएपछि सडक दायाँ–बायाँ १५–१५ मिटरभित्रका घर तथा संरचना हटाइएका थिए।

केही व्यापारीहरूले मुआब्जा पाएको जग्गा प्रयोग गर्दै घर तथा पसल अगाडि सडकको भाग मासिक १० हजार रुपियाँसम्म भाडामा लगाएर फलफूल र तरकारी बिक्री गर्दै आएको देखिएको छ।

हाल पाँच मिटर चौडा कालोपत्रे भएको उक्त सडकलाई ३० मिटर चौडा बनाउने योजना भए पनि आवश्यक बजेट अभावका कारण काम अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय कुलपाते, डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिए।

कैलाली–दार्चुला जोड्ने महाकाली राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–५ बागबजारको पिपल चौतारादेखि वडा नं. ८ डकलेसम्म सडक विस्तारका लागि सरकारले मुआब्जा वितरण गरेको हो। उनका अनुसार पहिलो चरणमा २० करोड, दोस्रो चरणमा ३० करोड र बाँकी रकम तेस्रो चरणमा पठाइएको थियो।

पहिलो चरणमा बागबजारदेखि तुफानडाँडातर्फ करिब तीन सय मिटर क्षेत्रमा रहेका १०६ जना घर तथा जग्गाधनीलाई मुआब्जा वितरण गरिएको थियो। दोस्रो चरणमा २८४ जनालाई पनि मुआब्जा दिइएको थियो।

सडक निर्माणका लागि बजेट अभाव
सडक डिभिजन कार्यालय कुलपाते, डोटीले उक्त सडक विस्तारका लागि ९७ करोड रुपियाँ बजेट विभागसँग माग गरेको थियो। माग गरिएको तीन वर्षपछि चालु आर्थिक वर्ष २०८२/८३ मा २० करोड रुपियाँ ‘रातो किताब’मा समावेश भए पनि भदौमा भएको जेनजी आन्दोलनपछि बनेको सरकारले उक्त रकम रोक्का गरेको कार्यालयले जनाएको छ।

रकम अभावका कारण हालसम्म सडक विस्तारको काम अघि बढ्न नसकेको कार्यालयको भनाइ छ। सुदूरपश्चिमका सात पहाडी जिल्लाको ट्रान्जिट प्वाइन्टका रूपमा रहेको डडेल्धुरामा साँघुरो सडकका कारण आवतजावतमा समस्या भइरहेको छ।

सडक कालोपत्रे भएको २६ वर्षपछि स्तरोन्नतिको योजना अघि बढे पनि बजेट अभावले स्थानीय निराश बनेका छन्। २०३५ सालमा पहिलो पटक डडेल्धुरामा गाडी पुगेको थियो भने बजार क्षेत्रको सडक २०५४ सालमा कालोपत्रे सुरु भई २०५७ सालमा सम्पन्न भएको थियो।

सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण बजेट अभाव र बहुवर्षीय स्रोत सहमति नहुनु रहेको सडक डिभिजन कार्यालय डोटीका सूचना अधिकारी उदय कठायतले जानकारी दिए। उनका अनुसार अहिले बजेट व्यवस्थापनका लागि विभागमा प्रस्ताव पठाइएको छ र ८० करोड रुपियाँको बहुवर्षीय योजना स्वीकृत गराउने प्रक्रिया अघि बढाइएको छ।

आर्थिक वर्ष २०८३/८४ मा बजेट सुनिश्चित भएपछि ठेक्का प्रक्रिया अघि बढाई सडक विस्तारको काम सुरु गरिने तयारी रहेको कार्यालयले जनाएको छ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं- स्थानीय बजारमा सुनको भाउ घटेको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला तीन लाख ५०० कायम भएको छ ।

हिजो तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ ।

मंगलबार पाँच हजार १६० रुपैयाँ थियो ।

काठमाण्डु – अमेरिका र इरानबीच जारी युद्धविरामको समय घर्किँदै गएपनि दोस्रो चरणको वार्ता अनिश्चित बनेको छ ।

वार्ताको भविष्य अन्योलमा परिरहेका बेला दुवैपक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् ।

दोस्रो चरणको वार्ताको लागि कूटनीतिक प्रयासहरू पुनः पाकिस्तानमा केन्द्रित हुने संकेत देखिए पनि इरानले सहभागिताबारे स्पष्ट धारणा सार्वजनिक नगरेपछि स्थिति अझ जटिल बनेको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स इस्लामावाद गएर दोस्रो चरणको वार्ता अघि बढाउने तयारीमा रहेका छन् । तर, इरानले अमेरिकी कदमप्रति गम्भीर असन्तुष्टि जनाउँदै वार्तामा सहभागी हुने वा नहुने विषयमा मौनता कायम राखेको छ ।

इरानले अमेरिकामाथि आफ्ना बन्दरगाहहरूमा नाकाबन्दी लगाएर र एक जहाज नियन्त्रणमा लिएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर घालीबाफले अमेरिकाले वार्तालाई दबाबको माध्यम बनाउन खोजेको आरोप लगाउँदै खतराको वातावरणमा वार्ता स्वीकार्य नहुने बताएका छन् । उनका अनुसार पछिल्ला दुई सातामा इरानले युद्धक्षेत्रमा नयाँ रणनीति देखाउने तयारी गरिरहेको छ ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि होर्मुज क्षेत्रमा जहाजहरूलाई अवरोध गरेर युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

२८ फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको युद्धपछि इरानले विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने मार्ग अवरुद्ध गरेको छ । ट्रम्पले सामाजिक सञ्जालमार्फत नाकाबन्दीले इरानलाई कमजोर बनाइरहेको दाबी गर्दै समझदारी नभएसम्म दबाब जारी रहने संकेत दिएका छन्।

युद्धविरामको समयसीमा सकिन लाग्दा वार्तामा सहभागी हुने विषयमा ट्रम्पले इरान तयार हुनुपर्ने बताउँछन् । उनले युद्धविराम समाप्त भए ठूलो स्तरमा आक्रमण सुरु हुनसक्ने चेतावनी पनि दिएका छन् । यद्यपि, युद्धविराम केही समय थपिने सम्भावना न्यून रहेको उनको भनाइ छ ।

युद्धको जोखिमबीच अन्तर्राष्ट्रिय बजारमा भने तेलको मूल्य घट्दो क्रममा देखिएको छ । अमेरिका–इरानबीच सहमति भएर होर्मुज जलमार्ग पुनः सञ्चालनमा आउने आशाले बजार प्रभावित भएको विश्लेषण गरिएको छ ।

इरानमा युद्धविरामपछि केही सामान्य जीवन फर्किएको देखिए पनि सर्वसाधारणमा अनिश्चितता र आर्थिक दबाब अझै कायम छ । स्थानीय बासिन्दाहरूले अवस्था सहज नभएको र अर्थतन्त्र निकै कमजोर रहेको बताएका छन् ।

 

कस्तो छ आजको मौसम

काठमाडौँ/  हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौषम विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेकोे छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बादल  लाग्ने र बाँकी भूभागमा मौसम  सफा रहनेछ ।

कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

त्यसैगरी आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

खेतबारीमा आगो नलगाउन आग्रह

कैलालीः कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध गरेका छन्।

पालिकाहरूले किसानले गहुँ बाली भित्र्याइसकेपछि खेत सरसफाइ गर्ने जनाउँदै आगो लगाउने कार्य नगर्न सूचना गरेर अनुरोध गरेका छन्। खेतबारीमा आगो लगाउँदा माटो सुरक्षामा असर पर्ने, वातावरण प्रदूषित हुनुका साथै बस्तीमा आगलागीको जोखिम बढ्ने भएकाले आगो नलगाउन सूचना गरेका हुन्।

सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा किसानले गहुँ भित्र्याउने काम सकिएको छ। बारीमा रहेका गहुँका नल सफाइ गर्न किसानले खेतबारीमा आगो लगाउँदा धनजनको क्षतिका घटना हुने भएकाले सचेत हुन कैलालीको जानकी गाउँपालिकाले आग्रह गरेको छ।

गाउँपालिकाले गहुँ बाली भित्र्याउने क्रममा निस्किएको नल÷भुसा खेतमा नजलाई गौशालामा रहेका गाईवस्तुको आहाराका लागि निःशुल्क उपलब्ध गराइदिन अनुरोध गरेको विपद् सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीले जानकारी दिए। टीकापुर नगरपालिका–२ मा रहेको गौशालामा जानकी गाउँपालिका र टीकापुर नगरपालिका क्षेत्रका छाडा वस्तुभाउ राख्ने गरिएको छ। गौशालामा रहेका गाईवस्तुलाई आहारा अभाव भएका बेला किसानले खेतबारीमा आगो लगाएर आहारा नष्ट गर्नुभन्दा पशुलाई उपलब्ध गराउनु असल कर्म हुने जानकी–४ का रतन धामीको भनाइ छ।

जोशीपुर गाउँपालिकाले खेतमा आगो लगाउँदा मानव बस्ती आगलागीजन्य घटना बढेकाले आगो नलगाउन आह्वान गरेको छ। “आगो लगाउँदा सुक्ष्म जीवहरू मर्न गई माटोका उर्वराशक्ति ह्रास हुन्छ, माटोको भौतिक, जैविक र रासायनिक गुण बिग्रन्छ”, गाउँपालिकाका कृषि अधिकृत सञ्जय चौधरी भन्छन्, “वातावरण प्रदूषण हुने, पशु आहारामा कमी हुने हुँदा भुसा सङ्कलन गरी पालिकाले सञ्चालन गरेको गौशालामा बिक्री गरी सघाउन अनुरोध गरेका छौँ।

पालिकाले गहुँको भुसाको मूल्य तोकेर बिक्री गर्ने किसानलाई पालिकामा आवेदन दिन सूचना गरेको छ। पालिकाले किसानको भुसा पशुको आहाराका लागि खरिद गर्ने भएको छ। पालिकाले तोकेको मूल्यअनुसार प्रतिट्रली भुसा तीन हजार ७००, प्रतिडनलप रु दुई हजार ५०० तोकेको छ। किसानको भुसा पालिकाले खरिद गर्ने, बिक्री गर्ने किसानले जोशीपुर–३ बञ्जरियामा रहेको काञ्जी हाउसमा पुर्याउनुपर्ने जनाएको छ।

यसैगरी टीकापुर नगरपालिकाले पनि खेतबारी आगो नलगाउन आग्रह गरेको छ। गहुँ बारीमा लगाएको आगोले खतरा भएका यसअघिका घटनाले पनि सचेत गराएकाले आफूहरूले पछिल्ला केही वर्षयता आगो नलगाउन सचेत गराउने गरेको वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताइन्। “खेत सफा गर्ने भनी आगो लगाउँदा कहिलेकाहीँ घर तथा बस्तीमा आगलागी भइदिन्छ”, उनले भनिन्, “हामीसँग एकमात्र दमकल छ, जनशक्ति पनि पर्याप्त छैन, खेतमा लगाएको आगो निभाउन दमकल पठाउनुपर्ने बाध्यता हुन्छ।”

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले समेत माटो सुरक्षाका लागि भए पनि खेतबारीमा आगो नलगाउन आग्रह गरेको छ। बाली विकास अधिकृत गिरिशराज जोशीले आगो लगाउँदा प्रदूषण बढ्नुका साथै माटोमा भएका मित्र कीराहरू पनि मर्ने भएकाले फाइदा नहुने बताए। “खेतबारीमा आगो लगाउनुका सट्टा जोतेर पल्टाइदिएमा गलेर मल बन्छ”, उनी भन्छन्, “मलको समस्या टार्नका लागि यतिबेला बाँझो जमिनमा ढैचा खेती गरेर हरियो मलका रूपमा प्रयोग गर्न सकिन्छ।”

गत वर्षबाट किसानलाई सचेत गराएका कारण यस वर्षको अहिलेसम्म टीकापुरमा तीनवटा मात्र आगलागीका घटना भएका छन्। गत वर्ष यो सिजनमा १२ वटा आगलागीका घटना भएका थिए। टीकापुरको दमकलले यहाँका पालिका जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दियाको राजापुर नगरपालिकासम्म आगो निभाउन सेवा दिनुपरिरहेको छ। यस वर्ष भजनीमा दमकल ल्याएपछि केही राहत भएको छ। गर्मीका समयमा मानिसको सानासाना लापरवाहीले आगलागीका घटना हुने गरेका छन्।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त

काठमाडौं : सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिनाले जानकारी दिए ।

बैठकले समितिको सदस्य पदमा नवराज सिंहखडा र रोशनबहादुर शाक्यलाई मनोनित गरेको छ । त्यस्तै मन्त्रिपरिषद्ले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल रहेको मन्त्री तिमिल्सिनाले बताए ।

त्यस्तै बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक र नेपाल विशेष सेवा ऐन २०८२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ ।

तीन ऐन संशोधन गर्न बनेका विधेयक संसद्‌मा पेश गर्न स्वीकृति

काठ्माण्डौ- सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्‌मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक, र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने निर्णय गरेको हो।

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर महिनाको पहिलो हप्ता हुने

प्रतिनिधि सभामा अब प्रधानमन्त्रीसँग प्रश्नोत्तर महिनाको पहिलो हप्ता हुने भएको छ।

प्रतिनिधि सभा नियमावली समितिले सभामुख डिपी अर्याललाई बुझाएको प्रतिवेदनमा अब प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै दिन बैठकको पहिलो एक घण्टा निर्धारण हुने उल्लेख गरिएको छ।

तर उक्त दिन कुनै कारणले बैठक बस्न नसके त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय निर्धारण हुनेछ।

धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति सिफारिस गर्न समिति गठन

काठ्माण्डौ- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को सिंहरदबारमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट संयोजक रहने गरी तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेकाे मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।

समितिको सदस्यहरूमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र भुवनकुमार दाहाल रहेका छन् । यो समितिले बोर्डको नेतृत्वका लागि उपयुक्त उम्मेदवारहरूको नाम छनोट गरी सरकारलाई सिफारिस गर्ने जिम्मेवारी पाएको छ ।

यसैगरी, मन्त्रिपरिषद्ले कानुनी र प्रशासनिक सुधारका लागि विभिन्न महत्त्वपूर्ण विधेयकहरूलाई संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

बैठकले नेपाल विशेष सेवा ऐन २०४२, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेका विधेयकहरूलाई सदनमा दर्ता गर्न अनुमति दिएको हो । यी विधेयकहरूको संशोधनले आगामी निर्वाचन प्रक्रिया र विशेष सेवाका कार्यहरूलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको रिक्त पदहरूमा पनि नियुक्ति गरेको छ । जसअनुसार समितिको अध्यक्ष पदमा प्युठानका डिल्लीराज आचार्यलाई नियुक्त गरिएको छ भने सदस्यहरूमा धादिङका नवराज ढुंगाना र ललितपुरका रोशन बहादुर शाक्यलाई मनोनयन गरिएको मन्त्री डा. तिमिल्सिनाले जानकारी दिए।

 

यूएईविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्दै

संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले फिल्डिङ रोज्दै यूएईलाई ब्याटिङको निम्तो दिएका हुन्।

नेपाली टोलीमा आज युवा स्पिन अलराउन्डर सन्तोष यादवले डेब्यु गर्दैछन्। घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका यादवलाई पहिलो पटक राष्ट्रिय टोलीको ‘प्लेइङ ११’ मा समावेश गरी अन्तर्राष्ट्रिय मञ्चमा अवसर दिइएको हो।

टोलीको ब्याटिङको मुख्य जिम्मेवारी कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल र आरिफ शेखमाथि छ भने अलराउन्डरका रूपमा कप्तान ऐरी र गुल्सन झा रहेका छन्।

बलिङतर्फ सन्दीप लामिछानेले स्पिन आक्रमणको नेतृत्व गर्नेछन्। उनलाई शाहब आलम र डेब्युटान्ट सन्तोष यादवले स्पिनमा साथ दिनेछन्। यस्तै, तीव्र गतिको बलिङमा हेमन्त धामी, नन्दन यादव र गुल्सन झा रहेका छन्।

घरेलु मैदान र दर्शकको साथ पाएको नेपालले आजको खेलमा यूएईलाई सस्तैमा समेट्ने लक्ष्य राखेको छ।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी (कप्तान), गुल्सन झा, सन्तोष यादव, आरिफ शेख, शाहब आलम, नन्दन यादव, सन्दीप लामिछाने र हेमन्त धामी।

अनिल कुमार शाहको कप्तानीमा ओमनसँग खेल्ने नेपालको ‘ए’ टिम घोषणा

काठमाडौं : अनिल कुमार शाहको कप्तानीमा ओमनसँग खेल्ने नेपालको ‘ए’ टिम घोषणा भएको छ। खेल अप्रिल २२ र २४ मा हुने छ।

टिममा त्रितराज दास, देव खनाल, इसान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, रसिद खान, हेमन्त धामी, रिजन ढकाल, आकास चन्द, युवराज खत्री र शेर मल्ल रहेका छन्।

प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो

प्रतिनिधिसभा नियमावली २०८३ को मस्यौदा सभामुखलाई बुझाइएको छ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको नेतृत्वमा बनेको समितिले मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएको हो ।

मंगलबार दिउँसो राज्य व्यवस्था तथा सुशासन समितिको सभाहलमा सभामुख अर्याललाई समिति संयोजक पराजुलीसहित समिति सदस्यहरूले नियमावलीको मस्यौदा बुझाएका हुन् ।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । मंगलबार (वैशाख ८) दिउँसो सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।

बैठकमा गृहमन्त्री सुधन गुरुङसहितका मन्त्रीहरू सहभागी छन् । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ। अखिल नेपाल फुटबल सङघ (एन्फा) ले भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिप –२०२६ का लागि आज प्रारम्भिक चरणमा ३५ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको छ ।

नेपाल महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने उक्त प्रतियोगिताका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्नुभएको हो । प्रशिक्षक न्यौपानेले टोलीलाई तयारी गराउन पहिलो चरणको बन्द प्रशिक्षण यही वैशाख १४ गतेदेखि सुरु गर्ने तालिका रहेको एन्फाले जनाएको छ ।

आठौँ संस्करण साफ च्याम्पियनसिप भारतको गोवा राज्यस्थित मार्गाओमा आगामी मे २५ देखि जुन ७ तारिखसम्म आयोजना हुँदैछ । दक्षिण एसियाली महिला फुटबलमा नेपाल सधैँ बलियो दाबेदारका रूपमा देखिँदै आएको छ तर पटक–पटक फाइनल पुगे पनि उपाधि जित्न सकेको छैन । प्रशिक्षक न्यौपानेको नेतृत्वमा नेपाल पहिलो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

छनोट भएको प्रारम्भिक टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी, अस्मिता नेपाली, वर्षा ओली, विमला विक, विमला चौधरी, बिर्सना चौधरी, दीपा शाही, गीता राना, हिरा भुजेल, जेनिफर राना, मनमाया दमाईं, मीना देउवा, नेहा कुमारी चौधरी र निशा ठोकर छन् ।

त्यसैगरी, पुनम चेम्जोङ, प्रतीक्षा चौधरी, प्रीति राई, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिना चौधरी, सजनी ठोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू, सिलु परियार, सुक्रिया मियाँ, सुशीलाकुमारी चौधरी र उषा नाथ छन् ।

 

लगातार दोस्रो दिन पनि घट्यो नेप्से

मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेप्से १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा बन्द भएको छ।

नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।

सोमबार ५ अर्ब ४३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएको छ।

यसदिन ३४७ वटा धितोपत्रको एक करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।

यसदिन तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

सूर्यकुन्ड हाइड्रो र पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशत र शिखर पावरको सेयर मूल्य १४.९९ प्रतिशतका दरले बढेको छ।

सर्वाधिक मूल्य घट्नेमा दोल्ती पावर रहेको छ।

उक्त कम्पनीको मूल्य ८.७१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३८८ रूपैयाँमा झरेको छ

यसैगरी, सोलु हाइड्रोपावरको मूल्य ५.७७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८०० रूपैयाँमा सीमित भएको छ।

मंगलबार सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको ८०० रूपैयाँमा ३७ करोड सात लाख रूपैयाँको कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको चार हजार २८८ रूपैयाँमा ३० करोड १९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक १.१६ प्रतिशतले बढेको छ बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले घटेको छ।

खोज्नुहोस