महँगी बढेपछि जनजीवन झन् कष्टकर

द एभरेष्ट पोष्ट
८ वैशाख २०८३ ६:५३
महँगी बढेपछि जनजीवन झन् कष्टकर

काठमाडौं । शक्तिशाली नयाँ सरकारको आगमनसँगै राहतको अपेक्षा गरेका नागरिकको जनजीवन सर्वत्र चुलिएको महँगीले झन् कष्टकर बन्दै गएको छ । अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणसँगै मध्यपूर्वमा बढेको तनावले पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपालीको भान्सासम्मै महँगी भित्रिएको छ । दैनिक उपभोग्य खाद्यान्न, तरकारी, खानेपानी, फलफूलदेखि यातायातको भाडासम्म बढेको छ । किसानले बारीमा राम्रो भाउ नपाएको तरकारीलाई उपभोक्ताले भने चर्को मूल्य तिर्नुपरेका घटनाले कालोबजारी रोक्न सरकारका निकाय निष्प्रभावी बनेको देखाउँछ ।

सरकारको अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नै गरेको अध्ययनमा बढी मूल्यवृद्धि सबैभन्दा धेरै खपत हुने चामल, तेल, दाल, गेडागुडीलगायतमा भएको छ । चामलमा पनि सबैभन्दा धेरै बिक्री हुने स्टिम जिरा मसिनोमा फागुनको तुलनामा चैतमा औसत खुद्रा मूल्य प्रतिकेजी १७ रुपैयाँले बढेको छ, जुन २५ केजीको बोरामा ४२५ रुपैयाँले वृद्धि हो । त्यस्तै, सोना मन्सुली चामल २५ केजीको बोरामा २५० रुपैयाँले बढेको छ भने बासमती चामल २० केजीको बोरामा तीन सय रुपैयाँले महँगिएको छ ।

खानेतेलतर्फ सबैभन्दा धेरै खपत हुने सनफ्लावर तेल लिटरमा १५ रुपैयाँ बढेर ३०५ रुपैयाँ पुगेको छ । त्यस्तै, जिरा र धनियाँ (दाना) क्रमशः प्रतिकेजी ५० र ७० रुपैयाँले बढेको छ । चिउराको भाउ प्रतिकेजी २५ देखि ५० रुपैयाँसम्म र राज्मा प्रतिकेजी ६० रुपैयाँले बढेको छ ।

वाणिज्य विभागले प्रत्येक महिना बजार मूल्य संकलन गरी प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । विभागका निरीक्षण अधिकृतहरूले खुद्रा बजारमा पुगेर मूल्य संकलन गर्दै आएको प्रवक्ता नरहरि तिवारीले जानकारी दिए । संकलित मूल्यसूचीका आधारमा तुलनात्मक विवरण सार्वजनिक गर्दै आएको उनले बताए ।

खाद्यान्नभन्दा पनि अकासिएको छ हरियो तरकारीको भाउ । एक महिनाको अवधिमा झन्डै दुई सय प्रतिशतसम्म महँगिएको छ । सबैभन्दा महँगो टाटेसिमी छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार १ चैतमा औसत ३७ रुपैयाँ प्रतिकेजी थोक (होलसेल) मूल्य रहेको टाटेसिमी सोमबार ११० रुपैयाँमा बिक्री भयो । त्यस्तै, काउली, फर्सी, बरेलालगायतको भाउ दोब्बरले बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको भाउका कारण नेपाली बजारमा पनि इन्धनको भाउ समायोजन भइरहेकाले असर परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले बताए । ‘इन्धनको भाउ बढेपछि सबैतिर असर पर्ने नै भयो,’ उनले भने, ‘अहिले भइरहेको इन्धनको भाउ वृद्धिमा अन्तर्राष्ट्रिय कारक तत्व नै प्रमुख रहेकोमा हामी सबै जानकार नै छौँ ।’ उनले बजार भाउ नियन्त्रणका लागि मौजुदा कानुनअनुसार अधिकतम खुद्रा बिक्री मूल्यको कार्यान्वयनमा वाणिज्य विभागमार्फत कडाइ भइरहेको पनि दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस