दार्चुलाको उकु महल उत्खनन् : पौराणिक मन्दिरका भग्नावशेष भेटिए

द एभरेष्ट पोष्ट
६ वैशाख २०८३ १५:१३
दार्चुलाको उकु महल उत्खनन् : पौराणिक मन्दिरका भग्नावशेष भेटिए

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु महल क्षेत्रमा १५औँ शताब्दी आसपासका पौराणिक मन्दिरका भग्नावशेष फेला परेका छन् । पुरातत्व विभागले गरेको उत्खनन्का क्रममा मन्दिरसम्बन्धी अवशेषहरू भेटिएका हुन् ।

वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती नेतृत्वको टोलीले उकु क्षेत्रमा उत्खनन् गरिरहेको छ । पुरातत्व अधिकृत हरिप्रसाद भुसालका अनुसार उत्खनन्का क्रममा ठूलो संख्यामा कलात्मक शीला, विभिन्न मूर्ति, शिखर (गजुर) का अर्धभाग, ढुङ्गेधारा, बसाहा तथा सिंह आकृतिका पत्थरका अवयवहरू फेला परेका हुन् ।

मध्ययुगीन समयमा निर्माण भएका शिव मन्दिर जस्ता संरचनाका अवशेष प्रशस्त मात्रामा भेटिएको भुसालले बताए । उनका अनुसार उत्खनन्बाट प्राप्त संरचनाको स्वरूप हेर्दा यो क्षेत्र राजा बस्ने महलभन्दा पनि मन्दिर भएको प्रारम्भिक अध्ययनले संकेत गरेको छ ।

‘यहाँ शिखर वास्तुशैलीका जग र ढुङ्गा भेटिएका छन् । त्यसैले यो क्षेत्र मन्दिर परिसर हुन सक्ने प्रारम्भिक निष्कर्षमा पुगेका छौँ,’ उनले भने । पिपलबोट क्षेत्र आसपास उत्खनन् गर्दा मन्दिरको जग भेटिएको र महल वा मन्दिर भन्ने विषयमा थप अध्ययन जारी रहेको उनको भनाइ छ । उत्खनन्पछि ढुङ्गाहरू नापजाँच गरी नम्बरिङ गर्ने काम भइरहेको छ ।

उत्खनन्‌का क्रममा भेटिएका केही महत्वपूर्ण मूर्तिहरू काठमाडौंस्थित छाउनी संग्रहालयमा संरक्षणका लागि लैजाने तयारी भइरहेको पुरातत्व विभागले जनाएको छ । ‘विश्वभरिका पर्यटकहरू संग्रहालय अवलोकन गर्न आउने भएकाले यहाँ भेटिएका उत्कृष्ट मूर्तिहरूको प्रचारप्रसारमा सहयोग पुग्नेछ,’ भुसालले भने ।

उनका अनुसार गत वर्षभन्दा यस वर्ष थप मूर्तिहरू फेला परेका छन् । उत्खनन्स्थलमा शीलालेख अंकित चट्टानहरू समेत देखिएका छन् । ढुङ्गा कुँदेर बनाइएका आकर्षक मूर्ति तथा संरचनात्मक अवशेषहरू भेटिनु महत्वपूर्ण उपलब्धि भएको बताइएको छ ।

मालिकार्जुन गाउँपालिका–६ का वडाध्यक्ष गोकर्णसिंह धामीले उत्खनन् कार्य सकारात्मक भए पनि पर्याप्त बजेटको अभाव रहेको बताए । ‘एक महिनाको छोटो उत्खनन्ले मात्रै यसको पुनर्निर्माण सम्भव छैन । निरन्तर अध्ययन र पर्याप्त बजेट आवश्यक छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस