नैतिक शिक्षाको खडेरी, नेपाली समाजमा हराउँदै गएको मानवीयता

रबिन्द्र लामिछाने
६ वैशाख २०८३ २२:०२
नैतिक शिक्षाको खडेरी, नेपाली समाजमा हराउँदै गएको मानवीयता

नेपाली समाज आज एक अजीब विरोधाभासको दौरबाट गुज्रिरहेको छ। एकातिर हामी प्रविधि, शिक्षा, भौतिक पूर्वाधार र सूचनाको पहुँचमा ऐतिहासिक उचाइमा पुगेका छौँ, तर अर्कोतिर मानवीय सम्बन्ध, सामाजिक सद्भाव, कृतज्ञता र नैतिक आचरण गम्भीर रूपमा कमजोर हुँदै गएका छन्। यो विरोधाभास संयोग होइन, यो नैतिक शिक्षाको क्रमिक क्षयको परिणाम हो। आजको समाजमा देखिँदै गएको असहिष्णुता, स्वार्थ, अवसरवाद, र संवेदनहीनताको जरो यही नैतिक शिक्षाको खडेरीमा गाडिएको छ।

नैतिक शिक्षा कुनै साधारण शैक्षिक विषय होइन, यो त मान्छे बन्ने शिक्षा हो। असल नागरिक, जिम्मेवार व्यक्ति र संवेदनशील समाज निर्माण गर्ने मूल आधार नै नैतिक शिक्षा हो। इमानदारी, सत्यनिष्ठा, सहानुभूति, कृतज्ञता, अनुशासन, सहकार्य र उत्तरदायित्व, यी सबै नैतिक शिक्षाका मूल स्तम्भ हुन्।केही दशकअघिसम्म नेपाली विद्यालयहरूमा “नैतिक शिक्षा” छुट्टै विषयका रूपमा पढाइन्थ्यो। त्यो केवल परीक्षा पास गर्ने विषय थिएन; त्यो बालबालिकाको चरित्र निर्माण गर्ने बलियो माध्यम थियो। कथा, नीति–कथा, जीवनोपयोगी उदाहरण र व्यवहारिक शिक्षा मार्फत बालबालिकाहरूलाई सही र गलत छुट्याउने क्षमता विकास गरिन्थ्यो।शिक्षक ज्ञान दिने मात्र होइन, जीवनका आदर्श प्रस्तुत गर्ने मार्गदर्शक मानिन्थे। तर आज त्यो शिक्षा पाठ्यक्रमबाट हराएको छ, भने हाम्रो व्यवहारबाट पनि हराउदै गएको छ ।

कुनै समय नेपाली समाज, विशेषगरी गाउँ समाज, सहकार्य र सामूहिकतामा आधारित थियो। नचिनेको मान्छे पनि पाहुना सरह मानिन्थ्यो। बाटोमा हिँडेको यात्रुलाई पानी सोधिन्थ्यो, भोक लागेको छ कि भनेर चिन्ता गरिन्थ्यो। सहयोग गर्नु धर्म ठानिन्थ्यो, परोपकारी भावना थियो । “अतिथि देवो भवः” भन्ने संस्कार केवल भनाइमा होइन, व्यवहारमै देखिन्थ्यो।आजको समाजमा अवस्था धेरै बदलिएको छ। चाहे गाउँ होस् वा शहर, नव–आगन्तुकलाई शंकाको दृष्टिले हेरिन्छ। सहयोग गर्नुअघि “यसबाट मलाई के फाइदा हुन्छ?” भन्ने प्रश्न मनमा पहिले आउँछ। सम्बन्धहरू विश्वासमा भन्दा पनि स्वार्थमा आधारित हुँदै गएका छन्।

आजको समाजको सबैभन्दा पीडादायक समस्या कृतघ्नता (अवगुनी) को बढ्दो प्रवृत्ति हो। कसैले दिएको सहयोग, सिकाएको ज्ञान, बाँडेको सीप, संकटको घडीमा दिएको साथ, यी सबै बिर्सिने संस्कार सामान्य बन्दै गएको छ। अझ दुःखद त के छ भने, सहयोग गर्ने व्यक्तिलाई नै पछि बेवास्ता गर्ने, अपमान गर्ने वा अस्वीकार गर्ने व्यवहार देखिन थालेको छ।यो केवल व्यक्तिगत कमजोरी होइन; यो सामाजिक मानसिकताको रोग हो। कृतज्ञता कुनै सानो गुण होइन, यो सभ्य समाजको मेरुदण्ड हो। जहाँ गुन सम्झिने संस्कार हराउँछ, त्यहाँ सहयोग, सेवा र सद्भाव पनि मर्छ। अनि समाज स्वार्थी, कठोर र विभाजित बन्छ।

आजको शिक्षा प्रणाली अत्यधिक रूपमा अंक, ग्रेड, प्रमाणपत्र र रोजगारीमा केन्द्रित भएको छ। दक्ष जनशक्ति उत्पादन त भइरहेको छ, तर सदाचारयुक्त नागरिक उत्पादनमा गम्भीर प्रश्न उठेको छ। विद्यार्थीहरू प्रतिस्पर्धी त बन्छन्, तर सहानुभूतिशील हराउदै गएको छ । सफल त हुन्छन्, तर जिम्मेवारी बिर्सिदैगएको छ । नैतिक शिक्षा बिना प्राप्त ज्ञान खतरनाक पनि हुन सक्छ। दक्ष तर अनैतिक व्यक्ति समाजका लागि सम्पत्ति होइन, जोखिम बन्छ। आज हामी त्यही जोखिमतर्फ उन्मुख छौँ, जहाँ सीप छ, तर संवेदना छैन; ज्ञान छ, तर विवेक छैन।

नैतिक शिक्षाको पहिलो पाठशाला भनेको परिवार हो। बालबालिकाले जे देख्छन्, त्यही सिक्छन्। तर आज अभिभावकहरू आफैं समयको अभाव, आर्थिक दबाब र व्यस्त जीवनशैलीमा अल्झिएका छन्। बच्चासँग संवाद कम हुँदै गएको छ। मोबाइल, सामाजिक सञ्जाल र स्क्रिनले अभिभावकको भूमिका ओगट्न थालेका छन्।समाज पनि पहिलेझैँ नैतिक नियन्त्रणको संरचनामा रहन सकेको छैन। पहिले गलत व्यवहारलाई सामाजिक दबाब हुन्थ्यो, आज “आफ्नो काम गर, अरूको मतलब नगर” भन्ने सोचले सामूहिक जिम्मेवारी, सहयोगी मन, परोपकारी भावना कमजोर बनाएको छ।

समाजले नेतृत्वबाट सिक्छ। जब सार्वजनिक जीवनमा अनैतिकता, भ्रष्टाचार, अवसरवाद र दण्डहीनता देखिन्छ, तब आम नागरिकमा नैतिकताको मूल्यप्रति विश्वास घट्छ। “सबै यस्तै छन” भन्ने मानसिकता भावना फैलिन्छ। यसले व्यक्तिगत नैतिक आचरणलाई पनि कमजोर बनाउँछ। नैतिक समाज निर्माण गर्न नैतिक नेतृत्व अपरिहार्य हुन्छ।

नैतिक शिक्षा किन आज अपरिहार्य छ भने, कानुनले सबै कुरा नियन्त्रण गर्न सक्दैन। जहाँ नैतिकता बलियो हुन्छ, त्यहाँ कानुनको न्यूनतम आवश्यक पर्छ। जहाँ नैतिकता कमजोर हुन्छ, त्यहाँ कानुन पनि असफल हुन्छ। नैतिक शिक्षा व्यक्तिको भित्री नियन्त्रणविकास गर्ने माध्यम हो, जसले डर होइन, विवेकका आधारमा सही निर्णय गर्न सिकाउँछ।नैतिक शिक्षा बिना विकास खोक्रो हुन्छ। भौतिक समृद्धि भए पनि समाज भित्रैदेखि रित्तो हुन्छ।

नैतिकता पुनस्र्थापनाको लागिः पहिलो, नैतिक शिक्षालाई, केवल किताबमा होइन, व्यवहारिक अभ्याससहित, विद्यालयको पाठ्यक्रममा पुनः प्रभावकारी रूपमा समावेश गर्नुपर्छ । दोस्रो, शिक्षक र अभिभावक स्वयं उदाहरण बन्नुपर्छ, उपदेशभन्दा आचरण र व्यवहारिक बन्न जरुरी छ ।तेस्रो, सामुदायिक सेवा, स्वयंसेवा र सहकार्यको संस्कृति पुनर्जीवित गर्नुपर्छ।चौथो, मिडिया र सामाजिक सञ्जाललाई नकारात्मकता होइन, परोपकारी भावना, सहयोगी मन, र मूल्य प्रवद्र्धनको माध्यम बनाउनु पर्छ।पाँचौं, नीति र नेतृत्व तहमा नैतिकताको स्पष्ट प्रतिबद्धता आवश्यक पर्छ ।

नैतिक शिक्षाको खडेरी केवल आजको समस्या होइन, यो भविष्यको गम्भीर चुनौती हो। यदि हामीले आज आत्ममूल्याङ्कन गरेनौँ भने, भोलिको समाज अझै संवेदनहीन, स्वार्थी, करुणारहित, असहयोगी, अवगुनी र विभाजित हुनेछ। तर यदि हामीले गुन सम्झिन सिक्यौँ, कृतज्ञता अभ्यास गर्यौं, र नैतिकतालाई जीवनको आधार बनायौँ भने, समाज पुनः मानवीय, उदार र सहकार्यमा आधारित बन्न सक्छ।अन्ततः समाज भनेको हामी नागरिक नै हौँ । हामी नैतिक भए मात्र समाज नैतिक हुन्छ, र नैतिक शिक्षा पुनर्जीवित गर्नु आजको सबैभन्दा ठूलो सामाजिक दायित्व हो।

                                                                                                                  (लेखक क्लिन अप नेपालका कार्यकारी निर्देशक हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस