वीरगन्जमा अतिक्रमित संरचनामा चल्यो डोजर, १२ सय घरटहरा भत्काइँदै

वीरगन्ज। सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार बिहानैदेखि वीरगन्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ ।

त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारका लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सुरु गरिएको हो ।

सडक डिभिजन हेटौँडा कार्यालयले अब बिहान पाँच बजेदेखि करिब एक दर्जन एक्जाभेटर लगाएर अतिक्रमित संरचना हटाउन थालेको र समग्रमा करिब १२०० घरटहरा भत्काइने जनाइएको छ ।

कार्यालयका इन्जिनियर भोला साहले सर्वाेच्च अदालतको फैसला र संघीय सरकारको निर्देशनअनुसार नै अतिक्रमित संरचना भत्काउन सुरु गरिएको जानकारी दिए । “मापदण्डविपरीतका घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियौँ । तर, अटेर गरेपछि एक्साभेटर लगाएर भत्काउन थालेका हौँ,” उनले भने, “यसले सडक विस्तार अभियानलाई अघि बढाउन सहज हुनेछ ।”

वीरगन्जको मुख्य सडकमा घरटहरा रहेका घरधनी, व्यापारी तथा व्यवसायीले भने स्थानीय प्रशासनले १२ घण्टाभन्दा छोटो सूचना दिएर घरखाली गर्न निर्देशन दिँदा समस्या भएको गुनासो गरेका छन् ।

यहाँको घण्टाघरमा घर रहेका घरधनी कन्हैयालाल केशरीले सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गर्नका लागि भत्काउने विषयमा कुनै पनि गुनासो नभए पनि पर्याप्त समय नदिएकाले समस्या भएको गुनासो गरे । “घर तथा पसल खाली गर्नका लागि कम्तीमा एक साताको समय दिएको भए आफूहरूले स्वस्फूर्त सरसमान हटाउने मौका पाउने थियौँ,” उनले भने ।

वीरगन्ज महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले आइतबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको कडा सुरक्षा निगरानीमा अतिक्रमित संरचना भत्काइएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ सूचना जारी गर्दै आज बिहान साढे ४ बजेभित्र गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन निर्देशन दिएको थियो । बिहानैदेखि मुख्य सडक खण्डमा संरचना भत्काइएपछि आज दिउँसो १२ः३० बजेसम्म यहाँ बिजुली तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । रासस

रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भोलि (सोमबार) बस्ने भएको छ।

पार्टी सभापति रवि लामिछानेले सोमबारका लागि बैठक आह्वान गरेका रास्वपाले जनाएको छ। पार्टी प्रवक्ताले जारी गरेको विज्ञप्तीमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाडौंमा सोमबार दिउँसो ३ बजे बस्नेछ। रास्वपाको पार्टी सचिवालयको बैठक  आज (आइतबार) बस्दैछ।

चीनमा भएको हाफ–म्याराथनमा रोबोटले मानिसको कीर्तिमान तोड्यो

बेइजिङ- चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा बेइजिङमा आयोजित हाफ म्याराथनमा एउटा रोबोटले मानव विश्व कीर्तिमान नै उछिन्दै ऐतिहासिक सफलता हासिल गरेको छ । यो उपलब्धिले खेलकुद र कृत्रिम बौद्धिकताको संगममा नयाँ युग सुरु भएको संकेत दिएको छ ।

बेइजिङ इकोनोमिक–टेक्नोलोजिकल डेभलपमेन्ट एरिया (बेइजिङ ई–टाउन)बाट सुरु भएको २१ किलोमिटरको दौड चिनियाँ स्मार्टफोन निर्माता अनरद्वारा विकसित एक मानवाकृति रोबोटले ५० मिनेट २६ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गर्न सफल भएको हो । यो समय मानव हाफ म्याराथन विश्व कीर्तिमानधारी युगान्डाका धावक ज्याकोब किप्लिमोले मार्चमा बनाएको करिब ५७ मिनेटको समयभन्दा उल्लेखनीय रूपमा छिटो हो ।

गत वर्ष पहिलोपटक आयोजना गरिएको यो प्रतियोगितामा विजेता रोबोटले दुई घण्टा ४० मिनेट ४२ सेकेन्डमा दूरी पार गरेको थियो । त्यसको तुलनामा यो वर्षको प्रदर्शनले रोबोट प्रविधिमा भएको तीव्र प्रगति प्रस्ट पारेको छ ।

प्रतियोगिताको आकार पनि यसपटक उल्लेखनीय रूपमा बढ्दै १०० भन्दा बढी टोलीको सहभागिता थियो । यसमा पाँच विदेशी टोली समेत समावेश थिए ।

दौड पूर्ण रूपमा सहज भने रहेन । केही रोबोट प्रारम्भमै लड्न पुगे । केही अवरोधमा ठोक्किएका थिए । आयोजकका अनुसार, करिब ४० प्रतिशत रोबोटले कुनै मानवीय हस्तक्षेपबिना स्वायत्त रूपमा पूरा मार्ग तय गर्न सफल भए । बाँकी भने रिमोट कन्ट्रोलमार्फत सञ्चालन गरिएका थिए ।

प्रतियोगितामा एउटा रोबोटले ट्राफिक प्रहरीको भूमिका निर्वाह गर्दै सहभागीलाई हातको संकेत र आवाजमार्फत निर्देशन दिएको दृश्यले दर्शकको ध्यान खिचेको थियो । यसले रोबोटको बहुआयामिक प्रयोगको सम्भावना झल्काएको छ ।

चीनमा प्रविधिको विकास औद्योगिक प्रगतिको विषय मात्र नभई रणनीतिक प्रतिस्पर्धासँग जोडिएको छ । विशेष गरी संयुक्त राज्य अमेरिकासँगको प्रतिस्पर्धालाई मध्यनजर गर्दै बेइजिङले आफ्नो पछिल्लो पञ्चवर्षीय योजनामा ‘विज्ञान र प्रविधिको सीमालाई लक्षित गर्ने’ प्रतिबद्धता व्यक्त गरेको छ । सन् २०२६ देखि २०३० सम्मको योजनाअन्तर्गत मानवाकृति रोबोटजस्ता उन्नत प्रविधिको विकासलाई प्राथमिकतामा राखिएको छ ।

लन्डनस्थित प्रविधि अनुसन्धान संस्था ओमडियाको हालैको प्रतिवेदनानुसार, एजिबोट, युनिट्री रोबोटिक्स र युबिटेक रोबोटिक्स कर्पजस्ता चिनियाँ कम्पनी विश्व बजारमा सामान्य प्रयोजनका मूर्त बौद्धिक रोबोट उत्पादन र आपूर्तिमा अग्रपंक्तिमा उभिएका छन् । यी कम्पनीले गत वर्ष मात्र हजारौँ युनिट रोबोट विश्वभर पठाएका थिए । यसले चीनको यो क्षेत्रमा बढ्दो प्रभावलाई पुष्टि गर्छ ।

यो घटनाले केवल एउटा दौड जित्ने उपलब्धि नभई मानव क्षमतासँग प्रतिस्पर्धा गर्न सक्षम कृत्रिम प्रविधिको तीव्र विकासको संकेत दिएको छ । यसले आउँदा दिनमा खेलकुददेखि उद्योगसम्म व्यापक प्रभाव पार्ने अपेक्षा गरिएको छ । रासस/एपी

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृ’त्यु

बैतडी। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त. १३८४ नम्बरको ट्याक्टर आइतबार बिहान करिब १० बजे सानीगाड खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी सिगास गाउँपालिका–८, लुपुणका २५ वर्षीय लोकेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

ट्याक्टर चालक भने फरार रहेको र उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याक्टरमा चालकसहित दुई जना मात्र सवार थिए । दुर्घटनामा ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको बताइएको छ ।

विषादीरहितको तरकारी उत्पादनमा लागे टीकापुरका किसान

टीकापुर । टीकापुरका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन् । मानव स्वास्थ्य र माटो संरक्षणका लागि यहाँका १४० किसानले विषादीरहित तरकारीखेती गर्न थालेका हुन् ।

विषादीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने बुझेपछि प्राकृतिक तरकारी खेतीतर्फ लागेको किसान बताउँछन् । ती किसानले आठवटा कृषक समूह बनाएर तरकारी खेती गरिरहेको जनाएका हुन् ।

टीकापुर–१ को वनगाउँ र शंकरपुर, वडा नं २ का राजीपुर र सीतापुर, वडा नं ३ का घिया, वडा नं ५ नुक्लीपुरमा समूह बनाएर तरकारी खेतीतर्फ लागेका हुन् ।

टीकापुर–१ वनगाउँस्थित असल चमेली कृषक समूहका अगुवा किसान मीनबहादुर चौधरीले विषादी न्यूनीकरण र सुरक्षित खाद्य तत्त्व संरक्षणका लागि तीन वर्षदेखि खेती गर्न थालिएको बताए ।

“माटोको उर्वरा शक्ति बढाउने, बढी उत्पादन लिने र जैविक जीवाणु संरक्षण तथा स्वस्थ तरकारी उत्पादनमा जैविक प्राकृतिक खेतीमा लागेका छौँ,” उनले भने, “हामीले नजानेर माटो र स्वास्थ्यमा खेलवाड गरिरहेका रहेछौँ भन्ने बुझेपछि यसतर्फ लागेका हौँ । खेतीमा रासायनिक मल र विषादी हाल्दैनौँ, घरमै जैविक विषादी बनाएर प्रयोग गरिरहेका छौँ ।”

किसानले घरमै जैविक, घरेलु मल बनाउने गरेका छन् । मल बनाउन झारपात, सडेगलेका तरकारी, पिसाब आदि प्रयोग गरिन्छ । वनगाउँमा रहेको कृषक समूहमा १५ जना किसान आबद्ध छन् । यी किसान कसैले पाँच कट्ठा त कसैले १५ कट्ठा जमिनमा तरकारी खेती गरिरहेका छन् ।

यतिबेला यहाँ काँक्रा, फर्सी, लौका, भिन्डी, खुर्सानी, टमाटरलगायत तरकारी छ । पछिल्लो समय उपभोक्ताले पनि विषादीरहित उत्पादनको महत्त्व बुझेपछि बारीमै तरकारी किन्ने आइरहेका छन् । बचेको तरकारी टीकापुर बजारमा लाग्ने हाटबजारमा बिक्री गर्ने गरिएको चौधरीले जानकारी दिए ।

दार्चुलाको ग्रामीण क्षेत्रका बाइस हजारभन्दा बढी घरधुरीमा बल्यो बिजुली

दार्चुला। दार्चुलाको ग्रामीण क्षेत्रमा धमाधम विद्युतीकरण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत यहाँका नौ वटै स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको हो ।

यहाँको ग्रामीण बस्तीमा विद्युत् विस्तार गर्न मुख्य लाइन र शाखा लाइन निर्माणको काम भइरहेको दार्चुला वितरण केन्द्रका सहायक प्रमुख रौशनकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार जिल्लाका २९ हजार घरधुरीमध्ये २२ हजार पाँच सय घरधुरीमा विद्युतीकरण भइसकेको छ ।

दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत थप दुई हजार पाँच सय घरधुरीमा विद्युत् बाल्न लाइन निर्माणको काम भएर विद्युत् प्रसारणको अन्तिम तयारी भइरहेको उनले बताए ।

बाँकी घरधुरीमा विद्युतीकरण गर्नका लागि बजेटको माग गरेको तथा बजेट स्वीकृत भई आएमा मुख्य लाइन तथा शाखा लाइन निर्माणको काम सुरु हुने उनले बताए । यसअघि विद्युत् प्राधिकरणले दार्चुलामा दुई सयभन्दा बढी ट्रान्सफर्मरमार्फत विद्युत् वितरण गर्दै आएको छ भने आयोजनामार्फत ट्रान्सफर्मर थपिएका छन् ।

यसैबिच नेपाल भारतको सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिका २, मालगाउँमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न सफल भएको उनले बताए । मालगाउँका १५ घरधुरीमा विद्युत् विस्तार गरिएको बताइएको छ । निकट भविष्यमै सबै घरधुरीमा विद्युत् पु¥याउने लक्ष्य रहेको सहायक प्रमुख ठाकुरले बताए । मालका स्थानीय जनकसिंह धामीले उज्यालोको सपना देख्दै धेरै अन्धकारमय रात बिताएपछि विद्युतीकरण भएको भन्दै खुसी व्यक्त गरे ।

यहाँको महाकाली नगरपालिका, लेकम, मालिकार्जुन, दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकालगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । व्यास, मार्मा, नौगाड, अपि हिमालमा गाउँपालिकामा पनि विद्युतीकरणका लागि काम भइरहेको उनले बताए ।

दार्चुलामा हालसम्म ७५ प्रतिशत घरधुरीमा बिजुली बलिसकेको छ । “करिब साढे बाइस हजार घरधुरीमा बिजुली पुगिसकेको छ, बाँकी घरधुरीमा विद्युतीकरणका लागि बजेटको पहल भइरहेको छ,” उनले भने ।

दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलबिसा गरेर तीन वटा सबस्टेसनमार्फत विद्युत् वितरण गरिएको छ ।

आईसीसी महिला च्यालेन्ज ट्रफी : आज नेपालले इटालीसँग खेल्दै

काठमाण्डौ- आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । यो खेल बेलुकी पौने ५ बजे रुवान्डामा शुरु हुनेछ ।

पहिलो खेलमा नेपाल हिजो अमेरिकासँग ४४ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित अमेरिका, इटाली, रुवान्डा र भानुआतु छन् । खेल डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।

शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । प्रतियोगिता मे १ तारिख अर्थात् वैशाख १८ गतेसम्म चल्नेछ ।

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा १२ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार, आइतबारको भाउ तीन लाख एक हजार रुपैयाँ छ ।

यसअघिको कारोबार दिन शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो ।

चाँदी भने तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ कायम भएको छ ।

शुक्रबार पाँच हजार १३० मा कारोबार भएको थियो ।

 

देशभरिका २२ लाख बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं। सरकारले आइतबार र सोमबार (वैशाख ६–७) देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको  स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।

उनका अनुसार, कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ ।

त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।

भिटामिन ‘ए’ले आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखालाजस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन् ।

भिटामिन ‘ए’ कमिको रोकथाम तथा उपचारका लागि ०५० मा आठ जिल्लाबाट सुरु भएको कार्यक्रम ०५९ देखि देशभरि नै लागु गरिएको थियो ।

यस्तै, जुका नियन्त्रण तथा रोकथामका लागि ०५६ बाट १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम ०६७ सालबाट सबै जिल्लामा लागु गरिएको थियो । प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको निःशुल्क खुवाउने गरिएको छ  । -रासस

बैतडीमा २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

बैतडी- बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार ६ देखि ५९ महिनासम्मका २२ हजार ७५७ जना बालबालिकालाई क्याप्सुल खुवाइने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत वैशाख ६ र ७ गते जिल्लाभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । उक्त कार्यक्रमअन्तर्गत १२ देखि ५९ महिनासम्मका २० हजार ४८३ जना बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य राखिएको उनको भनाइ छ ।

कार्यक्रम सफल बनाउन जिल्लाभर ८३० जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ । स्वयंसेविकाहरूले टोल–टोलमा पुगेर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।

बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आफ्ना बालबालिकालाई अनिवार्य रूपमा कार्यक्रममा सहभागी गराउन स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले अभिभावकसँग आग्रह गरेका छन् । पहिलो दिन छुटेका बालबालिकालाई दोस्रो दिन पनि औषधी खुवाइने व्यवस्था मिलाइएको जनाइएको छ ।

वन्यजन्तु सप्ताहः सचेतना र संरक्षणमा जोड

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रमसहित सञ्चालन भइरहेको छ । ‘सुरक्षित मानिस, सुरक्षित वन्यजन्तुः जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु’ भन्ने मूल नाराका साथ वैशाख १ देखि सप्ताह मनाइँदै छ ।

निकुञ्जका सहायक वार्डेन विनयकुमार झाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै क्षति घटाउने र जैविक विविधताको दिगो उपयोगमार्फत समृद्धि हासिल गर्ने उद्देश्यका साथ कार्यक्रम भइरहेको बताए ।

उनका अनुसार, निकुञ्जको मुख्य कार्यालय मझगाउँमा सरसफाइ कार्यक्रमसँगै वन्यजन्तु, वातावरण तथा जैविक विविधताबारे सचेतना अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय समुदाय, विद्यार्थी र सरोकार भएका निकायको सहभागितामा संरक्षणसम्बन्धी जानकारी दिइएको छ ।

निकुञ्जका रेञ्जर प्रयास केसीले सोमबार (वैशाख ७) पूर्वी सेक्टर अर्जुनीस्थित पूर्व–पश्चिम महेन्द्रराजमार्ग क्षेत्रमा सरसफाइ कार्यक्रम र वन्यजन्तु, जैविक विविधता र संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरी सप्ताह समापन गरिने बताए । वन्यजन्तु सप्ताहका अवसरमा निकुञ्जमा बाह्रसिङ्गा (स्वाम्प डियर) गणना कार्यक्रमसमेत सुरु गरिने उनले जानकारी दिए ।

गणनाका क्रममा बाह्रसिङ्गाको सङ्ख्या, वासस्थान र आहाराको उपलब्धताबारे विस्तृत अनुगमन गरिने रेञ्जर केसीले बताए ।

अघिल्लो गणनामा यहाँ बाह्रसिङ्गाको सङ्ख्या दुई हजार ३०३ रहेको पाइएको थियो । यसपटक संरक्षणका प्रयासलाई थप बढावा दिइएकाले त्यो सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ । नेपालमा सन् १९८० को दशकदेखि सुरु भएको संरक्षण अभियानबाट दुर्लभ वन्यजन्तुको संरक्षण र सङ्ख्या वृद्धिमा उल्लेखनीय सफलता हासिल भएको छ । यस्ता उपलब्धि सरकारी, सुरक्षा निकाय, स्थानीय समुदाय र संरक्षण साझेदारबीचको सहकार्यबाट सम्भव भएको निकुञ्ज व्यवस्थापनले जनाएको छ । -रासस

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन कोलोराडोमा आयोजना हुदै

कोलोराडो(अमेरिका), ६ बैशाख ।
नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन आगामि जेठ महिनाको दोस्रो साता अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ ।

आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले शनिवार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २२ देखि २५ (जेठ ८–११) सम्म सञ्चालन हुने जानकारी दिए ।

अनेसास अध्यक्ष वाग्लेले नेपाली भाषा, साहित्यको सम्बद्र्धन, संरक्षण र विश्वव्यापीकरणमा योगदान पु¥याउदै आएको अनेसासले डायस्पोराको युवा पुस्तालाई नेपाली भाषा र साहित्यसंग जोड्न विभिन्न गतिविधि र कार्यक्रम गर्दै आएको बताए । उनले भने, त्यस बाहेक अनेसासले सबै उमेर समूहका स्रष्टालाई एउटै थलोमा राखेर नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि चिन्तन र विमर्श गर्न दुई/दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ । यो सम्मेलन त्यसै सोचको निरन्तरता हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रष्टि(बीओटी)का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि झण्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताए ।

उनले सम्मेलन आयोजनाका लागि कोलोराडोको वेष्टमिनिष्टरस्थित होटल ड्रुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको जानकारी दिए ।

नेपाली र अंग्रेजी साहित्यका लेखकहरुको जमघट रहने सम्मेलनमा दुबै भाषाका स्रष्टाहरुका बीचमा साहित्यका विविध विषयमा छलफल हुने अनेसास बोर्ड अफ ट्रष्टिका सभापति विश्वकर्माले बताए ।

बीओटी सभापति विश्वकर्माले सम्मेलनमा नेपालभित्र रहेका विभिन्न भेग र भाषाका स्रष्टाहरुको समेत सहभागिता रहने बताए । नेपाली भाषा र साहित्यसंगै विभिन्न जाती र समुदायको मातृभाषाप्रति हाम्रो उच्च सम्मान छ, तिनको जगेर्ना र विश्वव्यापीकरणमा अनेसासले जोड दिदै आएको छ, उनले भने, भाषिक विविधता र त्यही विविधतामा हुर्किएको हाम्रो नेपाली समाज समाजको प्रतिबिम्ब सम्मेलनमा देख्न र महशुस गर्न पाईनेछ ।

उनले २००९ मा शुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको नवौं श्रृंखला अमेरिकाको कोलोराडोमा आयोजना गर्न लागिएको बताए ।

दुई वर्षमा आयोजना गरिने सम्मेलनको आठौं श्रृंखला दुई वर्ष अघि युरोपको पोर्चुगलमा सम्पन्न भएको उनले जानकारी दिए ।

अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झण्डै ४० मुलुकबाट दुई सयभन्दा बढि साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको बताए ।

सम्मेलनमा नेपाल सहित विश्वका विभिन्न मुलुकमा रहेका साहित्यकारहरुलाई आमन्त्रण गरिएको जानकारी दिदै थुप्रै साहित्यकारहरुलाई सम्मेलनमा सहभागी हुने प्रतिबद्धता गरेको सिटौलाले सुनाए ।

सम्मेलनमा नेपाली साहित्यका विषयमा मात्र चर्चा गरिनेछैन्, विश्वका पछिल्ला चर्चित साहित्यिक कृति र स्रष्टाका बारेमा समेत चर्चा गरिनेछ, उनले भने, जसले युवा पुस्तालाई उत्कृष्ट साहित्यिक कृति सृजनाका लागि उत्प्रेरित गर्ने विश्वास छ ।

अनेसास केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ ।

अनेसास कोलोराडो च्याप्टर अध्यक्ष किरण अधिकारीले सम्मेलन आयोजनाका लागि मूल समितिसंगै विभिन्न नौ वटा उपसमिति गठन गरिएको जानकारी दिए ।

उनले सम्मेलन आयोजनाका लागि आवश्यक बजेट विश्वका विभिन्न मुलुकका स्रष्टाहरुका साथै कोलाराडोस्थित नेपाली समुदायका विभिन्न संघसंस्था र सहयोगीहरुबाट जुट्ने विश्वास गरे ।

हामीले सहयोगका लागि आग्रह गरेका विभिन्न संघसंस्था र व्यक्तिहरुबाट सकारात्मक सहयोग र प्रतिक्रिया पाएका छौ, अधिकारीले भने, नेपाली भाषा, साहित्य र संस्कृतिको सम्बद्र्धन र विश्वव्यापीकरणका लागि अनेसासले आयोजना गरिरहेको सम्मेलन सबैको सहयोगले भव्य रुपले सफल हुने विश्वास छ ।

अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रकाशन समितिका संयोजक समेत रहेका अनेसास कोलोराडो च्याप्टरका महासचिव पुष्पराज पौडेलले सम्मेलनको अवसरमा अनेसासका गतिविधिका साथै विभिन्न स्रष्टाको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गरिएको स्मारिका प्रकाशन गर्न लागिएको जानकारी दिए ।

अनेसास कोलोराडो च्याप्टरद्वारा आयोजित पत्रकार सम्मेलनलाई क्यालिफोर्नियामा रहेका केन्द्रीय समितिका अध्यक्ष वाग्लेले जुम मार्फत सम्बोधन गरेका थिए ।

पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा तीन दिन साहित्यका विविध विषयमाथि विभिन्न सत्रहरुमा छलफल र बहस हुनेछ । आयोजकले अन्तिम तथा चौथो दिन सम्मेलनका सहभागीहरुलाई कोलोराडोका विभिन्न स्थानको पर्यटकीय र ऐतिहासिक क्षेत्रको भ्रमण गराउने कार्यक्रम तय गरिएको छ ।

बाजुरामा नेपाल टेलिकमको नेटवर्क संकट गहिरिँदै, नौ वटै स्थानीय तह प्रभावित

बाजुरा: बाजुरामा पछिल्लो समय फोन नेटवर्क समस्या झन् गम्भीर बन्दै गएको छ। जिल्लाका सबै नौ वटै स्थानीय तहमा नेपाल टेलिकमको सेवा प्रभावित हुँदा स्थानीय नागरिकले सञ्चारमा ठूलो असुविधा भोगिरहेका छन्।

पछिल्ला दुई–तीन महिनायता फोन नलाग्ने, आवाज नआउने, कुराकानीकै बीचमा फोन काटिने र आवाज टुक्राटुक्रा भएर आउने जस्ता समस्या बढ्दै गएका छन्। फोन सेवा मात्र नभई फोरजी इन्टरनेट समेत प्रभावहीन बन्दै गएको छ, जसले गर्दा दैनिक जनजीवन नै प्रभावित हुन थालेको छ। दुर्गम क्षेत्रका बासिन्दाहरूका लागि समस्या अझै जटिल बनेको छ।

भारतबाट अवैध रूपमा ल्याइएका १७४ किलो माछा टीकापुरमा बरामद

कैलाली: कैलालीको टीकापुरमा भारतबाट अवैध रूपमा भित्र्याइएको १७४ किलोग्राम माछा प्रहरीले बरामद गरेको छ। टीकापुर नगरपालिका–९ खक्रौलाबाट तीन जनाले मोटरसाइकलमार्फत ल्याउँदै गरेको माछा नियन्त्रणमा लिइएको हो।

जानकी गाउँपालिका–२ बढरियाका ४० वर्षीय प्रदेशु चौधरीले चलाएको सु.प.प्र.०१०००१२ प ५०५१ नम्बरको मोटरसाइकलबाट ९८ किलोग्राम, टीकापुर नगरपालिका–१ शक्तिनगरका ३४ वर्षीय दिनेश चौधरीले चलाएको से.५ प.८४५७ नम्बरको मोटरसाइकलबाट ३९ किलोग्राम माछा बरामद गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, एकतानगर शिविरका ४० वर्षीय लक्ष्मण डगौरा थारुले चलाएको सु.प.प्र.०१–००९ प २१३४ नम्बरको मोटरसाइकलबाट ३७ किलोग्राम माछा बरामद गरिएको छ।

बरामद गरिएको माछा सत्ती भन्सार कार्यालयमा बुझाएर भन्सार परिसरमै नष्ट गरिएको कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी दिएका छन्। घटनामा संलग्न तीनै जनालाई जरिवाना सहित आवश्यक कारबाही गरिएको र प्रयोग गरिएका मोटरसाइकल पनि नियन्त्रणमा लिइएको जनाइएको छ।

कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व सङ्कलन

धनगढी: कैलाली भन्सार कार्यालय धनगढीले रु छ अर्ब ३२ करोड ७१ लाख राजस्व सङ्कलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्म उक्त परिमाणमा राजस्व सङ्कलन गरेको हो।

भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ रु दुई अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि करतर्फ रु दुई अर्ब ५२ करोड २४ लाख, अन्तःशुल्कतर्फ रु ११ करोड ९९ लाख र अन्यतर्फ रु एक अर्ब ३९ करोड पाँच लाख राजस्व सङ्कलन गरेको छ।

कार्यालयको चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा नौ महिनामा सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ६५ दशमलव १५ प्रतिशत रहेको उहाँले जानकारी दिए। सूचना अधिकारी तिमिल्सिनाका अनुसार सो अवधिमा चैतबाहेक कुनै पनि महिनामा राजस्व सङ्कलन लक्ष्यमा पुग्न सकेको छैन्।

साउनमा रु ७१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख लक्ष्य रहेकामा रु ५३ करोड ७० लाख र असोजमा रु ७६ करोड ७७ लाख लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए।

कात्तिकमा रु ८४ करोड ६७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ७२ करोड ५४, मङ्सिरमा रु ६८ करोड ९१ लाख र पुसमा रु ७४ करोड ६५ लाख, माघमा रु ६८ करोड ८२ लाख, फागुनमा रु ७६ करोड ४४ लाख र बाँकी चैतमा राजस्व सङ्कलन भएको उनले जानकारी दिए।

कार्यालयको गत आव २०८१/८२ मा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख सङ्कलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत हो।

कञ्चनपुरमा लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाही

कञ्चनपुर, ५ वैशाख  /  गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ। गत वर्षको वैशाखदेखि चैत मसान्तसम्मको अवधिमा ३०५ पुरुष र २९ महिला गरी ३३४ जना अभियुक्त लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिए।

उनका अनुसार सो अवधिमा प्रहरीले ७५३ ग्राम खैरोहिरोइन, ३३ किलो ३६४ ग्राम चरेश, दुई किलो ४२ ग्राम गाजालगायत विभिन्न लागुऔषध बरामद गरिएको छ।

“गएको वर्ष लागुऔषधमा २०१ मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढ्यो”, प्रहरी उपरीक्षक खत्रीले भने, “हामीले कारबाही र सचेतनाका लागि अभियानसँगै सञ्चालन गरेका छौँ ।” उनले पछिल्लो समय लागुऔषध समाजमा भयानक रूपमा फैलिएको भन्दै त्यसको रोकथाम र न्यूनीकरणका लागि समाजका सबै नागरिक जागरुक हुनुपर्ने बेला आएको बताए।

“टोल विकास समिति तहसम्म स्थानीय चनाखो हुनुपर्ने बेला आइसक्यो”, उहाँले भन्नुभयो, “लागुऔषध सेवक र दुर्व्यसनको विषयमा प्रहरीलाई समयमा सूचना आदालन प्रदान आवश्यक छ ।”

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार २०८२ वैशाखमा यहाँ २२ जना लागुऔषधिसम्बन्धी मुद्दामा पक्राउ परेका थिए । त्यसैगरी जेठ महिनाममा ४०, असारमा २०, साउनमा १६, भदौमा १६, असोजमा ११, कात्तिकमा २९, मंसिरमा २३, पुसमा १८, माघमा ४९, फागुनमा ४१ र चैत महिनामा ४५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खुला सीमानाकाका कारण भारतबाट लुकिछिपी लागुऔषध आयात हुने गरेको छ । पछिल्लो समय नेपाल(भारत संयुक्त सीमा बैठकमा उक्त विषयमा नेपाली अधिकारीहरूले नियन्त्रणका लागि कुरा उठाउने गरेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए।

“भारतीय पक्षसँग हामीले लागुऔषध नियन्त्रणका लागि गम्भीर हुनु भनिरहेका हुन्छौँ”,उनले भने, “खुला सीमानाकाका कारण कञ्चनपुर र कैलालीका साथै पहाडी जिल्लामा पैठारी हुने गरेको सूचना आउँछ । यो विषयमा अभिभावक, समाजका सबै नागरिक, शिक्षकलगायत सबै चिन्तित र संवेदनशील भएर लाग्नु पर्ने बेला भयो । लागुऔषधले युवा पुस्ता प्रभाविन बने मुलुकमा अर्को समस्या निम्तिन सक्छ ।”

उनले कञ्चनपुर कारागारमा ३५ प्रतिशत लागुऔषध मुद्दाका आरोपी कैदीबन्दी रहेका जानकारी दिए । “प्रहरी प्रशासनको प्रयासले मात्रै लागुऔषधको न्यूनीकरण हुन सम्भव छैन”, खत्रीले भने, “यसका लागि सबै हातेमालो गरौँ । समाजमा सचेतना फैलाऔँ ।”

प्रशोधित पिउने पानीको मूल्य समायोजन गर्न माग

काठमाडौं ५ वैशाख /   नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उच्च वृद्धि भएको भन्दै मूल्य समायोजन गर्न आफ्ना सदस्य उद्योगहरूलाई आग्रह गरेको छ । महासंघले शनिबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै मूल्य वृद्धि गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको जनाएको छ।

महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थहरू जस्तै, बोतल, क्याप, र्‍यापिङ रोल, जार र जारको क्याप लगायतका सामग्रीको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको छ। त्यसैगरी, पेट्रोलियम पदार्थ (डिजेल) को अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको छ ।

अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि मूल्य वृद्धिको कारक मानिएको छ । विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धमा देखिएको द्वन्द्वात्मक अवस्थाले गर्दा अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा परेको प्रभावका कारण कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष असर परेको महासंघको ठहर छ ।

हाल नेपालमा ६ सय २० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्, जसमा १६ अर्ब रुपैयाँभन्दा बढीको लगानी छ । यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ । सुरक्षित र गुणस्तरीय पानी आपूर्ति गरेर राष्ट्रिय अर्थतन्त्र र राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको यो क्षेत्र हालको लागत वृद्धिले गर्दा धाराशायी हुने अवस्थामा पुगेको महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले बताए ।

‘यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक परिस्थिति हो,’ विज्ञप्तिमा छ, ‘हाल कायम मूल्यमा पानी बिक्री वितरण गरेर उद्योग सञ्चालन गर्न नसकिने निष्कर्षमा हामी पुगेका छौं ।’

महासंघले सबै सदस्य उद्योगीहरूलाई कच्चा पदार्थ र सञ्चालन लागतमा भएको वृद्धिको अनुपातमा मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध गरेको छ ।

महासंघले सरकारसँग उद्योगमैत्री नीति ल्याउन, कूटनीतिक पहल मार्फत कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका उपायहरू अवलम्बन गर्न माग गरेको छ ।

साथै, आम उपभोक्ता, वितरक र सरोकारवालाहरूलाई उद्योगको संरक्षण, रोजगारीको रक्षा र सेवाको निरन्तरताका लागि गरिएको यो ‘बाध्यात्मक’ मूल्य समायोजनमा सहयोग गरिदिन अनुरोध समेत गरेको छ।

कैलाली चुरेमा मरेको बोइलर कुखुराको मासु खाँदा दाजुभाइको मृत्यु

धनगढी, ५ वैशाख /   कैलालीमा मरेको बोइलर कुखुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । बिहीबार मरेको बोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका-३ को भक्तपुर बस्ने ५ वर्षीय दिपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जना सहोदर दाजुभाइ हुन् । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक९इन्स्पेक्टर० कैलाश बिष्टले दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताउनु भयो ।

उहाँकाअनुसार बोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उनीहरुले मरेको कुखुराको मासु स्थानीय विकास पोल्ट्री फार्मबाट खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

फार्म सञ्चालक मंगल साउदले आफैँ इलाका प्रहरी कार्यालय मालाखेतीमा उपस्थित भएर कागज गरेका छन् । उनलाई बोलाएका बखत हाजिर हुनेगरि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सर्वोच्चको फैसला: गगन थापा समूहलाई आधिकारिकता, देउवा पक्षको रिट खारेज

काठमाडौँः सर्वोच्च अदालतले नेपाली काँग्रेसभित्रको विवादमा गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विशेष महाधिवेशनलाई मान्यता दिने आयोगको निर्णय कानुनसम्मत ठहर गरेको हो। यससँगै उक्त महाधिवेशनलाई अस्वीकार गर्नुपर्ने माग राख्दै आएको शेरबहादुर देउवा समूहको दाबी अप्रत्यक्ष रूपमा खारेज भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले संक्षिप्त आदेश सार्वजनिक गरिरहेका छन्। अदालतले पूर्णबहादुर खड्का द्वारा दायर रिट निवेदन खारेज भएको जनाएको छ।

यस निर्णयसँगै विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिले गरेका कामकारवाहीले निरन्तर वैधानिक मान्यता पाउने भएको छ।

शुक्रबार थापा पक्षका तर्फबाट हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाल, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल र यदुनाथ खनालसहितका अधिवक्ताले बहस गरेका थिए।

देउवा पक्षबाट रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीसहितका अधिवक्ताहरूले बहस गरेका थिए।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउवा समूह त्यसविरुद्ध सर्वोच्च अदालत पुगेको थियो।

झलारीका मुक्त कमैंयालाई आवास बनाउन बजेट उपलब्ध

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–१० झलारीका मुक्त कमैया तथा मुक्त कमलरी परिवारका लागि सुरक्षित आवास निर्माण अघि बढाइएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शुक्लाफाँटा नगरपालिकाको लागत साझेदारीमा १५ मुक्त कमैया परिवारका लागि घर निर्माण प्रक्रिया सुरु गरिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुक्त कमैया, हलिया तथा कमलरी पुनस्र्थापना कार्यक्रमअन्तर्गत उपभोक्ता समितिमार्फत आवास निर्माण अघि बढाइएको छ।

“मन्त्रालय, नगरपालिका र गैरसरकारी संस्था बीच आवास निर्माणका लागि सम्झौताभइ काम अगाडि बढेको छ,” उनले भने। उनका अनुसार सुरक्षित आवास निर्माणका लागि मन्त्रालयले ५२ लाख ५० हजार बजेट उपलब्ध गराउने सहमती गरेको छ। प्रति आवास तीन लाख ५० हजारका दरले रकम प्रदान गरिने सहमति भएको अधिकृत बिष्टले जानकारी दिए।

नगरपालिकाले ‘मुक्त कमैया, हलिया तथा कमलरी पुनस्र्थापनासम्बन्धी कार्यविधि, २०८०’ अनुसार छनोट भएका लाभग्राहीका लागि आवास निर्माण गराउने जिम्मेवारी लिएको छ। शुक्लाफाँटा १० का अध्यक्ष लालबहादुर ऐरका अनुसार चालु आर्थिक वर्षको वडाका लागि विनियोजित स्वीकृत बजेट मध्येबाट २१ लाख ७५ हजार लागत साझेदारी गरिएको छ।

“प्रति आवास निर्माणका लागि एक लाख ४५ हजारका दरले रकम उपलब्ध गराइनेछ,” उनले भने। निर्माण हुने प्रत्येक घरमा दुई सुत्ने कोठा, एक भान्सा, एक शौचालय तथा स्नानकक्ष रहनेछन्। हालसम्म सुरक्षित आवास नहुँदा मुक्त कमैया र कमलरी परिवार कच्ची झुपडीमा असुरक्षित रूपमा बस्दै आएका थिए। “विषालु सर्प, बिच्छीको डर, आगलागीको जोखिम र वर्षामा छाना चुहिने समस्या थियो,” वडा अध्यक्ष ऐरले भने, “नयाँ आवास निर्माणसँगै यी समस्या समाधान हुने विश्वास लिएका छौं।”

आवास निर्माण तथा घर नक्सा पास गर्ने जिम्मेवारी नगरपालिकाको रहनेछ। कुल लागतको कम्तीमा १० प्रतिशत योगदान लाभग्राही स्वयंले व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ। निर्माण सम्पन्न भएपछि प्रगति प्रतिवेदन मन्त्रालयमा पेश गरिनेछ र मन्त्रालयकै समन्वयमा घरहरू लाभग्राहीलाई हस्तान्तरण गरिनेछ। हस्तान्तरणपछि मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी लाभग्राहीकै बताईएको छ।

यस कार्यक्रमले मुक्त कमैया तथा कमलरी समुदायको दीर्घकालीन आवास समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। यसैगरी, गत आवमा वडा कार्यालयकै पहलमा सिमलखेतका सुरक्षित आवास विहीन दलित समुदायका लागि निड्स नामक गैरसरकारी संस्था संगको लागत साझेदारीमा ११ सुरक्षित आवास निर्माण गरिएका थिए। प्रति छ लाख ५० हजारमा निर्माण भएका आवास दलित समुदायलाई हस्तान्तरण गरिएको थियो।

शुक्लाफाँटामा बाघको आहारा धेरै

धनगढीः सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपालका अन्य निकुञ्जको तुलनामा बाघको आहारा सबैभन्दा धेरै रहेका छन्।

निकुञ्ज कार्यालयका अनुसार बाघले खाने बाह्रसिङ्गा, बँदेल, मृगलगायतका आहारा प्रजाति सबैभन्दा धेरै रहेका पाइएको छ। निकुञ्जमा प्रतिवर्गकिलोमिटरमा बाघको आहारा प्रजाति १४६ वटा पाइने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए।

उनी भन्छन्, “यति धेरै आहारा प्रजाति मुलुकको अन्य कुनै पनि राष्ट्रिय निकुञ्जमा पाइँदैन्। धेरै बाघ रहेको चितवन राष्ट्रिय निकुञ्जमा प्रतिवर्गकिलोमिटर क्षेत्रमा ९० वटा आहारा प्रजाति पाइने गरेको छ।’’ शुक्लाफाँटामा आहारा प्रजातिका जनावर धेरै पाइने गरेकाले निकुञ्जका बाघ निस्केर गाउँबस्तीतर्फ गएर हानि नपु¥याएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ। उनले भने, “हाम्रो यहाँ आहारा प्रजाति धेरै भएकाले आहाराको खोजीमा बाघ निकुञ्जबाट निस्केर बस्तीतिर गई क्षति पु¥याएको छैन।”

२०२२ को राष्ट्रिय बाघ गणनामा यो निकुञ्जमा ३६ वटा बाघ अभिलेख भएका थिए तर पछिल्लो आन्तरिक अनुगमनबाट निकुञ्जमा ४४ वटा बाघ रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ। यो सङ्ख्या बाघ पाइने सबैभन्दा कम क्षेत्रफलमा धेरै हो। एउटा भाले बाघलाई आहारविहार गर्नका लागि ६१ देखि ६५ किलोमिटर क्षेत्रफल आवश्यक पर्ने गरेको प्रमुख संरक्षण अधिकृत चौधरीले बताए। त्यस क्षेत्रमा कम्तीमा पाँच वटासम्म पोथी बाघ पनि रहने गरेको जनाइएको छ।

यसैबिच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकिएको छ। फागुन अन्तिमबाट सुरु गरिएको गणना कार्र्य चैत १७ गते नै सकिएको हो। राष्ट्रिय सर्वेक्षण कार्यक्रम अन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा बाघ गणना गरिएको थियो। गणना सकिएर विभागले तथ्याङ्क विश्लेषण गरिरहेको चौधरीले जानकारी दिए। निकुञ्जमा बाघ गणनाका लागि ७७ जना प्राविधिक परिचालन गरिएको थियो भने ५२० वटा क्यामरा राखिएको थियो।

पार्टी पुनर्गठनमा जुटिन् भण्डारी

काठमाडौं- एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी पार्टी पुनर्गठनमा थप सक्रिय भएकी छिन् ।

अध्यक्ष केपी शर्मा ओली संसदीय राजनीतिमा पराजयसँगै एमालेभित्र विशेष महाधिवेशनको दबाब अभियान सञ्चालन भइरहेको छ।

यस्तो अवस्थामा भण्डारी पार्टी पुनर्गठनमा सक्रिय बनेकी हुन् । यसका लागि उनले शुक्रबार एमालेका पदाधिकारी तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूसँग छलफल गरेकी छिन् ।

भण्डारीले १४ जनवर्गीय संगठनका प्रतिनिधि र पदाधिकारीसँग छलफल गरेकी हुन् । उक्त छलफलमा एमाले सचिव भानुभक्त ढकाल पनि उपस्थित भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपाध्यक्ष  भण्डारीले सक्रिय राजनीतिमा आउनका लागि फाउण्डेसनको मञ्च प्रयोग गरेको भन्दै आफू निकट नेता कार्यकर्तालाई त्यस्ता गतिविधिमा संलग्न नहुन निर्देशन दिएका थिए ।

ढकालले पनि फाउण्डेसन मार्फत भण्डारीले गरेका सक्रिय राजनीति गतिविधिको विरोध गर्दै आएका थिए । २०८२ असार ३१ मा फाउण्डेसनले हिरक जयन्ती व्यवस्थापन समिति बनाएको थियो ।

उक्त समिति सार्वजनिक कार्यक्रममा ढकाल अनुपस्थित थिए । समितिले सार्वजनिक गरेको सदस्यको विवरणमा उनको नाम उल्लेख गरिएको थिएन ।

अध्यक्ष केपी शर्मा ओली संसदीय राजनीतिमा पराजित भएसँगै एमालेभित्र पार्टी पुनर्गठनमा भण्डारी फेरि सक्रिय बनेकी छिन् ।

पुनर्गठनमा भण्डारीको सक्रियता र अध्यक्ष ओली कमजोर बनिरहेको परिस्थितिमा सचिव ढकाल उक्त फाण्डेसनले आयोजना गर्न लागेको हिरक जयन्ती सफल पार्ने छलफलमा उपस्थित भएका हुन् ।

भण्डारीले २०८२ असार १५ मा सक्रिय राजनीतिमा आउने औपचारिक घोषणा गरेकी थिइन् । यद्यपी एमालेले उनको सदस्यता नवीकरण नगरेपछि उनी सक्रिय राजनीतिमा फर्किन सकिनन् ।

आफू माझ किराँतकी छोरी भएको भन्दै एमालेको सक्रिय राजनीतिमा आउन कसैले रोक्न नसक्ने जिकिर उनले गरेकी थिइन् । पार्टीभित्र नयाँ नेतृत्व खोजी भइरहेका बेला भण्डारीले फेरि सक्रियता देखाएकी हुन् ।

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौ‌ं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नगर्नरनगराउन सरोकार भएका सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस मन्त्रालयमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकरस्वास्थ्यकर्मीरनर्सिङ स्टाफलगायत कर्मचारीहरूका साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाइएको, प्रचलित कानुनले तोकेकोभन्दा बढी समय काममा लगाइएको भन्ने उजुरी तथा गुनासाहरू प्राप्त भएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको प्रष्ट पारेको छ ।

‘श्रम ऐन, २०७४ को दफा २ (ढ)मा ‘रोजगार सम्झौता’ भन्नाले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनुपर्छ’ र सो शब्दले ‘रोजगारदाताले श्रमिकलाई दिएको नियुक्तिपत्रसमेतलाई जनाउँछ’ भन्ने व्यवस्था छ ।

विज्ञप्तिमा कानुनबमोजिम प्रतिदिन आठ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने, बढी समय काम गर्न बाध्य पार्न नहुने र बढी समय काममा लागउन परेमा प्रतिदिन चार घण्टा र एक हप्तामा २४ घण्टाभन्दा बढी नहुने गरी लगाउन सकिने भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ ।

मन्त्रालयले प्रचलित कानुनको पूर्णपालना गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ । साथै, यसविपरीत कार्य गरेको पाइएमा श्रम ऐन, २०७४ बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।

महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष भ्रष्टाचार मुद्दामा प’क्रा’उ

कञ्चनपुरमहेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसायलीलाई पक्राउ परेका छन्।

महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त नगरविकास समिति) को जग्गा हिनामिना गरी भ्रष्टाचार गरेपछि अदालतबाट कैद र जरिवाना सजाय भएका भीमदत्त नगरपालिका–१३ का ४४ वर्षीय गोपाल रसायलीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले विशेष अदालत काठमाडौंको २०८१ वैशाख २४ गतेको फैसलाले भ्रष्टाचार मुद्दामा फरार रहेका रसाइलीलाई ४ वर्ष कैद सजाय र ७६ लाख ८२ हजार ४ सय ६६ रुपैयाँ जरिवाना तोकिएको बताए।पक्राउ परेका रसायलीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कञ्चनपुर हुँदै कारागार पठाएको छ।

यसअघि कञ्चनपुर प्रहरीले सोही मुद्दामा फरार रहेका नगर विकास समितिका पूर्वअध्यक्ष पल्टु रानालाई पक्राउ गरी कारागार चलान गरिसकेको छ।  -अन्नपुर्णबाट 

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृ’त्यु, चार घाइते

बैतडी-  बैतडीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो करिब साढे १ बजे सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडक खण्डमा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहका अनुसार श्रीभावरदेखि पुर्चौडीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी मृत्यु हुनेमा सुर्नया–८ का ३४ वर्षीय जनक लुहार रहेका छन् । उनी सोही मोटरसाइकलका चालक समेत रहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

सोही दुर्घटनामा पुर्चाैडी–५ का २४ वर्षीय अमिर कडायत, सोही वडाका ३९ वर्षीय हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएको प्रहरीले बताए ।

घाइतेमध्ये अमिर र हिक्मतको अवस्थालाई ध्यानमा राख्दै थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । प्रहरीका अनुसार अमिरको अवस्था मध्यम छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौं- संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार (वैशाख ४) सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद (डीपी) अर्यालले उनीहरूलाई शपथ गराएका हुन् ।

शुक्रबार नै १२ समिति सभापति चयन भएका हुन् । ११ समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद चुनिएका छन् । रास्वपाले उमेदवारी नदिएको र प्रतिपक्षलाई दिने परम्परा रहेको सार्वजनिक लेखा समिति सभापतिमा भने नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा समिक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा आशिष गजुरेल निर्वाचित भए ।

महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, राज्यव्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित भए ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्नीमा उदास, अर्थमा कृष्णहरि बुढाथोकी, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी निर्वाचित भए ।

संघीय संसद्अन्तर्गतका दुई संयुक्तमध्ये एक रहेको संसदीय सुनुवाइ समिति सभापतिमा वोधनारायण श्रेष्ठ निर्वाचित भए । अर्को, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति सभापतिमा गणेश कार्की निर्वाचित भए । समितिका नवनिर्वाचित यी सभापतिले शपथ लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह गर्ने

कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सेवा प्रवाह गर्ने जनाएको छ ।

कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सार्वजनिक बिदामा पनि उपलब्ध गराउने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार सेवाग्राहीलाई सहजता प्रदान गर्न सार्वजनिक बिदामा पनि सेवा प्रवाह गरिनेछ ।

यसअन्तर्गत चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), बुद्ध जयन्ती, उभौली पर्व, गणतन्त्र दिवस, पृथ्वी जयन्ती, रक्षा बन्धन, घटस्थापना, धान्य पूर्णिमा, क्रिसमस डे, विभिन्न ल्होसार, माघी पर्व, प्रजातन्त्र दिवस, अन्तरराष्ट्रिय महिला दिवस, होलीलगायतका बिदामा सेवा सञ्चालन हुने उनले जानकारी दिए ।

त्यसैगरी मुस्लिम धर्मावलम्बीहरूको ईद (ईद उल फित्र) र बकर ईद (ईद उल अजहा) का अवसरमा पनि सेवा प्रवाह गरिने बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले तोकिएका सार्वजनिक बिदाका दिन सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजातसहित उपस्थित हुन सबैमा आग्रह गरे । -रासस

कञ्चनपुर : एक वर्षमा ३३४ जना लागुऔषध मुद्दामा पक्राउ

कञ्चनपुर- गत वर्ष कञ्चनपुर प्रहरीले लागुऔषध मुद्दामा महिला तथा पुरुष गरी ३३४ जनालाई कारबाहीको दायरामा ल्याएको छ। गत वर्षको वैशाखदेखि चैत मसान्तसम्मको अवधिमा ३०५ पुरुष र २९ महिला गरी ३३४ जना अभियुक्त लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले जानकारी दिए। उनका अनुसार सो अवधिमा प्रहरीले ७५३ ग्राम खैरोहिरोइन, ३३ किलो ३६४ ग्राम चरेश, दुई किलो ४२ ग्राम गाजालगायत विभिन्न लागुऔषध बरामद गरिएको छ।

‘गएको वर्ष लागुऔषधमा २०१ मुद्दा दर्ता भएर कारबाही प्रक्रिया अघि बढ्यो,’ प्रहरी उपरीक्षक खत्रीले भने, ‘हामीले कारबाही र सचेतनाका लागि अभियानसँगै सञ्चालन गरेका छौँ।’ उनले पछिल्लो समय लागुऔषध समाजमा भयानक रूपमा फैलिएको भन्दै त्यसको रोकथाम र न्यूनीकरणका लागि समाजका सबै नागरिक जागरुक हुनुपर्ने बेला आएको बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्या‌ंकअनुसार २०८२ वैशाखमा यहाँ २२ जना लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। त्यसै गरी जेठ महिनामा ४०, असारमा २०, साउनमा १६, भदौमा १६, असोजमा ११, कात्तिकमा २९, मङ्सिरमा २३, पुसमा १८, माघमा ४९, फागुनमा ४१ र चैत महिनामा ४५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

खुला सीमानाकाका कारण भारतबाट लुकिछिपी लागुऔषध आयात हुने गरेको छ। पछिल्लो समय नेपाल-भारत संयुक्त सीमा बैठकमा उक्त विषयमा नेपाली अधिकारीहरूले नियन्त्रणका लागि कुरा उठाउने गरेको प्रहरी प्रमुख खत्रीले जानकारी दिए।

उनले कञ्चनपुर कारागारमा ३५ प्रतिशत लागुऔषध मुद्दाका आरोपी कैदीबन्दी रहेका जानकारी दिए।

खोज्नुहोस