बैतडीमा २२ हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
बैतडी- बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार ६ देखि ५९ महिनासम्मका २२ हजार ७५७ जना बालबालिकालाई क्याप्सुल खुवाइने कार्यक्रम तय गरिएको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत वैशाख ६ र ७ गते जिल्लाभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । उक्त कार्यक्रमअन्तर्गत १२ देखि ५९ महिनासम्मका २० हजार ४८३ जना बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य राखिएको उनको भनाइ छ ।
कार्यक्रम सफल बनाउन जिल्लाभर ८३० जना महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको छ । स्वयंसेविकाहरूले टोल–टोलमा पुगेर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने स्वास्थ्य कार्यालयले जनाएको छ ।
बालबालिकाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आफ्ना बालबालिकालाई अनिवार्य रूपमा कार्यक्रममा सहभागी गराउन स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले अभिभावकसँग आग्रह गरेका छन् । पहिलो दिन छुटेका बालबालिकालाई दोस्रो दिन पनि औषधी खुवाइने व्यवस्था मिलाइएको जनाइएको छ ।
