गृहमन्त्रीको प्रश्न– यो देशमा सेयरमा लगानी कहिलेदेखि अपराध भयो ?
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूविरुद्धका आरोपका विषयमा स्पष्टीकरण दिएका छन् । व्यवसायी दीपक भट्टसँग नाम जोडेर सेयर किनेको भन्ने समाचारका विषयमा सोमबार (वैशाख ७) सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन् ।
“२५ लाखको सेयर लुकाइएको भनिएको छ । वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन् । मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर दुई करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ,” उनले लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, “स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो । यो लुकाउने होइन, वर्गीकरणको विषय हो । सिधा कुरा, लुकाउने मान्छेले खुला रूपमा दुई करोडभन्दा बढी सम्पत्ति देखाउँदैन । ‘मन्त्री हुनुअघि सेयर किनियो’ भनिएको छ । यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ? सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको छ ।”
