‘लालीबजार’ प्रकरणमा उच्च अदालत पाटनले माग्यो सक्कल फाइल

काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’लाई सार्वजनिक प्रदर्शन गर्न दिनेगरी भएको निर्णयसहितको सक्कल फाइल झिकाएको छ । न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलालसले मंगलबार (आज) सञ्चार मन्त्रालयलगायत निकायका नाममा उक्त आदेश दिएको हो ।

‘लालीबजार’लाई प्रदर्शन गर्न अनुमति दिन निर्णयसहितको फाइल इजलास देखाइ फिर्ता लैजानेगरी उच्च सरकारी वकिल कार्यालयलाई समेत आदेश दिएको छ ।

उक्त चलचित्र प्रदर्शन रोक्न वैशाख १५ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै बुधबार (भोलि)का लागि दुवै पक्षलाई डाकिएको छ । भोलि चलचित्र प्रदर्शन रोक्न यसअघि जारी भएको अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने विषयको टुंगो लाग्नेछ ।

यसअघि, चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतले यही वैशाख २२ सम्म चलचित्र प्रदर्शन रोक्न भनेको थियो ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले वैशाख १५ गते प्रदर्शन रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत निकायका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

चलचित्रका कतिपय शब्दहरूमा आपत्ति जनाउँदै बादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दिएकी थिइन् । वैशाख १४ गते दिएको उक्त रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

उक्त प्रकरणमा मन्त्रालयसहितका निकायलाई १५ दिनभित्र कारणसहितको लिखित जवाफ पेस गर्न समेत आदेश दिएको थियो ।

यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ यही वैशाख १८ देखि प्रदर्शनको तयारीमा थियो । तर, अदालतको आदेशसँगै यो प्रदर्शन रोकिएको छ ।

चलचित्र ‘लालीबजार’मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायतको अभिनय छ ।

चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई छन् । म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता छन् ।

यो चलचित्रले बादी समुदायका महिलाको कथा उठान गरेको छ । बादी महिलाको कथा उठान गरेको यो चलचित्रको पक्ष र विपक्षमा स्वयं बादी समुदाय देखिएको छ ।

सवारी आवगमन र यात्रुको सुरक्षा सुनिश्चित गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा सवारी आवगमन बन्द गरी, यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

प्राधिकरणले जोखिम भएका स्थानमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारीधनीलाई कारबाही गर्नसमेत निर्देशन दिएको छ ।

सोमबार साँझ काभ्रेको रोशी खोलाको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रोक्दारोक्दै पाँचवटा सवारी अगाडि बढ्दा यात्रुहरू बाढीमा फस्न पुगेका थिए । त्यसरी फसेका सबै ८९ यात्रुको सकुशल उद्धार गरिएको छ ।

केही सवारी चालकका कारण यात्रुहरूको सुरक्षाको सन्दर्भमा गम्भीर प्रश्न खडा भएपश्चात् प्राधिकरणले स्थानीय वस्तुस्थिति एवं सडकको जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकतानुसार सवारी आवागमन बन्द गर्न निर्देशन दिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान, उक्त पूर्वानुमानअनुसार प्राधिकरणबाट जारी हुने पूर्वसूचना, पूर्वचेतावनी र जानकारी पालना गर्न अनुरोध पनि गरेको छ ।

दशरथ रंगशालामा ३ हजार बढी सुकुम्वासीले टिपाए नाम

काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको विवरण संकलन कार्य तीव्र पारिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या हालसम्म ३ हजार १ सय ११ पुगेको छ ।

बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा रंगशालामा बसेर प्रभावित परिवारहरूको तथ्यांक संकलन गरिरहेका छन् ।

रंगशालाको पश्चिमतर्फ छुट्टाछुट्टै डेस्क स्थापना गरी परिवारहरूलाई फारम भर्न लगाउने तथा आवश्यक विवरण संकलन गर्ने काम भइरहेको छ।

प्रभावित नागरिकहरूको आधारभूत आवश्यकता सम्बोधन गर्न विभिन्न सहायक सेवाहरू पनि सञ्चालनमा ल्याइएको छ ।

रंगशालाभित्र स्वास्थ्य परीक्षण, खानपानको व्यवस्था तथा राष्ट्रिय परिचयपत्र बनाउने सेवा उपलब्ध गराइएको छ। यी सबै व्यवस्थापन तथा समन्वयको जिम्मेवारी काठमाडौं महानगरपालिकाले सम्हालिरहेको छ।

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

बजेटका लागि छलफलमा अर्थ मन्त्रालय

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको पूर्वसन्ध्यामा अर्थ मन्त्रालयले नौजना विभागीय मन्त्रीहरूसँग मन्त्रालयगत बजेट छलफल गरेको छ ।

आगामी बजेटको खाका, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट र स्रोत व्यवस्थापनका विषयमा परामर्शका लागि छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार बाँकी रहेका अन्य मन्त्रालयहरूसँगको बजेट छलफल मंगलबार पनि जारी रहनेछ ।

छलफलको सुरुआत गृह मन्त्रालयबाट गरिएको थियो । त्यसपछि क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बजेट केन्द्रित संवाद भएको छ ।

‘महेन्द्रनगर मावि’ सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा स्थापित

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा स्थापित भएको छ ।

यस विद्यालयमा नयाँ शैक्षिकसत्रमा भर्ना हुन आउने विद्यार्थीको सङ्ख्या विद्यालयले धान्न नसक्ने गरी आइरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

विसं २०७१ अघिसम्म ३७१ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा हाल भर्नाका लागि प्रवेश परीक्षा दिन आउनेको भीड लागेको छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तरमाथि गरिने शंका यस विद्यालये भने चिरेको छ ।

आधारभूत तह र माध्यमिक तहमा गरी तीन हजार विद्यार्थी अध्ययनरत महेन्द्रनगर माविमा ९२ जना शिक्षक कर्मचारी कार्यरत छन् । विसं २०७२ मा विद्यार्थी व्यवस्थापन समितिको अध्यक्ष भएर नेतृत्व गरिरहेका वीरेन्द्रराज विष्ट चौथो पटक विद्यालय व्यवस्थापनको नेतृत्वमा छन्।

‘म विद्यालय व्यवस्थापन समितिमा प्रवेश गर्दा ३७१ विद्यार्थी र १४–१५ जना मात्रै शिक्षक कर्मचारी थिए’, अध्यक्ष विष्टले भने, ‘यसपटक व्यवस्थापन समितिबाट बाहिरिन खोजेको तर अभिभावकहरूले दिनुभएन ।’ यो विद्यालय सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी विद्यार्थी भएको विद्यालय हो ।

‘त्यो बेला तीन जना दरबन्दीको शिक्षकको तलबबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाउनुपर्ने परिस्थिति थियो । विद्यालयको आर्थिक स्रोत निकै कमजोर थियो’, अध्यक्ष विष्टले भने, ‘अहिले निजी स्रोतका शिक्षकहरूलाई पनि सरकारले तोकेअनुरुपकै तलब खुवाउन सक्ने भएका छौँ ।’

एक्काइस वर्षको उमेरमै विद्यालय व्यवस्थापन समितिको बागडोर सम्हाल्नुभएका विष्टकै सक्रियतामा हाल विद्यालयमा प्राविधिकतर्फ र नियमित गरी शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन् । विसं २०३३ मा स्थापना भएको उक्त विद्यालयको समग्र अवस्थाबारे बुझ्न अहिले मुलुकभरबाट विद्यालय व्यवस्थापन समितिका पदाधिकारी आउने गर्छन् ।

विद्यालयमा ७२ जना आन्तरिक स्रोतबाट शिक्षक तथा कर्मचारी कार्यरत छन् । तीस जना शिक्षक कर्मचारी दरबन्दीमा कार्यरत छन् । ‘नर्सरीदेखि १२ कक्षासम्म प्रवेश परीक्षा लिएर मात्र भर्ना लिन्छौँ’, विष्टले भने, ‘अहिले भर्नाका बेला सिट क्षमताभन्दा तेब्बरले प्रवेश परीक्षा दिइरहेका छन् ।’

यो विद्यालय २०७५ देखि सिटीइभिटी कार्यक्रमअन्तर्गत बाली विज्ञान, २०७६ देखि सिभिल ओभरसियर, २०७९ बाट सबओभरसियर, २०७६ मा नमूना विद्यालयमा छनोट भएको थियो ।

‘२०७८ देखि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन छ । २४ जना छात्र छात्रावासमा आश्रित छन्’, उनले भने, ‘विज्ञान, वाणिज्य, शिक्षा, कानुन र प्राविधिकतर्फ कार्यक्रम सञ्चालित छन् ।’ दुई वर्षअघिदेखि यहाँ २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रम पनि सञ्चालनमा छ ।

‘कक्षा ८, ९ र १० का विद्यार्थीलाई ‘संसार चिनाऊ’ कार्यक्रम सञ्चालन छ, हाम्रोमा कार्यरत शिक्षक कर्मचारी सबैका छोराछोरी यहीँ अध्ययनरत छन्, उनले भने । विद्यालयको शैक्षिक गुणस्तरमा भएको सुधार र आन्तरिक व्यवस्थापन सक्षम भएकै कारण करिब २० किलोमिटर टाढादेखि विद्यार्थी साइकल चढेर आउने गरेको समितिले जनाएको छ । रासस

 

निर्माण व्यवसायी सङ्कटमा

काठ्माणडौ। नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण व्यवसायीहरु कठिन मोडमा पुगेको जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घले राज्यको कमजोर पुँजीगत खर्च, निर्माण सामग्रीमा तीव्र मूल्यवृद्धि र नीतिगत अन्योलका कारण मुलुकभरका अधिकांश आयोजना ठप्प प्रायः भएको उल्लेख गरेको हो।

महासङ्घका अनुसार सात प्रदेश, ७७ जिल्ला सङ्घ तथा अन्य सदस्यसहित करिब ३२ हजार निर्माण व्यवसायी आबद्ध रहेको यस क्षेत्र अहिले गम्भीर आर्थिक दबाबमा छ।

चालु आर्थिक वर्षमा विनियोजित पुँजीगत बजेटमध्ये हालसम्म करिब २७ प्रतिशत मात्र खर्च हुनुले पूर्वाधार विकासमा प्रत्यक्ष असर परेको महासङ्घको भनाइ छ।

महासङ्घका अध्यक्ष निकोलस पाण्डेले मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, मट्टितेललगायत इन्धन तथा बिटुमिन, सिमेन्ट, डण्डीजस्ता निर्माण सामग्रीको मूल्यमा असामान्य वृद्धि भएको बताए।

गत फेब्रुअरी १५ मा प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य बढेर २२५ रुपैयाँ पुगेको र बिटुमिनको मूल्य प्रतिकेजी ७५ बाट १५५ रुपैयाँ पुगेको छ। यसले निर्माण लागत अत्यधिक बढाउँदा व्यवसायीहरू ‘फोर्स माज्युर’ अवस्था सामना गर्न बाध्य भएको उनको भनाइ छ। तर, मूल्य समायोजनका लागि सरकारबाट प्रभावकारी निर्णय नभएको गुनासो सङ्घले गरेको छ।

महासङ्घले मूल्यवृद्धि र सामग्री अभावका कारण राष्ट्रिय गौरवका आयोजनासहित अधिकांश परियोजनाको काम ठप्प भएको जनाएको छ। निर्धारित समयमा आयोजना सम्पन्न हुने सम्भावना न्यून भएकाले बैंक ग्यारेण्टी, बिमा र क्षतिपूर्तिसहित सबै आयोजनाको म्याद थप गर्न सरकारसँग माग गरिएको छ।

यसैबीच सार्वजनिक खरिद ऐन, २०६३ संशोधनसम्बन्धी अध्यादेशले केही सकारात्मक व्यवस्था गरे पनि ‘लो बिडिङ’जस्ता मूल समस्या पूर्ण रूपमा समाधान नगरेको महासङ्घले जनाएको छ। मूल्य समायोजन, उपभोक्ता समितिसम्बन्धी व्यवस्था, मासिक भुक्तानीलगायत विषयमा स्पष्टता अभाव रहेको महासङ्घको निष्कर्ष छ।

निर्माण व्यवसायी तथा अन्य उद्यमीहरूमाथि भइरहेको धरपकडले निजी क्षेत्र त्रसित भएको महासङ्घले जनाएको छ। यसले लगानी, रोजगारी र आपूर्ति प्रणालीमा नकारात्मक असर पार्ने चेतावनी दिइएको छ।

महासङ्घले विद्युतीय खरिद प्रणालीसम्बन्धी विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानले कानुनसम्मत देखाएको उल्लेख गर्दै सोही विषयमा पुनः पक्राउ गरिनु दुःखद् भएको जनाएको छ।

हालको अवस्थामा ‘काम गर्दा घाटा, नगर्दा जरिवाना’को दोहोरो मारमा व्यवसायी परेको महासङ्घको भनाइ छ। एक साताभित्र मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय नभए निर्माण कार्य स्वतः बन्द हुने र आन्दोलनका कार्यक्रम घोषणा गरिने जनाइएको छ।

लिग २ः नेपालद्वारा ओमानसामु २५७ रनको लक्ष्य प्रस्तुत

 


आसिफ शेख र अर्जुन कुमालले दोस्रो विकेटका लागि सतकीय साझेदारी गरेपछि आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन एक बल बाँकी हुँदा सबै विकेट गुमाएर २५६ रनको योगफल तयार पारेको हो। ओपनर बिनोद भण्डारीलाई शुन्य रनमा गुमाएको नेपालका लागि आसिफ र अर्जुनले दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरेका हुन्। आसिफ ९४ र अर्जुन ४८ रनमा आउट भए।

विष्फोटक ब्याटिङ गरेका आरिफ शेखले २४ बलमा ४३ रनको पारी खेले। उनले चार छक्का र एक चौका प्रहार गरे।

कप्तान रोहित पौडेल पनि ९ रनमा आउट भएपछि दाबबमा आएको नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले ३२ रनको साझेदारी गर्दैै आशा जगाएका थिए। ऐरी ३३ र झा १७ रनमा आउट भए। करण केसी पहिलो बलमा पबेलियन फर्कँदा नन्दन यादव २ र सन्दीप लामिछाने एक रनमा आउट भए। नटआउट रहेका ललित राजवंशीले खातै खोलेनन्।

ओमानका लागि नदीम खानले ३ तथा हसन शाह र शकील अहमदले समान २ तथा आर्यन र जितेन रामानन्दीले समान एक विकेट लिए।

नेपाल, ओमान र युएई सहभागी जारी सिरिजमा नेपाल र युएईले दुई दुई खेलमा जित हासिल गरेका छन्। नेपालले युएईसँगको दुबै खेलमा जित हासिल गरेको छ भने युएईले ओमानलाई दुबै खेलमा हराएका छ। ओमानले आफ्नो पहिलो खेलमा नेपाललाई हराएको थियो। नेपाल र ओमानबीच जारी खेल यो सिरिजको अन्तिम खेल हो।

ओमान ३१ अंकमा तालिकाको तेस्रो स्थानमा छ भने सातौं स्थानमा रहेको नेपालको १६ अंक छ। तालिकाको पुछारमा रहेको युएईको १४ अंक छ।

‘लालीबजार’ प्रदर्शनविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुँदै

चलचित्र ‘लालीबजार’ प्रदर्शनविरुद्ध दायर रिटमा मंगलबार सुनुवाइ हुँदैछ।

उच्च अदालत पाटनका न्यायाधीशहरु गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा पेसी तोकिएको छ।

वैशाख १८ शुक्रबारदेखी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै

प्रदर्शन रोक्न आदेश दिएको थियो।

डा रोशनी नेपालीसहित वादी समुदायका अभियन्ताहरूले उक्त चलचित्रविरुद्ध रिट दायर गरेका थिए।

उनीहरूले चलचित्रले वादी समुदायलाई नैतिक, सामाजिक तथा व्यवहारिक रूपमा गलत तरिकाले चित्रण गरेको आरोप लगाएका छन्।

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

अघिल्लो साता मन्त्रीपरिषद्ले सिफारिस गरेको यही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपतिले अध्यादेशमा राखिएको निर्णय प्रक्रियासम्बन्धी व्यवस्थामा सरोकार राख्दै  फिर्ता पठाएका थिए । प्रस्तावित व्यवस्थाअनुसार संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र निर्णय उपस्थित सदस्यको बहुमतबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

यस व्यवस्थाले ६ सदस्यीय परिषद्‌मा ३ जनाले मात्र निर्णय गर्न सक्ने अवस्था सिर्जना हुने भएकाले ‘कुल सदस्य संख्याको बहुमत’ को मर्म कमजोर हुने राष्ट्रपतिको चिन्ता थियो ।

उनले निर्णय गर्दा उपस्थित संख्याको होइन, कुल सदस्य संख्याको बहुमतलाई आधार बनाउनुपर्ने धारणा राख्दै अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।

तर, सरकारले त्यसैलाई दोहोर्‍याएर पठाएपछि राष्ट्रपति अध्यादेश जारी गर्न बाध्य भएका हुन् । संविधानमा राष्ट्रपतिले अध्यादेश फिर्ता गर्ने र कार्यकारीले पुनर्विचार नगरेमा के गर्ने भन्नेमा प्रष्ट व्यवस्था छैन । तर, संघीय संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि गएको विधेयकको हकमा भने राष्ट्रपतिले अर्थबाहेक अन्य विधेयक एकपटक मात्र फिर्ता पठाउन सक्छन् ।

संसद्ले पुनर्विचार गरेमा वा त्यसैलाई  पुनः सिफारिस गरेमा प्रमाणीकरण गर्नुपर्ने राष्ट्रपतिको बाध्यात्मक संवैधानिक दायित्व छ । संविधानविद्हरुले अध्यादेशको हकमा पनि संवैधानिक मर्म त्यही रहेको बताउँदै राष्ट्रपतिलाई जारी गर्न सुझाएका थिए ।

अब जारी भएको अध्यादेश संसद्‌मा पेश हुनेछ र त्यहाँबाट यसको अन्तिम परीक्षण हुनेछ । अध्यादेशको प्रावधान र त्यसको राजनीतिक तथा संवैधानिक प्रभावबारे अन्तिम निर्णय भने संसद्‌बाटै हुनेछ ।

वरिष्ठ अधिवक्ता तथा राष्ट्रपतिका सल्लाहकार बाबुराम कुँवरले सरकारले कारण सहित अध्यादेश पठाएकाले संविधानको पालक र संरक्षकको हैसियतले संविधानको मर्म र भावना अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेको जानकारी दिए ।

अध्यादेश कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने प्रयास : प्रधानमन्त्री शाह

काठमाण्डौ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अध्यादेश कुनै पार्टीविरुद्धको लडाइँ नभई प्रणाली बचाउने प्रयास भएको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास रहेको उल्लेख गरेका छन् । शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत सङक्रमणबाट मुक्त गर्न प्रयास थालिएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री शाहका अनुसार अब शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला बोक्ने कार्य पूर्णतः निषेध गरिएको छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा सङ्गठन बनाउन नसकेर नभएको तर्कसहित चाहेमा आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी सङ्गठन बनाउन सक्ने पनि दाबी गरेका छन् ।

अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता बन्नुपर्नेमा उनको जोड छ । नागरिकको चाहनाअनुसार अध्यादेशमार्फत विकृति हटाउने प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसमा सबैको साथ रहने विश्वास व्यक्त गरेका छन् ।

परिवर्तन निर्णय र त्यसको कार्यान्वयनबाट आउने भएकाले ढुक्क हुन र सरकारले नागरिककै हितमा काम गर्ने उनको प्रतिबद्धता छ ।

३ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै गत मंगलबार २ लाख ९७ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १५० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँ मूल्य तय भएको छ । अघिल्लो दिन  चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

रास्वपाले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई दुई दिन प्रशिक्षण दिने

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई दुई दिन प्रशिक्षण दिने भएको छ । प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यले प्रशिक्षण विभागले पार्टीका सांसदहरूलाई वैशाख २६ र २७ गते काठमाडौंमा प्रशिक्षण दिन लागेको जानकारी दिए।

संसदीय दलको सभाकक्ष सिंहदरबारमा बिहान ११ बजेदेखि २ दिने प्रशिक्षणको आयोजना गर्ने तय भएको उनको भनाई छ। प्रशिक्षणमा सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।

कतिपय विषयमा रास्वपाका सांसद् विवाद आउन थालेको र बजेट अधिवेशन चल्न लागेकाले रास्वपाले प्रशिक्षण दिन लागेको हो। यस अगाडि पनि रास्वपाले सांसदका लागि प्रशिक्षणको आयोजना गरेको थियो।

शिक्षामा लगानीसँगै रोजगारी सिर्जना गर्नु पर्छ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिमको शैक्षिक विकासमा प्रदेश सरकारले लगानीसँगै रोजगारी सिर्जनामा  ध्यान दिनुपर्ने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बताए ।

कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको बर्दगोरिया क्याम्पसको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै उनले शिक्षामा लगानी गरे पनि बेरोजगारीका कारण युवा विदेश पलायन हुने क्रम नरोकिएकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, “शिक्षा र रोजगारीलाई सँगै जोडेर वर्तमान सङ्घीय सरकार अघि बढिरहेको छ । प्रदेश सरकार पनि निरन्तर लागेकै छ ।” उनले तीनै तहका सरकारले गुणस्तरीय शिक्षाका साथै रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने बताए । प्रदेश सरकारको ३५ र सङ्घीय सरकारको ६५ प्रतिशत अनुदान सहयोगमा भवन निर्माण हुन लागेको सामाजिक विकास मन्त्रालयका सचिव हेमराज रेग्मीले जानकारी दिए । उनले बहुवर्षीय योजना अन्तर्गत निर्माण हुन थालेको शैक्षिक भवनको चालु आर्थिक वर्षमा पाँच करोड ४४ लाखको ठेक्का सम्झौता भएको बताए । उनले २०८४ साल असार मसान्तसम्म काम पूरा गर्ने गरेर पहिलो चरणको काम सुरु भएको उल्लेख गरे ।  कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवर, पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेलगायतको उपस्थिति रहेको थियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर २०८० सालमा गाउँपालिका अध्यक्ष कुँवरको सक्रियतामा क्याम्पस स्थापना भएको थियो ।

विस्थापित सुकुमवासीहरू रोजगारी गुम्ने चिन्तामा

काठमाडौँ — ५६ वर्षीया शान्ता काठमाडौंको गैरीगाउँ(शान्तिनगर)को सुकुमवासी बस्तीमा साढे २ दशकदेखि बस्दै आएकी थिइन् । १० वर्षयता उनी शान्तिनगरमा रहेको क्लिनिकमा सरसफाइको काम गर्थिन् । दिनमा बिहान ८ बजेदेखि १२ बजेसम्म र साँझमा ३ बजेदेखि ८ बजेसम्म दुई सिफ्टमा काम गर्थिन् । वैशाख १२ गते जब उनको बस्तीमा सरकारको डोजर पस्यो बाससँगै उनको जागिर पनि खोसियो । त्यसदिनदेखि उनी सरकारले होल्डिङ सेल्टरका रुपमा तोकेको माछापोखरीस्थित होटलमा बस्दै आएकी छन् ।

‘म यहीँ हुँदा मलाई दुई पटक अफिस आउजाउ गर्न पनि सजिलै हुन्थ्यो । तर, अहिले टाढाबाट चार पटक ओहोरदोहोर गर्दा भाडा नै २ सय रुपैयाँ पर्न आउँछ । जबकि मेरो कमाइ नै ९ हजार रुपैयाँ छ,’ उनले सुनाइन् । उनलाई अब कहाँ जाने भन्ने अन्योल भइरहेको छ । क्लिनिकमा काम गरेबापत आएको पारिश्रमिकले घर व्यवहार धान्न सहयोग हुन्थ्यो । ‘ममीको औषधि पनि त्यही पैसाले किनिन्थ्यो । अब त जागिर नै छाड्नुपर्‍यो । यो कुराले चिन्तित पनि भइरहनुभएको छ,’ उनकी छोरीले भनिन् ।

अहिले पनि आफूले गर्ने काम शान्ता सम्झिरहन्छिन् । ‘काम गरेर खाने मान्छे दिउँसोभरि यो कोठामा बसिराख्दा कति गाह्रो हुन्छ । मनमा उस्तै कुरा खेलेर बस्न सक्दिनँ,’ उनी भन्छिन् ।

सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुमवासी बस्तीहरू भत्काइरहेको छ । बस्तीबाट विस्थापितहरू रोजगारी गुम्ने चिन्तामा छन् भने कतिपयले छाड्न बाध्य भएका छन् । त्यसैमध्येको एक उदाहरण हुन्, ४६ वर्षकी सविना मगर । उनी २० वर्षदेखि थापाथलीको सुकुमवासी बस्तीमा बस्दै आएकी थिइन् । थापाथलीबाट उनी नियमित ललितपुरको धोबिघाटस्थित एउटा घरमा काम गर्न जान्थिन् । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म काम गर्थिन् । उनको मासिक पारिश्रमिक १६ हजार थियो । त्यही कमाइको आडमा उनी परिवारको खर्च धान्थिन् । तर, डोजरले घर भत्काएपछि उनको परिवार विस्थापित भयो ।

अहिले उनी बालाजुस्थित गेस्ट हाउसमा परिवारसहित बसिरहेकी छन् । विस्थापित भएसँगै उनको रोजगारी पनि गुमेको छ । ‘त्यहाँ मेरो काम घरको खाना पकाउने, सरसफाइ गर्ने र फूलबारी गोडमेल गर्ने मात्र थिएन एक वृद्ध बुवाको हेरचाह पनि गर्नुपर्थ्यो । यता घर भत्किएर अस्थायी सेल्टरमा आएपछि जागिर छाड्न बाध्य भएँ,’ उनले भनिन् । त्यहाँबाट धोबीघाट टाढा पर्छ । एकातिर टाढा बाटो । अर्कोतिर उनकी ६७ वर्षीया आमा मुटुकी रोगी हुन् । बस्ती भत्किएपछि आमाको अवस्था झन् कमजोर भएको छ ।

‘काममा जाँदा घरमा आमालाई हेर्ने कोही हुँदैन, अनि काम गर्ने ठाउँमा पनि वृद्ध बुवालाई खाना बनाइदिने र हेरचाह गर्ने मान्छे म नभई हुँदैनथ्यो । बिरामी आमालाई छोडेर त्यति टाढा जान समस्या भयो,’ उनी सुनाउँछिन् । आफूले नभ्याउने भएपछि अर्को मान्छे राख्न सुझाएर जागिर छाडेको उनले बताइन् । साथमा पैसा नहुँदा अब के गर्ने, कहाँ जाने भन्ने चिन्ताले पिरोलिरहेको उनले बताइन् । ‘म त दुःखसुख गरौँला, तर मेरा बा आमालाई बुढेसकालका ओत लाग्ने ठाउँ समेत नहुँदा मन रोएको छ,’ उनको दुखेसो छ ।

अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुनः सिफारिस

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पुनः सिफारिस गरेको छ । संवैधानिक र संसदीय अभ्यासअनुसार पुनर्विचार आवश्यक रहेको भन्दै राष्ट्रपति पौडेलले आइतबार फिर्ता गरेको अध्यादेश सरकारले पुरानै स्वरूपमा अर्को दिन पुनः सिफारिस गरेपछि शीतलनिवास नैतिक संकटमा परेको छ । दोहोर्‍याएर आएको अध्यादेश फिर्ता गर्ने संवैधानिक व्यवस्था नरहेकाले अब जारी गर्ने संकेत राष्ट्रपति कार्यालयले दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुनै परिमार्जन नगरी पुरानै स्वरूपमा अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताए । ‘पहिला जस्तो थियो, जस्ताको तस्तै पठाइएको छ । त्यसमा कुनै परिमार्जन छैन,’ उनले भने ।

राष्ट्रपति पौडेलले आइतबार अध्यादेशका प्रावधान संविधान र बहुमतीय प्रणालीको अभ्यासविपरीत रहेको भन्दै पुनर्विचार गर्न मन्त्रिपरिषद्लाई फिर्ता पठाएका थिए । तर, सरकारले राष्ट्रपतिको चासो सम्बोधन नगरी हुबहु शीतलनिवास पठाएको छ ।

मन्त्रिपरिषद्ले १४ वैशाखमा संवैधानिक परिषद्सहित आठवटा अध्यादेश सिफारिस गरेको थियो । तीमध्ये सातवटा अध्यादेश राष्ट्रपति पौडेलले जारी गरिसकेका छन् भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा भने उनले असहमति जनाएका थिए ।

दीपक भट्टलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । थुनामा रहेका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले सुनुवाइ सकिएपछि काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीका नाममा यस्तो आदेश गरेको हो ।

भट्टलाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी आयुस्मा नेपालले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सर्वोच्चले बन्दीसँगै पक्राउको कारणसहित लिखित जवाफ पेस गर्न समेत आदेश गरेको छ ।

अकुत सम्पत्ति आर्जनको आरोपमा व्यवसायी भट्टलाई गत चैत १९ गते काठमाडौंको नक्सालबाट पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट थुना म्यादको अनुमति लिएर भट्टलाई सीआईबीको प्रहरी हिरासतमा राखिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ । उनको राहदानी समेत कालोसूचीमा राखिएको छ ।

काठमाडौं । थुनामा रहेका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले सुनुवाइ सकिएपछि काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीका नाममा यस्तो आदेश गरेको हो ।

भट्टलाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी आयुस्मा नेपालले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सर्वोच्चले बन्दीसँगै पक्राउको कारणसहित लिखित जवाफ पेस गर्न समेत आदेश गरेको छ ।

अकुत सम्पत्ति आर्जनको आरोपमा व्यवसायी भट्टलाई गत चैत १९ गते काठमाडौंको नक्सालबाट पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट थुना म्यादको अनुमति लिएर भट्टलाई सीआईबीको प्रहरी हिरासतमा राखिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ । उनको राहदानी समेत कालोसूचीमा राखिएको छ ।

घरमा सम्पत्ति शुद्धीकरणको छापापछि के भन्छन् बागमतीका मुख्यमन्त्री?

काठमाडौं ।   बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै त्यसले आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताएका छन्।

सोमबार उनले जारी गरेको प्रेस विज्ञप्तिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हेटौंडा र काठमाडौंस्थित आफ्ना घर तथा कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री बानियाँले आफू सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्दै प्रदेश सरकारको खर्च कटौती तथा आर्थिक मितव्ययीताका लागि निरन्तर प्रयासरत रहेको बताएका छन्।

साथै, योजना तथा कार्यक्रमहरू आवश्यकता र औचित्यका आधारमा पारदर्शी ढंगले अगाडि बढाइएको पनि उनले स्पष्ट पारेका छन्।

उनले राजनीतिक तथा व्यावसायिक जीवनबारे हुने छानबिनलाई सकारात्मक रूपमा लिएको जनाउँदै राज्यका कुनै पनि निकायले अनुरोध गर्दा उपस्थित हुन तयार हुँदाहुँदै अकस्मात् गरिएको छापामारीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

मुख्यमन्त्री बानियाँले संवैधानिक तथा कानूनी दायराभित्र रहेर हुने अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै उक्त घटनाबाट प्रदेशवासी र आफ्ना शुभेच्छुकहरू भ्रमित नहुन आग्रह गरेका छन्।

सातै प्रदेशमा कृषि गणना गरिँदै

काठमाडौं ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ।

सरकारले आफ्नो स्रोत र साधनको अधिकतम परिचालन गरी कृषि गणनालाई मितव्ययी बनाएको हो। गणकले प्रत्येक किसानको घरदैलोमा पुगेर प्राप्त गरेको सूचनाका आधारमा आधिकारिक तथ्याङ्क सङ्कलन गरेका छन्।

तथ्याङ्क प्राप्त गर्न मोबाइल र ट्याबलोइडको प्रयोग गरिएकाले कृषि गणना कार्यक्रम प्रभावकारी बनेको पाइएको छ।

मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले गणनाबाट प्राप्त तथ्याङ्कका आधारमा कृषि क्षेत्रको विकासका लागि आवश्यक राष्ट्रिय नीति नियम बनाउन तथा त्यसलाई कार्यान्वयनमा लैजान सहयोग पुग्ने जानकारी दिए।

पहिलो चरणमा स्थानीय तहका कृषि प्राविधिक किसानको घरदैलोमा पुगेर कृषिमा कृषकको पहुँच, मलबिउको प्रयोग, मूल्य भण्डारणको संरचना, सिँचाइको प्रयोग, प्रविधिको प्रयोग, वित्तीय पहुँच, कृषि सेवा पहुँच, बिमा, कृषि पशुको उत्पादनको अवस्थालगायतका विषयमा प्रश्न सोधेर तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ।

दोस्रो चरणमा प्राप्त तथ्याङ्कलाई विश्लेषण गरी कृषिको आधिकारिक तथ्याङ्क परिणाम निकालिने छ। महत्वाकांक्षी परियोजनाका रूपमा सञ्चालन गरिएको यो कार्यक्रममा मन्त्रालयले सुपरिवेक्षकलाई तालिम दिने र सुपरिवेक्षकले गणकलाई तालिम दिने व्यवस्था गरिएको छ।

दोस्रो चरणको काम सुरु गर्न पहिलो चरणको काम अनिवार्य सम्पन्न गर्नुपर्ने वरिष्ठ अधिकृत रेग्मीले जानकारी दिए।

गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सकसहित १० शय्याको अस्पताल सञ्चालन

डडेलधुरा: जिल्लाको दुर्गम मानिने गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ । गाउँपालिकाको मुकाम वडा नम्बर २ बडालनजिकै देव खेतमा निर्माण गरिएको अस्पताल सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गरेको अस्पतालमा स्थानीयले गाउँमै सहज स्वास्थ्य सेवा पाउने छन् । अध्यक्ष कार्कीले अब उपचारका लागि गन्यापधुरावासीले डडेलधुरा सदरमुकाम, धनगढी, नेपालगन्ज वा काठमाडौँलगायत भारतका विभिन्न अस्पतालसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे।

सङ्घीय सरकार र गाउँपालिकाको १४ करोड ७६ लाख रुपियाँ लागतमा १० शय्याको आधारभूत अस्पतालको निर्माण भएको अध्यक्ष कार्कीले बताए। एक जना एमबिबिएस चिकित्सकसहित स्वास्थ्य सेवा सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेटी देउवाले जानकारी दिइन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा देशभरका स्थानीय तहमा ५, १० र १५ शप्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।

सो कार्यक्रम अन्तर्गत डडेलधुराको नवदुर्गा, आलीताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा पनि आधारभूत अस्पताल निर्माण थालिएको थियो तर अन्य पालिकामा भने अस्पताल निर्माण कार्य अझै अलपत्र  छ ।

डडेल्धुराको स्याउले–मालम कृषि सडक दशकदेखि अलपत्र, किसानलाई बजार पुग्न सास्ती

डडेल्धुराः डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिका–१ मालम गाउँलाई स्याउले चोकसँग जोड्ने कृषि सडक निर्माण योजना दशकदेखि अलपत्र अवस्थामा रहेको छ । व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानको उत्पादन बजारसम्म पु¥याउन करिब एक दशकअघि स्याउले–दगोडा–मालम कृषि सडक खनिएको थियो ।

२०७० सालमै दगोडा र मालम गाउँलाई स्याउले चोकसँग जोड्ने उद्देश्यले कृषि सडकको योजना अघि बढाई केही ट्र्याक खोलिएको थियो । दगोडा बस्तीमुनिसम्म सडक खनिए पनि मालम गाउँसम्म पुर्याउन नसक्दा योजना अलपत्र परेको हो ।

एक पटक खनिएको सडकको मर्मत–सम्भार नभएकाले हाल गाडी चल्न सक्ने अवस्था छैन । स्थानीय प्रेमबहादुर दियालका अनुसार सडक मर्मतका लागि वडा अध्यक्षलाई बारम्बार जानकारी गराउँदा पनि एक दशकदेखि काम हुन सकेको छैन । उनका अनुसार सडक खण्डको दूरी करिब एक किलोमिटर मात्र छ ।

अहिले ठाउँ–ठाउँमा पहिरोले सडक भत्किएको छ । भत्किएको भागमा पर्खाल लगाउने र बाह्रै महिना सञ्चालनयोग्य बनाउन सडक सफाइका लागि अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।

सुरुमा ५० हजारदेखि एक लाख रुपैयाँसम्मका दरले दुई–तीन पटक अमरगढी नगरपालिकाको बजेटबाट सडक ट्र्याक खोलिएको उनले बताए। त्यसपछि भने सडक सफाइ र मर्मतका लागि बजेट नपरेको उनको भनाइ छ ।  मालम गाउँका दुई दर्जनभन्दा बढी घरपरिवार दगोडा क्षेत्रमा सरेर व्यावसायिक रूपमा तरकारी र फलफूल खेती गर्दै आएका छन् । सडक सञ्चालन नहुँदा एक घण्टासम्म पिठ्युँमा कृषि उपज बोकेर उकालो बाटो हुँदै स्याउले बजार पुग्नुपर्ने बाध्यता रहेको उनले बताए।

डडेल्धुराको स्याउले बजार चोक सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने महत्त्वपूर्ण राजमार्ग भीमदत्त राजमार्गमा पर्छ । डडेल्धुराको बागबजारदेखि पूर्व–दक्षिणतर्फ करिब तीन किलोमिटर दूरीमा रहेको स्याउले बजार चोकबाट पूर्वतर्फ डोटी, अछाम र बाजुरा जोड्ने डा. के.आई. सिंह राजमार्ग तथा उत्तरतर्फ बैतडी, दार्चुला र बझाङ जोड्ने मार्ग रहेको छ ।

स्याउले चोकमार्फत सात पहाडी जिल्ला जोडिने भएकाले मौसमी फलफूल र तरकारीको खरिद–बिक्री राम्रै हुने गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताए। बजार क्षेत्रमा पसल, खोका, छाप्रा र ठेलामार्फत कृषि उपजको व्यापार भए पनि व्यवस्थित बजारको अभाव रहेको उनको भनाइ छ ।

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता जनाए ।

उनले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे । मन्त्री वाग्लेले मन्त्रिपरिषद्मा निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी रणनीतिक प्रस्ताव पेस गरिएको जानकारी दिए । करिब १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने दीर्घकालीन लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ अपरिहार्य रहने उनले बताए । “सरकारको स्रोत सीमित छ, तर निजी क्षेत्रको लगानीले नै अर्थतन्त्रलाई विस्तार गर्छ,” उनले भने ।

उनका अनुसार सरकारको खर्च जीडिपीको करिब २५ देखि ३० प्रतिशत मात्र रहेकाले बाँकी आर्थिक गतिविधि निजी क्षेत्रबाट सञ्चालन हुने गरेको छ । “आर्थिक प्रगतिमा बाधक बनेका करिब दुई दर्जन ऐन खारेज गर्ने योजना अघि बढाइएको छ,” मन्त्री वाग्लेले भने, “त्यसैगरी, राजस्व प्रशासन सुधार गर्दै कर प्रणालीलाई उद्यममैत्री र लगानीमैत्री बनाइने छ ।”

मन्त्री वाग्लेले सरकारले सामाजिक बजार अर्थतन्त्रको अवधारणा अनुरूप नीतिहरू अघि बढाउने बताए । निजी क्षेत्रको नवप्रवर्तन र गतिशीलतालाई प्रोत्साहन गर्दै शिक्षा, स्वास्थ्य, यातायात र सामाजिक सुरक्षामार्फत आयको समतामूलक वितरण सुनिश्चित गरिने उनले स्पष्ट पारे ।

कञ्चनपुर इँटा उद्योगमा ट्र्याक्टर दुर्घटना: २ जनाको मृत्यु

कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित एक इँटा उद्योगमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

२०८३ वैशाख २० गते राति करिब ११ बजे कृष्ण बहादुर तामाङले सञ्चालन गरेको न्यु जनता इँटा उद्योगमा काम गर्ने मजदुरहरू काँचो इँटाको चट्टामाथि सुतिरहेका बेला पानी छर्किने क्रममा ट्र्याक्टर अनियन्त्रित भई उनीहरूमाथि ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भारत उत्तर प्रदेश बहराइज जिल्ला निवासी २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमार गम्भीर घाइते भएका थिए। उपचारका क्रममा अजय कुमारको सेती प्रादेशिक अस्पताल र पवन कुमारको नवजीवन अस्पतालमा मृत्यु भएको हो। दुवैको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

यस्तै, ११ वर्षीय घुर्रा कुमार मध्यम घाइते भएका छन् र उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको टोलीले ट्र्याक्टर र पानी छर्किने ट्याङ्कर नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

२५ लाखभन्दा साना योजना नलिने, उपभोक्ता समितिबाट काम नहुने—सुदूरपश्चिम सरकारको नयाँ नीति

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने र कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगर्ने नीति लिएको बताएका छन्।

आइतबार धनगढीमा प्रदेश नीति तथा योजना आयोगद्वारा आयोजित प्रदेश सरकार र स्थानीय तहबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले समग्र विकास, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको स्पष्ट पारे। उनले प्रदेश सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरेको पनि उल्लेख गरे।मुख्यमन्त्री शाहका अनुसार सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर विकास अघि बढाइनेछ, जसले प्रदेशको आर्थिक र सामाजिक उन्नतिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

उनले स्थानीय तहलाई बजेट निर्माण गर्दा योजना बैंकमार्फत योजना छनोट गर्नुपर्ने र त्यस क्रममा सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यसँग समन्वय र छलफल गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा योजना कार्यान्वयनका चुनौती, आयोजना छनोटका मापदण्ड, प्रदेश–स्थानीय तह समन्वय, सामाजिक क्षेत्रको साझेदारी तथा लगानीका प्राथमिक क्षेत्रबारे जिल्लागत समूहमा छलफल र प्रस्तुतिकरण गरिएको थियो।

स्थानीय तहका प्रतिनिधिहरूले योजनामा लागत सीमा र प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन गर्न, साझा अधिकारका विषयमा सहकार्य मजबुत बनाउन तथा राजस्व बाँडफाँड र समानीकरण अनुदानको दायरा विस्तार गर्न सुझाव दिएका थिए।

यसैगरी उत्पादनमुखी तथा समुदायको आवश्यकता आधारित योजना छनोट गर्दै पूर्वाधार, कृषि, पशुपालन, पर्यटन र मानव विकासलाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिइएको थियो।

लिपुलेकबारे सरकारको अडान- त्यो नेपालकै भूभाग हो

काठमाडौं । सरकारले लिपुलेक नेपालकै भूमि भएको अडान दोहोर्‍याएको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

परराष्ट्र मन्त्रालयले आइतबार कूटनीतिक नोटमार्फत उक्त भू–भागमा कुनै गतिविधि नगर्न छिमेकी मुलुक भारत र चीनलाई आग्रह गरेको थियो । जवाफमा भारतले मानसरोवर जाने बाटो पुरानै विषय भएको दाबी गरेको छ ।

“नेपाल सरकार पनि जुन सीमाना विवाद भएको छ, त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ,” सरकारका प्रवक्ता पोखरेलले सञ्चारकर्मीसँग भने ।

दुई देशका सरकारबीचको सहकार्यमा बाँकी विषय अघि बढ्ने पनि पोखरेलले बताए । उनले भने, “परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो । त्यसमा भारत सरकारले पनि केही गरेको छ । भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै निकास निकाल्नुपर्छ भनेको छ ।”

कैलालीमा तालिमरत सशस्त्र प्रहरी प्रशिक्षार्थीको मृत्यु, अचानक बिरामी परेपछि ज्यान गयो

धनगढीः कैलाली मा सशस्त्र प्रहरीका एक प्रशिक्षार्थी जवानको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बडिमालिका जवान तालिम शिक्षालय बनबेहडा मा तालिमरत महेश महताको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।

शिक्षालयका अनुसार आइतबार राति करिब साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछि उनलाई उपचारका लागि अत्तरिया स्थित सशस्त्र प्रहरीको फिल्ड अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि अत्तरिया अस्पताल पुर्‍याइएको थियो।

उपचारकै क्रममा बिहान साढे ४ बजेतिर उनी बेहोस भएका थिए भने चिकित्सकले करिब सवा ५ बजे मृत घोषणा गरेका थिए।

दार्चुला को नौगाड गाउँपालिका–१ घर भएका महता फागुनदेखि उक्त शिक्षालयमा प्रशिक्षार्थी जवानका रूपमा तालिम लिइरहेका थिए। सशस्त्र प्रहरीले उनी यसअघि पूर्ण रूपमा स्वस्थ रहेको र अचानक बिरामी परेको जनाएको छ।

हाल उनका बुवा दार्चुलाबाट आउँदै छन्। परिवारका सदस्य पुगेपछि मात्र शव परीक्षणलगायत प्रक्रिया अघि बढाइने जनाइएको छ। महताको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल मा राखिएको छ।

 

बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु

बाजुरा- बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक जना वृद्धको आइतबार मृत्यु भएको छ।

मृत्यु हुनेमा बूढीनन्दा-३ डोगडावाडाका ७३ वर्षीया नैना बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन्।

उनका अनुसार पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो।

निर्माण व्यवसायी संघ कैलालीको नेतृत्वका लागी जोशी प्यानल घोषणा

धनगढी, २१ वैशाख / निर्माण व्यवसायी संघ कैलालीको आगामी अधिवेशनलाई लक्षित गर्दै दिर्घराज जोशी नेतृत्वको प्यानल औपचारिक रूपमा सार्वजनिक गरिएको छ। अध्यक्षका प्रत्याशी दिर्घराज जोशीले आफ्नो टिम घोषणा गर्दै सशक्त र अनुभवी नेतृत्व प्रस्तुत गरेका हुन्।

घोषित प्यानल अनुसार अध्यक्षमा दिर्घराज जोशी रहेका छन् भने बरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा बिक्रम बिष्ट र द्वितीय उपाध्यक्षमा डम्बर चन्द उम्मेदवार रहेका छन्। त्यसैगरी महासचिवमा अमर बहादुर खड्का, नीतिगत उपमहासचिवमा योगेन्द्र बहादुर चन्द र आन्तरिक उपमहासचिवमा सिद्धराज भट्ट रहेका छन्।

कोषाध्यक्षमा सुरेन्द्र राज भट्ट तथा सह-कोषाध्यक्षमा मणिराज भट्ट उम्मेदवार बनेका छन्। सदस्यहरूमा चक्र बहादुर मल्ल, बिनोद बिष्ट, टेक बहादुर खड्का, टेकराज जोशी, शिवराज सापकोटा र रुद्रप्रसाद पन्त रहेका छन्। महिला सदस्यतर्फ शुभलक्ष्मी हमाल र आदिवासी/दलित सदस्यतर्फ मदन बिसी उम्मेदवार रहेका छन्।

यसअघि अध्यक्षका दाबेदार मानिएका धिरेन्द्र साउदले जोशी प्यानलबाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्, जसले चुनावी समीकरणलाई थप रोचक बनाएको छ। उम्मेदवार घोषणा कार्यक्रममा नेपाल निर्माण ब्यबसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठी, प्रदेश अध्यक्ष लक्ष्मण स्वार, जिल्ला अध्यक्ष टेक बहादुर मल्ल, केन्द्रीय सदस्यद्वय लक्ष्मण साउद र मदन सिंह धामी लगायत निर्माण ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।

संघको २९ औं साधारणसभा तथा १२ औं अधिवेशन यही बैशाख २४ र २५ गते संघकै कार्यालयमा हुने तय भएको छ।

खोज्नुहोस