सुदूरपश्चिम सहित देशका अधिकांश क्षेत्र हावाहुरी र बर्षा

काठमाण्डौ २१ बैशाख/केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बाँकी तराई क्षेत्रका भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङरहावाहुरीरअसिनासहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतिर अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यूनचापीय रेखाको समेत प्रभाव रहेको छ । त्यसैले केही दिनदेखि मौसममा बदली र वर्षा भइरहेको छ ।

बौद्धिक छलफल पछि छिट्टै मानक भाषाको निर्धारण गरिनुपर्छ- उपकुलपति डा.टीएन जोशी

धनगढी २१ वैशाख । सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले डोटेली भाषालाई खण्डिकृत गर्न नहुने बताएका छन्।
भाषा आयोगद्वारा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियामा आज आयोजित डोटेली, अछामी, बझाङ्गी, बैतडेली, दार्चुलेली, डडेल्धुरी र बाजुरेली भाषाको अन्तरसम्बन्ध अध्ययन विषयक गोष्ठीमा बोल्दै विशिष्ट अतिथि उपकुलपति डा.जोशीले नेपाली भाषाको उद्गम बिन्दू नै डोट्याली भाषा भएकोले डोट्याली भाषालाई एउटा जिल्लाको भाषाको रूपमा नहेरी समग्र डोटी सभ्यता र सांस्कृतिक डोटी नै अहिलेको सुदूरपश्चिम भएको बताए।
सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान प्रदेशको मानक भाषा केलाई बनाउने भनेर अध्ययन गरिरहेको बताउँदै उपकुलपति जोशीले सुदूरपश्चिम प्रदेशको पहाडी समुदायमा बोलिने भाषालाई डोट्याली भाषाकै रूपमा पहिचान दिनु उपयुक्त हुने बताए।
सबै भाषाप्रति उच्च सम्मान र गौरव रहेको बताउँदै उपकुलपति जोशीले प्रदेशमा बोलिने अछामी, बझाङ्गी, दार्चुलेली, बैतडेली, बाजुरेली र डडेल्धुरी भाषालाई डोट्याली भाषा परिवार भित्रै समेट्नु उपयुक्त हुने बताए। छलफल र बौद्धिक अन्तरकृयाबाट मानक भाषा एकीन गरि सुदूरपश्चिम प्रदेश सरकार समक्ष सिफारिस गरिने उपकुलपति जोशीले बताए।
भाषा आयोगका सदस्य डा.पुष्कर भट्टको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पनि सुदूरपश्चिमका पहाडी समुदायको भाषा डोट्याली नै भएको ठोकुवा गरे। उनले पनि डोट्याली भाषालाई खण्डिकृत गरी खुम्च्याउन नहुने बताए।
भाषा आयोगले यस अघि सुदूरपश्चिमको मानक भाषाको रूपमा मुख्य डोट्याली र थारू भाषालाई सिफारिस गरिसकेको छ।
कार्यक्रममा प्रा.डा हरिश्चन्द्र भट्ट, डा. भवानसिंह चलाउने, हरिकृष्ण कडायत, डा.योगेन्द्र बजगाईं, सह प्रा. गणेशराज जोशी, जगदीश ओझा,डा. नरेन्द्र ऐर, वीरबहादुर चन्द, कल्याण ओझा, नारा जोशी,तिलक सिंह, कलावती उपाध्याय, तीर्थराज भट्ट, खिमानन्द बडू, लगायतको उपस्थिति थियो।

सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । वैशाख ७ गते ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य बनाउने सभापति लामिछानेको प्रस्ताव पारित भएको थियो ।

यी हुन् विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त हुने १ हजार ५९४ पदाधिकारी

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ शुक्रबार जारी गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन्।

सञ्चार, हवाई सेवा र मुद्रण क्षेत्रको पदमुक्ति
नेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात पदाधिकारी पदमुक्त हुने भएका छन्। राष्ट्रिय समाचार समिति (रासस) ऐन, २०१९ अन्तर्गतका दुई जना सञ्चालक र गोरखापत्र संस्थान ऐन, २०१९ बमोजिमका अध्यक्ष तथा सञ्चालक गरी तीन जनाको पद रिक्त हुने भएको छ।

चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ अन्तर्गत चलचित्र जाँच समितिका अध्यक्ष र सदस्य गरी तीन जना तथा सञ्चार संस्थान ऐन, २०२८ बमोजिम नियुक्त अध्यक्ष र सञ्चालक गरी दुई जना पदमुक्त हुने भएका छन्। प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम मनोनित अध्यक्ष र सदस्य गरी १० जना तथा श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ अन्तर्गत नियुक्त अध्यक्ष र सदस्य गरी ६ जना पदमुक्त हुने भएका छन्। दूरसञ्चार ऐन, २०५३ बमोजिम नियुक्त प्राधिकरणका अध्यक्ष र सदस्य गरी पाँच जना तथा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिमका चार जना सदस्य पदमुक्त हुने भएका छन्।

विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम सूचना प्रविधि न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणका ६ पदाधिकारी तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ अन्तर्गतका प्रमुख सूचना आयुक्त र सूचना आयुक्त गरी तीन जनाको पद रिक्त हुनेछ।

 

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी ६ जना, सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ अन्तर्गत नियुक्त तीन जना र सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ बमोजिमका अध्यक्ष र सदस्य गरी १५ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

शिक्षा तथा विश्वविद्यालय क्षेत्र
शिक्षा ऐन, २०२८ अन्तर्गतका विभिन्न समिति र शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्य गरी २३ जना पदमुक्त हुने भएका छन्। नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ बमोजिम नियुक्त उपकुलपति र सेवा आयोगका पदाधिकारीसहित २८ जना तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ अन्तर्गतका १७ जना पदाधिकारीको पद रिक्त हुने भएको छ। राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अन्तर्गत नियुक्त ३४ जना पदाधिकारी पदमुक्त हुने भएका छन्।

काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ बमोजिम नियुक्त उपकुलपति र कुलसचिवलगायत २५ जना तथा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ बमोजिम नियुक्त उपकुलपति र सेवा आयोगका पदाधिकारीसहित ८४ पदाधिकारी पदमुक्त हुने भएका छन्। विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० बमोजिम नियुक्त अध्यक्ष र सदस्य गरी आठ जना तथा पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० अन्तर्गत नियुक्त उपकुलपति र कुलसचिवलगायत ६९ पदाधिकारी पदमुक्त हुने भएका छन्।

यसैगरी पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम नियुक्त उपकुलपति र शैक्षिक प्रमुखसहित ५० जना तथा लुम्बिनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ बमोजिम नियुक्त उपकुलपति र कुलसचिवलगायत ४४ जना पदमुक्त हुने भएका छन्।

सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत नियुक्त भएका २७ जना र मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ बमोजिम नियुक्त २६ जना पदाधिकारीको पद रिक्त हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन, २०६७ अन्तर्गत नियुक्त २२ जना, नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ बमोजिम नियुक्त २४ जना, राजर्षि जनक विश्वविद्यालय ऐन, २०७४ अन्तर्गत नियुक्त ३९ जना र मदन भण्डारी विश्वविद्यालय ऐन, २०७९ बमोजिम नियुक्त २४ पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।

स्वास्थ्य, चिकित्सा र विज्ञान क्षेत्र
आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ बमोजिम नियुक्त कुलसचिव र सदस्य गरी ६ जना तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ बमोजिमका नौ पदाधिकारी पदमुक्त हुने भएका छन्। पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन, २०७९ अन्तर्गत नियुक्त पाँच जना पदमुक्त हुने भएका छन्।

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत नियुक्त उपकुलपतिलगायत १५ जना तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ बमोजिमका पाँच जना सदस्यको पद रिक्त हुने भएको छ।

नेपाल नर्सिङ परिषद् ऐन, २०५२ अन्तर्गत नियुक्त आठ जना र नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ बमोजिम नियुक्त पाँच पदाधिकारी पदमुक्त हुने भएका छन्। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ अन्तर्गत नियुक्त १० जना र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र ऐन, २०५७ बमोजिम नियुक्त आठ जना पदमुक्त हुने भएका छन्।  नेपाल फार्मेसी परिषद् ऐन, २०५७ अन्तर्गत नियुक्त सात जना र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ बमोजिम नियुक्त २२ पदाधिकारी पदमुक्त हुने भएका छन्।

यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ अन्तर्गत नियुक्त ३३ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ बमोजिम नियुक्त ३४ पदाधिकारीको पद रिक्त हुने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ अन्तर्गत नियुक्त ३१ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ बमोजिम नियुक्त ३१ पदाधिकारीहरू पदमुक्त हुने भएका छन्।

स्वास्थ्य बीमा ऐन, २०७४ अन्तर्गत नियुक्त सात जना र जनस्वास्थ्य ऐन, २०७५ बमोजिम नियुक्त ६ सदस्यको पद जाने भएको छ। नेपाल मेडिकल काउन्सिल ऐन, २०७५ अन्तर्गत नियुक्त आठ जना र राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम नियुक्त १६ पदाधिकारी पदमुक्त हुने भएका छन्। विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ अन्तर्गत नियुक्त ४२ जना र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ बमोजिम नियुक्त २९ पदाधिकारीको पद रिक्त हुने भएको छ।

ऊर्जा, पूर्वाधार, वित्तीय र नियमनकारी निकाय
नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम नियुक्त कार्यकारी निर्देशक र सदस्य गरी ६ जना तथा काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ अन्तर्गत नियुक्त चार  पदाधिकारी पदमुक्त हुने भएका छन्। नेपाल खानेपानी संस्थान ऐन, २०४६ बमोजिम नियुक्त ६ जना र नगर विकास कोष ऐन, २०५३ अन्तर्गत नियुक्त ६ पदाधिकारी पदमुक्त हुने भएका छन्।

यस्तै सडक बोर्ड ऐन, २०५८ बमोजिम नियुक्त चार जना, विद्युत् नियमन आयोग ऐन, २०७४ अन्तर्गत नियुक्त पाँच जना र नेपाल रेल्वे ऐन, २०७९ बमोजिम नियुक्त रेल्वे प्रशासक र सदस्य गरी पाँच पदाधिकारी पदमुक्त हुने भएका छन्। वित्तीय क्षेत्रतर्फ कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम नियुक्त आठ जना र नागरिक लगानी कोष ऐन, २०४७ अन्तर्गत नियुक्त तीन जनाको पद रिक्त हुने भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट ऐन, २०५३ बमोजिमका १५ जना र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ अन्तर्गत नियुक्त पाँच  पदाधिकारी पदमुक्त हुने भएका छन्।

यसैगरी अन्तर्राष्ट्रिय वित्तीय कारोबार ऐन, २०५४ बमोजिम नियुक्त तीन जना र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत नियुक्त एक सदस्यको पद जाने भएको छ। प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ बमोजिम नियुक्त ६ जना र सार्वजनिक खरिद ऐन, २०६३ अन्तर्गत पुनरावलोकन समितिका तीन पदाधिकारी पदमुक्त हुने भएका छन्।

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृत र सदस्य गरी तीन जना र विशेष आर्थिक क्षेत्र ऐन, २०७३ अन्तर्गत नियुक्त एक जनाको पद रिक्त हुने भएको छ। सहकारी ऐन, २०७४ बमोजिम नियुक्त आठ जना र सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अन्तर्गत नियुक्त चार पदाधिकारीहरू पदमुक्त हुने भएका छन्। औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम नियुक्त दुई जना, बीमा ऐन, २०७९ अन्तर्गत नियुक्त दुई जना र प्रत्यायन ऐन, २०७९ बमोजिम नियुक्त ६ पदाधिकारीको पद जाने भएको छ।

कृषि, वातावरण, प्रज्ञा प्रतिष्ठान र सामाजिक क्षेत्र
बिउबिजन ऐन, २०४५ अन्तर्गतका आठ सदस्य र नेपाल कृषि अनुसन्धान परिषद् ऐन, २०४८ बमोजिम नियुक्त नौ  पदाधिकारी पदमुक्त हुने भएका छन्। राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन, २०४८ अन्तर्गत नियुक्त सात जना र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन, २०४९ बमोजिम नियुक्त सात जनाको पद रिक्त हुने भएको छ।

यस्तै नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ अन्तर्गत नियुक्त तीन जना र बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ बमोजिम नियुक्त पाँच पदाधिकारी पदमुक्त हुने भएका छन्। जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ अन्तर्गत नियुक्त छ जना र वातावरण संरक्षण ऐन, २०७६ बमोजिम नियुक्त पाँच जनाको पद जाने भएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम नियुक्त सात पदाधिकारी पदमुक्त हुने भएका छन्।

प्रज्ञा प्रतिष्ठानतर्फ नेपाली भाषा प्रकाशन संस्थान ऐन, २०२१ बमोजिम नियुक्त नौ जना र गुठी संस्थान ऐन, २०३३ अन्तर्गत नियुक्त १० जनाको पद रिक्त हुने भएको छ। लुम्बिनी विकास कोष ऐन, २०४२ बमोजिम नियुक्त ११ जना र पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ अन्तर्गत नियुक्त नौ पदाधिकारी पदमुक्त हुने भएका छन्।

यसैगरी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ बमोजिम नियुक्त ४९ जना र नेपाल स्काउट ऐन, २०५० अन्तर्गत नियुक्त ३३ जनाको पद जाने भएको छ। बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५ बमोजिम नियुक्त १६ जना र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अन्तर्गत नियुक्त २५ पदाधिकारी पदमुक्त हुने भएका छन्।

आदिवासी जनजाति परिषद् अन्तर्गतका ६० जना मनोनीत सदस्यहरू र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम नियुक्त ३३ जनाको पद रिक्त हुने भएको छ। नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ अन्तर्गत नियुक्त ३३ जना र नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ बमोजिम नियुक्त ४३ पदाधिकारी पदमुक्त हुने भएका छन्।

प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फ
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ बमोजिम नियुक्त चार जना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत नियुक्त एक जनाको पद जाने भएको छ । समाज कल्याण ऐन, २०४९ बमोजिम नियुक्त १० जना र नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ अन्तर्गत नियुक्त १४ पदाधिकारी पदमुक्त हुने भएका छन्।

यस्तै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम नियुक्त १० जना र नेपाल ट्रष्ट ऐन, २०६४ अन्तर्गत नियुक्त तीन जनाको पद रिक्त हुने भएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बमोजिमका पाँच पदाधिकारी पदमुक्त हुने भएका छन्।

श्रम ऐन, २०७४ बमोजिम नियुक्त १० जना र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अन्तर्गत नियुक्त सात जनाको पद जाने भएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम नियुक्त चार जना र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अन्तर्गत नियुक्त १७ पदाधिकारी पदमुक्त हुने भएका छन्।

यसैगरी भूउपयोग ऐन, २०७६ बमोजिम नियुक्त चार जना, रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्तर्गत नियुक्त तीन जना र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम नियुक्त २७ पदाधिकारीहरूको पद रिक्त हुने भएको छ। यसरी एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने भएका छन्। सरकारले अब यी रिक्त पदमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाउने तयारी गरेको छ।

कैलाली-२ का रास्वपा सांसद केपी खनालको घर पनि लालपूर्जा र नक्सापासविहीन

धनगढीः प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचनामाथि कडाइका साथ कारबाही गरिरहेका बेला उनकै पार्टीका सांसद केपी खनालको घरसमेत ऐलानी जग्गामा बनेको र त्यसको न लालपूर्जा न त नक्सापास नै रहेको तथ्य बाहिर आएको छ।

कैलालीको लम्की चुहा नगरपालिका–१, बसपार्क नजिक निर्माणाधीन उक्त घर सार्वजनिक ऐलानी जग्गामा रहेको पाइएको हो। नक्सापास र लालपूर्जा नभएका संरचनामाथि सरकारले डोजर चलाइरहेका बेला प्रधानमन्त्री निकट मानिने सांसद खनालकै घर पनि मापदण्ड विपरीत बनेको खुलेपछि राजनीतिक वृत्तमा चासो बढेको छ।

सांसद खनालका बुबाआमा लामो समयदेखि भारतमा मजदुरी गर्दै आएका छन् र हाल पनि उनीहरू भारतमै छन्। भारतमा कमाएको पैसाले लम्कीमा घर बनाइएको खनालका स्वकीय सचिव हर्क पुनले बताए। तर उनले घरको लालपूर्जा नरहेको स्वीकार गरे। उनका अनुसार घर ऐलानी जग्गामा भए पनि अतिक्रमण गरेर बनाइएको भने होइन, बुबाआमाले आफ्नै लगानीमा निर्माण गरेको हो।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद खनालले निर्वाचनका बेला आफूलाई सुकुम्बासी तथा ऐलानी जग्गामा बसोबास गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आएका थिए। लालपूर्जा नभएका अभिभावकको छोरो उम्मेदवार बनेको भन्दै उनले मतदातासँग सहानुभूति र समर्थन मागेका थिए।

भूमिहीनको मुद्दा उठाउँदै निर्वाचित भएका खनाल अहिले स्वयं नक्सापास नगरी ऐलानी जग्गामा घर बनाएको तथ्य सार्वजनिक भएपछि आलोचनामा परेका छन्। लम्की चुहा नगरपालिकाकी प्रमुख शुशिला शाहीले सांसद खनालको घर अव्यवस्थित बसोबास क्षेत्रमा रहेको र हालसम्म लालपूर्जा जारी नभएको जानकारी दिइन्। भूमि आयोगबाट नामपासलगायत प्रक्रिया पूरा भए पनि पुर्जा वितरण हुन बाँकी रहेको र ऐलानी जग्गामा बनेको घरको नक्सापास सम्भव नहुने उनको भनाइ छ।

लम्की क्षेत्रमा मात्रै सांसद खनाल होइन, हजारौँ परिवार ऐलानी तथा अव्यवस्थित बसोबासमा रहेका छन्। भूमि समस्या समाधान आयोगका अनुसार लम्कीचुहामा १६ हजार ५ सय अव्यवस्थित परिवार छन् भने १ हजार २ सय २६ भूमिहीन दलित र १ हजार ९ सय १८ भूमिहीन सुकुम्बासी रहेका छन्। जिल्लाभर झन्डै १ लाख ४० हजारभन्दा बढी परिवारले भूमिको माग गर्दै निवेदन दिएका छन्।

भूमिहीनको समस्या समाधान नगरी सार्वजनिक तथा अतिक्रमित क्षेत्रमा डोजर चलाइँदा त्यसको असर कसरी पर्छ र सरकारको अभियानमा आफ्नै पार्टीका सांसदको घर सुरक्षित रहन्छ वा रहँदैन भन्ने विषय अहिले चर्चाको केन्द्र बनेको छ।

तोलामा १ हजारले घट्यो सुनको भाउ

काठमाडौं । आज सुनको भाउ घटेको छ । सुन तोलामा १ हजारले घटेको छ भने चाँदी ६५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ५ हजार १० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन २ लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु ४ हजार ९४५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं । नेपालमा प्रेस स्वतन्त्रतामाथि आक्रमण र दबाब बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । फ्रिडम फोरमले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन (मे १, २०२५–अप्रिल ३०, २०२६) अनुसार एक वर्षमा प्रेस स्वतन्त्रताका ९७ वटा उल्लंघनका घटना अभिलेख भएका छन् ।

प्रतिवेदनअनुसार ती घटनाबाट १४५ जना सञ्चारकर्मी (१२३ पुरुष र २२ महिला) तथा २० सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन् । अघिल्लो वर्ष ६८ घटना मात्र अभिलेख भएको थियो । यसले प्रेसमाथिको जोखिम बढ्दै गएको संकेत गर्ने फ्रिडम फोरमको प्रतिवेदमा उल्लेख छ ।

प्रतिवेदनले पत्रकारमाथि हुने धम्की, आक्रमण र अवरोधलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ । एक वर्षमा २८ वटा धम्की तथा ज्यान मार्ने चेतावनी, २१ आक्रमण, १८ अवरोध र तोडफोडका घटना अभिलेख भएका छन् । यसबाहेक ८ आगजनी, ५ मुद्दा दायर र ४ पक्राउका घटना पनि भएका छन् ।

कुल प्रभावितमध्ये ३७ पत्रकारले धम्की भोगेका छन् भने ३० जना आक्रमणमा परेका छन् । ८ जनामाथि मुद्दा दायर हुँदा ६ जना पक्राउ परेका छन् ।

‘जेनजी आन्दोलन’मा मिडिया नै निशानामा

गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पत्रकारहरू सबैभन्दा बढी प्रभावित भएका थिए । सेप्टेम्बर ८ र ९ (भदौ २३ र २४ गते) भएको आन्दोलनमा २२ जना पत्रकारमाथि आक्रमण भएको थियो। तीमध्ये चार जना गोली लागेर गम्भीर घाइते भएका थिए ।

त्यसक्रममा देशका विभिन्न स्थानमा ६ सञ्चारगृहमा आगजनी र १० मा तोडफोड भएको प्रतिवेदनमा उल्लेख छ । १२ वटा टेलिभिजन प्रसारण अवरुद्ध हुँदा ३८ सञ्चारकर्मीका सवारीसाधन र उपकरण नष्ट भएका थिए ।

कुन–कुन संस्थाका राजनीतिक नियुक्ति हुँदैछन् खारेज ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् ।

अध्यादेश अनुसार, विभिन्न १ सय १० वटा कानूनहरू परिमार्जन हुनेछन्, जसबाट विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायमा गरी १५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त हुनेछन् ।

कुन–कुन पदाधिकारी पदमुक्त हुनेछन् ?

राष्ट्रपति कार्यालयसम्बद्ध विशेष स्रोतबाट अनलाइनखबरलाई प्राप्त अध्यादेशको मस्यौदा अनुसार नेपाल वायुसेवा निगम ऐनमा भएको संशोधनले अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकहरू पदमुक्त हुनेछन् ।

राष्ट्रिय समाचार समिति ऐन परिमार्जनबाट त्यसका सञ्चालकहरू पदमुक्त हुनेछन् । कर्मचारी सञ्‍चय कोष ऐनमा भएको परिमार्जन त्यसका अध्यक्ष, सञ्चालक र प्रशासकहरू पदमुक्त हुनेछन् । गोरखापत्र संस्थान ऐनको संशोधनले अध्यक्ष र सञ्चालकहरू पदमुक्त हुनेछन् ।

त्यसैगरी नेपाली भाषा प्रकाशन संस्थान, चलचित्र जाँच समितिका अध्यक्ष र सदस्यहरू, सञ्‍चार संस्थान ऐन बमोजिम नियुक्त अध्यक्ष र सदस्यहरू पदमुक्त हुनेछन् ।

शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरू, गुठी समितिको विद्वत समितिका सभापति र सदस्यहरू अनि अध्यक्ष, सदस्य र प्रशासक पनि पदमुक्त हुनेछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष र सदस्यहरू, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदमुक्त हुनेछन् ।

लुम्बिनी विकास कोष, नेपाल संस्कृति विश्वविद्यालय र त्यसको सेवा आयोगका पदाधिकारी, पशुपति क्षेत्र विकास कोष, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका पदाधिकारी पदमुक्त हुनेछन् ।

आयुर्वेद चिकित्सा परिषद्, काठमाडौं उपत्यका विकास प्राधिकरण, राष्ट्रिय बीउबिजन समितिका पदाधिकारी, नेपाल खानेपानी संस्थानका पदाधिकारी, नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी पनि पदमुक्त हुनेछन् ।

त्यसैगरी नागरिक लगानी कोष, प्रेस काउन्सिल, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, कृषि अनुसन्धान परिषद राष्ट्रिय दुग्ध विकास बोर्ड, काठमाडौं विश्वविद्यालय, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका पदाधिकारी पदमुक्त हुनेछन् ।

त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, समाज कल्याण परिषद्, त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, नेपाल स्काउट, पूर्वाञ्चल विश्वविद्यालय, पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति, नेपाल नर्सिङ परिषद, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका सबै पदाधिकारी पदमुक्त हुनेछन् ।

त्यस्तै नेपाल स्वास्थ्य व्यवसायी परिषद्, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पोखरा विश्वविद्यालय, दुरसञ्चार प्राधिकरण, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी पनि पदमुक्त हुनेछन् ।

प्रादेशिक कविता महोत्सव २०८३ भव्य रुपमा सम्पन्न

धनगढी २० वैशाख ।  सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले धनगढीमा आयोजना गरेको प्रादेशिक कविता महोत्सव २०८३ भव्य रुपमा शनिबार भव्य रुपमा सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रादेशिक कविता महोत्सव २०८३मा कविता प्रतियोगिताबाट नितिका अवस्थी (कैलाली) प्रथम, डिल बहादुरमहरा (डोटी) द्वितीय, हिरा भट्ट (बैतडी) तृतीय स्थान हासिल गर्नुभएको छ । त्यसैगरि सान्त्वना स्थान प्राप्त गर्ने लवदेव धामी, हरिप्रिया जोशी, बिमला कडायत, खिमानन्द बड रहनुभएको छ ।

कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने प्रतिष्पर्धीहरुलाई कार्यक्रमका सभापति, प्रमुख अतिथिले प्रमाण पत्र, नगद रकम र दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।
कविता महोत्सवमा स प्रा गणेश दत्त जोशी, डा योगेन्द्र बजगाई, डा तुलसी शर्मा, कवि निरञ्जना चन्द, जगदीश ओझा निर्णायक रहनुभएको थियो ।

कविता महोत्सवमा ६वर्ष देखि ८०बर्ष सम्मका उर्जावान कविहरूले विविध खाले कविता प्रस्तुत गर्नुभएको थियो ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी एन जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल रहनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिहरुमा सुदूरपश्चिम विश्व विद्यालयका भाषा तथा लोक साहित्य निर्देशक प्रा. डा. हरिशचन्द्र भट्ट, कवियत्री निरञ्जना चन्द निरु, वडा नं ४ कार्यालयका वडा अध्यक्ष बुद्धि बहादुर खड्का, अतिथिहरुमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, कैलाली जनपुस्तकालयका अध्यक्ष शिव राज ओझा लगायत रहनुभएको थियो ।

कार्यक्रमका वक्ताहरुले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले साहित्य, संस्कृति, लोक भाषाका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । उनले यस क्षेत्रका व्यक्तिहरुलाई साहित्य, संस्कृति, लोक भाषाका लागि प्रतिष्ठानले महत्वपूर्ण अवसर पनि प्रदान गरेकोमा प्रशंसा व्यक्त व्यक्त गरे ।
कार्यक्रममा विभिन्न कृतिहरुको लोकार्पण गरिएको थियो ।

प्रादेशिक कविता महोत्सव २०८३ को कार्यक्रमको संचालन के.पी कलौनी गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

सुदूरपश्चिममा ९ महिनामा १ हजार ४६० फरार कैदीबन्दी पक्राउ

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले बितेको नौ महिनाको अवधिमा विभिन्न मुद्दामा फरार रहेका एक हजार ४६० जना कैदीबन्दीलाई पक्राउ गरेको छ। अदालत तथा जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय र जरिवाना तोकिएर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई खोजी गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म यी कैदीबन्दीलाई पक्राउ गरी कारागार चलान गरिएको हो। प्रहरी तथ्यांकअनुसार सबैभन्दा धेरै कैलालीबाट ७३२ जना र कञ्चनपुरबाट ४१० जना फरार कैदीबन्दी पक्राउ परेका छन्।

यसैगरी डडेल्धुराबाट १०१, डोटीबाट १२, अछामबाट ४३, दार्चुलाबाट ७३, बैतडीबाट ९, बझाङबाट ५८ र बाजुराबाट २२ जना फरार कैदीबन्दी पक्राउ गरिएको छ।

प्रवक्ता विष्टले लामो समयदेखि कैद सजाय भोग्न बाँकी रहेका फरार प्रतिवादी पक्राउ गर्न प्रदेशका सबै नौ जिल्लामा प्रहरी टोली परिचालन गरिएको बताए। उनले जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीलाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको पनि जानकारी दिए।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका बेला सुदूरपश्चिमका कारागारबाट एक हजार ४५८ कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म एक हजार १२० जना पक्राउ परिसकेका छन् भने ३३८ जना अझै फरार छन्। फरारमध्ये अधिकांश भारततर्फ लुकेर बसेको आशंका प्रहरीको छ।

यसैबीच कञ्चनपुरमा फरार कैदीबन्दी पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार पछिल्लो एक सातामा मात्रै ७६ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये अधिकांश लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्त रहेको प्रहरीले जनाएको छ।

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार कारागार चलान

धनगढी: अनमीलाई कुटपिट गर्ने  बैतडीकाे पुर्चौडी-७ स्थित कोटिला स्वास्थ्यचौकी इन्चार्ज सुमन लुहार पुर्पक्षका लागि कारागार चलान भएका छन्। लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई  चैत २२ गते धनगढी-१ स्थित अदालत रोडमा कुटपिट गरेका थिए। भट्टले लुहारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेकी थिइन्।

कुटपिट लगत्तै पक्राउ परेका लुहार अहिले कैलाली प्रहरीको हिरासतमा राखेको थियो। लुहार विरुद्ध पीडित भट्टले ज्यान मार्ने उद्योगमा मुर्दा गरेको र अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले दिनेशखबरलाई बताए।

प्रदेश सभा बैठक: दुई विधेयक एक वर्षदेखि सचिवालयमा

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा दर्ता गरेका दुई विधेयक एक वर्षदेखि सचिवालयमै थन्किएका छन् ।

सभा सञ्चालन भए पनि पुरानो दर्ता भएका विधेयक अगाडि नबढाइँदा टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बडघर/भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सचिवालयमै थन्किएका छन् । यी दुई विधेयक सचिवालयमा दर्ता भएको एक वर्ष भइसकेको छ ।

प्रदेश सरकारले टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई, २०८१ चैत ३ गते प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो । त्यसै गरी बडघर/भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सरकारले २०८२ जेठ २१ गते प्रदेश सभा सचिवालयमा दर्ता गरेको थियो । विगतमा धेरै पटक बिजनेस अभावको पीडा भोगेको प्रदेश सभाले यी दुई विधेयकलाई भने एक वर्षदेखि अगाडि बढाउन सकेको छैन ।

विधेयक अगाडि नबढाइएकोप्रति सत्तारूढ दल नेपाली कांग्रेसले असन्तुष्टि प्रकट गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको सो पार्टीकोे दलको बैठकले यी दुवै विधेयकलाई प्रदेश सभामा अविलम्ब अगाडि बढाउन सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

संसद् सचिवालयमा दर्ता भएको एक वर्ष बितिसक्दा पनि ती विधेयक सदनमा प्रस्तुत नहुँदा छलफल पनि हुन सकेको छैन । यस अवस्थाले संसद्को कार्यप्रणालीमाथि नै प्रश्न उठ्ने भन्दै संसदीय दलले ती विधेयक अविलम्ब सदनमा पेस गरी आवश्यक छलफल अगाडि बढाउन सभामुखलाई आग्रह गरेको छ ।

दलका प्रमुख सचेतक विक्रमसिंह धामीले दुवै विधेयक सभामा पेस भए छलफललगायतका कार्य अगाडि बढ्ने भएकाले चाँडै सभामा लैजान आग्रह गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुइटै विधेयकमा ढिला भइरहेको छ । सभामा पेस भएमा कम्तीमा छलफल भएर प्रक्रिया त अगाडि बढ्थ्यो ।”

आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भने दुवै विधेयक सदनमा पेस भई विचाराधीन अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सभाको बैठक बसेपछि अब त्यसमाथि छलफल होला ।”

बाजुराका किसानलाई असिनापानीको त्रास

बाजुरा  । बाजुराका किसान यतिबेला असिनापानीको त्रासमा छन् । गत कात्तिकमा लगाइएको गहुँबाली अहिले पाक्न थालेको बेला लगातार असिनापानी पर्न थालेपछि पाकेको बाली नष्ट हुने चिन्ताले किसानहरू त्रसित बनेका हुन् । त्रिवेणी नगरपालिकाका स्थानीय मानबहादुर नेपालीले पाकेको गहुँबालीमा असिनापानीको जोखिम बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कात्तिकमा लगाएको गहुँ अहिले पाकेको छ । यही समयमा दिनदिनै असिनापानी पर्न थालेको छ । पाकेको बाली घरमा भित्र्याउन नपाउँदै नष्ट हुने हो कि भन्ने चिन्ता लागेको छ ।”

उहाँका अनुसार असारको खेतीमा बाढीपहिरोको चिन्ता हुन्छ भने हिउँदे खेतीमा असिनापानीको जोखिम रहने भएकाले किसान सधैँ चिन्तामै रहने गरेका छन् ।

बाजुराका अधिकांश क्षेत्रमा यतिबेला गहुँ पाकेर पहेँलपुर भएको छ । खोला किनारका सिँचाइ सुविधा भएका स्थानमा चैत–वैशाखमै गहुँ पाक्ने गरेको छ भने पाखो क्षेत्रमा लगाइएको गहुँ वैशाख–जेठमा पाक्ने गर्दछ ।

बुढीगङ्गा, त्रिवेणी, बडीमालिका, बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ तथा खप्तड छेडेदहलगायत क्षेत्रमा गहुँ खेती राम्रो हुने गरेको छ । सबैभन्दा बढी बुढीगङ्गाका साविकका बह्रबिस, कुल्देवमाण्डौ तथा त्रिवेणीको कैलाशमाण्डौ क्षेत्रमा गहुँ उत्पादन राम्रो हुने गरेको स्थानीय बताउँछन् ।

यहाँका किसानले पासाङल्हामु, डब्लुके–१४४, डाँफेमुनाल तथा स्वर्गद्वारी जातका गहुँ लगाउने गरेका छन् । अधिकांश किसानले भने अझै स्थानीय पुराना जातकै बिउ प्रयोग गर्दै आएका छन् ।

बाजुरामा कुल २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य रहेको छ । त्यसमध्ये पाँच हजार दुई सय ३५ हेक्टरमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ । गहुँ हिउँदे बाली भएकाले हिउँदमा वर्षा नभए उत्पादन घट्ने र वर्षा भए उत्पादन बढ्ने गरेको कृषि प्राविधिकहरू बताउँछन् । उन्नत जातको बिउ प्रयोगले पनि उत्पादन वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार बाजुरामा १० हजार ४६० हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ । यहाँबाट वार्षिक करिब १७ हजार ७८२ मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ ।

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको निर्देशन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले आफ्नो पार्टीलाई केवल राजनीतिक शक्ति नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरेका छन् ।

शनिबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै राईले मोलमिलाप, चेतना, जागरणको अभियान र श्रमदान गरेर विकासमा टेवा आफूहरुको उद्देश्य रहेको उनले बताएका हुन् । उनले भने, ‘हाम्रो पार्टी राजनीति गर्ने मात्र होइन, सामाजिक अभियान पनि हो । मेलमिलापको अभियान र चेतनाको अभियान पनि हो, जागरणको अभियान हो । साथै श्रमदान गरेर विकासमा टेवा पु-याउने पार्टी पनि हो ।’उनले पार्टीले भ्रष्टाचार, दलाली र कमिसन घुसखोरी काम नगर्ने बाचा गरेका छन् । ‘म तपाइँलाई के बचन दिन्छु भने मोलमोलाइ, दलाली, भष्ट्रचार, कमिसन वा घुसखोरी काम कदापि गर्ने छैनौं । आफ्ना सांसदलाई पनि सचेत गराई रहेको छु,’ उनले भने ।

आफ्ना पेट पाल्न र पेट बढाउनको लागि होइन देश बनाउन, बचाउन र देशको सुधारको लागि लाग्ने उनले बताए । उनले भने,‘आफ्ना पेट पाल्न र पेट बढाउनको लागि होइन, देश बनाउन र बचाउनको लागि हो । देश सुधार लागि लाग्ने छौं ।’

उनले सुशासनको पक्षमा दृढतापूर्वक उभिने र वर्तमान सरकारका गलत कार्यहरूको विरोध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

सरकारविरुद्ध सडकमा निस्कँदै नेकपा संयुक्त

काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)ले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको छ।

संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र सुकुम्वासीहरूको घरमा डोजर चलाएर घरवारविहीन बनाएको विरोधमा नेकपा संयुक्त सडकमा उत्रिन लागेको हो।

नेकपा संयुक्तका केन्द्रीय प्रचार विभाग दामोदर अर्यालले भने, ‘नवनिर्वाचित बालेन सरकारद्वारा संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र बर्खायामको सुरुआतमा सुकुम्वासीहरूको घरमा डोजर चलाएर घरवारविहीन बनाएकोमा हाम्रो पार्टी असहमति प्रकट गर्दछ ।’

सरकारलाई खबरदारी गर्न वैशाख २३ गते १ बजे माइतीघरमा जम्मा हुन लागेको उनले बताए। माइतीघरमा उपस्थिति हुन पार्टीका कार्यकर्ता र आम जनसमुदायहरूलाई अपिल समेत गरेको छ।

तीन दशकपछि पनि मौका परीक्षा दिन पाइने

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी साउनदेखि नियमित शैक्षिक पात्रोअनुसार परीक्षा सञ्चालन गर्न अहिले अनियमित भएका परीक्षालाई धमाधम सञ्चालन गरिरहेको कार्यालयका परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिए ।

‘अहिले हामी अनियमित भएका शैक्षिक पात्रोलाई सुधार्नको लागि महिनामा तीनदेखि चार प्रकारका परीक्षा लिइरहेका छौँ,’ उनले भने, ‘२०५३ सालदेखिका मौका परीक्षा पनि असारसम्म सम्पन्न गर्नेगरी परीक्षा भइरहेका छन् ।’

वैशाख महिनामात्रै चार प्रकारका परीक्षा सञ्चालन भइरहेका छन् । स्नातक तहतर्फ बिएएलएलबीको दोस्रो वर्ष, स्नातक तह नियमित दोस्रो वर्ष, वि.टेक पहिलो र दोस्रो वर्षको परीक्षा सञ्चालन भइरहेको छ ।

परीक्षा नियन्त्रक पौडेलले असारसम्म सबै परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि शैक्षिक पात्रोमा उल्लेख गरिएका २०८३ अन्तर्गतका परीक्षा सञ्चालन गर्ने बताए। उनका अनुसार जेठ महिनामा तीनवर्षे स्नातक तहको पहिलो वर्ष र चारवर्षे स्नातक तहतर्फ पहिलो वर्ष, बिएएलएलबी तेस्रो वर्ष, विटेक तेस्रो वर्षको परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

यस्तै असार महिनामा स्नातक तहको सबै संकायको चौथो वर्षको नियमित परीक्षा तोकिएको छ ।

‘असारसम्म हामीले कोरोना भाइरस र जेन-जी आन्दोलनदेखि नियमित हुन नसकेका परीक्षा सम्पन्न गरेर आगामी साउनदेखि त्रिविकै शैक्षिक पात्रोअनुसार नियमित परीक्षा गर्ने छौँ,’ उनले भने।

अहिले सञ्चालन भइरहेका ती परीक्षामा करिब एक लाख १५ हजार परीक्षार्थी सहभागी भएका छन् ।

सय दिनमा परीक्षाफल 

परीक्षा नियन्त्रण कार्यालयले  सय दिनमा नै परीक्षाफल प्रकाशित गर्ने गरेको छ । परीक्षा सम्पन्न भएको सय दिनमा परीक्षाफल प्रकाशित गर्न थालिएको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–८ का राजमती दमाईले घरधन्दा चलाउनका लागि गएको याममा मजदुरीमा धान काट्ने काम गरिन्।

तर अहिलेसम्म उनदले धान काट्नेकार्यको मजदुरीको पारिश्रमिक पाउन सकेकी छैनन्। “डेढ विघा भनेर धान काट्न गयौँ,” उनले भनिन्, “जग्गा त तीन विघा रहेछ, ढाँटनुभयो, धान काटेपछि बढी जग्गाको थप मजदुरी दिनु प¥यो कबुल गरेको मजदुरीको रकम पाउन सकेका छैनौँ।”

उनी मात्रै होइन, काम गरेर पनि मजदुरी नपाउनेमा धेरै श्रमिक प्रभावित छन्। शुक्लाफाँटा–१० की गोमा दमाईले सरकारले तोकेको न्यूनतम ७५५ ज्याला पाउनु त परको कुरा, दुई वर्षअघि तटबन्ध निर्माणमा गरेको मजदुरीको रकमसमेत अझै नपाएको गुनासो गरिन्। उनदी जस्तै भीमदत्त नगरपालिका–८ का पुनी दमाईले दिनरात मजदुरी गर्दा पनि घरको खर्च चलाउन नै सकस रहेको बताइन्।

“पुरुष मजदुरलाई ५५५ देखि ६०० सम्म ज्याला पाइन्छ,” उनले भनिन्, “महिला मजदुरमाथि ज्यालामै विभेद छ, अहिले पनि ४०० देखि ५०० मा काम गर्नु परेको छ, सरकारले तोकेको ७५५ ज्याला न त महिलाले पाउँछन्, न त पुरुषले नै।” ज्यालाबारे आवाज उठाए पाएको मजदुरी पनि खोसिएला भन्ने डरले मुख खोल्न नसकेको उनको गुनासो छ। थोरै पारिश्रमिकले घरधन्दा चलाउन सकिने अबस्था नहुँदा अभावै अभावमा दिन काटनु परेको गुनासो गरिन्।

भीमदत्त नगरपालिका–१० का प्रेम कोलीले दैनिक मजदुरी गरेर खाने दलित समुदायको बस्ती आधारभूत सेवा सुविधाबाटै वञ्चित रहेको बताए। उनका अनुसार भरपर्दो विद्युत्, सडक पूर्वाधार, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा अभाव छ। दातृ निकायले सिँचाइका लागि बोरिङ गाडे पनि थ्रिफेज विद्युत् लाइन नहुँदा एक दशकदेखि सञ्चालनमा आउन सकेको छैन। सडक स्तरोन्नति नहुँदा वर्षातमा हिँडडुलमै समस्या हुने गरेको उनले बताए। स्थानीयस्तरमा मजदुरी नपाइँदा गाउँका युवा विद्यालय छाडेर भारतमा मजदुरी गर्न बाध्य रहेको उनको भनाइ छ।

“श्रमिकको सम्मान, हाम्रो अभियान” भन्ने नारासहित कञ्चनपुरमा १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपाल र एक्सन एड नेपालको साझेदारीमा सञ्चालित ‘परिश्रम’ परियोजना अन्तर्गत शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकामा मुक्त हलिया तथा श्रमिकबीच शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा मजदुरले सो गुनासो गरेका हुन्।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले श्रमिकलाई न्यूनतम ज्यालाभन्दा कममा काम नगर्न, काम सुरु गर्नुअघि नै सुरक्षा सामग्री, बीमा, हाजिरी र नियुक्तिपत्र सुनिश्चित गर्न आग्रह गरे। “श्रमिकलाई अधिकारबारे सचेत गराउँदै सङ्गठित प्रयासमार्फत मात्रै उनीहरूको जीवनस्तर सुधार्न सकिन्छ,” उनले भने। ‘परिश्रम’ परियोजनाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कञ्चनपुरका महिला श्रमिकले पुरुषको तुलनामा करिब ३३ प्रतिशत कम ज्याला पाउने गरेका छन्।

मुक्त बँधुवा श्रमिकमध्ये केवल ४३ प्रतिशतले मात्रै तोकिएको न्यूनतम ज्याला पाउने गरेको पाइएको छ। त्यस्तै, हलिया समुदायका ६१ प्रतिशतमा अझै श्रम स्वतन्त्रताको अभाव रहेको अध्ययनले देखाएको छ। कञ्चनपुर, बर्दिया र सप्तरीमा गरिएको अध्ययनले सुदूरपश्चिमको श्रम अवस्था अझै कमजोर रहेको संकेत गरेको छ। श्रम ऐन २०७४ अनुसार डर, धम्की वा दबाबमा गराइने काम बाध्यकारी श्रमअन्तर्गत पर्छ। तर व्यवहारमा कृषि, निर्माण, घरेलु कामदेखि वैदेशिक रोजगारीसम्म यस्तो अवस्था कायम रहेको छ।

इँट्टा उद्योग, निर्माण तथा कृषि क्षेत्रमा श्रमिकले सुरक्षा सामग्रीबिना काम गर्नुपर्ने, ज्याला रोकिने, ऋणको दबाब सिर्जना हुने तथा महिला–पुरुषबीच ज्यालामा विभेद हुने समस्या व्यापक रहेको अन्तरक्रियामा औँल्याइएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले महिलामाथिको ज्याला विभेद अन्त्य गर्न समान कामका लागि समान ज्याला लागू गर्नुपर्नेमा जोड दिए।

श्रमिक दिवसका ¥याली र औपचारिक कार्यक्रमले मात्र परिवर्तन सम्भव छैन। श्रमिकले आफ्नो पसिनाको उचित मूल्य समयमै पाउने अवस्था सिर्जना नभएसम्म ‘श्रमिकको सम्मान’ भन्ने नारा व्यवहारमा रूपान्तरण हुन कठिन देखिने हलिया अभियन्ता गणेश ताम्राकारले बताए।

सरकारले डोजर चलाउन थालेपछि नागरिक आतंकित

काठमाडौं । सरकारले सुमुमवासी व्यवस्थापनका गर्न भन्दै अहिले बस्तीहरुमा डोजर चलाइरहेको छ । सुकुमवासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलेपछि त्यसको आलोचना भइरहेको छ ।

सुकुमवासीको पहिचान नहुँदा नदी किनारका जोसुकैको घरहरु भत्काउन थालेपछि नागरिक आतंकित बनेका छन् ।

नदी किनारमा घर भएकाहरुले आफ्नो घरमा जग्गाधनी पुर्जा टाँसेर बसेका छन् ।

बस्ती उठाउने क्रमलाई निरन्तरता दिने क्रममा आज धोबीखोला क्षेत्रमा डोजर चलाइँदै छ । डोजर आउने सूचना आएपछि यहाँका बासिन्दाले आफ्ना घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँसेका छन् ।

आज धोबीखोलाको रुद्रमती मन्दिरनजिकको क्षेत्रमा डोजर चलेको छ ।

तेस्रो प्रादेशिक कविता महोत्सव आज धनगढीमा हुदै

धनगढी १९ वैशाख । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजनामा प्रादेशिक कविता महोत्सव आज हुँदैछ ।

कविता महोत्सव आज बैशाख १९ गते शनिबार धनगढीमा आयोजना हुन लागेको प्रतिष्ठानले जनाएको छ।प्रादेशिक कविता महोत्सवका लागि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले केही हप्ता अघि सूचना प्रकाशन गरी सुदूरपश्चिमका कविहरूलाई कविता पठाउन आह्वान गरेको थियो।

उक्त सूचना अनुसार प्राप्त एक सय भन्दा बढी कविता मध्ये ३५ कविता प्रतियोगिताका लागि छनौटमा परेको प्रतिष्ठानले जनाएको छ।सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा।टीएन जोशीले कविता महोत्सवको आवश्यक तयारी पूरा भएको र आज शनिबार धनगढी उत्तरबेहडीस्थित आफ्नो घर टेम्पल रिसोटको सभाकक्षमा बिहान विहान ११ बजेदेखि प्रादेशिक कविता महोत्सव आयोजना गरिएको बताए।

उक्त कविता महोत्सवमा प्रथम,द्वितीय र तृतीय हुने प्रतियोगीलाई नगद पुरस्कारसहित सम्मानित गर्ने कार्यक्रम रहेको उपकुलपति जोशीले बताए।कविता महोत्सवमा यस क्षेत्रका कवि,कलाकार,साहित्यप्रेमी तथा स्रष्टाहरूको सहभागिता रहने बताइएको छ।प्रतिष्ठानले शुभेच्छुक साहित्यप्रेमीहरूलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ।समारोहमा सुदूरपश्चिमका प्रतिष्ठित कविहरूका रचना समेत वाचन हुने र सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको स्थापना पछि प्रतिष्ठानले यो तेस्रो प्रादेशिक कविता महोत्सव २०८३ गर्न लागेको हो।

धनगढी हाफ म्याराथन : आर्मीका रावतलाई उपाधि

धनगढी । धनगढी हाफ म्याराथनको उपाधि नेपाल आर्मीका नरेन्द्रसिंह रावतले जितेका छन् । ‘अब धनगढी दौडिन्छ’ नारासहित शुक्रबार भएको हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दूरी पूरा गर्दै उनी विजेता बनेका हुन् । उनले उपाधिसँगै ७७ हजार ७७७ पुरस्कारसमेत प्राप्त गरे ।

रावत ०७९ सालदेखि धनगढी हाफ म्याराथनमा सहभागी हुँदै आएका थिए । ०७९ र ०८० सालमा दोस्रो भएका उनी ०८१ र ०८२ सालमा भने तेस्रो भएका हुन् । रावतले पाँचौ प्रयासमा उपाधि जितेका हुन् ।

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा आर्मीकै सञ्जय श्रेष्ठ दोस्रो र आर्मीकै अक्कल पाल तेस्रो भएका छन् । दोस्रो भएका श्रेष्ठले ५५ हजार ५५५ र तेस्रो भएका पालले  ४४ हजार ४४४ रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै, पाँच किलोमिटरको महिला तथा कर्पोरेट दौड पनि भएको छ । प्रतियोगिताका संयोजक दिपेश बोहराका अनुसार पाँच किलोमिटर कर्पोरेटमा कुशलप्रसाद जोशी प्रथम, प्रदीप खत्री दोस्रो र तेजबहादुर चन्द तेस्रो भएका छन् । महिलातर्फ देवकीकुमारी धामी, शिला चौधरी र अपसरा बम क्रमस पहिलो, दोस्रो र तेस्रो भएका छन् । धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाका अनुसार दुवैतर्फका विजेताले सात हजार ७७७, दोस्रो हुनेले पाँच हजार ५५५ र तेस्रो हुनेले चार हजार ४४४ रुपैयाँ प्राप्त गरेका छन् ।

सहभागीमध्ये लक्की ड्रमार्फत जिनेत कुँवरले एलइडी टिभी जितेका छन् । यसपटकको हाफ म्याराथनमा सर्वाधिक रक्तदाता दीपक उपाध्याय फेस अफ द इभेन्ट थिए ।

एरिष्टो प्लस टु एसइई आईडल ५ को सेमिफाईनल कार्यक्रम सम्पन्न, फाइनल जेठ ७ मा हुने

​धनगढी, १९ वैशाख । सुदूरपश्चिम प्रदेश स्तरीय गायन प्रतियोगिता ‘एरिष्टो प्लस टु एसइई आईडल ५’ को सेमिफाइनल शुक्रबार धनगढीमा सम्पन्न भएको छ । प्रभात मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा भएको उक्त प्रतियोगिताको पाँचौँ संस्करणको सेमिफाइनलमा प्रदेशभरिका एसइई दिएर बसेका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

​धनगढीस्थित ओम प्यालेसमा आयोजित विशेष समारोहका बीच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी. एन. जोशीले कार्यक्रमको उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्यका क्रममा प्रमुख अतिथि जोशीले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

​कार्यक्रममा विशिष्ट अतिथिको रूपमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा, पश्चिम टुडेका सम्पादक खेमराज उपाध्याय र नाष्ट कलेजका प्राचार्य शिवहरी मुडभरी रहनुभएको थियो । त्यस्तै, अतिथिहरूमा कैलाली विद्या निकेतनका प्र.अ. टोपेन्द्र शाह र डिस्कभरी स्कुलका प्र.अ. योगेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।

​प्रतियोगिताको निर्णायक भूमिकामा कृष्णा सिराडी रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन गुणाकर पनेरु र रेखा धानुकले गर्नुभएको थियो । प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडालले सुदूरपश्चिमका कुना–कन्दरामा रहेका प्रतिभालाई उचित मञ्च प्रदान गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो ।

​आयोजकका अनुसार सेमिफाइनलको नतिजा यही वैशाख २७ गते प्रकाशित गरिनेछ र अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगीहरूको नाम सार्वजनिक गरिनेछ । प्रतियोगिताको फाइनल (महा–संग्राम) आउँदो जेठ ७ गते धनगढीमा हुनेछ ।

​सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान मुख्य प्रबर्द्धक र एरिष्टो प्लस टु मुख्य प्रायोजक रहेको यस कार्यक्रमलाई वाइवाइ चाउचाउ, नेपाल टेलिकम तथा रेडिकल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीले विशेष सहयोग गरेका छन् ।

सरकारले सिफारिस गर्‍यो थप एक अध्यादेश

काठमाडौँ — सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न नयाँ अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ। राष्ट्रपति कार्यालय पठाएको यो आठौं अध्यादेश हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले नयाँ अध्यादेशको रुपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको बताए । हालसम्म राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । अझै राष्ट्रपति ६ वटा अध्यादेश परामर्श छन् ।

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न सरकारलाई सुझाव दिएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् उद्घाटन गर्दै सभापति थापाले सरकारको कामकारबाहीले देशलाई ठीक ढंगले अघि बढाउने नदेखिएको भन्दै म्यान्डेडअनुसार ठिक ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्न सरकारलाई सुझाव दिएका हुन् ।

उनले आफूहरू केही समय मौन रहेर मौनताको बीचमा सत्यको खोजी गर्ने प्रयासमा रहेपनि अव भने मौन व्रत तोड्नुपर्ने अवस्था आएको धारणा राखे ।

सभापति थापाले नदी किनारामा बस्दै आएका नागरिकलाई हटाउने र उनीहरूलाई उचित व्यवस्थापन गर्ने अधिकार र जिम्मा कानूनले दिएको उल्लेख गरे ।

कानुनको शासनको परिधिभित्र रहेर सरकारले सोच्दै गर्दा आफ्नो नागरिकसँग युद्ध अपराधी जस्तो व्यवहार गर्न नमिल्ने उनको भनाइ छ । उनले सरकार कानूनको बलमा मात्रै अघि बढ्न खोजेको धरै उदाहरण देखिएकाले यसले कसैलाई पनि ठिक ठाँउमा लिएर नजाने बताए ।

सभापति थापाले सरकारले अध्यादेश ल्याउन पाउन भएपनि त्यसका आधार तय गर्नुपर्नेमा जोड दिए । त्यस्तै भाद्र २४ गतेको घटनाको छानबिनका लागि सरकारले न्यायिक छानबिन आयोग बनाउने प्रतिबद्धता जनाए पनि पछि त्यसबाट पछि हटेको उनले बताए ।

सभापति थापाले श्रमिकहरूलाई एकताबद्ध हुन पाउने अधिकार संविधानले नै दिएको भन्दै कसैले चाहेर श्रमिकको अधिकार खोस्न नसक्ने स्पष्ट पारे । उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पराजय भोगेकोमा चिन्ता नभई कमीकमजोरी खोज्ने तर्फ लाग्नुपर्ने बताए ।

थातथलो सर्दै सौका समुदाय भारतीय अनुमतिको पर्खाइ

दार्चुला । नेपालको दार्चुलामा मात्रै बसोवास रहेको सौका समुदायका मानिस आफ्नो थातथलो सर्ने तयारीमा छन् । पुखौँदेखि चीन र भारतसँग सीमानाका जोडिएको व्यास गाउँपालिका–१, छाङरु र तिङ्कर गाउँमा बस्दै आएका सौका समुदायका बासिन्दा गर्मीयामको छ महिना गाउँमा र हिउँदमा सदरमुकाम खलङ्गामा बसाइँ सर्ने गर्छन् ।

सौका समुदायको भाषामा बसाइँसराइ गर्नुलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । गत चैत अन्तिम सातादेखि बसाइसराइको तयारी गरिरहेको यो समुदायका मानिस भारतले बाटो प्रयोगको अनुमति नदिँदा खलङ्गामै अनुमति कुरेर बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत चैत ३० गते भौगोलिक विकटता र नेपालतर्फबाट हिँड्न सक्ने बाटो नरहेको भन्दै भारतीय बाटो प्रयोग गरी छाङरु र तिङ्कर जाने नागरिकलाई अनुमति दिलाई आवश्यक समन्वय र सहजीकरण गर्न भारतको धारचुलास्थित एसडिएमको कार्यालयलाई पत्र पठाएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले व्यास गाउँपालिका–१ ले चैत २३ गते पठाएको पत्रका आधारमा छाङ्रु र तिङ्करका नागरिकलाई भारतीय बाटो प्रयोगका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पत्र पठाएको पुष्टि गरे। तिङ्करका स्थानीय दानसिंह तिङ्करीका अनुसार भारतको बाटो हुँदै कुञ्चा सार्न आवश्यक पर्ने अनुमतिपत्रका लागि भारतीय एसडिएमको कार्यालयमा नेपालको बहुयात्रा अनुमतिपत्र पेस गरेको बताए ।

भारतीय प्रशासनले सुरुमा अप्रिल २५ मा अनुमति दिने आश्वासन दिए पनि अहिले आएर मे १ मा दिने कुरा गरेको उनले जानकारी दिए । उनले भने, “नेपालको बाटो भएर कुञ्चा लग्न सकिने अवस्था छैन । तम्बाकु र थी धिर क्षेत्रमा निकै जोखिम छ ।” अत्यधिक हिमपात भएपछि चिसो छल्न गत मङ्सिर पहिलो साता सौका समुदायको कुञ्चा सदरमुकाम खलङ्गा झरेको थियो ।

सदरमुकाम खलङ्गाबाट २८ कोस टाढा रहेको तिङ्कर र छाङरुका मानिस भारतीय बाटो हुँदै पैदल कुञ्चा सर्ने गर्छन् । नेपालबाट तिङ्कर र छाङरु गाउँसम्म पुग्ने बाटो सजिलो छैन । उनले भने, “भारतीय बाटो प्रयोग गर्दा सुरक्षाकर्मीको दुव्र्यवहार खेप्नु पर्छ । बाटो प्रयोगको अनुमति लिनुपर्नेलगायतका समस्या छ ।”

सरकारले गत माघ १४ गते व्यास घोडेटो बाटो निर्माणका लागि पाँच करोड ५० लाख रुपियाँ विनियोजन गरेर घोडेटो बाटो निर्माण गरे पनि पहिरो र नदीले कटान गरेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् ।

छाङरु गाउँमा १२५ र तिङ्कर गाउँमा ७० परिवारको बसोवास रहेको व्यासी सौका समाज दार्चुलाले जनाएको छ ।

आफ्नै भाषा, संस्कृति, मौलिकता र पहिचान भएका आदिवासी जनजाति व्यासी सौका समुदायका मानिस यहाँको साबिकका गाविस व्यास, राप्ला र सितोलामा आदिमकालदेखि बसोवास गर्दै आइरहेका छन् ।

सौका समुदायका मानिसले ‘रं’ भाषा बोल्ने गर्छन् । वर्षभरिमा एक बाली मात्रै खेती हुने व्यासका स्थानीय उवा, नप्पल, फापर, आलुलगायतका अन्नबाली लगाउने गर्छन् ।

कञ्चनपुरमा हातखुट्टा बाँधेर बालक कुट्ने व्यक्ति पक्राउ

कञ्चनपुर/ कञ्चनपुरमा हातखुट्टा बाधेँर बालकलाई कुट्ने व्यक्ति पक्राउ परेका छन । जिल्लाको बेदकोट नगरपालिका–५ पोल्खरीमा ९ वर्षिय बालकलाई हातखुट्टा बाँधेर निर्धात कुटपिट गरेको भन्दै स्थानिय ३६ वर्षीय भोज नाथलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमा बालकलाई हातखुट्टा बाँधेर कुटपिट गरिरहेको भिडियो भाइरल भएपछि प्रहरीले संलग्नलाई पक्राउ गरेको बताएको छ । ३६ वर्षीय नाथले काक्रा चोरेको आरोपमा बालकलाई हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका हुन् । घटना बुधबार दिउँसोको हो । पोल्खरीस्थित चौधर नदीको बगरमा गाईबस्तु चराउन र क्रिकेट खेल्नका लागि ती बालक साथीहरुसँगै गएका थिए ।

क्रिकेट खेल्ने क्रममा बल चौधर नदीमा गयो । उक्त बल लिन आफ्नो काक्राको बारी हुँदै गइरहेको देखेपछि नाथले बालकलाई नियन्त्रणमा लिएर घर लगे । घरमा हात र खुट्टा बाँधेर कुटपिट गरेका हुन् । ‘नाबालकको दुवै हात पछाडितिर र दुवै खुट्टा डोरीले बाँधेर भुइमा लडाएर ढुंगा, लठ्ठी र लातमुक्काले रगक्ताम्य हुने गरी बेहोस बनाइ यसलाई मार्नुपर्छ भनि घरमा बाँधेको कुकुर फुकालेर टोकाएको छ,’ घाइते बालककी हजुर आमा नन्दा मेहताले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको जाहेरीमा उल्लेख छ, ‘त्यसपछि बालकलाई घाइते अवस्थामा स्थानीयले उद्धार गरेका हुन् ।’

पीडित परिवारले नाथबिरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन् । बेदकोट–३ दैजी घरभएका बालकका आमाबुवा रोजगारीका लागि भारतमा छन् । ती बालक पोल्खरीस्थित मामा घरमा बस्दै आएका छन् । मामा घरकी हजुरआमाले नै उनको रेखदेख गर्दै आएकी छिन् ।

घाइते बालकलाई महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताए । एसपी खत्रीका अनु्सार बालकमाथि अमानवीय व्यवहार गर्ने नाथलाई नियन्त्रण लिएर अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको बताए ।

रोप्नुअघि नै प्रमुख बालीको न्यूनतम समर्थन मूल्य तोकिने

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ ।

निर्देशिका अनुसार अब किसानले बाली रोप्नुअघि नै धान (बर्खे र चैते), मकै, गहुँ र कोदो लगायत प्रमुख बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी) बारे जानकारी पाउनेछन् । सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न तथा कृषि उत्पादन प्रोत्साहन गर्ने उद्देश्यले यो निर्देशिका ल्याएको हो ।

निर्देशिकाले बाली अनुसार मूल्य निर्धारणका लागि निश्चित कार्यतालिका तोकेको छ । जसअनुसार उखुका हकमा ३० भदौसम्म फिल्ड सर्वेक्षण तथा तथ्यांक संकलन गरी १५ असोजसम्म विश्लेषण प्रतिवेदन तयार गरिने छ र ३० कात्तिकम्म अन्तिम सिफारिस पेस हुनेछ ।

त्यसैगरी गहुँका लागि ३० साउनसम्म सर्वेक्षण गरी १५ भदौसम्म प्रतिवेदन तयार गर्दै ३० असोजभित्र अन्तिम सिफारिस गर्ने व्यवस्था मिलाइएको छ ।

चैते धान, वर्षे धान, वर्षे मकै र कोदोका लागि पनि क्रमश: मंसिरदेखि वैशाखसम्म विभिन्न चरणमा अध्ययन, विश्लेषण र सिफारिस प्रक्रिया सम्पन्न गरिने व्यवस्था गरिएको छ ।

बाली लगाउनु अघि नै समर्थन मूल्य तोक्ने यस व्यवस्थाले किसानलाई बाली छनोट गर्न सहज हुने, उत्पादन योजना बनाउन सहयोग पुग्ने तथा बजार जोखिम घट्ने अपेक्षा मन्त्रालयको छ ।

किसानले उचित मूल्यको सुनिश्चितता पाउने भएकाले कृषि क्षेत्रमा लगानी र उत्पादन वृद्धि हुने विश्वास पनि मन्त्रालयले लिएको छ ।

कृषि उपज उत्पादन लागतमा हुने उतारचढावमा स्थिरता ल्याउने, मूल्य जोखिम न्यूनीकरण गर्ने एवं किसानलाई न्यूनतम नाफा सुनिश्चित गरी कृषि पेसामा आकर्षित गर्न यो निर्देशिका ल्याइएको मन्त्रालयले जनाएको छ ।

खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन २०७५ को दफा ४७ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट यो निर्देशिका जारी गरिएको हो ।

नेपाल र यूएईबीचको खेल पानी परेर रोकियो

काठमाडौं । नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यूएईसामु २९० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनायो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरे । दीपेन्द्रले ९४ बलमा सय रन बनाए । उनले १३ चौका र एक छक्का प्रहार गरे । करिब ४ वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विनोद भण्डारीले पहिलो खेलमै अर्धशतक बनाए ।

उनले ७९ रनमा ५६ रनको योगदान दिए । गुल्सन झा ४४, ओपनर अर्जुन कुमाल ११, कप्तान रोहित पौडेल ३९, भीम सार्की ०, आरिफ शेख ११ रनमा आउट भए । सोमपाल कार्मी ० रनमा अविजित रहे । बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले समान २ तथा हैदर अली र खैजइमा विन तन्विरले एकएक विकेट लिए ।

जवाफ ब्याटिङमा आएको यूएईले ४ ओभर १ बलको खेल खेल्दा पानी परेपछि खेल रोकिएको हो । यूएईले १ विकेट गुमाएर ३६ रन बनाएको छ । यूएईको १ विकेट नेपालका नन्दन यादवले लिएका हुन् ।

ठेक्कापट्टाको विज्ञापन अब डिजिटल, पत्रपत्रिकामा छापिरहनु नपर्ने व्यवस्था लागू

काठमाडौँ । सार्वजनिक खरिद ऐनमा गरिएको नयाँ संशोधनले सरकारी ठेक्कापट्टाको सूचना प्रकाशन गर्ने परम्परागत शैलीमा परिवर्तन ल्याएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार साँझ ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेअनुसार अब विद्युतीय खरिद प्रणाली (ई–जीपी) मार्फत बोलपत्र आह्वान गर्दा पत्रपत्रिकामा विज्ञापन छापिरहनु पर्ने छैन ।

संशोधित ऐनको बुँदा ११ (१) अनुसार, यदि सार्वजनिक निकायले विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्र वा पूर्व–योग्यता निर्धारणको प्रस्ताव आह्वान गरेमा त्यस्तो सूचना अन्य सञ्चार माध्यममा प्रकाशन गर्न आवश्यक हुने छैन ।

यद्यपि, यस्तो सूचनालाई सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को वेबसाइट र सम्बन्धित सार्वजनिक निकायको आफ्नै वेबसाइटमा भने अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

यसैगरी, विद्युतीय खरिद प्रणालीबाट काम गर्दा बोलपत्र वा पूर्व–योग्यता सम्बन्धी कागजातहरू प्राप्त गर्ने स्थान खुला गर्दा कम्तीमा दुई वा सोभन्दा बढी सार्वजनिक निकायमा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

तर, बोलपत्र वा प्रस्ताव पेश गर्न वा पठाउनका लागि भने एउटै सार्वजनिक निकायमा मात्र पेश गर्ने गरी स्थान तोक्न सकिने प्रावधान छ ।

खोज्नुहोस