यूएईविरुद्ध दीपेन्द्रको अर्धशतक

काठमाडौं । आइसीसी पुरष क्रिकेट विश्वकप लिग २ मा यूएईविरुद्ध नेपालका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ५२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

सो क्रममा उनले ८ चौका प्रहार गरे । अन्तर्राष्ट्रिय एकदिवसीयमा यो उनको आठौं अर्धशतक हो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले ३६ ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको छ ।

धनगढीबाट होटल सञ्चालकसहित १० जना जुवाडे पक्राउ

धनगढीः धनगढीबाट होटल सञ्चालकसहित १० जना जुवाडे पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–५ हसनपुरमा सोही ठाउँ बस्ने ४२ वर्षीय कालुराम चौधरीले सञ्चालन गरेको रोहित होटलको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा सञ्चालक कालुराम चौधरीसहित १० जनालाई विहीवार साँझ प्रहरीले पक्राउ गरेको हो। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार २९० र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु

दोधारा चाँदनी: कञ्चनपुरमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रतियोगिताको आज कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायाधीश राजेन्द्र भण्डारीले उद्घाटन गरे। प्रतियोगितामा ‘बी’ लेभलका ४८ तथा भेट्रानतर्फ ३२ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक शेरबहादुर सिंहले जानकारी दिए। खेलकुदको माध्यमबाट बाह्रसिङ्गाको प्रमुख वासस्थान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन गर्न प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको उनले बताए।

प्रतियोगितामा ‘बी’ लेभलतर्फ पहिलो हुनेले रु ४४ हजार ४४४, दोस्रो हुनेले रु २२ हजार २२२ र तेस्रो हुनेले रु ११ हजार १११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। त्यस्तै, भेट्रानतर्फ पहिलो हुनेलाई रु १५ हजार ५५५, दोस्रो हुनेलाई रु ७ हजार ५५५ र तेस्रो हुनेलाई रु ५ हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

उद्घाटन समारोहमा कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह, भीमदत्त नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेश बम, कञ्चनपुर ब्याडमिन्टन सङ्घका अध्यक्ष राहुल भट्टलगायत उपस्थित थिए।

एरिष्टो प्लस टु एसइई आईडल-५ को सेमिफाईनल आज

धनगढी १८ वैशाख । सुप प्रदेश स्तरीय गायन प्रतियोगिता एरिष्टो प्लस टु एसइई आईडल ५ को सेमिफाईनल आज शुक्रबार हुँदैछ ।
प्रभात मिडियाले आयोजना गरेको एरिष्टो प्लस टु एसइई आईडलको पाँचौ संस्करणको सेमिफाईनल कार्यक्रम धनगढी स्थित ओम प्यालेसमा विहान १० बजे हुने अध्यक्ष प्रकाश छेडालले जानकारी दिए ।
सुदूरपश्चिमका कुना कन्दारामा लुकेर रहेको प्रतिभालाई उजागर गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्षले पश्चिम टुडेलाई बताए ।
उक्त कार्यक्रममा अतिथिका रुपमा सहभागी, उपस्थिति भईदिन हुन सम्पूर्ण सुदूरपश्चिमबासी तथा संगीतप्रेमीहरुलाई आयोजकले आमन्त्रित गरेको छ ।

तेस्रो प्रादेशिक कविता महोत्सव शनिबार धनगढीमा हुदै

धनगढी १८ वैशाख ।सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक कविता महोत्सव आयोजना गर्ने भएको छ।

कविता महोत्सव यही बैशाख १९ गते शनिबार धनगढीमा आयोजना हुन लागेको प्रतिष्ठानले जनाएको छ।प्रादेशिक कविता महोत्सवका लागि सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले केही हप्ता अघि सूचना प्रकाशन गरी सुदूरपश्चिमका कविहरूलाई कविता पठाउन आह्वान गरेको थियो।

उक्त सूचना अनुसार प्राप्त एक सय भन्दा बढी कविता मध्ये ३५ कविता प्रतियोगिताका लागि छनौटमा परेको प्रतिष्ठानले जनाएको छ।सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशीले कविता महोत्सवको आवश्यक तयारी पूरा भएको र शनिबार धनगढी उत्तरबेहडीस्थित आफ्नो घर टेम्पल रिसोटको सभाकक्षमा बिहान विहान ११ बजेदेखि प्रादेशिक कविता महोत्सव आयोजना गरिएको बताए।

उक्त कविता महोत्सवमा प्रथम,द्वितीय र तृतीय हुने प्रतियोगीलाई नगद पुरस्कारसहित सम्मानित गर्ने कार्यक्रम रहेको उपकुलपति जोशीले बताए।कविता महोत्सवमा यस क्षेत्रका कवि,कलाकार,साहित्यप्रेमी तथा स्रष्टाहरूको सहभागिता रहने बताइएको छ।प्रतिष्ठानले शुभेच्छुक साहित्यप्रेमीहरूलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ।समारोहमा सुदूरपश्चिमका प्रतिष्ठित कविहरूका रचना समेत वाचन हुने र सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको स्थापना पछि प्रतिष्ठानले यो तेस्रो प्रादेशिक कविता महोत्सव २०८३ गर्न लागेको हो।

घट्यो पेट्रोलको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ ।

यो सँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ । यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो । सुर्खेत र दाङमा यसअघि २१८ रहेको मूल्य अब २१६ भएको छ ।

आज धनगढीमा हाफ म्याराथन

धनगढी १८ वैशाख । “अब धनगढी दौडिन्छ” हाफ म्याराथन आज विहान ६ बजे हुदैछ । वैशाख १८ गते अर्थात् आज हुने म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
धनगढी जेसिजको आयोजनामा प्रत्येक वर्ष वैशाख १ गते हुने कार्यक्रम यसपटक १८ गते हुन लागेको हो ।

धनगढी जेसिजका अध्यक्ष महेश्वर ओझाका अनुसार धनगढी रंगशालाबाट सुरु भएर गेटास्थित शहीद दशरथ चन्द विश्वविद्यालय हुँदै पुनः रंगशालासम्म पुगेर म्याराथन सकिने छ । म्याराथन २१.१ किलोमिटर दूरीको हुनेछ ।
प्रतियोगिताको विजेताले ७७ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५५ हजार ५५५ र तेस्रो हुनेले ४४ हजार ४४४ रुपैयाँ प्राप्त गर्ने छन् । पाँच किलोमिटरको महिला तथा कर्पोरेट दौड पनि आयोजना गरिने ओझाले बताए । दुवै प्रतियोगिताका विजेताले सात हजार ७७७, दोस्रो हुनेले पाँच हजार ५५५ र तेस्रो हुनेले चार हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन् ।

यस पटकको दौडलाई लागूऔषधविरुद्धको अभियानका रूपमा लिइएको अब धनगढी दौडिन्छ’ हाफ म्याराथनका संयोजक दिपेस बोहराले जानकारी दिए । प्रतियोगितामा सहभागीमध्ये एक जनालाई चिट्ठामार्फत पनि पुरस्कार  दिने ब्यवस्था गरिएको संयोजक बोहराको भनाई छ । निसर्ग अस्पतालले सहभागीमध्ये गोलाप्रथाबाट छनोट भएका तीन जनालाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने संयोजक बोहराले बताए ।

यस्तै, प्रतियोगितामा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले भोलि विहानसम्म नै फाराम लिन सक्ने जेसिजले जनाएको छ । विहान ६ बजे सुरु हुने म्याराथनको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्धाटन गर्ने कार्यक्रमका संयोजक बोहराले बताए ।  यस्तै, सुदूरपश्चिममा सबैभन्दा धेरै रक्तदान गर्ने दीपक उपाध्यायलाई फेस अफ द इभेन्टका रुपमा राखिएको छ ।

खाना पकाउने ग्यासको मूल्य बढ्यो

काठमाडौं । खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।

यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो ।

पेट्रोल, मट्टितेल र डिजेलको मूल्य भने घटेको छ ।

गुरुङ नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भोजन व्यवस्थापन कोर्डिनेटर

कोलोराडो १७ बैशाख ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भोजन व्यवस्थापन कोर्डिनेटरको जिम्मेवारी चन्द्र गुरुङलाई दिईएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिले आगामि मे २२ देखि २५ (जेठ ८–११) सम्म अमेरिकाको कोलोराडोमा आयोजना गर्न गईरहेको सम्मेलनका लागि गुरुङलाई भोजन व्यवस्थापन कोर्डिनेटरको जिम्मेवारी दिएको हो ।

व्यवसायसंगै समाजसेवामा सक्रिय गुरुङलाई नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको भोजन व्यवस्थापन कोर्डिनेटरको जिम्मेवारी दिईएको अनेसास केन्द्रीय समितिले जनाएको छ ।

सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न नौ वटा उपसमिति गठन गरिएका छन् । जसमध्ये भोजन व्यवस्थापन प्रमुखको जिम्मेवारी गुरुङले पाएका हुन् ।

सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि नेपाली साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

बुढितोला पर्यटन महोत्सव सुरु

धनगढी:  कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित बुढीतोलामा ‘बुढीतोला पर्यटन महोत्सव’को उद्धघाटन गरिएको छ । बिहिबार आज एक समारोहकाबिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले महोत्सवको उद्धघाटन गरेका हुन् ।

उद्धघाटन अघि बाजागाजासहित बुढीतोला बजारमा प्रभातफेरी गरिएको थियो । वैशाख २३ गतेसम्म लाग्ने महोत्सवमा एलिना चौहान, पुष्कल शर्मा, ज्योती मगर,चक्र बम, टंक तिमल्सिना, कमल विरही लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजक बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिले जनाएको छ ।

उक्त महोत्सवमा विद्यार्थीलाई ५० र अरुलाई प्रतिव्यक्ति १०० रुपैँया टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

समितिका संयोजक हरिदत्त भट्टराईको सभाअध्यक्षतामा भएको उद्धघाटन समारोहमा गोदावरी, चुरे सहितका स्थानाीय तहका जनप्रतिनिधिm विभिन्न संघ संस्थाका, प्रतिनिधि, कलाकारसहित स्थानीयहरुको उपस्थिति रहेको छ

एन्ड्रयु लियोनार्ड धनगढी आउँदै

धनगढी: नेपालकै सबैभन्दा तिब्र गतिकाे बलरको खोजी गर्ने उद्देश्यसहित ‘वर्ल्ड लिङ्क बिट द स्पीड’ प्रतियोगिताको तेस्रो संस्करण यही वैशाख १९ गते धनगढीमा आयोजना हुने भएको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिङ्कको आयोजनामा हुन लागेको यस कार्यक्रममार्फत क्रिकेटप्रति रुचि राख्ने युवा प्रतिभाहरूलाई आफ्नो बलिङ गति, सीप र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरिने वर्ल्ड लिङ्ककाे धनगढी शाखा कार्यालयका प्रमुख हेमन्त बुढाले बताए। उनका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरूले विशेष उपकरणमार्फत आफ्नो बलिङ स्पीड मापन गराउनेछन्, जसबाट उत्कृष्ट र छिटो बलर छनोट गरिनेछ।

आयोजकका अनुसार कार्यक्रमले स्थानीय तथा राष्ट्रिय स्तरका उदीयमान खेलाडीहरूलाई चिनाउने र उनीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। क्रिकेटप्रेमी खेलाडीहरूलाई उत्साहका साथ सहभागिताका लागि आह्वानसमेत गरिएको छ। प्रतियाेगितामा खेलाडीहरूले निःशुल्क रूपमा सहभागिता जनाउन पाउने शाखा प्रमुख बुढाले बताए ।

कार्यक्रमलाई अझ आकर्षक बनाउने उद्देश्यले प्रसिद्ध अन्तर्राष्ट्रिय क्रिकेट कमेन्टेटर एन्ड्रयु लियोनार्ड धनगढी आउने जनाइएको छ। उनको उपस्थितिले प्रतियोगिताको माहोल थप रोचक र प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ।

यसअघि सम्पन्न ‘वल्र्ड लिङ्क बिट द स्पीड’को दोस्रो संस्करणबाट तिब्र गतिकाे बलरका रूपमा धनगढीबाट हिक्मत महरा विजयी भएका थिए। आयोजकका अनुसार यस वर्षको संस्करण अझ प्रतिस्पर्धात्मक र व्यवस्थित हुने गरी तयारी तीव्र पारिएको छ। उक्त कार्यक्रम १९ गते दिउँसाे ४ बजे धनगढी क्रिकेट एकेडेमीमा हुने जनाइएकाे छ।

स्थानीय क्रिकेटको विकास र नयाँ प्रतिभा उत्पादनमा टेवा पुर्‍याउने विश्वाससहित आयोजना हुन लागेको यस कार्यक्रमप्रति खेलाडी तथा क्रिकेटप्रेमीहरूको उत्साह बढ्दै गएको छ।

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज (बिहीबार) अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारले राजीनामा दिए

 काठमाडौं: त्रिविका पदाधिकारीहरूले कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । कुलपति एवं प्रधानमन्त्रीको निजि सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि पठाइएको छ ।

‘राजीनामा दिएका छौं । पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका छौ’,“ शिक्षाध्यक्ष प्राडा खड्ग केसीले भने । त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् ।

नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गरिएको तर्क उनीहरूले गरेका छन् । उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीना दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए ।

 

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री  प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हो ।

तर दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न भनेको थियो । सरकारले अध्यादेश नै ल्याउन लागेपछि राजीनामा दिने निर्णमा त्रिवि पदाधिकारी पुगेका हुन् ।

१४ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेललाई अध्यादेश सिफारिस गरेको हो । हाल अध्यादेश राष्ट्रपतिले अध्ययन गरिरहेका छन् ।

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

कैलाली : कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री गर्न पाउँदा खुसी भएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले बुधबारदेखि कैलालीको टीकापुरमा गहुँ खरिद सुरु गरेको छ। कम्पनीले बुधबारदेखि कैलालीको टीकापुरबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो। यसअघि मङ्गलबारदेखि धनगढीको मोहनपुरबाट पनि गहुँ खरिद सुरु गरिएको थियो।

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको प्रादेशिक कार्यालय धनगढीका वरिष्ठ सहायक पुष्पराज बजगाईंले जानकारी दिए।

“सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु तीन हजार ९४५ रहेको छ। खाद्यकम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति क्विन्टल रु चार हजार २५० मा गहुँ खरिद गर्न लागेको छ”, उनले भने, “बढी मूल्य पाएपछि किसान खुसी भएका छन्।”

यसरी समर्थन मूल्यभन्दा बढी रुपैयाँमा गहुँ बेच्न पाएकामा किसान खुसी भएका छन्। गहुँ बेच्न खाद्य गोदाम टीकापुर पुग्नुभएका योगेन्द्र साउँदले अन्य ठाउँकोभन्दा खाद्यमा गहुँ बेच्दा मूल्य बढी पाएको बताए।  “केही किसानले सस्तोमा यसअघि नै गहुँ बेचिसकेका छन्”, उनले भने, “हामीले भने राम्रो मूल्य पायौँ ।”

जोशीपुर गाउँपालिका–६ महादेवाका क्रिमलाल डङ्गौरा पनि खाद्यमा गहुँ बेच्न पाउँदा खुसी छन्। “तोकेकोभन्दा बढी मूल्य पाइयो”, उनले भने, “सरकारले समयमै मूल्य तोक्ने र खरिद कार्य पनि समयमै गर्नुपर्छ।”

गाउँका केही किसानले गहुँ बिक्री गरिसकेकाले आउँदा दिनमा समयमै खरिद कार्य सुरु गर्न सुझाव दिन्छन्। अर्का किसान रमेश चौधरी खेतको उत्पादनले नै बालबालिकालाई कापीकिताब जोहो गर्नुपर्ने भएकाले खेतबाटै गहुँ बिक्री गरिसकेको बताए। यहाँका किसान खेतबारीको उत्पादन बेचेर घरखर्च, बर्खे खेतीका लागि बीउ र मल जोहो गर्दछन्। सरकारले आउँदा दिनमा हरेक कार्य किसानलाई राहत हुनेगरी गर्नुपर्ने उनको भनाइ छ।

खाद्य कम्पनीको कैलालीबाट १० हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य छ। प्रतिकिसानबाट बढीमा ७० क्विन्टल र कृषिसम्बन्धी सहकारीबाट प्रतिसहकारी बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना खाद्य कम्पनीको छ। यसका साथै यस क्षेत्रका बिज वृद्धिको काम गर्ने सहकारीले समर्थन मूल्यभन्दा बढीमा किसानको गहुँ खरिद गर्ने गरेका छन्। तोकेकोभन्दा बढी मूल्य पाउँदा किसानलाई कृषिकर्म गर्न हौसला मिलेको छ।

देउवा पक्षको निष्कर्ष- कांग्रेस पराजयको कारण विशेष महाधिवेशन, गगनले गराउने महाधिवेशन नमान्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पूर्वाग्रह साधेर अनुशासनको नाममा स्पष्टीकरण सोध्न काम तत्काल रोक्न माग गरेको छ।

नेता पूर्णबहादुर खड्काले राखेको देउवा समूहको भेलाले नेताहरूमाथि कारबाहीको डन्डा चलाएर निरङ्कुश प्रवृत्ति देखाएको भन्दै तत्काल रोक्न माग गरेको हो ।

बैठकले चुनावी समीक्षा गर्दै विशेष महाधिवेशनको कारणले कांग्रेस पराजयको कारण बनेको निष्कर्ष निकालेको छ । पार्टीको आधिकारिकता विवादमा सर्वोच्चको फैसला मानेपनि सभापति गगन थापाले अघि बढाएको महाधिवेशन नमान्ने निष्कर्ष निकालेको छ ।

पैसा धेरै भएपछि आज राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब झिक्दै

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत १ खर्ब २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लिखित रकम झिक्न थालेको हो । सोही क्रममा आज ९७ दिनका लागि करिब सवा एक खर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

बजारमा रहेको तरलता तत्काल घट्ने सम्भावना नदेखिएपछि यसअघि छोटो अवधिका लागि पैसा झिकिरहेको राष्ट्र बैंकले पछिल्ला दिनहरुमा केही लामो अवधिका लागि पैसा झिकिरहेको छ । सोही क्रममा आज भने करिब साढे ३ महिनाका लागि उक्त पैसा निकाल्न लागेको हो । बुधबार पनि राष्ट्र बैंकले ४९ दिनका लागि ४० अर्ब रुपैयाँ झिकेको थियो ।

पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उकरणमा लगानीका लागि घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

 

 

 

 

बालेन सरकारविरुद्ध आन्दोलनमा उत्रने भए सुकुमबासी

काठमाडौं । सुकुमबासीहरु सरकारविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । अखिल नेपाल सुकुमबासी संघको नेतृत्वमा उनीहरु आन्दोलनमा होमिने तयारीमा छन् ।

संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।

संघका अध्यक्ष अमर परियारले सरकारले नागरिकको संवैधानिक हकहरूको उल्लंघनसहित राज्य आतङ्क फैलाउँदै देशभरका लाखौँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमा डोजर चलाई अमानवीय तरिकाले उठिबास लगाउने कार्य गरेकाले त्यसविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गर्न लागिएको बताए ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्देशनमा सुरक्षाकर्मीले हालै मात्र काठमाण्डु उपत्यकाका थापाथली, सिनामंगल, मनोहरासहितका नदी किनारमा रहेका सुकुमबासी बस्तीमा डोजर चलाएका थिए ।

एकैदिन २ हजार ४८९ चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन

काठमाडौं : उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध गरिएको कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको छ। २४ घण्टाको अवधिमा दुई हजार ४८९ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ४९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २५८ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १७० जना तथा तीव्र गतिमा सवारी चलाउने ११२ जनामाथि कारबाही गरिएको हो। यस्ता उल्लङ्घनले सडक सुरक्षामा प्रत्यक्ष असर पार्ने भएकाले प्रहरीले कडाइका साथ निगरानी बढाएको जनाएको छ।

त्यस्तै, लेन अनुशासन पालना नगर्ने ३२५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६४ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १२१ जना, निर्धारित स्थानबाहेक यात्रु चढाउने तथा ओराल्ने ६२ जना र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार ३२८ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमितरूपमा चेकजाँच तथा निगरानीलाई तीव्र बनाएको बताएको छ। पछिल्लो समय उपत्यकामा सवारी साधनको चाप बढ्दै जाँदा नियम उल्लङ्घनका घटना पनि बढेको देखिएकाले सचेतना अभिवृद्धिसँगै कारबाहीलाई पनि प्रभावकारी बनाइएको जनाइएको छ।

प्रहरीले सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न,मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको लेन प्रयोग गर्न र सडक सुरक्षासम्बन्धी आधारभूत मापदण्डको पालना गर्न आग्रह गरेको छ। नियमको पालना भएमा दुर्घटना न्यूनीकरण हुनुका साथै सडक व्यवस्थापन पनि सहज हुने ट्राफिक प्रहरीको भनाइ छ।

कैलाली र कञ्चनपुरबाट ९ जना लागूऔषधसहित पक्राउ

धनगढीः कैलाली विभिन्न स्थानबाट ६ जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–८ राधास्वामी मन्दिर नजिकबाट ४ ग्राम २०० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय संजय रानालाई वुधवार दिउँसो जिल्ला प्रहरी प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यसैगरी भजनी नगरपालिका–५ गुलरियाघाटबाट खैरो हिरोईन ५०० मिलिग्रामसहित २ जनालाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका–४ बस्ने २० वर्षीय करन बि.क. र सोही ठाउँ बस्ने २६ वर्षीय चन्दरे टमट्टा रहेका छन्। इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–०१२ प ९०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकलसहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो।

यसैगरी, कैलाली भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हिरोईन ५ ग्राम ७० मिलिग्रामसहित ३ जनालाई वुधवार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–१ बस्ने ४४ वर्षीय सुरेन्द्र चौधरी, सोही ठाउँ बस्ने ३० वर्षीय भुवन कठरिया र सोही ठाउँ बस्ने २१ वर्षीय प्रसन चौधरी रहेका छन्।

बिशेष गोप्य सूचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भजनी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुईवटा साइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, साइकल सहित तिनै जनालाई पक्राउ गरेको जनाएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित भन्सार ब्यारेल नजिकबाट ५ ग्राम ६० मिलिग्राम खैरो हिरोइनसहित २९ वर्षीय रबिन बिष्ट पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले भारतबाट आएको युके–०३ टीए ७७२७ नम्बरको भारतीय कार जाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।

त्यसैगरी, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प चेकपोष्ट नजिकबाट २ ग्राम ६०० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ का २३ वर्षीय मनिष थापा र बेलडाँडी–५ झिलमिलाका २५ वर्षीय मनोज खड्का रहेका छन्। प्रहरीले सबै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

चुरेमा भएको वन अतिक्रमण हटाइयो

धनगढीः कैलालीको चुरे क्षेत्रका वनमा भएको अतिक्रमणलाई डिभिजन वन कार्यालयले हटाएको छ। गोदावरी नगरपालिकाको गोदावरी नदीदेखि माथि चुरे क्षेत्रमा भएको अतिक्रमणलाई हटाइएको हो।

सबैभन्दा संवेदनशील चुरे क्षेत्रमा व्यापक वन अतिक्रमण भएको डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिए। उनका अनुसार अतिक्रमण गरेर बनाइएका घर, टहराहरू वन रक्षकको टोलीले हटाएको छ । वन अतिक्रमण नियन्त्रण, चोरी निकासी, चोरी सिकार, डढेलो नियन्त्रणका लागि सबैको सहयोगको अपेक्षा गरेको ठाकुरले बताए।

विपक्षी दलको सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न बैठक बस्दै

काठमाडौं । विपक्षी दलहरुको बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए ।

आज फेरि एमालेको कार्यालयमा बस्न लागेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरु एक भएका हुन् । आजको बैठकमा पनि सरकारले ल्याएका अध्यादेशबारे छलफल हुने नेताहरुले बताएका छन् ।

आज सरकारले सिफारिस गरेका अध्यादेशबारे छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविद्हरूसँग छलफल गर्दैछन् ।

 

विराटनगर महानगरपालिकामा सफा नेपाल एप सञ्चालनमा

विराटनगर । प्रविधिमा आधारित भई महानगरपालिका भित्रको फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षणका लागि विराटनगर महानगरपालिकामा सफा नेपाल एप सञ्चालनमा आएको छ ।
स्टान्डर्ड चार्र्टड बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा Building a Circular and Resilient vulnerable community through Waste Innovation मार्फत स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) ले १५ बैशाख देखि १७ चैत्र २०८३ सम्मको लागि कार्यान्वयन गर्ने जनाइएको छ । एप सञ्चालन मार्फत महानगरभित्र फोहरमैला व्यवस्थापन र वातावरणिय सरसफाईमा महानगरभित्रका नागरिकलाई थप जिम्मेवार बनाउनुका साथै महानगरलाई थप प्राविधिक क्षमता बढाउने परियोजनाले जनाएको छ ।
महानगरको कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा भएको बैठकमा CLEAN UP NEPAL (स्वच्छ सफा नेपाल)को कार्यकारी निर्देशक रविन्द्र लामिछानेले सफा नेपाल एपको विशेषता, सञ्चालन प्रणाली, फोहरमैला सम्बन्धी गुनासो दर्ता र सम्बोधन गर्न एपले खेल्ने भूमिकाबारेमा प्रस्तुती दिनु भएको थियो । फोहर व्यवस्थापन शाखा प्रमुख पुनम कुमार दाहालले एप सञ्चालन भएपछि महानगरको फोहरमैला व्यवस्थापनमा देखिन सक्ने अवसर र चुनौतीबारेमा बताउँदै महानगरको भूमिकाको बारेमा जिज्ञासा राख्नु भएको थियो ।
कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले एपको उपयोग सम्बन्धमा समुदायलाई थप सचेत र शिक्षित बनाउनुपर्नेबारे जोड दिनु भयो । त्यसैगरी महानगरका प्रमुख प्रशासकिय अधिकृत श्री योगन्द्र प्रसाद दुलालले फोहर व्यवस्थापन शाखालाई एप सञ्चालनबारेको प्राविधिक ज्ञान लिन अनुरोध गर्दै फोहर जलाउने र आगलागी जस्ता घटनाहरुमा एप मार्फत आउने सुचना र गुनासोलाई प्रमुख प्राथमिकतामा राखेर सम्बोधन गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको थियो ।
महानगरका विभिन्न शाखा/महाशाखा प्रमुख तथा प्रतिनिधिहरु गरि १८ जना सहभागी रहेको परिचयात्मक बैठक तथा सम्झौता हस्ताक्षर कार्यक्रमकमा स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) का कार्यकारी निर्देशक रविन्द्र लामिछाने र विराटनगर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत योगन्द्र प्रसाद दुलालले एप सञ्चालन सम्झौतामा हस्ताक्षर आदान–प्रदान गरि कार्यवाहक प्रमुखबाट संस्थालाई धन्यवाद ज्ञापन गर्दै बैठक सम्पन्न भएको क्लिन अफ नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले जानकारी दिनु भयो ।

फरक विचारको सम्मान कि सामाजिक सञ्जालको भीडतन्त्र?

लोकतन्त्रको आधारभूत आत्मा भनेको विचारको स्वतन्त्रता, बहुलवाद, सहिष्णुता र सम्मानजनक संवाद हो। कुनै पनि समाजमा नागरिकले आफ्नो विचार राख्न पाउनु केवल अधिकार मात्र होइन, लोकतन्त्रको जीवन्तताको प्रमुख संकेत पनि हो। तर पछिल्लो समय नेपाली समाज, विशेषगरी सामाजिक सञ्जालमा देखिएको प्रवृत्ति हेर्दा, विचार स्वतन्त्रताको अभ्यासभन्दा पनि असहिष्णुता, आक्रोश र व्यक्तिगत आक्रमण बढ्दै गएको देखिन्छ। फरक मत राख्ने व्यक्तिलाई गालीगलौच गर्नु, चरित्र हत्या गर्नु, धम्की दिनु वा मानसिक तनाव सिर्जना गर्नु लोकतान्त्रिक संस्कृतिको संकेत होइन; बरु यसले लोकतन्त्रको मर्ममाथि नै प्रहार गर्छ।

नेपालले लामो संघर्षपछि लोकतान्त्रिक व्यवस्था प्राप्त गरेको हो। यस क्रममा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र समानताको मूल्य स्थापित गर्ने प्रयास गरिएको छ। तर लोकतन्त्र केवल संविधान र कानुनमा लेखिएको शब्दमा सीमित हुँदैन; यसको वास्तविक अभ्यास समाजको व्यवहारमा देखिनुपर्छ। जब नागरिकहरूले फरक विचारलाई सम्मान गर्न छोड्छन्, तब लोकतन्त्र कमजोर हुन थाल्छ। आज सामाजिक सञ्जालमा देखिने बहसहरूमा तर्कभन्दा बढी भावनात्मक प्रतिक्रिया, तथ्यभन्दा बढी आरोप–प्रत्यारोप, र संवादभन्दा बढी द्वन्द्व देखिन थालेको छ।

सामाजिक सञ्जालले नागरिकलाई आफ्नो आवाज उठाउने अभूतपूर्व अवसर दिएको छ। पहिले सीमित पहुँच भएका मिडियामा मात्र विचार व्यक्त गर्न पाइन्थ्यो भने अहिले हरेक व्यक्तिले आफ्नो विचार लाखौँ मानिससम्म पु¥याउन सक्छ। यो सकारात्मक परिवर्तन हो, तर यससँगै जिम्मेवारी पनि जोडिएको हुन्छ। दुर्भाग्यवश, धेरैजसो प्रयोगकर्ताहरूले यो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको देखिँदैन। अनलाइन स्पेसमा अज्ञात पहिचानको आडमा व्यक्तिहरूले जथाभावी टिप्पणी गर्ने, अपशब्द प्रयोग गर्ने, र अरूको मानहानी गर्ने प्रवृत्ति बढ्दै गएको छ।

फरक विचार राख्नु लोकतन्त्रको सुन्दरता हो, कमजोरी होइन। कुनै पनि समाजमा सबैले एउटै कुरा सोच्न वा मान्नुपर्छ भन्ने अपेक्षा नै अलोकतान्त्रिक हो। बहस, विमर्श र विचारहरूको टकरावबाट नै नीतिगत सुधार, सामाजिक चेतना र प्रगतिशील परिवर्तन सम्भव हुन्छ। तर जब फरक मतलाई शत्रुताको रूपमा लिइन्छ, तब समाज ध्रुवीकरणतर्फ जान थाल्छ। यस्तो अवस्थामा संवादको ठाउँमा द्वेष आउँछ, र तथ्यको ठाउँमा अफवाह वा हावादारी कुराले स्थान लिन्छ।

नेपाली समाजमा अहिले देखिएको अर्को चिन्ताजनक पक्ष भनेको व्यक्तिप्रति अन्ध समर्थन वा अन्ध विरोध हो। कुनै नेता, पार्टी वा सार्वजनिक व्यक्तित्वप्रति अत्यधिक लगाव राख्ने समूहले आलोचना सहन सक्दैन। कसैले आलोचनात्मक धारणा राख्दा तुरुन्तै उसलाई ‘देशद्रोही’, ‘अयोग्य’ वा गाली गलौच वा अन्य अपमानजनक शब्दले सम्बोधन गरिन्छ। अर्कोतर्फ, विरोध गर्ने समूहले पनि मर्यादा नाघेर व्यक्तिगत जीवन, परिवार वा निजी विषयमा आक्रमण गर्न पछि पर्दैन। यसरी विचारको बहस व्यक्तिगत आक्रमणमा रूपान्तरण हुँदा लोकतान्त्रिक संस्कृति कमजोर बन्छ।
यस सन्दर्भमा अभिव्यक्ति स्वतन्त्रताको सही अर्थ बुझ्नु आवश्यक छ। अभिव्यक्ति स्वतन्त्रता भनेको जे मन लाग्यो त्यही भन्न पाउने छुट होइन। यससँगै अरूको अधिकारको सम्मान, तथ्यमा आधारित तर्क प्रस्तुत गर्ने जिम्मेवारी, र सभ्य भाषाको प्रयोग गर्ने कर्तव्य पनि जोडिएको हुन्छ। कसैलाई अपमान गर्ने, झुटो आरोप लगाउने वा मानसिक रूपमा पीडा दिने कार्य अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हो, प्रयोग होइन।

अहिलेको अवस्थालाई हेर्दा, के हाम्रो समाज लोकतान्त्रिक हिसाबले कमजोर हुँदै गएको हो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ। यसको उत्तर पूर्ण रूपमा ‘हो’ वा ‘होइन’ मा सीमित छैन। एकातिर नागरिक सचेतना बढेको छ, मानिसहरू आफ्ना अधिकारप्रति जागरूक भएका छन्, र सार्वजनिक मुद्दाहरूमा सक्रिय सहभागिता देखिन्छ। तर अर्कोतर्फ, सहिष्णुता घट्दै गएको, असहमति स्वीकार गर्ने क्षमता कमजोर हुँदै गएको, र संवादको स्तर खस्कँदै गएको देखिन्छ। यसले लोकतन्त्रको गुणस्तरमा प्रश्न उठाउँछ।

फासिवादको चर्चा पनि यस सन्दर्भमा सान्दर्भिक छ। फासिवादी सोचको एउटा प्रमुख विशेषता भनेको फरक विचारलाई दबाउने, आलोचनालाई देशविरोधी ठहर गर्ने, र एउटै ‘सही’ विचार मात्र स्वीकार्य हुने वातावरण सिर्जना गर्नु हो। यदि समाजमा यस्तो प्रवृत्ति बढ्दै जान्छ भने, औपचारिक रूपमा लोकतन्त्र भए पनि व्यवहारमा फासिवादी प्रवृत्ति हावी हुन सक्छ। सामाजिक सञ्जालमा देखिने आक्रामकता र असहिष्णुताले यही खतरा संकेत गरिरहेको हुन सक्छ।

यस समस्याको समाधान केवल कानुनी व्यवस्था कडा बनाएर मात्र सम्भव छैन। यसको लागि सामाजिक र सांस्कृतिक परिवर्तन आवश्यक छ। सबैभन्दा पहिले, नागरिकहरूमा डिजिटल साक्षरता बढाउन आवश्यक छ, जसले गर्दा मानिसहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न सिकून्। दोस्रो, विद्यालयदेखि नै बहस गर्ने, फरक विचार सुन्ने, र तर्कका आधारमा निष्कर्षमा पुग्ने संस्कार विकास गर्नुपर्छ। तेस्रो, सार्वजनिक व्यक्तित्वहरू, राजनीतिज्ञ, पत्रकार, बौद्धिक वर्गले आफैं उदाहरण प्रस्तुत गर्नुपर्छ। उनीहरूले सभ्य, तथ्यमा आधारित र सम्मानजनक संवादको अभ्यास गरेमा त्यसले समाजमा सकारात्मक प्रभाव पार्छ।

मिडियाको भूमिका पनि यहाँ महत्वपूर्ण छ। सनसनीखेज समाचार, भ्रामक सूचना र एकपक्षीय विश्लेषणले समाजमा द्वन्द्व बढाउन सक्छ। त्यसैले जिम्मेवार पत्रकारिता, तथ्य जाँच, र सन्तुलित प्रस्तुतीकरण आवश्यक छ। साथै, सामाजिक सञ्जाल प्लेटफर्महरूले पनि हेट स्पिच र दुरुपयोग नियन्त्रण गर्न प्रभावकारी नीति लागू गर्नुपर्छ।

त्यसैले, लोकतन्त्र केवल प्रणाली होइन, संस्कार हो। यसलाई जोगाउन र सुदृढ बनाउन प्रत्येक नागरिकको भूमिका हुन्छ। फरक विचारलाई शत्रुता होइन, अवसरको रूपमा लिन सक्ने क्षमता विकास गर्नुपर्छ। असहमति भए पनि सम्मान कायम राख्ने, आलोचना गर्दा मर्यादा नाघ्न नहुने, र सत्य तथा तर्कका आधारमा बहस गर्ने संस्कारले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ ।

लेखक रबिन्द्र लामिछाने क्लिन अप नेपाल नामक संस्थाका कार्यकारी निर्देशक हुन् । 

 

 

यातायात कार्यालय धनगढीबाट लाइसेन्स वितरण कार्य सुरु

धनगढीः यातायात व्यवस्था कार्यालय धनगढीले विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्य सुरु गरेको छ।

आजबाट उक्त सेवा सुरु गर्रिको कार्यालयका सुचना अधिकारी सुरेश ओखेडाले बताए। उनका अनुसार यातायात व्यवस्था विभागले धनगढी कार्यालयलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गरेर ३१ हजार ७८० व्यक्तिको लाइसेन्स पठाएको छ।

२०७८ साल पुसदेखि २०८१ साल चैतसम्मका ३१ हजार ५८५ हजार तथा ०८३ साल वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्मका १९५ जनाको लाइसेन्स प्राप्त भएको उनले बताए । कार्यालयले सेवाग्राहीलाई राजश्व बुझाएको भौचर वा निस्सासहित कार्यालयमा उपस्थित भएर लाइसेन्स बुझ्न आग्रह गरेको छ । लाइसेन्स प्राप्त भए/नभएको वा कार्यालयमा पुगे/नपुगेकोबारे थाहा पाउन कार्यालयको फेसबुक पेज जाँच गरेर मात्र आउन उनले आग्रह गरेका छन्।

सरकारले गत चैतमा नयाँलाई ट्रायल पास भएको २४ घण्टा भित्र सवारी लाइसेन्स प्रिन्ट गरि प्रदान गर्ने घोषणा गरेको थियो । सोही अनुसार अहिले सवारीचालक अनुमति पत्र धमाधम वितरण भईरहेका छन्।  लामो समयपछि लाइसेन्स पाउँदा सेवाग्रहीहरु पनि सरकारको उक्त निर्णयप्रति उत्साहित छन्।

नीति तथा कार्यक्रमको तयारीमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्ष २०८३/८३ का लागि प्रदेश सरकारले नीति तथा कार्यक्रमको तयारी गर्न थालेको हो ।  प्रदेश सरकारले सबै मन्त्रालयबाट नीति तथा कार्यक्रम सङ्कलन गरिरहेको प्रदेश नीति तथा योजना आयोगले जानकारी दिएको छ । आयोगका उपाध्यक्ष डा. जीवन रानाका अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सबै मन्त्रालयबाट नीति तथा कार्यक्रम सङ्कलन गरिरहेको छ ।

उपाध्यक्ष रानाले भन्नुभयो, “सबै मन्त्रालयबाट सङ्कलन भइसकेपछि हामी नीति तथा योजना आयोग र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बसेर कुन कुन समेट्ने भनेर छलफल गर्छौं । दुवै निकायको सहमति अनुसार नीति तथा कार्यक्रम फाइनल हुन्छ ।”

उपाध्यक्ष रानाले यस पटकको नीति तथा कार्यक्रममा झिनामसिनाभन्दा पनि महत्वपूर्ण कार्यक्रम राखिने उल्लेख गर्नुभयो । प्रदेश सरकारले जेठ १५ गतेभित्र नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

यसैबिच प्रदेश सरकारले आगामी आवका लागि बजेटको सीमा अझै तयार गर्न बाँकी रहेको छ । बजेट सीमा तयार नहुँदै नीति तथा कार्यक्रमको तयारी भने सरकारले थालेको छ । सङ्घबाट राजस्व बाँडफाँटको विवरण आई नपुगेकाले बजेट सीमालाई अन्तिम रूप दिन नसकेको आयोगका उपाध्यक्ष रानाको भनाइ छ । उहाँले अब दुई/तीन दिनभित्रै राजस्व बाँडफाँटको विवरण आइपुग्ने अपेक्षा गर्दै  भन्नुभयो, “अनुमानित सीमा त हामीले निर्धारण गरिसकेका छौँ तर राजस्व बाँडफाँटको विवरण पनि आएमा मात्रै बजेटको सीमा पूरा हुन्छ ।”

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अङ्कले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम भएको हो ।

आज ३५१ कम्पनीको एक करोड २१ लाख ३४ हजार ३६० कित्ता शेयर एक लाख चार हजार पाँच पटक खरिद बिक्री हुँदा रु चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार १७३ बराबरको कारोबार कारोबार भएको नेप्सेले जनाएको छ ।

आज विकास बैंक शून्य दशमलव १४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह एक दशमलव ०९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ७६, वित्त शून्य दशमलव ६४, होटल तथा पर्यटन एक दशमलव ६४, जलविद्युत् एक दशमलव ४५, लगानी शून्य दशमलव ६६, जीवन बीमा शून्य दशमलव ८४ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव २४ प्रतिशतले घटेको छ ।

त्यस्तै, लघुवित्त शून्य दशमलव ५४, निर्जीवन बिमा समूह एक दशमलव ११ र अन्य समूह शून्य दशमलव ९२ प्रतिशतले घटेको हो ।

 

रास्वपाका सांसदलाई रविका १२ बुँदे निर्देशन

काठमाडौं । रास्वपाका सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनले सांसदहरूलाई १२ बुँदे निर्देशन दिएका हुन् ।

उनले सांसदहरूलाई समसामयिक राजनीतिक विषय र भूमिकाबारे विभिन्न निर्देशन दिए । उनले सांसद र मन्त्रीबीच निश्चित समय अन्तररालमा मन्त्रालयको सचिवसहितको मन्त्रालयगत छलफल गरिने पनि जानकारी गराए । उनले मालिक बन्न खोज्नेका लागि रास्वपा नभएको र सेवक र सहजकर्ताका लागि रास्वपा भएको बताए ।
त्यस्तै उनले सरकारले हालै राष्ट्रपतिलाई सिफारिस गरेको अध्यादेशबारे, सुकुमवासी व्यवस्थापनबारे पनि सांसदहरूलाई पार्टीको धारणा जानकारी गराएका छन् ।

यस्तो छ उनको निर्देशनको १२ बुँदा

१) सांसद र मन्त्री बीच निश्चित समय अन्तरालमा मन्त्रालयको सचिव सहितको मन्त्रालयगत अन्तरक्रिया गरिनेछ।

२) सरकार फेरियो अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक छ। यो अबको महत्त्वपूर्ण प्राथमिकता हो।

३) “मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी हैन। यो दल सेवक र सहजकर्ताहरूको लागि हो।”

४) हेल्लो सरकारलाई अझै बढी प्रभावकारी बनाउने र गुनासो वारे हुदै गरेको काम कारवाही वारे अवस्था ट्रयाक गर्न मिल्ने हुने गरि काम हुँदैछ।

५) सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ तर प्रमुख प्राथमिकता भनेको कानुन बनाउने हो। तर त्यो क्रममा आफै कानून बन्न खोज्ने हैन।

६) अन्तर्जातीय विवाहको बहानामा समाजमा हुदै आएको विभेद र दुर्घटना रोक्न आवश्यक छ, यसको लागि पहल गर्न निर्देशन। तर, घटनास्थलमा भावुक भएर सासंदले आफ्नो मर्यादा बिर्सन हुँदैन।

७) खाडी द्वन्द्वले बजार मुल्यमा परेको असर वारे सरकार जानकार छ, ध्यान पुगेको छ। हामी गम्भीर हुदै काम गर्दैछौ।

८) संगठन निर्माणमा सबै आफ्नो तहबाट जिम्मेवारीपुर्वक लाग्न सबैलाई अनुरोध छ।

९) जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ। कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ। ढलको छेउमा,बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्य वारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो।

देशैभरी रहेको यस्तो समस्यालाई एक विशेष आयोग बनाएर शिघ्र काम गरिने छ। तर यो क्रममा सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन। सरकारले घरबार बिहिन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसर वारे जिम्मेवारी लिन्छ। सरकारले कोही सुकुम्बासीहरूलाई घरबार बिहिन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ। तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन। कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर “भोट बैंक” को राजनीति गर्नु गलत हो।

१०) अध्यादेशको वारेमा: बिगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याए सम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा गर्न सकिँदैन। पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दु:ख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो।

कानुन, राजनीतिक ब्यबहार र लोकतान्त्रिक पद्धति प्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुरा को सुचक संसदिय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ। विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ। हामी त्यो सच्याउन चाहन्थ्यौँ, ईमानदार भएर बढ्यौ।

११) कैयौ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन। धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ।

१२) नियमित छलफल हुनेछ, जनप्रतिनिधिको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै असम्जस वा कठिनाइ भए म आवश्यक सहजीकरणको लागि सधैँ उपलब्ध छु। सधैँ बैठक कुरेर पनि नबस्न र लिखित रूपमा आफ्नो कुरा राख्न अनुरोध छ। पार्टीमा कोही आउन इच्छुक हुनुहुन्छ भने स्वागत छ तर संगठनमा आएर खटेर प्रमाणित गरेर मात्र अवसरको अपेक्षा राख्न अनुरोध छ।

ओमानविरुद्ध दीपेन्द्रको अर्धशतक

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ (सीडब्लूसी)मा नेपालका दीपेन्द्रसिंह ऐरीले ओमानविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ५० बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ७ चौका प्रहार गरे । अन्तर्राष्ट्रिय एकदिवसीयमा दीपेन्द्रको यो सातौं अर्धशतक हो ।

ओमानले दिएको ३०६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । अहिले नेपालका लागि गुल्शन झा र दीपेन्द्रले ब्याटिङ गरिरहेका छन् ।

खोज्नुहोस