विराटनगर महानगरपालिकामा सफा नेपाल एप सञ्चालनमा
विराटनगर । प्रविधिमा आधारित भई महानगरपालिका भित्रको फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षणका लागि विराटनगर महानगरपालिकामा सफा नेपाल एप सञ्चालनमा आएको छ ।
स्टान्डर्ड चार्र्टड बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा Building a Circular and Resilient vulnerable community through Waste Innovation मार्फत स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) ले १५ बैशाख देखि १७ चैत्र २०८३ सम्मको लागि कार्यान्वयन गर्ने जनाइएको छ । एप सञ्चालन मार्फत महानगरभित्र फोहरमैला व्यवस्थापन र वातावरणिय सरसफाईमा महानगरभित्रका नागरिकलाई थप जिम्मेवार बनाउनुका साथै महानगरलाई थप प्राविधिक क्षमता बढाउने परियोजनाले जनाएको छ ।
महानगरको कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा भएको बैठकमा CLEAN UP NEPAL (स्वच्छ सफा नेपाल)को कार्यकारी निर्देशक रविन्द्र लामिछानेले सफा नेपाल एपको विशेषता, सञ्चालन प्रणाली, फोहरमैला सम्बन्धी गुनासो दर्ता र सम्बोधन गर्न एपले खेल्ने भूमिकाबारेमा प्रस्तुती दिनु भएको थियो । फोहर व्यवस्थापन शाखा प्रमुख पुनम कुमार दाहालले एप सञ्चालन भएपछि महानगरको फोहरमैला व्यवस्थापनमा देखिन सक्ने अवसर र चुनौतीबारेमा बताउँदै महानगरको भूमिकाको बारेमा जिज्ञासा राख्नु भएको थियो ।
कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले एपको उपयोग सम्बन्धमा समुदायलाई थप सचेत र शिक्षित बनाउनुपर्नेबारे जोड दिनु भयो । त्यसैगरी महानगरका प्रमुख प्रशासकिय अधिकृत श्री योगन्द्र प्रसाद दुलालले फोहर व्यवस्थापन शाखालाई एप सञ्चालनबारेको प्राविधिक ज्ञान लिन अनुरोध गर्दै फोहर जलाउने र आगलागी जस्ता घटनाहरुमा एप मार्फत आउने सुचना र गुनासोलाई प्रमुख प्राथमिकतामा राखेर सम्बोधन गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको थियो ।
महानगरका विभिन्न शाखा/महाशाखा प्रमुख तथा प्रतिनिधिहरु गरि १८ जना सहभागी रहेको परिचयात्मक बैठक तथा सम्झौता हस्ताक्षर कार्यक्रमकमा स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) का कार्यकारी निर्देशक रविन्द्र लामिछाने र विराटनगर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत योगन्द्र प्रसाद दुलालले एप सञ्चालन सम्झौतामा हस्ताक्षर आदान–प्रदान गरि कार्यवाहक प्रमुखबाट संस्थालाई धन्यवाद ज्ञापन गर्दै बैठक सम्पन्न भएको क्लिन अफ नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेले जानकारी दिनु भयो ।
