२ हजार ७२२ सवारीचालक कारबाहीमा, २७ लाख बढी राजश्व संकलन

काठमाडौं ।  ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ७२२ सवारीचालकलाई कारबाही गरेको छ ।

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गर्दा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने ४६, राइड सेयरिङमा २३६, रातो बत्तीमा १८१, तीव्र गतिमा १५४, लेन क्रसमा ३४२, सडक फुटपाथमा १३७, हर्न निषेधमा ५५, ओराल्ने र चढाउनेमा ५६, अन्यमा १ हजार ५१५ गरी कुल २ हजार ७२२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ७२२ वटा सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट २७ लाख २७ हजार ६ रुपैयाँ राजस्व सङकलन भएको छ ।’

मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर  गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा

काठमाडौं । संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री शाहले मानवताविरोधी गतिविधि गरेको आरोपसहित हर्कले राजीनामा माग गरेका हुन् ।

‘सरकार कुन किसिमले चल्न चाहेको छ भन्ने संकेत देखिएको छ । हरेक कुरामा सेना र प्रहरी बुट–लठ्ठी र बन्दुक । एउटा तीन/चार जना मान्छेको सानो समूहलाई पनि सयौँको संख्यामा प्रहरी देखाएर आतङ्कित बनाउने सुकुम्बासीको लगत सेनाबाट संकलन गर्ने । सबै कुरामा राज्य आतङ्क मच्चाएर मानवताविरोधी गतिविधि गरिरहेको छ’, साम्पाङले भिडियो सन्देशमा भनेका छन्, ‘यसले राष्ट्रिय बेइज्जत भयो । राष्ट्रिय बेइज्जत भएका कारणले राज्य हुनुको पनि मापदण्ड हुन्छ । त्योदेखि तल झारेको कारणले सरकारले राजीनामा दिएर मार्गप्रशस्त गरोस् भन्न चाहन्छु ।’

संयुक्त राष्ट्रसंघले समेत प्रधानमन्त्री वालेन्द्र शाहको गतिविधिलाई मानवताविरोधी र मानवअधिकार हनन भनेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहको अहिलेको शैलीले राज्यसत्ता नचल्ने उनको ठहर छ ।

महावीर पुनले सार्वजनिक गरे सम्पत्ति- सुन तीन तोला, बैंकमा नगद कति ?

काठमाडौं । स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । संसद सचिवालयले सार्वजनिक गर्दैन कि भन्ने शंका लागेर आफैँले फेसबुकमा हालेको उनको भनाइ छ ।

पुनले देखाएको सम्पत्ति विवरणमा उनको चारवटा जग्गा देखिन्छ भने घर एउटा पनि छैन । आफू डेरामा बसिरहेको उनले बताएका छन् ।

पुनको स्थायी ठेगाना चितवनको राप्ती नगरपालिका-८ स्थित खुरखुरे टोल रहेको छ । यहाँबाट आफूले नागरिकता प्राप्त गरेको उनले बताएका छन् । यस्तै, हाल कास्कीको हमालटोलमा भाडाको घरमा बसिरहेको उनको भनाइ छ ।

पुनका अनुसार कास्कीको माझठाना गाउँपालिकाको वडा नम्बर ७ मा उनको चार टुक्रा जग्गा छ । ती सबै जग्गा जम्मा ४ लाख जतिमा २०५२ सालमा पदम पुनसँग मिलेर किनेको उनले बताएका छन् । कुल मिलाएर जग्गाको क्षेत्रफल ४ रोपनी ६ अना जति हुन आउँछ । यो सबै जग्गा बिक्रीमा राखे पनि अहिलेसम्म नबिकेको उनले जानकारी दिएका छन् ।
उनले आफूसँग ३ तोला सुन रहेको बताएका छन् जुन २०६० सालमा किनिएको हो । यो सुन श्रीमतीलाई इस्टमित्रले उपहार दिएको उनको दावी छ । यस्तै उनको दुई बैंकमा गरी २९ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । त्यसमध्ये २५ लाख रूपैयाँ हालै चुनाव लड्दा प्राप्त सहयोगबाट उब्रेको हो ।

यो रकम बेनीमा आफ्नो सम्पर्क कार्यालय सञ्चालन गर्न खर्च गरिरहेको उनले बताएका छन् । बाँकी चार लाख पनि साथीहरुबाट प्राप्त भएको र व्यक्तिगत खर्च गर्ने पुनको भनाइ छ ।

पुनको विरणमा उल्लेख भएअनुसार उनीसँग सवारीसाधन छैन भने बैंकमा सेयर पनि शून्य छ । आफ्नो आत्मकथा २ लाख ५० हजार प्रति बेचेर आएको पैसा आविस्कार केन्द्रको खातामा जम्मा गरिरहेको उनले बताएका छन् ।

पुनले भनेका छन्, ‘संघीय संसद सचिवालयलाई म प्रतिनिधिसभा सदस्य महावीर पुनले बुझाएको मेरो सारा भौतिक धन सम्पतिको विवरण हेर्नुहोस् । खासगरी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोलेर र आफ्नो किताब बेचेर करोडौं पैसा थुपार्‍यो भन्ने विद्वानहरू र रीस गर्ने व्यक्तिहरूले यो हेर्नु होला र छानबिन गर्नु होला ।

पुनका अनुसार उनले यो विवरण शिक्षामन्त्री हुँदा पनि बुझाएका थिए, तर उति बेलाको सरकारले सार्वजनिक गरिदिएन ।

उनी थप्छन्, ‘यी भौतिक सम्पत्ति बाहेक मेरो अभौतिक र मूल्यांकन गर्न नसकिने अमूल्य र असीमित सम्पत्ति भनेको देश विदेशमा बसोबास गर्ने मेरो असंख्य सहयोगीहरू हुन् ।’

बाजुराका सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान

बाजुराः बाजुरा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा सिसिटिभी क्यामेरा तथा जीपीएस जडान गर्ने कार्य सुरु गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुराले २०८३ वैशाख १ गते सार्वजनिक सूचना जारी गर्दै यहाँ चल्ने सबै सार्वजनिक सवारी साधनमा सुरक्षा मापदण्ड कायम गर्न सिसिटिभी र जीपीएस जडान अनिवार्य गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अहिले जिल्लाभरका सवारी साधनमा धमाधम सिसिटिभी र जीपीएस जडान भइरहेको छ।

सुदूरपश्चिम यातायात बाजुराका संयोजक रामचन्द्र गिरीले सार्वजनिक सवारी साधनमा सिसिटिभी जडानको काम सुरु भइसकेको जानकारी दिए। उनले भने, “आइतबारदेखि लामो दूरीका सवारी साधनमा सिसिटिभी र जीपीएस जडान गर्ने काम सुरु गरिएको छ।”

उहाँका अनुसार करिब दुई हप्ताभित्र बाजुरामा सञ्चालन हुने सबै सार्वजनिक सवारी साधनमा सिसिटिभी र जीपीएस जडान कार्य सम्पन्न गरिनेछ। बाजुरामा धनगढीबाट २९, नेपालगञ्जबाट ५, महेन्द्रनगरबाट १८ र काठमाडौँबाट ५ गरी ५७ वटा लामो दूरीका सवारी साधन सञ्चालनमा रहेका छन्। यात्रु, चालक र सवारी धनी सबैका लागि सुरक्षा र सहजता सुनिश्चित गर्न यी उपकरण जडान गरिएको हो।

नेपाल सरकारको निर्णयअनुसार बाजुरामा सञ्चालन हुने साना तथा ठुला सबै सवारी साधनमा सिसिटिभी जडान अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सबै सवारी साधनमा देखिने गरी भाडादर सूची टाँस्न निर्देशन दिइएको बताए। उनले भने, “सवारी चालकले गाडी चलाउँदा अनिवार्य रूपमा पोशाक र परिचयपत्र प्रयोग गर्नुपर्नेछ।” उनले नियम पालना नगर्ने सवारी साधन र चालकलाई कानुनी कारबाही गरिने चेतावनीसमेत दिए।

कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

कञ्चनपुरः गत वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि भएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गहुँ उत्पादनमा २.१ प्रतिशतले वृद्धि भएको हो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले यस वर्ष गत वर्षको तुलनामा गहुँको उत्पादकत्वमा वृद्धि भएको बताए। “उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो” साउदले भने, “यस वर्ष गहुँको उत्पादकत्व वृद्धि भएर ३.४ प्रतिहेक्टर पुगेको छ।”

उनका अनुसार यस वर्ष ३१ हजार २१० हेक्टर क्षेत्रफलमा एक लाख छ हजार ११४ मेट्रिक टन गहुँ उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रले किसानलाई सिँचाइ सुविधा उपलब्ध नभएको स्थानमा अनुदानमा सिचाँइ सुविधा उपलब्ध गराउँदै आएको छ। “उन्नत बीउ, प्रविधिमा पहुँच र सिँचाइ क्षेत्र विस्तार भएका कारण गहुँको उत्पादकत्वमा वृद्धि भएको हो”, उनले भने, “सहकारीमार्फत किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउ प्रदान गर्दै आएका छाँै।” त्यसैगरी गहुँखेतीको समयमा किसानले समयमै रासायनिक मल उपलब्धताले पनि उत्पादनमा वृद्धि भएको उनको भनाइ छ।

पछिल्ला वर्षहरूमा गहुँखेती हुने क्षेत्रफल विस्तार नभए पनि उत्पादकत्वमा वृद्धि हँुदै आएको छ। कञ्चनपुरमा एक लाख ६१ हजार ७४१ हेक्टर कुल खेतीयोग्य जमिन रहेको छ। जसमध्ये ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको छ। हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ।

खाद्य कम्पनीद्वारा कैलालीमा गहुँ खरिद सुरु

धनगढीः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा गहुँ खरिद सुरु गरेको छ।

कम्पनीले मंगलवारबाट जिल्लाका दुई स्थानबाट किसान तथा कृषिसम्बन्धी सहकारीबाट गहुँ खरिद सुरु गरेको हो। जिल्लाको मोहनपुर र टीकापुर गोदामबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा गहुँ खरिद सुरु गरिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए। सरकारले निर्धारण गरेको गहुँको न्यूनतम समर्थन मूल्य तीन हजार ९४५ रुपैयाँ रहेकामा खाद्य कम्पनीले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले चार हजार २५० रुपैयाँमा गहुँ खरिद गर्न लागेको उनले जानकारी दिए।

उनले भने, “कम्पनीको जिल्लामा गहुँ खरिद कोटा १० हजार क्विन्टल रहेको छ। प्रतिकिसानबाट बढीमा ७० क्विन्टलका दरले र कृषिसम्बन्धी सहकारीबाट प्रति सहकारी बढीमा ५०० क्विन्टलसम्म गहुँ खरिद गर्ने योजना छ।” उनले स्थानीय तहहरूले गोदाम उपलब्ध गराए जिल्लाका अन्य ठाउँबाट पनि गहुँ खरिद गरिने बताए।

सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशमा आज तीव्र हावाहुरी चल्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज साँझ सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ ।

विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ ।

१६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ बजे समाप्त हुने सम्भावना रहेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी सहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची सहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारा सहित आसपासका जिल्ला र कोशी प्रदेशको मोरङ सहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ

सोही सूचनाका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार बेलुकी सूचना जारी गरेर सावधानी अपनाउन आह्वान गरेको छ ।

सकेसम्म घरबाहिर हिँडडुल नगर्न, झ्यालढोका राम्रोसँग बन्द गर्न, जस्तालगायतबाट बनेको छाने कमजोर छ भने बन्धन बलियो बनाउन, घरबाहिर आगो नबाल्न प्राधिकरणले सुझाव दिएको छ ।

यसैगरी लड्नसक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा नजिक र बिजुलीको तारमुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन पनि सुझाइएको छ ।

यसैगरी जल तथा मौसम विज्ञान विभागले आज पनि मेघगर्जन, चट्याङ्ग, असिना सहित पानी पर्ने प्रणालीले देशका धेरै ठाउँहरूमा प्रभाव पार्ने भएकाले सतर्कता अपनाउन पनि सबैलाई अनुरोध गरेको छ ।

१०० भन्दा धेरै कानुन ल्याउँदै सरकार

काठमाडौं । सरकारले परिणाममुखी कार्यसम्पादन गर्न आवश्यक कानुन निर्माण र संविधान संशोधनको प्रक्रिया सँगसँगैअघि बढाएको छ । संसद्मा प्रतिनिधित्व गरेका सबै दलका प्रतिनिधि रहेको संविधान संशोधन बहसपत्र कार्यदलले विज्ञहरूसँग छलफल गरिरहेको छ भने  मन्त्रालयहरूले आफ्नो कार्यक्षेत्रका लागि आवश्यक कानुनका मस्यौदा बनाउन थालेका छन् ।

सरकारको सयबुँदे कार्यसूची कार्यान्वयनका लागि कानुन मन्त्रालयले सबै मन्त्रालयसँग बनाउनुपर्ने कानुनहरूको सूची मागेको थियो । मन्त्रालयहरूबाट ११० विधेयकको सूची आएको कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले बताए । ‘सरकारले दशबुँदे कार्यक्रम ल्याइसकेपछि त्यसलाई कार्यान्वयन गर्न के–के कानुन आवश्यक छ, विगतदेखि बन्ने क्रममा रहेका कानुन र नयाँसमेत गरेर कुन–कुन विधेयक संसद्मा लान सकिन्छ भन्ने सन्दर्भमा हामीले सबै मन्त्रालयबाट विधेयकको सूची माग गरेका थियौँ । त्यसअनुसार सबै मन्त्रालयले विधेयकको सूची पठाएका छन्,’ उनले भने, ‘आगामी बजेट अधिवेशन र अर्को वर्षका लागि भनेर ११० विधेयक आएका छन् । सम्बन्धित मन्त्रालयका सचिव र सम्बद्ध पदाधिकारीसँग पनि छलफल गरेर प्राथमिकता निर्धारण गर्दै छौँ । एक चरणको छलफल भइसकेको छ । ४० देखि ४५ वटासम्म विधेयक आउने बजेट अधिवेशनमै संसद्मा लैजान सकिन्छ भन्ने बुझाइ छ । बाँकी आगामी वर्ष हिउँदे अधिवेशनमा पेस हुन्छ ।’

०७२ मा पहिलोपटक संविधानसभाबाट संविधान बनेपछि त्यसलाई कार्यान्वयन गर्न आवश्यक कैयौँ कानुन अझै बनेका छैनन् । करिब डेढ सय कानुन बन्न बाँकी रहेको यसअघि नै संसद्कै अध्ययनले औँल्याएको थियो । त्यसो त १० वर्ष पुगेपछि संविधान पुनरवलोकन गर्नुपर्ने नेपालको संविधानले नै निर्देश गरेको छ । संविधानले १० वर्षको अवधि पार गरेसँगै पुनरवलोकनको बहसका लागि सरकारले कार्यदल बनाएको हो ।

नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा रक्तदान गरिने

कोलोराडो, १६ बैशाख ।
नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको अवसरमा कोलोराडोमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।

ब्लड डोनर्स एशोसियसन (बीडीए)कोलोराडो च्याप्टरले सम्मेलन आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र अनेसास कोलोराडो च्याप्टरसंगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।

बीडीए कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासिनीले २४ मे आईतवार विहान ९ बजे शुरु हुने रक्तदान कार्यक्रम दिउँसो १ बजे सम्म सञ्चालन हुने जानकारी दिए ।

अध्यक्ष मरासिनीले सम्मेलन आयोजनास्थल वेष्टमिनिस्टरस्थित डु«री प्लाजामा ‘रक्तदान जीवन दान’ भन्ने मूलमन्त्र सहित आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न रक्तदाताहरुलाई आग्रह गरे ।

अध्यक्ष मरासिनीले रक्तदान कार्यक्रममा कम्तिमा २५ जनाले रक्तदान गर्ने अनुमान गरिएको बताए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा मे २२ देखि २५ सम्म कोलोराडोको वेष्टमिनिस्टरमा आयोजना हुने नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा संसारभरीबाट दुई सयभन्दा बढि साहित्यकारहरु सहभागी हुने अनुमान गरिएको छ ।

 

नेसनल टी च्याम्पियन २०८३ मा सिल्भर निडल विधातर्फ प्रस्तुति टी उत्कृष्ट

इलामको सुम्बेकस्थित प्रस्तुति उद्योग प्रालिको उत्पादन ‘प्रस्तुति टी’ ले  नेसनल टी च्याम्पियन २०८३ मा ‘सिल्भर निडल’ विधातर्फ उत्कृष्ट घोषित भएको छ।

३० औँ राष्ट्रिय चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा आयोजित नेसनल टी च्याम्पियन २०८३ मा ‘सिल्भर निडल’ विधातर्फ ‘प्रस्तुति टी’ उत्कृष्ट घोषित भएको हो ।

प्रस्तुति टीले उच्च गुणस्तर र उत्कृष्ट प्रशोधनका कारण यो उपलब्धि हात पारेको हो । यो उपलब्धिलाई कम्पनीले निरन्तर मेहनत, गुणस्तरप्रतिको अटल प्रतिबद्धता र सम्पूर्ण टिमको समर्पणको परिणामको रूपमा लिएको छ।

उपाधि जितेपछि प्रस्तुति उद्योगका सञ्चालक जीवन नेउपानेले खुसी व्यक्त गर्दै भने, ‘यो सम्मान केवल एउटा पुरस्कार होइन, यो हाम्रो टिमको निरन्तर प्रयास, किसानहरूको मेहनत र गुणस्तरीय चिया उत्पादनप्रतिको प्रतिबद्धताको प्रमाण हो। राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट प्राप्त यो प्रमाणपत्रले हामीलाई थप उच्च लक्ष्य हासिल गर्न प्रेरणा दिएको छ।’

इलाम–२, सिमाना चोक, सुम्बेकमा अवस्थित प्रस्तुति उद्योगले इलामको प्रसिद्ध चिया बगानबाट प्राप्त उच्च गुणस्तरीय पत्तीबाट परम्परागत तरिकाले प्रशोधन गरिएको प्रिमियम अर्थोडक्स चिया उत्पादन गर्दै आएको छ। सिल्भर निडलजस्तो प्रतिस्पर्धात्मक विधामा प्राप्त यो सफलताले इलामको चिया क्षेत्रको समग्र गरिमा बढाएको छ।

नेउपानेले यस सफलतामा योगदान दिने सम्पूर्ण टिम सदस्यहरू, चिया किसानहरू, सहयोगी साझेदारहरू तथा चिया प्रेमीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

राष्ट्रिय चिया दिवसको मुख्य नारा ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार’ रहेको यस वर्षको कार्यक्रम इलामको फिक्कलमा भव्य रूपमा मनाइएको थियो।

 

 

नेप्से परिसूचक २६ अंकले घट्यो

नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको छ।

आज ३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता शेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ८४, विकास बैंक एक दशमलव २२, वित्त शून्य दशमलव ६१, होटल तथा पर्यटन दुई दशमलव ५६, जलविद्युत् एक दशमलव ७४, लगानी शून्य दशमलव ४७ र जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४६, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३१ निर्जीवन बीमा शून्य दशमलव ३९ र व्यापार समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ।

हिमालयन बैंक लिमिटेड बण्ड २०८६ को शेयर मूल्य आज सबैभन्दा धेरै छ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले घटेको छ।

इरानको नयाँ प्रस्तावमाथि समीक्षा गर्दै अमेरिका

काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सोमबार इरानद्वारा पठाइएको होर्मुज जलमार्ग पुनः खोल्नेसम्बन्धी नयाँ प्रस्तावको समीक्षा गरिरहेको जनाएको छ ।

दुई महिनाअघि सुरु इरान–अमेरिका द्वन्द्वले विश्व अर्थतन्त्रमा ठूलो धक्का पुर्‍याएको छ । हाल युद्धविराम लागु भए पनि अमेरिका र इरानबीचको शान्ति वार्ताले अझै ठोस निष्कर्ष निकाल्न सकेको छैन ।

इरानी समाचार एजेन्सी फार्सका अनुसार, तेहरानले पाकिस्तानका माध्यमबाट अमेरिकालाई लिखित सन्देश पठाउँदै आफ्ना सर्त राखेको छ । यसमा इरानले आफ्नो परमाणु कार्यक्रम र होर्मुज जलमार्गसँग सम्बन्धित विषयलाई ‘रेड लाइन’का रूपमा उल्लेख गरेको छ ।

इरानले जबसम्म अमेरिका र इजरायलले पुनः आक्रमण नगर्ने ग्यारेन्टी गर्दैनन्, तबसम्म आफूले खाडी क्षेत्रमा सुरक्षाको आश्वासन नदिने स्पष्ट पारेको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले इरानको प्रस्तावमाथि छलफल जारी रहेको पुष्टि गरेकी छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो प्रस्ताव अपेक्षा गरिएभन्दा राम्रो रहेको टिप्पणी गरेका छन् । इरान यो प्रस्तावमा कति इमानदार छ भन्ने अझै प्रश्न बाँकी रहेको उनको भनाइ छ ।

इरानी परराष्ट्रमन्त्री अब्बास अरागचीले आफ्नो रुस भ्रमणका क्रममा शान्ति वार्ता असफल हुनुमा अमेरिकालाई जिम्मेवार ठहर्‍याएका छन् । वासिङटनका अत्यधिक मागका कारण छलफल अगाडि बढ्न नसकेको उनले बताएका थिए ।

इरानले आफ्नो अर्थतन्त्रमा परेको गम्भीर असरबीच यो कूटनीतिक कार्ड खेलेको देखिन्छ । होर्मुज जलमार्गमा नाकाबन्दीका कारण विश्वभर तेल, ग्यास र मलको आपूर्तिमा अवरोध भएको छ । र, अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिएको छ ।

तेहरानका नागरिकले चरम महँगी र बेरोजगारीको मार झेलिरहेका छन् । इरानले यो प्रस्तावमार्फत आफ्नो आर्थिक नाकाबन्दी खुकुलो बनाउन खोजेको विश्लेषकको बुझाइ छ ।

आईसीसी महिला च्यालेन्ज ट्रफी : लगातार दोस्रो हारपछि नेपालको जित

काठमाडौं । लगातार दोस्रो हारपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) महिला च्यालेन्ज ट्रफीमा घरेलु टोली रुवान्डाविरुद्ध ३८ रनको जित निकालेको छ ।

जारी प्रतियोगितामा नेपालले रुवान्डालाई दोस्रोपटक हराएको हो । पहिलो खेलमा पनि नेपाल दुई विकेटले विजयी भएको थियो ।

प्रतियोगितामा नेपालको यो तेस्रो जित हो । जितसँगै नेपाल ६ अंकका साथ तेस्रो स्थानमा छ । नेपालले ६ खेल खेल्दा समान तीन जित र हारको नतिजा निकालेको छ ।

मंगलबार गाहांगा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याएको रुवान्डाले १७.४ ओभरमा सबै विकेट गुमाएर ६४ रन मात्र बनाउन सक्यो ।

रुवान्डाकी कप्तान मेरी बिमेनिमानाले सर्वाधिक १९ रन बनाइन् । जियोभानिस युवासेले १२ रन जोडिन् । अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालकी मनीषा उपाध्यायले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गर्दै एक मेडन फ्याँकेकी उनले १० रन खर्चिइन् । कविता कुँवर, रचना चौधरी र रिया शर्माले समान दुई विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको नेपालले रुवान्डाविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १०३ रन बनाएको थियो ।

नेपालकी कप्तान इन्दु वर्माले अविजित ३३ रन बनाइन् । कविता कुँवरले २४, रुविना क्षेत्रीले ११ रन जोडिन् । अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

रुवान्डाका हेनरिएट इसिम्वेले सर्वाधिक तीन विकेट लिइन् । मेरी बिमेनिमानाले दुई, बेलिसे मुरेक्टेट र रोजिन इरेराले समान एक विकेट लिए ।

तेस्रो हार व्यहारेको रुवान्डाको सात खेलबाट आठ अंक छ । हारका बाबजुद टोली दोस्रो स्थानमा छ ।

बुढा पुस्तालाई इन्चार्जको जिम्मेवारी दिइनु अलि मिलेन : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले पार्टीको कार्य विभाजनमा आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेकोमा असन्तुष्टि जनाएका छन्।

उनले आफूसँग कुनै परामर्श नगरी जिम्मेवारी तोकिएको तथा सबैजसो प्रदेशमा युवालाई इन्चार्ज तोकिए पनि सुदूरपश्चिममा आफू (बुढा पुस्ता) लाई तोकेको भन्दै असन्तुष्टि जनाएका हुन्।

मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा रावलले लेखेका छन्, ‘सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मेवारी दिइँदा सुदूरपश्चिम प्रदेशमा मात्र बुढा पुस्तालाई जिम्मेवारी दिइनु अलि मिलेन । त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’

पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैर भौगोलिक प्रदेशमा इन्चार्ज र संयोजकहरूको मङ्गलबार टुङ्गो लगाएको थियो।

678172311_2016927722543067_6867568565094459429_n

बाजुराका किसान स्याउ खेतीप्रति आकर्षित

बाजुरा। बाजुराको अधिकांश किसानको स्याउ खेतीप्रति आकर्षण बढेको छ । गाउँमा सडक सञ्जालको पहुँचमा नहुँदा पहिला यहाँका किसानको खासै स्याउ खेतीप्रति चासो थिएन ।

गाउँबस्ती सडक सञ्जालको पहुँचमा भएसँगै अहिले यहाँको उत्पादन स्याउ पनि देशको ठुला सहर बजारमा बिक्री हुन थालेपछि किसानको स्याउ खेतीप्रति आकर्षण बढेको हो ।

बुढीनन्दा नगरपालिका–८ कृषक चक्रबहादुर कठायतले भने, “स्याउ खेतीले जीविकोपार्जनमा सहज हुने देखिन थालेको छ ।” उनले भने, “पहिला गाउँमा सडक थिएन । गाडी पनि आउँदैन थिए । अहिले गाउँघरमा सडक पुगेपछि दिनानुदिन गाडी पनि घरको आँगनमै आउजाउ गर्न थालेका छन् । उत्पादन गरेको स्याउ पनि त्यसै गाडीमा राखेर बजार बिक्री गरेका छौं ।”

पहिला गाउँमा धान गहुँ जौ लगायतका अन्नबाली बढी लगाउने गरेको भए पनि अहिले स्याउ खेतीले यहाँका स्थानीयको जिविकोपार्जनमा सहज देखिएकाले त्यो जमिनमा अन्नबालीभन्दा स्याउ खेती बढी गर्ने गरेको कठायतले बताए ।

जिल्लाको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा खप्तड छेडेदह लगायतको ठाउँमा स्याउ उत्पादन हुन्छ । बाजुराको सबैभन्दा बढी बडीमालिका–९ र १० को पाण्डुसैनमा स्याउ बढी उत्पादन हुनेगर्छ । त्यसैगरी हिमाली स्वामिकार्तिक खापर र जगनाथमा स्याउ राम्रो फल्छ । अहिले पछिल्लो समय जिल्लाको गौमुल र बडीमालिका र बुढीगङ्गा नगरपालिकामा समेत स्याउ उत्पादन हुने गरेको छ ।

अहिले यहाँका किसानले उत्पादन गरेको बाजुराको अर्गानिक स्याउ, देशका विभिन्न सहरमा पुग्ने गरेको छ । पहिला बाजुराको हिमाली, स्वामिकार्तिक, बुढीनन्दा, जगन्नाथमा मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले गौमुल र खप्तड छेडेदह गाउँपालिकामा पनि स्याउ फल्न थालेको छ ।

कृषि ज्ञान केन्द्र बाजुराको प्रमुख जसिराम साहनीले, बाजुरामा १७० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको बताए । उनले भने, ‘‘पहिला बाजुरामा थोरै स्याउ उत्पादन हुने गथ्र्यो । त्यो स्याउ पनि कतै बिक्री नभएर त्यहाँका किसानले गाई गोरुलाई खुवाउँथे । अहिले जिल्लामा उत्पादन भएको अग्र्यानिक स्याउ कृषि ज्ञान केन्द्रको ढुवानी अनुदानमा देशका विभिन्न सहरमा बिक्री हुन्छ ।’’

पहिला लोकल स्याउ मात्र उत्पादन हुनेगरेको बाजुरामा अहिले फुजी, गाला र गोल्डेन जातको समेत स्याउ उत्पादन हुनेगरेको छ । गत वर्षमा यहाँ एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । त्यसमा झण्डै ६ सय मेट्रिक टन स्याउ देशको विभिन्न सहरमा बिक्री गरेको कार्यालय प्रमुख साहनीले बताए ।

‘लालीबजार’ प्रदर्शन रोक्न अदालतको अल्पकालीन आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले मंगलबार प्रदर्शन रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायत निकायका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले यही वैशाख २२ सम्म चलचित्र प्रदर्शन रोक्न आदेशमा भनेको छ ।

चलचित्रका कतिपय शब्दहरूमा आपत्ति जनाउँदै बादी समुदायको तर्फबाट रोशनी नेपालीले रिट दिएकी थिइन् । वैशाख १४ गते दिएको उक्त रिटमा सुनुवाइ सकिएपछि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उक्त प्रकरणमा मन्त्रालयसहितका निकायलाई १५ दिनभित्र कारणसहितको लिखित जवाफ पेस गर्न समेत आदेश भएको छ । वैशाख २२ गते रिट निवेदक र विपक्षी निकायबीच संयुक्त इजलासमा दोहोरो छलफल हुनेछ । त्यसपछि आज दिएको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने विषयको टुंगो लाग्नेछ ।

अन्तरिम आदेशले निरन्तरता पाए रिटको अन्तिम किनारा नलागेसम्म चलचित्र प्रदर्शन रोकिनेछ । यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ यही वैशाख १८ देखि प्रदर्शनको तयारीमा थियो ।

सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा

सरकारले दुई वटा अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपति कार्यालयमा पठाएको छ।

सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

उक्त अध्यादेशहरू जारी गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।

सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरू जारी गर्ने संवैधानिक व्यवस्था छ।

‘हिजोको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ,’ स्रोतले भन्यो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबारको मन्त्रिपरिषदका ३ वटा निर्णय मात्रै सुनाएका थिए, जसमा अध्यादेश सिफारिस गरिएको विषय थिएन।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले ती अध्यादेशहरू अध्ययनमा रहेको बताएका छन्।

‘अध्यादेशहरू अध्ययनकै क्रममा छन्,’ उनले भने।

सरकारले संघीय संसदका दुवै अधिवेशन आह्वान गरिसकेर स्थगन गर्न राष्ट्रपतिसमक्ष आग्रह गरी स्थगन भएपछि अध्यादेश ल्याएको हो।

नियमित अधिवेशन ‘छलेर’ सरकारले अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने विरोध गरेको छ।

 

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको छ । हालसम्म करिब १५ प्रतिशत वन क्षेत्र यसको चपेटामा परिसकेको छ । प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज बिष्टका अनुसार विशेषगरी चुरे क्षेत्रका वनमा डढेलोको प्रभाव अत्यधिक देखिएको छ । जसले वन संरक्षण, जैविक विविधता तथा स्थानीय समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ ।

निर्देशक विष्टले मैदानी क्षेत्रको तुलनामा चुरे क्षेत्रका वनमा डढेलो बढी लागेको बताए । उनले मैदानी क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूह र वन कर्मचारीको सक्रियताले डढेलोलाई तुलनात्मक रूपमा सजिलै नियन्त्रण गर्न सकिने भए पनि चुरे क्षेत्रको भौगोलिक विकटता नै प्रमुख चुनौतीका रूपमा उभिएको बताए ।

“चुरे क्षेत्र भिरालो, दुर्गम र सडक सञ्जालविहीन छ, डढेलो लागेको स्थानमा पुग्नै जोखिमपूर्ण हुन्छ, कतिपय स्थानमा पुग्नै सकिँदैन,” उनले भने, “त्यसमाथि आधुनिक यन्त्र र उपकरणको अभाव छ, जसले नियन्त्रण झन् कठिन बनाएको छ ।”

वन सुरक्षाकर्मी र कर्मचारीलाई डढेलो नियन्त्रणका लागि चुरे क्षेत्रमा पैदलनै जानु पर्ने भएकाले त्यो निकै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । यसले गर्दा सानो आगो ठूलो डढेलोमा परिणत हुने जोखिम बढ्दै गएको छ ।

उनका अनुसार, डढेलो लाग्नुका कारणमा मानवीय गतिविधि प्रमुख रहेको छ । स्थानीय गोठालाले छिट्टै हरियो घाँस उमार्ने आशामा आगो लगाउने, च्याउ टिप्ने क्रममा आगो बाल्ने, खेतबारीमा गहुँका नल पोल्ने तथा नाली सरसफाइ गर्दा लगाइएको आगो वन क्षेत्रमा फैलिने कारणले डढेलो निम्त्याउने गरेको पाइन्छ ।

यसका साथै प्राकृतिक कारण र जलवायु परिवर्तनले पनि डढेलोको जोखिम बढाएको छ । विशेषगरी ‘अलनिनो’को प्रभावका कारण तापक्रम बढ्दै जाँदा वन क्षेत्रमा चिस्यान घट्ने र सुख्खापन बढ्ने हुँदा आगो सल्किने सम्भावना उच्च हुन्छ । त्यसको प्रभाव सुदूरपश्चिमका वन क्षेत्रमा पनि परेको छ ।

“अलनिनो प्रशान्त महासागरको सतह तापक्रम असामान्य रूपमा बढ्ने जलवायु प्रणाली हो, जसले तापक्रम वृद्धि, वर्षा ढाँचामा परिवर्तन र खडेरीको अवस्था सिर्जना गर्छ” वन निर्देशक बिष्टले भने, “यस्तो अवस्थामा वन क्षेत्र अत्यधिक सुक्खा हुने भएकाले सानो लापरवाहीले पनि ठूलो डढेलो निम्त्याउन सक्छ ।” उनी भन्छन्, “जति तापक्रम बढ्दै जान्छ, त्यति नै डढेलोको जोखिम र क्षति पनि बढ्दै जान्छ ।”

डढेलोका कारण वन्यजन्तुको बासस्थान नष्ट हुनुका साथै जडीबुटी, घाँस र काठलगायतका वन पैदावारमा ठूलो क्षति पुग्ने गरेको छ । यसले वनमा आश्रित स्थानीय समुदायको दैनिक जीवन र आयआर्जनमा प्रतिकूल प्रभाव पारेको पार्दै आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवस्था भने विगतका वर्षको तुलनात्मक रूपमा नियन्त्रणमै रहेको छ । निकुञ्जका सहायक मुख्य संरक्षण अधिकृत विनयकुमार झाका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष निकुञ्ज क्षेत्रमा डढेलो कम मात्रामा लागेको छ ।

निकुञ्ज प्रशासनले डढेलो नियन्त्रणका लागि पूर्वतयारीलाई प्राथमिकता दिएको जनाएको छ । सामुदायिक वन क्षेत्रमा भने जोखिम बढ्दै गएको सरोकारवालाले बताएका छन् ।

सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीका अनुसार सामुदायिक वनका पदाधिकारी र उपभोक्ता दिगो वन व्यवस्थापन कार्यविधि छिट्टै लागू गर्नुपर्ने मागसहित केही दिनदेखि आन्दोलनमा रहेकाले वन संरक्षणमा आवश्यक ध्यान पुग्न सकेको छैन । -रासस

९ महिनामा वाणिज्य बैंकहरूले ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाए

काठमाण्डाै- चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) मा वाणिज्य बैंकहरूको नाफा १९ दशमलव ३० प्रतिशतले बढेको छ ।

आज सार्वजनिक विवरण अनुसार २० वटा वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ४९ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका छन् । गएको वर्षको यही अवधिमा वाणिज्य बैंकहरूले ४१ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका थिए ।

यसमा १३ वटा बैंकको नाफा बढेको छ भने ७ वटाको नाफा घटेको छ । रकमका आधारमा नबिल बैंकले सबैभन्दा धेरै ६ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा नबिलको नाफा ३३ दशमलव ९२ प्रतिशतले बढेको छ ।

यस्तै प्रतिशतका आधारमा कुमारी बैंक सबैभन्दा अघि छ । यस अवधिमा कुमारी बैंकको नाफा १ हजार ३६१ दशमलव ७६ प्रतिशतले बढेको छ । कुमारीले ४ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको छ ।

यस अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै ५४ दशमलव ६१ प्रतिशतले घटेको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट बैंकको ३० दशमलव ६९, कृषि विकास बैंकको २४ दशमलव ४२, एनआईसी एशिया बैंकको नाफा १० दशमलव ४९ प्रतिशतले ओरालो लागेको छ ।

 

रुवान्डालाई नेपालले दियाे १०४ रनकाे लक्ष्य

काठमाण्डाै- आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफी क्रिकेटमा नेपालले घरेलु टोली रुवान्डालाई १०४ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनायो । नेपालकी कप्तान इन्दु बर्माले ३३, कविता कुँवरले २४ रन बनाइन् । रुवान्डाकी हेनरिएट इशिम्वेले ३ विकेट लिइन् ।

प्रतियोगितामा नेपालको यो छैटौँ खेल हो । पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेलमा इटाली र तेस्रो खेलमा रुवान्डालाई हराएको थियो । यस्तै नेपाल चौथो खेलमा भानुआतुसँग र पाँचौँ खेलमा अमेरिकासँग पराजित भएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । प्रतियोगिता आउँदो शुक्रवारसम्म चल्नेछ ।

 

देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार विभिन्न सहरको अद्यावधिक मौसम विवरणअनुसार तराईदेखि पहाड तथा हिमाली भूभागसम्म वर्षाको प्रभाव देखिने अनुमान गरिएको हो ।

मौसम विवरणअनुसार भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायतका तराई क्षेत्रका सहरमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छभने राति पनि वर्षा जारी रहने अनुमान छ । यी क्षेत्रमा अधिकतम तापक्रम ३० देखि ३६ डिग्री सेल्सियसको आसपास रहने महाशाखाको भनाई छ । ।

महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा पनि आज दिनभर मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यहाँ अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियस रहने अनुमान गरिएको छभने रातिको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म झर्नेछ ।

पूर्वी पहाडी क्षेत्रका धनकुटा, जिरी, ताप्लेजुङ र ओखलढुङ्गामा पनि वर्षाको प्रभाव देखिनेछ । यी क्षेत्रमा विशेषगरी बेलुका र रातिको समयमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यसैगरी पोखरा, जोमसोम र जुम्ला क्षेत्रमा पनि मेघगर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ ।

पश्चिमी क्षेत्रका धनगढी, नेपालगञ्ज र वीरेन्द्रनगरमा दिउँसो हल्का वर्षा भए पनि रातिको समयमा आंशिक बदली रहने सम्भावना छ । यी क्षेत्रमा वर्षाको सम्भावना तुलनात्मक रूपमा कम देखिएको छ । मौसमविद् सरोज पुढासैनीले हाल देशभर स्थानीय वायुसँगै पश्चिमी वायु प्रणालीको प्रभावका कारण मौसम बदली भई वर्षाको अवस्था बनेको बताए। विभागले मेघगर्जन र चट्याङको जोखिम रहेकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । -रासस

दलको नेता बनेपछि पूर्णबहादुर र शेखरलाई भेट्न पुगे भीष्मराज

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयन भएका भीष्मराज आङ्देम्बेले संसद्मा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

दलको नेता चयन भएपछि आङ्देम्बे नेता खड्कालाई भेट्न पुगेका थिए ।

भेटको फोटो सार्वजनिक गर्दै खड्काले भनेका छन्, मेरा मित्र-प्रिय भाइ मा.भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस पार्टीको संसदीय दलको नेता सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकोमा हृदयदेखि नै हार्दिक बधाईसहित कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।

उनले आङ्देम्बेले संवैधानिक परिषद्को सदस्यको रूपमा थप प्रभावकारी र महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

उनले थपेका छन्, ‘यस पटकको संसद्को संरचनामा नेपाली कांग्रेस दोस्रो ठूलो राजनीतिक दलको रूपमा उपस्थित भयकोले संसद्को समग्र प्रक्रियामा उहाँको भूमिका प्रमुख प्रतिपक्ष दल नेताको हैसियतमा ऐतिहासिक र महत्त्वपूर्ण रहनेछ ।’

आङ्देम्बे पूर्व सहमहामन्त्री समेत हुन् । १४ औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा प्यानलबाट निर्वाचित भएपनि अहिले विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाको पक्षमा उभिएपछि संसदीय दलको नेताको जिम्मेवारी पाएका थिए ।

आङ्देम्बेले आजै पार्टीका अर्का नेता शेखर कोइरालासँग पनि भेट गरेका छन् ।

सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति हर्क राईको आपत्ति

काठमाडौं / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सर्वसाधारणको बासस्थान भत्काउने कार्यप्रति आपत्ति जनाएका छन् ।

आज सामाजिक संजालमार्फत उनले विभिन्न बहाना र धनीपूर्जाको हवाला दिँदै जनतालाई घरबारविहीन बनाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने स्पष्ट पारे ।

उनले लेखेका छन्, ‘विभिन्न बहाना बनाएर धनीपूर्जाको हवाला दिएर जनताको बासस्थान भत्काउने र बेघर बनाउने कृत्यलाई कुनै पनि हालतमा पुष्टी गर्न सकिन्न र पुष्टी गर्नु हुँदैन !’

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष हर्कले वर्तमान सामाजिक र राजनीतिक सन्दर्भमा जनताको पक्षमा उभिनुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘अरूलाई घाउ लाग्दा आफूलाई दुख्नु र सहयोगको भावना प्रकट गरी सकेको सहयोग र संघर्ष गर्नु नै हर्कवाद हो ।’

 

यी हुन् कालो सूचीमा परेका सात निर्माण कम्पनी

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले मंगलवार सार्वजनिक सूचना जारी गर्दै सात वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाइने  कार्यालयले जनाएको छ ।

 

शुक्लाफाँटामा ‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ।

वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो। प्रगतिटोलका किसान परमानन्द जोशी सिँचाइ सुविधा पुगेपछि निकै उत्साहित देखिन्छन्। “पहिले सिँचाइको अभाव हुँदा खेतमा जति मेहनत गरे पनि उब्जनी सन्तोषजनक हुँदैनथ्यो”, उनले भने, “अब खेतमै डिप बोरिङ जडान भएपछि सिँचाइ गर्न कुनै समस्या छैन।” उनका अनुसार पानीको सहज उपलब्धताले उत्पादन बढ्ने अपेक्षा गरिएको छ।

किसानहरूको लामो समयदेखिको सिँचाइ समस्या समाधान गर्न सुदूरपश्चिम प्रदेश सरकारको पहलमा २५ लाखभन्दा बढीको लगानीमा डिप ट्युबवेल जडान गरिएको हो। उक्त योजना प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह महराको संसदीय विकास कोषबाट विनियोजित बजेटमार्फत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कार्यान्वयन गरेको हो।

वडाध्यक्ष लालबहादुर ऐरका अनुसार डिप ट्युबवेल सञ्चालनमा आएपछि प्रगतिटोलका ५० भन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन्। “सिँचाइको समस्या ल्याएर किसानहरू पटक–पटक धाउदै आएका थिए”, उनले भने, “त्यही माग मन्त्रीसमक्ष राख्दा उनले कोषमार्फत बजेट विनियोजन गरी योजना कार्यान्वयनमा ल्याए। उनका अनुसार अब सिँचाइ अभावका कारण बाँझोजस्तै रहेका खेतहरूमा अन्नबाली, तरकारी तथा अन्य नगदे खेती विस्तार गर्न सकिने भएको छ। यसले स्थानीय किसानहरूको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्थानीय किसान हरिकृष्ण चौधरीले डिप बोरिङ जडानसँगै व्यावसायिक खेतीतर्फ आकर्षण बढेको बताए।

“पहिले पानीको अभावका कारण थोरै जमिनमा मात्रै तरकारी र वसन्ते मकैखेती गथ्र्यौं”, उनले भने, “विद्युतीय मोटर प्रयोग गरेर पानी तान्दा पनि पर्याप्त सिँचाइ गर्न घण्टौँ लाग्थ्यो, तर अहिले त्यो समस्या हटेको छ।” उनका अनुसार अब व्यावसायिक तरकारीखेती गरी राम्रो आम्दानी गर्ने लक्ष्य लिइएको छ। डिप ट्युबवेलको क्षमता करिब ६० बिघा जमिनमा सिँचाइ पु¥याउने रहेको बताइएको छ।

यसले कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने स्थानीयको विश्वास छ। केही पूर्वाधार अझै अधुरै रहेको किसानहरूले बताएका छन्। स्थानीय किसान यशोदा भट्टका अनुसार हाल बोरिङ गाड्ने काम मात्रै सम्पन्न भएको छ भने पानी वितरणका लागि आवश्यक पाइपलाइन विस्तार हुन बाँकी छ। “आउँदो बजेटमा पाइपलाइन विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न वडा कार्यालयमार्फत सम्बन्धित निकायसँग अनुरोध गरेका छौँ”, उनले भनिन्।

उनका अनुसार सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न सकिए मात्रै सबै किसानसम्म समान रूपमा पानी पु¥याउन सकिनेछ। अन्यथा केही क्षेत्र मात्र लाभान्वित हुने र बाँकी किसान अझै समस्या झेल्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।

खक्रौलामा ‘क्वारेन्टाइन’ स्थापना गर्न आग्रह

टीकापुर: कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलामा क्वारेन्टाइन स्थापना गर्न स्थानीयले आग्रह गरेका छन्।

आज सीमा क्षेत्रको अनुगममा आएका तीनै तहका जनप्रतिनिधि सम्मिलित टोलीसँग स्थानीयले क्वारेन्टाइन स्थापना, सीमाबाट भित्रिने लागूऔषध नियन्त्रणलगायत समस्या समाधान गरिदिन आग्रह गरेका हुन्।अनुगमन टोलीमा सहभागी प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली, प्रदेशसभा सदस्यद्वय लक्ष्मणकिशोर चौधरी, ललिता सुनार र टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीसँग स्थानीयले आफ्ना समस्याबारे गम्भीर भइदिन आग्रह गरेका थिए।

टीकापुर– ८ बटनपुरका उमेश साउदले खाद्य क्वारेन्टाइन नभएकाले सीमा नजिक भएका नागरिकले भारतबाट भन्सार तिरेर आलु, प्याजलगायत खाद्यान्न ल्याउन नपाएको गुनासो गरे। ‘क्वारेन्टाइन भए यहीबाट परीक्षण गरेर आवश्यक खाद्यान्न ल्याउन सकिन्थ्यो, हाल स्थानीय नागरिक र व्यापारीलाई यो बाटोबाट सामान ल्याउन कठिन छ’, उनले भने,’सत्ती भन्सारमा आवश्यक पूर्वाधार विकास गरेर समस्या समाधानका लागि आग्रह गरेका छौँ।’

स्थानीय व्यापारी टंकप्रसाद ढुङ्गानाले तीनै तहका जनप्रतिनिधि सहभागी भएको उक्त टोलीलाई सीमा समस्या र सत्ती भन्सार कार्यालयको विकासका लागि आवश्यक सहजीकरणका लागि  ध्यानाकर्षण गराइएको बताए। उद्योग वाणिज्य सङ्घ, टीकापुरका सचिव प्रकाश शाहले तीनै तहका सरकारले भन्सार विकासका लागि ध्यान दिनुपर्ने बताए।

‘टीकापुरका व्यापारीले खाद्य तथा पशुसम्बन्धी सामान ल्याउँदा गुणस्तर जाँच्न धनगढीको बाटो भएर ल्याउनुपर्ने बाध्यता छ’, उनले भने, ‘एक सयभन्दा माथिको भन्सार लाग्ने निर्णय जसरी कार्यान्वयन गर्नुभएको छ, त्यसैगरी अन्य विषयमा पनि कडाइ गरेमा यसले दीर्घकालीन रूपमा नेपाली व्यापारी र उपभोक्ता दुवैलाई फाइदा गर्छ।’

नगरपालिका— ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले मोहना नदीको पुल पारी दशजगा क्षेत्रमा नेपालीको केही जमिन परेकाले त्यहाँसम्म पुग्ने बाटो निर्माणका लागि आग्रह गरे। उनले सशस्त्र द्वन्द्वका क्रममा सत्तीबाट विस्थापित भएको पशु क्वारेन्टाइन पुनःस्थापना हुन नसकेको भन्दै यसतर्फ ध्यान दिन आग्रह गरे।

सत्ती भन्सार कार्यालयका प्रमुख चक्रबहादुर सोनीले यहाँ पशु, खाद्य तथा प्लान्ट क्वारेन्टाइन भएमा राजश्व सङ्लनमा समेत वृद्धि हुने बताए। ‘आवश्यक क्वारेन्टाइन नभएकाले यो बाटोबाट धेरै सामान आउँदैन, जसले राजस्वमा असर परिरहेको छ’, उनले भने। त्यसक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगार्जीले भन्सारलाई व्यवस्थित बनाउन आवश्यक कार्यालय र पूर्वाधार निर्माणमा सघाउन अनुरोध गरे।

सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले मूल भन्सार भए पनि सोअनुसार विकास हुन नसकेकाले सङ्घीय सरकारको समन्वयमा तीनै तहका सरकारले आवश्यक काम गर्नुपर्ने बताए। प्रतिनिधिसभा सदस्य ज्ञवालीले स्थानीयका माग लिएर संसद्मा आवाज उठाउने, क्वारेन्टाइन स्थापनाका लागि बजेट सुनिश्चित गर्न सम्बन्धित मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाए।

‘सत्ती भन्सारको विकास, सीमा क्षेत्रका नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्नेछु। सबै मिलेर यहाँका समस्या समाधान गर्नुपर्छ’, उनले भने। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रकाश डाँगी र सीमास्थित ‘विओपी’ कार्यालयका सशस्त्र प्रहरी प्रमुख देवराज विष्टले आफूहरूले सीमा क्षेत्रमा हुने अवाञ्छीत गतिविधि नियन्त्रणमा ध्यान दिइरहेको बताएका छन्।

अर्थ मन्त्रालयले सार्वजनिक गर्यो देशको वर्तमान आर्थिक स्थितिपत्र

काठमाण्डाै– अर्थ मन्त्रालयले देशको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ । यसअघि पदभार ग्रहणका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक अवस्थाबारे प्रतिवेदन तयारी गरी सार्वजनिक गर्ने घोषणा गरेका थिए ।

त्यसैअनुसार अर्थ मन्त्रालयले आज अर्थतन्त्रको वर्तमान अवस्था उल्लेख गरी स्थितिपत्र, अबको चुनौती र भावी कार्ययोजना समेटेर श्वेतपत्र सार्वजनिक गरेको हो । विगत एक दशकको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत मात्र रहेको र चालू आर्थिक वर्ष २०८२/८३ मा वृद्धिदर जम्मा ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण मन्त्रालयको छ ।

आउँदो आर्थिक वर्षदेखि औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर नाघ्ने अनुमान छ । अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुर्‍याउँदै नेपाललाई सम्मानजनक मध्यम आय भएको देश बनाउने आधार रहेको समेत अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

विगतमा कतिपय आर्थिक नीतिले अपेक्षित नतिजा दिन नसक्नुको मुख्य कारण कमजोर कार्यान्वयन क्षमता, वित्तीय साधनको कमी र सीमित वित्तीय साधनको प्राथमिकता निर्धारण गरी कुशल विनियोजन गर्न नसक्नु रहेको विश्लेषण गरिएको छ ।

यो स्थितिपत्र आउँदा दिनमा यथार्थपरक नीति निर्माण गर्न, वित्तीय स्रोतको कुशल परिचालन गर्न, प्राथमिकता निर्धारण गर्न र कार्यान्वयनको पक्षलाई नतिजामुखी बनाउँदै आर्थिक स्थायित्वसहित उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना र आर्थिक समावेशीता कायम गर्न एक मार्गनिर्देशक दस्तावेजका रूपमा सहयोगी हुने अपेक्षा अर्थ मन्त्रालयले गरेको छ ।

सार्वजनिक ऋण बढेर २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ जसले गर्दा सावाँ र ब्याज भुक्तानीमै बजेटको ठूलो हिस्सा खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ । अर्थतन्त्रको दिगो रूपान्तरणका लागि जलविद्युत्, सूचना प्रविधि, पर्यटन र उद्यमशीलतालाई मुख्य संवाहक मानेर नीतिगत तथा संरचनात्मक सुधार गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ ।

 

सरकारको आर्थिक स्थितिपत्र : अन्य क्षेत्र संकुचनमा रहँदा ऊर्जामा फड्को

काठमाडौं- नेपालको अन्य क्षेत्र संकुचनमा रहे पनि ऊर्जा क्षेत्रले अभूतपूर्व फड्को मारेको सरकारी तथ्यांकमा देखिएको छ । अर्थ मन्त्रालयले जारी गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र’मा विगत एक दशकमा ऊर्जा क्षेत्रले अभूतपूर्व फड्को मारेको उल्लेख छ ।

स्थितिपत्रअनुसार ०६८ असारसम्म जम्मा ६९७.८५ मेगावाट रहेको विद्युत् जडित क्षमता ०८२ फागुन मसान्तसम्म आइपुग्दा करिब ६ गुणाले बढेको छ । जसअनुसार चार हजार १०५ मेगावाट पुगेको छ ।

विद्युत् उत्पादनमा भएको यो बढोत्तरीसँगै कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युत् पहुँच पुग्नुलाई सरकारले ऊर्जा क्षेत्रको ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ ।

“नेपाल अहिले वर्षायाममा विद्युत् खुद निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ, तर हिउँदको माग धान्न अझै पनि आयातमा निर्भर हुनुपर्ने बाध्यता भने टरेको छैन,” स्थितिपत्रमा भनिएको छ ।

सरकारले आगामी ५ वर्षभित्र कुल विद्युत् जडित क्षमतालाई १५ हजार मेगावाट पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ । यसका लागि राष्ट्रिय गौरवका आयोजनाको निर्माणलाई तीव्रता दिने र रणनीतिक महत्त्वका नयाँ आयोजनाहरू विकास गर्ने योजना स्थितिपत्रमा उल्लेख छ । हाल ८३ हजार मेगावाटको जलविद्युत् क्षमतामध्ये चार हजार १०५ मेगावाट मात्र उपयोगमा आएको र यसलाई समृद्धिको मुख्य संवाहक बनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रसारण लाइन र ऊर्जा सुरक्षाको चुनौती उत्पादन बढे पनि निजी क्षेत्रबाट उत्पादित विद्युत् उपभोक्तासम्म पुर्‍याउन र निर्यातका लागि पर्याप्त प्रसारण लाइन नहुनु प्रमुख चुनौतीका रूपमा देखिएको छ । हिउँदमा उत्पादन घट्ने समस्या समाधानका लागि अब सरकारले जलाशययुक्त आयोजना र सौर्य ऊर्जालाई प्राथमिकतामा राख्नुपर्ने स्थितिपत्रको ठहर छ ।

सुस्त आर्थिक वृद्धि र बढ्दो ऋणमा जलविद्युत्‌मा उत्साह देखिए पनि मुलुकको समग्र आर्थिक वृद्धिदर भने केही सुस्त देखिएको छ । आर्थिक वर्ष ०८१/८२ मा ४.६१ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष ०८२/८३ मा ३.५ प्रतिशत मात्र रहने प्रक्षेपण गरिएको छ ।

मुलुकको सार्वजनिक ऋणको भार पनि उल्लेख्य रूपमा बढेको छ । ०८२ फागुन मसान्तसम्म सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.८ प्रतिशत हो । यस्तै, राजस्व परिचालन लक्ष्यको तुलनामा न्यून (८७.६ प्रतिशत) रहेको र चालु खर्चको हिस्सा ६६.८ प्रतिशत जस्तो उच्च रहनुले वित्तीय सन्तुलनमा दबाब सिर्जना गरेको उल्लेख छ ।

विप्रेषण (रेमिट्यान्स) र सञ्चितिमा राहत अर्थतन्त्रका बाह्य सूचक भने सुविधाजनक अवस्थामा छन् । रेमिट्यान्स आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भई ०८२ फागुनसम्म १४ खर्ब ४९ अर्ब रुपैयाँ भित्रिएको छ । यसकै कारण विदेशी मुद्रा सञ्चिति ३४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ, जसले साढे १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने देखिन्छ ।

सरकारले अबको कार्यदिशा ‘रेन्ट–सिकिङ’ (बिचौलियामुखी) अर्थतन्त्रलाई उत्पादन र रोजगारी केन्द्रित दिगो वृद्धिमा रूपान्तरण गर्ने बताएको छ । जलविद्युत्, पर्यटन र सूचना प्रविधिलाई यस रूपान्तरणका मुख्य सम्वाहकका रूपमा पहिचान गरिएको छ ।

खोज्नुहोस