पैसा धेरै भएपछि आज राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब झिक्दै

द एभरेष्ट पोष्ट
१७ वैशाख २०८३ १३:४३
पैसा धेरै भएपछि आज राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब झिक्दै

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत १ खर्ब २० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लिखित रकम झिक्न थालेको हो । सोही क्रममा आज ९७ दिनका लागि करिब सवा एक खर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

बजारमा रहेको तरलता तत्काल घट्ने सम्भावना नदेखिएपछि यसअघि छोटो अवधिका लागि पैसा झिकिरहेको राष्ट्र बैंकले पछिल्ला दिनहरुमा केही लामो अवधिका लागि पैसा झिकिरहेको छ । सोही क्रममा आज भने करिब साढे ३ महिनाका लागि उक्त पैसा निकाल्न लागेको हो । बुधबार पनि राष्ट्र बैंकले ४९ दिनका लागि ४० अर्ब रुपैयाँ झिकेको थियो ।

पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको छ ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उकरणमा लगानीका लागि घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस