प्रतिनिधिसभा बैठक : ६ मध्ये ४ दलका नेताद्वारा मन्तव्य राख्न समय माग

आज (बिहीबार)का लागि तय भएको प्रतिनिधिसभा बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने ६ मध्ये ४ दलका नेताहरूले मन्तव्य राख्न समय माग गरेका छन्।

सरकारको नेतृत्व गरिरहेको मुख्य दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले आजको बैठकमा मन्तव्य राख्ने तय भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट वर्षामान पुन मगरले मन्तव्य राख्ने तय भएको छ।

अहिलेसम्म श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कसैको पनि नाम नआएको उनले नागरिकन्युजलाई जानकारी दिए। यद्यपी नाम आएको खण्डमा यी दुई दलका नेतालाई पनि आफ्नो मन्तव्य राख्न दिइने उनले बताए।

सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो २ बजे संसद् बैठक बस्न लागेको हो।

फागुन २१ गतेको निर्वाचनपछिको नयाँ जनादेश अनुसार आज पहिलो पटक प्रतिनिधिसभा बैठक बस्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने छन्।

बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधि सभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिए। सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन्।

बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।

मानवसहितको यान ‘आर्टिमिस २’ सफलतापूर्वक प्रक्षेपण

काठमाण्डौ- अमेरिकी अन्तरिक्ष निकाय नासाले ‘आर्टिमिस-२’ नामक चन्द्र अभियान सफलतापूर्वक प्रक्षेपण गरेको छ । अमेरिकाको फ्लोरिडा केप क्यानावेरलमा रहेको केनेडी स्पेस सेन्टरबाट उडेको यो अन्तरिक्षयानले अहिले पृथ्वीको फन्को मारिरहेको छ ।

यो अन्तरिक्ष मिसनमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइजमन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेरेमी ह्यान्सन हुनुहुन्छ । अभियानमा संलग्न चालक दल सुरक्षित तथा ठूलो उत्साहमा रहेको नासाले जनाएको छ । कुल १० दिन यो यानमा बिताउने अन्तरिक्षयात्रीले चन्द्रमामा पाइला नटेक्ने तर चन्द्रमाको फन्को मार्ने योजना बनाएका छन् ।

यो मिशन मानिसलाई पुनः चन्द्रमातर्फ लैजाने ऐतिहासिक योजनाको महत्त्वपूर्ण चरण हो । यस अभियानमा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको वरिपरि परिक्रमा गर्नेछन् र पृथ्वीमा फर्कनेछन् । चालक दलले अन्तरिक्षबाट पृथ्वी र चन्द्रमाको अद्भूत दृश्यहरूको अनुभव गरिरहेका छन् । नासाका अन्तरिक्षयात्री रिड वाइजमनले भव्य दृश्य र गजबको चन्द्रोदय देखेको बनाएका छन् ।

यो मिशनले भविष्यमा मानवलाई चन्द्रमामा अवतरण गराउने र त्यसपछि मंगल ग्रहसम्मको यात्राको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको नासालाई उद्धृत गरी बीबीसीले जनाएको छ । सन् १९६० र ७० को दशकमा प्रसिद्ध ‘अपोलो’ मिसनमा मानिसले चन्द्रमामा पाइला टेकेका थिए ।

इरानमा चलिरहेको सैन्य कारवाही सफलता नजिक : ट्रम्प

काठमाण्डौ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन् । ह्वाइट हाउसबाट देशका नाममा विशेष सम्बोधन गर्दै ट्रम्पले अमेरिकी सैन्य उद्देश्य पूरा हुने क्रममा रहेको र निकट भविष्यमा पूर्णता दिने बताए ।

ट्रम्पले अबको २र३ हप्ता अमेरिकाले इरानमाथी कडा आक्रमण गर्ने र लक्ष्य पूरा गर्ने चेतावनी दिएका छन् । उनले इरानी नौसेना समाप्त भएको, वायुसेना भग्नावशेषमा परिणत भएको, आणविक कार्यक्रम ध्वस्त पारेको दाबी गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पका अनुसार इरानको मिसाइल र ड्रोन प्रहार गर्ने क्षमता अहिले व्यापक रूपमा कटौती भएको छ । क्षेत्रीय सुरक्षाका विषयमा ट्रम्पले इजरायल र खाडी देशहरुलाई अमेरिकाले कहिल्यै असफल हुन नदिने आश्वासन पनि दिएका छन् ।

साथै, उनले सहयोगी देशहरुलाई हर्मुज जलसन्धिको सुरक्षाका लागि आफैँ अघि बढ्न आग्रह गरेका छन्  । गएको फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण शुरू गरेका थिए । जसमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएपछि मध्यपूर्वमा द्वन्द्व चर्किएको हो ।

डडेलधुरा अस्पतालमा विशेषज्ञ सेवा

डडेलधुरा, चैत १९ गते । सरकारले काजमा बसेका चिकित्सकलाई दरबन्दी रहेको कार्यालयमा पठाउँदा डडेलधुरा अस्पतालले चार जना विशेषज्ञ चिकित्सक पाएको छ । पहुँचका भरमा सुगम क्षेत्रमा काजमा बसेका विशेषज्ञ चिकित्सकलाई दरबन्दी रहेको कार्यस्थलमा फर्काउने सरकारी अभियान अन्तर्गत डडेलधुरा अस्पतालका चार जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गरिएपछि अस्पतालले पुनः चिकित्सक पाएको हो । सङ्घीय सरकारमातहत रहेको सुदूरपश्चिमको एक मात्रै डडेलधुरा अस्पतालमा विषय विशेषज्ञ चिकित्सक नबस्दा पहाडी ग्रामीण भेगका गरिब, निमुखा जनता खर्चिलो उपचार गर्न बाध्य थिए  ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको निर्णयपछि स्वास्थ्य सेवामा सन्तुलन कायम गर्ने उद्देश्यसहित पहिलो चरणमा १४ जना नवौँ र १० औँ तहका विशेषज्ञ चिकित्सकलाई मूल कार्यस्थलमा फिर्ता पठाइएको छ । सो निर्णयानुसार डडेलधुरा अस्पतालमा दरबन्दी रहेका चार विशेषज्ञ चिकित्सकलाई पनि काजबाट फिर्ता बोलाइएको छ ।

काज फिर्ता हुने चिकित्सकमा नवौँ तहका डा. सन्तोषकुमार गुप्ता, कन्सल्टेन्ट डर्माटोलोजिस्ट, डा. मिसन्ता शर्मा, कन्सल्टेन्ट सर्जन डा. नवीनचन्द्र भट्ट र वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सुयोग्य वाग्ले रहेका छन् । उनीहरू हाल विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय तथा स्वास्थ्य संस्थामा काजमा कार्यरत थिए । मन्त्रालयका अनुसार दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव हटाउने, लामो समयदेखि सुगम रोज्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने र स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो कदम चालिएको हो ।

सो निर्णयपछि डडेलधुरा अस्पतालमा विशेषज्ञ सेवामा सुधार आउने र स्थानीय नागरिकले आफ्नै जिल्लामा सहज रूपमा उपचार सेवा पाउने अपेक्षा गरिएको छ । यसका लागि आफूहरू र आफ्नो पार्टीले विशेष पहल थालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेलधुराका सभापति सुरेन्द्र अवस्थीले प्रतिक्रिया दिएका छन् । उनले एक दिनअघि मात्रै डडेलधुराका समानुपातिक प्रतिनिधि सभा सदस्य आकृति अवस्थीलगायत आफूहरूले स्वास्थ्यमन्त्रीलाई भेटेर समस्याबारे जानकारी गराएको बताए । प्रतिनिधि सभा सदस्य अवस्थीले अस्पतालका सवाल र समस्याबारे स्वास्थ्यमन्त्रीलाई जानकारी गराएपछि चिकित्सकको काज फिर्ता भएको प्रतिक्रिया दिए।

मन्त्री रावलले सहकारी पीडितसँग थालिन् छलफल

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग प्रत्यक्ष छलफल सुरु गरेकी छिन् । सरकारले सय दिनभित्र साना सहकारी बचतकर्तालाई रकम फिर्ता गराउने लक्ष्यसहित अघि बढिरहेका बेला मन्त्री रावलले पीडितहरूसँग संवाद थालेकी हुन् ।

बिहीबार (चैत १९) देखि मन्त्रालयमा देशभरका विभिन्न सहकारीका पीडितहरू भेला भई मन्त्री रावलसँग आफ्ना समस्या र गुनासा राख्न थालेका छन् । लामो समयदेखि बचत फिर्ता नपाउँदा मारमा परेको उनीहरूको भनाइ छ।

छलफलका क्रममा मन्त्री रावलले पीडितहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको बताइन् । “पीडितहरूको सम्बोधन कसरी प्रभावकारी रूपमा गर्ने भन्ने विषयमा मन्त्रालय गम्भीर छ,” उनले भनिन् ।

सरकारले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न चरणबद्ध रूपमा काम अघि बढाएको र विशेषगरी साना बचतकर्तालाई राहत दिने योजनामा केन्द्रित रहेको मन्त्री रावलको भनाइ छ।

उक्त छलफलले सहकारी पीडितहरूको समस्या समाधानतर्फ ठोस पहल हुने अपेक्षा गरिएको छ ।

संसद्‌मा आज रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

आजबाट प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा लामिछानेले सम्बोधन गर्ने भएका हुन् ।

रास्वपाका प्रवक्ता मनिष झाले सभापति लामिछानेले सम्बोधन गर्ने जानकारी दिए ।

रास्वपा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हो । २१ फागुनमा सम्पन्न निर्वाचनबाट २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सहित सबैभन्दा ठूलो दलको रुपमा आएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्यसुनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

विघटित प्रतिनिधिसभामा रास्वपा २१ सिटसहित चौथो दलको रुपमा रहेको थियो । चौथो दलबाट रास्वपा पहिलो दल बनेको हो । दुई तिहाइ नजिकको शक्तिशाली सरकार रास्वपा एक्लैले बनाएको छ ।

अन्य दलबाट भने संसदीय दलका नेताहरूले सम्बोधन गर्दैछन् ।

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बोल्दैछन् । श्रम संस्कृति पार्टीका हर्क साम्पाङ बोल्दैछन् ।

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन । तर कांग्रेसको तर्फबाट भिष्मराज आङदाम्बेले सम्बोधन गर्दैछन् ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको सांसद मोहन आचार्यले जानकारी दिए ।

‘बिहान ११ बजे दलको बैठक आह्वान भएको छ,’ सांसद आचार्यले रातोपाटीसँग भने, ‘पहिलो बैठकमा कसरी प्रस्तुत हुने ? भन्नेबारे छलफल गर्न बोलाइएको हो ।’

फागुन २१ गते सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधि सभाको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने बैठकमा पार्टीबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकमा छलफल हुनेछ ।

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

५ पार्टीका संसदीय दल नेता टुंगो, कांग्रेसमा ढिला

काठमाडौँ — संसद्मा भएका रास्वपा, एमाले, नेकपा र राप्रपाले संसदीय दलको नेता चयन गरिसक्दा अन्तरकलहका कारण कांग्रेसको दल नेता चयनमा ढिलाइ भएको छ । श्रम संस्कृतिबाट पार्टी अध्यक्ष हर्कराज राई (साम्पाङ) दल नेता हुने निश्चित भए पनि निर्णय हुन बाँकी छ । बिहीबारदेखि संसद् सुरु हुँदै छ ।

संसद्मा दल नेता र सचेतकको महत्त्वपूर्ण भूमिका हुने भएकाले वरिष्ठ नेता र सांसदहरूको दाबी रहने गरेको छ । रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह दलको नेता चयन भई प्रधानमन्त्रीको कार्यभार सम्हालिसकेका छन् । रास्वपा दल उपनेता, मुख्य सचेतक र सचेतक चयनको गृहकार्यमा लागेको छ । सुरुमा सभामुख र उपसभामुख टुंग्याएपछि अरू विषयमा अघि बढ्ने रास्वपाले जनाएको छ । रास्वपाबाट सभामुख भएपछि उपसभामुख अन्य दललाई दिनुपर्नेछ ।

‘प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुने गरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्नेछ,’ संविधानमा उल्लेख छ । रास्वपाले उपसभामुखका लागि संसद्मा रहेका कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति वा राप्रपाका उम्मेदवारलाई समर्थन गर्नुपर्नेछ । रास्वपाको उपनेतामा समीक्षा बाँस्कोटा, प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटी, सचेतक निशा डाँगीको चर्चा भए पनि टुंगो लागेको छैन । ‘सभामुख र उपसभामुखको टुंगो लागेपछि संसद्का अरू पद चयन प्रक्रिया अघि बढ्छ,’ रास्वपाका एक पदाधिकारीले भने ।

कांग्रेसमा आन्तरिक विवाद लम्बिँदा पार्टीको संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । कांग्रेसले संसदीय दलको नेता चयन नगरेकाले दलीय हैसियतमा बिहीबारकै बैठकमा कसले बोल्ने भन्नेसमेत सांसदहरूबीच अन्योल खडा भएको छ । निर्वाचनलगत्तैदेखि सुरु भएको कांग्रेसको आन्तरिक विवाद अझै मत्थर भएको छैन । तत्कालीन सभापति शेरबहादुर देउवाको समूहबाट तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको समानान्तर गतिविधि चलाउँदै आएका छन् । नेता शेखर कोइराला र उनीपक्षीय नेताहरू पनि अहिले त्यही समूहमा छन् ।

विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको अस्तित्व पुरानो संस्थापन पक्षले स्वीकार नगर्दा कांग्रेसभित्र द्वन्द्व बढ्दो छ । यसै कारण पनि संसदीय दलको नेता चयन प्रभावित भएको कांग्रेस नेताहरूको बुझाइ छ । महामन्त्री गुरुराज घिमिरे भने पार्टीको सांगठनिक कामका अन्य व्यस्तताका कारण दल नेता चयनमा केही ढिलाइ हुन गएको बताउँछन् । दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउनकै लागि आगामी शनिबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको उनले बताए ।

‘बैठकले निर्वाचन समिति बनाउनेछ, त्यसपछि दलको नेता चयनको प्रक्रिया अघि बढ्छ,’ घिमिरेले भने । संस्थापन पक्षले पार्टी कमजोर बनेको अवस्थामा दलको नेता चयन सर्वसम्मतिबाट होस् भन्ने चाहना राखेको छ । तर, देउवा पक्ष भने आफ्नो समूहबाट दलको नेता उठाउन सकिने संकेत दिइरहेको छ । यसो गर्दा देउवा पक्षबाट तत्कालीन सहमहामन्त्री भीष्म आङ्दम्बेको नाम चर्चामा छ । पार्टीभित्रको विवादमा आङ्दम्बे मध्यमार्गी भूमिका देखिन चाहेका छन् । यही भूमिकाले उनको नाममा सर्वसम्मति हुन सक्ने अर्का एक पदाधिकारीले बताए ।

विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूमा अर्जुननरसिंह केसी, भरतबहादुर खड्का र मोहन आचार्यको नामसमेत दल नेतामा चर्चामा छ । कांग्रेसमा मात्रै नभई संसद्कै ज्येष्ठ सदस्य छन्, केसी । ज्येष्ठ सदस्य भएकाले सभामुखको निर्वाचनसम्म उनैले संसद्को अध्यक्षता गर्नेछन् । केसीले दलको नेताका लागि केही समयअघि नै चाहना राखेका थिए ।

उनले संसद्को अध्यक्षता गर्ने भूमिकामा रहेकाले पार्टीभित्रको कुरा नगर्ने बताए । ‘मैले संसद्को जिम्मेवारी सकेर फर्केपछि त्यतिबेलै दलको नेतामा के गर्ने भन्नेबारेमा कुरा गर्छु, अहिले फरक जिम्मेवारीमा भएका बेला भन्न मिलेन,’ उनले भने । संसद्मा युवाको बाहुल्य भएकाले पुराना नेताहरूलाई नभएर युवा सांसद निश्कल राईलाई दलको नेता बनाउन पनि कांग्रेसमा लबिइङ भइरहेको छ ।

एमालेले बुधबार उपाध्यक्ष रामबहादुर थापालाई निर्विरोध दलको नेता चयन गरेको छ । संसदीय दलको बैठकले थापालाई दलको नेता चयन गरेको हो । तर यसले एमालेमा विवाद सिर्जना भएको छ । सांसद सुहाङ नेम्वाङले पनि दलको नेतामा दाबी प्रस्तुत गरेका थिए । ‘पार्टीभित्रको यो निराशा र हतासालाई अन्त्य गर्न मैले विष पिएर भए पनि दलको नेता दाबी गर्ने आँट गरेको छु,’ उनले भनेका थिए ।

आजदेखि एसइई परीक्षा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ः०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ ।

यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् ।

परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । यस्तै, चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ ।

परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।

परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।


आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको सुरुमा अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र मन्त्रिपरिषद गठन सम्बन्धी जानकारी दिने छन् ।

संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । संघीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने  संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।

राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो । नवनिर्वाचित सांसदहरुले यही चैत १२ गते शपथ ग्रहण गरेका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।

शीर्ष नेताहरुले सम्बोधन गर्ने

बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको छ ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आज रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ  र राप्रपाबाट ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने तय भएको छ ।

कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेताको नाम भने टुंगो लागिसकेको छैन ।

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस-२ तयारीमा

 फ्लोरिडा । झन्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस-२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने सङ्केत दिएको छ । सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका रूपमा हेरिएको यस अभियानले प्रत्यक्ष अवतरण नगरे पनि भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण आधार तयार गर्ने छ ।

अपोलो कार्यक्रमको झल्को दिने यो मिसनमा चार अन्तरिक्ष यात्री चन्द्रमातर्फ प्रस्थान  गर्ने छन्
। उनीहरू चन्द्रमाको सतहमा अवतरण नगरी त्यसबाट हजारौँ माइल टाढासम्म पुगेर फर्किने छन्। करिब १० दिनभन्दा कम अवधिको यो ‘फ्लाइबाइ’ उडानले चन्द्रमाको परिक्रमा नगरी पृथ्वीमा सिधा फर्कने योजना समेटेको छ ।

यस मिसनमा सहभागी अन्तरिक्ष यात्री रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यानसेन विविधता र अन्तर्राष्ट्रिय प्रतिनिधित्वका दृष्टिले विशेष मानिन्छ । कोचले महिला अन्तरिक्ष यात्रीमध्ये सबैभन्दा लामो एकल अन्तरिक्ष उडान (३२८ दिन) को कीर्तिमान बनाइसक्नु भएको छ र पहिलो सर्वमहिला स्पेसवाकमा पनि सहभागी हुनुभएको थियो । ग्लोभर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बस्ने पहिलो अश्वेत अन्तरिक्ष यात्रीमध्ये एक छन् भने क्यानाडाका ह्यानसेन पहिलो पटक अन्तरिक्ष यात्रामा निस्कँदै छन् ।

वाइजम्यानले अनुभवी कमान्डरका रूपमा टोलीको नेतृत्व गरिरहनुभएको छ । मिसनका लागि प्रयोग गरिने स्पेस लन्च सिस्टम (एसएलएस) रकेट अपोलो युगको स्याटर्न-५ भन्दा छोटो भए पनि प्रक्षेपण शक्तिका हिसाबले अझ शक्तिशाली मानिन्छ । यसको शीर्षमा ओरियन क्याप्सुल रहनेछ, जसले अन्तरिक्ष यात्री बोकेको हुनेछ । तर प्रक्षेपणअघि केही प्राविधिक चुनौती पनि देखिएका छन् । हाइड्रोजन चुहावट र हिलियम प्रवाह सम्बन्धी समस्याले परीक्षण प्रभावित पार्दै प्रक्षेपण समयतालिका केही पछि धकेलिएको छ ।

उडानपछि पहिलो २५ घण्टा अन्तरिक्ष यात्रीले पृथ्वीको उच्च कक्षामा परिक्रमा  गर्ने छन्
। त्यसपछि उनीहरूले भविष्यका चन्द्र अभियानका लागि आवश्यक डकिङ अभ्यास  गर्ने छन्
। सबै प्रक्रिया सफल भएमा ओरियनको मुख्य इन्जिनले यानलाई करिब तीन लाख ९३ हजार किलोमिटर टाढा चन्द्रमातर्फ पठाउने छ । ‘फ्रि-रिटर्न ट्राजेक्टोरी’ प्रयोग गरिने यस उडानमा चन्द्र र पृथ्वीको गुरुत्वाकर्षणको सहायताले इन्धन बचत गरिने छ ।

उडानको छैटौँ दिन यान पृथ्वीबाट सबैभन्दा टाढाको विन्दुमा पुग्ने छ, जुन अपोलो-१३ को रेकर्डभन्दा पनि पर हुने छ । चन्द्रमाबाट करिब आठ हजार किलोमिटर टाढा पुग्दा अन्तरिक्ष यात्रीले चन्द्रमाको टाढाको भाग नजिकबाट अवलोकन गर्ने छन्
। यो क्षेत्र मानव आँखाले प्रत्यक्ष हेर्न पाएको अत्यन्तै दुर्लभ अवसर हुने छ । टोलीले यस क्रममा व्यापक तस्बिर खिच्ने तयारी गरेको छ, जसका लागि अत्याधुनिक क्यामेरा र स्मार्टफोन पनि साथमा लगिने छन् ।

नासाका खगोलविद् केल्सी यङले चन्द्रमालाई ‘विश्वलाई जोड्ने साझा वस्तु’ भन्दै यस मिसनले मानिसलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे। विशेष गरी चन्द्रमाको टाढाको भागबारे प्रत्यक्ष अवलोकनले वैज्ञानिक अनुसन्धानमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । मिसनको अन्त्य अपोलो कार्यक्रम जस्तै प्रशान्त महासागरमा स्प्ल्यासडाउनमार्फत हुने छ ।

पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा ओरियन क्याप्सुलको तातो ढाल सबैभन्दा महत्त्वपूर्ण पक्ष हुने छ, जसले सन् २०२२ को परीक्षण उडानमा कडा परीक्षा सामना गरेको थियो । यस पटक भने अवतरण प्रक्रियालाई छोट्याएर तापीय जोखिम घटाउने योजना बनाइएको छ । समग्रमा, आर्टेमिस-२ मिसनलाई चन्द्रमामा पुनः मानव उपस्थितिको मार्ग तयार गर्ने प्रारम्भिक तर निर्णायक कदमका रूपमा हेरिएको छ, जसले भविष्यमा चन्द्र अवतरण र दीर्घकालीन अन्तरिक्ष अभियानका लागि ढोका खोल्ने छ । रासस/एपी 

चैत २२ देखि पुनः मतदाता नामावली संकलन र अद्यावधिकको काम गरिने

काठमाडौं- निर्वाचन आयोगले चैत २२ गतेदेखि पुनः मतदाता नामावली संकलन र अद्यावधिकको काम थाल्ने भएको छ । आयोगको चैत १८ गतेको वैठकले यस्तो निर्णय गरेको हो । फागुन २१ गते भएको प्रतिनिधि निर्वाचनका कारण गत मंसिर ६ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम स्थगन गरिएको थियो ।

आयोगले एक सूचना जारी गर्दै राष्ट्रिय परिचय प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको पूर्व भर्ना विवरणपत्र प्रमालीमार्फत अनलाइन फाराम भरी आफ्नो फोटोसहित औठाछापसहितको जैविक विवरण दिन प्रदेश, जिल्ला निर्वाचन कार्यालयहरुमा स्वयम आफै उपस्थित हुनुपर्ने जनाइएको छ ।

यस्तै मतदाता नामावलीमा त्रुटी सच्याउने (नाम, थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा दुई भन्दा बढी मतदानस्थल भएको भए मतदातालाई पायक पर्ने ठाउँमा नाम सार्ने, नागरिकता अनुसारको विवरण सच्याउने, दोहोरो नाम सच्याउने, मृत्यु तथा बसाईसराईको विवरण अद्यावधिक गराउने) समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

null

जिल्ला अस्पताल डोटी र अछाममा अध्यक्ष नियुक्त

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले दुई जिल्ला अस्पतालमा अध्यक्ष नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला अस्पताल डोटी र अछामको अध्यक्ष नियुक्त गरेको हो ।

डोटी अस्पतालमा डोटीका भरत बोहरा र अछाम अस्पतालमा अछामका लीलाराज केसी नियुक्त भएका छन् ।

त्यस्तै खेलकुद परिषद् सदस्यमा पनि कञ्चनपुरका लीला बोहरा, कञ्चनपुरकै काशीराम बोहरा र बैतडीका पूर्ण बहादुर टेर नियुक्त भएका छन् ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रlपरिषद्को परिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७५को अनुसूची हेरफेर गरिएको छ भने सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन सञ्चालन नियमावली २०२ समेत स्वीकृत गरिएको छ ।

स्वकीय सचिवालयका कर्मचारीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी निर्णय गरिएको छ भने प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको ऐन २०७५ को अनुसूची २ हेरफेर गरिएको छ ।

मन्त्रlपरिषद् बैठकले अस्थायी प्रहरी चौकी हिमाली गाउँपालिका बाजुराको भवन निर्माण सम्बन्धी कार्यक्रमलाई सशर्त अनुदानको रूपमा हिमाली गाउँपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सवारी साधन खरिद तथा प्रयोग सम्बन्धी निर्देशिका र वित्तीय हस्तान्तरण गर्ने र सुदूरपश्चिम जनता आवास कार्यक्रम कार्यविधि स्वीकृत गर्ने निर्णय समेत गरिएको छ।

एमाले संसदीय दलको नेतामा बादल

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन् । बुधबार संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए । तर, अन्तिम समयमा मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक पाएनन् ।

निर्विरोध निर्वाचित भएका बादललाई सुहाङले खादा ओढाएर बधाई समेत दिएका छन् ।

नेपालमा मार्च महिनामा १ लाख २० हजारभन्दा धेरै पर्यटक आए

काठमाण्डाै- मार्च महिनामा नेपालमा १ लाख २० हजारभन्दा धेरै पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार सन् २०२६ को मार्च महिनामा हवाईमार्गबाट १ लाख २० हजार ५१६ जना पर्यटक भित्रिएका हुन् ।

बोर्डको तथ्याङ्कअनुसार अघिल्लो वर्षको मार्च महिनामा १ लाख २१ हजार ६८७ पर्यटक नेपाल आएका थिए । यस वर्ष सङ्ख्या सामान्य घटेको हो । कोभिड–१९ महामारीअघिको मार्च महिनामा १ लाख २७ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए ।

मार्च र अप्रिल महिनालाई पर्यटनको मुख्य सिजनका रूपमा लिइन्छ । यो समयमा विशेषगरी ट्रेकिङ, हिमाल आरोहण र सांस्कृतिक भ्रमणका लागि पर्यटकहरू आउने गरेका छन् । तर यस वर्ष मध्यपूर्वको तनावले विभिन्न देशको ‘ट्राभल एड्भाइजरी’ का कारण सङ्ख्या बढेको छैन ।

मार्च महिनामा सार्क राष्ट्रहरूबाट ४२ हजार ६६८ जना पर्यटक नेपाल आएका छन् । सार्क देशमध्ये भारतबाट २५ हजार ७२८ पर्यटक आएका छन् । मध्यपूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय उडान र यात्रा योजना प्रभावित हुँदा युरोप र अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या बढेको छैन ।

यसैबीच अमेरिकाले नेपाललाई भ्रमण सूचीमा ‘लेभल–२’ मा झारेको छ । यसको अर्थ भ्रमणका बेला आन्दोलन हुन सक्ने भएकाले सतर्कता अपनाउनु भन्ने हुन्छ ।

यसअघि अमेरिकाले नवयुवा आन्दोलनलगत्तै सेप्टेम्बर ११ मा नेपाललाई ‘लेभल–३’ मा राखेको थियो । यसको अर्थ भ्रमणमा गर्नुअघि पुनर्विचार गर्नुस् भन्ने हुन्छ । ‘लेभल–१’ को अर्थ सामान्य अवस्था हो भने ‘लेभल–४’ मा भ्रमण नगर्न सिफारिश गरिएको हुन्छ ।

 

बागमतीले कर्णालीलाई हरायो

काठमाडौं। प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमतीले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

जनकपुरको रामजानकी बहुउद्देश्यीय स्टेडियममा १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमा १२० रनमा अलआउट भएको हो । बागमतीको यो दोस्रो जित हो ।

कर्णालीका लागि निश्चल रावलले ३१ र दिनेश अधिकारीले २२ रन बनाए ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले ७ विकेट लिए । उनले ९.१ ओभरमा ४० रन खर्चेर ७ विकेट लिए । सो क्रममा उनले १ मेडन ओभर पनि फाले । रिजन ढकाल, प्रतिश जिसी र सुवास खत्रीले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको बागमती ३८.४ ओभरमा १८० रनमा अलआउट भएको थियो ।

बागमतीका लागि विवेक मगरले अर्धशतकीय पारी खेले । उनले ८० बलमा २ चौका र ४ छक्क प्रहार गरे । इशान पाण्डेले २७, पवन थापाले २२ र शुभ कंशकारले २० रन बनाए ।

कर्णालीका लागि दिवान पुनले ३ विकेट लिए । निश्चल रावल, प्रकाश जैसी र दीपेन्द्र रावतले २–२ विकेट लिए ।

सभामुखको चुनाव आउँदाे आइतवार

काठमाण्डाै- प्रतिनिधिसभाको सभामुख चयनका लागि आउँदाे आइतवार चैत २२ गते चुनाव हुने भएको छ ।

सिंहदरबारमा आज बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते चुनाव गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनको पहिलो बैठकको कार्यसूची र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको पनि बताए । उनकाअनुसार भाेलि हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुखको चुनावसम्बन्धी प्रस्ताव पेश हुनेछ ।

बैठकले नयाँ नियमावली नबन्दासम्म अहिलेकै संसद् नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको रास्वपाका महामन्त्री बुर्लाकाेटीले बताए।

यस्तै पहिलो बैठकमा बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया शुरू गरिनुका साथै शीर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको उनकाे भनाइ छ ।

सभाको पहिलो बैठकमा गएकाे भदौ अन्तिम हप्ता भएकाे नवयुवा आन्दोलनका शहीदहरूप्रति श्रज्ञाञ्जली व्यक्त गर्ने कार्यसूची पनि रहेको छ ।

 

एमाले संसदीय दलको नेता बन्न थापा र नेम्वाङबीच प्रतिस्पर्धा, निर्वाचनबाट चयन हुने

काठमाडौं- नेकपा एमालेले संसदीय दलको नेता निर्वाचनबाट छान्ने तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा  संसदीय दलको नेतामा रामबहादुर थापा बादल र सुहाङ नेम्वाङको दाबी परेपछि चुनावको तयारी गरिएको सांसद राजेन्द्र कुमार राईले जानकारी दिए ।

नेकपा एमालेको संसदीय दलमा २५ सदस्य छन् । ती मध्ये ९ जना प्रत्यक्ष निर्वाचित भएका हुन् भने १६ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका हुन् । अध्यक्ष ओलीले समानुपातिकतर्फ निर्वाचित उपाध्यक्ष थापालाई दलको नेता बनाउन चाहेका थिए ।

भारतको राष्ट्रिय जनगणना आजदेखि शुरू

लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः आजदेखि शुरू भएको छ । यस पटकको जनगणनाले देशको जनसाङ्ख्यिक वास्तविकतालाई नयाँ ढङ्गले उजागर गर्दै कल्याणकारी कार्यक्रमदेखि राजनीतिक संरचनासम्म व्यापक प्रभाव पार्ने अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

विश्वकै सबैभन्दा ठूलो जनसङ्ख्या गणनाका रूपमा हेरिएको यस अभियानले १ अर्ब ४० करोडभन्दा धेरै मानिसको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको छ । यसअघि सन् २०११ मा भएको जनगणनाले भारतको जनसङ्ख्या १ अर्ब २१ करोड रहेको देखाएको थियो । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषकाअनुसार भारतले सन् २०२३ मा १ अर्ब ४० करोड जनसङ्ख्यासहित चीनलाई उछिनेको छ ।

सन् २०२१ मै शुरू गर्ने योजना भए पनि कोभिड–१९ महामारी र व्यवस्थापकीय चुनौतीका कारण जनगणना स्थगित हुँदै आएको थियो ।

आजदेखि शुरू भएको जनगणनाको पहिलो चरण आउँदो सेप्टेम्बरसम्म सञ्चालन हुनेछ । यस अवधिमा खटाइएका कर्मचारीहरूले घरपरिवारको अवस्था, उपलब्ध सुविधा तथा आवाससम्बन्धी विवरण सङ्कलन गर्नेछन् । यस पटक परम्परागत घरदैलो सर्वेक्षणसँगै डिजिटल प्रविधिको प्रयोगलाई पनि जोड दिइएको छ । बहुभाषी स्मार्टफोन एपमार्फत नागरिकले स्वयम् पनि आफ्नो विवरण पेश गर्न सक्नेछन् जसमा उपग्रह–आधारित म्यापिङ प्रणालीसमेत समावेश छ ।

दोस्रो चरण आउँदो सेप्टेम्बरदेखि अप्रिल १ सम्म सञ्चालन हुनेछ जसमा व्यक्तिको सामाजिक र आर्थिक अवस्थासहित धर्म र जातिसम्बन्धी विस्तृत विवरण सङ्कलन हुनेछ । यस पटकको  जनगणनामा झन्डै ३० लाख सरकारी कर्मचारी परिचालन हुने अनुमान छ ।

यस पटकको जनगणनाको सबैभन्दा संवेदनशील पक्ष भनेको जातिगत विवरणको सङ्कलन हो । भारतमा जाति प्रणाली ऐतिहासिक रूपमा गहिरो सामाजिक संरचनासँग जोडिएको छ जसले शिक्षा, रोजगारी र आर्थिक अवसरमा पहुँच निर्धारण गर्ने गरेको छ । यद्यपि देशमा विभिन्न जाति समूहहरूको यथार्थ जनसङ्ख्या कति छ भन्ने विषयमा अद्यावधिक तथ्याङ्क अभाव छ । पछिल्लो पटक सन् १९३१ मा औपनिवेशिक शासनकालमा विस्तृत जातिगत गणना भएको थियो ।

स्वतन्त्रतापछि सन् १९५१ देखि भारतले केवल अनुसूचित जाति र जनजाति — अर्थात् दलित र आदिवासी समुदाय — को मात्र गणना गर्दै आएको थियो । पूर्ण जातिगत गणनाले सामाजिक तनाव बढाउन सक्ने आशङ्का व्यक्त गर्दै अघिल्ला सरकारहरूले यसलाई टार्दै आएका थिए । तर अहिलेको प्रयासले नीति निर्माणका लागि आवश्यक यथार्थपरक तथ्याङ्क उपलब्ध गराउने अपेक्षा छ ।

जनगणनाबाट प्राप्त तथ्याङ्कले भारतको राजनीतिक संरचनामा पनि प्रत्यक्ष असर पार्न सक्छ । जनसङ्ख्या वृद्धिलाई आधार बनाएर संसद्को तल्लो सदन र राज्य विधानसभाहरूमा सिट सङ्ख्या पुनः निर्धारण गरिन सक्छ । सन् २०२३ मा पारित कानूनअनुसार महिलाका लागि एकतिहाइ सिट आरक्षित गरिएको छ, त्यसैले सिट विस्तार भएमा महिला प्रतिनिधित्व पनि स्वतः बढ्नेछ ।

 

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४ दशमलव ७३ अङ्कले घटेर दुई हजार ७७६ दशमलव ३६ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ६२ प्रतिशतको गिरावट हो ।

आज ३४७ कम्पनीको तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर एक लाख २३ हजार ७३० पटक खरिदबिक्री हुँदा रू १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैंकिङ दुई दशमलव ३१, विकास बैंक तीन दशमलव १८, वित्त तीन दशमलव शून्य तीन, होटल तथा पर्यटन दुई दशमलव १२, जलविद्युत् दुई दशमलव ८१, लगानी दुई दशमलव ६७ र जीवन बिमा दुई दशमलव शून्य दुई प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३९, लघुवित्त एक दशमलव ९९, म्युचुअल फण्ड शून्य दशमलव ९७, निर्जीवन बिमा दुई दशमलव २२, व्यापार तीन दशमलव ९६ र अन्य समूह पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइस्योरेन्स लिमिटेडको रू ७१ करोड ३१ लाख २६ हजार ६४४ बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा कुमारी बैंक लिमिटेडको १८ लाख ८२ हजार २०९ बराबरको कारोबार भएको छ ।

अर्थ मन्त्रालयले तयार पार्यो बजेट मार्गदर्शन

काठमाण्डाै- आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको छ । सरकारले हरेक वर्ष जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने संवैधानिक दायित्व छ । त्यसैअनुसार अर्थ मन्त्रालयले बजेट मार्गदर्शन तयार पारेको हो ।

बजेट मार्गदर्शन तयार पारेर सबै मन्त्रालयलाई पठाइसकेको मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले बताउनुभयो । उहाँकाअनुसार आउँदो बजेट आर्थिक अनुशासन र खर्चमा मितव्ययीतालाई उच्च प्राथमिकता राखेर लेखन तयारी भइरहेको छ ।

साथै सम्बन्धित सबै मन्त्रालयलाई  संवेदनशील हुन र आयोजनाको बजेट प्रस्ताव गर्दा तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का पट्टामा जान सकिने आयोजना र याेजना बैंकमा सूचीकृत भइसकेका आयोजनालाई मात्र राख्ने गरी मार्गदर्शन पठाएको सहसचिव पाण्डेयले बताउनुभयो ।

मन्त्रालयलकाअनुसार योजना आयोगका उपाध्यक्ष नेतृत्वको स्रोत अनुमान समितिले बजेट सिलिङ पठाइसकेको छ । गएको वर्षको तुलनामा यो वर्ष कम सिलिङ प्रस्ताव गरिएको  छ । नयाँ सरकारको प्राथमिकता तथा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रलाई समेत आउँदो बजेटले सम्बोधन गर्ने मन्त्रालयले जनाएकाे छ ।

 

नागरिकमैत्री, स्वच्छ र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।

साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । गृहमन्त्री गुरुङले महिला र बालबालिकामा हुने हिंसा नियन्त्रण र त्यसमा संलग्नहरुलाई कडा कार्वाही गर्न समेत निर्देशन दिएका छन् ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको काम कारवाही, सेवा प्रवाह र अपराध अनुसन्धानका बिषयमा जानकारी लिएको परिसर प्रमुख एसएसपी थापाले बताए ।

त्यस्तै एसएसपी थापाले काठमाडौंमा १३ सय भन्दा बढि सीसिटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९ सय ३७ वटा सीसिटिभी पुनः जडान भइसकेको जानकारी दिएका थिए ।

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा

काठमाडौं- राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा बसेको छ। नारायण प्रसाद दाहालको अध्यक्षतामा बसेको

बैठकले बिहीबारदेखि शुरु हुने २० औँ अधिवेशनको पूर्वतयारी, राष्ट्रिय सभा उपाध्यक्ष र सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुलाई समितिमा विभाजन लगायतका विषयमा छलफल भएको हो।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको २० औँ अधिवेशन सफल बनाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र रचनात्मक भूमिकाको अपेक्षा गरेको बताउँदै सहकार्य र सहजीकरणका लागि आग्रह गरे।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री  सोविता गौतमसमेत सहभागी थिइन्।

सरकारी वकिल कार्यालयमा रमेश लेखकको बयान

काठमाडौँ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान भइरहेको छ । लेखकले दुई घण्टाअघिदेखि जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिइरहेको सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले जानकारी दिए ।

गौरीबहादुर कार्कीको जाँचबुझ आयोगको कारबाहीको सिफारिसमा परेकामध्ये लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गएको शनिबार (चैत १४) प्रहरीले पक्राउ गरेको थियो । लेखकमाथि अदालतबाट थप गरेको म्याद आज सकिँदैछ ।

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै जाँच बुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

हिउँदमा पनि रोकिएन कर्णाली नदी कटानको जोखिम

टीकापुर– टीकापुर–५ स्थित टीकापुर वृहत उद्यान कर्णाली नदी कटानको जोखिममा रहेको छ । चैतमा पनि कर्णाली नदीले उद्यानको पिकनिकस्थलतिर तीव्र कटान भइरहेको छ ।

कर्णाली नदीले पानीको धार परिवर्तन गर्दा टीकापुर बृहत् उद्यान क्षेत्रमा नदी कटान तीव्र भइरहेको स्थानीयले बताएका छन् ।

‘बर्खा लागेमा नदी उद्यान हुँदै बस्तीमा पस्ने जोखिम बढेकाले समयमै नियन्त्रणका लागि काम गर्नुपर्ने देखिएको छ’, स्थानीय सिंहराज बुढामगरले भने, ‘चैतमा यसरी कटान गरिरहेको नदीले बर्खा लागेमा बस्ती जोखिममा पार्छ । नदीले सिधैँ पार्क क्षेत्र कटान गरिरहेको छ । यही हिसाबले कटान भए बर्खामा पार्क हुँदै बस्ती सखाप हुन्छ ।’

पार्कको वनभोजस्थलदेखि पाँच सय मिटर उत्तरतर्फ कर्णाली नदीले बर्दियाको सिमानातर्फ ढुङ्गा, गिट्टी, बालुवा थुप्रिई टापुजस्तै बनाएको छ । नदीको बहाव टीकापुरतर्फ बगिरहेकोे र टीकापुरतर्फ नदीमा पक्की तटबन्धसमेत नभएकाले थुप्रेर रहेका ढुङ्गा, गिट्टी, बालुवा सफाइ नगरेमा यस वर्षको मनसुनमा टीकापुरतर्फ नदीले कटान गरी बस्तीमा नदी पस्ने उच्च जोखिम देखिएको प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल सुमन धितालले बताए।

‘पालिकाको आफ्नै स्रोत नभएकाले नदी सफाइ तथा पक्की तटबन्ध गर्न सक्ने अवस्था छैन । समस्या समाधान तथा बृहत उद्यान र बस्ती जोगाउनका लागि अहिले नै काम गर्नुपर्ने देखिन्छ’, धितालले भने, ‘आवश्यक व्यवस्था गरिदिन माग गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरी पठाएका छौँ ।’

नगरपालिका बर्सेनि कर्णाली नदी कटानको जोखिम झेल्दै आएको छ । कर्णालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले नदी नियन्त्रणका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माण गरेको छ । सिँचाइले निर्माण गरेका तटबन्ध तारजालीका भएकाले यसको दिगोपनामा पनि समस्या देखिएको छ ।

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार टीकापुरको वडा नं ५ पार्क क्षेत्र, वडा नं ७ मा सत्ती कर्णाली सामुदायिक वन क्षेत्रलगायत ठाउँ बर्सेनि कटान भइरहेका छन् । सिँचाइ आयोजनाले विगतमा गर्ने तारजालीको तटबन्ध दिगो नभएपछि अहिले ठूला ढुङ्गा (बिग बोल्डर) हाल्ने गरेको छ । तर पछिल्ला दुई वर्षयता यहाँ लगानी छैन । नदी कटान बढ्दै गएको तर आयोजनाले लगानी गर्न छोड्दा नदी नियन्त्रण समस्या भइरहेको छ ।

सिँचाइ आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले विगतमा तारजालीबाट गरिने तटबन्ध दिगो नभएपछि अहिले तटबन्धको स्वरुप परिवर्तन गरिएको बताए।

‘विगतमा कर्णाली नदीमा दर्जनौँ ठाउँमा तटबन्धको काम भएको छ । विश्व बैंकको सहयोग नभएपछि तेस्रो ‘फेज’मा कर्णाली नदीमा खासै काम छैन, इन्टेकसहित तीन ठाउँमा तटबन्धको काम चलिरहेको छ’, उनले भने, ‘आयोजनासँग पनि बजेट कम छ । पुराना ठेक्का लागेका समयमै निर्माण व्यवसायीले काम नसकेका ठाउँमा निर्माण भइरहेको छ ।’

सिँचाइ आयोजनाले सिँचाइ विस्तारका लागि कर्णाली नदीको चिसापानीमा इन्टेक र मुख्य नहर निर्माण, फिडर नहर निर्माण, जलविद्युत् निर्माण, डिभिजन बक्स र आउटलेट सुधार कार्य, सिञ्चित क्षेत्र बचाउ तथा सुरक्षा, सामाजिक सुरक्षा र पर्यावरण संरक्षण, पानी व्यवस्थापन, नयाँ शाखा नहर निर्माणका क्षेत्रमा काम गरिसकेकोे छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले नदी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल गरी आवश्यकताअनुसार जनधनको क्षतिबाट बस्ती जोगाउन पहल हुने बताए।

‘हामी सबै क्षेत्रसँग छलफल गरी उचित निकासका निर्णय गरेर पहल गर्छौँ, विपद्बाट रोकथामका लागि सम्बन्धित निकायमा कार्यान्वयन गर्नेतिर पहल गर्छौँ’, उनले भने, ‘कैलालीका नदीहरूमा अहिले भइरहेका तटबन्धको दिगोपनाका लागि पनि संवेदनशील हुन अनुरोध गरेका छौँ ।’

कर्णाली नदी कैलाली र बर्दियाको सीमामा भएकाले अन्तरजिल्ला समन्वय समितिबाट छलफल गरी आपसी समझदारीबाट विपद् व्यवस्थापनमा काम हुने प्रजिअ रेग्मीले बताए ।

विश्वकप खेल्ने ४८ वटै टोलीको टुङ्गो लाग्यो

काठमाण्डाै- फिफा विश्वकप खेल्ने ४८ वटै टोलीको टुङ्गो लागेको हो । इराक विश्वकपका लागि छनोट हुने ४८औँ तथा अन्तिम टोली बनेको हो ।

मेक्सिकोमा भएको अन्तरमहादेशीय प्लेअफमा बोलिभियालाई २–१ गोलले हराउँदै इराक ४० वर्षपछि विश्वकपमा छनोट भएको हो । इराकका अली अल–हमादी र आयमेन हुसेनले गोल गरे । बोलिभियाका मोइसेस पानियागुआले गोल गरे ।

यसअघि इराक सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा छनोट भएको थियो ।

यस्तै चार पटकको विजेता इटाली लगातार तेस्रो संस्करणको विश्वकपमा छनोट हुन असफल भएको छ । इटाली पेनाल्टी शुटआउटमा बोस्निया हर्जगोभिनासँग ४–१ गोलले पराजित भयो । यसैगरी चेक गणतन्त्र २० वर्षपछि, टर्की २४ वर्षपछि, कङ्गो ५२ वर्षपछि विश्वकपमा छनोट भएका छन् ।

२३औँ संस्करणको फिफा विश्वकप आउँदो जुन ११ देखि जुलाईसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्तरूपमा आयोजना हुँदैछ । फिफा विश्वकप पहिलो पटक तीन वटा देशमा हुन लागेको हो । प्रतियोगितामा ४८ वटा टोली १२ वटा समूहमा बाँडिएका छन् ।

यस्तो छ टोली–

समूह ए : मेक्सिको, दक्षिण कोरिया, दक्षिण अफ्रिका, चेक गणतन्त्र
समूह बी : क्यानडा, स्विट्जरल्यान्ड, कतार, बोस्निया हर्जगोभिना
समूह सी : ब्राजिल, मोरक्को, स्कटल्यान्ड, हैटी
समूह डी : अमेरिका, अस्ट्रेलिया, पाराग्वे, टर्किए
समूह ई : जर्मनी, कुराकाओ, कोटे डी’आइभर, इक्वेडर
समूह एफ : नेदरल्यान्ड्स, जापान, ट्युनिसिया, स्वीडेन
समूह जी : बेल्जियम, इरान, इजिप्ट, न्युजिल्यान्ड
समूह एच : स्पेन, उरुग्वे, साउदी अरेबिया, केप भर्डे
समूह आई : फ्रान्स, सेनेगल, नर्वे, इराक
समूह जे : अर्जेन्टिना, अस्ट्रिया, अल्जेरिया, जोर्डन
समूह के : पोर्चुगल, कोलम्बिया, उज्वेकिस्तान, कङ्गो
समूह एल : इङ्ग्ल्यान्ड, क्रोएशिया, पानामा, घाना

 

एपीएफले लुम्बिनीलाई दियो १२५ रनको लक्ष्य

वीरगन्ज : प्रधानमन्त्र कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा जारी खेलमा विभागीय टिम नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नारायणी मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको एपीएफले ३९.४ ओभरमा सबै विकेट गुमाएर १२४ रन जोडेको हो ।

लुम्बिनीका अभिषेक गौतमले २८, ओपनर दीपक बोहोराले २०, सन्दीप जोराले १७, आशिफ शेख र लोकेश बमले समान १५ रन बनाए । कमल ऐरीले ११ रन बनाउँदा कप्तान रोहित पौडेले शून्यमै आउट भए । अन्य ब्याटर चल्न सकेनन् । लुम्बिनीका अजय चौहानले चार विकेट लिए भने सन्तोष यादवले तीन विकेट चट्काए ।

यसैगरी निर्मल गुरुङले दुई र सन्देश थापाले एक विकेट लिए । एपीएफले दिएको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको लुम्बिनीले १० ओभरमा एक विकेट गुमाएर ४६ रन जोडेको छ । लुम्बिनीका ओपनर रञ्जित खड्का पाँच रन बनाएर आउट भएका छन् । रञ्जितलाई एपीएफका भुवन कार्कीले बोल्ड गरेका हुन् । यतिबेला लुम्बिनीका कप्तान देव खनाल २५ रन र आकाश त्रिपाठी  १५ रन बनाएर खेलिरहेका छन् ।

नेकपा एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं- नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ। बिहीबार बजेट अधिवेशनको पहिलो बैठक आह्वान गरेपछि एमालेको संसदीय दलको बैठक आज बसेको हो।

बैठकमा उपाध्यक्ष रामबहादुर थापा बादल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल लगायतका नेता पनि सहभागी छन्।

बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ । एमाले र कांग्रेसले संसदीय दल र प्रमुख सचेतक अझै चयन गरेका छैनन्।

एमालेले गत निर्वाचनमा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिटसहित २५ जना सिट जितेको छ। बैठकमा पार्टीका शीर्ष नेताले सांसदहरूलाई पार्टीको नीति र संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउने तयारी छ।

खोज्नुहोस