कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको सांसद मोहन आचार्यले जानकारी दिए ।
‘बिहान ११ बजे दलको बैठक आह्वान भएको छ,’ सांसद आचार्यले रातोपाटीसँग भने, ‘पहिलो बैठकमा कसरी प्रस्तुत हुने ? भन्नेबारे छलफल गर्न बोलाइएको हो ।’
फागुन २१ गते सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधि सभाको पहिलो बैठक आज दिउँसो २ बजे बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने बैठकमा पार्टीबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा दलको बैठकमा छलफल हुनेछ ।
बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
