चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस-२ तयारीमा
फ्लोरिडा । झन्डै पाँच दशकपछि मानवलाई पुनः चन्द्रमातर्फ पठाउने तयारीमा रहेको नासाको आर्टेमिस-२ मिसनले अन्तरिक्ष अन्वेषणमा नयाँ अध्याय खोल्ने सङ्केत दिएको छ । सन् १९७२ पछिको पहिलो मानवयुक्त चन्द्र उडानका रूपमा हेरिएको यस अभियानले प्रत्यक्ष अवतरण नगरे पनि भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण आधार तयार गर्ने छ ।
अपोलो कार्यक्रमको झल्को दिने यो मिसनमा चार अन्तरिक्ष यात्री चन्द्रमातर्फ प्रस्थान गर्ने छन्
। उनीहरू चन्द्रमाको सतहमा अवतरण नगरी त्यसबाट हजारौँ माइल टाढासम्म पुगेर फर्किने छन्। करिब १० दिनभन्दा कम अवधिको यो ‘फ्लाइबाइ’ उडानले चन्द्रमाको परिक्रमा नगरी पृथ्वीमा सिधा फर्कने योजना समेटेको छ ।
यस मिसनमा सहभागी अन्तरिक्ष यात्री रिड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यानसेन विविधता र अन्तर्राष्ट्रिय प्रतिनिधित्वका दृष्टिले विशेष मानिन्छ । कोचले महिला अन्तरिक्ष यात्रीमध्ये सबैभन्दा लामो एकल अन्तरिक्ष उडान (३२८ दिन) को कीर्तिमान बनाइसक्नु भएको छ र पहिलो सर्वमहिला स्पेसवाकमा पनि सहभागी हुनुभएको थियो । ग्लोभर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बस्ने पहिलो अश्वेत अन्तरिक्ष यात्रीमध्ये एक छन् भने क्यानाडाका ह्यानसेन पहिलो पटक अन्तरिक्ष यात्रामा निस्कँदै छन् ।
वाइजम्यानले अनुभवी कमान्डरका रूपमा टोलीको नेतृत्व गरिरहनुभएको छ । मिसनका लागि प्रयोग गरिने स्पेस लन्च सिस्टम (एसएलएस) रकेट अपोलो युगको स्याटर्न-५ भन्दा छोटो भए पनि प्रक्षेपण शक्तिका हिसाबले अझ शक्तिशाली मानिन्छ । यसको शीर्षमा ओरियन क्याप्सुल रहनेछ, जसले अन्तरिक्ष यात्री बोकेको हुनेछ । तर प्रक्षेपणअघि केही प्राविधिक चुनौती पनि देखिएका छन् । हाइड्रोजन चुहावट र हिलियम प्रवाह सम्बन्धी समस्याले परीक्षण प्रभावित पार्दै प्रक्षेपण समयतालिका केही पछि धकेलिएको छ ।
उडानपछि पहिलो २५ घण्टा अन्तरिक्ष यात्रीले पृथ्वीको उच्च कक्षामा परिक्रमा गर्ने छन्
। त्यसपछि उनीहरूले भविष्यका चन्द्र अभियानका लागि आवश्यक डकिङ अभ्यास गर्ने छन्
। सबै प्रक्रिया सफल भएमा ओरियनको मुख्य इन्जिनले यानलाई करिब तीन लाख ९३ हजार किलोमिटर टाढा चन्द्रमातर्फ पठाउने छ । ‘फ्रि-रिटर्न ट्राजेक्टोरी’ प्रयोग गरिने यस उडानमा चन्द्र र पृथ्वीको गुरुत्वाकर्षणको सहायताले इन्धन बचत गरिने छ ।
उडानको छैटौँ दिन यान पृथ्वीबाट सबैभन्दा टाढाको विन्दुमा पुग्ने छ, जुन अपोलो-१३ को रेकर्डभन्दा पनि पर हुने छ । चन्द्रमाबाट करिब आठ हजार किलोमिटर टाढा पुग्दा अन्तरिक्ष यात्रीले चन्द्रमाको टाढाको भाग नजिकबाट अवलोकन गर्ने छन्
। यो क्षेत्र मानव आँखाले प्रत्यक्ष हेर्न पाएको अत्यन्तै दुर्लभ अवसर हुने छ । टोलीले यस क्रममा व्यापक तस्बिर खिच्ने तयारी गरेको छ, जसका लागि अत्याधुनिक क्यामेरा र स्मार्टफोन पनि साथमा लगिने छन् ।
नासाका खगोलविद् केल्सी यङले चन्द्रमालाई ‘विश्वलाई जोड्ने साझा वस्तु’ भन्दै यस मिसनले मानिसलाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे। विशेष गरी चन्द्रमाको टाढाको भागबारे प्रत्यक्ष अवलोकनले वैज्ञानिक अनुसन्धानमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । मिसनको अन्त्य अपोलो कार्यक्रम जस्तै प्रशान्त महासागरमा स्प्ल्यासडाउनमार्फत हुने छ ।
पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्दा ओरियन क्याप्सुलको तातो ढाल सबैभन्दा महत्त्वपूर्ण पक्ष हुने छ, जसले सन् २०२२ को परीक्षण उडानमा कडा परीक्षा सामना गरेको थियो । यस पटक भने अवतरण प्रक्रियालाई छोट्याएर तापीय जोखिम घटाउने योजना बनाइएको छ । समग्रमा, आर्टेमिस-२ मिसनलाई चन्द्रमामा पुनः मानव उपस्थितिको मार्ग तयार गर्ने प्रारम्भिक तर निर्णायक कदमका रूपमा हेरिएको छ, जसले भविष्यमा चन्द्र अवतरण र दीर्घकालीन अन्तरिक्ष अभियानका लागि ढोका खोल्ने छ । रासस/एपी
