न सपना । न उद्देश्य । जिन्दगीमा थियो त–भोक, अभाव र संघर्ष । उनी पढ्न चाहन्थे । पढ्न पैसा चाहिने । बुवाको एक्लो कमाई । परिवारको खर्च धान्नै मुस्किल । अवसर पाए, शिक्षक बने । बाँच्नैका लागि अवसर गुमाएनन् । शिक्षक बन्ने उनको रहर थिएन् ।
विद्यार्थीलाई पढाउदै गर्दा समाज बुझे । समाजको राजनैतिक चेतना बुझे । सत्ताको स्वभाव । काँग्रेसको विद्रोही चेतसंग साक्षात्कार भए । सत्ता र काँग्रेस । नदीका किनारा जस्ता । कहिले नमिल्ने । उनी अपवाद थिए । सत्ता र काँग्रेस दुबैको नजिक ।
राजनीतिसंग कुनै साईनो थिएन् । न त लगाव । संगतले सोच बदलिन्छ । सोचले सपना । सपनाले जिन्दगी । उनको हकमा यही भयो ।
सत्ताको रङ्गले आकर्षण गर्न सकेन् । काँग्रेसका नेतासंग उठवस । कवितामा विद्रोह ओकेले । थुनामा परे । सत्ताको निगरानी । थुना । धम्की । आदेश । उनी थाहै नपाई विद्रोही शिक्षक भए ।
मध्यमा पास गर्ने औंलामा गन्न सकिने । उनी एक । चाहेको भए सत्ताबाट सबै सुविधा, अवसर लिन सक्थे । त्यसका लागि ईमान बेच्नु पथ्र्यो । स्वाभिमान बन्धक राख्नु पथ्र्यो । उनले सजिलो बाटो रोजेनन् ।
२०२० सालमा उनले श्याम बाजेसंग नेपाली काँग्रेसको सदस्यता लिए । काँग्रेसको सदस्य हुनु त्यो समय दण्डनीय अपराध थियो । श्याम बाजे काँग्रेसका क्रान्तिकारी नेता थिए । जो सशस्त्र क्रान्तिका समर्थक थिए । धनगढी बस्न जोखिम भएपछि श्याम बाजे दुधुवाबाट काँग्रेसका गतिविधि सञ्चालन गर्थे । सशस्त्र क्रान्तिको पर्चा बाँड्थे । नाम श्याम खतिवडा थियो । चिनिन्थे, श्याम बाजे भनेर ।
२०१५ सालको निर्वाचनमा श्यामबाजे लोकेन्द्र बहादुर शाहको प्रचारमा जिल्लाका विभिन्न भागमा पुगे । श्याम बाजे बोगटान क्षेत्रमा लोकप्रिय थिए । माईक र साउण्डबक्स भित्रिसकेको थिएन् । श्याम बाजेले सुकाएर खोक्रो बनाएको लौकालाई माईक बनाएर प्रचार गरे । थारु भाषामा कविता सुनाएर शाहका लागि मत मागे ।
श्याम बाजेका दाई थानेदार थिए । दाई सरुवा भएर कैलाली आए । उनीसंगै आए । केही समयपछि दाईको अन्यत्र सरुवा भयो । श्यामबाजे दाईसंगै फर्केनन् । कैलालीलाई स्थायी मुकाम भए ।
२००७ सालमा श्याम बाजे धनगढी भन्सारमा बैदार थिए । तिनले नेपाली काँग्रेसको सदस्यता लिएको प्रहरीले थाह पायो । प्रहरीले सदस्यता देखाउन भन्यो । उनले चपाईदिए । ज्यान जोगियो । जागीर गयो ।
२०१५ सालको आम निर्वाचनबाट काँग्रेस पहिलो पटक सत्तामा पुग्यो । बीपी कोईराला प्रधानमन्त्री भए । सरकारले कैलालीमा गोपाल बहादुर कर्माचार्यलाई पञ्चायत अफिसर नियुक्त ग¥यो । तिनका सहायक भए, श्याम बाजे । राजाले संसद बिघटनसंगै सम्पूर्ण राजनैतिक नियुक्तिहरु बदर गरे । श्याम बाजे आजीवन काँग्रेस भए ।
२०१५ सालको आम निर्वाचनपछि मदन लाल श्रेष्ठ कैलालीमा डीडीओ भएर आए । त्यतिबेला जिल्ला विकास समितिको नाम त्रिभुवन विकास समिति थियो । त्यसको प्रमुखलाई डीडीओ भनिन्थ्यो ।
काँग्रेसको सरकार भंग भयो । पञ्चायतले डीडीओ हटायो । नयाँ नाम दियो, बल्क डेभलोप्मेण्ट अफिसर (बीडीओ) । डीडीओबाट हटेपछि श्रेष्ठ काँग्रेसको राजनीतिमा सक्रिय भए ।
२०१५ सालको निर्वाचनमा शाह कैलाली–कञ्चनपुर गोश्वारामा काँग्रेसबाट निर्वाचित भएका थिए । संसद बिघट्नपछि महादेवलीस्थित घरमा बस्दै आएका लोकेन्द्र बहादुर शाह २०१९ सालमा धनगढी सरे । शाह राज्यको निगरानीमा थिए । शाहलाई भेट्ने व्यक्तिमाथि पनि राज्यले सोधीखोजी गथ्र्यो ।
देश ३५ गोश्वारामा बाडिएको थियो । कैलाली कञ्चनपुर एउटै गोश्वरा अन्तर्गत थियो ।
कैलाली पाँच तप्पामा बिभाजित थियो । रैकवार, बोगटान, मलवारा, लिक, परिहार । धनगढी रैकवार भित्र पथ्र्यो ।
धनगढी शहर बनिसकेको थिएन् । यद्यपि सरकारी अड्डा र अस्पताल भएका कारण विभिन्न ठाउँबाट मान्छेहरु व्यवसाय, उपचार र बसाई सराईका लागि आउथे । तर औंलोको डरले मान्छेहरु फर्किन्थे ।
टेलिकम कार्यालय जाने बाटोमा राधेश्यामको चिया पसल थियो । शिव मन्दिर बनिसकेको थिएन् । चौतारो थियो, त्यहाँ जोगी बस्थे । मन्दिर छेउमा एक जना श्रेष्ठको पसल थियो । मन्दिरको पश्चिमपट्टि टीनका छानामा २२/२५ वटा पसलहरु थिए । हाल प्रदेश सभा रहेको स्थानमा त्यतिबेला भन्सार कार्यालय थियो ।
धनगढी जंगल थियो । आधा दर्जन भवन पक्की । बाँकी फुसका घर । गोश्वारा कार्यालय । सेती अञ्चल अस्पताल । प्रहरी निरीक्षक आवास । वन विभाग । र, बडाहाकिमको सहायक बस्ने घर । पक्की भवन यति नै थिए । गोश्वारा कार्यालयमा बडाहाकिम बस्थे । त्यही भवन पछि अञ्चलाधीशको कार्यालय भयो । र, अञ्चलाधीशपछि त्यहाँ प्रमुख जिल्ला अधिकारी बस्न थाले । बडाहाकिमसंग एक गाडी थियो । अनि हात्ती । टाढा जानुपर्दा गाडी चढ्थे । बर्खामा हात्ती ।
धनगढीमा बरेलीका महाजन र केही जमिन्दारको जगजगी थियो । महाजनले किसानलाई खेती लगाउदा सहयोग गर्थे । बाली भित्र्याउने बेला आउँथे । र, किसानले उत्पादन गरेको धान, मकै, मसुर लिएर जान्थे । भण्डारी थरका डिठ्ठाले थारुहरुलाई एक टिन दारु खुवाएर धनगढी गाउँमा एक राना जमिन्दारको जमीन हडपे ।
बर्खामा हिलोले धनगढीभित्रै आवातजावत मुस्किल हुन्थ्यो । डेराबाट मुस्किलले स्कुल पुग्थे । हातमा चप्पल बोक्थे । १/२ कक्षामा पढ्ने थारु विद्यार्थीहरु लगौटी लगाएर आउँथे । उनी विद्यार्थीहरुलाई कट्टु लगाउन भन्थे ।
औलो उन्मुलन भएपछि तराईमा मान्छेहरु आउन थाले । हरेक दुई महिनामा ज्वरो आउँथ्यो । ज्वरो आएपछि उनी आत्तिन्थे । औंलोले मृत्यु हुन्थ्यो । उनी त्यही भयले आतंकित हुन्थे ।
वि.स. २०१९ साल । पार्टीहरुमाथि प्रतिबन्ध थियो । राजनैतिक गतिविधि वर्जित थियो । काँग्रेसका नेताहरु भूमिगत थिए । जानकी बिक्रम ज्ञवाली, गोपाल बहादुर कर्माचार्य, जनक कर्माचार्य, लोकेन्द्र बहादुर शाह लगायतका नेताहरु व्यवस्थाको निशानामा थिए । उनीहरुका हरेक गतिविधिमाथि प्रशासनले निगरानी राख्थ्यो ।
काँग्रेसका नेता जनक कर्माचार्य कैलालीको घियाबाट २००७ सालमा धनगढी सरे । अदालत जाने बाटोको विपरित दिशामा उत्तरमा उनको घर थियो । त्यही घर नेपाली काँग्रेसको सम्पर्क कार्यालय थियो । कमाचार्यले त्यो घर पछि प्रेमलाल तुलाधरलाई बेचे । राजा महेन्द्रले संसद बिघट्न गरेपछि कर्माचार्य भूमिगत जस्तै थिए । यद्यपि पार्टीका गतिविधिमा उनी सक्रिय थिए । उनका दाई गोपाल बहादुर कर्माचार्य पनि पञ्चायत अफिसरको नियुक्ति खारेज भएपछि पार्टीको गतिविधिमा संलग्न भए ।
भट्टराईको काँग्रेसका जिल्लास्तरका सबै नेताहरुसंग सम्पर्क थियो । उनी दुई वर्षमा दुई पटक पक्राउ परे । एक पटक काँग्रेसका नेतासंग सम्पर्क गरे वाफत । दोस्रो पटक, राज्य विरोधी पर्चा बाँडेको आरोपमा ।
कानपुरबाट उनका साथीले कैलालीका एसपी र मालपोतका हाकिमको बिरोधमा पर्चा बनाएर पठाएका थिए । धनगढीका सबै कार्यालयमा ती पत्र उतैको हुलाकबाट पठाउन लगाए । एसपीको विरोधमा एक प्रहरी निरीक्षक थिए । जसले एसपीका सबै कुरा भट्टराईलाई जानकारी दिन्थे । केही पर्चा भट्टराईको डेरामा थिए । छापा मार्नु अघि नै जिल्ला प्रहरी कार्यालयका थानेदार जोगराम श्रेष्ठ र पूर्व डीडीओ मदन लाल श्रेष्ठको सल्लाहमा पर्चा जलाएर पानीमा बगाई दिए । एसपीले उनलाई पक्राउ त गरे । प्रमाण फेला परेन । उनी मुक्त भए ।
पञ्चायतमा व्यवस्थाको विरोधमा लेख्न, बोल्न पाईदैनथ्यो । प्रशासक तथा सुरक्षा प्रमुखहरुका बारेमा समेत टिकाटिप्पणी गर्न बन्देज थियो । पार्टीको सदस्यता वा व्यवस्था विरोधी पर्चा भेटिए ज्यानमै खतरा हुन्थ्यो । कसैले नसुनोस, थाह नपावस भनेर पार्टीको छलफल गोप्य कोठामा गरिन्थ्यो । त्यो पनि अत्यन्त सजग भएर ।
२०१८ साल चैतमा कैलालीको घियाका ३५/३६ वर्षका जोगराम थारुलाई प्रहरीले मोहना किनारबाट पर्चा सहित पक्राउ ग¥यो ।
काँग्रेसका कार्यकर्ता जोगरामलाई उनले तिकुनियामा भेटेका थिए । गोपाल बहादुर कर्माचार्यले उनको जोगरामसंग परिचय गराएका थिए । जोगराम लोकेन्द्र बहादुर शाहको हात्तीको माउते थिए । पक्राउपछि जोगरामलाई भाग्न लगाएर प्रहरीले पछाडिबाट गोली हानेर हत्या ग¥यो । संभवत जोगराम पञ्चायती व्यवस्थाले हत्या गरेका पहिलो चौधरी सहिद हुन् ।
काँग्रेसका कार्यकर्ताहरु व्यवस्थाको विरोधमा मात्र थिएनन्, त्यो व्यवस्थाले संरक्षण गर्ने हरेक गलत कुराको प्रतिरोध गर्थे । सरकारी अड्डामा हुने घुसखोरीको विरोध गर्थे । गोपाल बहादुर कर्माचार्य र जनक कर्माचार्यले वन विभागमा लेनदेन भईरहेको १२ हजार रुपैया नियन्त्रणमा लिए । वन विभागका अफिसरलाई ठेकेदारले घुस वाफत त्यो रकम दिदै थिए । कर्माचार्य दाजुभाईले त्यही रकमले २०२० सालमा कैलाली जनपुस्तकालय स्थापना गरे । पुस्तकालयको पहिलो ग्रन्थपाल भट्टराई थिए । उनले अवैतनिक रुपमा पुस्तकालयमा केही समय सेवा गरे ।
२०२२ अञ्चलाधिश उपाध्यायको सरुवा भएपछि उनले राससमा काम गर्न छोडे । संगै शिक्षक पदबाट पनि राजिनामा दिए । र, पढ्न काठमाण्डौं गए । भारतमा प्रमाण तहको पहिलो वर्षको परीक्षा पास गरेका थिए । आईएडको कक्षा लिए । मन लागेन । कैलाली फर्के । केही दिन पुनः त्रिनगरमा पढाए ।
चिनजानका निर्मल श्रेष्ठले बोलाएपछि उनी जोशीपुरको मुद्दी पुगे । श्रेष्ठकै आग्रहमा जनप्रकाश प्राथमिक विद्यालयमा पढाए । ११ महिनापछि उनले मुद्दी छोडे ।
त्यसपछि उनी राष्ट्र बैंकमा जोडिए । झुंगामा भन्सारसंगै बैंकको काउण्टर थियो । उनी काउण्टर एशिसटेण्ट थिए । प्रशासनिक विवादपछि उनले एक महिना पुरा नहुदै जागीर छोडे । नारायणपुर बेलुवाका ऐन बहादुर मल्लका बच्चाहरुलाई पढाउन थाले ।
मुनुवामा कैलालीकै दोस्रो विद्यालय सञ्चालनमा आयो । २०२४ सालमा जनता निम्न माध्यमिक विद्यालय थियो । त्यतिबेला भारतीय मूलका व्यक्ति प्रधानअध्यापक थिए । २०२९ सालमा माध्यमिक विद्यालयमा स्तरोन्नती भयो । पहिलो हेडमास्टर अर्जुन सिटौला थिए । प्रशासनिक कारणले सिटौलाले राजिनामा दिए । र, खेमराज पाण्डेय हेडमास्टर भए । अध्यक्ष धनञ्जय शर्मा थिए । शर्माले पढाउन बोलाएपछि उनी २०२४ सालमा मुनुवा पुगे । चार महिना निशुल्क पढाए । त्यसपछि निरन्तर २०३६ सालसम्म त्यही पढाए । शिक्षण । राजनीति । संगै । पेशाप्रति ईमान्दार । शिक्षण पेशामा राजनीति मिसाएनन् । उनी तत्कालिन व्यवस्थाको तारो थिए । राजनीतिमा किन ? जिल्ला शिक्षा कार्यालय स्पष्टिकरण सोध्यो । स्पष्टिकरणसंगै शिक्षकको जागीर छोडे ।
जनक कर्माचार्यको आग्रहमा दुई वर्षपछि उनी टीकापुरको घिया पुछरी पुगे । त्यहाँ कर्माचार्यको अगुवाईमा स्थापना भएको हिमालय माविमा पढाउन थाले । उनी जहाँ जान्थे, त्यहाँ सुधार ल्याउन कोशिस गर्थे । उनले एउटा विद्यालयको मात्र नभएर समग्र जिल्ला भरीको शिक्षाको गुणस्तरमा गुणस्तर सुधार गर्न आवश्यक ठाने । त्यही सोचले परीक्षा प्रणालीमा सुधार गर्ने नीति ल्याए । मलवारा परीक्षा समिति बनाए । शुरुवातमै समितिमा १२ विद्यालय जोडिए । उनको यो नीतिले नक्कल गर्न कठिनाई भयो । तोकेको न्यूनतम अंक सबैले ल्याउन सकेनन् ।
२०४० सालमा धेरै विद्यार्थीहरु फेल भए । उनी धनगढी थिए । विद्यार्थीहरुले उनको घरमा ढुंगामुढा हाने । त्यतिबेला विद्यालयमा बामपन्थी नेता मोहन बिक्रम सिंहको प्रभाव बढ्दो थियो । विद्यालयमा सिंहकी पत्नी शान्ता सिंह पनि पढाउथिन् । बामपन्थीको उक्साहटमा विद्यार्थीहरुले ढुंगामुढा प्रहार गरेको उनको बुझाई थियो । सुधारमा अवरोध । उनलाई चित्त बुझेन् । उनले सधैका लागि शिक्षण पेशा छोडे । र, पूर्णकालीन राजनैतिक कार्यकर्ता भए ।
२०४३ सालमा मुनुवामा कपडा पसल खोले । केहीसमय पछि श्रीमती र भाईलाई पसल जिम्मा लगाएर काठमाण्डौं गए । गणेशमानको निवास चाक्सीबारीमा आयोजित काँग्रेसको राष्ट्रिय सम्मेलनमा उद्घोषकले कैलाली जिल्लाका सचिव टेक बहादुर चोखाललाई सम्बोधनका लागि बोलाए । चोखाल मञ्चमा नपुग्दा साथीहरुको आग्रहमा भट्टराईले मन्तव्य व्यक्त गरे । सोही सम्मेलनमा काँग्रेसले देशव्यापी रुपमा आन्दोलन गर्ने निर्णय गर्यो । गणेशमान सिंहले उनलाई सत्ता बिरोधी अभियान व्यापक बनाउन जिल्ला फर्किन सुझाव दिए । उनी फर्किए । प्रहरी खोजी गर्न थाल्यो । उनी लुकीछिपी हिड्न थाले । पसल जान पाएनन् । श्रीमती र भाईले चलाउन सकेनन् । पसल घाटामा गएपछि बन्द गरे । २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि पूर्ण रुपमा होमिए ।