दार्चुला पुगेर हर्क साम्पाङले भने, विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नु पर्छ

धनगढी ।   श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले विकास सीमावर्ती क्षेत्रमा केन्द्रित गर्नुपर्ने आफ्नो मान्यता रहेको बताएका छन् । उत्तर पश्चिम सिमानाको दार्चुला पुगेर साम्पाङले पारी भारतले धमाधम विकास गर्दा वारी नेपाली भूभाग भने उपेक्षामा परेको भन्दै राष्ट्रियता बलियो बनाउन सीमा क्षेत्रमा विकास राम्रो हुनुपर्ने बताएका हुन् ।

‘पारिपट्टि टु लेनभन्दा धेरै फोर लेनको बाटो इन्डियाले बनाएको छ । यसतर्फ नेपाल सरकारले ध्यान दिनुपर्छ,’ साम्पाङले भने, ‘किनभने म चाहिँ सीमावर्ती क्षेत्रमा विकास केन्द्रित गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो ।’

काठमाडौं, विराटनगर, बुटवल, वीरगञ्जजस्ता सहरमा विकास केन्द्रित गरेर बसिरहेको उनले बताए । उनले भने, ‘अब बन्ने बजेटमा थोरैमा पनि ६० प्रतिशत गाउँ केन्द्रित बजेट बनाउनुपर्छ भन्ने मान्यता म राख्छु । यो कुरा म संसद्मा पनि उठाउनेवाला छु ।’

लिपुलेक जाने बाटो भारतले बाटो बनाएको स्थानीयले भनेको उनले बताएका छन् । ‘राष्ट्रसंघ जस्ता निकायमा गएर हाम्रो सीमाको चार किल्ला सुनिश्चित गर्नुपर्छ भन्ने पहिलो माग मैले संसद्मा राखिसकेको छु । सम्बन्धित काममा नेपाल सरकारले ध्यान दिनुपर्छ,’ उनले भने ।

दार्चुलाका विकट गाउँ देखेर आफूलाई दुख लागेको पनि उनले बताए । ‘यहाँ पारिपट्टि राति पनि झिलिमिली हुँदो रहेछ । यहाँ वारी चाहिँ राति अँध्यारो हुँदो रहेछ,’ साम्पाङले अगाडि भने । अब महाकाली नदीबाट बिजुली निकालेर नेपाललाई झिलिमिली पार्नुपर्ने उनले बताए ।

उता विकासका कामले तीव्रता लिइरहँदा यता वारिपट्टि चुपचाप लागेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए ।

बाजुरा : खोलामा पुल बने पनि आवतजावतमा समस्या उस्तै

बाजुरा । बाजुराको बाजुगाड खोलामा नयाँ पक्की पुल निर्माण भए पनि स्थानीयवासीको आवतजावतको समस्या भने समाधान हुन सकेको छैन । बुढीगङ्गा नगरपालिका–४ र खप्तड छेडेदह गाउँपालिका–३ को बिचमा पर्ने बाजुगाड खोलामा पुल बने पनि दुवैतर्फको ‘साइट’ (एप्रोच सडक र दायाँबायाँको संरचना) निर्माण नहुँदा पुल प्रयोगविहीन बनेको हो ।

विसं २०७२ मा अछामको साउँद एड्भेन्चर जेभीले दुई करोड रुपियाँको लागतमा ४५ मिटर लामो सो पुल निर्माणको जिम्मा लिएको थियो । सम्झौता अनुसार उक्त पुल २०७६ असारसम्ममा सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण २०८२ पुसमा मात्र पुलको मुख्य संरचना निर्माण कार्य सकिएको छ ।

पुलको काम सकिए पनि दुवैतर्फका पहुँच मार्ग र संरक्षणका कार्य अझै बाँकी रहेकाले स्थानीयवासीले अहिले पनि पहिलेकै जस्तो खोला तर्नुपर्ने बाध्यता रहेको छ । बुढीगङ्गा–४, बानेगाउँकी गोमती कटुवाल भन्नुहुन्छ, “गाउँमा धेरै योजना आउँछन्, ठेकेदारले केही काम गरे जस्तो गर्छन् र हराउँछन् । जसका कारण हामीले सधैँ सास्ती खेप्नुपरेको छ ।”

यता, साउँद एड्भेन्चर जेभीका प्रोप्राइटर ईश्वर साउँदले आफूले जिम्मा लिएको ४५ मिटर पुलको काम सम्पन्न गरिसकेकाले अब आफ्नो जिम्मेवारी नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “प्राविधिक गडबडीका कारण केही समय ढिला भए पनि मैले पुलको काम पूरा गरेर सम्बन्धित निकायलाई बुझाइसकेको छु, बाँकी साइडको काम मेरो जिम्मेवारीमा पर्दैन ।”

पूर्वाधार विकास कार्यालय साँफेबगर, अछामका कार्यालय प्रमुख जङ्ग थापाले पुलको मुख्य काम सकिए पनि दुवैतर्फका साइड निर्माण बाँकी रहेको स्वीकार गर्नुभयो । “गत वर्ष एकातर्फको साइड निर्माण गरिएको थियो, अहिले अर्कोतर्फको काम गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “साइड निर्माणका लागि अर्को ठेकेदार कम्पनीसँग सम्झौता भइसकेकाले केही समयपछि पुल पूर्णरूपमा सञ्चालनमा आउने छ ।”

 

कारोबारसँगै घट्यो सेयर बजार

काठमाडौँ- मंगलबार सेयर बजार २.६१ अंकले घटेको छ । अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम भएको छ ।

सुरुवाती कारोबारका क्रममा बजार बढे पनि ११ : ५० बजेपछि केही तल झर्‍यो । कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७९२ अंकसम्म पुगेको थियो । कारोबार रकम घटेको छ ।

अघिल्लो दिन १० अर्ब ९२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७३ करोडको मात्रै कारोबार भएको छ । धेरैजसो कम्पनीको मूल्य घटेको छ ।

अमेरिकाबाटै प्रकाश देउवाको सभामुखलाई पत्र, अझै बैठकमा उपस्थित नहुने

धनगढीः सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाले अमेरिकाबाटै सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै आफू अझै केही समय प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका छन्।

कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित देउवा नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका भतिजा हुन्। उनी भौतिक पूर्वाधार विकास मन्त्रीसमेत भइसकेका छन् र जेन्जी आन्दोलनपछि अमेरिका गएका थिए।

पत्रमा उनले २०८२ भदौ २८ गते व्यक्तिगत कामका लागि अमेरिका गएको र त्यसपछि देखिएको स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार उपचार तथा विश्राममा बस्नुपरेको उल्लेख गरेका छन्। यही कारणले सो अवधिमा बसेका प्रदेशसभा बैठकहरूमा सहभागी हुन नसकेको र आगामी २०८२ चैत्र २४ गते बस्ने बैठकमा पनि उपस्थित हुन नसक्ने जानकारी गराएका छन्।

संविधानअनुसार सभामुखलाई जानकारी नगराई लगातार १० बैठकमा अनुपस्थित रहे पद गुम्न सक्ने व्यवस्था छ। यद्यपि, देउवाले केही बैठकमा अनुपस्थित भएपछि सभामुखलाई पत्रमार्फत जानकारी गराएका हुन्।

प्रदेशसभा सचिवालयले उनी सम्पर्कमा नरहेको भन्दै सेवा–सुविधा समेत रोकेको छ। प्रदेश सभा सचिवालयले सभामुखलाई सम्बोधन गरिएको पत्र प्राप्त भएको पुष्टि गरेको छ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई नियुक्त गरेको हो।

धनगढीको फाप्ला मैदानमा जब क्रिकेट खेल्न थाले खेलकुदमन्त्री पोखरेल…

धनगढी । शिक्षा विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फाप्ला क्रिकेट मैदान तथा खेलग्रामको निरीक्षण गरेका छन् । मंगलबार बिहानै मैदानमा पुगेका मन्त्री पोखरेलले त्यहाँ क्रिकेट पनि खेले । प्रतिनिधिसभा सदस्य केपी खनालको बलिङमा मन्त्री पोखरेलले ब्याटिङ गरेका थिए । मन्त्री पोखरेलको बलिङमा खनालले ब्याटिङ गरेका थिए ।

सो क्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्र वर्तमान सरकारको प्राथमिकतामा रहेको बताए । ‘खेलकुद हाम्रो प्राथमिकतामा नै छ,’ उनले भने, ‘स्टेडियम निर्माण पनि प्राथमिकतामा छ । त्यसका लागि स्रोत कसरी जुटाउन सकिन्छ भन्ने विषयमा हामी छलफलमै छौं ।’

सुदूरपश्चिममा खेलकुदभित्र पनि क्रिकेट बढी लोकप्रिय भएकाले फाप्ला निर्माणका लागि पनि स्रोत जुटाउने प्रयासमा सरकार रहेको मन्त्री पोखरेलले बताए । अर्थ मन्त्रालय नेपाल क्रिकेट संघ, खेलकुद परिषद् लगायतका निकायसंग खेलकुद मन्त्रालय छलफलमा रहेको मन्त्री पोखरेलले बताए ।

बुधबार गेटामा पहिलोपटक बस्न लागेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठकका लागि मन्त्री पोखरेल सुदूरपश्चिम आएका हुन् । यसअघिका सिनेट बैठक संघीय राजधानीमा भउका थिए ।

मन्त्रिपरिषद्को मर्यादाक्रममा गृहमन्त्री गुरूङ पाँचौमा, कसको मर्यादा कति?

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) मर्यादाक्रम हेरफेर गरिएको हो।

नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ पाँचौं स्थानमा पुगेका छन्।

दोस्रोमा डा‍. स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।

बलात्कार आरोपमा पक्राउ परेका ‘बले’माथि परेन कुनै उजुरी, लाग्नेभयो अर्कै मुद्दा

 काठमाडौं । हिरासतमा रहेका कलाकार सागर लम्साल ‘बले’ लाई सरकारी वकिल कार्यालय लगिएको छ । आज म्याद थप गर्नुअघि उनलाई बयानका लागि लगिएको हो ।

अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई हिजो पक्राउ गरिएको थियो । उनलाई हत्कडीसहित थुनुवा पोशाकमा प्रहरीले सरकारी वकिल कार्यालय पुर्‍याएका छन् ।

उनीविरुद्ध कुनै जाहेरी नभएकाले शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै मुद्दा चलाउने तयारी प्रहरीले गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि सुरु हुँदै

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आज (मंगलबार)देखि सुरु हुँदै छ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका हुन्। गत चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम चैत २४ गते मंगलबार अपराह्न ४ बजेका लागि प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए।

उक्त सिफारिसलाई अनुमोदन गर्दै प्रदेश प्रमुख मियाँले अपराह्न ४ बजे प्रदेश सभा बैठक बोलाएका हुन्। यससँगै प्रदेश सभाको सातौँ अधिवेशन औपचारिक रूपमा सुरु हुनेछ। यसअघि प्रदेश सभाको छैटौँ अधिवेशन गत माघ २५ गते अन्त्य भएको थियो।

त्यसपछि लामो समयसम्म अधिवेशन नबस्दा प्रदेश सभाको गतिविधि प्रभावहीन जस्तै बनेको थियो । विशेषगरी ‘जेन–जी आन्दोलन’ पछि प्रदेश सभा निष्क्रिय जस्तै देखिएको थियो, जसले प्रदेशको नीति निर्माण र कानुन निर्माण प्रक्रियामा असर पारेको बताइन्छ।

अब सुरु हुन लागेको सातौँ अधिवेशनबाट प्रदेश सरकारका नीति तथा कार्यक्रम, बजेट तयारी, तथा विभिन्न विधेयकहरू अघि बढाउने अपेक्षा गरिएको छ। साथै, प्रदेशका समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा पनि गहन छलफल हुने विश्वास गरिएको छ।

टीकापुरमा सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुरः कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने तरिकाबारे तालिम सञ्चालन गर्न थालिएको छ।

नगरपालिकाले नगर प्रहरी, बडघर, टोल विकास संस्थाका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा युवालाई विषालु र अविषालु सर्प पहिचान गर्ने, सर्पको टोकाइबाट बच्ने उपाय, डसी हालेमा मानिस र सर्प उद्धार कसरी गर्ने भन्नेबारे तालिम दिन थालेको हो। टीकापुर नगरपालिका–१ ले चाुल वर्षमा विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरेको थियो। वडाले गर्मीयाम सुरु भएकाले सर्पदंशको जोखिमबाट बच्न सर्वसाधारणलाई पूर्वतयारी गर्न सहज होस भनी १०० वटा टोल विकास संस्था, बडघर, सामुदायिक प्रशिक्षकलाई सर्प पहिचानबारे तालिम दिन थालेको हो।

“यहाँ सर्पदंशको जोखिम धेरै छ, मानिसले सर्प देख्ने बित्तिकै मार्ने चलन छ”, वडाध्यक्ष मोहन लुहार विकले भने, “सर्प चिनेमा समयमै उपचारमा सहयोग हुन्छ। अनि सर्प पनि वातावरणका लागि महत्वपूर्ण हुन्छन् भन्ने ज्ञान दिन तालिम दिएका हौँ।” टीकापुर नगरपालिका तराई क्षेत्र भएकाले विषालु सर्पको जोखिम छ। यहाँ सर्पले डसेको मानिस आत्तिने र कतिपय अविषालु सर्प पनि हुने भएकाले सर्प उद्धार गर्ने जनशक्ति नभएकाले उद्धारकर्ता तयार गर्न थालिएको हो।

हरेक नागरिकलाई सर्पको डसाइबाट जोगिन सचेतना फैलाउने र सर्प चिन्न सहज होस् भनी प्रधानाध्यापक, टोल विकास संस्थालगायतलाई तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले जानकारी दिए। “हामीले युवालाई सर्प उद्धारकर्ता तालिम दिनका लागि सूचना आह्वान गरेका छौँ”, उनले भने, “अहिले एकजना मात्र उद्धारकर्ता छन्। उनी एक्लैलाई घरभित्र सर्प पसेमा उद्धार गर्न टाढासम्म जान कठिन र भ्याइनभ्याइ हुन्छ।”

यहाँस्थित टीकापुर अस्पतालमा सर्पदंशको उपचार सेवा छ। अस्पतालका मेडिकल रेकर्डर तथा सूचना अधिकारी पदमराज भट्टका अनुसार अस्पतालतमा चालु आर्थिक वर्षमा हालसम्म ४७ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन्। नगरपालिकाले २० जनालाई तालिम दिएपछि दुर्घटना बिमा गरेर, हरेक वडालाई पायक पर्ने गरी उद्धारमा स्वयमसेवकका रुपमा परिचालन गर्ने वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिइन्।

ओली नेतृत्वको सरकारले नियुक्त गरेका ६ देशका राजदूत फिर्ता हुँदै

काठमाडौँ । सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ । तत्कालीन (केपी शर्मा ओली नेतृत्वको) सरकारले नियुक्त गरेका ६ देशका राजदूतलाई सरकारले फिर्ता बोलाएको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ ।

मन्त्रालयका अनुसार भारतमा शंकरप्रसाद शर्मा, अस्ट्रेलियामा चित्रलेखा यादव, डेनमार्कमा सुम्निमा तुलाधर, श्रीलंकामा पूर्णबहादुर नेपाली, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ राजदूत छन् ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई सुशीला कार्की नेतृत्वको सरकारले यसअघि नै फिर्ता बोलाइसकेको छ । बाँकी ६ जनालाई बालेन शाह नेतृत्वको सरकारले फिर्ता बोलाएको हो ।

दलीय भागबन्डामा नियुक्त ६ राजदूत फिर्ता बोलाइए

काठमाडौं । सरकारले राजनीतिक पृष्ठभूमिका आधारमा नियुक्त छिमेकी भारतसहित ६ देशमा कार्यरत राजदूत फिर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले आइतबार गरेको यससम्बन्धी निर्णय सम्बन्धित राजदूतावासलाई परराष्ट्र मन्त्रालयले सोमबार चिठी लेखेर जानकारी गराएको छ ।

राजदूतहरूलाई सोमबारदेखि लागू हुने गरी एक महिनाभित्र फिर्ता हुन भनिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले ६ जना राजदूत फिर्ता गर्ने सरकारी निर्णयको पुष्टि गरे । ‘उहाँहरूलाई फिर्ता गर्ने निर्णय भएको छ,’ प्रवक्ता क्षेत्रीले भने । उनले थप जानकारी दिन अस्वीकार गरे ।

फिर्ता भएका राजदूतहरूमा डा. शंकरप्रसाद शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया), डा. पूर्णबहादुर नेपाली (श्रीलंका) डा. शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), सुम्निमा तुलाधर (डेनमार्क) र कपिल श्रेष्ठ (दक्षिण अफ्रिका) छन् । राजदूत शर्मा, यादव, नेपाली र श्रेष्ठ कांग्रेसको कोटाबाट तथा तुम्बाहाङ्फे र तुलाधर एमाले कोटाबाट नियुक्त भएका थिए । केपी ओली नेतृत्वको सरकारले १४ साउन ०८१ मा उनीहरूलाई राजदूतमा सिफारिस गरेको थियो ।

राजनीतिक भागबण्डामै नियुक्त भए पनि महिला, जनजाति र दलित पृष्ठभूमिका राजदूतहरूलाई भने अघिल्लो सरकारले फिर्ता गरेको थिएन । प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको रुचीमा ६ जना राजदूत यथ(ावत राखेर बाँकीलाई फिर्ता गरिएको बताइएको थियो । ती राजदूत अहिलेको सरकारले फिर्ता बोलाएको हो ।

सर्वोच्चको ‌ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न आदेश

काठमाडौं — सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिल्ला अदालत काठमाडौंबाट थपिएकाे ५ म्याद समाप्त भएपछि हिरासतमुक्त गर्न सर्वोच्चको आदेश गरेको छ । जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक ५ दिनको लागि म्याद थप गरेकाे थियाे ।

न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दिएको यस्तो आदेशले २६ चैतमा ओली र लेखक हिरासतमुक्त हुनेछन् ।

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्री र गृहमन्त्री रहेका उनीहरूले लापरवाही गरेको भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको सिफारिसपछि सरकारले ओली र लेखकलाई अनुसन्धान गर्ने भन्दै प्रहरीले १४ चैतमा पक्राउ गरेको थियो । प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गर्दै उनीहरूलाई पक्राउ गरेको थियो भने १५ चैतमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो । प्रहरीले अदालतबाट पक्राउ अनुमति समेत नलिई पक्राउ गरेको दाबी गर्दै ओली र लेखकका तर्फबाट परिवारले बन्दीप्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका थिए ।

उक्त निवेदनमा दोस्रो सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश गरेको हो । उनीहरूलाई जिल्ला अदालतवाट म्याद थप गर्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूलाई मुलुकी फौजदारी संहिताको दफा १८१, १८२ र १८३  लाई कोट गर्दै प्रहरीले पक्राउ गरेको थियो । उक्त दफामा ‘हेलचेर्क्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेर्क्याइँपूर्वक कसैको ज्यान मार्ने काम गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ उल्लेख छ ।

प्रधानमन्त्री बालेन शाहले शपथ लिएको केही घण्टाभित्रै बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीहरूबाहेकका हकमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले पेस गरेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । ओली र लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री सुदन गुरुङले प्रतिशोध नभई न्यायका लागि भएको प्रतिक्रिया दिएका थिए ।

 

सरकारले फेरि दोहोर्‍यायो: स्वास्थ्य बिमा अन्तर्गतका औषधि नगदमा खरिद गर्न नलगाउनूस्

काठमाडौं ।  स्वास्थ्य बिमा बोर्डले बिमा सेवाका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्रीहरू बीमितलाई नगदमा खरिद गर्न लगाइएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डले औषधि तथा औषधिजन्य सामग्रीहरू खरिद गर्न नलगाउन पुनः सम्बन्धित संस्थाहरूलाई निर्देश गरेको छ। बोर्डले सोमबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहका सम्बन्धमा केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितहरूसँग बिमा सेवाका विभिन्न प्याकेजभित्र समावेश हुने औषधि तथा औषधिजन्य सामग्रीहरू समेत सोही सेवा प्रदायक स्वास्थ्य संस्था वा बाह्य औषधि पसलबाट नगदमा खरिद गर्न लगाएको भन्ने ब्यापक गुनासाहरू प्राप्त भएको’ जनाएको छ।

विज्ञप्तिमा ‘यस्ता कार्य नगर्न हुन तथा गरेको पाइएमा स्वास्थ्य बिमा नियमावली, २०७५ को नियम १९ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही हुने’ समेत चेतावनी दिएको छ। त्यसैगरी, केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितलाई स्वास्थ्य बीमा मार्फत सेवा लिन अग्रिम समय लिनुपर्ने तथा बीमितहरूप्रति भेदभावपूर्ण व्यवहार गर्ने गरेको गुनासोप्रति पनि बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

साथै, औषधि, औषधिजन्य सामग्रीहरू तथा सम्पूर्ण सेवाहरूको दररेट बिमा सुविधा थैलीमा उल्लेखित दररेटभन्दा कम भएमा अस्पतालकै न्यूनतम दरमा दाबी गर्नुपर्ने व्यवस्था रहेको र सो दाबीहरू एपीआई मार्फत बिमा व्यवस्थापन सूचना प्रणालीमा क्लेम गर्न मिल्ने भएकाले सोही अनुसार अनिवार्य कार्य गर्न/गराउनसमेत अनुरोध गरिएको छ।

सुदूरपश्चिममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा भट्ट

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिइएको छ। मुख्यमन्त्री कमल बहादुर शाहले भट्टलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख नाजिर मियाले आइतबार नवनियुक्त मन्त्री भट्टलाई पद तथा गोपनीयताको सपथ गराएका छन्। भट्ट बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

यसअघि उक्त मन्त्रालय नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेश सभा सदस्य रामेश्वर चौधरीको जिम्मेवारीमा थियो। तर लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि गत असारमा मुख्यमन्त्री शाहले उनलाई पदमुक्त गरेका थिए। त्यसपछि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले नै सम्हाल्दै आएका थिए।

भट्ट मन्त्री नियुक्त भएसँगै लामो समयदेखि नेतृत्वविहीन रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अब नयाँ नेतृत्व पाएको छ।

हिजो १०५ अङ्कले घटेको नेप्से, आज ८३ अङ्कले बढ्यो

काठमाडौँ- हिजो १०५ अंकले घटेको सेयर बजारमा आज फेरि उच्च अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ८३ दशमलव ३३ अंकले बढेको छ।

बजार बढेसँगै परिसूचक २७६० अंकमा पुगेको छ । आज करिव ११ अर्ब रुपैयाँ बराबरको कारोबार भयो ।

अघिल्लो दिन उच्च अंक बजार घटेपछि आज बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा फैलिएको अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको थियो ।

सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्षमा कुँवर निर्विरोध

धनगढी / नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध निर्वाचित भएका छन्।महासंघको प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्ष पदमा कुँवर एक्लो उम्मेदवार परेपछि उनी स्वतः निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार उपाध्यक्ष (उद्योगरवाणिज्य) मा मदन राज पन्त, कोषाध्यक्षमा प्रेम बहादुर भण्डारी तथा जिल्लारनगरतर्फका सदस्यहरूमा विष्णु राज जोशी, कृष्ण बहादुर तामाङ, कृष्ण कुमारी बिष्ट, खेमेश्वर प्रसाद बोहरा र मदन राज न्यौपाने समेत निर्विरोध चयन भएका छन्। त्यस्तै, वस्तुगततर्फ सदस्यमा सन्तोष लामिछाने तथा एशोसिएट सदस्यमा बम बहादुर शाह निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रदेशभरका उद्योगी व्यवसायीहरूको छाता संगठनको नेतृत्वमा कुँवर निर्वाचित भएसँगै सुदूरपश्चिममा निजी क्षेत्रको सशक्त भूमिका अझ मजबुत हुने अपेक्षा गरिएको छ। उद्योग, व्यापार तथा लगानी प्रवर्द्धन, व्यवसायीका समस्या समाधान र प्रदेशको आर्थिक गतिविधि विस्तारमा उनले प्राथमिकता दिने विश्वास गरिएको छ। निर्वाचन अधिकृत खगेन्द्र राज जोशीका अनुसार तोकिएको समयभित्र अन्य कुनै उम्मेदवारी नपरेपछि सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन भएका हुन्।

गेटामा चिकित्सा शिक्षा सुरु गर्ने तयारी

धनगढी /कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । यसका लागि विश्वविद्यालयले आवश्यक शैक्षिक जनशक्ति पदपूर्ति प्रक्रिया अघि बढाउनुका साथै चिकित्सा शिक्षा आयोगसँग अनुमति मागेको जनाएको छ ।

विश्वविद्यालयका रजिस्ट्रार डा। खेमराज जोशीका अनुसार एमबिबिएस, बिएस्सी नर्सिङ, बिएस्सी एमएलटी र बी अप्टोमेट्री कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ । आवश्यक जनशक्ति व्यवस्थापनका लागि विश्वविद्यालयले करार सेवामा २६ जना प्राध्यापक र ५१ जना उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरिसकेको छ भने आगामी महिनादेखि छनोट प्रक्रिया सुरु गरिने बताइएको छ ।

हाल गेटामा सञ्चालनमा रहेको ५० शैयाको अस्पताललाई स्तरोन्नति गरी ३०० शैयाको शिक्षण अस्पताल बनाउने प्रस्ताव पनि अघि सारिएको छ । यसका लागि फिजियोलोजी, प्याथोलोजी, इएनटी, जनरल सर्जरी, एनेस्थेसियोलोजी, इन्टरनल मेडिसिन, अप्थाल्मोलोजी, मेडिकल एजुकेसन तथा फार्माकोलोजी लगायतका विषयमा जनशक्ति पदपूर्ति प्रक्रिया अघि बढाइएको छ । अस्पताल तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि २ अर्ब ५८ करोड रुपैयाँ बजेट माग गरेको छ । उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै अर्थ मन्त्रालयमा पुगेको जनाइएको छ ।

यसैबीच, सुदूरपश्चिमबाट निर्वाचित सांसदहरूले विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल गरेका छन् । गत साता भएको छलफलमा प्रधानमन्त्रीले गेटा विश्वविद्यालय सञ्चालनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

चैत ३० भित्रै सुदूरपश्चिमका सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याइने

धनगढी / आगामी शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेशभर पाठ्यपुस्तक वितरण कार्य तीव्र बनाइएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले दुर्गम जिल्लालाई प्राथमिकतामा राख्दै धमाधम पुस्तक ढुवानी तथा बिक्री वितरण गरिरहेको जनाएको छ।

केन्द्रका अनुसार सुदूरपश्चिमका हिमाली तथा दुर्गम जिल्ला बाजुरा र दार्चुलामा आवश्यक सबै पाठ्यपुस्तक पुर्‍याइसकिएको छ। त्यस्तै बझाङ, अछाम, बैतडी र डोटीमा समेत पुस्तक पठाइसकिएको र ती जिल्लामा वितरण प्रक्रिया जारी रहेको छ। डडेल्धुरामा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ भने कैलाली र कञ्चनपुरजस्ता सहज जिल्लामा पनि समयमै पाठ्यपुस्तक उपलब्ध गराउने गरी व्यवस्थापन मिलाइएको जनाइएको छ।

प्रादेशिक कार्यालय प्रमुख निर्मलकुमार यादवका अनुसार हालसम्म करिब ४ लाख थान पाठ्यपुस्तक बिक्री वितरण भइसकेको छ। “हामीले चैत १६ गतेदेखि औपचारिक रूपमा वितरण सुरु गरेका हौँ। अहिले दुर्गम क्षेत्रमा ढुवानीलाई तीव्रता दिएका छौँ, ताकि शैक्षिक सत्र सुरु हुनुअघि नै सबै जिल्लामा पुस्तक पुगोस,” उनले भने।

उनका अनुसार केन्द्रले प्रदेशभरिका स्थानीय पुस्तक बिक्रेतामार्फत पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ। यसले स्थानीय स्तरमै सहज रूपमा विद्यार्थीले पुस्तक प्राप्त गर्न सक्ने वातावरण बनेको छ। चैत ३० गतेभित्र सुदूरपश्चिमका सबै नौ जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य रहेको उनले स्पष्ट पारे।

केन्द्रले आगामी शैक्षिक सत्रका लागि सुदूरपश्चिम प्रदेशभर करिब साढे १६ लाख थान पाठ्यपुस्तक बिक्री वितरण गर्ने लक्ष्य लिएको छ। जनक शिक्षाले कक्षा ३, ५ तथा कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक उत्पादन तथा वितरण गर्दै आएको छ। चालु शैक्षिक सत्रमा मात्र केन्द्रले यस प्रदेशमा कक्षा ३ देखि १२ सम्मका १६ लाख २९ हजार २६३ थान पाठ्यपुस्तक बिक्री वितरण गरेको थियो। जसबाट २१ करोड ९३ लाख ७३ हजार ४९४ रुपैयाँ बराबरको कारोबार भएको कार्यालयले जनाएको छ। यसले प्रदेशमा पाठ्यपुस्तकको माग उच्च रहेको पनि देखाउँछ।

पहिलो चरणअन्तर्गत चैत ३० गतेभित्रै सबै जिल्लामा आवश्यक पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको केन्द्रले जनाएको छ। यदि कुनै जिल्लामा मागअनुसार पुस्तक अपुग भएमा तुरुन्तै दोस्रो चरणमा थप पुस्तक पठाइने व्यवस्था मिलाइएको छ। “हाम्रो प्रयास शैक्षिक सत्र सुरु हुनुअघि नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगोस भन्ने हो,” प्रमुख यादवले भने, “हालसम्म कुनै ठूलो अभाव देखिएको छैन, त्यसैले समयमै वितरण सम्पन्न हुनेमा हामी विश्वस्त छौँ।” यस वर्ष समयमै पाठ्यपुस्तक वितरण हुने अपेक्षासँगै विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिमा उत्साह थपिएको छ। विगतमा देखिने ढिलाइ र अभावको समस्या न्यून हुने विश्वास गरिएको छ।

धनगढीमापत्रकारिता अध्ययनरत विद्यार्थीलागि अभिप्रेरणा कार्यक्रम

धनगढी :  कैलाली बहुमुखी क्याम्पसमा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै सूचना तथा प्रसारण विभागको आयोजनामा अभिप्रेरणा कार्यक्रम सुरु भएको छ। आज देखि (चैत २३ गते)  सुरु भएको उक्त कार्यक्रम चैत २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख हिरालाल रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन सत्रको अध्यक्षता सूचना तथा प्रसारण विभागका निर्देशक छविन्द्र पराजुलीले गरेका थिए। कार्यक्रममा  प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशी, क्याम्पस प्रमुख प्राध्यापक डा. लोक बहादुर बिष्ट तथा हुलाक कार्यालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।

पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई व्यावसायिक पत्रकारितातर्फ अभिप्रेरित गर्नुका साथै पत्रकारको भूमिका, जिम्मेवारी र कर्तव्यबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको निर्देशक पराजुलीले बताए। उनले सूचना तथा प्रसारण विभागको काम, भूमिका र दायित्वबारे समेत सहभागीहरुलाई जानकारी गराएका थिए।

उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी रेग्मीले पत्रकार सबै क्षेत्रको जानकार हुनुपर्नेमा जोड दिए। उनले प्रशासनले समेत नदेखेका विषयलाई उजागर गरेर समाजलाई सचेत गराउने काम पत्रकारको भएको भन्दै सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

यसैगरी, नेपाल प्रेस काउन्सिलका सदस्य जोशीले पत्रकारिता अध्ययन गरेका विद्यार्थीहरुलाई यही क्षेत्रमा केही गरौं भन्ने प्रेरणा दिन कार्यक्रम उपयोगी हुने बताए। क्याम्पस प्रमुख डा. बिष्टले क्याम्पसको तर्फबाट आयोजकप्रति आभार व्यक्त गर्दै सञ्चार क्षेत्रका विद्यार्थीहरुलाई आवश्यक सहजीकरण गर्न क्याम्पस सधैं तयार रहने बताए।

कार्यक्रमले पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान र प्रेरणा दिने अपेक्षा गरिएको छ।

पिएम कपः एपीएफले सुदूरलाई दियो २६० रनको लक्ष्य

काठमाडौं । जारी प्रधानमन्त्री कप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)ले सूदुरपश्चिम प्रदेशलाई २६० रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले  निर्धारित ५० ओरभमा ९ विकेट गुमाएर २५९ रन बनायो।

एपिएफको लागि सन्दीप जोराले सर्वाधिक ५५ रन बनाए। ४५ बलको सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गरेका हुन्। ओपनर आशिफ शेख एक रनमा आउट हुँदा कप्तान रोहित कुमार पौडेल ११ रनमा पेभिलियन फर्किएका थिए।

सूदरको लागि शेर मल्लले ३ विकेट लिए भने विकास आग्री र अशोक धामीले समान २र२ विकेट लिए।

कञ्चनपुरको बेलौरीमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सिसी क्यामेरा’बाट कक्षाकोठाको निगरानी गरिएको छ।

शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने तथा अनुशासन कायम गर्ने उद्देश्यले क्यामेरा जडान गरेर प्रधानाध्यापकको कार्यकक्षबाटै कक्षाकोठाको निगरानी गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक परमानन्द जोशीले जानकारी दिए। पालिकाको सहयोगमा विद्यालयमा सिसी क्यामेराबाट कक्षामा शिक्षक र विद्यार्थीबीच हुने गतिविधि प्रत्यक्ष अनुगमन गर्न सकिने भएको विद्यालयले जनाएको छ।

“ससाना कामका लागि कक्षाकोठा चहार्नु पर्दैन प्रधानाध्यापककै कक्षाकोठाबाट निगरानी गर्न सकिन्छ”, उनले भने, “विद्यालयका २४ क्यामेरा र माइक राखिएका छन्।” उहाँका अनुसार क्यामेरा जडानपछि कक्षाकोठामा अनुशासन बढेको र सिकाइ वातावरण थप व्यवस्थित भएको छ। “कक्षामा हुने गतिविधि सहजै अवलोकन गर्न सकिने भएकाले शिक्षण प्रक्रिया अझ प्रभावकारी भएको छ”, उनले भने, “शिक्षक नभएको अवस्थामा प्रअको कार्यकक्षबाटै विद्यार्थीहरुलाई कक्षाकार्य दिने गरेका छौँ।”

उनले अहिलेको प्रविधिसँग विद्यार्थीलाई जोड्न सके शिक्षण सिकाइ प्रभावकारी हुने बताए। “यो प्रविधि खर्चिलो छ यसका लागि एउटा विज्ञ कर्मचारी राख्नुपर्ने अवस्था छ”, प्रअ जोशीले भने, “विभिन्न समयमा आउने प्राविधिक समस्या युट्युब हेरेर समाधान गर्ने गरेको छु।” उनका अनुसार बेलौरी नगरपालिकाको तीन लाख सहयोगमा हरेक कक्षामा माइक र क्यामेरा जडान गरिएको हो।

बेलौरी नगरपालिकाले पनि सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्नका लागि विद्यालयमा आइसिटी र विज्ञान प्रयोगशालामा जोड दिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अमितप्रसाद भट्टले जानकारी दिए। “सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन कक्षाकोठा व्यवस्थापनदेखि पूर्वाधार विकास गरिरहेका छौँ”, उनले भने, “विद्यालयमा पढाइका अतिरिक्त सिकाइलाई पनि प्राथमिकतामा राखेका छौँ।” बेलौरी नगरपालिकामा ३१ वटा सामुदायिक विद्यालय रहेका छन् । यसमा माध्यमिक विद्यालय १४, आधारभूत विद्यालय पाँच र प्राथमिक विद्यालय १२ छन्।

तेहरानको विश्वविद्यालयमा आक्रमण, वरपरका क्षेत्रहरूमा ग्यास आपूर्ति बन्द

एजेन्सी । इरानको राजधानी तेहरानमा रहेको शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीको ग्यास स्टेशनमा आक्रमण भएको छ। आक्रमणपछि विश्वविद्यालय वरपरको क्षेत्रमा ग्यास आपूर्ति अस्थायी रूपमा काटिएको छ।

मिडिया रिपोर्टका अनुसार, सूचना प्रविधि केन्द्र भवन र विश्वविद्यालयको मस्जिदजस्ता विश्वविद्यालयका केही भागहरू पनि प्रभावित भएका छन्। सोमबार बिहान सार्वजनिक गरिएका तस्वीरहरूमा पश्चिमी तेहरानबाट बाक्लो धुवाँ निस्किरहेको देखिएको छ।

युद्ध शुरू भएदेखि धेरै विश्वविद्यालयहरूमा आक्रमण भएको छ, जसमा तेहरान विज्ञान तथा प्रविधि विश्वविद्यालय र शाहिद बेहेश्ती विश्वविद्यालय समावेश छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिइएको समयसीमा मंगलबारसम्म बढाएको उल्लेखनीय छ। उनले मंगलबार इरानी पावर प्लान्ट र पुलहरूमा आक्रमण हुने बताएका थिए ।

गेटामै पहिलोपटक विश्वविद्यालय सभा बस्दै,एमबिबिएस अध्यापन सुनिश्चित गर्न माग

धनगढीः गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा चैत २५ गते गेटामै बस्ने भएको छ। यसअघि दुईपटक संघीय राजधानीमा बसेको बैठक यसपटक पहिलोपटक विश्वविद्यालय परिसरमै आयोजना हुन लागेको हो। बैठकमा विश्वविद्यालय सञ्चालनका लागि आवश्यक नियमावली र कार्यविधि पारित गर्ने तयारी गरिएको छ।

सभाको अध्यक्षता शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले गर्ने कार्यक्रम तय भएको छ। यद्यपि, आगामी शैक्षिक सत्रबाट एमबिबिएससहित चिकित्सा शिक्षा सञ्चालन गर्ने तयारी भइरहे पनि यसको स्पष्ट सुनिश्चितता अझै हुन बाँकी रहेको भन्दै समन्वय समितिले चासो व्यक्त गरेको छ।

विश्वविद्यालय स्थापना अभियानमा सक्रिय समन्वय समितिले एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन सुनिश्चित गर्न पहल गर्ने निर्णय गरेको छ। आइतबार बसेको समितिको बैठकले चैत २५ गतेको सभालाई लक्षित गर्दै स्थानीय सरोकारका विषय उठाउने, विश्वविद्यालय परिसरमा सहिद दशरथ चन्दको सालिकसहित पार्क निर्माणको माग गर्ने लगायतका निर्णय गरेको छ।

समितिका संयोजक लोकराज पाण्डे (आगो) का अनुसार बैठकमा स्थानीय र सरोकारवालाका विषयहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने योजना बनाइएको छ। उनले विश्वविद्यालय सञ्चालनमा सहयोग र समन्वय कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको र पार्क निर्माणको जिम्मा समितिले लिन सक्ने गरी पहल अघि बढाइएको जानकारी दिए। साथै, आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न आवश्यक बजेटका लागि दबाब दिने तयारी गरिएको छ।

शैक्षिक कार्यक्रम सञ्चालनका लागि ७७ शिक्षक पदमा दरखास्त आह्वान गरिएकोमा ३०४ जनाले आवेदन दिएका छन्। वैशाख महिनादेखि छनोट प्रक्रिया सुरु गरिने जनाइएको छ।

सर्किट ब्रेकर सीमा ८ प्रतिशत, सेयर बजार नखुल्दा पनि ‘अर्डर’ हाल्न पाइँदै

काठमाडौं ।  धितोपत्र बजारको नियमित कारोबार समयभन्दा अघिपछि पनि खरिद बिक्री आदेश गर्न पाइने व्यवस्था हुने भएको छ । विदेशमा रहेका नेपाली र कार्यालय समयमा सेयर कारोबार गर्न नपाउनेलाई सहज हुनेगरी यस्तो व्यवस्था गर्न लागिएको हो ।

कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समय पछि पनि अर्डर गर्न सकिने व्यवस्था गर्न लागिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए ।

धितोपत्रको दोस्रो बजारमा पर्याप्त तरलता कायम गर्न तथा कारोबारको आकार समेत बढाउन यसले मद्दत गर्ने श्रेष्ठको भनाइ छ । ‘नेप्सेको नियमित कारोबार दिउँसो ३ बजे बन्द हुन्छ, नयाँ व्यवस्थापछि बजार बन्द भए पनि खरिद बिक्री आदेश प्रविष्ट हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसका लागि नेप्सेले पठाएको कारोबार विनियमावलीको संशोधन प्रस्ताव पनि स्वीकृत हुने चरणमा छ ।’ धितोपत्रको प्राथमिक बजारका लगानीकर्ता दोस्रो बजारमा प्रवेश गराउनलाई पनि ‘अफ आवर’ खरिद/बिक्री आदेशको व्यवस्था गर्न लागिएको उनले बताए ।

नेप्सेको नियमित कारोबार सकिएपछि खरिद/बिक्री आदेश दिनेले सोही दिनको अन्तिम मूल्यका आधारमा तोकिए अनुसार मूल्य घटाइ वा बढाइ खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था प्रस्ताव गर्दै धितोपत्र बोर्डमा पठाएको नेप्सेका एक अधिकारीले बताए । नेप्सेको नियमित कारोबार ३ बजे सकिन्छ भने साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको आदेश प्रविष्टको समय दिने व्यवस्था गर्न प्रस्ताव गरिएको ती अधिकारीको भनाइ छ ।

सर्किट ब्रेकरको माथिल्लो सीमा ८ प्रतिशत

नेपाल धितोपत्र बोर्डले सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको उतारचढाव नियन्त्रण गर्ने (सर्किट ब्रेकर) खुकलो बनाउँदै ८ प्रतिशत पुर्‍याउने भएको छ । बोर्डले नेप्सेको कारोबार विनियमावलीको संशोधनलाई अन्तिम रुप दिँदै सर्किट ब्रेकरको सीमा थप २ प्रतिशत विन्दुले बढाएको हो ।

जेनजी आन्दोलनपछि बनेको सरकारका अर्थमन्त्री रामेश्वर खनालको पहलमा सेयर बजार सुधार सुझाव कार्यदल गठन भएको थियो । बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलको सुझाव अनुसार सर्किट ब्रेकर सम्बन्धी व्यवस्था थप खुकुलो बनाउने अन्तिम चरणमा पुगेको हो ।

कायदलले हाल प्रचलनमा रहेको नेप्से सूचकांकलाई इक्वीटी इन्डेक्सको रुपमा कायम राखी कारोबारयोग्य सेयरहरूको आधारमा नयाँ सूचकांक विकास गरी त्यसलाई बेञ्चमार्क सूचकांकको रूपमा प्रयोग गर्ने र सोही आधारमा सर्किट ब्रेकरको नियम पुनरावलोकन गर्न सुझाएको थियो ।

बोर्ड स्रोतका अनुसार सोमबारको सञ्चालक समितिमा प्रस्ताव जाने उक्त विनियमावलीमा सर्किट ब्रेकरको सीमा २ प्रतिशत बिन्दुले बढाइएको छ ।

सातामा दुई दिन बिदा, आजबाट बिहान नौ बजेदेखि कार्यालय सञ्चालन

काठमाडौं । पश्चिम एसिया (मध्यपूर्व)मा एक महिनादेखि जारी युद्धका कारण पेट्रोलियम आपूर्तिमा देखिएको असहजतापछि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबारका साथै आइतबार पनि बिदा दिने निर्णय गरेको हो । यसले पेट्रोलियम पदार्थको खपत कम गर्ने र असहजता नबढ्ने सरकारको अपेक्षा छ ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पेट्रोलियम आपूर्तिको असहजताका कारण दुईदिने बिदाको निर्णय लिइएको हो । तर, कार्यसम्पादन समय नघट्ने गरी सरकारले सोमबारदेखि शुक्रबारसम्म भने सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि नै खुल्ने निर्णय लिएको छ । यो नियम सोमबारदेखि नै लागू हुने गरी आइतबार नै राजपत्रमा सूचना प्रकाशन गरिएको छ ।

मध्यपूर्वमा चलिरहेको युद्धका कारण इन्धन आपूर्ति प्रभावित बनेको छ । भविष्यमा आपूर्ति घट्न सक्ने भएकाले सरकारले खपत घटाउने नीति लिएको जनाएको छ । दुई दिन बिदा दिँदा इन्धन खपत घट्ने आकलन छ ।

कम्तीमा दुई वर्ष सकारात्मक सोचौँ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले पूर्ण निष्पक्ष र तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शपथग्रहणपछि सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उनले सभामुख पदको गरिमा, यसको तटस्थता र निष्पक्षतालाई गहिरोसँग बुझेको बताए । अहिलेको संसद २०८२ को विशेष निर्वाचनको म्यान्डेटबाट आएको उल्लेख गर्दै उनले यसपटकको सबैभन्दा बलियो प्रतिपक्ष जनता भएको बताए ।

सदन विशेष गरी प्रतिपक्षको हुनुपर्ने मान्यतामा आफू दृढ रहेको उनको भनाइ छ । प्रतिपक्षमा एकजना मात्र सदस्य भए पनि शक्तिशाली हुने भन्दै प्रतिपक्षको आवाजलाई सम्मानजनक ढंगले उठान र बैठान गर्न आफू लागिपर्ने बताए ।

“यसपटकको निर्वाचन विगत र भविष्यका निर्वाचनभन्दा फरक छ । म सभामुखको हैसियतमा रहँदा मलाई राम्रोसँग थाहा छ- यसपटकको बलियो प्रतिपक्ष नागरिक नै हुन्,” अर्यालले भने ।

अर्यालले समाजमा सकारात्मक ऊर्जा फैलाउनुपर्ने पनि बताए । समाज निर्माणका लागि यो अनिवार्य रहेको उनको भनाइ छ । “वर्षौंदेखि हामीले मिडियामा सकारात्मक समाचार पढ्न पाएका छैनौँ,” अर्यालले भने, “संसारभर रहेका नेपाली र मिडियाका साथीहरूलाई मेरो अनुरोध छ- कम्तीमा दुई वर्ष सकारात्मक बोलौँ, सकारात्मक सोचौँ र सकारात्मक लेखौँ ।”

प्रतिनिधिसभाको मुख्य काम कानुन बनाउनु रहेको उल्लेख गर्दै अर्यालले सरकारलाई नीति–नियम बनाउन सहयोग गर्ने र कानुन निर्माणमा अग्रसर हुने उल्लेख गरे । “विश्वमा ध्वस्त भएका संरचनाहरू छिट्टै उठेका इतिहास छन् । हामी पनि छिट्टै संरचना बनाउन सक्छौँ । तर, मुख्य कुरा कानुन र नीति हो,” अर्यालले भने ।

विगतका जस्ता घटनाहरू नदोहोरिउन् भन्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने उनले बताए ।

“हामी राष्ट्र र जनताका लागि काम गर्दैछौँ भने त्यसमा विरोध गर्नुपर्ने कारण नै हुँदैन । त्यसैले समन्वयमा गाह्रो होला जस्तो मलाई लाग्दैन,” उनले भने ।

आफ्नो अनुभव र कार्यशैलीबाट सदनमा देखिने गरी परिवर्तन ल्याउने उनको भनाइ छ । तर, त्यसका लागि केही समय पर्खिन उनले आग्रह गरे । न्युज एजेन्सी नेपाल

साउदीबाट जुट्यो बैतडीका क्यान्सर पीडित किशोरका लागि आर्थिक सहयोग

बैतडी​​​​​​​- बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिम का १६ वर्षीय हरिस भुलको उपचारका लागि साउदीबाट आर्थिक सहयोग जुटाइएको छ। गम्भीर रोगसँग संघर्ष गरिरहेका भुललाई राहत पुर्‍याउने उद्देश्यले साउदी अरबमा क्रियाशील नेपाली साझा मञ्चले सहयोग अभियान सञ्चालन गरेको हो।

पारिवारिक आर्थिक अवस्था कमजोर रहेका भुल विगत केही समयदेखि खुट्टामा देखिएको जटिल समस्याका कारण उपचाररत छन्। हाल उनको उपचार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा भइरहेको छ। चिकित्सकहरूले उनको अवस्थालाई जटिल रहेको उल्लेख गर्दै आवश्यक परे शल्यक्रिया गरी खुट्टा काट्नुपर्ने सम्भावना रहेको बताएका छन्।

उपचार खर्च जुटाउन कठिनाइ भएपछि मञ्चले सहयोग संकलन अभियान अघि बढाएको थियो। उक्त अभियानबाट नगद तथा बैंकमार्फत गरी कुल ७० हजार ४६९ रुपैयाँ संकलन भएको जानकारी दिइएको छ। संकलित रकममध्ये मञ्चमार्फत उठेको नगद सहयोग चितवनस्थित अस्पतालमै पुगेर पीडित परिवारलाई हस्तान्तरण गरिएको मञ्चले जनाएको छ। सहयोग हस्तान्तरण कार्यक्रममा बिरामीका अभिभावक तथा आफन्तको उपस्थिति रहेको थियो।मानवीय भावनाबाट प्रेरित भई सहयोग गर्ने सबैप्रति मञ्चले आभार व्यक्त गरेको छ।

साथै, आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै पीडित किशोरको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

खोज्नुहोस